हैरान थिई, ऊ । मनमा एक पीडाले स्थान जमाएको थियो । पग्लिँदैन पनि । आकाशबाट बर्फ खस्छ । दुई तीन दिनमा पग्लिन्छ । तर कस्तो पीडा हो जसको फ्रिजिङ प्वाइन्टको कुनै पत्तो हुँदैन । पग्लिएर त्यो किन बग्दैन, पानी जस्तै ? घोल्लिइ रहेकी थिइन् केवल आशा, रविकी पत्नी ।
आज रविको व्यवहारले उसको मनको व्याकुलता बढ्न लाग्यो । उसले रविको यस्तो रूखो व्यवहार पहिले कहिल्यै देखेकी थिइन । मिठो वचन र नम्रताले सोध्दा पनि रविले सुनेको नसुनै गरिरह्यो । आशा भुनभुनाई रही । आज पनि यो क्रम दोहोरियो । कुरा टालेर उसलाई सान्त्वना दिएर रवि नुहाउन गयो । आशा बेचैन भई । खाजा खाँदा फेरि त्यही प्रश्न दोहोर्याई जुन पछिल्ला पच्चीस वर्षदेखि दोहोर्याउँदै आइरहेकी थिई । के भयो यदि सोधी हाली भने ? किन सोध्दिन ? बारबार सोध्नेछु कहाँ छ मेरो छोरो लव ? के गर्यौ त्यसलाई ? किन बोल्दैनौ ?
रिसले चुर भएको थियो रवि । पलमै दन्किएको थियो ज्वाला । उसले दबिएको रिस एकै सासमा ओकल्यो र चिच्यायो, “के गर्यौ…? के मैले गरेँ…? अरे गर्नेवाला कुनै अर्कै छ… । कहिलेसम्म रोइरहन्छ्यौ प्रेममा । थाहा छैन, कहिले छुटकारा मिल्ला यी प्रश्नहरूबाट…? अघि बढ । यो दु:खबाट ।”
“दुख…?” “अँ, अँ, त्यही ।” “तिमी के जान्दछौ, आमाको दु:ख ? तिमी त आमा होइनौ उसकी,” आशा रिसले चिच्याई । “अँ, ठिक भन्दैछौ तिमी । म आमा बन्न सक्दिन तर तिमी पनि त बाउ होइनौ । यो किन बिर्सिन्छौ यो दु:ख दुवैको हो । भगवानका लागि बाहिर निस्क, यस दु:खको पुरानो खण्डहरबाट ।”
रवि बडबडाई रह्यो । आशा घुँक्कघुँक्क गरेर रोइरही । रविले फेरि भन्यो, “जान्दिन के गरौं । यही राग सुनिरहेको छु पच्चीस वर्षदेखि । विशेषगरी जब कुनै उत्सव अथवा खुशीको मौका हुन्छ, तिमी पुरानो सन्दर्भ लिएर बस्छ्यौ । त्यही खण्डहरमा गुम, पुराना घाउ कोतर्न थाल्छ्यौं । थाकिसकेको छु, तिम्रो गोडाको तलबाट काँडा निकाल्दा निकाल्दै । चार कदम अघि बढ्छ्यौ भने दस कदम पछि सछ्यौ । यस्तो लाग्दछ, हामी फरकफरक दुनियाको चौबाटोमा उभिएका छौं । देख्नमा त एकअर्काको समीप तर भित्री रूपमा एकअर्कादेखि धेरै टाढा । तिम्रो रूझान एकातर्फ मेरो अर्कोतर्फ । यो बाँझो क्षणलाई झेल्न गारो लाग्दछ । आजकै कुरा लिऊँ । कत्ति सजिलै भनिदियौ, तिमीले कि तिम्रो विचार छैन जाने । यो जान्दाजान्दै पनि कि मिसेज अरोडासँग हाम्रो पुरानो सम्बन्ध छ जुन हामी तोड्न सक्तैनौं । आज तिमी जुन ठाउँमा उभिएकी छ्यौ, यो सब उनकै कारणले हो । बिहे पनि सधँै थोरै न हुन्छ र । सम्बन्ध बनाएर राख्नुपर्दछ । त्यसलाई सिञ्चन गरिरहनुपर्दछ । हिँड, उठ । यो समय रूने कराउने हैन । यो बिहेमा हामीले अवश्य जानुपर्छ । कुशलाई पनि फोन गरेर भनिदेऊ कि ऊ पनि त्यहीँ आओस् । होटलमा राति बस्ने बन्दोबस्त म गरौंला नेटमा । न्यूकासलबाट एडिनबरा–चार घण्टाको ड्राइभ पनि छ, तैयारी गर्नु । यति भनेर रवि गयो ।
