(लेखकको प्रकाशोन्मुख उपन्यास “कामरेड जलजला” को तेश्रो भागको एउटा परिच्छेद)
सुनन्दा र विद्याले तौलिहवा पुगेर सर्वप्रथम एउटा होटलमा कोठा लिए र आफ्ना सामान थन्काए । बद्रे आलमले उनीहरुलाई तौलिहवामा भोलानाथ शर्माको ठेगाना दिएका थिए । उनीहरु भोलानाथ शर्माको ठेगाना सोध्दै उनको घरमा पुगेका थिए ।
शर्मा पहिले नेपाली काङ्ग्रेसका नेता थिए । २००७ को आन्दोलनको समयमा पाल्पा कब्जा गरेपछि उनी त्यहाँका गभर्नर बनेका थिए । भोलानाथ शर्मा र टेकबहादुर पन्थी कपिलवस्तुका प्रसिद्ध राजनीतिक व्यक्तित्व थिए । पन्थीले कपिलवस्तुमा कैयौं प्रसिद्ध किसान आन्दोलनहरुको सञ्चालन गरेका थिए । पन्थी पछि ने.का.बाट अलग भएका थिए र उनले कम्युनिस्ट पार्टीको सदस्यताका लागि दरखास्त दिएका थिए । तर ०१७ सालमा पार्टीहरुमाथि प्रतिबन्ध लागेपछि उनले पञ्चायती व्यवस्थालाई समर्थन गरे र पछि भूमिसुधार अधिकारी भएका थिए । अब उनको मृत्यु भइसकेको थियो ।
सुनन्दाको पिएचडीको विषय थाहा पाएर भोलानाथ शर्मा धेरै नै खुसी भए । तर उनले हाँस्दै भने, “तर तपाईंको अध्ययनको क्षेत्रभित्र कपिलवस्तु पर्दैन ।”
“हो पर्दैन, तर बुद्धको जन्मस्थान लुम्बिनी र कपिलवस्तुको यात्रा गर्ने मेरो धेरै पहिलेदेखिको इच्छा थियो । यहाँको इतिहास जान्न म धेरै उत्सुक छु ।”
“तपाईंलाई मद्दत गर्न पाए मलाई धेरै खुसी लाग्ने थियो । म केही अस्वस्थ छु । तर तपाईंले चिन्ता नगर्नुहोस् । मैले तपाईंलाई मद्दत गर्न मेरो एकजना मित्रको नाम बताइदिन्छु । उहाँले २०२१ सालदेखि नै तौलिहवाको पुरातत्व विभागमा काम गर्दै आउनु भएको छ । अहिले उहाँ तौलिहवाको पुरातत्व सङ्ग्रहालयको स्टोरकिपर हुनुहुन्छ । कपिलवस्तुको पुरानो इतिहास र पुरातत्वबारे उहाँलाई धेरै नै जानकारी छ ।”
“धन्यवाद, त्यस प्रकारको सहयोगका लागि म धेरै नै कृतज्ञ हुने छु ।”
“उहाँ सहयोगी भावना राख्ने मानिस हुनुहुन्छ । खास गरेर कसैले कपिलवस्तुको इतिहास र पुरातत्व सम्बन्धी जानकारी जान्न चाहेमा उहाँले उत्साहपूर्वक सहयोग गर्नु हुन्छ ।
“उहाँको नाम के हो ?”
“हनुमानदास श्रीवास्तव ।”
“उहाँले तपाईंलाई पुरा मद्दत गर्नुहुने छ ।”
सुनन्दा र विद्या अर्काे दिन बिहान भोलानाथ शर्माको घरमा पुग्दा हनुमानदास त्यहाँ पहिले नै पुगेका थिए । सुनन्दाको बारेमा उनलाई भोलानाथ शर्माले पहिले नै बताइसकेका थिए ।
भोलानाथ शर्माले भने, “हनुमानदासजी तपाईंहरुलाई यहाँका ऐतिहासिक स्थलहरुमा घुमाउन लैजान तयार भएर आउनु भएको छ । एकै दिनमा ता सबैतिर घुम्न मुस्किल पर्ला । तैपनि आज जति भ्याउनु हुन्छ त्यति घुम्नुहोस् । त्यसपछि अरु दिनको कार्यक्रम बनाउँदा हुन्छ ।”
हनुमानदासले भने, “यहाँ बुद्ध र बौद्ध धर्मसित सम्बन्धित ऐतिहासिक स्थानहरु ठूलो क्षेत्रमा फैलिएका छन् । तिलौराकोट सबैभन्दा मुख्य ऐतिहासिक र पुरातात्विक महत्वको स्थान हो । त्यो बाहेक निग्लिहवा, सगरहवा, कुदान, गोटिहवा आदि प्रमुख स्थानहरु हुन् । पहिले हामीले आफ्नो यात्रा गोटिहवाबाट सुरु गरौं । त्यसपछि तिलौराकोट, निग्लिहवा र सगरहवातिर लागौंला ।”
