(ठूलो अक्षरमा “प्रतीक्षालय“ लेखिएको देखिन्छ । केही मानिसहरु कोही बसेका, कोही उभिएका देखिन्छन् । कोही आपसमा गफ गरिरहेका, कोही हतार भए झैं सडकतिर हेर्दै गरेका देखिन्छन् । मैलो लुगा लगाएका दुई किशोर रामे र धने सोही प्रतीक्षालयको एक छेउमा उभिएर सबैलाई पालै पालो हेरिरहेका देखिन्छन् । हातमा दुधको जर्किन लिएर प्रतीक्षालयको सिँढीमा तिला खत्री बसेको देखिन्छन् । नजिकै तरकारी राखिएको ठेला गाडा राखेर उमाशंकर उभिएका देखिन्छन् । शिक्षक जगतको साथमा हरि र विवेकको प्रवेश)
(केही व्यक्तिले जगतलाई नमस्कार गर्छन् । जगत नमस्कार फर्काउँदै एक छेउमा बस्छन् । विद्यार्थीहरु उभिन्छन्)
उमाशंकर : (यताउता हेर्दै चर्काे आवाजमा) ताजा ताजा तरकारी आएको छ हजुर ! आउनुहोस् लिनुहोस्, सस्तो सस्तो दाममा दिएको छु हजुर ! लिइ हाल्नोस् हजुर, लिइ हाल्नोस् ।
(१/२ जनाले आएर तरकारी हेर्दै छान्न थाल्छन् ।)
तिला खत्री : (उठेर गएर गोलभेडा हेर्दै) यो कसरी दिनु भा’छ भैया ? महिनाभरि दुध बेचेको पैसा पाएको छु आज, एक किलो गोलभेडा त किन्नै पर्यो …. (पैसा दिएर गोलभेंडा लिन्छिन् ।)
जगत् : (विद्यार्थीहरुलाई हेर्दै) हरि, विवेक ! केही बुझ्यौ त्यो किनबेचबाट ?
हरि र विवेक : (अलमल्ल परे झैं) के भन्न खोज्नु भएको सर !
जगत : उत्पादित वस्तुको विनिमय कसरी हुँदो रहेछ भनेर तिमीहरुलाई बुझाउन खोजेको नी !
हरि : ए … बुझें सर बुझें ! दूध बेच्ने काकीले दुध बेच्नु भयो र पैसा पाउनु भयो, त्यही पैसाले तरकारी बेच्ने काकासँग तरकारी किन्नुभयो । त्यही भन्न खोज्नु भएको हैन त सरले ?
जगत् : हो, स्याबास हरि ! यसलाई भन्छन उत्पादित वस्तुको विनिमय । तिमीहरुले यस्ता कुराहरु थाहा पाउनुपर्छ बुझ्यौ ! (दुवैले स्वीकृतिमा टाउको हल्लाउँछन् ।)
विवेक : सर ! स्कुल जाने हैन ? जाउँ न ।
जगत : जाने हो, केही अभिभावकहरुले म सँगै स्कुल जाने भनेर मलाई यहीँ पर्खिनु भन्नुभएको छ, त्यही भएर पर्खेको । तिमीहरु जाँदै गर न त !
हरि र विवेक : हैन, हामी पनि सरसँगै जाने हो ।
(दुवै एक छेउमा बस्छन्, उनीहरुको कुरा रामे र धनेले टुलुटुलु हेर्दै सुनिरहेका देखेर जगतले सोध्छन् ।)
जगत् : बाबुहरु ! तिमीहरुको नाम के हो ? धेरैजसो यतै देखिन्छौ, घर कहाँ हो तिमीहरुको ?
(धने लजाउँदै पछि हट्छ, रामेले अघि सरेर जवाफ दिन्छ ।)
रामे : (ठाडो पाराले) हाम्रो घर पनि छैन, थर पनि छैन ! हाम्रो लागि घर भनेको यही प्रतीक्षालयको ऊ त्यो कुनो हो । गाउँ, ठाउँ जे भने पनि यही सडक हो ! न त आफ्नो घर छ, न कसैको डर छ ! (हि हि हि हाँस्छ )
धने : किन छैन हाम्रो नाम ? छ नी ! यसको रामे हो, मेरो धने !
तिला खत्री : हैन, कस्तो सोमत नभएको केटो ! आफुभन्दा ठूलो मान्छे ! त्यही माथि उहाँ त माष्टरसाहेब ! कसरी बोलेको त्यो !