सामान आधि बाँधेको बेलामा आशा केही आश्वस्त थी । रविको डाँट निरर्थक थिएन । उसलाई सम्झना भयो– जब ऊ भारतबाट नयाँनयाँ आएकी थिई । यू.के.मा नयाँ मान्छे, नयाँ वातावरण । त्यसमाथि डाक्टरको मुखबाट आफ्नो आमा बन्ने खबर सुनेर उसको मनमा खुशीको लहर दौडियो । तर, जब थाहा भयो कि उसको जुम्ल्याहा बच्चा हुनेछ तब उसको उत्साह नै हरायोे । रविले आश्वासन दियो कि यस देशमा केही मुश्किल छैन, चिन्ता किन लिन्छ्यौ ? म छु नि । मिलेर सम्हालौंला । यहाँ त सबै पुरूषले आफ्नो परिवारको लालनपालन तथा घरको काममा बराबरको सघाउँछन् । मेरा साथी सुभाष अरोडाको पनि चार वर्षका जुम्ल्याहा छोरा छन् । उनकी पत्नी सिमरनबाट तिम्रा सबै दुविधाको समाधान हुनेछ र सिमरनले उसलाई उत्साहित गर्दै भनेकी थिइन् के डराउँछौ ? उत्सव मनाओ । दुईदुई आइरहेका छन् । बाई वन, गेट वन फ्री…तुरन्त शापिङ शुरू गरिहाल । आशा प्रफुल्लित भएर हाँसिन् । भनिन्, दुवैलाई चिकित्साशास्त्रमा प्रोफेसर बनाउँछु । सिमरन उनलाई पाइला पाइलामा सल्लाह दिन्थिन्, छोराहरूको नाम, नर्सरीको रंग, आफ्नो हेरचाह आदि ।
आज यही कुरो बिझ्दछ, उनलाई । जुम्ल्याहा शब्दको प्रसंग आउँदैमा उसको छाती धड्किन थाल्दछ । उसलाई लाग्दछ, जस्तो कि लव दूधका लागि रोइरहेको छ ।
अचानक फोनको घण्टीले उनलाई अतीतबाट वर्तमानमा लिएर आयो । उनले घडीमा दृष्टि दिइन्, रविको घर आइपुग्ने समय भइसकेको थियो । लाजले आफ्नो शिरमा हातले हिर्काउँदै भनिन्, “मूर्ख कहीँ की, किन बारम्बार आफ्नो मस्तिष्कमा चौबीस वर्षपहिले त्यहीं दिनमा आएर अड्किन्छ । आपैmलाई सराप्दै आफ्नो दिनचर्यामा व्यस्त भई । रविको दिन पनि कार्यालयमा त्यसै उसै बित्यो । ऊ आपैmप्रति रूष्ट थियो… । किनकी उसमा त्यति साहस छैन कि आशालाई साँचो बताइदेओस् ! आफ्नो आक्रोश उसमाथि निकालिदियो । किन आफ्नो क्रोधमा नियन्त्रण गरेन ? दिनमा कत्तिपटक मनमा आयो कि घर फोन गरेर आशालाई मायाको दुई शब्द सुनाइदिऊँ । तर हरेकपटक उसको अहंले तगारो हालिदियो । पुरूष जो ठहर्यो ।
अघिल्लो दिन शनिबार थियो । रवि र आशा समयमै गुरूद्वारा पुगे । कुश पनि त्यहीँ आयो । थ्री पीस सूट लगाएको ऊ राजाजस्तै लागिरहेको थियो । मिस्टर अरोडा, सिमरन र उनका जुम्ल्याहा छोरा अर्शी र कँवल आनन्दले बसेँ । क्षणभरमा आशालाई लाग्यो जस्तै उसका दुवै छोरा लव–कुश बसेका हुन् । तर क्षणमै ऊ सम्हालिई । कुशको हात उसको काँधको छेउमै लपेटिएको थियो । ऊ कुनै चुटकुलामा हाँसिरहेको थियो । प्रेमपछि बधाई र आशीर्वाद । त्यसपछि भोज । बेलुका दुलहीको स्वागत एक नाम चलेको बैंक्वटको हलमा थियो । नवविवाहित जोडीको मंगलकामनाका लागि जामसँग जाम टकराए । गाना–बजाना, भाँगडा, शोर । आशा यसमा केहीबेर मग्न रही, यसैबीच कसैले आशालाई सोध्यो । आशा, कुशको बिहे कहिले गर्दैछ्यौ ?