गोटिहवा गाउँ तौलिहवा बजारबाट दक्षिण–पश्चिम ४ कि.मी. टाढा पर्दथ्यो । तौलिहवाबाट हिँडेर सुनन्दा, विद्या र हनुमानदास त्यहाँ गए । त्यसपछि वाणगङ्गाको दक्षिणतिर लागे र केही बेरमा गोटिहवा पुगे । हनुमानदासले भने, “अहिले हेर्दा यो गाउँ एउटा साधारण जस्तो देखिन्छ तर पुरातात्विक दृष्टिले यो गाउँको ठूलो महत्व छ । अशोकले यहाँ अशोक स्तम्भको निर्माण गरेका थिए ।”
“उनले यहाँ यो स्तम्भको निर्माण गर्नुको कारण के थियो ?” विद्याले सोधिन् ।
“कसैले यसलाई क्रकुछन्द बुद्धले बुद्धत्व प्राप्त गरेको ठाउँ बताउँछन्, कसैले उनको जन्मस्थान । प्राचीन बौद्धग्रन्थ र चिनियाँ यात्रीहरुले यो स्थानलाई क्रकुछन्द बुद्धको जन्मस्थानको रुपमा उल्लेख गरेका छन् । त्यसैले अशोकले यहाँ आफ्नो स्तम्भको निर्माण गरेका थिए । नेपालको तराईमा प्राचीन बौद्ध स्थानको खोजी गर्ने सिलसिलामा १८९५ मा जर्मन पुरातत्वशास्त्री डा. फुहररले यहाँ अशोक स्तम्भ पत्ता लगाएका थिए । उनले लेखेका छन् कि प्राचीनकालमा यहाँ लोरी कुदान तथा गोटिहवाका बीचमा एउटा ठूलो सहर थियो । डा. फुहररले लोरी कुदान र गोटिहवाको बीचमा एउटा ठूलो सहर थियो भनेर लेखेको कुरा सुनेपछि सुनन्दाको मनमा एउटा विचार उठ्यो : त्यो स्थानको उत्खनन गर्ने हो भने सायद त्यहाँको पुरानो सहरको एउटा भव्यचित्र अगाडि आउँथ्यो । उनले अगाडि सोचिन्, सायद त्यहाँको मात्र होइन, कपिलवस्तु र रुपन्देहीका पनि धेरै भागहरुको उत्खनन गर्ने हो भने – धर्तीको गर्भमा लुकेको कति ठूलो र भव्य इतिहास हाम्रा अगाडि आउँथ्यो होला….. ।
डा. फुहररले यो पनि लेखेका थिए कि फाइयान र हुयन साङ्गले वर्णन गरेका तीनवटा स्तूप र विहारहरु अहिले पनि देखिन्छन् । गोटिहवाको बीचको स्तूप अहिले पनि विद्यमान छ । उनले आफ्ना अध्ययनको रिपोर्ट पनि प्रकाशित गराएका थिए । त्यसमा उनले त्यो स्तम्भको माथिल्लो भाग टुटेको । त्यसको सानो आकारमा देखिएको र त्यसलाई मानिसहरुले कुटेश्वर महादेवका रुपमा पूजा गर्ने गरेको बताएका थिए । उनले त्यो स्तम्भ पूरै विद्यमान नभएपनि त्यो प्राचीन प्रियदर्शी (अशोक) शैलीमा बनेको उल्लेख गरेका थिए ।”
श्रीवास्तवले भने, “गोटिहवाको स्तम्भको अभिलेख भएको खण्ड कतै भेटिएको छैन । सन् १९५४ मा भिक्षु धम्भलोकले लेखेका थिए : ‘गोटिहवाको अशोक स्तम्भका शिलालेख भएको खण्ड कुनै अपराधको परिणाम स्वरुप गायव भएर नष्ट भएको पनि हुन सक्दथ्यो ।’
“त्यो स्तम्भको अभिलेख भएको हिस्सा कहाँ गयो होला ?” विद्याले सोधिन् ।
“भन्न सकिन्न ।” हनुमानदासले भने “त्यसबारे बेग्लाबेग्लै कुराहरु सुनिन्छन् । गोटिहवाका मानिसहरुले त्यसरी उत्खनन गर्दा मानव अस्थी, धातु र कोइलाका टुक्राहरु पनि फेला पारेका थिए । ती अस्थीहरु बुद्धका प्रमाणित भएमा यो स्तूप संसारको सबैभन्दा पुरानो स्तूप हुनेछ । यहाँका मानिसहरुले भारतबाट धान किन्न आएका मानिसहरुले त्यो स्तम्भको एक खण्ड गाडामा हालेर लगेका थिए भन्ने कुरा बताउँछन् । त्यही खण्डमा शिलालेख भएको सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न । तर निश्चित रुपले केही भन्न सकिन्न ।”
