कवि बाबुराम श्रेष्ठ ‘यात्री’ को दोस्रो काव्यकृति ‘बूढो समय’ शनिबार राजधानीमा सार्वजनिक गरिएको छ । गीतकार डा. कृष्णहरि बराल, कृतिकार बाबुराम श्रेष्ठ ‘यात्री’, ज्ञानु अधिकारी, महेश पौडेल र सुरेश किरणले संयुक्त रुपमा पुस्तकको लोकार्पण गर्नुभएको हो ।
सिन्धुलीमा रहेर कविता लेखनमा सक्रिय कवि यात्रीको पहिलो काव्यकृति २०६३ सालमा ‘देश स्वप्न’ प्रकाशित भएको थियो । कार्यक्रमका प्रमुख अतिथि डा।बरालले नेपाली साहित्यमा कवि यात्रीका कविताले प्रगतिवादी धार समातेको चर्चा गर्नुभयो । कवि यात्रीका कविताले वैदेशिक रोजगारीका पीडा, विद्यमान राजनीतिक अव्यवस्था, माओवादी युद्धले नेपाली समाजका विविध क्षेत्रमा पारेका प्रभावबारे भन्ने जमर्को गरेको डा.बरालले बताउनुभयो ।
कार्यक्रममा विद्यमान कविता लेखन, प्रबृत्ति र पुस्ताका विषयमा चर्चा गरिएको थियो । समालोचक ज्ञानु अधिकारीले कवितामा जति डुबेर, हराएर पढिन्छ त्यति मजा आउने बताउनुभयो । उहाँले भन्नुभयो, “कविता पढ्नु सरल छैन । कविले जुन चेतना, अनुभूति विचारमा डुबेर लेखेको हुन्छ त्यो तहमा कविता बुझ्नु जटिल बिषय हो ।”
कवि सुरेश किरणले अहिले शब्दकोश पल्टाएर कविताको अर्थ पढ्नु पर्ने समय नभएको बताउनुभयो । उहाँले कवि यात्रीका कविता चर्चा गर्दै भन्नुभयो, “कवितामा शब्द छनोट र वाक्य निर्माण छोटा छन् । फ्रेस जस्तो लाग्यो । अरू कविको भाषासँग मेल खाएको लागेन ।”