बनेपा स्वधा टोल स्थित पहिलो स्कुल सरस्वती प्राइमरी स्कुलमा स्वयंसेवक शिक्षक भई कार्य गरेको २०२३ साल तिर हो । केही वर्ष सम्म स्वयंसेवक शिक्षक भई सेवा पुर्याइ सके पछि सञ्चालक समितिका निर्णयअनुसार रु.१००।– तलब पाउने गरी ध्रुव कर्णजित र म उक्त स्कुलमा शिक्षक दरबन्दीमा नियुक्त भयौँ । थोरै मात्र विद्यार्थीहरू पढ्ने स्कुल । किसानहरूकै बाहुल्य रहेको मानन्धर बस्तीमा सञ्चालित उक्त स्कुलमा भवन लगायत भौतिक साधन स्रोतको स्थिति दयनीय थियो । स्कुल प्रशासन सबल र सक्षम नभएको, टोलबाट पनि भरपर्दो सहयोग हुन नसकेको कारणले स्कुलको अवस्था गिर्दै गइरहेको हुनाले नै हामीलाई त्यस विद्यालयमा नियुक्त गरिएको हो । २०२५ कार्तिक २६ गते नियुक्ति पाए पछि उक्त स्कुलको पठन पाठनमा स्तर वृद्धि गर्न, भौतिक साधन जुटाउन र टोलवासीहरूको सहयोग प्राप्त गर्न हामीले सकेको भूमिका निभायौँ ।
प्रशासनमा सुधार गर्नुपर्ने आवश्यकता बोध गरेर प्रशासन फेर्ने काम सञ्चालक समितिबाट भयो । केही समय सम्म वाद विवादमा नै स्कुल रह्यो । नयाँ नियुक्ति पाएका प्रधानाध्यापक हरिकृष्ण श्रेष्ठसँग मिलेर उक्त स्कुलमा प्रगतिका धेरै खालका कार्यहरू गर्ने अभियान सञ्चालन भयो । पठन पाठनमा नियमितता कायम भयो । टोलको सहभागिता र सहयोग थपिँदै गयो । तलका कोठाहरू बार्ने काम भयो । केही क्षणमा नै सरस्वती स्कुलको रुपरङ्ग विद्यालयजस्तै हुन गयो । यसरी केही वर्ष शिक्षण सेवा पुर्याइसेकेको उक्त स्कुलमा २०२८ सालतिर केही वर्ष सञ्चालक समितिको सदस्यसमेत भई सेवा पुर्याएको मलाई थाहा छ । त्यसैले सरस्वती प्राइमरी स्कुल शिक्षण सेवाको इतिहासमा मेरो जीवनको प्रथम पाठशाला हो भन्न सकिन्छ ।
तलब दिने भनिएको छ तर आर्थिक सङ्कटले गर्दा तलब दिन सक्ने वातावरण नै थिएन । दामासाही केही रकम बाँडचुँड गर्छौँ । हामी त्यसैमा रमाउँछौँ । सरस्वती स्कुलमा सेवाको भावले काम भएको हो । टोल छेउको स्कुल । त्यसैताका शिक्षण पेसामा तलब भन्दा सेवाको भावना व्याप्त थियो । सेवा नै सोचिएर काम गरियो । सरस्वती मेरो स्मृतिका पानाहरूमा यस्तै–यस्तै रह्यो । रामभक्त, हरिकृष्ण, ध्रुव लगायत लतं मानन्धर जस्ता सेवकहरूसँग म कतातिर छु आज सोधी रहेछु ।