सुनन्दालाई ऐतिहासिक पुरातात्विक महत्वका कैयौं पुराना मूर्ति चित्र, पाण्डुलिपि वा अन्य सामग्रीहरुको चोरी निकासी गर्ने घटनाबारे थाहा थियो । उनले अङ्ग्रेजहरुले भारतबाट त्यस प्रकारका थुप्रै सामग्री उठाएर बेलायत लगेको कुरा पढेकी थिइन् । गोटिहवाको अशोक स्तम्भको शिलालेखको पनि त्यही प्रकारको चोरी वा निकासीको सम्भावनलाई अस्वीकार गर्न सकिंदैनथ्यो । पुरातत्वको उत्खननको क्रममा भएका कतिपय जालसाजीबारे पनि उनले पढेकी थिइन् । ज्ञान, अनुसन्धान वा इतिहासको बारेमा देखापर्ने त्यस प्रकारका अपराधिक प्रवृत्तिका लागि उनलाई धेरै दु:ख लाग्यो । त्यो शिलालेख अहिले कहाँ होला ? के कुनै बेला त्यो पत्ता लाग्न सक्ला ? त्यो स्तम्भको त्यो एउटा टुक्रा गायव हुँदा इतिहासको एउटा महत्वपूर्ण पृष्ठ नै गायब हुन पुगको थियो । त्यसका लागि उनलाई धेरै दु:ख लाग्यो ।
गोटिहवापछि तीनैजना तिलौराकोटतिर लागे ।
तिलौराकोटमा गौतम बुद्धका पिता शुद्धोदनको राज्यको राजधानी थियो । आफ्ना जीवनका २९ वर्ष बुद्धले त्यहाँ बिताएका थिए । त्यसैले त्यो स्थानलाई बुद्धभूमि पनि भन्न सकिन्थ्यो ।
सुनन्दाले त्यहाँ पुगेर तिलौराकोटको राजदरवार, विहार र स्तूपहरुका भग्नावशेषहरुका दृश्यहरु देखिन् । तिलौराकोट पनि लुम्बिनी जस्तै करिब ६ शताब्दीसम्म जङ्गलले ढाकेर अदृश्य भएको थियो । भारतको ब्रिटिस सरकारको पुरातत्व विभाग र कतिपय पुरातत्व शास्त्रीहरुको ठूलो प्रयत्नले लुम्बिनी र कपिलवस्तुहरु प्रकाशमा आएका थिए ।
हनुमानदासले चारैतिर घुमेर तिलौराकोट दरबारका भग्नावशेषहरुको विवरण सुनन्दा र विद्यालाई बताउँदै गए ।
तिलौराकोट वाणगङ्गा नदीको किनारमा बसेको थियो । उत्तरतिर घना जङ्गल थियो । दरबारका चारैतिर बनेका पर्खालका अवशेषहरु, अहिले पनि त्यहाँ देखिन्थे । उत्खनन गर्दा चारैतिर बनेका मूल ढोकाहरुका अवशेषहरु पनि फेला परेका थिए । भनिन्छ, पहिले दरबारका चारैतिर पोखरीहरु थिए । सायद दुश्मनहरुको आक्रमणबाट बच्नको लागि ती पोखरीहरु बनाइएका थिए । तर अब उत्तरपूर्वको पोखरी मात्र त्यहाँ थियो । त्यहाँ सभाइ मन्दिरको भग्नावशेष पनि थियो ।
सुनन्दाले पूर्वी ढोकाभन्दा केही पर बनेको एउटा घोडाको स्तूपलाई धेरैबेरसम्म हेरिरइन् । त्यो बुद्धको घोडा कष्ठकको स्तूप थियो । बुद्धले दरबार र परिवार छाडेर जाँदा त्यही घोडामा चढेर गएका थिए र त्यही घोडाको सम्झनामा त्यो स्तूप बनाइएको थियो भन्ने उनले पढेकी थिइन । यो बताउने गरिन्छ कि, बुद्धलाई छाडेर आएपछि त्यो घोडाको मृत्यु भएको थियो । त्यो कथन खाली मानिसहरुको एउटा कल्पना मात्र पनि हुन सक्दथ्यो । तैपनि त्यो कल्पनाले सुनन्दाको मनलाई छोयो । त्यसले घोडाको आफ्नो मालिकप्रतिको प्रेमलाई व्यक्त गर्दथ्यो ।
त्यो घोडाको स्तूप हेरेर उनले महाराणा प्रतापको घोडा चेतकलाई सम्झिन् ।
वास्तवमा बुद्धको घोडाको स्तूप देखेर उनी धेरैबेर भावुक भएकी थिइन् । त्यो बेला उनका मनमा कैयौं कुराहरु खेलेका थिए ।
त्यहाँ सम्राट अशोक दुईपटक आएका थिए । सन् ७०६ मा फाहियान त्यहाँ आउँदा कपिलवस्तु उजाड भइसकेको थियो । सन् ६३६ मा हुयन–साङ्गले पनि त्यो स्थानको यात्रा गरेका थिए । सन् १३१२ मा खस राजा रिपु मल्ल पनि त्यहाँ आएका थिए ।
हनुमानदासले एक ठाउँतिर सङ्केत गर्दै भनेका थिए : सिद्धार्थ गौतम भिक्षु बनेपछि कपिलवस्तु आउँदा त्यही ठाउँमा उनले आफ्ना पिता शुद्धोदनलाई भेटेका थिए । त्यो ठाउँ त्यहाँबाट देखिंदैनथ्यो । तैपनि सुनन्दाको मस्तिष्कमा त्यो ठाउँको एउटा चित्र बन्यो । उनले मनमनै पिता र पुत्रको त्यो भेटघाटको दृश्यको कल्पना गरिन् । उनको मनमा करिब २५ सय वर्ष पहिलेको त्यो दृश्य घुम्यो ।
