(ओरालो–ओरालो बाटो । केही तल नदी देखिन्छ । तलतिरबाट मझौला कदको, केही मोटो मानिस सुसेली हाल्दै मास्तिर आइरहेछ । काँधमा झोला झुण्डेको छ । छोटा दा¥ही पालेको । माथिबाट अर्को सिकुटे, दुब्लो, हाफ जाँगे लगाएको मानिस एकोहोरो शंख बजाउँदै हान्निएर तल्तिर आउँछ । तलबाट माथि आइरहेको मानिस चकित भएर उसलाई हेर्छ र माथिबाट आउने मानिसले लतार्ला कि भनेर छेउ लागेर उभिन्छ । शंख बजाउँदै आउने मानिस जीउ थाम्न नसकी हुत्तिएर तलबाट आउने मानिसमाथि ठेसिन पुग्छ । दुबैजना धूलामा लतारिन्छन् । तलबाट आउने मानिस, जसको नाम शंकर हो र जो न्याययोद्धा हो, हत्तपत्त उठ्छ र कोल्टे परेर पछारिएको अर्को बटुवामाथि जाइलाग्ने ढङ्गले बोल्छ ।)
शंकर ः एई, के चाल हो यो ? यत्रो बाटो छ । आँखा छैनन् तेरा ?
(शंखवाल मानिस उदास, निरीह नजरले शंकरलाई हेर्छ । अनुहार, कपालको धूलो पुस्छ र मुख विकृत पार्दै मुन्टो अर्कातिर फर्काउँछ ।)
(शंकर निहुरेर उसलाई नियाल्छ । शंखवाल बटुवा मुन्टो फर्काएर क्षमायाचनाको दृष्टिले शंकरलाई ट्वाँ परेर हेर्छ, हेरिरहन्छ ।)
शंकर ः (कड्केर) हा ! मान्छे त सद्दे हो ? कि पागल हो ? (हात समात्छ, स्नेहले मुसार्छ ।)
शंकर ः न कतै लास छ । न कतै मलामी देख्नु छ । एकोहोरो टुँ पार्दै शंख बजाएर मान्छेलाई जथाभावी पेल्दै कुदेको छ । (आफैंसित सोधेझैं) के मान्छे हो ? के जमाना आएको यो ?
(शंखवाल दुई हातले मुख छोप्छ, लामो सास फेर्छ र घोप्टो पर्छ । उदेकलाग्दो गरी हिक्का छाडेर गाढा, छातीमा दबेको स्वरमा रून थाल्छ ।)
शंकर ः किन रोएको त्यसरी ? (उसलाई घचघच्याउँदै) भाइ, एकोहोरो शंख बजाउँदै कसलाई जात्रा देखाउन हिँडेको ?
(शंखवाल मानबहादुर उठ्न मन नलागी–नलागी उठ्छ । फेरि खिन्न र विरक्त भावमा शंकरलाई हेर्छ ।)
शंकर ः हँ ? भन त, के गरेको यो ? कतै दिमाग सड्केको त हैन ? (उसको कपाल मुसार्छ ।)
मानबहादुर ः (विदीर्ण स्वरमा कम्पन हुन्छ) यो जात्रा होइन, दाइ ! यो जीवनको वास्तविकता हो । (उत्तेजना चढेको स्वरमा) यो निठुरी वास्तविकता ! ज्यानमारा वास्तविकता !
शंकर ः बित्थामा एकोहोरो शंख बजाउँदै केको वास्तविकता ? लास खै ? मलामी खै ?
मानबहादुर ः (आफैंलाई संकेत गर्दै) लास यही हो । मलामी पनि यही हो । लास एक्लै, मलामी एक्लै ।
शंकर ः आफैं लास, आफैं मलामी, अनि शंख बजाउने पनि आफैं ! अनि कुन रहस्यलोकतिरको यात्रा हो यो ?
मानबहादुर ः (मृत्युमय स्वरमा) म……म मर्न हिँड्ेको ।
शंकर ः आफैं शंख बजाउँदै, कोकोहोलो मच्चाउँदै, बाटाघाटाका मानिसलाई ठेल्दै, पेल्दै आफैं मर्न हिँड्ेको ?
मानबहादुर ः हो, म मर्न हिँडेको ।
शंकर ः (मानबहादुरका पाखुरा समातेर सहारा दिँदै) उठ् !
मानबहादुर ः (स्वरमा विचित्रको थर्थराहट छ, हडबडी छ ।) मर्न हिँडेको मान्छे म । म किन उठूँ ?
शंकर ः वाह, बाटा–बाटामा अरूलाई लतार्दै बडो शानसँग मर्न हिँडेको ?
मानबहादुर ः हो….(हातले मुख छोपेर मुन्टो निहुँराउँछ) ।
शंकर ः (उसको कपाल मुसार्दै) भाइ, यस्तो सारसौंदो खाउँलाउँ, मोजमज्जा गरूँको उमेरमा मर्न हिँडेको ? किन त भैया ?
मानबहादुर ः (दुई हात फैलाएर करूण स्वरमा) दाइ, मेरो संसार भष्मखरानी भो ।
शंकर ः (आश्चर्यमिश्रित करूण भावमा) हा ! भष्मखरानी भो ? संसार !
मानबहादुर ः (स्वर विक्षिप्त प्रायः र व्यथित छ) हो, मेरो पनि माया साँच्ने सहारा थियो, क्रूर आँधीबेहरीमा परेर मेरा सहारा ढल्यो । मेरा पनि बाँचूँ, हाँसूँ, केही गरूँ भन्ने आशा थिए । मेरा सबै आशा खरानी भए ।
शंकर ः कुन आगोले पोलेर खरानी भए त आशा ?
मानबहादुर ः (एकाएक उत्तेजित भएर) संसारै अँध्यारो भएपछि के हेरेर जिउन सक्छ मानिस ? (चर्को आवेगमा) मेरो सब ढल्यो, सब ढालियो मेरो । मेरा एक–एक अङ्ग, एक एक उमङ्ग टुक्राटुक्रा गरी काटिए । मेरो हृदय छियाछिया पारियो । र, मलाई यी यसरी मारियो !(हल्लिँदै र झल्लिँदै मास्तिरबाट एउटा अल्लारे जँड्याहा आउँछ । लवाइ पुगीसरी आउनेको जस्तो छ तर अस्तव्यस्त ।)
जँड्याहा ः (छेउमा आइपुगेर अड्दै, लर्बराएको स्वरमा) मलाई पनि यी यसरी मारियो । (मानबहादुरतिर औंला ताकेर) तिम्लाई पनि मारियो ? ज्या है ! तिमी र म उस्तै अभागी, हगि ?
(मानबहादुर उदेकको भावमा उसलाई हेर्छ ।)
जँड्याहा ः साला, बचाउने कोही छैन । माया गरेर उठाउने कोही छैन । मार्नेहरूको बिगबिगी छ । यी मलाई पनि मारे । यी यसरी मारे ! (हातको पार लाउँछ ।) मर्ने उमेरै नपुगीकन खुत्रुक्कै मारे ।
शंकर ः (जँड्याहालाई हेर्दै, दिक्क मानेर) ल ! हरिप आइलाग्यो ।
जँड्याहा ः हरिप होइन दाइ, यो ज्यान गरिप हो । (लट्टा परेको कपाल मुसार्दै) चुरोट छैन ? खाउँ न चुरोट । साला, मरे पनि खान त नछाडूँ । छैन भन्या चुरोट ? छैन । (अलिबेर अडिएर हतास स्वरमा) हामी सप्पै हरिप । साला, छैन चुरोट ?
शंकर ः (मानबहादुरलाई पाखुरा समातेर उठाउन खोज्दै) उठ् भैया, उ माथि चौतारीमा बसेर बात मारौं । सियाँलमा बसेर ……..
मानबहादुर ः (फट्कारिँदै) भो, मलाई छाड्दिनोस् । म मर्न हिँडेको ।
शंकर ः (उसको स्वर नक्कल गर्दै) मर्न हिँडेको ! मर्न पनि कोही शंख बजाएर ढोल पिट्दै हिँड्छ ?
मानबहादुर ः (भावुक हुँदै आहत स्वरमा) चुपचाप, कतै एकलासमा मर्न मलाई डर लाग्यो, दाइ । फलानो मरेछ भनेर दुनियाँले चालसम्म नपाई मर्न …… (लामो सुस्केरा हाल्छ ।)
जँड्याहा ः बस्, अनि दुनियाँलाई देखाउँदै, बाजागाजा बजाउँदै मर्न हिँडेको ? यसरी पनि मर्छ कोही ? थोरै ख्यालख्याल हो मर्नु भन्या ? आच्या ! नत्र म कतिबाजी मरिसक्थें ….. (मानबहादुरतिर हात पसारेर) दाइ, चुरोट होला ? कमसेकम चुरोट खाएरै मरम् यार् । (मानबहादुर उदास भावनामा नकारात्मक मुन्टो हल्लाउँछ) छैन चुरोट ? खल्तीमा जाबो एउटा चुरोट पनि नबोकी मर्न हिँडेको ? चुरोटै नखाई मर्ने ? मर्ने ? मर्ने र भन्या ?
शंकर ः (पाखुरो समातेर मानबहादुररलाई उठाउन बल गर्छ) उठ ! सम्झ कि मनमा अनिष्ट तरङ्ग उठेको थियो, त्यो अब सामसुम्म भो । कालको खड्को अब काटियो । उठ्, माथि चौतारीमा जाऔं ।
मानबहादुर ः (उच्च आवेगको स्वरमा) म उठ्दिनँ । म यही धूलोमा बिलाउँछु ।
जँड्याहा ः (मानबहादुरको अर्को पाखुरो समातेर तान्दै) उठ्नैपर्छ । हामी छँदाछँदै धूलोमा बिलाउन पाइँदैन । नत्र म (मुक्का उज्याउँछु ।)
मानबहादुर ः (उत्तेजनासाथ) म उठ्दिनँ । जसको उभिने आधारै ध्वस्त पारियो ऊ उठोस् कसरी ? के समातेर उठोस् ऊ ? कसका चित्तमा चित्त टेकाएर उभियोस् ऊ ?
