सागरमा झैं
सगरमाथाको मेरो देशमा अचेल
थुप्रै अक्टोपसहरू मौलाएका छन्
जो प्राय: रातमा सिकार गर्छन्
जो रङ्ग बदल्छन्
रूप र आकार पनि बदल्छन्
र, मेरो समाजलाई छल्छन् ।
अक्टोपसहरू
कतै पहराबाट लहरा झरेजस्तो
कतै वनजङ्गलबाट
दाउरा र घाँसको भारी बोकेजस्तो
कतै भयानक ख्याकजस्तो
कतै डिस्टिलरीको चिम्नीजस्तो
कतै बोतलजस्तो
कतै रक्सीले मात्तिएको मान्छेजस्तो
कतै लटे जोगीजस्तो
कतै हिउँको ढिस्कनुजस्तो
कतै माथि चढ्ने भर्याङजस्तो
अक्टोपसहरू
विशुद्ध बहुरूपी नेताजस्तो ।
अक्टोपसहरू
गङ्गा गए गङ्गादास
जमुना गए जमुनादास
नाम बदल्छन्
कतै लालसलाम
कतै जयनेपाल
रङ्ग बदल्छन्
मजदुरकहाँ मजदुर बन्छन्
मालिककहाँ मालिक
साँच्चै उनीहरू
रूप बदल्छन्
आकार बदल्छन्
विचार पनि बदल्छन् ।
अक्टोपसहरू
बोली बदल्छन्
भाषा–भेष बदल्छन्
नारा बदल्छन्
घर–सहर
स्वास्नी–छोराछोरी
अक्टोपसहरू
सारा बदल्छन् ।
अक्टोपसहरू
जे बोल्छन्
त्यो गर्दैनन्
जे गर्छन्
त्यो बोल्दैनन्
उल्टो बोल्छन्
सुल्टो गर्छन्
सुल्टो बोल्छन्
उल्टो गर्छन्
अक्टोपसहरू
जे–जे नगर्नु पर्ने
त्यही–त्यहीमात्र गर्दैनन्
र, मेरो समाजलाई छल्छन् ।
अक्टोपसहरू
कहिले हुँदो गर्छन्
धेरैजसो त नहुँदो नै गर्छन्
कहिलेकहिलेको कामले
उनीहरू
मेरो समाजलाई सधैं–सधैं छल्छन् ।
अक्टोपसका वैज्ञानिकहरू
अक्टोपसको अध्ययनमा व्यस्त छन्
अनुसन्धानमा मस्त छन्
अक्टोपसहरू
यति महान् (?) छन् कि
वैज्ञानिकहरूले अझै तिनलाई
समग्रमा बुझ्नसकेका छैनन्
न रूप यकिन हुन्छ
न रङ्ग यकिन हुन्छ
न ढङ्गढाँचा यकिन हुन्छ
एकथोक यकिन हुन्छ
अर्कै रूपरङ्गमा प्रस्तुत हुन्छन् ।
अक्टोपसहरू
यस्ता चरित्रका हुन्छन् भन्यो
अर्कै चरित्रका देखापर्छन्
एरिस्टोटलदेखि माक्र्स–एङ्गेल्ससम्म
अब्राहम लिङ्कनदेखि माओत्सेतुङसम्म
ग्रीकदेखि कलबलगुडीसम्म
अक्टोपसका वैज्ञानिकहरू
अब त पार लाग्छ भन्ठान्छन्
र, हरेक पटक
हार खाएर खुम्चिन वाध्य हुन्छन् ।
न्याय हरायो
गोर्खा जाऊँ
अक्टोपसका लहराले छेक्छन्
अड्डा–अदालतका शीर्षस्थानमा
हरेक सरकारी ओहदामा
दौड लगाऊँ
अक्टोपसका चोर आँखाले देख्छन्
हिजो एउटा मान्छे हरायो
आज अर्को मान्छे हरायो
हराउने क्रम जारी छ
मानवता क्षितिजपारि छ
हराउँदा–हराउँदा
गोदाम हराए
फेक्ट्री हराए
कलकारखाना
पुलपुलेसा हराए
गाउँबस्तीहरू
सभ्यताहरू हराए
अक्टोपसको भूँडीसित जोडिएको
चिम्नीबाट अनवरत धुवाँ निक्लिरहेछ
सायद त्यतै फेक्ट्री सरे कि
हराएका न्याय–मानव–मानवता
त्यतै पो परे कि
यही आशङ्कामा
सर्च अभियान भने जारी छ ।
अक्टोपसहरू
रातरातभर सिकार गर्छन्
दिनदिनभर सहायता बाँड्छन्