बाबुले आफ्नो छोरो सम्राट भएको देख्ने कल्पना गरेका थिए । तर उनका छोरा भिक्षु बनेर उनका अगाडि आएका थिए । त्यो बेला उनको मनको स्थिति कस्तो भएको थियो होला ? त्यो बेला राजा शुद्धोदनका साथमा बुद्धकी पत्नी यशोधरा र पुत्र राहुल पनि आएका थिए होलान् । त्यो बेला यशोधरा र बुद्धको मनमा समेत कुन प्रकारका भावनाहरु उठेका थिए होलान् ? शुद्धोदन तथा उनकी बुहारी र नाती समेतका मनमा उठेका त्यस प्रकारका सबै भावनाहरुको दृश्य उनका (सुनन्दाका) मनमा कैयौं बेरसम्म घुमिरह्यो ।
उनले केहीबेर आकाशतिर हेरिरहिन् । उनले सुदूर आकाशमा त्यो दृश्यलाई वा सायद त्यो बेलाको शुद्धोदन र उनको परिवारका मनोभावनालाई सम्पूर्ण रुपले आत्मसाथ गर्ने प्रयत्न गरिरहेकी थिइन् ।
तिलौराकोटबाट उनीहरु कुदानतिर लागे । त्यो स्थान अहिलेको कपिलवस्तुको सदरमुकाम तौलिहवाबाट करिब २ किमी उत्तरपूर्वमा पर्दछ । त्यसलाई लोरी कुदान पनि भन्ने गरिन्छ । त्यहाँ ऐतिहासिक महत्वका चारवटा ढिस्काहरु छन् । तिनीहरुको उत्खनन गर्दा पुरातात्विक महत्वका कैयौं स्मारक र सामग्रीहरु प्राप्त भएका थिए । तर त्यहाँका पुरातात्विक महत्वका कैयौं सामग्रीहरु स्थानीय जनताले लगेर नष्ट भएका थिए ।
त्यो स्थानको सर्वेक्षण वा उत्खननको कामलाई फुहरर, पीसी मुखर्जी, खड्ग शमशेर, देवलामित्र आदिले पनि अगाडि बढाएका थिए । त्यो स्थानको अवलोकन गर्न हुयनसाङ्ग पनि आएका थिए ।
अब साँझ पर्न थालेको थियो । तीनैजना तौलिहवातिर फर्के । अर्कोदिन बिहान सुनन्दा विद्या निग्लिहवा र सगरहवातिर जाने सल्लाह भयो । तर सुनन्दाले हनुमानदासलाई धेरै दु:ख नदिने र उनीहरु मात्र त्यहाँ जाने जोड गरिन् र त्यही कुराको सल्लाह पनि भयो । निग्लिहवाको नजिकै कुश्मा गाउँ पर्दथ्यो । दोभानमा भेट हुँदा भोटमानले त्यहाँका धेरै मानिसहरुको परिचय त दिएका थिएनन् । तर उनको मुखबाट हर्के र हमानेको नाम चुहेको थियो र उनले (सुनन्दाले) त्यही बेला नै त्यो नाम नोट गरेकी थिइन् । उनको सोचाइ हर्के र हमानेद्वारा जलजलालाई पत्ता लगाउन प्रयत्न गर्ने थियो । हुनमानदासलाई सँगै लैजाँदा त्यो काममा बाधा पुग्न सक्दथ्यो । त्यसैले उनले उनलाई (हनुमानदासलाई) धेरै दु:ख नदिइकन उनीहरु मात्र त्यता जाने कुरा गरेकी थिइन् ।
राती सुनन्दा र विद्या पहिलेकै होटलमा गएर बसे र अर्को दिन बिहानै दुवैजना सगरहवा र निग्लिहवातिर लागे ।
बाटामा तौलिहवाबाट कुश्मातिर जाने केही मानिसहरुसित भेट भयो । त्यसकारण जङ्गलको बाटो भए पनि बाटो पत्ता लगाउन उनीहरुलाई केही गाह्रो परेन । उनीहरु जगदीशपुर तालको नजिक पुगेर रोकिए ।
अहिले जहाँ जगदीशपुर ताल छ, पहिले त्यहाँ एउटा सानो जाखिरा पोखरी मात्र थियो । त्यो पोखरीमा वाणगङ्गा नदीबाट बाँध बाधेर पानी ल्याई जाखिरामा जम्मा गरी तौलिहवासम्म सिँचाई गरिन्थ्यो । त्यहाँबाट आसपासका गाउँहरुमा पनि सिँचाई गर्ने काम हुन्थ्यो । पछि तालको बिस्तार गर्दा जाखिरा पोखरीका आसपासका कैयौं बस्तीहरु हटाइएको थियो ।