जँड्याहा ः मैले भनेपछि उठ्नुपर्छ ।
(दुइजनाले बल लगाएर उठाउँछन् । ऊ जीउ छाडेर झोलिन्छ)
मानबहादुर ः (कठोर स्वरमा) मलाई मर्नबाट रोक्ने को हौ तिमीहरू ? पापीहरूले मेरा बाँच्ने बाटा सब छेकिदिए । सब भत्काइदिए । (पाखुरा फुस्काउन भारी बल गर्दै) अब तिमीहरू मेरो मर्न जाने बाटो पनि छेक्ने ?
(दुइजनाले जर्बजस्ती उसलाई घिसार्न थाल्छन्, ऊ फुत्किन बल गर्छ ।)
मानबहादुर ः (आक्रोश र आवेगका साथ वरिपरि आँखा घुमाउँदै) खै मेरो शंख ? बाँच्न त दिएनन्–दिएनन् मलाई मर्न पनि नदिने ?
शंकर ः कानुनले मर्न दिँदैन । आफ्नै हत्या गरेको बात लाग्छ ।
मानबहादुर ः मलाई बाँच्न पनि त दिएन कानुनले । (चिच्याउँदै) अब त्यल्ले मलाई मर्न पनि नदिने ? को हो त्यस्तो कानुन बनाउने ?
जँड्याहा ः म त मरेको छुइन भन्देखिन् मभन्दा दरो मान्छे मर्न पाउँछ ? पाउँछ मर्न ? (एकाएक कुराको प्रसङ्ग फेर्दै) दाइ, छैन चुरोट ? चुरोट त खाएरै मरम् यार् । साला, एकबारको जुनीमा एक खिल्ली चुरोटै नखाई के मर्नु ? (मानबहादुरको खल्ती खोतलखातल पार्दै) खै, छैन चुरोट ? आ…. खल्तीमा एक खिल्ली चुरोटसम्म नबोकी मर्न हिँडेको ? कल्ले पत्याउँछ ?
मानबहादुर ः (प्रचण्ड उत्तेजनासाथ बल गर्दै, हात फुस्काउँदै) छाड मलाई । (हुत्तिएर धूलामा लम्पसार पर्छ) बाँच्न पनि नदिने, मर्न पनि नदिने ?
जँड्याहा ः दिइँदैन मर्न । चुरोटै नखाई दिइन्छ मर्न ? छाडिन्छ आजै ? छाडिन्छ भन्या, ए रात्तै … चुरोटै नखाई, निख्लै …
शंकर ः (सहानुभूतिपूर्ण स्वरमा) शान्त होऊ भैया । कारण क्यै प¥यो होला । मन भाँचियो होला । यस अपराधी संसारमा मन नभाँचिइकन बाँचेको को छ ? भो, बीच बाटोमा जात्रा नदेखाऊ । माथि चौतारीमा जाऔं ।
मानबहादुर ः यत्रो संसारमा मलाई जिउने हक रहेनछ रे लौ । के मलाई मर्ने हक पनि छैन ? मान्छेलाई मर्नु न बाँच्नुको दोसाँधमा पारेर तड्पाई–तड्पाईकन मार्ने को हो ? (क्रूद्ध दृष्टिले मानबहादुर र जँड्याहालाई पालैपालो हेर्छ ।)
शंकर ः (जँड्याहासँग) ओ खोयाबिर्के लाठे, ल चलाऊ ।
(दुई पाखुरा दुईतिर समातेर तान्छन् । मानबहादुर छट्पटिन्छ, जीउ छाड्छ र मर्मभेदी स्वरमा भन्छ ) बाँच्ने सहारा सब भत्काएर अब मलाई मर्न पनि नदिने ? के तिमीहरू पनि अपराधीका मतियार हौ ?
जँड्याहा ः (जीउ थाम्न नसकेर लर्खराउँदै) आच्या, यो मान्छे कति हल्लेको ? बजिया मैतिर पो ढल्न खोजिराख्या । अँ, दिन्छु म ढल्न, साला !
मानबहादुर ः (भावोत्तेजनासाथ) जसका सब बाटा ध्वस्त भए, जसका हर सपना चुरचुर भए उसलाई अझ सास्ती दिने ……
(दुईजनाले झल्याङझुलुङ पार्दै चौतारीमा पु¥याउँछन् । मानबहादुरका निधारमा चिट्चिट् पसिना आउँछ, उसको जीउ एकतमाससँग कामिरहेको छ । चौतारामा उसलाई सुताउँछन् । विचित्रको आहत चित्कार प्रकट गर्दै ऊ लमतन्न तन्किन्छ ।)
शंकर ः (स्नेहपूर्ण स्वरमा) मन सम्हाल बा । समयसँगै, बिस्तारै–बिस्तारै चित्तको डाहा मत्थर होला । सके बिस्तारै तिम्रो उजाड दिलमा हरियाली टुसाउला । भोलि के हुन्छ को भन्न सक्छ ?
जँड्याहा ः (मानबहादुरको मुखतिर ट्वाँ परेर हेर्दै) यो मान्छे मर्छ अब । हेर, कसरी सास फेरेको कसरी पसिना काडेको … (एकाएक कुराको प्रसङ्ग फेर्दै, कन्चट कन्याउँदै) खै, चुरोट खाउँ न । आ… मर्ने कुरा त छँदैछ नि ! खान त नछाडौं । (मानबहादुरको अनुहारमाथि शिर झुकाएर) हा….. नझिक्ने चुरोट ? वाहियात मान्छे । याँ कस्तो तलतल लागिसक्यो आफूलाई । मर्न के तलतल लाग्या होला र तिम्लाई ? वाहियात मान्छेहरू …. । सारा संसार भिखारी भएजस्तै …. मैजस्तो उजाड संसार … साला …
(मानबहादुर झट्पट् उठ्छ र एकोहोरो शंख बजाउँछ र ओरालो लाग्न तरकमरक गर्छ । शंकर हत्तपत्त उसलाई समात्छ । जँड्याहा पनि फूर्तिसाथ उसलाई पाखुरामा अँठ्याउँछ ।)
मानबहादुरः (द्रवीभूत स्वरमा) म जान्छु मर्न । मेरो कलेजीमा दनदनी आगो बल्यो । (फुत्किन बल गर्छ)
शंकर ः (आजीत स्वरमा) मूर्ख ! के भएको छ तिमीलाई ? केको बैराग यो ? केको औडाहा ?
जँड्याहाः स्वास्नी छैन ? कि गई पोइल ? मलाई त मर्न मन छैन भन्देखिन् तिम्लाई बेकारको मरिहत्ते ! वाहियात मान्छे । चुरोटै नखाइ मर्ने ? धत्तेरिका मान्छे … वाहियात …
(मानबहादुरलाई बसाउँछन् । ऊ फेरि लमतन्न लम्पसार पर्छ । उत्तानो परेर दुई हातले मुख छोप्छ । अनुहार झन्झन् वीभत्स, विरूप देखिन्छ ।)
शंकर ः (मानबहादुरको गाला मुसार्दै ) भैया, स्वास्नी छोराछोरी छैनन् ?
मानबहादु ः (झर्केर) भो, भो, मेरो मनको घाउ नकोट्याउनोस् । मलाई छाड्दिनोस्, एक्लै ।
शंकर ः ए बाबा ! आखिर तिमीलाई के प¥यो त्यस्तो चोट ?
(मानबहादुर दुई हत्केलाले मुख छोप्छ, आँसु पुछेझैं गर्छ, छट्पटीको भावमा मुन्टो घुमाउँछ ।)
मानबहादुर ः मलाई नसोध विधाता हो । सक्छौ भने जनी गर, मलाई पनि मद्दत गर ।
जँड्याहा ः भो कि अब । बाँच्नलाई पो मद्दत चाहिन्छ । मर्नलाई चाहिन्छ मद्दत ? लम्फू मान्छे …..
मानबहादुर ः म एक्लै, चूपचाप, एकलासमा मर्न सकिनँ । मलाई न बाँच्न दिए, न मर्न पाएँ ।
जँड्याहा ः के म साथी जाऊँ त मर्नलाई ? साथी चाहिने भए झिक् न त चुरोट । आफूलाई कस्तो तलतल लागिसक्यो ।
शंकर ः घर परिवार त होलान् नि कतै, छैनन् ?
मानबहादुर ः थिए । मेरो पनि सानो गुँड थियो । दुःख साटासाट गर्ने मेरी पनि स्वास्नी थिई । मनमा आशाको बत्ती बालिदिने मेरो पनि चिचिलो बालख थियो ।
शंकर ः कहाँ छन् त ती अहिले ?
मानबहादुर ः (विह्वल भएर) ती कहाँ छन् ? (झस्केर) ती कहाँ छन् ? मेरी स्वास्नी, मेरो चिचिलो छोरो, कहाँ छन् ती अहिले ? (ऊ एकाएक उत्तेजित हुन्छ । जीउ थर्थरी काम्छ । बडो विह्वल ऐंठनको स्वरमा दुई हात हल्लाउँदै) लःलः…मेरा छाप्राँ आगो सल्काए । राक्षेसले पोले मेरो छोरालाई । जिउँदै पोले …… गुहार …. गुहार ….. मेरो बालखलाई …… (ऊ ढल्छ ।)
शंकर ः (मानबहादुरका कन्चटमा पसिना पुछिदिँदै) के छोरो खस्यो ?
मानबहादुर ः (आक्रोशसाथ) खस्यो हैन, पापिष्टहरूले पोली–पोलीकन त्यसको ज्यान लिए ।
शंकर ः हा ! ज्यान लिए ? के त्यो कसैको हातबाट मारियो ?
मानबहादुर ः सताई–सताईकन मारियो ।
शंकर ः हा ? कसले मा¥यो त्यसरी ? छोरालाई …. अनि स्वास्नीलाई पनि ?
मानबहादुर ः सरकारको कानुनले मा¥यो । पुलिस लाएर खेदी–खेदीकन, यता र उता बिचल्लीमा पारेर, भोकले सताएर, जाडोले गलाएर, औडाहाले पिरोलेर, (आवेशमा) निठुरी फलामे हातले निचोरेर ….. मेरो छोरोलाई मेरो बालख छोरोलाई तिनले पोलेर खाए ।
शंकर ः हँ ? के थियो त्यस बालखको कसुर ?