फेलोशिप गर्न चाहन्छ, त्यसपछि । आशा सोच्न थाली, मेरा पनि त दुई छोरा थिए । समयमा दुवैको बुहारी सँगसँगै ल्याउँदी हुँ । नातिनातिनाको चहल पहल हुन्थ्यो । उसको मनमा दु:खदायी स्मृतिको चोट लाग्यो । उसलाई उसभित्रको उदासी र बाहिरको अन्धकारले घेर्यो । आँसुको वर्ष नै हुनलागेको थियो। उसले मुस्किलले रोकी । दु:ख सहने अनन्त शक्तिलाई उसले तबमात्र जानी सोच्न थाली, के यो घाउ साँच्चै पुरिन्छ त ? चौबीस वर्षको अधुरोपना पीडा बनेर उत्रन थाल्यो । पलकमा छाएको आँसुलाई समेट्न ऊ बाथरूमतिर लागी । आशाको मनमा के चलिरहेको थियो भन्ने रवि भलिभाँती जान्दथ्यो । बाथरूमबाट आउँदै गर्दा उसले उसलाई डान्स फ्लोरमा तानेर ल्यायो । आशा कहिलेकाहीँ फिरंगीहरूको जस्तै नाच्दथी । रविको इच्छा थियो, उसको साथ नाच्ने । दुई धुनपछि आशा थाकेर बसी । मान्छेहरूको कुरा, वातावरणको कोलाहलले उसको कान चिरिन लाग्यो । उसभित्रको बेचैनीले उसलाई उठ्न विवश बनायो । ऊ दबिएको स्वरमा बोली, जाऊँ । रवि उसको दु:खबाट अनजान कहिले थियो र । उसले मायाले हात अघि सार्दै भन्यो, हिँड ।
होटलको अपरिचित पलङगमा सुतेर दुवै आआफ्नो दु:ख समेट्दै मिहिन रेखालाई एकअर्काबाट लुकाइरहे । “आशा ! के सोचिरहेकी छ्यौ ?” बितेको रात रविले कोल्टे फेर्दै नरम आवाजमा सोध्यो । “केही हैन,” आशाले जवाफ दिई । “केही त अवश्य चल्दै छ, तिम्रो दिमागमा ?” रविले भन्यो । आशाले पनि, “अनि तपाईंंको ?” सोधी । “त्यही जो तिम्रो दिमागमा…” भन्दै रविले आशालाई मायाको अँगालोमा बेर्यो ।
स्नेह र सहानुभूतिको स्पर्श पाउँदै आशा रविसँग लपेटिएर सुँक्कसुँक्क गर्न थाली । अतीतका सम्झनाहरू यताउता सलबलाउन थाले । कत्ति खुशी थिई त्यो दिन ती दुई छोराकी आमा । अघि सरेर नर्सले सोध्नुअघि नै बडो उत्साहका साथ दुवै बच्चाहरूको नाम यसरी भनिदिएकी थिई उसले–लव र कुश । यही त दुई नाम किशोर अवस्थादेखि सोच्तै आई । लव अघिअघि र दस मिनेट पछि कुश पछिपछि । लव शान्त, शालीन र कुश–तेजिलो, चञ्चल । मुख बिगारीबिगारी कोल्टे फेरी सुतिरहेको थियो । लवलाई मायालु हातले सुम्सुम्याउँदै रविले भन्योे, ‘ठूलो छोरो बाउतिर गए छ ।’ ‘हैन हैन, यो त आफ्नी सोझी आमातिर गएको छ, कुश तपाईंं जस्तो छ, चकचके,’ आशाले पनि जवाफ दिइहाली । सबै हाँसे ।
रातिको आठ बजेको थियो । दिनभरि अफिसमा थाकेर आएकाले रवि त घर गइसकेको थियो । आशाले देखी लव धेरै बेरसम्म हलचल गरेको छैन । दूध पिइरहँदा सास फेर्दा अचम्मको आवाज निकालिरहेको थियो । घबराएर उसले नर्सका लागि घण्टी बजाई । नर्सले लवलाई हेरेर डाक्टरलाई खबर गरिन् । मिनेटमै त्यहाँ डाक्टर नर्सको भीड लाग्यो । लवलाई तुरन्त आई.सी.यू.मा लगे । आशा अनजान आशंकाले कामी । आशा जान्नलाई छटपटाइरहेकी थिई कि छोरोलाई के भएको हो । उसको मन अति नै तड्पिएर रहेको थियो । उसलाई आफ्नो मुटु नै बाहिर आइरहेको जस्तो भइरहेको थियो । ऊ बारम्बार नर्सहरूलाई सोध्थी । उसले एक दुईपटक उठ्ने कोसिस पनि गरी तर पोस्टनैटल होमेजले गर्दा उसलाई हिँडडुल गर्न निषेध थियो । नर्स उसलाई निद्राको हल्का टेबलेट दिएर गइहालिन् ।