अक्टोपसहरू
रातमा आगो झोसेर बस्तीमा
दिनमा राहत वितरण गरेर
सहानुभूति सोहर्न खोज्छन्
अक्टोपसहरू
सङ्लो पानी धमिल्याएर
माछा मार्न खोज्छन् ।
अक्टोपसहरू
जुलुस निकाल्छन्
आमसभा र गोष्ठीमा
मौनधारण गर्छन्
सहीदका नाममा
रातमा सहीद बनाउँछन्
दिनमा सम्मान जताउँछन्
अक्टोपसहरू
यो पनि गर्छन्
त्यो पनि गर्छन्
जे पनि गर्छन््
सबथोक गर्छन् ।
अक्टोपसहरू
हितोपदेशका ब्याघ्रजस्ता हुन्छन्
अक्टोपसहरू
डाक्टर जेकेल एन्ड मिन्टर हाइडजस्ता हुन्छन्
अक्टोपसहरू
सकुनी, कंश
र रावणजस्ता हुन्छन्
अक्टोपसहरू
होमरका ज्यूस र सिसिफसजस्ता हुन्छन् ।
अक्टोपसहरू
साहित्यिक माफियाझैं
ब्रिफकेसमा महङ्गा किताब बोकेर हिँड्छन्
टाई–सुट–बुटमा ठाँटिएर हिँड्छन्
प्लेनमा उड्छन्
पजेरोमा गुड्छन्
रेस्टँुरामा रात बिताउँछन्
अक्टोपसहरू
कहिले ब्रिफकेससमा महङ्गा किताबका सट्टा
महङ्गा नोटका बिटा बोकेर हिँड्छन्
कहिले आफ्नै पनि बोक्छन्
कहिले पराइका बोक्छन् ।
अक्टोपसहरू
देश–देशान्तर घुम्छन्
आफूमात्र घुम्दैनन्
देशका पुराना मूर्तिलाई घुमाउँछन्
हात्तीका दाँत
र,
गैंडाका सिङ्लाई पनि घुमाउँछन्
मृग र बाघका छालालाई पनि घुमाउँछन्
कस्तुरीका बिना
रङ्गीबिरङ्गी सुनगाभा
र, जडीबुटीलाई पनि घुमाउँछन्
मायाप्रीतिका नाटक रचेर
चेलीबेटीलाई पनि घुमाउँछन् ।
अक्टोपसहरू
विकृति–विसङ्गतिका संवाहक हुन्
संहार पनि हुन्
तिनीहरू मलाई रूच्दैनन्
तिनीहरू मलाई जँच्दैनन्
तिनीहरू मलाई पच्दैनन्
फेरि पनि
तिनीहरू लामालामा
हातगोडाहरू फैलाएर
मेरै वरिपरि
मेरै हाताभित्र
मेरै हितैषीझैं बनेर
मेरा प्रियपात्रझैं
जतिखेर पनि टुक्रिइरहेका हुन्छन् ।
अक्टोपसहरू
फालूँ भन्छु
फालिन्नन्
लिसोझैं टाँस्सिएपछि
चबाएर फालेको
चुइङ्गम टाँस्सिएझैं
छुटाउनै सकिन्नन् ।
अक्टोपसहरू
नभई पनि नहुनेजस्तो
हुनु पनि खतराजस्तो
अक्टोपसहरू
कस्तो–कस्तो
साँच्चैको अक्टोपसजस्तो ।
अक्टोपसहरू
अक्टोपसझैं
अनन्त अण्डा पारेर
अक्टोपसहरू जन्माउँछन्
पाखण्डको अण्डा
वितण्डाको अण्डा
सर्वनाशको हाइँ रचेर
विध्वंसको अण्डा
कामचोरीको
र, घुसखोरीको अण्डा
सत्ताउन्माद
र, चाकरीचुक्लीको अण्डा
यस्तै–यस्तै
अनन्त अण्डा ओथरेर
अक्टोपसहरू
अक्टोपसले झैं
अक्टोपसहरू जन्माउँछन
र, मेरो समाजलाई छल्छन् ।
अक्टोपसहरू
पर्खाल उभ्याउँछन्
पर्खाल ढलाउँछन्
गे्रटवाल होस् कि बर्लिन वाल
उभ्याउँदा पनि हर्षित हुन्छन्
ढलाउँदा पनि हर्षित हुन्छन् ।
अक्टोपसहरू
पर्खाल उभ्याएर
पर्खाल अझ अग्ल्याएर
विचार थुन्न खोज्छन्
पर्खाल ढलाएर
पर्खालको जग उधिनेर
विचार मार्न खोज्छन्
तिनलाई के थाहा ?