मानबहादुर ः कसुर ? धनदौलत नहुनु नै त्यसको कसुर थियो ।
शंकर ः अनि छोराकी आमा त होली नि । कि गई ऊ पनि ?
मानबहादुर ः छैन । उसलाई पनि मारिछाडे ।
शंकर ः मारे ? के थ्यो नि उसको चाहिँ कसुर ?
मानबहादुर ः जन्मेपछि पसिना र आँसु बगाएर जिउने रहर गर्नु नै उसको कसुर थियो ।
शंकर ः अनि घर कहाँ छ त ?
मानबहादुर ः घर ? घर होइन, छाप्रो थियो । विष्णुमतीको किनारामा, फोहोर बगरमाथिको झ्यासमा, सुकुम्वासीहरूको बगालमा मेरो पनि दुःखको छाप्रो थियो ।
शंकर ः के भो त छाप्रो ?
मानबहादुर ः छाप्रो सरकारले खरानी पा¥यो ।
शंकर ः किन ? कसरी ? के कारणले ?
मानबहादुर ः थिचोमिचो गर्नलाई कारण के चाहिन्छ ? खोलाको बगर थियो । बगरमाथि झ्यासझाडी थियो । सत्र ठाउँबाट लखेटिँदै आएका सुकुम्बासीले कागका गुँडजस्ता छाप्रा उभ्याएका थिए । त्यत्तिकैमा टाठाबाठा, छटेलहरू बीच–बीचमा घुसे । भन्यास्ता ठाउँ हडप्दै तिनले बिल्डिङ्ग ठड्याए । लोभका पोका, चिहान पुगेन होला तिनलाई । माथिकासँग चोचोमोचो गरे । अनि पुलिस गुहारे । अनि गरिपको बिल्लीबाठ पारे ।
शंकर ः छाप्रो त जलाए रे लौ । अनि स्वास्नी पनि ? लालावाला पनि ?
मानबहादुर ः बन्दुकले दागेर बासउठ्ठा गरे । अनि मेरो चिचिलो छोरोको कलिलो आङमा आगो लाए ।
शंकर ः (करूण स्वरमा) हा ! पक्का हो ? आगो लाए ? अनि ?
मानबहादुर ः साला, गरिप शहीद भयो र फेरि उल्टै हुनेखानेलाई प्रजातन्त्र आयो ।
शंकर ः तिम्लाई आएन प्रजातन्त्र ?
मानबहादुर ः मलाई के आउनु ? गरिपको दुःखी चोला, न बस्नलाई बास छ न खानलाई गाँस छ । न खोज्या बेलाँ ज्यालादारी काम पाउनु छ, न एक गाँस ढिंडोको जोहो हुने ज्याला पाउनु छ । कहिले कुन रूखमुनि, कहिले कुन सडकको पेटीमाथि । हुरी–बतास, ठिहिरी, भोक, हेलाँहोचो, बेठेगान … । मान्छेको निम्छोरो ज्यान न हो, कति मात्रै थेगोस् र ?
शंकर ः अनि के भो त ?
मानबहादुर ः (झर्केझैं) अनि के हुनु ? यो अभागी काखबाट मेरो चिचिलो खोसियो । (मुख छोपेर) आगोले पिल्स्याइ–पिल्स्याइकन मारे मेरो बालखलाई !
जँड्याहा ः ज्या है ! (अलि बेर गमेर) अनि स्वास्नी चाइने ?
मानबहादुर ः चिचिलाको पीरले गलेर ऊ पनि गई ।
शंकर ः (करूण स्वरमा) बिचरी !
मानबहादुर ः (मन पोलेर ऐठनिँदै) यसरी मेरा जरा माटाबाट उखेलिए । कहिले नवलपरासीमा उखेलिए, कहिले खस्यौलीमा उखेलिए, कहिले विष्णुमतीको बगरबाट उखेलिए ।
शंकर ः भो, पुग्यो । (हत्केलाले मुख छोपेर)
मानबहादुर ः यत्रो संसार छ । यतिका धेरै माटो छ । मेरा तीनवटा ज्यान अटाउने ठाउँ कहीँ भएन । याँ पनि मेरा जरा उखेलिए, वाँ पनि मेरा जरा उखेलिए ।
शंकर ः भो शान्ति होऊ, भैया । मन सम्हाल । जे भो त्यो त आखिर भइसक्यो । अब आँसुले त्यसलाई फर्काउन सक्दैन । विरहले मनको ताप धोइपखाली गर्न सक्दैन । जतिसुकै आपत्–विपत् परोस्, प्राण छउन्जेल त जिउनलाई लड्नैपर्छ ।
मानबहादुर ः (एक सुरमा) हुँदाहुँदा मेरा एक अङ्ग लुछिए । (मुख छोप्छ) मेरी स्वास्नी, मेरो चिचिलो बालख …. मेरो दिलबाट ती लुटिए । यत्रो पिर्थिवी छ, मेरो फिस्टाको जत्रो ज्यान अटाउने ठाउँ भएन । मेरी स्वास्नी, मेरो निरपराध बालख छोरो, तिनले घामपानी ओत्ने आफ्नो छानो पाएनन् । पेट भर्ने दुई गाँस ढिंडो पाएनन्, चैनले सास फेर्ने एक मुठी हावा पाएनन् । सारा दान, रनवन मुठ्ठीमा पारेर चक्चकी गर्नेहरू यहीँ छन् । बाँचुन्जेल उभिने बाटो, मरेपछि सेलाउने माटो मैले पाइनँ ।
जँड्याहा ः जरा उखेल्न खोज्नेलाई लतार्न दिनुपर्छ नि त ढुसिङ (चिच्याएर) ए रात्तै, बूढी बाख्रीका छोरो हो … (एकाएक कुराको पोयो बदल्दै) हैन यार्, चुरोट झिकौं न । आँत सुकेर आयो । कुरा सुन्दैमा कस्तो बोर लागेर आयो मलाई । कमसकेम खाउँ न चुरोट । छैन ? छँदै छैन । धत्तेरिका ! यस्तो हरिप चाल भएपछि के बाँच्नु ?
शंकर ः (मजाकिलो स्वरमा) हेर, यस अभागी हरपलको दुःख बेग्लै, (मानबहादुरलाई लक्ष्य गरेर) भाइको दुःख बेग्लै । मन भाँचिनलाई यति दुःख नै मनग्ये हुन्छ । तर के गर्ने भैया , मर्ने मरेर गए पनि बाँच्नेले मनभरि निसासको पोको बोकेरै भए पनि त सास छउन्जेल जिउनै पर्छ ।
मानबहादुर ः (शंकरका आँखामा आँखा गाडेर) दाइ, तपाईं मलाई यसो क्यै मद्दत गर्न सक्नुहुन्थ्यो कि ?
शंकर ः सकूँला । मैले एक्लै नसके हामी दुईले मिलेर जिउन एक–अर्कालाई ….
मानबहादुर ः (हात जोडेर) जनी गरेर मलाई मद्दत ….. ।
शंकर ः म के गरूँ ?
मानबहादुर ः जिन्दगीको भारले म थिचिएँ । सास फेर्ने ठाउँ मेरो भएन । मलाई मर्न ….
शंकर ः मर्न होइन, बाँच्न म ….. ।
जँड्याहा ः मर्नु खेलाँची कुरा थोडै ? नत्र म कति खेप् मरिसक्थें ।
मानबहादुर ः (उदास स्वरमा) हेर्छु, आकाशमा घाम लागेका छन् । तर मेरा लागि सारा जगतै अँध्यारो छ । दुःखका सहारा जे थिए सबै टुटे ….. ।
जँड्याहा ः सहारा म दिउँला । तर पहिले चुरोट पाऊँ न ? छैन ? छँदै छैन ? (गमेर) अलिकता वाटर पाए पनि हुन्थ्यो ।
शकर ः कस्तो वाटर भाइ ?
जँड्याहा ः मेरो ड्याडीलाई मन पर्ने वाटर
शंकर ः मिनरल वाटर ?
जँड्याहा ः हैन, कञ्चन स्पिरिट वाटर । मतलव झिलिमिली वाटर ।
शंकर ः ए तिम्रो ड्याडीलाई झिलिमिली वाटर मन पर्छ ?
जँड्याहा ः (ट्वाँट लाएको सान गर्दै) मलाई लाउन सिकाएकै मेरै ड्याडीले ।
शंकर ः ड्याडी त बडा ज्ञानी रहेछ बा !
जँड्याहा ः के ठान्नु भा’छ मेरो ड्याडीलाई ?
शंकर ः भाइको ड्याडी बडा राम्रो मान्छे ।
जँड्याहा ः (हौसिँदै) मलाई ठिटीउटीको शिकार गर्न सिकाएको पनि मेरै ड्याडीले ।
शंकर ः स्याबास् । ड्याडी त नपाउनुको रहेछ । भाइको ड्याडी के काम गर्छ हँ ?
जँड्याहा ः मेरो ड्याडी ? मेरो ड्याडी मुख्य सचिव छ, साला ।
शंकर ः राम्रो । मुख्य सचिवले छोरालाई एकदमै मुख्य–मुख्य कुरा सिकाएको रहेछ । अरू पनि क्यै राम्रा कुरा सिकाएको छ कि बाबु ?
जँड्याहा ः कत्ति छ कत्ति ।
शंकर ः अरू के छ नि?
जँड्याहा ः (चाक फिरिक–फिरक हल्लाउँदै )
आइ एम अ डिस्को डान्सर, टिरिटिरिरी ……
माई ड्याडी इज बिग् पिग्, माइ ममी अ प्रस
आइ एम अ डिस्को डान्सर, टिरिटिरिरी ……
शंकर ः बस्, जाँडभाङ खान सिकाउने पनि ड्याडी, रण्डीबाजी गर्न सिकाउने पनि ड्याडी । तब न ड्याडी ! हुँ ! बडो चाखलाग्दो कुरा छ । हैन, भाइलाई ड्याडीले यति राम्राराम्रा कुरा कसरी सिकाएको होला ?