बिहानै रविलाई खबर दिएका थिए । आशाको हालत देखेर उसले पनि आशालाई केही भन्न ठीक सम्झेन । लवलाई एक हृदयरोग थियो, जुन हजारमा एक बच्चालाई जन्मजात हुन्छ । उसको हृदयको बाँया कोष्ठक अविकसित रहेको थियो र यसको उपचार लगभग असम्भव थियो । रविले यो आघात एक्लै झेल्यो । डाक्टरले लवको सानो हृदयमा आफ्नो समस्त योग्यता र खोज खर्च गरिरहे । यता आशा व्यथित भई । सबैको मौनता र टालटुलले जवाफले उसलाई विह्वल बनायो । चौबीस घण्टा भइसकेको थियो । लवलाई आईसीयूमा राखिएको थियो तर उसको कुनै खबर थिएन । आशाको छटपटाहट बढ्न थाल्यो । जे भए पनि उसकी आमा थिइन् ऊ । आफैलाई रोक्न सकिन । आखिरमा आधा रातमा नर्सहरूको आँखा छलेर ऊ आईसीयूतर्फ बढी तर कमजोरी र घबराहटले गर्दा रिङ्गटा आयो । ऊ आफ्नो सन्तुलन थाम्न नसकेर भुइँमा लडी । ऊ धेरै दिनसम्म अर्ध अचेत अवस्था परी । यही उसलाई भनिएको थियो । यो सब सम्झँदासम्झँदै कतिखेर उसका आँखा लागे, उसलाई थाहै भएन ।
अघिल्लो दिन झिसमिसे बिहान थियो । झ्यालबाट हेरिरहेको घामको झुल्काले उसलाई जगायो । कुश पनि आमाबुबाको साथमा त्यहीँ खाजा मगाएर बस्यो । उनीहरू अबेरसम्म कुराकानी गरिरहे । उनीहरू पछि सुभाष र सिमरनसँग बिदा भएर आफ्नो घर न्यू कासलका लागि निस्किए ।
तीन वर्ष बिते । कुशले फेलोशिप पनि गर्यो । चारैतिरबाट बधाईको ओइरो लाग्यो । उसले टाढाटाढासम्मका साथीहरूलाई मिठाई बाँड्यो । कलेजको डीनका तर्फबाट बधाईपत्रको साथमा फेलोशिपको अवार्ड सेरेमनीको डिनर र डान्सको निमन्त्रण थियो । बिहान शिक्षार्थीहरूको सम्मानोत्सव, राति डिनर डान्स, अघिल्लो दिन रविवार कलेजको नयाँ प्रयोगशालाको उद्घाटन र प्रदर्शनी । आशा र रवि दुवै खुशीले प्रत्फुल्लित भए । छोरो उनीहरूको सपनाभन्दा पनि माथि पुगिसकेको थियो । उनीहरूको उत्साहको सीमा रहेन । “आशा तिमी डिनर डान्सका लागि आफ्नो गुलाबी शिफनको सारी अवश्य प्याक गर । असाध्यै सुहाउँछ तिमीलाई,” रविले अनुरोध गर्दै भन्यो । “अँ, अँ, तपाईंं पनि नयाँ डिनर शर्ट, कालो ट्रिमिङ्गवाला टसकिडो र मैचिङ बो टाई पहिरनु । कुशलाई राम्रो लाग्नेछ,” आशाले पनि भनी ।
“कुशलाई राम्रो लाग्नेछ ? अनि तिमीलाई हैन ?” रविले हाँस्दै भन्यो । त्यो दिन पनि आइपुग्यो । ती अनमोल क्षणहरूलाई सदा स्मरणका लागि रविले नयाँ कैमकार्डर किनेको थियो । छोराको कार्यक्रममा सहभागी हुने उत्सुकता र उत्साह दुवैका कारण उनीहरूलाई रातभरि राम्रोसँग निद्रा पनि लागेन । बिहान अफिस जाने बेलामा रविले भन्यो, ‘दुई बजेसम्म तैयार हुनु । शुक्रबार हो, ट्राफिक जाम बढी हुनेछ । एडिनबरा पुग्नमा चारदेखि पाँच घण्टा पनि लाग्न सक्छ । र, सुन…त कैमकार्डर राख्न न भुल्नु ।’
घडीको सुई बढ्दै बढ्दैनथ्यो । उसलाई घर पनि बन्द गर्नुथियो । सामानको प्याकिङ जसोतसो गरी । कैमकार्डर राख्न लागेकी थिई कि फेरि त्यही सम्झनाले उसलाई पूर्वस्मृतिको गहिराइमा धकेलिदियो । रविले लव र कुशको थुप्रै फोटो खिचेको थियो । कहाँ गए ती सब ? उसले मलाई कहिल्यै देखाउँदैन किन ? बस उसको सबै हाँसो आँखाको कुनामा वाफ बनेर अट्किएको छ । जहिले पनि सोध्दा, उही पुरानो कुरा दोहर्याइदिन्छ, जवाबमा– तिमी कोमामा थियौ । त्यस रात कत्ति बर्फ परेको थियो । साइबेरिया बनिसकेको थियो न्यूकासल, यत्रो हिमपात । चारैतिर बर्फको मोटो तह अझै मोटो हुँदै गइरहेको थियो । तीन दिनको प्रतीक्षा पनि फेरि चर्चको जमीनमा गाडिदियौ, जग्गा थाहा छैन । भूmट ! के बिना निशानको चिहान पनि हुन्छ ? उसको त नाम थियो । कति दिन बाँचेको थियो, मेरो बाबु ? केही कारण छ जुन मबाट लुकाइएको छ । रविबाहेक यो कुरा अरू कसले भन्न सक्छ ?