जगत् : (तिला खत्रीलाई हेर्दै) त्यस्तो कुरा हैन बहिनी ! एक त यिनीहरु बच्चा नै छन् । अर्को कुरा घर नभएका, बाबु आमाको माया स्नेह र ममता नपाएका अनि कसरी जानुन् ! यसरी सडकमा भौंतारिदै हुर्के बढेका, कसरी थाहा पाउन् सहि संस्कार र सोमतका कुरा ! माया, ममता र संस्कार पाए भने यिनीहरु पनि देशका उज्ज्वल भविष्य बन्न सक्छन् । यिनीहरुलाई संरक्षण, माया, ममता र सही मार्ग निर्देशनको खाँचो छ । यस्ता बालकहरुलाई संरक्षण दिएर सक्षम र क्षमतावान बनाउनु राष्ट्र, समाज र जिम्मेवार व्यक्तिको कर्तव्य हुन आउँछ । तर ….
उमाशंकर : (सुपारी चपाउँदै, मुख बङ्ग्याउँदै) त्यति धेरै भावुक पनि नबनी हाल्नुहोस् हजुर ! धेरैजसो केटाहरु पढ्न मन नलागेर, घरमा बाबु आमाले अह्राएको काम गर्न मन नलागेर, अनि सहर, बजारमा गएपछि त के के न भइहाल्छ भन्ने लागेर घर छोडेर भाग्दै आउने गर्छन् अनि आफ्नो भविष्य यसरी बर्बाद गर्छन् । हाम्रो सहरमा कति छन् कति यस्ता बालबालिकाहरु ! मैले धेरै देखेको छु हजुर ! सुखै सुखको सपना देख्छन्, दु:ख पनि हुन्छ भनेर सोच्दैनन् । (दिक्क मानेर) के गर्नु ! कसैको कुरा सुन्ने हैनन् आजकलका बच्चाहरु !
जगत् : जे जसरी आए पनि यस्तो जीवन जिउनुपर्ने हैन यिनीहरुले । यिनीहरुले त बुझेनन् बुझेनन्, बुझ्नेले त केही गर्नुपर्ने हो । तर कसले ! सबैले आफ्नै मात्रै सोच्दछन् ।
हातमा पत्रिका लिएर सन्तोषको प्रवेश :
सन्तोष : (एउटा हातमा पत्रिका लिएर देखाउँदै) पढ्नुहोस्, पढ्नुहोस् ! आजको ताजा खबर पढ्नु होस् ! विश्वमा वर्षेनि करोडौं बालबालिका असुरक्षित श्रम गर्न बाध्य ! लाखौं लाख बालबालिकाहरु श्रम शोषणको शिकार बन्दै ! लाखौं बालबालिका असुरक्षित श्रमकै कारण अंगभंग भएर अपाङ्ग जीवन बिताउन विवश ! अन्य लाखौं लाख बालबालिका श्रमकै कारण मृत्युुको मुखतिर जाँदै ! लौ हेर्नुहोस् ! यस्ता अरु पनि धेरै जानकारीमूलक समाचार एउटै पत्रिकामा ! पढ्नु होस्, पढ्नु होस्, आजको ताजा खबर पढ्नु होस् !
तिला खत्री : कति टाठो केटा हो, कति धेरै कुरा जानेको !
उमाशंकर : सधैं बिहान बिहानै पत्रिका बेच्दै हिंड्छ यो केटो ! बहुत चलाख छ, धेरै कुरा जानेको छ यसले । म दिनहुँजसो देख्ने गर्छु यो केटाले गरेको मेहनत ! बहुत मेहनती छ यो !
सन्तोष : कति बढाई चढाई गरेको हो भैया अंकल ! भाग्यले नै ठगेपछि पेट पाल्न पनि मेहनत त गर्नै पर्यो नि ! त्यसमा पनि मेहनत त जसले पनि गर्नै पर्छ, हैन र भैया अंकल !
उमाशंकर : (खिस्स हाँस्दै) हामीलाई पनि एउटा पत्रिका दिई हाल त बाबु !
तिला खत्री : (हातको जर्किन र गोलभेंडाको झोला भुईंमा राखेर पैसा झिक्दै) मलाई पनि देउ बाबु एउटा ! ठूलाठूला अक्षर त म पनि पढ्न सक्छु, साना अक्षर छोराछोरीलाई पढ्न लगाउँछु । उनीहरुले पनि थाहा पाउनु पर्यो नी, हैन र ! (पत्रिका लिएर काखीमा च्याप्छिन्) साँच्चै ! अघि भाग्यले ठगेको भन्दै थियौ नी ! किन बाबु ?