जँड्याहा ः देखेर सिकेको । मलाई क्याम्पस जा भन्छ मेरो ड्याडी । किन जाने क्याम्पस ? क्याम्पस जाने निहुँ पार्दै मैले खुसुखुसु सिकें ।
शंकर ः ए …. उसो भए क्याम्पसै जान छाडेर भाइले यी सब कुरा सिक्यौ, हैन के ? राँकेपानी लडाउन, ठिटी पछ्याउन ।
जँड्याहा ः किन जाने क्याम्पस ? महिनाको जाबो दुई–चार हजार कमाउन मरी–मरी पन्ध्र–वीस वर्ष पढ्ने ? वाहियात ! मेरो ड्याडीले के जानेको छ ? के आउँछ उसलाई ? तर पैसा कति थुपार्छ ? घरां पैसाको पौल छ, किन पढ्ने वित्थामा ? केको लागि ? नहुने कँगालीहरूले पढून् । (एकछिन उदास मुद्रामा घोरिएर) मेरो ड्याडी मेरो ममीलाई कुट्छ । बोर लाग्दैन मलाई क्याम्पस जान ?
शंकर ः असल बाबुको असल छोरो ।
मानबहादुर ः (बडो ध्यानपूर्वक कुरा सुनेर) यी समाजका धमिरा हुन् । यी बाबुछोरा दुबैजना । यसरी गुण्डिएर मात्दै हिँड्न यसलाई पुगेको छ । गुण्डिएर जाँड खाँदै हिँड्न यसलाई पुगेको छ । गुण्डिएर जाँड खाँदै कहाँबाट आउँछ यसलाई पैसा ? मेरो यो हाल छ, यसको यो सोखसयल छ । समाजका धमिराहरू …… (उत्तेजित स्वरमा) कहाँबाट आउँछ यिनलाई तिघ्रामा बोसो हाल्न त्यो पैसा ?
जँड्याहा ः हा, हा ! कहाँबाट आउँछ ?
मानबहादुर ः (सुकेको पाखुरा देखाउँदै) यी यहाँबाट आउँछ । यहाँको खून निचोरेर आउँछ ।
जँड्याहा ः (जंगिएर) के सम्झ्या छस् तैले मलाई ?
मानबहादुर ः के सम्झिनु मैले ? तँ समाजको जुको !
जँड्याहा ः कोसँग कुरा ग¥या तैंले ?
मानबहादुर ः मेरो जीवनमा आगो लगाउने जुकाहरूको खूनसँग ।
जँड्याहा ः मेरो ड्याडीका पाँचवटा बिल्डिङ छन् काठमाडौंमा, बुझिस् ? भन्सारमा हाकिम छँदा जोडेको सुन छ मेरो ड्याडीसँग । कति सुन छ ? कति छ धन ? के फूर्ति लाउँछस् तँ । के हैसियत तेरो हामीसँग कुरा गर्ने ?
मानबहादुर ः (जँड्याहातिर संकेत गर्दै) एउटा जीवन त्यो, (आफूतिर संकेत गर्दै) एउटा जीवन यो । एउटा जुको, अर्को सिद्रो ।
जँड्याहा ः हियाएर बढ्ता कुरा नगर, कोसँग कुरा गर्दैछु भन्ठानेको तैंले ?
मानबहादुर ः तँसँग ! मेरो जिन्दगीलाई उजाड पार्ने तिमीहरू हौ । तँ र तेरो बाउजस्ताहरू ……
जँड्याहा ः मेरो ड्याडीलाई भन् । मलाई किन ? (कुराको प्रसङ्ग बदल्दै, शंकरसँग) दाइ, दस रूपियाँ पाऊँ न । अलिकता स्पिरिट वाटर ……
मानबहादुर ः बाबुसँग माग्नू ।
जड्याहा ः साला, मेरो ड्याडी कति कन्जुस छ । आफू भने जुवा खेल्छ, रण्डीबाजी गर्छ । ममीलाई पिट्छ । मलाई भने एक पैसो छिराउँदैन । साला मेरो हराम ड्याडी !
शंकर ः भाइ, जन्म दिने बाबुलाई तिमीले त्यस्तो भन्न सुहाउँछ ?
जँड्याहा ः किन सुहाउँदैन ? भाते ड्याडी । महिनाको दुई लाख घरभाडा आउँछ, मलाई पाँच पैसा दिनुपर्दा दाँतबाट पसिना काड्छ । जाँड खान्छ र ममीलाई कुट्छ । जुवामा पैसा हार्छ र मलाई दपेट्छ । रण्डीबाजी गर्छ र ममीको सातो खान्छ । मेरो भाते ड्याडी ….. साला मेरो ड्याडी …….
मानबहादुर ः पैसाका किराहरू त्यस्तै हुन्छन् ।
जँड्याहा ः मेरो ड्याडीलाई पैसाको किरो भन्ने तँ ?
मानबहादुर ः तैं भनिरहेको छस् । भन्नु–नभन्नु भनिरहेको छस् तँ ।
जँड्याहा ः म त भन्छु । मेरो ड्याडीलाई मुख छाड्ने तँ को होस् ? के हैसियत छ तेरो मेरो ड्याडीका कुरा काट्ने ?
मानबहादुर ः बाहिर सुकिलो, सफा, भलाद्मी भएर हिँड्छौ । भित्र के छ ? भित्र काई लागेको छ । सढेको छ भित्र ।
जँड्याहा ः (शंकरतिर हात पसार्दै) दाइ, दस रूपियाँ पाऊँ न । अलिकता झिलिमिली वाटर ……..
मानबहादुर ः झिलिमिली वाटर होइन, त्यो त हामीजस्ताको खून हो । मेरी स्वास्नीको खून, मेरो चिचिलो बालखको आँसु । मेरो औडाहा, मेरो ऐंठन, मेरो मुटुको बह ……..
जँड्याहा ः (झम्टेर मानबहादुरमाथि जाइलाग्छ) हामीजस्तालाई यस्ता र उस्ता भन्ने तँ कंगाली को होस् ? मेरो भाते ड्याडीलाई भन्छु त म भन्छु । तँ साला …… (घाँटी अँठ्याउँछ)
मानबहादुर ः (अताल्लिएर कोकोहोलो मच्चाउँदै) ऐया, मा¥यो ! (शंकर जँड्याहालाई समातेर छुट्याउन खोज्छ । जँड्याहा उन्मत्त भई आक्रमण जारी राख्छ ।)
मानबहादुर ः गुहार ! गुहार !
(शंकर जँड्याहालाई जुल्फीमा समातेर पछार्छ ।)
शंकर ः (क्रूद्ध मुद्रामा) यसो गर्न पनि तँलाई ड्याडीले नै सिकाएको हो कि ?
जँड्याहा ः (फुत्किन बल गर्दै) छाड् मलाई । नत्र मेरो ड्याडीले कुनै दिन तँलाई …. ।
(एउटी युवती भारी पाइला चाल्दै आउँछे । अनुहार ओइलाएको, चालमा स्फूर्ति सुस्ताएको, हातमा डोरी छ । वेचैनी र हड्बडीको भावमा रूखका हाँगा–हाँगामा आँखा डुलाउँछे ।)
जँड्याहा ः (आशक्त आँखाले युवतीलाई हेर्दै) माल त बडा च्वाँक छ नि यार् !
शंकर ः (इसाराले भन्छ –चुप !)
जँड्याहाँ ः मौकामा भन्याजस्तो ठाउँमा खोज्याजस्तो सिकार आइलाग्यो । (शंकरतिर मुन्टो उठाएर) चलाउने हैन तीर –कमानी ?
शंकर ः (भूईंमा घोप्टेर मुन्टो उठाइरहेको जँड्याहाका पिठ्यूँमा शंकर हल्का हात बजार्छ ।) लम्पट !
(युवती उनीहरूलाई देख्छे । दुवै पाखुराले आफ्नै छातीमा अँगालो मार्दै आँतिन्छे । उसको फरियाको फुर्को मुटुको तीव्र ढुकढुकीसँगै सुस्तरी कामेको देखिन्छ ।)
शंकर ः (युवतीतिर पाइला सार्दै परैबाट) किन हड्बडायौ मैयाँ ? यो एकलासमा एक्लै के खोज्न निस्क्यौ ?
(युवती मुन्टो निहुराएर मूर्तिवत् झुकिरहन्छे । कामिरहेको हातबाट डोरी खस्छ । डोरी हत्तपत्त टिप्छे ।)
शंकर ः (नजिकै गएर) नानी ! घाँसपात गर्न हिँडेकी ?
(युवती मुन्टो उठाएर शंकरलाई हेर्छे । केही भन्न खोज्दा उसका ओँठ काम्छन् मात्र ।)
शंकर ः किन मैयाँ ? मनमा केही चोट, केही आघात ?
युवती ः (काम्दो, उत्तेजित क्रन्दनमा) म मर्न आएकी । हाँगामा पासो लागेर सेरिन ….. ।
मानबहादुर ः (उठेर नजिक आउँदै) हँ ! यस्तो कल्कलाउँदो उमेरमा ……
युवती ः हो सेरिएर मर्न …… । यो बेला तिमीहरू यहाँ किन ? मेरो बाटो छेक्न ? (प्रचण्ड स्वरमा चिच्याउँदै) हट यहाँबाट !
शंकर ः मैयाँ ! डाँडापाखामा हरियाली छ, कति राम्रो ! पहराबाट छहराको छाँगो खसिरहेछ, कति कञ्चन ! पारि भित्ता कतै खोल्सीमा इन्द्रेणी लर्केको होला ! यति सुन्दर छ यो संसार ! यी सबै चीज छाडेर, सबै बिर्सेर तिमी पासो लाग्न हिँडेकी ?
युवती ः (आक्रोशमै) मसँग भावुक कुरा नगर ! जीवनको लोभ देखाएर मेरो मृत्युको बाटो तिमी नछेक ।
मानबहादुर ः नानी ! हासूँ, नाँचूको यो रहरलाग्दो उमेरमा यति राम्रो ज्यान, यस्सै … किन मैयाँ ?
युवती ः (आफ्नै छाती अँठ्याउँदै) डाँकाले मेरो इज्जत हरे, दाइ । मलाई नङ्याए, मेरो इज्जतमा नङ्ग्रा गाडे …..