ती दुवैको मौन पनि कहिल्यै शान्त रहेन । रवि मनमनै बोल्दथ्यो, आशा राम्रोसँग जान्दछु तिम्रो मनमा अथाह प्रश्नहरू उठेका छन्…, तिमी रिसाउनु पनि सही नै हो…तर त्यस समयमा जुन मलाई सबभन्दा ठीक लाग्यो मैले त्यही गरेँ ।
आशा सोच्तछे, तिमी बुझ्दैनौ…सबथोक अधुरो…अधुरो अज्ञातको भुमरीमा फँसेको जस्तो लाग्दछ । किन लवको बिना कुश पनि अधुरो लाग्दछ ? …पूरै सच्चाइ नजानीकन मलाई सधैँ यो किन लागिरह्यो कि मेरो बच्चा अहिले पनि छ…मलाई बोलाइरहेछ…दूधका लागि तिखाएको छ… ।
रवि घर पुगेको आधा घण्टाभित्रै दुवै एडिनबराका लागि दुवै निस्के । मोटरबाटोमा पुग्नेबित्तिकै उसले कारको गति तेज गर्यो । नब्बे मिलको गतिले गाडी कुद्न थाल्यो । छोराको सफलताको उत्सुकतामा डुबेका उनीहरूलाई कतिखेर एडिनबरा आइपुग्यो थाहा नै भएन । रविले भन्यो, “आशा, आमाबाबुका लागि यो भन्दा अधिक गौरवको कुरा अरू के हुन सक्छ…?” साँच्चै भन्ने हो भने बच्चाहरूको सफलता नै आमाबाबुको सफलता हो । आज म रवि भल्ला आफैलाई सफल पिता घोषित गर्दछु । रवि गौरवले चिच्यायो । “एक्लै सबै श्रेय तिमी नै लिइहाल्छौ कि क्या हो ? आमा त पहिलो शिक्षक हुन्छे, तिमीलाई थाहा छैन र,” आशाले हसिलो अनुहार पार्दै भनी । उसको मनमा अनायास कुशको पहिलो मुस्कान दौडियो । ऊ अतीतबाट खुशीको मोती उठाएर माला गुथ्न थाली–कुशको पहिलो दाँत, पहिलो कदम, पहिलो शब्द, पहिलो जन्मदिन, पहिलो स्कुलको दिन…अन्त्य नै थिएन । कैयन् वर्षदेखि सजाउँदै आइरहेकी थिई यी सुखदायी क्षणहरूलाई, तर कहिल्यै खुलेर यसको उत्सव मनाएकी थिइन..आज पनि हैन ।
कार चलाउँदा चलाउँदै रविले उसको मुस्कान हराउँदै गएको महसुस गर्यो । उसको निर्बाध खुशीमा तुषारापात भएजस्तै भयो । एकदमसँग बौलाएजस्तो गरी बोल्यो, “कमसे कम आज त बिदा गरिदेऊ आफ्नो व्यथालाई । के पायौ जो अब मिल्दै छ ? जो जीवित छ, तिम्रो अगाडि खडा छ, के तिमी उसको सुखका लागि उठ्दै गरेको बादललाई पन्छाएर मुस्कुराउन सक्दिनौ…? हर खुशीको अवसरमा नयाँ मुस्किल खडा गरेर उसलाई नरमाइलो बनाइ दिन्छौ । के कुशलाई खारेको सुनजस्तो शुद्ध आशीर्वाद दिन सक्दिनौ ? उसले हामीलाई जे दियो, त्यसको बदलामा यो खोट मिलेको नकली मुस्कान ? आमा हौ– अब सिर्फ उसकी आमा ।”
के गरौं, कोखले आफ्नो हक माग्दछ । कोसँग ? रोक्न सक्थ्यौ त तिमी उसलाई ? या म रोक्ने थिएँ । सम्हाल आपैmलाई । हाम्रो कुश…तिम्रो सन्तान– दुई त के आज दसको बराबर छ । अबदेखि हरपल उसको खुशीका लागि बाँच्नु नै तिम्रो धर्म हो । योभन्दा बढी अरू के महŒवपूर्ण छ, तिम्रो लागि ? केही पल दुवैमा मौन संलाप चलिरह्यो । आशा मनैमनमा बडबडाई रही । अँ, अँ, सोध्छु, बारबार सोध्छु…तर, हर बार उही पुरानो मनगढन्ते कथा सुनाइ दिन्छन्, तिमी कोमामा थियौ…चारैतिर बर्फ नै बर्फ जमेको थियो…आदि आदि ।
रवि पनि मनमनै बडबडाई रह्यो । आशा, म राम्रोसँग जान्दछु तिमीमा प्रश्न उठ्नु, हराउनु स्वाभाविकै हो । तिमी बुझ्दैनौ, सबैथोक अधुरो अधुरो अज्ञातको भुमरीमा फँसेजस्तै लाग्दछ । निक्ल त्यो भुमरीबाट, धेरै भयो । रविले आफ्नो देब्रे हात आशाको हातमा राख्यो । आशाले उसको हात आफ्नो हातमा लिएर चुमी । आज पहिलोपल्ट आशालाई आफ्नो कमजोरीमा दु:ख लाग्यो । हैन, अब रून्न । जुन जिउँदो छ, उसैका लागि बाँच्नेछु, खुशीले ।
रविले उसको मूक प्रतिज्ञालाई पढ्यो । दुवैले एकअर्कातर्फ फर्की मुस्कुराइदिए । कार कलेजको छेवैमा पुगेर रोकियो । अगाडिबाट कुश आउँदै गरेको देखियो । दुवैले उसको पिठ्यूँ सुम्सुम्याए र स्याबासी दिए । आउने जाने अनजान मान्छेहरूले उसलाई बधाई दिइरहे । दोस्रो बिहान समारोह निश्चित समयमा शुरू भयो । अनगिन्ती श्रोता । पूरै क्याकल्टी आफ्नो कालो गाउन र टोपी लगाएर परेड गर्दै जब आआफ्नो स्थान ग्रहण गर्न लागे, तब स्काटिश बैग पाइप बैंडले स्वागत धुन बजायो । आशालाई जिरिङ्ङ भयो । यसपछि शिक्षार्थीहरूलाई उनीहरूको सफलताका लागि प्रमाणपत्र दिइयो । आशा र रविको हात कसिएर एउटा मुठीमा बाँधिए । खुशीको आँसु निस्कियो । अगाडि कुशलाई प्रथम श्रेणीको विशेष मैडल उपहारमा दिइयो । विभिन्न जाति, विभिन्न देश, विभिन्न भाषा भाषीहरूले सभाहल खचाखच भरिएको थियो । तर आज यस बेला उनीहरू सबै समान रूपले यस वैश्विक परिवारको सदस्य थिए । सबैको एक उद्देश्य थियो, एक जात थियो– त्यो सब सफलताको सर्वोत्तम शिखरमा उभिएका चिकित्सकका अभिभावक थिए– गौरव र आत्मसम्मानका अधिकारी । समारोहपछि रविले कुशलाई सोधे, “अगाडि के गर्ने इच्छा छ छोरा ?’”
