‘नविनजी ? नमस्कार, नमस्कार ।’
म सडकको पेटीमा रोकिएर झस्किएँ ।
‘मलाई चिन्नुभएन कि क्या हो ? कविता क्या अम्बोटेकी कविता ।’ उसले मलाई चिनाउने प्रयास गरी ।
उसलाई म कहाँ नचिन्थेँ र ? उसलाई भेट्ने बित्तिकै म नबोली हिँड्न सक्ने अवस्थामा थिइन । म नबोली हिँड्दा मेरो मात्र मन कहाँ मान्थ्यो र ? उसको पनि मन पूरैपूरै खिन्न हुन्थ्यो ।
‘ए, ए, किन नचिन्नु । अचेल कहाँ छ्यौ ? कहाँ के गर्दै छ्यौ ? धेरै भयो भेट नभएको ।’ मैले उसलाई हेरेर एकैचोटि धेरैओटो प्रश्न तेर्साएँ । सायद ती मेरा प्रश्नहरु केही त उसले सम्झी होला ? ऊ अहिले सुन्दर र आकर्षक देखिएकी थिई । पहिले भेट हुँदा त कहाँ यस्ति खाइलाग्दी देखिन्थी र ! सधैँ खानेबेलामा बाहिर निकालेर घरका अरुले मात्र खाएजस्ती देखिन्थी । तर आज उसको शरीर पूरै कसिएको थियो । म के सोच्दै थिएँ क्यार, ऊ झट्ट बोली, ‘के सोचेको नविन ? ऊ क्या, तारा मामाकी छोरी अम्बोटेकी ।’
हामी यता बसाइँ सरेर आएको पनि दश वर्ष भइसकेछ । त्यो पनि मावली गाउँमा । ‘मावली गाउँका मान्छेले त भन्थे – बसाइँ सर्ने मान्छे त तराईतिर पो सर्थे त, के पहाडको पहाड बसाइँ सरेका ?’
उनीहरुलाई उत्तर त के गरी दिन सकिन्थ्यो र ! तर आफ्नो आर्थिक अवस्थाले जहाँ भ्याउँछ त्यहीँ बसाइँ सर्ने हो । हो, त्यही भएर हामी मावली गाउँमा बसाइँ सरेका थियौ । मावली गाउँतिरका जोसुकै मामाका सखीहरु मलाई भानिज भन्थे । त्यही भएर पनि आज कविताले अम्बोटे मामाकी छोरी भनेकी हुनपर्छ ।
हामी देउराली स्कुल पढ्थ्यौ । अघिपछिको समयमा विद्यालय दिउँसो लागे पनि चैत्र, बैशाख महिनामा बिहान लाग्थ्यो । त्यसोहुँदा हामी बिहान विद्यालय पढेर घर आउँथ्यौँ । घरमा भात खाएर दिउँसो भने बेसीँतिर जान्थ्याँै । बेसँी झर्नु आफ्नो खेतीपाती स्याहार्नु र खेतमा पानी लाउनु थियो । हाम्रो पानी लगाउने पालोसमेत दिउँसै हुँदा पूरै खेत सिंचाई गर्नुपथ्र्यो । खेतमा पानी लाएर हामी रावाखोलाको अम्बोटे दहमा पौडी खेल्ने गर्दथ्यौँ । कविता गाईबाख्रा लिएर सधैं त्यतै आउने गर्थी । ‘कविता कति गाईबाख्रामात्र चराउन आएकी कहिलेकाहीँ त पौडी खेल्न आए हुन्थ्यो नि ?’ मैले एकदिन उसलाई भनेको थिएँ ।
‘आउन त मन कसलाई हुँदैन र ? तर बाबाले देख्नु भो भने त मार्नु पो हुन्छ त ?’ ऊ लजाएर भन्थी । उसको लज्जाबोधले कति सुहाएको देखिन्थ्यो त्यतिखेर । ख्याउटेख्याउटे देखिएकी भए पनि मेरो नजरमा ऊ स्वर्गकी परी थिई ।
अर्को एकदिन अम्बोटे दहमा पौडी खेल्न जाँदा कोही साथी आएका रहेनछन् । म एक्लै भएँ । म एक्लै हुँदा त्यस दहमा पौडी खेल्न डराउँथेँ । कारण म धेरै कहाँ पौडी खेल्न जान्दथेँ र ? खेल्दा डुबिहालेँ भनँे त झिक्ने मान्छे नहुँदा मर्ने डर थियो । त्यसर्थ, साथीहरु जम्मा भएपछि मात्र हामी पौडी खेल्थ्यौँ । दह दुई बाँस गहिरो थियो । दहमा पानी निलो देखिन्थ्यो ।
ऊ खोलाको एउटा ढुङ्गामा बसेकी थिई । हातमा एउटा सिर्कानो थियो । सेतो सेतो कुर्तासुरुवाल लगाएकी उसलाई साह्रै सुहाएको थियो । म ऊ छेउकै ढुङ्गोमा अडेस लागेर उभिएँ । एकाएक उसका र मेरा आँखा जुधे । ऊ मुसुक्क मुस्कुराई । उसको मुस्कुराहटले कताकता मेरो अन्तस्करणमा काउकुती लगायो । ऊ मुस्कुराउँदा साँच्चै कति सुन्दर देखेका हुन् मेरा आँखाले ?