विचार
न पर्खाल उभ्याउँदैमा
गाईभैंसीझैं
टक्रक्क अडिइहाल्छ
न पर्खाल ढलाउँदैमा
बाँधको पानीझैं
सलल्ल बगेर गइहाल्छ ।
अक्टोपसहरू
जिते विजेता
हारे उपविजेता
आए आँप गए झटारो
चुनाउ सधैं फलिफाप हुन्छ –
अक्टोपसहरू !
त्यसैलाई
अक्टोपसहरू
उत्सव ठान्छन् ।
अक्टोपसहरू
जन्मे शुभकामना
मरे समवेदना
कहाँ सुख छ र
अक्टोपसहरूलाई ?
अक्टोपसहरू
त्यसैलाई
काम र दु:ख भन्छन् ।
अक्टोपसहरू
किचेन मास्टरका लागि
अति हलुका हुन्छन्
तिनीहरू जे पनि खान्छन्
दालभात–तरकारीमात्र होइन
सिमेन्टका सयौं बोरा खाइदिन्छन्
पुलपुलेसा खाइदिन्छन्
हेलिकोप्टर–बोइङ–जेट निलिदिन्छन्
रोडा–ढुङ्गा–अलकत्रा बुत्याइदिन्छन्
सुत्केरी औषधी
वनबुट्यान खाइदिन्छन्
यो कुरा खानुहुन्न भनी
अक्टोपसको धर्मशास्त्रमा लेखेको छैन
नीतिशास्त्रमा लेखेको छैन
त्यसैले तिनीहरू
अरूका कुरा खानुबाहेक
अरू सबथोक खाइदिन्छन् ।
अक्टोपसहरू
घुम्ने कुर्सी हुन्
किनभने
तिनीहरू जता पनि घुम्छन्
अक्टोपसहरू
घुम्ने कुर्सीमा बस्ने मान्छेहरू हुन्
किनभने
तिनीहरू घुम्ने कुर्सीझैं
जता पनि घुम्छन्
जता पनि झुक्छन् ।
अक्टोपसहरू
मुभ गर्छन्
मोबाइल बोक्छन्
र मोबाइल हुन्छन् ।
अक्टोपसहरू
काम कम
र, कुरा ज्यादा गर्छन्
खाने काममा भने
तिनीहरू सधैंसधैं अगाडि नै हुन्छन् ।
अक्टोपसहरू
बस्तीबस्ती घुसेका छन्
गाउँगाउँ डुलेका छन्
घरघरमा पुगेका छन्
उकालीओरालीमा
पात बजाउँदै
मादल र खैंजरी बजाउँदै
सारङ्गी र गितारका तार रेट्दै
तिनले गीत गाएका छन्
मीत लाएका छन्
जीत पाएका छन्
तर
मादरीको सर्पझैं
बीनको धुनमा
लठ्ठ नपर है
अक्टोपसहरू आखिर अक्टोपस नै हुन् ।
अक्टोपसहरूमा
पहाड फोर्ने सामथ्र्य छ
पुल खडा गर्ने सामथ्र्य छ
बडाबडा नहर बनाउने सामथ्र्य छ
अन्तरिक्षमा ओहोर–दोहोर गर्ने
र
स्वयम् कम्प्युटर हुने सीप छ
तर तिनले केही गरेका छैनन्
सायद तिनलाई
त्यस्तो केही नगर्ने ह्वीप छ ।
अक्टोपसहरू
टाउकामा ग्लोब बोक्छन्
भुँडीमा एक अर्को ग्लोब खोज्छन्
गोडामा एक अर्को ग्लोब रच्छन्
अक्टोपसहरू
पैतालामा चक्का
जिउमा पखेंटा
निधारमा कम्प्युटरको मनिटर
छातिमा कम्प्युटरको सी.पी.यू.