“पापा, म पढाउन चाहन्छु । प्रोफेसर बन्न चाहन्छु । डाक्टरी र बिमारीको उपचार त सँगसँगै चलिनै रहन्छ,” कुशको नम्र स्वरमा भन्यो । बेलुका डिनरका लागि रवि र आशा राम्रोसँग सजिएर तैयार भए । “वाह, यो हो नि काइदा । कहिलेकाहीँ त हाम्रा लागि पनि यसरी तैयार हुने गर,” रविले आशालाई खुशी बनाउनका लागि जिस्किँदै भन्यो । “तपाईंं पनि…,” आशाले लजाउँदै मन्द मुस्कान छोडी ।
डिनर हलको सजावट अद्वितीय थियो । दुवै आश्चर्यचकित भए । यत्रो आतिथ्य, यत्रो गहमागहमी– पहिले कहिल्यै देखिएको थिएन । प्रत्येक अतिथिलाई यो भान हुन्थ्यो कि ऊ नै खास पाहुना हो । नम्रता, देखावटी र इमानदारी सबै भरपूर । के शान थियो । खानापछि कलेजको टीमका तर्फबाट डीनले सबै अतिथिलाई धन्यवाद दिए र नयाँ प्रयोगशालाको उद्घाटनको उद्घोष गरे । अघिल्लो दिन बिहान दस बजे सबैलाई उद्घाटन समारोहका लागि आमन्त्रण गरियो । मेरो तपाईंंहरू सबैसँग अनुरोध छ कि तपाईंंहरू सबै आउनुहोस् र हेर्नुहोस्, तपाईंंहरूका छोराछोरीहरूलाई यस अवस्थासम्म पुर्याउनमा पर्दापछाडि कत्ति मान्छेहरूको सहयोग रहेको छ । तपाईंंहरूलाई यहाँ आएकोमा धन्यवाद । अब तपाईंंहरू बेलुकाको आनन्द लिनुहोस् ।
समारोह सकिँदा बाह्र बजेको थियो । त्यसपछि सबै आआफ्नो होटलतर्फ गए । रविको रात छटपटीमै बित्यो । रातभरि उसको मनमा त्यही कालो रात घुमिरह्यो । उसको मनमा अलग्गै सागर मन्थन चलिरह्यो । सधैँ आशाको भावनालाई महŒवहीन करार दिएर ऊ आफ्नो मनमा बसेको चोरलाई भगाउन सक्छ, कहिल्यै ? आशाको मूक आश्वासनले उसलाई आफ्नो अपराधबोधसँग लड्नलाई छोडिदियो । कत्ति कमजोर थियो ऊ जो यत्तिका वर्षसम्म उसलाई साँचो भन्ने आँट गर्न सकेन । कोसँग डराउँदथ्यो ऊ ? आशासँग कि– उनी सहन सक्तिनन् भनेर ? या आफ्नो त्यो भूmटको महानतासँग । जसको झोकमा उसले आफ्नो नवजातलाई मानव सेवाका लागि अर्पण गरिदियो । उफ ! के गुज्रियो होला त्यस नाजुकसँग शवमा ? कसकसले चिरफार गरे होलान् ? किन उसले डा. फर्युसनको प्रस्तावलाई नकार्यो । लवलाई जन्मजात हृदयरोग थियो, जुन हजारमा एक हुन्छ । लव चिकित्साशास्त्रका लागि एक अमूल्य उदाहरण थियो । उसमाथि अन्वेषण गरेर धेरै थोक सिक्न वा जान्न सकिने थियो । त्यस समय आशा आफ्नै कक्षामा थिई, निस्पट बेहोश । रवि लवको छेउमा आई.सी.यू.मा गएको थियो । डा. फर्युसन त्यस कोमल ज्यानलाई अक्सिजन दिइरहेका थिए । दुई अन्य प्रोफेसर उनका वरिष्ठ चिकित्सक त्यहाँ आए, त्यसबेला रात्रिको एघार बजेको थियो । सबै प्रयोग विफल भइरहेका थिए । चारैतिर नलीहरूमा लवको कोमल ज्यान अड्किएको थियो ।
डाक्टर फर्युसनले रविको काँध थपथपाएका थिए । दुविधामा उनको आँखामा आँसु थियो । क्षोभ, असफलता र विवशताको । रवि उनको छातीमा लपेटिएर भक्कानियो । “न रोऊ । ईश्वर नै यो सब नाटकको रचयिता हो, मित्र । उसले आज यस मञ्चमा यो आफ्नो नयाँ रचना पठाएको थियो । सायद त्यसैले हामी यो अचम्मको रचनालाई बुझ्न सकौं र भविष्यमा यसबाट शिक्षा लिन सकौं,” फर्युसनले भने । “सिक्नुभयो डाक्टर ? के सिक्नुभयो ? उसकी आमालाई सिकाउन सक्नुहुन्छ ?” रविले हताश हुँदै सोध्यो । “हैन, तर कत्ति डाक्टरले त्यसबाट अनुभव लिन सक्छन् यदि तिमीले चाàौ भने,” फर्युसन थपे । “के मतलब ?” रविको आश्चर्यले भरिएको प्रश्न तेस्र्यायो ।