स्कुलबाट चैत्र मसान्तमै नववर्षको शुभकामना साटासाट गरिएकाले वैशाख एक गते बिदा भएको थियो । वैशाख एक गते हुनुपर्छ चौपट्ट गर्मी थियो । ‘खेतमा पानी लगाएर एक डोको घाँस लिएर आइज है छोरा’ भनी पिताजीले भन्नुभएको हुँदा म डोको बोकेर ओरालो झरेँ । बेसीँ खेतमा आफ्नो पालो अनुसार पानी फर्काएर खोलाको दहतिर झरेँ । त्यहाँ त साथीहरु अघि नै पौडी खेल्न थालेका रहेछन् । कतै कविता पनि आई कि भन्ने सोच्दै थिएँ । ऊ आई भने पौडी खेल्दा झनै फुर्ति पलाउँदथ्यो । उसलाई देख्न मेरा आँखा दिनै लालायित थिए । मेरो मन खै के भएर बिग्रियो बिग्रियो ? अस्ति अम्बोटे छेउको रावाखोला गड्तिरमा कवितालाई भेटेपछि मेरो मन खै किन हो ? त्यसैत्यसै बेचैन भएको छ ।
दहको अन्त्यतिर को को केटीहरु हुन् छेउछेउमा डुब्दै उत्रदै गर्दै थिए । कविता छे कि भनी मैले त्यता हेरेँ । ऊ साथीहरुको बीचमै पानीमा डुब्दै उत्रदै गर्दै थिई । म कवितालाई भेट्न भनी ऊ नजिक पुगेँ ।
‘ओ नविन कता हो ? बैनीहरुको माया लाग्यो कि के हो ? केटा पौडी खेल्ने ठाउँतिर आउन छाडेर केटीका तिर गा’को, हा… हा… हा… !’ केटाहरु हाँसे ।
‘गहिरोमा म पौडिन जान्दिन र नि खेल्न सक्ने ठाउँमा गएको है साथी हो’ म किच्च हासेँ ।
‘लै गरिखा’ देब्रे हात उठाएर हाडिखोले साइँलोले भने ।
‘लाज हुँदैन केटीहरु नुहाएको हेर्न ?’ ध्रुवा दिदीले पानी छेपेर जिस्काइन् । ‘के लाज हो दिदी ? आफ्नै गाउँका चेलीबेटी पौडी खेलेको देखेर । तिमीहरुले पनि पौडी खेल्न जानी पो सकेछौ त ?’ मैले हाँसेर भने ।
कविताले मतिर पुलुक्क हेरी र अलिकति मुस्कान फ्याँकी । मैले पनि मुस्कुराएँ । ऊ मतिर फर्केर हेरिरही । ‘के हेरेकी ए मोरी ! मन पराइस् कि के हो ?’ ध्रुवा दिदीले कवितालाई पानी छर्किइन् ।
‘दिदी पनि के भन्नुहुन्छ ?’ लजाउँदै कविताले पानीमा खेल्दा फिँजिएको कपाल दुबै हातले समालेर चुल्ठो बनाई ।
ऊ उभिँदा उसले लगाएको पूरै कुर्था र सुरुवाल जिउमा टपक्कै टाँसिएको थियो । कुर्थासुरुवाल टपक्कै टाँसिदा ऊ झनै सुन्दर देखिएकी थिई । गोरोगोरो अनुहार, सपक्क बाँधेको कपालको चुल्ठो, हिस्सी परेको अनुहार घामको चमकमा चन्द्रमाझैँ उज्ज्वल देखिन्थ्यो । मैले उसलाई हेर्दा हेर्दै उसले मतिर हेरेर अरुले नदेख्न गरी दाहिने हातले चुम्मा गरी र पानीमा डुबी ।
म एस.एल.सी. पास भएपछि आई. ए. पढ्न काठमाडौँ हानिएँ । विश्वविद्यालय अध्ययन गर्दागर्दै म जागिरमा भर्ना भएँ ।