सुनन्दा र विद्याले केहीबेरसम्म उभिएर त्यो ताललाई हेरिरहे । त्यो ताल ठूलो क्षेत्रफलमा फैलिएको थियो । त्यहाँ कैयौं चराचुरुङ्गीहरु खेलिरहेको देखिन्थ्यो । नयाँ मान्छेहरु त्यहाँ आएको देखेर दुईचार जना गाउँलेहरु पनि उनीहरुतिर आए । उनीहरुले बताए कि हिउँदमा त्यहाँ संसारका कैयौँ भागहरुबाट चराचुरुङ्गीहरु आउने गर्दथे । त्यहाँ आएका गाउँलेहरुमध्ये एकजना प्राइमरी स्कुलका शिक्षक पनि थिए । उनले बताए अनुसार त्यहाँ साईबेरियासम्मबाट चराहरु उडेर आउँथे र गर्मी लागेपछि ती पुन: फर्केर साइबेरिया जान्थे । त्यो तालमा धेरै टाढाबाट पुग्ने चराहरुमध्येमा तालचराहरु पनि हुन्थे । ती शिक्षकले यो पनि बताएका थिए, सिकारीहरुले ती चराहरु मार्ने गर्दथे । त्यो सुनेर सुनन्दालाई धेरै दु:ख लागेको थियो । अन्तर्राष्ट्रिय स्तरका पाहुना चराहरु समेतको त्यो क्रिडास्थलमा चराहरुको संरक्षणको आवश्यकता थियो । त्यसको विपरीत उनीहरुको सिकार गर्नु धेरै नै दु:खको कुरा थियो । त्यसबाट पर्यावरणमा समेत प्रतिकूल असर पर्न सक्दथ्यो ।
जगदीशपुर तालबाट उनीहरु सगरहवातिर लागे । त्यो ठाउँको अवलोकन गर्नको लागि सुनन्दा विशेष रुपले उत्सुक थिइन् । त्यही ठाउँमा नै ई.पू. पाँचौं शताब्दीतिर कौशल राजा विरुद्धकले हजारौं शाक्यहरुको नरसंहार गरेका थिए । त्यो आक्रमणपछि शाक्य राज्यको अन्त भएको थियो ।
त्यहाँ लम्बुसागर भनिने एउटा ताल छ । त्यो तालमा नै शाक्यहरुलाई हत्या गरेर फालिएको हुनाले अहिले पनि स्थानीय मानिसहरुले त्यो तालको पानी खाँदैनन् वा त्यहाँको पानी प्रयोग गर्दैनन् ।
सगरहवामा सर्वप्रथम जर्मन पुरातत्वशास्त्र डा. फुहररले अध्ययन र उत्खनन गर्ने काम गरेका थिए । उनले त्यो बेला त्यहाँ १७ वटा स्तूपहरु पनि फेला पारेको बताएका छन् । तर तिनीहरुको संरक्षण हुन नसक्दा ती सबै हराएका थिए । त्यहाँ पुरातात्विक महत्वका अरु पनि कैयौं सामग्रीहरु फेला परेका थिए । तर अब ती कतै पनि सुरक्षित छैनन् ।
सुनन्दाले सोचिन्, जुन ठाउँमा त्यति धेरै स्तूपहरु पुरातात्विक महत्वका सामग्रीहरु थिए वा जहाँ ठूलो सङ्ख्यामा शाक्यहरुको हत्या गरिएको थियो, त्यहाँ ठूलो मानव वस्ती पनि भएको हुन सक्थ्यो । त्यहाँ जसरी ठूलो सङ्ख्यामा शाक्यहरुको हत्या गरियो, त्यसले त्यहाँ ठूलो युद्ध भएको कुरालाई पनि बताउँछ । तर त्यति ठूलो युद्धको कुनै इतिहास उपलब्ध थिएन ।
उनी एउटी इतिहासकी विद्यार्थी थिइन् । त्यसकारण त्यो सोचेर उनलाई धेरै दु:ख लाग्यो । सायद उनको दु:ख हजारौं शाक्यहरु युद्धमा मारिएको कुरामा भन्दा त्यो युद्धको इतिहास गायव भएको कुराप्रति बढी थियो ।
सगरहवाबाट उनीहरु निग्लिहवातिर लागे । त्यो स्थानको ऐतिहासिक महत्व यो कुरामा थियो कि त्यहाँ पनि अशोकले स्तम्भ स्थापित गरेका थिए । अहिले पनि भाँचिएको अवस्थामा त्यो स्तम्भ त्यहाँ विद्यमान छ । त्यहाँ तथागत कनकमुनिको जन्मस्थान भएको हुनाले अशोकले त्यहाँ त्यो स्तम्भ स्थापना गरेका थिए । कनकमुनीको काल ई.पू. तेह्रो शताब्दी भएको मानिन्छ । डा. फुहररले ई.पू. १८९५ मा त्यो अशोक स्तम्भ फेला पारेका थिए ।
गोटिहवामा क्रकुछन्दको जन्मभूमि र निग्लिहवामा कनकमुनीको जन्मभूमि ती दुवैलाई बौद्ध धर्म ग्रन्थहरुमा गौतमबुद्ध भन्दा पहिलेका बुद्धहरु बताइएको छ । त्यसको अर्थ के गौतमबुद्धले कपिलवस्तुमा बुद्ध धर्मको प्रचार गर्नुभन्दा धेरै पहिलेदेखि नै त्यहाँ बौद्ध धर्मको प्रचार थियो भन्ने हो ?