सरस्वतीमा सक्दो खालको स्वच्छ वातावरण बनाइसके पछि पछि साथीहरूकै सल्लाहअनुसार बनेपा सह–शिक्षालयमा शिक्षिकाहरू गरम देवी दुवाल, राधिका जोशीहरूकै आग्रहमा एक जना नयाँ शिक्षक श्रीकृष्ण धौभडेलसँग प्रधानाध्यापक पदमा सेवा गर्न पुगे । बहिटोलको पाटीमा स्कुल । थोत्रा सुकुलहरूमा छरपस्ट विद्यार्थीहरू । दुई जना शिक्षिका । एक जना शिक्षक । म आफू प्रधानाध्यापक । काठका बाकसहरू हाम्रा मेच । पढ–पढ गर–गरका हाम्रा सन्देशहरू । चिच्याइ–चिच्याइ पढ्ने विद्यार्थीहरूका शैलीहरू । अनौठो खालका छन् त्यसताकाका विद्यालयहरू ।
आफ्नै ढङ्गले समर्पित भयौँ हामीहरू । जिल्ला शिक्षा निरीक्षकको साधारण सहयोग र निर्देशनमा सञ्चालित भइरहेका त्यसताकाका विद्यालयहरूको रूप र रङ्ग स्पष्ट थिएन । समुदायको जिम्मेवारीमा राखिएको तर सरकारका तर्फबाट भरपर्दो सहयोग नहुने त्यसताकाका विद्यालयहरूको ग्रह दशा बताएर साध्य छैन । समुदाय बलियो नभएको कारणले परिवेशमा उक्त सञ्चालित विद्यालयहरू जग विनाका घरहरू जस्तै थिए । मलाई त त्यस्तै लाग्यो दुइटा स्कुलमा कार्य गर्दाको अनुभवमा । गरम भाउजू, राधिका दिदी, श्रीकृष्ण मित्र सँगसँगै बनेपा सह–शिक्षालयमा काम गरेका सम्झनाहरू भुलि नसक्नु छ । बनेपा शिक्षालयबाट नै आजको बनेपा प्रा.वि. भएको हो । आज पनि म बनेपा प्रा.वि. लाई बनेपा शिक्षालयको एक जना शिक्षक भएर नियालिरहेछु ।
नयाँ शिक्षा योजना लागू हुनुभन्दा अगाडि आफ्नै घरछेउको समाजले आवश्यकता बोध गरेर अनुरोध भए अनुसार केही वर्षसम्म प्रा.वि. शिक्षक भई सेवा गर्ने मौका पाएको हुँ । सरस्वती भित्रका शिक्षण जाँगरहरूलाई आफूमा भरेर बनेपा शिक्षालयकै सेवामा समर्पित हुँदाका थुप्रै स्मरणहरू रहँदा रहँदै संक्षिप्तमा मात्र मैले यी दुई विद्यालयको चर्चा गरेँ । धेरै स्मृतिका पानाहरू छन्, धेरै खालका तीतो–टर्रा कुरा–प्रसङ्ग छन् सबैलाई बिर्सिदिएर सरस्वती/बनेपालाई आज म सम्झिरहेछु ।
नयाँ शिक्षा योजना लागू भयो । शिक्षण सेवामा सरकारबाट नियन्त्रण गर्ने कार्य भयो । नियुक्ति, दरबन्दी, खोसुवा सबै–सबै कार्यहरू प्रत्यक्ष जिल्ला शिक्षा अधिकारी कार्यालय अन्तर्गत हुने भयो । पञ्चहरूको बोलवाला अप्रत्यक्ष मात्र होइन प्रत्यक्ष लागू हुन थाल्यो । नियुक्तिमा धाँधली मात्र भएनन् । स्वाभिमान र विवेकशील शिक्षकहरू लाखापाखा लगाउने काम भयो । शिक्षा कार्यालयको फुर्ती त बढ्यो तर पञ्चहरूबाट उक्त फुर्तीलाई कालो पोत्ने कार्य पनि निरन्तर भइरह्यो । पुरानो शिक्षकहरूको मर्यादालाई किच्ने काम भयो । पञ्चहरूको जिहजूरी नगर्ने शिक्षकहरू माथि वक्रदृष्टि लागू भयो । नयाँ शिक्षा योजना अन्तर्गत नयाँ ढङ्गको शिक्षामा पजनी सुरु गर्ने कार्य भयो ।