दुईवर्षपछि छुट्टीको समयमा घर जाँदा जेठको दिन पो परेछ । जेठमा बेसीँतिर हपहप गर्मी थियो । पहाड भन्नु मात्र हो । पहाडका खोला, नदीका किनारतिर तराई जत्तिकै खपिनसक्नु गर्मी हुन्छ । बेसीँ खेतमा हिउँदे धान कस्तो भएछ हेरौँ र पानी लगाउँ भनी म टारी खेतमा झरेको थिएँ । जेठको घामले खेतमा पुग्दा नपुग्दै हपहप गर्मी भयो । पानी आफ्नो खेतमा फर्काएर म रावाखोलाको गड्तिरतिर झरेँ । त्यहाँ पौडी खेल्न दह नभए तापनि पानीमा डुबुल्की मारेर चिसोचिसो अनुभूति गर्न चाहन्थेँ । तर भित्री मनमा भने कताकता कवितालाई भेटिए हुन्थ्यो भन्ने लागेको थियो ।
संयोग नै मान्नुपर्छ, आज पनि खोलाको किनारमा कविता गाई चराउँदै रहिछ । मलाई देख्ने बित्तिकै ‘दाइ नमस्कार’ भनी ।
‘नमस्कार, नमस्कार ! के छ कविता बैनी तिम्रो हालखवर ?’ म उसँग कुरा गर्न खोजेँ ।
‘के हुनु र दाजु ! हजुरहरुले माया मारिहाल्नु भो ? हामी त कुवाको भ्यागुतो कुवामै हो ।’ अलिकति मुस्कुराएर उत्तर दिई । ऊ मुस्कुराउँदा क्या सुन्दर देखिएको हो उसको अनुहार । मलाई देखेर किन हो किन ऊ निकै खुसी भएकी थिई ।
‘आरामै छ्यौ ?’ मैले पुन: सोधेँ ।
‘विरामी भए पनि कसले सोधखोज गर्छ र हाम्रो?’ अलि भावनामा बगेर बोली ऊ । सायद यो दुई वर्षमा मसँग भेट नभएर यसो भनेकी हुनुपर्छ उसले ।
‘कैले आउनु भो हजुर ? जागिर पनि खानुभएछ नि हजुरले त ? हजुरको मामाले भन्नुभएको रे मेरो बाबालाई हजुरले जागिर खाएको ।’ उसले हातमा बोकेको लठी ढुङ्गामा दुईतीन पटक हिर्काएर मलाई पुलुक्क हेरी । यसबीचमा राम्रैगरी उसका र मेरा आँखा जुधे ।
‘हामी छौ नि हो सोधखोज गर्ने । भेटौँ भनेर नै खोज्दै खोलाको किनारमा आएको हुँ । कोही छैन जस्तो लाग्छ र तिमीलाई ?’
‘होला, होला भेट्नै भनेर आउनु भएको ? बाटो हिँड्दा कतै त्यसै भेट त भइहाल्छ नि ।’ उसले अनुहार अलि फिक्का पारेर भनी ।
उसँग त्यहाँ मेरो निकै कुराकानी भयो । उसले पनि दिल खोलेरै कुरा गरी । उसको कुरा सुन्दा मैले मात्र उसलाई माया गरेको होइन रहेछु, उसले झनै मलाई मन पराउँदी रहिछ ।
दुई घण्टाको कुराकानीपछि छुट्टिने बेलामा उसले भनी, ‘कहिले फर्कनु हुन्छ हजुर । हामीलाई पनि यसो घुमाउन लान मिल्दैन ?’
‘के हामीलाई भन्छ्यौ ? मलाई भनन । भाग्यले जुरायो भने एकदिन लैजाउँला … ।’
मेरा कुरा सिद्दिंदा नसिद्दिंदै अनुहार अँध्यारो पारेर भनी, ‘हामी चेलीको जीवन कुर्दा कुर्दै कहिले जानुपर्ने हो पराई घरको सँघार लिप्न । बरु बाबासँग भेट गरे हुने नि ?’