कतिपय हिन्दु धार्मिक ग्रन्थहरुमा हिन्दु धर्मसित सम्बन्धित नभएका देवी देवताहरुलाई पनि हिन्दु धर्ममा सामेल गरेका छन् । मातृकाहरु अनार्य वा द्रविड देवीहरु थिए । तर हिन्दु धर्मले उनीहरुलाई हिन्दु धर्ममा सामेल गरेको थियो । स्वयं गौतमबुद्ध हिन्दु धर्मावलम्बी थिएनन् र उनले ईश्वर पनि मान्दैनथे । शङ्कराचार्यले बौद्ध धर्मका विरुद्ध चलाएको अभियानबाट पनि त्यो कुरा प्रस्ट हुन्छ । त्यही प्रकारले सुनन्दाको मनमा एउटा प्रश्न उठ्यो बौद्ध मार्गीहरुले पनि क्रकुछन्द वा कनकममुनिलाई तथागत वा बौद्धको रुपमा व्याख्या गरेका त होइनन् ? बुद्धबारे कैयौं अलौकिक कल्पनाहरु जोडिएको भएपनि अन्तत: उनी एउटा लौकिक र ऐतिहासिक व्यक्ति थिए । तर क्रकुछन्द वा कनकमुनीको वास्तवमा अस्तित्व नै थियो वा उनी एउटा कल्पना मात्र थिए, त्यसरी नै जसरी अन्य कतिपय देवीदेवता वा ऋषिहरुको कल्पना गरिएको छ । अथवा यो पनि सम्भावना थियो कि, उनीहरु दुवैको वास्तविक अस्तित्व थियो र पछि बौद्ध मार्गीहरुले आफ्ना धर्मग्रन्थहरुमा गौतम बुद्धभन्दा पहिलेका बुद्धहरु भनेर व्याख्या गरेका थिए ।
उनको मनमा फेरि एउटा प्रश्न उठ्यो, सम्राट अशोकले ती दुवै स्थानहरुमा क्रकुछन्द वा कनकमुनीको जन्म भएको र उनीहरु पूर्व बुद्ध भएको वास्तविक तथ्य थाहा भएर नै ती दुवै स्तम्भहरुको निर्माण गरेका थिए वा बौद्ध धार्मिक ग्रन्थहरुमा गरिएका कल्पनाहरुका आधारमा नै ती स्तम्भहरुको निर्माण गरेका थिए ।
सुनन्दाले आफ्नो मनमा उठेका त्यस प्रकारका प्रश्नहरुबारे कैयौं बेरसम्म विचार गरिन् । तर ती प्रश्नहरुको उनले कुनै जवाफ निकाल्न सक्दैनथिन् र सकिनन् पनि । उनले सोचिन् ती प्रश्नहरुको सही जवाफ निकाल्नु उनको क्षमताभन्दा बाहिरको कुरा थियो । त्यसैले उनले त्यस प्रकारका प्रश्नहरुमा घोरिनुको सट्टा निग्लिहवासित सम्बन्धित ऐतिहासिक तथ्यहरुमाथि नै आफ्नो ध्यान केन्द्रित गर्न थालिन् ।
अशोक निग्लिहवामा दुई पटक आएका थिए । चिनियाँ यात्रीहरु फाहियान र हुयन–साङ्गहरुले पनि त्यो स्थानको यात्रा गरेका थिए । त्यसैले त्यो स्थान धेरै नै प्राचीन भएको कुरामा कुनै शङ्का थिएन ।
सुनन्दाले भाँचिएको अवस्थामा रहेको त्यो स्तम्भलाई केहीबेर हेरिन् । त्यसको तल्लो भाग अहिले पनि जमिनमा गाडिएको थियो भने, माथिल्लो भाग भाँचिएर जमिनमा लडेको थियो । त्यो जमिनमा गाडिएको भागलाई पुन: उठाएर जमिनमा गाडिएको भागसित जोडेर खडा गर्न पाए कति राम्रो हुन्थ्यो ? उनले मनमनै कल्पना गरिन् र आफ्नो मनमा सिङ्गो खडा भएको स्तम्भको चित्र खिँचिन् ।
त्यसपछि उनीहरु कुश्मा गाउँतिर लागे । उनीहरु कुश्मातिर जाँदै थिए दुवै जना चुपचापसित हिँड्दै थिए । तर सुनन्दाको मनमा लम्बिनी र कपिलवस्तुबारे कैयौं कुराहरु खेलिरहेका थिए ।