र, हातमा की बोर्ड जड्न खोज्छन्
अगलबगलमा औजारहरू
पिठ्यूँमा
रसपानी र बमगोलाहरू बोक्न खोज्छन्
साँच्चै नै अक्टोपसहरू
दुनियाँमा
अचम्मका प्राणी बन्न खोज्छन् ।
अक्टोपसहरू
रगतचुस्ने पिसाच ड्राकुलाजस्ता हुन्छन्
कहिले टु इन टावरमा हमला बोल्छन्
कहिले नारायणहिटी र सिंहदरबारमा
र, कहिले प्यालिस्टाइनीमाथि
हमला बोल्छन्
अक्टोपसहरू
सगरमाथा र माछापुच्छ«ेको मेरो आँगन
बराहले झैं उधिन्छन्
छिन्नभिन्न पार्छन् – यहाँका संरचनाहरू
निर्माणका दुस्मनझैं
बडाबडा कलकारखाना
पावर हाउस र पुलपुलेसा
विस्फोट गराउँछन्
रूवाबासी मच्चाउँछन् देशभरि
मानवताका दुस्मनझैं
आचमनी गर्दै रगत र आँसुको
मेरो बाआमा, दिदीबहिनी र दाजुभाइका
टाउकाहरू फुटाएर
तिनको तात्तातो गिदीले
ब्रेकफास्ट गर्छन्
मुटु र कलेजाको भुटुवा बनाएर
साँप्राको सेकुवा बनाएर
अक्टोपसहरू
हरेक साँझ डिनरमा स्न्याक्स लिन्छन् ।
अक्टोपसहरू
इमान्दार हुन्छन्/हुँदैनन्
तिनको शब्दकोशमा
असम्भव शब्द नभएजस्तै
इमान्दार शब्द पनि हुँदैन
किनकि, अक्टोपसहरू
साँच्चिकै इमान्दार हुँदैनन् ।
अक्टोपसहरू
कुनै न कुनै राष्ट्रमा हुन्छन्
तर,
तिनको कुनै राष्ट्र हुँदैन
किनभने
तिनीहरू राष्ट्रवादी हुँदैनन् ।
अक्टोपसहरू
गीत–सङ्गीत सुन्छन्
तर,
तिनीहरू कवि–कलाकारलाई
देखिसहन्नन्
किनभने
तिनीहरू यथार्थ पचाउन सक्दैनन्
साँचो–साँचो रुचाउन सक्दैनन् ।
अक्टोपसहरू
चमेरे–नीतिका हुन्छन्
छेपारे–नीतिका हुन्छन्
अक्टोपसहरू
अक्टोपस–नीतिका हुन्छन् ।
अक्टोपसहरू
धर्म मान्दैनन्
धर्म–अर्धम जान्दैनन्
रीतिरिवाज–परम्परा भन्दैनन्
तर
अक्टोपसहरू
मन्दिर भत्काएर
मस्जिद खडा गराउँछन्
मस्जिद तोडाएर
मन्दिर उभ्याउँछन्
चर्चा ढलाएर
मन्दिर–मस्जिद ठड्याउँछन्
सहअस्तित्वमा मिली बसेका
हिन्दू–मुस्लिम–इसाइबीच
काटाकाट–मारामार गराउँछन्
भारत–पाकिस्तान बनाउँछन्
प्यालिष्टाइन–इजरायल बनाउँछन्
आफूचाहिँ छेऊमा उभिएर तमासा हेर्छन्
थाहा छैन
अक्टोपसहरू
धर्म मान्छन्
कि अधर्म मान्छन् ।
अक्टोपसहरू
स्टारफिस–कटलफिस
र, ठूला–ठूला कछुवालाई निल्छन्
ह्वेललाई लछार्छन्
सार्कलाई पनि पछार्छन्
सके सोझै –