मलाई बनेपाबाट पाँचखाल धपाइयो । दुग्धेश्वर प्रा.वि.का लागि २०२९ साल पुस १९ गते नियुक्ति दियो । पाँचखालको तातो घामसँग माया प्रीति साट्दै दिनका दिन पाँचखाल धाउन सुरु गरेँ । केशव अधिकारी र म दुई जना शिक्षक । ७०–८० जना विद्यार्थीहरू । छानो नभएको स्कुल घर । राता माटो व्याप्त डाँडोमा घामलाई छेक्दै पढाउनु पर्ने हाम्रो बाध्यता । करिब ३ महिना घामसँगै मन साट्दै कष्टमय ढङ्गले पाँचखालमा दुग्धेश्वरको शिक्षक भई पाँचखाल छाम्न पाएका प्रसङ्गहरू आज म स्मरण गरिरहेछु ।
२०२९ साल चैत्र २१ गते पुण्य प्राथमिक विद्यालय, पनौतीका लागि शिक्षक पदमा नियुक्ति पत्र दियो तर कार्य गर्न पाइएन । पछि २०३० साल वैशाख ५ गते पुण्य प्राथमिक विद्यालय, पनौतीको शिक्षक पदमा पदस्थापन गरी श्री जागृति प्राथमिक विद्यालय शाखा, भैंसेपाटीमा कामकाज गर्ने गरी काज खटाइएकोमा श्री पुण्य प्राथमिक विद्यालय पनौतीको शिक्षक पदबाट श्री जागृति प्राथमिक विद्यालय आशापुरेश्वरको शिक्षक पदमा सरुवा स्थापना गरिएको छ भनेर जागृति प्राथमिक विद्यालय शाखा, भैंसेपाटीमा काम गर्न लगाइयो । कलुषित राजनीतिको कहरबाट स्वाभिमान
माथिको आक्रमण भएको बेला हो यो । मनमा कष्ट बोकेर भैंसेपाटीमा शिक्षक भइयो । कृष्णभक्त धौगोडा सरसँग शिक्षणमा मन लगाइयो । भैंसेपाटी पनि पाँचखाल जस्तै मानस पटलमा रह्यो ।
शिक्षक भए पछि साँच्चीकै शिक्षक हुन खोजियो । २०२८ सालतिर नर्मल तालिम लिन कीर्तिपुर गइयो । काभ्रेका थुप्रै शिक्षकहरू पनि तालिममा आएको त्यस बेला निकै रमाइलो व्यवहार र सङ्घर्षका मिठा–मिठा अनुभव बटुल्न पाइयो । छात्रवृत्ति सबैको लागि उपलब्ध हुनुपर्ने हाम्रो त्यस बेलाको जायज मागहरू प्रति बेवास्ता गरियो । निकै रमाइलो ढङ्गले हडताल भयो । सबैको अनुरोधमा म अध्यक्ष भएँ । त्रिभुवन विश्व विद्यालयको प्राङ्गण भित्र हाम्रो सक्रियतामा भएको हड्तालले निकै खैलाबैला र सनसनी पैदा भयो । धेरै पढेका भनी टोपल्नेहरू र विद्यार्थीहरूको नाममा फेशन प्रदर्शन गर्न पल्केका बाबु साहेब र मैंया साहेबहरूको आँखामा हामी गँवार नर्मलेहरूको हडताल र जुलुसले निकै नै सनसनाहट पैदा गरि दियो । हाम्रो हडताल जायज थियो, रहरले उब्जेका नाराहरू थिएन । त्यसैले सबैको समर्थन र सहयोगमा महिनौं हडताल भयो – पछि सम्झौताका लागि दुवै पक्षका बिचमा कुराहरू भए सम्झौतामा टुङ्गियो ।