जँड्याहाः (उद्दण्ड खालको स्वरमा) को हो त्यो फटाहा सिकारी ?
युवती ः मन्त्रीको छोरो । अनि उसको ग्याङ ।
मानबहादुर ः हँुडारको छाउराले जबर्जस्ती निचोरे त यसमा नानीको कसुर के भो ?
शंकर ः ठीक हो । कसुर गर्ने एउटा, ज्यान जाने अर्काको ?
युवती ः दाजु ! मेरो नाउँ गन्हायो । म फालिएँ । घरबाट, टोलछिमेकबाट, समाजबाट ।
शंकर ः लः कसैले जिब्रो चलायो रे लौ । त्यत्तिकैमा अताल्लिएर ज्यानै आफाल्ने ? बलात्कारीलाई पक्रेर यही डोरीले यही रूखमा किन नझुण्ड्याउने ?
मानबहादुर ः लुटिएका सारा आइमाई जातिलाई किन नगुहार्ने ?
युवती ः दाजु ! बलात्कारी नाइके मन्त्रीको छोरो हो । अनि बाँकी गुण्डा तस्कर हुन् । पेशेवर अपराधी ।
शंकर ः ल, जुनसुकै होउन् । निर्धाका ज्यानमाथि खेल्ने तिनको के अधिकार ?
युवती ः म गरिबकी छोरी, दाजु । म निमेकया गरीखाने ।
मानबहादुर ः के गरिखानेले मरीजानु भन्ने कानुन छ ?
युवती ः दाजू ! उनीहरूसँग धन छ । सरकार उनको छ । पुलिस उनका मुठ्ठीमा छ । म अनाथ बाहुनी । संसार मेरो विरूद्ध उठ्यो । मेरो जात …. मेरो इज्जत … मेरो दुःखको संसार … ।
(बोली पु¥याउन नसकी घुँक्कघुँक्क रून थाल्छे)
जँड्याहा ः त्यो के रोएको होला ? त्यस्तो लोभलाग्दो पो छ । त्यस्तो हेरिरहूँलाग्दो ज्यान छ । टपक्क एउटा ठिटो टिपेर खुरूक्क एकातिर लागे भैगा छ नि । यो केको बित्थामा ऐया । आत्थु ?
युवती ः (कठोर दृष्टिले जँड्याहालाई हेर्दै) गुण्डा ! तँ पनि त्यै बगालमा थिस् कि ?
जँड्याहा ः थें भने थें रे लौ, कल्ले के नाप्छ ?
युवती ः (जोडले हात उज्याएर गालामा झापट दिन्छे । जँड्याहा ढुनमुनिँदै दुई–चार हात पर गएर थुचुक्क बस्छ ।) देखिस्, कल्ले के नाप्दो रहेछ ?
जँड्याहा ः (गाला मुसार्दै) तँ रण्डी होस् ! तैंले डाकिस् होली, डाँगा पछि लागे ।
मानबहादुर ः तँ बढ्ता नबोल !
जँड्याहा ः बढ्ता तैं बौल न । साला, आफू भने मर्न हिँडेको मान्छे । अर्को मुर्दाको पक्ष लागेर बरो मलाई मुख छाड्ने ! मन तिमेरू दोइ जना । अँगालो हालेर मर ! किस खाँदै मर ।
(मानबहादुर दुई हत्केलाले मुख छोपेर मर्माहत हुँदै थचक्क बस्छ) ।
शंकर ः (फटाफट जँड्याहातिर जान्छ र उसको जुल्फी अँठ्याउँछ) तँ यहाँबाट भाग् । नत्र त्यै डोरीले तँलाई….
(जँड्याहा हत्तपत्त उठ्छ र भागँुलाझैं गर्दै दुई–चार पाइला हिँड्छ ।)
जँड्याहा ः (अड्दै) ओ दाई ! दस रूपियाँ पाऊँ न । अलिकता स्पिरिट वाटर ….. ।
मानबहादुर ः (टाढैबाट लोप्याउँदै) लाः स्पिरिट वाटर …..
जँड्याहा ः साला ! मर्न हिँडेको मान्छेको यत्रो फूर्ति ! थुइक्क … !
युवती ः (एकाएक पूर्व स्मृतिको तरङ्बाट आक्रान्त हुँदै, अताल्लिंदै, दुवै हात फट्कार्दै) नाइँ, नाइँ, मलाई नछोऊ । हे भगवान् ! नछोऊ विधाता म दुखियालाई । नाइँ, नाइँ !……(शंकर र मानबहादुरतिर सर्दै, सहारा खोजेझैं गर्दै) मेरो आफ्नै मनको देउता छ राजा हो ! ऊसँग मेरो विहा अर्को महिना । (ढुनमुनिँदै, पछि हट्दै, शंकरका पाखुराको सहारा लिँदै), नाइँ ! म अभागिनीलाई जनी गर राजा ! मेरो जुनी बर्बाद नपार ! (झन्झन् चर्को स्वरमा) गुहार ! गुहार ! मलाई चिथोरे, मलाई मारे !(जीउ लल्याक्–लुलुक् भई भूइँमा ढल्छे । शंकर र मानबहादुर उसलाई सहारा दिन्छन् । )
शंकर ः (निधार मुसार्दै ) शान्त होऊ, नानी । तिमीलाई अनिष्टको सम्झना भो !
जँड्याहा ः एई साले हो ! छैन दस रूपियाँ ? थुक्क साला, कस्तो बोर भो यार् मलाई ।
(मानबहाुर बसी–बसी ढुङ्गो टिपेर जँड्याहातिर हु¥याउँछ ।)
जँड्याहा ः मर्नुपर्ने त मेरो ड्याडी हो साला । ऊसँग पैसा फालाफाल छ । साला, मलाई भने स्पिरिट वाटरको यत्रो दुःख । (अधीर स्वरमा, शंकर र मानबहादुरलाई संकेत गर्दै) एई साला हो । माल त च्वाँक फेला पा¥यौ नि । अब, अब, साला हो अब ……
(झुत्रा लुगा लगाएकी एक अधवैंसे आइमाई कङ्कला शब्दमा रूँदै, हाँफझाँफ गर्दै, हान्निंदै आउँछे । सबैजनाका सतर्क दृष्टि ऊ आएतिर एकोहोरिन्छन् । लम्पसार परिरहेकी युवती हठात् उठ्छे । आइमाईको वेगवान गतिमा ठोकिँदा ऊ फेरी ढल्छे । उसँगै आइमाई पनि ढल्छे ।)
मानबहादुर ः (चकित मुद्रामा र विस्मित स्वरमा अरे ! केको आँधी उठेको हो यो ?
जँड्याहा ः तेरो मलामी थपिएको हो, देखिनस् साले ! नत्र भने झिक् न त दस रूपियाँ !
(शंकर जँड्याहातिर झटारो हान्छ । जँड्याहा फुत्त उफ्रेर झटारो छल्छ । )
शंकर ः (निहुरिएर आइमाईका अनुहारको भाव पढ्दै) कता पुग्नुको हतारो हो यो, बहिनी ?
आइमाई ः (छाती ठोक्दै) दाजु ! म यो ज्यानलाई बिसाउने जहर खोज्न कुदेकी ।
मानबहादुर ः उमेर यो छ, अवस्था यस्तो छ । केलाई चाहियो दिदी जहर ?
आइमाई ः यो कुहेको समाज मेरा विरूद्ध खडा भो, बाबु ! एकगठ भएर, हातहातमा भाला बोकेर (तीव्र आवेगसाथ) म अदनालाई धूलामा मिलाउन संसार उठ्यो ।
शंकर ः किन उठ्यो संसार ?
आइमाई ः (छाती ठोक्दै, कपाल लुछ्दै) म रण्डी ! म वेश्या ! यो खुनी समाजले किचिमिची पारेको म पैतालाको तुच्छ धूलो ।
मानबहादुर ः कसले किन भन्यो तिमी धूलो हौ भनेर ?
आइमाई ः (एकोहोरो तालले) म पतीता । म कलङ्कीनी । पाखण्डी ! चोखाहरूको यस बस्तीमा मुन्टो लुकाउने दूलो भेटिनँ मैले । दुनियाँले मलाई बोरा बनायो । मलाई चुसेर, लुछेर थङ्थिलो पा¥यो । रसजति चुसिएको आँपको निरस कोयो म ! म परित्यक्ता ! म लाञ्छित समाजका सुकिला ठालूहरूका लेखी म कलङ्किनी ।
शंकर ः (झिंजो मानेर) केको यो एकोहोरो बर्बराहत ? आखिर कसले ग¥यो के ?
आइमाई ः (उठेर शंकरका आँखामा सोझै आँखा गाड्दै) मेरो कथा सुन्छौ ? मेरो व्यथा सुन्ने आँट छ तिमीहरूसँग ?
(शंकर र मानबहादुर मुखामुख गर्छन् ।)
शंकर ः कस्तो कथा ?
मानबहादुर ः कस्तो व्यथा ?
आइमाई ः मलाई गाउँठालूका छोराले जङ्गलमा बाँधेर करणी गरे । दाउरा खोज्न जाँदा, पालैपालो । मलाई लास बनाएर मिल्काए ।
मानबहादुर ः को हो त्यो ठालू ?
आइमाई ः आज ऊ मन्त्री भा’छ । ठूलो मान्छे भा’छ ऊ । पावरदार …. ।
शंकर ः के मन्त्रीजस्तो मान्छेले ग¥यो त त्यो बिज्याइँ ?
आइमाई ः कुरा आजको होइन, पन्ध्र वर्षअघिको ।
मानबहादुर ः पन्ध्र वर्षअघिको कुरा आज उठ्यो कसरी त ?
आइमाई ः मेरो ज्यानमा तारन्तार कुल्चेर तिनले मेरा चोक्टालाम्टा चूरचूर पारे । तब किन नउठोस् कुरो ?
शंकर ः (आफैसित बोलेझैं) खै, कसरी बुझ्ने यो कुरा ? न टुप्पो देखिन्छ कतै, न फेद भेटिन्छ कतै ।
आइमाई ः (उत्तेजनासाथ) कुरा सुन्न सक्छौ ? तिम्रो जातका साँढेहरूले के के गरे सुन्न सक्छौ ?