सन्तोष : (लामो सास फेरेर) म सानै थिएँ काकी ! भुइँचालोले घर भत्कायो । आमाबुबा त्यही घरभित्र परेर बित्नुभयो । के गर्नु ! आमा बुबा नै नभए पछि न खान लाउन राम्रो पाइयो, न पढ्न लेख्न पाइयो ।
तिला खत्री : बिचरा !
सन्तोष : आफन्तले खुट्टासम्म लगाइ दिए, अक्षरसम्म चिनें । पढ्ने रहर त्यत्तिकै भयो । खुट्टा लागेपछि आफ्नो पेट आफै पाल्न भनेर यतातिर आएँ । २ वर्ष जति एकजनाको घरमा काम गरें, २ वर्षै हुन लाग्यो बिहान पत्रिका बेच्छु, दिनमा छापाखानामा काम गर्छु । यसैगरी चलिरहेको छ जिन्दगी के गर्नु !
तिला खत्री : राम्रो मेहनत गर्नु, ठूलो मान्छे हुनु । म त लागें घरतिर ! आफू गएर छोराछोरीलाई स्कुल पठाउनु छ । (जान्छिन् ।)
(उदास अनुहार, थकित देखिने व्यक्ति गणेश आएर लामो सास फेर्दै बस्छन् । एकपटक सबैले हेर्छन् ।)
जगत् : (खल्तीबाट पैसा झिक्दै) तिम्रो बोलीले त सबैलाई किनँु किनुँ बनाउँदा रहेछौ । खोइ मलाई पनि एउटा पत्रिका देउ त बाबु !
सन्तोष : (पत्रिका दिंदै) आज विश्व बालश्रम विरुद्धको दिवस हो सर ! पत्रिकामा पनि आज त्यही समाचार धेरै छ । हुन त म पनि बाल श्रमिक हुँ, तर मलाई जोखिम पूर्ण काम लगाइएको छैन र छापाखानामा काम गर्दा धेरै कुरा सिक्ने मौका पनि पाएको छु ।
जगत : त्यो त तिम्रो बोलीचालीले थाहा भइसक्यो नी ! (मुस्कुराउँछन्)
सन्तोष : (खिस्स हाँस्दै) म बालश्रमिक भएपनि अन्य बालबालिका कोही पनि बालश्रमको मारमा नपरुन् भन्ने चाहान्छु सर ! कतिपयलाई बालश्रम भनेको के हो थाहा नै छैन । थाहा भएकाले पनि बालबालिकाहरुको श्रम शोषण गरिरहेका छन्, दुव्र्यवहार गरिरहेका छन् । नियम कानुन भए पनि पालना भएको छैन ।
जगत् : त्यही त ! अरु देशमा बालबालिकाको अधिकार अरुको भन्दा धेरै हुन्छ भन्छन्, हाम्रो देशमा चाहिँ ….
सन्तोष : (बीचमै रोकेर) यस विषयमा सरले र सरहरु जस्ता पढे लेखेका र जाने बुझेका व्यक्तिले सचेतना फैलाए सबैले बुझ्ने थिए । हजुरले त आफ्ना विद्यार्थीलाई सचेत गराउन सक्नुहुन्छ नी ! हैन र सर ! हजुर त शिक्षक मान्छे ! एकैपटकमा धेरैलाई ज्ञान दिन सक्नुहुन्छ ।
जगत् : कसरी थाहा पायौ म शिक्षक भनेर !
सन्तोष : हजुरले नचिने पनि म हजुरलाई चिन्छु । हजुर राम्रो शिक्षक हुनुहुन्छ, सुनेको पनि छु …
जगत् : ओहो ! तिमी त मान्छे सानो भएपनि निकै चलाख रहेछौ बाबु ! धेरै कुरा जानेका रहेछौ । धन्यवाद छ तिमीलाई ! मैले सकेको, जानेको विद्यार्थीलाई जानकारी गराएकै छु र अझै गराउने छु । अँ साच्चै ! तिमीलाई एउटा कुरा जानकारी दिन मन लाग्यो । (मोटरको हर्न बजेको सुनेर सबै जना बाहिरिन्छन् । उदास अनुहारले अघिदेखि उनीहरुलाई हेरिरहेका व्यक्ति गणेश, रामे र धनेको नजिक आएर बस्छन् र अझै हेरिरहन्छन् ।)
सन्तोष : (गणेश, रामे र धनेलाई पालैपालो हेरेर जगत्लाई हेर्दै) के जानकारी हो र सर ?