यस घटनापछि जिल्लाका शिक्षक समुदायमा मेरो निकै प्रभाव गर्यो । शिक्षकहरूको अनुरोधमा शिक्षक सङ्गठन खोल्ने चाहना अभिव्यक्त भयो, दायाँ–बायाँ केही पनि नहेरीकन शिक्षक सङ्गठन खोल्ने काम जिल्लामा भयो । २०२९ साल तिरको कुरा हो, जिल्लाका थुप्रै शिक्षकहरूको उपस्थितिमा जिल्ला अध्यक्षमा मेरो मनोनयन शिक्षक आन्दोलनको लागि भयो । विभिन्न क्षेत्रका शिक्षक साथीहरूको सहभागितामा २१ जनाको तयारी समिति काभ्रेमा गठन भयो । सम्भवतः नेपालकै लागि पहिलो र उदाहरणीय शिक्षक सङ्गठनको गठन काभ्रेमा भयो । शिक्षक जगत्मा मात्र नभईकन यस सङ्गठनले प्रशासनिक इकाई मा समेत निकै सन सनाहट फैलाउने काम भयो । सङ्गठनको सक्रियतामा केही काम गर्न नपाउँदै मलाई धेरै ठाउँमा बनेपाबाट टाढा गाउँ–गाउँसम्म सरुवा गर्ने काम भयो । अन्तिममा मेरो सरुवा धुलिखेलको पूर्ण सञ्जीवनीमा भयो – त्यही बेला खोसुवामा पुर्जी ठम्याउने काम पनि भयो । अन्तिममा केही नलागेपछि मलाई जागिरबाट निकालियो र पत्र बुझ्न लगाइयो । जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला सभापति लगायत जिल्ला शिक्षा अधिकारीहरूको मिलीभगतमा माथिकै निर्देशनमा मेरो जागिर खोस्ने र मलाई दु:ख दिने षड्यन्त्रका साथै निकृष्ट व्यवहार भयो । मेरो केही लागेन – एक दुई जना मित्रहरु र शिक्षकहरूका साथ प्र.जी.अ. कहाँ म पुगेँ । मैले आफ्नो लागिभएको व्यवहार र षड्यन्त्रको भण्डाफोर गरी मेरा गुनासाहरू र आक्रोशहरू व्यक्त गरेँ । पटक्कै सुनुवाइ भएन । शिक्षक सङ्गठनलाई पार्टीभन्दा डरलाग्दो सङ्गठनको रूपमा निर्दलीयता रुचाउने प्रशासकहरू बाट व्याख्या भयो । त्यही व्याख्या र तिनीहरूकै रौनकमा आफूलाई ढाल्नुपर्ने बाध्यता र वास्तविकता त्यसताका म माथि खनिएको हैरानी र आक्रमण थियो ।
मलाई शिक्षकबाट निकाल्ने काम किन भयो ? मैले के बिराएँ त्यसको जवाफ आज सम्म पनि पाइनँ – सिर्फ तपाईँको आवश्यकता हामीलाई भएन सकेको गर्नुस् भन्दै ढकोसलाका ठुला–ठुला स्वरहरू सुन्नु बाहेक प्रशासकहरूबाट अर्थोक केही भएन । हतियार उठाउने कल्पनासम्म गरेको थिइनँ, सिर्फ शिक्षकहरूको बिचमा सङ्गठनको तर्जुमा गर्ने र देश हितका खातिर सङ्घर्ष गर्ने सोचाइ बाहेक अरू सोचाइ नै उठेको थिएन । तर हतियार उठाउन खोज्ने विद्रोहीको रूपमा मलाई प्रशासकहरूबाट व्यवहार भयो । शिक्षक सङ्गठनबाट शिक्षक–वर्ग र शिक्षण जगत्मा नि:स्वार्थ ढङ्गले सेवा गरेबापत मलाई शिक्षण पेसाबाट अनावश्यक रूपमा निष्कासित भयो । विधिको विडम्बना कामको खोजी गर्ने धुनले काठमाडौँ पुगियो । अर्थात् काभ्रेबाट लखेटियो ।
०००