र, बाटाभरि भेटिन्छन्
दर्शनढुङ्गाजस्ता अक्षरहरू ।
यही काँचको गिलासमा
पिएको हुनुपर्छ उसले रक्सी पटकपटक
यो चुरोट निभाएको भित्तो
बिर्को नभएको कलम
र रङ्ग उडेको कागज – सबै उसैका हुनुपर्छ
उसैका हुनुपर्छ,
उरनठेउला केटीको हाँसोजस्तो बुड़बुङ्ग उड्ने धुलोमा
यी पाइलाका डोबहरू ।
हामी हिंडिरहेका छौ, यही गोरेटोमा
जहाँ उसले छोडेर गएको छ – दर्शनढुङ्गाजस्ता
अक्षरहरू ।
यहाँ अहिले पनि
रूखहरूमा काँप्छन् गायकका हृदय
कविहरू एक चिम्टी सुर्तीका लागि बेचिरहेछन् कविता
कलाकारको रगत भेटिन्छ पेन्टिङ्गमा
र नाङ्गो छातीमा धून टाँसेर हिँडिरहेछ सङ्गीतकार
यस्तैमा भेटिन्छन्, असङ्ख्य मणि लोहनीहरू
जो एक सर्को धुँवाका लागि
पटकपटक ठोकिरहेछन् – दर्शनढुङ्गा
भयङ्कर – भयङ्कर किताबहरूका बीचमा रहेको
यो मसिनो पुस्तिका
रातो क्रान्तिकारी गीतको छेउमा
उधृत गरिएको कविता
मायालु शब्द,
जसलाई भर्खरै प्रेमी तन्नेरीले च्याटमा अरू कसैलाई
पठायो
उः त्यो नेताले बोल्दै गरेको भाषण
कुमारी केटीको उकुसमुकुस
हल्लामा रूमल्लिरहेका जनता
सबैमा ऊ बाँडिएको छ, अलिअलि
र, बाँकी आफूलाई
छाडेर गएको छ यही दर्शन ढुङ्गाहरूमा ।