जगत् : बालबालिकालाई पढ्न दिनुपर्छ, काममा लगाउन हुँदैन, त्यसरी काममा लगाउन पाइँदैन । त्यस्तो गर्नु कानुनी रुपमा अपराध हो भनेर जानकारी गराउन र यस्ता कुरा अभिभावकले पनि बुझ्नु जरुरी छ भन्ने सोचेर सबै अभिभावकहरुलाई समेत सहभागी गराएर हाम्रो स्कुलले आजै बालश्रम विरुद्धको दिवस मनाउन लागेको छ । (हातले देखाउँदै) ऊ त्यही पारी को त हो हाम्रो स्कुल !
सन्तोष : मलाई थाहा छ सर हजुरको स्कुल ! कति राम्रो काम गर्न लाग्नु भएछ । म पनि स्कुलमा भएको भए हेर्ने थिएँ नी !
जगत् : हेर्न त भै हाल्छ नी स्कुलमा नभए पनि, फुर्सद मिले आउन त दिउँसो !
सन्तोष : हुन्थ्यो नी सर ! कति मन छ स्कुलमा हुने त्यस्ता कार्यक्रम हेर्न ! मन भएर मात्रै के गर्नु ! बल्लबल्ल पाएको काम निकाले भने के खानु ! धेरै पढ्ने लेख्ने रहर भएर पनि स्कुल जान पाइएन । भाग्य यस्तै भयो । सहारा नै नभए पछि चाहेको कुरा कहाँ पुग्छ र ! (बोल्दा बोल्दै अनुहार अँध्यारो हुन्छ, दुई हात जोड्दै) नमस्कार सर ! म जान्छु अब ! यो सबै पत्रिका बेचेर काममा पनि जानु छ ।
(जगत नमस्कार फर्काउँछन्, सन्तोष एकातिर लाग्छ, त्यहाँ उपस्थित सबै उसका कुराले गम्भीर बन्छन् र एक अर्कोलाई हेर्छन् ।)
जगत् : (हरि र विवेकलाई हेर्दै) देख्यौ ! पढ्न कति रहर गरेकोे छ त्यो केटाले ! तर के गरोस् अभिभावक नै नभए पछि ! यस्ता कैयौं बालबालिका आफूले पढ्न पाउने नैसर्गिक अधिकारबाट बन्चित छन् अझै । खेल्ने, पढ्ने, सृजनात्मक काम गरेर आफ्नो भविष्य बनाउने बेलामा श्रमिक बनेर काम गर्न र पसिना बगाउन बाध्य छन् विचराहरु ! बालबालिका भनेका देशको भविष्य हुन्, यिनीहरुको अवस्था यस्तो रहिरहने हो भने देशको भविष्य कसरी उज्ज्वल हुन सक्छ !
उमाशंकर : अति राम्रो कुरा गर्नु भयो सरले ! हाम्रो गाउँमा, उहाँ देहातमा के ! घरको कामले गर्दा बालबच्चाहरु विद्यालय जान पाउँदैनन् हजुर ! आमा बाउ काममा जाने, बालबालिकालाई भाइ बहिनी हेर्न लगाउने चलन धेरै छ हाम्रो ठाउँमा पनि । कति बालबच्चा त विद्यालय गएर पढ्न भन्दा घरमा नै बसेर भाई बहिनी हेर्न नै राम्रो मान्छन् र त्यसैमा रमाइ हाल्छन् ।
जगत् : हो तपाईंले यथार्थ कुरा भन्नुभयो । वास्तवमा बालबालिकाहरु मनोरञ्जन मन पराउँछन् । त्यसैले स्कुलले पनि बालबालिकाको लागी शिक्षासँगै मनोरञ्जनको पनि ख्याल गर्नुपर्छ । (उठेर यता उता हेर्छन्, अनि घडी हेर्छन् ।
उमाशंकर : गाउँघरको आफ्नै समस्या छ हजुर ! विद्यालय गयो भने घरमा भाइबहिनी कसले हेरिदिन्छ ! भैंसी, बाख्रा कसले हेरिदिन्छ ! आमाबाउले खेतिपाती गर्न परिहाल्यो । फेरि कहिलेकाहीँ गृहकार्य नगरी विद्यालय गयो भने शिक्षकले कुटी दिन्छन् भनेर पनि जान मान्दैनन् हजुर !