मैले उसका कुरा बुझिहालेँ । मेरो मनले पनि त्यही भनिरहेको थियो जुन कविताले स्पष्ट भनिदिई ।
हिजोमात्र तत्काल आउनु भनेर अफिसबाट आवा आयो । भोलि नै फर्कनु पर्नेभयो ।
‘भोलि हाम्रोतिर आएर पर्सि जानु नि’ उसले फेरि अनुरोध गरी ।
‘मिलेछ भने हेरौँला । नभए चाँडै फर्किएर तिम्रो हात बाबासँग मागौंला हुँदैन ?’ मैले त्यसोभन्दा ऊ यति खुसी भई कि सायद मैले यति भेरै खुसी भएको देखेको थिइन । र उसले हाँसेर मेरो हात अठ्याई । मैले पनि उसका हात समाएर छातीमा राखेँ । त्यसबीच हामी कतिखेरसम्म बेहोसी भएछौ पत्तै भएन । कतैबाट सुसेलेको आवाज सुनेर झस्किएपछि उसँग बिदा माग्दै भने, ‘बाई… बाई… कविता’ यति भनेर म हिँडेँ । उसले पनि हात हल्लाएर विदाई गरी । म मिलको कुलो नउक्लिउन्जेली मलाई हेरेर हात हल्लाइरहेकी थिई ।
०००
म घरबाट फर्किएपछि तीन वर्षसम्म आउन पाइन । बिदा नपाउनुको खास कारण माओवादी युद्धको चरम द्वन्द्व थियो । गाउँ गयो प्रहरीको जागिर खाएको भनी छोड्न लगाउने, नत्र मारिहाल्ने । एकदिन देउरालीमा रहेको पिसियोबाट फोन गरेर पिताजीले भन्नु भो, ‘नविन, छोरालाई प्रहरीमा किन जागिर लगाइस् छिटो छुटा भनी माओवादी दवाव दिएका–दिएकै छन् । अस्ति त बन्दुकै देखाएर मारिदिन्छौ भनेर ताकेर हान्नै लागेका थिए । तेरी आमा त मारे भनेर बेहोसै भइछ । पारि कुइनेभिरकोे अर्जुनले एकदिन यहाँ आएर भनेको थियो, ‘दाजु तपाईलाई कुनै माओवादी आएर थर्काए भने मेरो नाम लिनु । बस यत्तिले पुग्छ ।’
‘अर्जुन सर, उहाँ तपाईको को ? उहाँले नै भनेको हो भने छाडिदेउ रक्तिम ।’ अलि अग्लो र झोला बोकेको केटाले आदेश दिएपछि बन्दुक तेर्साउने केटाले बन्दुक भुइँमा टेकाएर भन्यो, ‘सरी, अर्जुनसरले नै भन्नुभएको छ भने ।’
‘गाउँमा यसरी नै त्रासदीपूर्ण जीवन काटिरहेको छु छोरा । छोरालाई जागिर खुवाएको निहुँमा कहिले मार्ने हुन् उनीहरुले । मारिन यहाँ के गल्ती नै गर्नु पर्ने रहेछ र ! मृत्यु पर्खनु सिवाय के बाँकी रहयो र अब गाउँमा ?’ पिताजीले एकै सासमा गाउँमा निर्दोष जनताप्रति गरिएको अपमान र पीडा भित्रैदेखि उकेल्दै हुनुहुन्थ्यो ।
यी यावत कारणले म घर आउन सक्ने अवस्था थिएन । जागिर छाडौँ कुन रोजगारीले जीवन धान्ने ? फेरि घरबार जोडेपछि उनीहरुलाई पाल्नैपर्यो । घरमा बसेका बूढाबा र आमालाई पनि त केही सहयोग गर्नेपर्यो नि । नत्र जागिर खाएको के औचित्य भयो ?
म सरुवा भएर सल्लेरी आएको भर्खर एकहप्ता भएको थियो । दिन चिसोचिसो भए पनि घाम भने झलमल्ल लागेका थिए । जाडो पनि के नहोस् सल्लेरीमा । बाह्रैमास सिरेटो चल्ने र हिउँदमा सेतै हुने । वर्षायाम होस् या गर्मी समय ज्याकेट त नलगाइ बस्न नसकिने ठाउँ रहेछ त्यो ।
म साँझ डिउटीमै थिएँ । रातको नौ बजेतिर हुनुपर्छ फाप्लुबाट राँकेजुलुस निस्कियो । तामाखानीतिर पेट्रोलम्याक्स् बालेको उज्यालोमा बन्दुक पड्केको आवाज आयो । गार्मातिरबाट भने जोडजोडले कराएको नारा सुनियो, ‘कथित् संसदीय सरकार मुर्दावाद ! महान् जनयुद्ध जारी छ !!’