(शंकर र मानबहादुर मुखामुख गर्छन् )
शंकर ः (अलि कठोर स्वरमा) के गरे मेरो जातकाहरूले ?
आइमाई ः मलाई जबर्जस्ती करणी गरे । मलाई लगेर बम्बै कोठीमा बेचे । मेरो एकबारको जुनी नर्कमा नष्ट गरे ।
मानबहादुर ः कल्ले ग¥यो ? हामीले ?
आइमाई ः हो, तिम्रो जातका लोग्नेमान्छेहरूले । आज मन्त्री भइखाएको त्यै अटलप्रसाद शर्मा भन्नेले ।
शंकर ः बद्मासी गर्ने अटलप्रसाद । बेचेर नाफा हसुर्ने अटलप्रसाद । हामीलाई बिनबिच्चमा किन फत्तुर ? जुन औंलाँ विष लाग्यो त्यै औलो पो झर्छ । विष नलागेको औंलाँ …….
आइमाई ः (ऐठन भएझै अतालिन्छे) ऊ आयो अटले व्याधा ! मलाई दागा धर्दै आयो । (युवतीको जीउको सहारा लिन खोज्दै) त्यो आयो, आयो । छेक त्यसलाई । त्यसलाई ङ्याक ! (चर्को न चर्को चिच्याहट) हा …. (ढल्छे ।)
जँड्याहा ः (निक्कै पर उभिएर) जो आ’छ उही ढल्या छ । साला, म पनि ढल्छु अब । मलाई चुरोटको बन्दोबस्त खै ? खै एक थोपो स्पिरिट वाटर ? नयाँ छ मुख्य सचिवको छोरो । हैसियत छ भुस्याहा कुकुरको ! (चिच्याएर) म ढलें । मलाई समाऊ । (भाका हालेर गाउँछ, हाउभाउ गर्दै) लडें लडें लडें मता लौन समाऊ ।
मानबहादुर ः मान्छेको चित्तमा तापको राँको सल्क्या छ । तँ जँड्यालाई भने मजा छ, हैन ?
जँड्याहा ः (झन् मस्तसँग गाउँछ) लडें लडें …….
आइमाई ः (छट्पटाउँदै) मरें आमा । स्वाँगेहरूको यो जाली संसार ।
शंकर ः भो दिदी, मन बाँध । यो एकलासमा कराउँदा कसले सुन्छ ?
आइमाई ः मान्छेले मेरो कथा सुनेन । मान्छेले मेरो व्यथा बुझेन । (आवेशमा) मेरो कथा ढुङ्गाले सुनोस् । पाखाले सुनोस् । बाँदरले सुनोस् ।
मानबहादुर ः अनि आफ्नो घरबार, यसो जायजेथा, आफन्त कोही छैन ?
आइमाई ः मेरो केही छैन । मेरो कोही छैन । जे छन् मेरा वैरीहरू मात्र छन् । सज्जन भनाउँदा सुकिलाहरूले मलाई कसरी गुडिया बनाएर नचाए, सुन्छौ ? सक्छौ सुन्न ?
(शंकर र मानबहादुर सकारसूचक मुन्टो हल्लाउँछन् ।)
आइमाई ः सुन ! कान च्यातेर सुन । मेरा ज्यानको रसजति बम्बईको कोठीले चुस्यो । अनि त्यसले मलाई सडकमा मिल्काइदियो । अभागी म एक्लै थिइन । मजस्ताको सानोतिनो बगालै थियो । बल्लतल्ल काठमाडौं आइपुग्यौं । मनमा कत्रो आशा थियो, कत्रो ढाडस थियो । आफ्नो देशमा हाम्लाई हेर्ने कोही न कोही त पक्कै होलान् । प्रजातन्त्रका पालामा हामीलाई पनि केही न केही इलम मिल्ला । सहारा होला हाम्रो पनि क्यै न क्यै ….
शंकर ः हेरेन त कसैले ?
आइमाई ः नाटक धेरैले गरे । हाम्रो नाङ्गो ज्यानको बिस्कुन सुकाएर रमिता हेरे । आँखाको चैन लुटे ।
शंकर ः दुःखीको दुःख हेरेर केको रमिता हुन्छ ? अनि केको चैन ?
आइमाई ः हुनेलाई भयो होला । हाम्रो के लाग्छ ! (मुख छोप्छे । अनि मुख उघारेर) हाम्रो दुःख हर्ने स्वाङ रच्दै तिनले केमात्र गरेनन् ? बडेमाको सभा गरे । बडाबडा नेता आए । पत्रकार हांै भन्ने आए । एनजीओ हौं भन्ने आए । मानव अधिकारवादी हौं भन्ने आए । सरकारका मान्छे हौं भन्ने आए । तिनले हाम्रा आँसुका कथा हाले । आफ्ना तस्वीर खिचाए । (आक्रोशको स्वरमा) अहिले कहाँ गए ती सब ? हामीलाई धूलामा छाडेर कहाँ बेपत्ता भए ती स्वाँगेहरू ?
(डोकामा घाँस बोकेर बूढी आमै देखा पर्छिन् । भारीको चापले ढाड कुप्रिएको छ । हिँड्दा खुट्टा खोच्याएको देखिन्छ) जीउमा धङ्धङी छ, सन्तुलन छैन । हिँड्दा हिँड्दै जीउको ढलपल बढ्छ । बुढी गल्र्याम्म ढल्छिन् । रङ्गमञ्चमा खल्बली मचिन्छ ! ए …. ए …. बूढी ढलिन् । सबैजना सहारा दिन दगुर्छन् ।)
शंकर ः (बुढीको फुस्रो तालु छाम्दै) के भो आमै ? खरो भो ? भारी सारै ठूलो पो भो कि ?
बुढी ः (अड्दै, सुस्केरा हाल्दै शुष्क स्वरमा बोल्छिन् ।) मनको सहारा सबै गुम्यो बाबु ! बेसहारा ज्यान बोकेर हिँड्न गारो भो ।
मानबहादुर ः सहारा को थियो ? आखिर के भो त्यसलाई ?
बूढी ः (लेग्रो तानेर) बूढो लोग्ने थियो बाबु । तरूनो छोरो थियो ।
आइमाई ः (बुढीको छाती मुसार्दै) के भए त ती ? मरे ?
बूढी ः मरे हैन नानी, मारे ।
युवती ः मारे ? दुईजना लाठेलाई कल्ले मारे ?
बूढी ः सरकारका सिपाईले मारे, नानी ।
शंकर ः सरकारका सिपाईले मारे ? एउटै घरका दुईजनालाई ?
मानबहादुर ः के विरामले गर्दा मारे त दुईजनालाई ?
बूढो ः म बूढीमान्छे बाबु ! म अनपढ । म गोज्याङ्ग्री । सरकारको खटन म के जानूँ ?
जँड्याहा ः (छेउमा आएर) त्यत्तिकै चरा मारेझैं ड्याङ्ग गोली दागेर मारे त ?
बूढी ः हो, बाबु ! बूढाचाहिनेलाई खुकुरीले काटीकाटीकन मारे । छोरोचाहिनेलाई भीरबाट लडाएर मारे ।
युवती ः आखिर मार्दा क्यै न क्यै कसुर त देखाए हुनन् नि, देखाएनन् ?
बूढी ः म बूढी, म निम्छरी, म रोगी । खै, म के भनूँ नानी ?
आइमाई ः लुरूलुरू आएर त्यतिकै खुरूखुरू मारे त ?
बूढी ः (बसेर लामो सुस्केरा हाल्दै) म चुलामा खोलेफाँडो उमाल्दै थें, नानी ! एक्कासी बूढाले आँगनमा ऐया–ऐया, मारे–मारे भनेको सुनें । मन अताल्लियो । हत्तपत्त बाहिर निस्कें । यसो हेरें, बन्दुकको फेदले कुट्या कुटेई रहेछन् । अनि त नानी …. द्रवीभूत भई आँखा छोप्छिन् ।)
शंकर ः अनि मारिहाले त ?
बूढी ः (कामेको आद्र्र स्वरमा) मेरा बूढालाई मेरै आँगनमा मारे, बाबु । हेर्न नसकी–नसकी मैले हेर्दाहेर्दै, काटी–काटीकन मारे । छोरो निकाल कि निकाल भने । नेता देखा कि देखा भने । मेरो बूढाले था’छैन कि था’छैन भने । उनले भने–भनेको नमान्दा चोक्टालाम्टा लुछी–लुछीकन मारे । मेरै नाकमुखेञ्जि बाबु, मेरा बूढाको ज्यान लिए । (जीउ थाम्न नसकेर ढल्छिन् । सबैले उनलाई आड दिन्छन् । (पलभर घोर सन्नाटा ।)
मानबहादुर ः अनि छोरो पनि मारियो त ?
बूढी ः मारे बाबु, केको बाँकी राख्थे ?
शंकर ः छोरो माओवादी हो ?
बूढी ः बादीस्सादी म के जानुँ र बाबु ?
शंकर ः छोरो फटाहा मास्ने जुद्धमा लाग्या थ्यो ?
बूढी ः जुद्धसुद्ध था’छैन बाबु !
शंकर ः बेफ्वाँकमा किन मारियो त छोरो ?
बूढी ः लाटो थ्यो बाबु मेरो छोरो । निसापका बात बोल्थ्यो । ठालूका चित्तमा उसको बात बिझायो होला, बाबु । अनि झोसपोलमा पारे । अनि ….. अनि ….. (एकाएक पूर्वस्मृतिको झट्काले आक्रान्त भई उत्तेजित हुँदै) बाबु ! उःउः त्यो हत्कडी लगाएको मेरो छोरो हो, बाबु ! मेरो काले उः पहरामाथि, सिपाइको घेरामा । उःउः हेर, हेर, खबर्दार, खबर्दार ! ए ……. ए मेरो छोरोलाई तल्तिर घँचेडे । (प्रचण्ड चित्कारसाथ) गुहार ! गुहार !! मारे मेरो छोरोलाई ! ढलेर मुर्छा पर्छिन ।)
(निकैबर सन्नाटा छाउँछ ।)
(ठूलो दारको, चौडा निधार भएको, अग्लो, गुम्लुङ्ग बर्को ओडेको, पाको मानिसको प्रवेश । नवागन्तुक देवकोटा मिहिन दृष्टिले सबैलाई नियाल्छ ।)
जँड्याहा ः (नवागन्तुलाई हेर्दै) आयो अर्को । हेर्दैमा पागलजस्तो ।
देवकोटा ः जरूर साथी म पागल, यस्तै छ मेरो हाल !