“तिमीले चाàौ भने तिम्रो बच्चा अमर रहनेछ । यसलाई बेजान हिरो बनाऊ । यो बच्चालाई चिकित्साशास्त्रका लागि उपहारमा देऊ । युगयुगसम्म अनेक विद्यार्थी तिम्रो आभारी रहनेछन् र यो मरेर पनि जीवित रहनेछ । हामीसँग समय धेरै कम छ,’ लेखिएको पर्चा डाक्टर फर्युसनले उसको अगाडि छोडेर गए । धेरै आत्ममन्थनपछि उसको मनमा उपकारको भावना जाग्यो । आशासँग कुरा गर्र्न चाहन्थ्यो । तर, आशा होशमा कहाँ थिइन, केही सोधे पनि त्यो भन्न सक्ने अवस्थामा थिइन । यो उसको जीवनको सबभन्दा ठूलो परीक्षा थियो । त्यस समयमा उसले केही सोच्न सकेन । उसले लवको सबै शरीरका छियाछिया बनाएको कसरी हेर्न सक्थ्यो र ! त्यहाँ रहेका फर्ममा हस्ताक्षर गरेर चुपचाप ऊ घर फर्कियो । ऊ यो पनि जान्दैन, उसलाई लाग्छु ऊ आशाको अपराधी हो । म पनि त त्यही आगोमा जलिरहेको छु । उसले आजसम्म न त्यस शून्यलाई भर्न सक्यो र न त्यसलाई प्रकट गर्ने आँट नै गर्न सक्यो । कति सजिलै आशाले उसलाई हृदयहीन करार दिएकी थिई । त्यो दिन कसरी ऊ आफ्नो हृदय र हातमा खालीपनको अनुभव लिएर फर्केको थियो । यो सोच्दासोच्दै थाहा छैन उसको आँखा कतिखेर निदाए उसलाई थाहै भएन ।
भोलिपल्ट बिहान कुश चाँडै नै त्यहाँ आइपुग्यो । तीनै जना समयमै रिबन काट्ने समारोहमा उपस्थित भए । यसपछि एक वरिष्ठ प्रोफेसरले उनीहरूलाई निर्देश दिँदै भित्र लिएर गए । चारैतिर सिसाको ठूल्ठूला आलमारीमा हड्डीको मानव आकृति, फोरमेलिनमा सुरक्षित मानव शरीर, अत्यन्त सफा तरिकाले दर्शनार्थ सजाइएको थियो । प्रोफेसरको धीर गम्भीर स्वर उँचा छत भएको त्यो विशाल हलमा गुञ्जिरहेको थियो । यो म्युजियम हो, मानवताको । यसलाई मृत्युकक्ष न सम्झिनुहोस् । यिनी मानवताका ती पुजारी हुन् जसले सहर्ष आफ्नो शरीर चिकित्सा शोधका लागि दान गरे । यी अवयवहरू जुन ससाना शीश महलमा सुरक्षित छन् । तपाईंं एक सम्पूर्ण नागरिकका रूपमा चिन्नुहोस्, जसका तपाईंंहरूका जस्तै आमाबुबा थिए अथवा अहिले छन् । जो रून्थे अनि हाँस्दथे, नाच्तथे अनि गाउँथे, खान्थे अनि पिउँथे । आफ्नो मृत्युमा पनि यिनीहरू अमर छन् र हामी यिनीहरूको अन्तर्मनबाट आभारी छौं । किनकि प्रोफेसर आए र गए तर यी मानव कंकालले वर्षौंदेखि तपाईंंहरूका बच्चाहरूलाई चिकित्सक बनाउनमा आफ्नो अमूल्य सहयोग दिइरहेका छन् । कृपया मुक्त मनले यिनलाई आफ्नो श्रद्धाञ्जलि दिनुहोस् । चारै तिरबाट ताली गडगडाहट आयौ । तर त्यो कर्णभेदी तालीको गडगडाहट रविले सुनेन । ऊ अतीतमै हराएर यिनै शब्दहरूलाई वर्षौं पछिबाट सुनिरहेको थियो । यो हुन सक्दैन…कहाँ न्युकासल, कहाँ एडिनबरा…पच्चिस वर्षको अन्तराल…प्रो. फर्युसन ?