जगत् : (फेरि यता उता हेर्दै) अब पहिले जस्तो छैन । शिक्षकले विद्यार्थीलाई कुटेर तह लगाउने समय गयो अब ।
रामे : हाम्रो बाउले नी हाम्लाई स्कुलमा हाल्देका थिए नी ! एकघन्टा भन्दा पनि धेरै हिडेर जानु पथ्र्यो, बर्खामासमा त झन् खोला तरेर जान कति साह्रो गाह्रो हुन्थ्यो । एक दुई वर्ष गइयो । बाउ मरे, आमाले हामीलाई पाल्न सकिनन् । अर्कैसँग गइन् । अर्को बाउले हामीलाई देखि सहेन । अनि हामी भागेर यता आको । (गणेश, रामे र धनेलाई अझै गहिरिएर हेर्छन् र बिस्तारै आँसु पुछ्दछन् ।)
जगत् : हरे विचरा ! दाजुभाइ पो हो तिमीहरु ! के गर्नु ! हाम्रो देशको भौगोलिक अवस्था नै यस्तै छ । जसले गर्दा बालबालिकाहरु सहज रुपमा विद्यालय जान पनि पाउँदैनन् । अनेक जोखिम उठाउनुपर्छ । हार नमान्नेहरु जसरी पनि पढ्छन् । हार मान्नेहरु यसरी भागेर हिंडछन् । कुसंगतमा परेर सानैदेखि कुलतमा लाग्छन् अनि भविष्य अन्धकार बनाउँछन् । राज्यले अझै बढी स्रोत साधन लगाएर बालबालिकाको भविष्य उज्यालो बनाओस्, यही कामना छ, अरु के भन्नु !
हरि : (जगतको नजिक मुख लगेर) सर ! तपाईंको पछाडि बस्ने मान्छे रुँदै हुनुहुन्छ ।
जगत् : (पछाडि हेर्दै) के भयो तपाईंलाई ? सन्चो छैन कि !
गणेश : (झन् रुँदै) सन्चै छु, केही भा’को छैन मलाई । (सुँक्क सुँक्क गर्छन् ।)
जगत् : अनि किन रुनुभएको त ?
गणेश : (रामे र धनेलाई देखाउँदै) यिनीहरुलाई देखेर …
जगत् : (छक्क पर्दै) यिनीहरुलाई देखेर किन ? (रामे र धने पनि गणेशलाई छक्क परेर हेर्छन् ।)
गणेश : (आँसु पुछ्दै) मेरा पनि दुई छोरी पछि दुई छोरा जन्मिएका थिए । एउटा सानैमा बित्यो, अर्को दस वर्ष भो घर छोडेर भागेको ! कहाँ छ ! कुन अवस्थामा छ ! छँदै छैन कि ! केही थाहा छैन । (फेरि रुन्छन्)
जगत् : के भन्नु खै ! बच्चाहरु केही नबुझी यत्तिकै घर छोडेर हिँडिदिन्छन् । आमा बाउलाई कति पीर पर्छ होला, कति रुन्छन् होला भनेर सोच्दैनन् । (रामे र धने पनि रुन थाल्छन् ।)
विवेक : तिमीहरु चाहिँ किन रोएका नी फेरि ?
रामे : बाउ नभएर नी, आमाले त माया गर्थिन् । हामी भागेपछि कति रोइन् होला ! अहिले पो नरमाइलो लाग्यो ।
गणेश : (अलि संयमित भएर) मेरो छोरो भाग्दा ( रामेलाई देखाउँदै) यही बाबुको उमेर हुँदो हो । दस वर्षमा ऊ त ठूलो भइसक्यो होला, हामीले भने उसको त्यही उमेर सम्झी रहेछौं । बूढी हरेक दिन बाटो हेर्छे, रुन्छे । छोरीहरु बिहे भएर गइहाले, बुढाबुढी बस्यो, त्यही छोरो सम्झ्यो, रोयो । (वसन्त आएर उनीहरुभन्दा केही पर बस्छन् र मोबाइल खेलाउन थाल्छन् ।)
जगत् : (गणेशको नजिक सरेर) एउटा कुरा भनुँ ?
गणेश : हुन्छ, भन्नु होस् न !