शंकर ः (बूढालाई नियालेर ठम्याउन खोज्दै) तपाईं को हो ?
देवकोटा ः म पागल ।
शंकर ः पागलको नाम के हो ?
देवकोटा ः मेरो नाम लक्ष्मीप्रसाद देवकोटा हो ।
(कुत्कुतीले सबैजना जम्जमाउँछन्) एकटकले देवकोटालाई हेर्छन् ।)
शंकर ः उही पहिलेको महाकवि लक्ष्मीप्रसाद देवकोटा ?
देवकोटा ः म महाकवि होइन, बाबु । म त कविताको मामुली विद्यार्थी ।
मानबहादुर ः म अनपढ छु । अन्धो छु म । तर मैले पनि महाकवि भन्या सुन्या छु । होइन भने होइन भन्नोस् ।
देवकोटा ः होइन । अचेल मलाई महाकवि भनेर उचाल्नेहरू तिनै हुन् जसले मलाई पागल भनेर पछारेथे । जसले मलाई मारेथे । (उत्तेजित स्वरमा) मेरो नाउँमा फेरी लाएर घुम्नेहरू, मेरो तस्वीरमा धूपधूवाँर गर्नेहरू, मेरो सम्झनामा शिर निहुराउनेहरू ! को हुन् ती ? तिनमध्ये धेरैजसो उनै हिजो मलाई मार्नेहरू हुन् ।
शंकर ः हैन हजुर कालगतिले खस्नुभा’ हैन र ?
देवकोटा ः होइन । जानीजानी काल डाकेर तिनले मलाई खसालेका हुन् ।
जँड्याहा ः वाह ! काल डाकेर खसालेका !
देवकोटा ः हो, काल डाकेर………
शंकर ः यत्रा बडा मान्छेलाई किन काल डाकेर खसाले त ? ….
देवकोटा ः तिनको बाजको संस्कृतिलाई मैले बाजको संस्कृति भनें । तिनको अत्याचारको रीतलाई मैले अत्याचारको रीत भनें । तिनको पागल समाजलाई मैले पागलखाना भनें । अनि कालो समाज मसँग साटो फेर्न उठ्यो । अनि त्यसले उल्टै मलाई पागल भन्यो ।
जँड्याहा ः पागल भन्यो ? यस देशको महाकविलाई त्यसले पागल भन्यो ?
मानबहादुर ः अनि मा¥यो पनि ?
देवकोटा ः (गम्भिर मुद्रामा ओँठ टोक्दै सकारसूचक मुन्टो हल्लाउँछन् । ) हो, मा¥यो ।
युवती ः हाम्लाई त मा¥यो, मा¥यो । यत्रो नाउँ चलेको मान्छेलाई कसरी मा¥यो नि !
देवकोटा ः मेरो जिउने हक खोसेर मा¥यो । मेरो बोल्ने हक हेरेर मा¥यो । तड्पाई–तड्पाईकन, कहिले नक्कली प्रेमले उचाल्दै, कहिले सक्कली घृणाले पछार्दै मा¥यो ।
आमै ः हेर, हेर, कत्रो अत्याचार !
आइमाई ः कसरी मारेको ? एक–एक जनालाई, पालैपालो, निमोठी–निमोठीकन ….
देवकोटा ः अत्याचारलाई मैले निहुरेर नमस्कार गरिनँ । अन्यायलाई मैले तिरस्कारको नजरले हेरें । राक्षसलाई देवता मान्न मैले नामजुर गरें । अनि पागल समाजले मलाई पागल घोषित ग¥यो । त्यसैले यो कुहेको समाजलाई म हाँक दिन्छु ! जरूर साथी म पागल, यस्तै छ मेरो हाल ।
शंकर ः गुरू, मेरो नमस्कार ।
(सबैजना वरिपरि झुम्मिएर नमस्कार गर्छन् ।)
देवकोटा ः म कसैको गुरू होइन । म धूलाको नागरिक हुँ । म न्याययुद्धको एक सेनानी । म समयको आँधी । पाखण्डहरूको म काल । म पागल ………
शंकर ः गुरू ! हामी गुरूको आशीर्वाद माग्छौ ।
देवकोटा ः आशीर्वाद ? आशीर्वाद दिने हैसियत ममा के छ ? म तिमीहरूजस्तै धूलोको एक कण …….
शंकर ः गुरू ! यी सब आत्महत्या गर्न निस्केका छन् । करले, बलले, प्रेमले, स्नेहले । मैले अहिलेसम्म यिनलाई थामेर राख्या छु, गुरू ! सेरिएर मर्ने यिनको यो इच्छालाई, गुरू, हामीले के भन्ने ?
देवकोटा ः यी सब आफ्नै शत्रु हुन । आफ्नै आफन्तका शत्रु । आफूजस्तै पीडितहरूको पीडामा आगो झोस्ने यी लाछी हुन् ।
युवती ः (एक स्वरमा) हामी लाछी ? हामी आफ्नै शत्रु ?
देवकोटा ः हो, सत्य त्यै हो । (च्यूँडामा हात राखेर घोत्लिँदै) अत्याचारका मुखेञ्जि हार खानु भनेको के हो ?
युवती ः के हो गुरू ?
देवकोटा ः अत्याचारीलाई झन् फुक्काफाल अत्यार गर्न बाटो खाली गरिदिनु । पीडितहरूका चह¥याइरहेका घाउमा नूनचुक थपेर आफू जीवनदेखि सुटुक्क भाग्नु ।
(पलभर सन्नाटा)
गुरू ः गुरू ! यिनीहरू हजूरका मुखबाट आशिक माग्न चाहन्छन् ।
देवकोटा ः म कुनै देवता होइन बाबु । महर्षि नामको आशिक दिने कुनै पाखण्डी म होइन ।
शंकर ः गुरू ! महाकवि देवकोटाका मुखबाट यिनीहरू जीवनको सत्य सुन्न चाहन्छन ।
देवकोटा ः सत्य भनेको ठूलो कुरो हो बाबु । म एक सरल जीव । म जान्दिनँ जीवनको सत्य के हो ? तर मलाई एउटा कुरा थाहा छ ।
आमै ः बाजे ! सो कुरा के होला ?
देवकोटा ः पागलहरूसित मागेर हक पाइँदैन । जीवनदेखि भागेर जीवनको बाजी जितिँदैन । (खुइले तालु देखाउँदै) मैले यो तालु खुइल्याएर सिकेको जडी कुरा यत्ति हो ।
शंकर ः तर गुरू ! यिनले त हातखुट्टा छाडेका छन् । अन्यायको जाँतोमा पिसिंदा–पिसिंदा यिनले जीवन देख्न छाडेका छन् । मृत्युको साम्राज्यमा यिनीहरू फन्फनी फन्को मारिरहेका छन् ।
देवकोटा ः (मुसुमुसु हाँस्दै) यी सबै सोझा, सरल आत्मा हुन् । म जान्दछु, यिनले खोजेको जिनिस मृत्यु होइन, जीवन हो ।
मानबहादुर ः हो, गुरू ! खोजेके त बाँच्न हो । तर डाँकाले बाँच्नै दिएनन् ।
युवती ः बलात्कारीले बाँच्नै दिएनन्, गुरू !
आइमाई ः गद्दामा बस्ने ठालूहर्ले सास फेर्ने ठाउँसम्म दिएनन्, गुरू !
आमै ः सरकार भन्नेले हाम्रा आफन्तको बीउसमेत निमास पारे, गुरू !
शंकर ः आशा, उज्यालो, प्रेम ! सबका सबमाथि धावा बोलिन थाल्यो, गुरू !
देवकोटा ः धावाको विरूद्ध धावै बोल्नुपर्छ । झापटको जवाफ नमस्कार कहाँ हुन्छ ?
आइमाई ः समाजले हामीलाई पागलमा द¥यो, गुरू ! हाम्रो मान रहेन …..
मानबहादुर ः हाम्रो मर्यादा रहेन ।
युवती ः हाम्रो क्यै रहेन ।
बूढी ः हाम्रै क्वै रहेन ।
देवकोटा ः फिक्री क्यै छैन । ठीक छ, हामी पागल । यो असभ्य, क्रूर संसारलाई हाँक दिँदै म भन्छु (दुई मुक्का उचालेर) जरुर साथी म पागल, यस्तै छ मेरो हाल ।
(बूढासँग सबैजना मुक्का उठाउँछन् ।)
जँड्याहा ः वाह ! याँ त नाटक पो हुन थाल्यो । देवकोटाको तालु हेर्दै ) बूढो त जण्ड रहेछ बा ! (देवकोटाको छेउमा गएर हात पसार्दै) ए बूढा बा ! दस रूपियाँ झिक न्, लाइदिऊँ अलिकता स्पिरिट वाटर ! (देवकोटा खल्तीबाट दस रूपियाँको नोट झिक्छन् । बडो प्रेमले जँड्याहाको च्यूडो निचोर्छन् र रूपियाँ हातमा राखिदिन्छन् । जँड्याहा दङ्ग पर्दै मस्तसँग गाउँदै खोया बिर्केको सिकार गर्न बाटो लाग्छ ।) प्यूँदाप्यूँदै जिन्दगी यो रित्याउन चाहन्छु म …..
(उत्तेजनाको चुलीमा चढेको मानिस, हातमा खुकुरी बोकेर, आँधी समानका तेजका साथ पाइला चाल्दै आउँछ । ऊ रिमाल हो ।)
रिमाल ः (खुकुरी चम्चम् चम्काउँदै, आउँदै) छट्, छट् हट् ! एक जुगमा एक दिन…….