कैयौं पुरातत्व शास्त्रीहरुले रोहिणी, दानो, तेलार, कोठी, भागीरथी (वाणगङ्गा) आदि नदीको आसपासमा विभिन्न संस्कृति र सभ्यताहरुको विकास भएको निष्कर्ष निकालेका छन् । वास्तवमा कपिलवस्तु र रुपन्देहीको सम्पूर्ण क्षेत्र पुरातात्विक र प्राचीन सांस्कृतिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण रहेको छ ।
रुपन्देही लुम्बिनीका लागि र कपिलवस्तु तिलौराकोटको लागि अन्तर्राष्ट्रिय रुपमा नै प्रसिद्ध छन् । तर कपिलवस्तु र रुपन्देहीको महत्व त्यहीसम्म मात्र सीमित छैन । वास्तवमा ती दुवै जिल्लाहरुका सयकडौं स्थानहरु पुरातात्विक र ऐतिहासिक दृष्टिकोणले धेरै महत्वपूर्ण रहेका छन् । शताब्दीयौंसम्म लुम्बिनी र तिलौराकोट पनि जङ्गलमा ढाकिएर अदृष्य भएका थिए तर पछि बौद्ध साहित्यमा लेखिएको विवरण र कैयौं नेपाली र विदेशी सोधकर्ताहरुको अथक प्रयत्नद्वारा ती दुबै स्थानहरु प्रकाशमा आए । तर ती दुवै जिल्लाका अरु सयकडौं स्थानहरु अझै पनि धर्तीको गर्भमा लुकेर बसेका छन् र तिनीहरु उत्खननको प्रतिक्षामा छन् । ती सबैको उत्खनन हुन सकेमा रुपन्देही र कपिलवस्तुमा फैलिएको एउटा महान् प्राचीन सभ्यता अगाडि आउने थियो ।
कैयौं अनुसन्धानकर्ताहरुले कपिलवस्तु र रुपन्देहीका कैयौं स्थानहरु, त्यहाँका कैयौं ढिस्काहरुमा प्राचीन सभ्यताका सङ्केतहरु भएको अनुमान गरेका छन् । कतिपय स्थानहरुको विदेशी अनुसन्धानकर्ताहरुले अध्ययन वा उत्खनन् पनि गरेका छन् । ती दुवै जिल्लाहरुमा त्यस प्रकारका स्थानहरु असङ्ख्य छन्, जस्तै कि धान खोला, शिवगढी, सोनागढ, चनाघाट, खुरुरिया, बेदमौ, परशुरामपुर, पत्थरकोट, अमौली, कोपवा, बिकुली, सगरहवा, श्रीनगरा, बेल्होवा, कोट्हीकोट, निग्लिहवा, जहादी, अरौराकोट, चेत्रादेई, धम्निहवा, लोहसौडिया, रेहरा, औरहिया, रामघाट, डेरवा, पट्खहवा, आनन्दबाग, मुर्चहवा, बर्दहवा, लम्तिया, कुदान, दलदलाहा, डङ्गरी, पिपरी, गोटीहवा, सिंहखोर, हर्देवा, बभनीकोट, हर्दौना, कड्जहवा, दोहनी, सिसहनीया कोट, बेलुहवा, बिजुवा, मनखोरीया, धर्मपानीया, बिमियाकोट, मुडफुटुवा, दुईमुनिया, छोटी सिसनिया, कडी सिसनिया, सोहसपतरिया, परोरा, मनौरी, कालीदह, पैसीया, देवदह, बञ्जराही, निपनिया, पिप्रहवा, पर्रोहा, सैनामैना, भुतकुवा, लक्ष्मीपुर आदि ।
दुवै जिल्लाका कतिपय स्थानहरु विभिन्न देवी वा देवताहरुका नाममा रहेका छन् । जस्तै कि समय माइस्थान, तौलेश्वरनाथ, बालाकुण्ठ बराजु, मन्ठारीबाबा र कालीमाई, चञ्चाई माई, प्रकटेश्वर, मर्चवारी माई, कुमारवर्ती माई, भैरवनाथ, नरेश्वर, ऐरेनीस्थान आदि । यी विभिन्न स्थानहरुको नाम देवी र देवताहरुको नामबाट रहेको भए पनि ती स्थानहरु पुरातात्विक महत्वका स्थानहरु हुन् ।