एकाएक उसको दृष्टि एक सानो जारमा अड्किएको थियो । मुश्किलले दुई इञ्चको एक हृदय उसमा तैरिरहेको थियो । आफ्नो समस्त स्नायु संस्थानसँग टाँसिएर । तल उसको जन्मको तारिख र बिमारीको नाम लेखिएको थियो, बस । यो पनि लेखेको थियो कि यो सानो बालक जन्मदेखि यस्तो थियो र केही घन्टामात्रै जीवित रह्यो । यो देखेर रवि स्तब्ध रह्यो । उसको कलेजो धपधप गर्न लाग्यो । ऊ मन मनै गायत्री मन्त्र जप्न थाल्यो ।
रविले देख्याmे आशा वेगले अघि बढ्दै थिई । ऊ अचानक एक शिशी देखेर रोक्किई…फेरि अघि बढी, रविको ज्यानमा सास आयो । थाहा छैन के सोचेर आशा पछिल्तिर मोडिई र त्यही शिशीको अगाडि गएर उभिई, जसमा लेखेको थियो, १२–०२–१९८९ । तारिख देखेरै उसका आँखा त्यसमा गडिनैरहे । गोडा त्यहीँ जमिरहे । उसको शिर घुमानउन लाग्यो । उसका आँखा धमिलो हुन थाले । उसको मस्तिष्कमा डाक्टरको त्यही शब्द गुञ्जन लाग्यो । ‘अनडेवेलप हार्ट…’जुन शिशीमा लेखिएको थियो । उसले आफ्नो आँखा मिचेर फेरि राम्ररी हेरी…, उसलाई केही क्षण दृष्टि स्थिर गर्नमा लाग्यो । अगाडि उसले पढ्न सकिन । ऊ सोच्न सकिरहेकी थिइन । ऊ थिई कि थिइन ? यो हुनु र नहुनु के हुन्छ, उसले आफैलाई सोधी, उसको ममता रोइरहेथ्यो । उसको छाती चिरिन लाग्यो । उसको अतीतको पीडाको आवाज ऊँचा भएर आयो । उसले बिर्सिएकी थिई कि ऊ कहाँ उभिएकी छ । रोइरोईकन ऊ त्यो शिशीलाई कोतर्थी…, ठोक्थी…,चुम्थी,…समाउँदैै, बडबडाइरही– मेरो नानी…! मेरो नानी…! मेरो मुटुको टुक्रा…! तिमी यहाँ ? …किन…? तिम्रो यो हालत कसरी ? रवि र कुशले उसलाई भुइँ लड्न लाग्दालाग्दै बचाए । रविले उसलाई कोठाबाहिर लिएर गयो । उसलाई सम्झाउने कोसिस गरिरह्यो । आशा रिसले रविलाई कलरमा समातेर हल्लाइरही, तिमी त भन्दै थियौ– लवलाई वर्तमानसँग हैन, अतीतसँग सम्बोधन गर्ने गर । ऊ हेर लव तिम्रो सामुन्ने छ, मेरो छोरो…यहाँ कसरी…? किन…के तिमी जान्दैनौ…मरेर पनि मान्छे मर्दैन, जबसम्म उसको अन्तिम चिजहरूलाई पूरा गर्दिदैनन् । यहाँ हेर झुन्डिरहेको छ, हाम्रो छोरो । न बाँचेको न मरेको । उसको अनुहार बलिरहेको थियो । रवि नि:शब्द थियो । उसको घाँटीमा दोषको भावनाको गाँठो पर्न लाग्यो । ऊ जान्दैन, आशाको बिवचलित मनलाई कसरी शान्त पार्ने । रविले प्रेमले आशालाई अंकमाल गरेर सुम्सुम्यायो । उसले आप्mनो सुँक्कसुँक्कलाई शान्त पार्दै भन्यो– “आशा म अपराधी हुँ, तिम्रो । तिमी दुवै छोरालाई प्रोफेसर बनाउन चाहन्थ्यौं । हेर न, लव त कुशभन्दा पहिले नै प्रोफेसरको प्रोफेसर बनेर कत्ति प्रोफेसर बनाइसकेको छ ।
तीनै जना शान्त थिए । केवल रवि नै जान्दथ्यो कि ऊ पनि त्यही आगोमा जलिनै रहन्छ । यो उसको जीवनको कठिन र कठोर फैसला थियो । लवको कोमल अनुहारले अहिलेसम्म उसभित्र पीडा भरिहेको छ । ऊ बाउ पनि त हो । जाँदाजाँदै आशाको हेराइबाट जोगिएर उसले पछि फर्किएर लवमाथि दृष्टि लगायो र भन्यो, आशा ! सुन तिमीले…,उसले तिमीलाई बोलायो, आमा
कथाकार: अरुणा सब्बरवाल, बेलायत
अनुवाद: बैद्यनाथ उपाध्याय, भारत