~ रुपान्तरण ~
हिँड्दा हिँड्दै
तिम्रो कल्पनाको क्यानभासमा हिमाल भएर अग्लिरहेकी थिएँ
सर्वोच्चताको सीमान्त छोएर
धेरै बेरसम्म अग्लिरहन कठिन हुँदोरहेछ कि —
तिम्रै प्रेमील स्पर्शले पग्लिएर झरना बनेँ ।
झर्दा झर्दै आफूलाई —
उड्दै गरेकी पुतली सम्झिएँ
कहिले लजाएर गुलाबी फक्रिदिएँ ।
झरेर गन्तव्यसम्म पुग्नु त धर्म थियो
तर कुन मोहले अल्झाएर हो कुन्नि ?
बग्दा बग्दैका पाइलाहरु किनारा भै त्यतै थामिए ।
पर्खनु नै नशा बनेपछि
हृदयभरिको सारा उतारचढावको रुपान्तरणमा
ईश्वरसँग आफूलाई बगर बनाई मागेँ
रहलपहल घाऊका अवशेषहरु छातीमै सजाएर पल्टिरहेँ
एक जोर तिम्रा पैताला यतैबाट गुज्रिनेछन् लागेर ।
कुनैदिन तिम्रो प्रेममा नपरेको हुँदो हुँ त
जीवनका यति धेरै आयामहरुको स्वाद कहाँ भेट्थेँ म ?
~ ईच्छा ~
अल्झिएकी छु प्रिय
तिम्रो आभाको आकर्षणमा
जसरी झुम्मिन्छिन् पुतली
उज्यालोको सम्मोहनले
गर्छे समर्पित सर्वस्वसहित आफूलाई
हो त्यसरी नै समाहित भई जान मन छ
त्यो छातीभित्रको भुल्के दोभानमा
र त चाहन्छु
अन्तिम पल्ट
प्रेम होस्
बेहद !
सम्बन्ध आफैले निर्धारण गरोस् आफ्नो आयू
तर बाँचिरहोस् प्रेम
वसन्तहरुमा/कवितामा/ स्मृतिमा/हृदयमा ।