नसके छल गरेर पछार्छन्
अरूको त के कुरा
अक्टोपसहरू
आफ्नै जाति–प्रजाति पनि डकार्छन ।
अक्टोपसहरू
बेमौसमको राग अलाप्छन्
महायुद्धको बेला
हातहतियार लुकाएर
स्वस्तिवाचन गर्छन्
कलश–यात्रा गर्छन्
र, शान्तिको बेलामा
लाठामुङ्ग्रा उठाएर
साम्प्रदायिक दङ्गा भड्काउँछन्
अक्टोपसहरू
सिकारू सिभिल इन्जिनियरझैं
खोलो एकातिर पुल अर्कोतिर बनाउँछन् ।
अक्टोपसहरू
धर्मका नाममा
यज्ञ–महायज्ञ लगाउँछन्
अरूको अन्नपानी जलाउँछन्
तस्कर र व्यापारीले भन्दा
बढी–बढी कमाउँछन्
अक्टोपसहरू
वसुधैव कुटुम्बकम् भन्छन्
र, कसैलाई
एक्काईसौं शताब्दीमा पनि
छि:छि: र दूरदूर गर्छन्
तिनको पानी चलाउँदैनन्
तर
तिनको धन चलाउँछन्
तिनको तन चलाउँछन्
र तिनको मन जलाउँछन् ।
अक्टोेपसहरू
सेकुवा र सुरूवा खाँदै
अहिंसाको
व्याख्यान दिन्छन् ।
अक्टोपसहरू
आफ्ना चरित्रबाट
दुनियाँलाई दुस्मन बनाइरहन्छन्
भुलाउन सके मित्र बनाइरहन्छन् ।
अक्टोपसहरू
माइनस
र प्लस
क्रम जारी छ
जोड–घटाउको उत्तर
एकदिन
अवश्य आउने छ ।
अक्टोपसहरू
सत्ता–उन्माद हुन्
निमय कानुन नलाग्ने
छोडुवा साँढे हुन्
खेलाई–खेलाई सिकार मार्ने
विरालोका ढाडे हुन् ।
अक्टोपसहरू
अगस्तिले झैं
नदीनाला सक्छन्
कोशी–गण्डकी–कर्णाली
त्यतिमात्र होइन
आफ्ना लामालामा हातहरूले
हिमालको हिउँ पनि सोस्छन्
बालबालिका, महिला र अशक्तहरूका
सम्पूर्ण हकअधिकार खोस्छन्
अक्टोपसहरू कहिले भाइ मारेर
कहिले गाई मारेर
सधैंसधैं विदेशी गधाहरूलाई पोस्छन् ।
अक्टोपसहरू
हाँडीघोप्टे हुन्छन्
म खाउँ मै लाउँ गर्छन्
यो पनि मेरो
त्यो पनि मेरो
आफैं मपाइँ हुन्छन्
धर्ती सबको हो
हक–अधिकार सबको हो
मिलेर खाऊँ – मिलेर जाऊँका
जन्मजात दुस्मनझैं
अक्टोपसहरू
सर्वसत्तावादी हुन्छन् ।
अक्टोपसहरू
अफिस–अफिस धाउँछन्
हाजिर गर्छन्–टाप कस्छन्
अक्टोपसहरू हाटा गर्छन्
नियम भनेको अरूलाई हो
कानुन भनेको अरूलाई हो
अनुशासन भनेको अरूलाई पो हो
अक्टोपसहरू तिनलाई टाटा गर्छन् ।
केही अक्टोपसहरू
सिकारको आभासले
चितुवाले वन ढुकेझैं
दिनभर अफिस ढुक्छन्
काम लिएर कोही आयो
पहिले दाम खोज्छन्
दाम पायो काम भो
दाम पाएन काम भएन
यो मिलेन त्यो मिलेन