खानेपानी कार्यालयको आँगनमा हुनुपर्छ, ठूलै बम पड्कियो । त्यसको आवाज र कम्पनले सल्लेरी बजार नै भुकम्पित भएको महसुस भयो । म त अदालतको सुरक्षामा खटिएको थिएँ, जुन बजारको अलिमाथि डाँडोजस्तो ठाउँमा थियो । पाँच मिनेटभित्रमा जिल्ला प्रहरी कार्यालयमा ड्याङ्डयाङ र डुङ्डुङको आवाज आउन थाल्यो । ‘ओ हो, आज नबाँचिने भयो ! कसरी बाँच्ने होला आज ?’ म सोच्दै थिएँ ।
प्रहरी कार्यालय वरिपरि ठूलै चित्कार सुनियो । कार्यालयमा बम पड्काएर ह्वार्र ह्वार्र जलाए माओवादीले । ‘बचाउ, बचाउ’ प्रहरीहरु चिच्याइरहेका थिए ।
‘आत्मसमर्पण गर कथित् सरकारवादीहरु’ माओवादीले हुनुपर्छ माइकिङ गरिरहेका थिए । जल्दै गरेका भवनका उज्यालोमा हेर्दा हेर्दै जिल्ला प्रहरी कार्यालय र मालपोत कार्यालय ध्वस्त भए । माओवादीले नारा लगाउन थाले, ‘महान् जनयुद्ध जारी छ, ने.क.पा. माओवादी जिन्दावाद !’
फेरि केहीछिनमै माइकिङ सुरु भयो, ‘महान् योद्धा मित्रहरु ! हामीले प्रहरी कार्यालय ध्वस्त पारेर नियन्त्रणमा लिइसकेका छौँ । नभाग्नु होला । घाइते साथीहरुलाई अरु साथीहरुले सहयोग गर्नु होला । सैनिक ब्यारेकमा पनि हामी विजय प्राप्त गर्न लागेका छौँ । साथीहरु केही क्षण लडेर दुश्मनलाई परास्त गरेरै छाड्नु होला । अवश्य हामी सल्लेरी पूर्ण कब्जा गर्नेछौँ ।’
त्यो आवाज सुनिसक्दा नसक्दै नजिकैको प्रहरी साथीलाई गोली लाग्यो । ऊ पुर्लुक्कै ढल्यो । मैले बन्दुक तेर्साउँदा नतेर्साउँदै माओवादीले ताकी हाल्यो ।
‘रोक्नोस्, रोक्नोस् समिर !’ बोल्ने महिला हुनुपर्छ, उसले बन्दुक ताक्दै गरेको छापामारलाई रोकी ।
‘हात उठाउनोस् नविन ?’ उसले एकैचोटि मेरो नाम काढेर आदेश गरी । म बेहोसजस्तो अवस्थामै हात उठाएँ । ऊ को बोलेकी थिई र मेरो नाम कसरी थाहा पाई ? मैले केही चाल पाएको थिइन । पशु सेवा कार्यालयको छेउमै रहेको सैनिक ब्यारेकमा अझै भिडन्त चलिरहेको थियो ।
‘उहाँलाई लिएर सकुशल हिँड्नोस् समिरजी । भोलि उहाँसँग मलाई भेट्टाउनु होला’ त्यो महिला मैले नचिन्दै छापामारलाई आदेश दिएर बेपत्ता भई ।
मेरो हतियार छापामारले पहिले नै खोसिसकेका थिए । दुइ/तीन जना छापामारले मलाई बन्दी बनाए । बन्दुकले लागेर प्राण नगएका दुई जना साथीहरु भट्याक भट्याक गरिरहेका थिए । तिनीहरुले भट्याक भट्याक गर्ने प्रहरीहरुलाई ड्याङ ड्याङ गोली हानेर प्राण लिए ।
‘यसलाई चाहिँ आस्था कमरेडले किन जिउँदै ल्याउनु भन्नुभएको ? एक गोली खर्च गर्न पाए त सन्चै हुन्थ्यो’ भनेर एउटा छापामारले बन्दुक तेर्सायो । अर्कोले बन्दुक रोक्दै भन्यो, ‘भोलि हामी मारिनु छ र यसलाई मार्ने ? जिउँदै ल्याउने भन्ने आस्था कमरेडको आदेश छ ?’ यत्ति भनेर मेरा दुवै हात पछाडि लगेर बाँधे र मलाईसमेत लिएर हिँडे ।
‘को हो मलाई जिउँदै उपस्थित गर्नु भनी आदेश दिने महिला ? गाउँकै कुनै दाजुभाइ पर्ने हुन् की ? या जनयुद्धमा लाग्ने मलाई चिन्ने कोही साथी । हुन त हामी बसाइँ सरेर आएका पुराना गाउँका केही बन्धुहरु जनयुद्धमा लागेका छन् रे भन्ने मैले पहिल्यै सुनेको थिएँ ।
मलाई उनीहरुले सल्लेरीमाथिको जंगल छेवैछेउ लगेर रातभर हिँडाए । उज्यालो हुँदा पञ्चनमुनिको जंगलमा पुर्याएका थिए । आफू बचेकोमा अलिकति बाँकी खुसी भए पनि पूरै मरिसकेजस्तो थिएँ । आफ्नै आँखा अगाडि साथीहरु बचाउ, बचाउ भनेर चिच्याएको सुनेर आधा होस्हवास उडेको थियो । रातभर हिँड्दा हिँड्दा खुट्टाबाट रगत तर्रतरी बगेको थियो ।
भोलि दश बजे पञ्चनको जंगलमा एक प्याकेट बिस्कुट मलाई दिएर रुघिरहेको छापामारले भन्यो, ‘सर, भोक लाग्यो होला तर हामीले खान पाएका छैनौँ । रातभर लडेर आएका छौँ । तपाई हिजो किन बाँच्नुभो थाहा छ ? आस्था कमरेडको कारणले । आस्था कमरेड को हो तपाईको ?