(सबैजना आतङ्कीत भई लाखापाखातिर तर्किन्छन् । देवकोटा मुसुमसु हाँस्दै जहाँको तहीँ उभिएर अभिवादनका मुद्रामा रिमाललाई हेर्छन् । देवकोटा सामु आइपुगेर रिमाल श्रद्धाले शिर झुकाउँछन् । देवकोटा रिमालका शिरमाथि आशिर्वादसूचक हात उठाउँछन् ।)
रिमाल ः (खुकुरी नचाउँदै) छट्, छट्, हट् ।
(डरले मनमनै पोको पर्दै लाखापाखा लागेकाहरू भयातुर दृष्टिले रिमालको चाल नियाल्छन् । देवकोटा सबैलाई आफूछेउ आउन इसारा गर्छन् । सबैजना डराउँदै–डराउँदै आउँछन् र रिमालदेखि अलग्गै उभ्भिन्छन् ।)
देवकोटा ः (रिमालतिर लक्ष्य गर्दै) यो मेरो भाइ हो ।
शंकर ः (आँखाले रिमाललाई ताकेर) हजूरको शुभ नाम ?
रिमाल ः (खुकुरी नचाउँदै, तेजिलो स्वरमा) मेरो नाम सन्काहा ! म विक्षिप्त ! म पागल !
देवकोटा ः (व्यङ्ग्यको पुट मिसिएको स्वरमा) पागल दाइको पागल भाई ! …
रिमाल ः (स्वर उचालेर खुकुरी नचाउँदै) छट्, छट् हट् !
जँड्याहा ः (स्पिरिट वाटर लगाएर आउँदा–आउँदै) वाह ! अर्को थोत्रो पागल ! (सबैलाई हेर्दै) सप्पै पागल !
रिमाल ः हो, यो नररेपी समाजले बाँच्न नदिएको म पागल !
जँड्याहा ः हाताँ त्यत्रो खुकुरी छ । ज्यान यत्रो छ हात्तीको जत्रो । कसरी बाँच्न दिएन समाजले ?
रिमाल ः बाबु ! मैले आमाको सपना देखें । मेरो सपना ठालू भइखाएकाहरूका लागि कालकूट विष बन्यो ।
शंकर ः रिमाल गुरू ! आमाको सपनामा के थियो ?
रिमाल ः आमाको सपनामा के थियो ? (खुकुरी नचाउँदै) छट्, छट्, हट् ! आमाको सपनामा जीवनका रोगव्याधीको चाङमा आगो सल्काउने सपना थियो । अन्याय र अत्याचार, उचनीच र भेदभाव, अपराध र विकारको नास गर्ने आवाज थियो । (उत्तेजित भएर) के थियो आवाजमा ? (खुकुरी नचाउँदै) छट्, छट्, हट् ! (स्वरमा लय.हालेर) एक जुगमा एक दिन एकचोटी आउँछ …….
जँड्याहा ः वाह ! बूढो त यो पनि जण्ड रहेछ बा ! (छेउमा गएर) ए बूढा बा ! दस रूपियाँ छ ? पाऊँ न, स्पिरिट वाटर खाऊँ । साला, तलतलै मेटिएन ।
रिमाल ः (जँड्याहाका थाप्लामाथि खुकरी नचाउँदै) छट्, छट्, हट् !
(जँड्याहा आतङ्कीत हुँदै पन्छिन्छ ।)
आमै ः (क्लेशपूर्ण पूर्वस्मृतिले आक्रान्त हुँदै) बाबु ! उः त्यो हत्कडी लाएको मेरो छोरो हो, बाबु ! मेरो काले उः पहरामाथि, सिपाईको घेरामा । उः.उः. हेर, हेर, खबर्दार, खबर्दार ! ए…ए…मेरो छोरोलाई तलितर घँचेडे । (प्रचण्ड चित्कारकासाथ) गुहार ! गुहार !! मारे मेरो छोरोलाई ! (ढलेर मुर्छा पर्छे ।)
(निकै बेर सन्नाटा छाउँछ ।)
देवकोटा ः (बूढीको ढलेको जीउमाथि निहुरिँदै) के भो ? यो के भो ? छारेरोग हो ?
शंकर ः गुरू, यिनका लोग्ने मारिए । छोरो मारियो । यिनको ब्रह्माण्डमा आगो सल्केको छ, गुरू ।
रिमाल ः यस धर्तीमा निर्धालाई मार्ने चलन कुनै नयाँ होइन, बाबु । इन्साफका नाउँमा हजारौं वर्षदेखि चलिआएको बेइन्साफको कथा हो यो । (खुकुरी नचाउँदै) छट्, छट्, हट् । यिनले मेरो आवाजलाई मार्न खोजे । यी जुकाले मलाई सन्काहा भने । मेरो जिब्रोमा किला ठोके ।
आमै ः (कम्पायमान करूण स्वरमा) त्यत्रो अत्तिचार किन भो त, बाजे ?
रिमाल ः बहिनी ! राक्षसको स्वर्गको बेथितिमाथि मैले आवाजको अस्त्र चलाएँ । छट, छट, हट् ! आवाजको घन उचालेर मैले घोषणा गरें ! यस धर्तीमा ठगिएका, कुल्चिएका, हेपिएका, थुकिएकाहरू एकदिन उठ्नेछन् । अनि दानवको स्वर्गमा उथलपुथल आउनेछ । उथलपुथल छाउनेछ र मानिस मानिसको यस धर्तीमा मानिसको रूपमा उभिनेछ । त्यत्तिकैमा खूनी स्वर्गका स्वामीहरूले मलाई सन्काहा भने । (जङ्गिदै) तिनले मलाई तिरस्कार गरे । तिनले मेरो अपमान गरे । तिनले बूटका किलाले मलाई कुल्चेर धूलामा पछारे । (खुकुरी नचाउँदै) छट्, छट्, हट् …..
आमै ः बाजे ! आज मलाई नि आँसु र रगत लत्पतिएको धूलोमा तिनले पछारे । मारे बाजे, मलाई तिनले जिउँदै मारे ।
युवती ः गुरू ! मलाई पनि पछारे । मलाई बलात्कारको नर्कमा पछारे ।
मानबहादुर ः हो मलाई पनि पछारे । मलाई तिनले बलमिच्याइँले मिचे । मेरो मायाका गुँडमा तिनले आगो लाए । तिनले मलाई आफ्नै आफन्तको खरानीमाथि पछारे ।
आइमाई ः (आक्रोशसाथ दुइ मुक्का उठाउँदै) तिनले मलाई घरिघरि ङ्याके । मलाई चुसे । मलाई लुछे । छोक्राछोक्रा पारेर मलाई रछ्यानमा मिल्काए ।
देवकोटा ः बाजहरूको राजमा यस्तै हुन्छ । अस्ति यस्तै थियो । हिजो यस्तै थियो । आज उस्तै छ ।
जँड्याहा ः (जोशिंदै) हो, यहाँ सधैं यस्तै हुन्छ ।
रिमाल ः (जँड्याहातिर खुकुरी सोझ्याउँदै) यो बाजको बोली हो । (क्षणिक सन्नाटा ।) म भन्छु, सधैं यस्तो हँुदैन । बाजको राजविरूद्ध एक दिन न्यायको आवाज उठ्नेछ ।
देवकोटा ः जब त्यो आवाज उठ्छ …..
रिमाल ः रछ्यानमा मिल्काइएकाहरू ब्यूँझेर उठ्नेछन् ।
देवकोटा ः जब त्यो अवाज उठ्छ ।
रिमाल ः जीवनका आशा गुमाएर मर्न हिँडेकाहरू जिउने अभियानमा जुट्नेछन् ।
देवकोटा ः जब त्यो आवाज उठ्छ ।
रिमाल ः अत्याचारका मालिकहरू एकएक गरिकन भकाभ्क ढल्नेछन् ।
देवकोटा ः जब त्यो आवाज उठ्छ …..
रिमाल ः न्याय हराएकाजति न्याय खोस्ने मोर्चामा डट्नेछन् ।
आमै ः बाजे ! कहिले आउँछ त्यो दिन ?
रिमाल ः (खुकुरी नचाउँदै) छट्, छट्, हट् ! मुर्छा परेकाहरू व्यूँझेपछि, मारिएकाहरू बौरेपछि, पागल बनाइएकाहरू गर्जेर उठेपछि ….. एकदिन ….
आइमाई ः ल्याउन सक्नुपर्छ नानी, त्यो आउँछ । कुनै दयालु भगवान्ले पठाइदिने होइन त्यो दिन । त्यो दिन ल्याएर आउँछ ।
देवकोटा ः ….. ल, आकाशमा मेघ छायो । उः बिजुली चम्क्यो । उः चट्याङ् चड्क्यो । थाहा छ, वसन्तको गजर्नपछि के हुन्छ ?
रिमाल ः आँधिबेरी आउँछ । विप्लव हुन्छ । अनि घनघोर वर्षा । अनि धर्तीको फोहोर सनक्क पखालिन्छ । कलङ्क धोइन्छ । अनि धर्तीको कणकणमा सिर्जनाका फोहरा फुट्छन् ।
मानबहादुर ः गुरू ! त्यो दिन पक्कै आउँछ ?
देवकोटा ः हामी उठे त्यो दिन पक्कै आउँछ ।
रिमाल ः हामी जुटे त्यो दिन पक्कै आउँछ ।
समूह स्वर ः कहिले आउँछ त त्यो ? कहिले ? कहिले ?
रिमाल ः (खुकुरी चम्चम् नचाउँदै) छट्, छट्, हट् ! (आवेशमा) त्यो आउँछ । त्यो आउँछ ।
समूह स्वर ः कहिले आउँछ ? कहिले ? कहिले ?
रिमाल ः (खुकुरी पूर्ववत् नचाउँदै, लय हालेर) एक जुगमा एक दिन एकचोटी आउँछ ।
उथलपुथल उलटपुलट हेरफेर ल्याउँछ ।
(देवकोटा दुई बलिष्ट मुक्कामाथि उठाउँछन् । सबैले बूढाको सिको गर्छन् । अनि सबैजना रिमालको स्वरमा स्वर मिलाएर गाउँछन् ।)
एक जुगमा एक दिन एकेचोटि आउँछ ।
उथलपुथल उलटपुलट हेरफेर ल्याउँछ ।
(पर्दा बन्द ।)