भोलि आऊ–पर्सि आऊ
जहिले आए पनि लिएरै आऊ
नत्र काम हुने कुरै भएन
अक्टोपसहरू
त्यसैले मात्र अफिस ढुक्छन् ।
अक्टोपसहरू
टाइरेसस हुन्
जसका भविष्यवाणीले गर्दा
आज हरेकले
जोकास्ठा हुनुपरेको छ
इडिपस–पीडा भोग्नुपरेको छ
एउटा भयानक त्रासदी भोग्नुपरेको छ ।
अक्टोपसहरू
विचारक हुन्छन्
अविचारक हुन्छन्
असत्यका मसिहा हुन्छन्
क्रान्तिका संहारक हुन्छन्
अक्टोपसहरू
प्रतिगामी हुन्छन् ।
अक्टोपसहरू
पूरा अवसर पाए
हिंस्रक बाघ हुन्छन्
केही अवसर पाए
छट्टु स्याल हुन्छन्
कुनै अवसर पाए
हरियो मुलायम साग हुन्छन् ।
अक्टोपसहरू
केही साथ दिन्छन्
धेरै साथ लिन्छन्
तर
आफ्नो काम पूरा भएपछि
मरेको सिनोलाई
उपियाँले छोडेझैं
चटक्क छाड्छन् ।
अक्टोपसहरू
जताततै जाल थाप्छन्
अरूलाई फसाउन
बडाबडा खाल्डा खन्छन्
यो अलग प्रसङ्ग हो कि
त्यस्ता जाल र खाल्डामा
कहिलेकाहीँ
उनीहरू आफैं पनि पर्छन् ।
अक्टोपसहरू
दङ्गाप्रहरीले झैं
आत्मसुरक्षाका उपकरणहरू लिएर हिँड्छन्
विपक्षीका आक्रमणबाट बच्न
दङ्गाप्रहरीले अश्रुग्याँसका गोला फ्याँकेझैं
कालोकालो ग्याँस फ्याँक्छन्
यो अलग प्रसङ्ग हो कि
कहिलेकाहीँ
त्यस भुमरीमा आफैं पनि पर्छन् ।
अक्टोपसहरू
आत्मरक्षाका लागि
भूमिगत हुन्छन्
शक्तिसञ्चयपश्चात
फेरि रडाको मच्चाउने गर्छन्
तिनको हड्डी हुँदैन
तिनको आस्था हुँदैन
त्यसैले सानो प्वाल
र, साँघुरो सुरूङ्बाट पनि
अक्टोपसहरू
सजिलै निक्लने गर्छन् ।
अक्टोपसहरू
खेल खेल्छन्
रमाइलो गरी खेल्छन्
खुट्टो तानातान
तारो हानाहान
अक्टोपसहरू
खुब खेल्छन्
छिर्की हान्ने खेल खेल्छन् ।
केही अक्टोपसहरू
समयसमयमा
अक्वारियममा पुग्छन्
राजीखुशीले पुग्छन्
जो पुग्न सक्दैनन्
तिनीहरू
बाहिरबाट
अक्वारियम तोड्न खोज्छन्
तोड्न खोज्छन् –
अक्टोपस – एकतालाई
अक्वारियममा परे पनि
छोडुवा साँढेझैं
अक्टोपसहरू
अझ बढी स्वतन्त्र हुन्छन्
अझ बढी सुविधाभोगी हुन्छन् ।
अक्टोपसहरू
सधैं भाषण गर्छन् –
अक्टोपस भनेको अक्टोपस हो
यसभन्दा पर
केही छैन
कोही छैन
त्यसैले अक्टोपसवादको विकास गरौं
न कोही ठूलो
न कोही सानो
समानताको विकास गरौं
तर
अक्टोपसहरू
कहिल्यै समान हुन सकेनन्