उसले सोधे पनि मलाई के थाहा आस्था कमरेड । अग्लीअग्ली युवती देखेको हो हिजो राती । उसको अनुहार नै देखिन मैले आत्मसमर्पण गर्नोस् भन्दा ?
‘ए कमरेड, आस्था कमरेडकोमा लानुस् रे नविनजीलाई’ मैले बोल्न नपाउँदै एउटा बर्दी लगाएको तर पोसाकभरि रगतका टाटैटाटा लागेको मान्छेले बोलायो । मेरो नाम नविन भन्ने कसरी थाहा पाए उनीहरुले । ‘के सबैको नाम, ठेगाना र युद्ध कौसलताको रेकी पहिले नै गरिसकेका रहेछन् कि क्या हो उनीहरुले’ भन्ने म सोचिरहेको थिएँ ।
‘हिँड्नोस् नविनजी’ मेरो पहरेदार गरिरहेको छापामारले भन्यो । म उसँग अलिपर गएँ । त्यहाँ त कविता वरिपरि बन्दुक बोकेर उभिरहेका माओवादी छापामारको बीचमा पो बसेकी रहिछ । मलाई देख्ने बित्तिकै भनी, ‘दाइ नमस्कार । केही तकलिफ भयो कि ?’
मलाई त जीवित घर फर्कन्छु होला भन्ने लागेकै थिएन । अब प्रमुखले नै गोली हानेर मार्ने होला भन्ने सोचेर दिमाग ठेगानमा थिएन । ‘दाइ नमस्कार’ भन्दा पो मैले उसको अनुहार हेरेको थिएँ । उसका र मेरा आँखा धेरैदिनपछि आज जुधे । ऊ अलिकति मुस्कुराई तर म न हाँस्न सक्थेँ न रुन सकिरहेको थिएँ । कवितालाई नै देखेपछि अब त मारिन्न होला भन्ने सोचेर ऊतिर फर्केर हात जोडिरहेँ ।
‘तपाई सल्लेरीमा हुनुहुन्छ भन्ने मलाई थाहै थिएन । धन्न म त्यहाँ आइपुगेछु … ।’ उसले अनुहार निन्याउरो बनाउँदै भनी, ‘तपाई यहाँबाट आजै हिँड्नोस् । कसैले बाटोमा रोके भने मेरो नाम लिनु होला । मेरो जनयुद्धको नाम आस्था हो । बाँचिएछ भने फेरि यहाँसँग भेट गरुँला ।’ उसले मलाई तलदेखि माथिसम्म हेरी । तलबाट हेर्दै जाँदा फेरि मेरा आँखा उसका आँखामा जुधे । उसका आँखामा मेरो माया अझै छचल्किरहेको मैले देखेँ । तर त्यतिखेर म केही बोल्न सक्ने अवस्थामा थिइनँ ।
मलाई देखाउँदै उसले एउटा छापामारलाई आदेश गर्दै भनी, ‘उहाँलाई खाना खुवाएर खोलुखोला दोभानको फड्के हँुदै दूधकोसीको पुल तारिदिएर आउनु !’