बद्रे आलमले सुनन्दालाई कपिलवस्तु जिल्लामा करिब १३६, रुपन्देही जिल्ला ९९ र नवलपरासी जिल्लामा ४० पुरातात्विक स्थानहरु भएको बताएका थिए । तिनीहरुमध्ये उक्त तीन वटै जिल्लाहरुका यी स्थानहरु विशेष रुपले उल्लेखनीय भएको पनि उनले बताएका थिए : कपिलवस्तु – तिलौराकोट, निग्लिहवा, सगरहवा, गोटीहवा, कुदान, अरोराकोट, दोहनी, प्राचीन स्तूपा, सिसहनिया, धमनिहवा स्तूपा आदि । रुपन्देही – लुम्बिनी, देवदह (देवदहअन्तर्गत घोडहावा हाल बुद्धनगर, बैरीमाई, कन्यामाई, केरवानी क्षेत्र) आदि । नवलपरासी जिल्ला – रामग्राम स्तूपा, पण्डितपुर आदि ।
सरकारले लुम्बिनी र तिलौराकोटको उत्खननका लागि धेरै प्रयत्न गरेको छ र त्यो प्रयत्न प्रशंसनीय छ तर कपिलवस्तु, रुपन्देहीका सबै पुरातात्विक र ऐतिहासिक महत्वका स्थानहरुको विस्तृत रुपले उत्खनन गर्नुपर्ने आवश्यकता छ । बद्रे आलमले बताए अनुसार त्यही प्रकारका कतिपय महत्वपूर्ण स्थानहरु नवलपरासीमा पर्दछन् । त्यसरी कपिलवस्तुदेखि नवलपरासीसम्मको विस्तृत भूभागको एउटा मेघा प्रोजेक्ट नै बनाउनुपर्दछ । त्यसरी ती तीनै जिल्लाहरुको विस्तृत अध्ययन गरेमा ती तीनै जिल्लाहरुसँग सम्बन्धी प्राचीन सभ्यताको एउटा भव्य चित्र हाम्रो अगाडि आउने थियो । ती तीनै जिल्लाहरुलाई मिलाएर एउटा बौद्धकालिन वृहत्तर सहरको निर्माण गरिएमा त्यो अन्तराष्ट्रिय महत्वको एउटा पुरातात्विक सहर नै हुन सक्दथ्यो । त्यसले खाली ती तीनवटा जिल्लाहरुको मात्र होइन, नेपालको सम्पूर्ण इतिहासमा नयाँ आयाम थप्ने थियो ।
सुनन्दा अब रुपन्देही वा कपिलवस्तुमा छैनन् र उनले खाली लुम्बिनी तथा कपिलवस्तुका केही स्थानहरु तिलौराकोट, गोटीहवा, कुदान, निग्लीहवा, सगरहवा आदि केही स्थानहरुको मात्र अध्ययन गरेकी थिइन । तर ती तीन वटै जिल्लाहरु कपिलवस्तु, रुपन्देही, नवलपरासीको गर्भमा लुकेको त्यो अत्यन्त महान् सभ्यताबारे केही अनुमान मात्र गर्न सकेको भए पनि उनले कतिधेरै प्रसन्नता अनुभव गर्न सक्दथिन होला ? तर उनलाई न दाङ देउखुरीको प्रागऐतिहासिक ढुङ्गे युगिन सभ्यताको बारेमा नै ज्ञान हुन सक्यो, न उनले कपिलवस्तु, रुपन्देही र नवलपरासीको गर्भमा लुकेको एउटा महान सभ्यता, जसलाई कपिलवस्तु वा लुम्बिनी सभ्यता भन्न सकिन्छ, को नै अनुमान गर्न सकेकी थिइन ।
कुनै दिन लुम्बिनी, कपिलवस्तु तथा जुम्लाका सभ्यताहरु पनि लुकेर बसेका थिए तर कैयौं महान् खोजकर्ताहरुको प्रयत्नहरुद्वारा ती संसारको अगाडि आए । हामीले आशा गर्नुपर्दछ, कपिलवस्तु वा लुम्बिनीको सभ्यता पनि त्यसैगरी हाम्रा अगाडि आउने छ र त्यसबाट सारा संसार चकाचौध हुने छ ।
अब कुस्मा गाउँ आइपुगेको थियो र सुनन्दा तथा विद्या त्यहाँ पुगिसकेका थिए ।
मोहनविक्रम सिंह
(वरिष्ठ राजनीतिज्ञ/लेखक)
जनमत फागुन २०७८ मा प्रकाशित