त्यसैले त
अक्टोपसहरू
भाषणमा बाहेक
कहिल्यै महान हुन सकेनन् ।
अक्टोपसहरू
व्यापार गर्छन्
रातारात
अपार आर्जन गर्छन्
उचन्ती खाता राख्छन्
कर छल्छन्
व्यापार छैन भन्छन्
लोकल्याणकारी
दानदातव्य छल्छन्
एक वर्ष अगाडिको
झुत्रेझाम्रे
झुप्रोवासी अक्टोपस
एक वर्षपछाडि
सुटेड–बुटेड
महलवासी बन्छन्
अक्टोपसहरू
व्यापार गर्छन
सधैं मुनाफा गर्छन्
र सधैं घाटा लाग्यो भन्छन् ।
अक्टोपसहरू
विकृति हुन्
विसङ्गति हुन्
अक्टोपसहरू
अस्वीकृत र
विसंस्कृति हुन्
अक्टोपसहरू
संरचनाका दुस्मन
विसंरचना हुन् ।
अक्टोपसहरू
रात रूचाउँछन्
पक्षपात रूचाउँछन्
तमसोमा ज्योर्तिगमयका दुस्मन
अक्टोपसहरू
जातभात र जातिवाद रूचाउँछन् ।
अक्टोपसहरू
राणा रूचाउँछन्
जार रूचाउँछन्
अक्टोपसहरू
निर्माण होइन
संहार रूचाउँछन् ।
अक्टोपसहरू
मानवताका हिमायती
प्रमिथसहरूलाई
यातना दिन्छन्
वासुदेवलाई कारागार
र, रामलाई वनवास पठाउँछन् ।
अक्टोपसहरू
युनिभर्सल हुन्छन्
तर
नन–युनिफर्म हुन्छन् ।
अक्टोपसहरू
अनादिकालदेखि पलपल छन्
र, अनेका क्रियाकलापले
मेरा समाजलाई
हरपल छल्ने गर्छन् ।
अक्टोपसहरू भन्ने गर्छन्
लिङ्गभेद मान्दैनौं
तर
पहिलो बेतपछि
नारीको जोवन सकिन्छ
पोथी अक्टोपसको त
जीवन नै सकिन्छ
आफ्ना सहस्र सन्तानका खातिर
पोथी अक्टोपस बलिदान हुन्छ
र, अक्टोपसहरू भन्छन् –
हामी लिङ्गभेद मान्दैनौं
लिङ्गभेद जान्दैनौं ।
अक्टोपसहरू
धृतराष्ट्रझैं अन्धा हुन्छन्
र, गान्धारीहरूझैं
आँखा हुँदाहुँदै पनि
आँखामा ज्योति हुँदाहुँदै पनि
पट्टी बाँधेर
अन्धा बन्छन् ।
अक्टोपसहरू
अचेल
दिन गन्न थालेका छन्
परिवर्तन चाहिन्छ भन्न थालेका छन्
किनभने
एन्टी–अक्टोपसहरू
अक्टोपसका एन्टी भएका छन
ककेसस पर्वतमा उभिएर
पेन्डुराज बक्स खोल्ने भएका छन्
सबै पेण्डुरा भएका छन्
भगीरथ प्रयत्नबाट अब
भगीरथ बगाउने भएका छन् –
न्याय–स्वतन्त्रता र समानताको
गीत गाउने–मीत लाउने भएका छन्
सह अस्तित्व र मानवताको
सम्पूर्ण एन्टी अवशेषहरू
अब
अक्टोपसविरूद्ध
एक हुने भएका छन् ।
अक्टोपसहरू
नभए हुन्थ्यो
तर अफसोस
अक्टोपसहरू
डायनासोरझैं
धर्तीबाट
निमिट्यान्न हुने अवस्थामा भने छैनन् ।