‘हस् कमरेड’ उसले आदेश मान्यो ।
म बर्दीधारी कमरेडको पछि लागेँ । म हिँड्दै गर्दा पछाडि फर्केर कवितालाई हेरेँ, ऊ मतिरै हेरिरहेकी रहिछ । मैले हेर्ने बित्तिकै हात हल्लाएर विदाई गरी ।
भोलिपल्ट रेडियो सुन्दा थाहा भयो, चालीसभन्दा बढी प्रहरी, सिडियो, मालपोत हाकिम सहितलाई विद्रोहीले निर्मम तरिकाले मारेछन् । बिहान उजाडै थियो रे सल्लेरी बजार । जनताहरु हतास र त्राहिमाम थिए रे । त्यस भीडन्तमा दुईसय पचास बिद्रोहीसमेत मारिएका र लाशहरु सल्लेरीमुनि सोलुखोला किनारमा जताततै छरिएका थिए भन्ने रेडियो र एफएमबाट सुनेको हुँ ।
त्यस त्रासदीबाट बचेपछि म काठमाडौँमा सरुवा भएँ ।
०००
पाँच वर्षपछि अचानक रत्नपार्कको पेटीमा हिँड्दै गर्दा उसैले देखेर बोलाएकी हो । यो अवधिमा खासै केही परिवर्तन भएकी रहिनछ कविता । डेढ वर्षअघि कविताले दिक्तेल प्रहरी कार्यालयमा आत्मसमर्पण गरी रे भन्ने समाचार बुधवार साप्ताहिकमा पढेको थिएँ । तर आज अप्रत्यासित भेट भयो उसँग ।
‘चिया खाएर एकछिन गफ गरौँन नविन ।’ उसले आग्रह गरी । म हतारमा थिएँ तर पनि उसँगको भेटलाई कहाँ छोट्याउन सक्थेँ र ?
चियाको सुर्को तान्दै उसले सोधी, ‘बिहे त गर्नुभएको छैन नि हजुरले ? आफू त हृदयमा राखेको मान्छेलाई पर्खदा पर्खिदै एक्लैएक्लै यात्रा गरिरहेकी छु ।’ उसले बिहे गरेकी छैन भनी नसोध्दै स्पष्ट कुरा खोलिसकेकी थिई । मैले चियाको पैसा दिंदै भने, ‘कहाँ गर्नु, अझै लगन आएकै रहेनछ । आउला नि कुनै दिन ।’
मलाई अफिस पुग्नको हतारो थियो । त्यही भएर हतारिदै भने, ‘कुनै दिन पूरै बसेर गफ गरौँला है कविताजी । फिक्री नगर्नोस्’ म हिँड्न खोज्दै भने ।
उसले आफ्नो झोलाबाट ठेगाना सहितको टेलिफोनको कार्ड दिंदै भनी, ‘म बानेश्वर बस्छु । हजुरलाई भेट्न म खोजिरहेकी थिएँ । तर सम्पर्क फोन थिएन । आज दैवले जुराएर नै भेट भयो । तपाईको नम्बर पाउन ?’ उसले मेरो फोन नम्बर मागी र मोबाइलमा सेभ गरी ।
म कविताकै बारेमा सोच्दै अफिस पुगेँ । अफिस समयपछि डेरा गएँ । खाना खाएर सुत्न खोजेँ, अँ हँ ऊ मेरा आँखामा झल्झली आइरही । सोचेँ, ‘मेरो माया कति गर्दिरहिछ ऊ । कविता नभएकी भए म सल्लेरीमै मारिसकिएको हुने थिएँ । मेरो माया भएर नै त जोखिम मोलेर मलाई बचाई उसले ।’
कतिखेर हो कतिखेर निदाएछु म । बिहान उठ्दा घाम पल्लो घरको छतमाथि आइपुगेका रहेछन् । कताकता मलाई पनि कविताप्रति माया पलाएर आयो । उसले दिएको कार्ड गोजीमा बोकेको थिएँ । गोजीबाट कार्ड झिकेर मोबाइलमा डायल गरेँ ।
‘नमस्कार सर !’ उताबाट सुरिलो आवाज आयो । उक्त स्वर कविताको थियो ।
‘आज म तिमीलाई भेटेर मनका कुरा पोख्न चाहन्छु ।’ मैले फोनमा अरु के के बोलेँ केही हेक्का भएन । तिमी शब्द कसरी फुत्कियो त्यो पनि मैले सम्झिएको थिइनँ तर उताबाट कविता बोली, ‘हजुरसँग जे चाहान्थेँ त्यही बोल्नु भो हजुरले । आज हजुरले तिमी भनेकोमा यत्ति खुसी छु कि यो खुसी म कसरी व्यक्त गरुँ । आज दिउँसो खाजा खानेगरी मेरो कोठामा आउनु न । म हजुरलाई पर्खिरहेकी हुन्छु ।’ मैले आज्ञाकारी बालकझैँ ‘हस्’ भनेर मोबाइल काटेँ ।