जगत् : (रामे र धनेलाई देखाउँदै) तपाईंका छोरा छैनन्, यिनीहरुका अभिभावक छैनन् । यिनीहरुलाई छोरा मान्न सक्नुहुन्छ ? उनीहरुलाई अहिले तपाईंको सहारा, पछि तपाईंहरुलाई उनीहरु सहारा हुनेछन् । कस्तो लाग्यो मेरो कुरा !
गणेश : (उत्सुक भएर) हँ ! यिनीहरु मान्लान् ? अरुका छोरालाई यसरी छोरा बनाउन मिल्छ र !
जगत् : मिल्छ नी ! अहिले आफूसँग राख्दै गर्नाेस्, पछि कानुनी रुपमा छोरा बनाउनुहोस् । म एउटा शिक्षक हुँ । राम्रो कामको लागि साक्षी बस्न परे म बस्छु ।
गणेश : (उठेर रामे र धनेको हात समाउँदै) बाबु हो ! मसँग जान्छौ ? मेरो छोरा हुन्छौ ? तिमीहरुलाई लिएर जाँदा मेरी बुढी कति खुशी हुन्छे होला ! (रामे र धने रुँदै स्वीकृतिमा टाउको हल्लाउँछन् । गणेश दुवैलाई अँगालो हाल्छन् ।)
जगत् : (लामो सास फेरेर) आज म अति खुशी छु, जिन्दगीमा यति मीठो आत्मसन्तुष्टि कहिल्यै मिलेको थिएन ।
केही व्यक्तिहरु : (आउँदै) माफ गर्नुहोला सर, हामीले गर्दा तपाईंलाई पनि ढिलो भयो है !
जगत् : केही छैन । जाउँ अब, हरि, विवेक ! ल हिंड । (हिंड्न लाग्छन् ।)
(वसन्तको मोबाइलको घन्टी बज्छ, घन्टीको रिङ्टोन अनौठो लागेर सबैले हेर्छन् । वसन्त फूर्तिसाथ फोन उठाउँछ र धाक देखाउन मोबाइल स्पिकरमा राख्छ ।)
वसन्त : हेलो !
आवाज : (आत्तिंदै) दाइ ! तपाईं जान मिलेन, छिटो घर आउनोस् । आइ हाल्नोस् अहिल्यै ।
वसन्त : किन ? के भो र ? मलाई त जसरी पनि जानै पर्छ, नगइ हुँदैन आज ! (आत्तिएको आवाज सुनेर जगत्सहित सबै रोकिन्छन् ।)
आवाज : कस्तो मान्छे ! आउनु भनेपछि आउनु न ! काम गर्ने केटोलाई बुबाले छतनेर पाइप कि के बनाउन लगाउनु भाथ्यो, त्यहाँबाट लडेर बेस्सरी घाइते भाको छ, हस्पिटल लगेको छ । कसले पुलिसलाई खबर गरि दिएछ, पुलिस आको छ घरमा ! (रुँदै) बुबालाई लान्छ रे ! आमा पनि रुँदै हुनुहुन्छ, छिटो आउनोस् ।
वसन्त : (फोन काट्दै, रिसाएर) त्यो बूढोलाई भनेको थिएँ मैले ! उमेर नपुगेको मान्छेलाई काम लगाउन हुँदैन, झन् जोखिमपूर्ण काम लगाउन त हुदै हँुदैन भनेर ! ( हिड्दै, भुत्भुताउँदै) न आफू जान्ने, न भनेको मान्ने ! के गर्नु ! बुढा अब सड्ने भए जेलमा ! (हुत्तिएर बाहिरिन्छ)
(जगत, हरि, विवेक, गणेश, रामे र धने पनि ऊ गएको हेर्दै बिस्तारै बाहिरिन्छन् ।)
पर्दा बन्द हुन्छ ।
पात्र परिचय :
१) जगत्बहादुर (शिक्षक)
२) हरि थापा मगर (कक्षा १० को विद्यार्थी)
३) विवेक नेपाली (कक्षा ८ को विद्यार्थी)
४) तिला खत्री (३५/३६ वर्षकी दुध बिक्री गर्ने महिला)
५) रामे र धने (सडक बालक)
६) उमाशंकर शाह (ठेला गाडामा तरकारी बिक्री गर्ने व्यक्ति)
७) सन्तोष (१४/१५ वर्षको पत्रिका बेच्ने केटो)
८) गणेश (अन्दाजी ५० वर्षका व्यक्ति)
९) वसन्त (२२/२४ वर्षका व्यक्ति)
११) अन्य केही व्यक्तिहरु ।