दश बजे अफिस पुगेर हाजिर गरेँ । एक कतिखेर बज्ला र कवितालाई भेटौँला भनी कुरिरहेको थिएँ । एक बजे कार्यालयबाट बिदा लिएर कविताको कोठातिर लागेँ । ऊ शंखमुल चोकमै मलाई लिन आएकी रहिछ । कोठामा उसले अघि नै चिउरा र तरकारी बनाएकी रहिछ ।
उसले मलाई खाजा दिई । खाजा खाउन्जेल हामीले पुराना घटनाहरु कोट्याउँदै कुरा गर्यौँ । गफ गर्दै गर्दा ऊ भावुक हुँदै भनी, ‘नविन सर, म युद्धमा लागेँ । कति लडेँ । कति दुस्मनलाई मारेँ । तर युद्ध गरेका नेताको क्रियाकलाप देखेर म आजित भएकी थिएँ । एकदिन मेरो कमाण्डर भनाउँदो संघर्षले मलाई जवरजस्ती गर्न खोज्यो । तत्कालै असिम आइपुगेकाले म बाँचेँ । अब उसले मलाई मार्ने पक्का पक्की भएको रहेछ । कारण त्यो घटना आगामी भेट हुने केन्द्रीय नेतालाई उजुरी गर्छे भनेर । संघर्षले मेरो बारेमा हरेक कुरा नेगेटिभ गरेको सुनेर एकदिन असिमले मलाई भने, ‘आस्था कमरेड तपाई संघर्षले थाहा नपाउने गरी केन्द्रीय नेता प्रभाकरलाई भेट्न जाइजानोस् । नत्र संघर्ष कमरेडले तपाई बारेमा कुनै घटना घटाउन सक्ने म गन्ध पाउँदैछु ।’
दोश्रो रात म माओवादी क्याम्पबाट भागेँ । म नभागेकी भए त्यस संघर्ष बजियाले मेरो सतित्व लुट्थ्यो र गद्दारी गरेको भनेर मारिदिन्थ्यो ।
ऊ सुक्सुकाउँदै गर्दा दुवै आँखाबाट आँशु बरर झरे । ती आँसुका थोपा भुइँमा झरेर खै कता बिलाए बिलाए । मलाई कविताप्रति साह्रै माया पलाएर आयो । हुन त उसको माया मेरो मुटुबाट अझै कहाँ बिलाएको थियो र ?
मैले उसका आँखाका आँसु पुछिदिएर भने, ‘नरोउ कविता नरोउ । विगत जेजस्तो भए पनि वर्तमानमा तिम्रो लागि म छु ।’
मेरो सान्त्वनाले उसको आत्मबल बढेछ की के हो, मलाई गम्ल्याङ्ग अँगालो हालेर भनी, ‘म मेरो सम्पूर्ण जीवन र यौवन तपाईलाई सुम्पन पर्खिरहेकी थिएँ नविन । संघर्षले जवरजस्ती गर्न खोज्दा पनि मैले तपाईलाई सम्झिएकी थिएँ । त्यो रात तपाईलाई कसैले बन्दुकले हानेको भए मेरो के अवस्था हुन्थ्यो …?’ ऊ क्वाँक्वाँ रुन थाली । मलाई झन् झन् जोडजोडले समाएर भनी, ‘हजुरकै लागि यो सब साँचेर राखेकी छु । छिटै आफ्नो बनाउनोस् ।’
मैले केही उत्तर दिन नसकेर आँगालोमा कसी रहेँ र भनेँ, ‘कविता ! तिमी त्यसदिन नभएकी भए म मारिने थिएँ । तिम्रै लागि बाँचेको हुँला । तिमीले नै बचायौ । ठीक छ म आजै तिमीलाई मेरो बनाउँछु ।’
मैले उसलाई अँगालोबाट हटाएर यताउता हेरेँ । टि–टेवलमा एउटा चक्कु रहेछ । त्यो चक्कु दाहिने हातले उठाएँ । खै मेरो दिमागमा के के आइरहेको थियो ।
‘के गर्न खोजेको हजुरले ? ऊ अलि डराएर बोली ।
‘कि मैले बढी बोलेँ । बढी बोलेँ भने माफ पाउँ । मनभित्र गुम्सिएको भावना खै कसरी पोखेँ पोखेँ ।’ ऊ रुँदै हात जोड्न थाली । उसले हात जोड्दा जोड्दै मैले मेरो देब्रे हातको नाडीमा चक्कुले अलिकति खोपेँ । ऊ त्यो चक्कु समाएर रुँदै चिच्याइ, ‘नविन हजुरले के गरेको ? के गरेको ? के मैले यहाँको चित्त दुखाएँ ?’ ऊ चक्कु भुइँमा फालेर हात जोडेर रोहिरही ।
मैले नाडीमा बगेको रगत बुढी औँलाले पुछेर उसको सिउँदोमा दलेर भनँे, ‘कविता ! मेरो वर्षौंवर्षको चाहाना र इच्छा आज तिमीले पूरा गरिदियौ । आजदेखि तिमी मेरी र म तिम्रो भएँ ।’
त्यसपछि कतिखेरसम्म हो हामीले अँगालो मारिरह्यौं । घरको गेट बज्दामात्र हामी झसङ्ग भयौँ ।