म देख्दै छु— प्रत्येक पछिल्ला दिनहरू राम्रो बाटोमा जाँदै छन् । अब यिनको प्रगतिलाई धार्मिक अन्धविश्वास, सामाजिक रूढिहरू र सडेगलेका कुराहरूले रोक्न सक्दैनन् किनभने दुनियाँमा र मानिसमा हरतरहको जागृति उत्पन्न भइसकेको छ । अब हरेक साधारण मानिस हरेक कुरा र चीजबारे आफ्नै दिमागले सोच्न र आफ्नै आँखाले हेर्न सिकिरहेको छ । त्यसैले पहिलेजस्तै अब जनता धोकामा पर्नेछैनन् र खाल्डामा खस्नेछैनन् । एकातिर पण्डाहरू, पुरोहितहरू र धर्माधिकारीहरूका धार्मिक अन्धरूढिहरू र सामाजिक कुरीतिहरूको हतकण्डामा परेर जनताले आफ्नो दिमागमा ताल्चा लगाउनुपरिरहेको थियो, अर्कातिर जमिनदार, तालुकदार र राजामहाराजा आदि सामन्त तथा साम्राज्यवादीहरूका सदासदा दास र ताबेदार रहेर तिनैको प्रिय बन्नमा नै दिमागको सारा शक्ति खर्च गर्नपरिरहेको थियो । यसप्रकार जनताको मस्तिष्कमा विकास पुग्नु सम्भव नै थिएन । तर स्वार्थ धेरै लामो समयसम्म जिउँदै रहन सक्दैन किनभने मानिस विकासवादी र स्वतन्त्रताको इच्छुक हुनाले ऊ सदैव सत्य र तथ्यको खोजीमा रहन्छ । त्यसैले कसैको स्वार्थ तथा खराब नियतलाई उसले आज सकेन भने पनि भोलि त अवश्य नै पहिचान गर्दछ । क्रान्ति, विद्रोह र आन्दोलन यसै कुराका प्रतिक्रिया हुन् । तर स्वार्थी र खराब नियत भएका मानिसहरू पुराना परम्पराका आधारमा आफ्ना पाँचै औँलाहरू घिउमा डुबाइराख्ने बानी भएकाले क्रान्ति तथा आन्दोलनलाई कुल्चने प्रयत्न गर्दछन् जसको परिणाम पिठ्यूँ देखाएर भाग्नुबाहेक अरू केही हुन सक्दैन ।
अब खोटो नियत र कपट तथा स्वार्थका आधारमा मोज गर्नेहरू आजको दुनियाँको कुनै पनि कुनामा हाँसेर मात्र बस्न सक्नेछैनन् किनभने एकातिर पण्डाहरू, पुरोहितहरू र धर्माधिकारीहरूको स्वार्थका विरुद्धमा सामाजिक तथा धार्मिक क्रान्ति भइरहेका छन् भने अर्कातिर तिनको पृष्ठपोषणमा बाँच्ने सामन्त वर्गको विरोधमा राजनीतिक क्रान्ति चलिरहेको छ । धार्मिक क्रान्तिका साथै जनतामा राजनीतिक चेतना जागेकाले दुनियाँको रङ्ग एकदमै बदलियो । राजनीतिक जागरणबाट साम्राज्यवादी, उपनिवशवादी र सामन्तवादी आदि उत्पीडक तथा शोषकहरूका आसन हल्लन पुगे र एकपछि अर्को गर्दै उनीहरूले जनतासामु शिर निहुराउनै पर्यो । अरूको रगतपसिनामाथि मोज उडाउनेहरू आज संसारका प्राय: ती समस्त उत्पीडकहरूका दाँत भाँच्चिएका छन् र भाँच्चिँदै गएका छन् ।
क्रान्तिको लहर
राजनीतिक चेतनाको जागरण संसारमा पहिलेपहिले सोह्रौैँ शताब्दीमा नेदरल्यान्डमा भएको थियो । विलियम अफ अरेन्डाको नेतृत्वमा जागृत राजनीतिक चेतनाले फिलिप द्वितीयको शक्तिशाली बादशाही दाँत हल्लाउँदै जनतन्त्रताको जग हाल्यो । त्यसो त केही राजाहरूमा पनि राजनीतिक चेतना थियो तर त्यो केवल राजा र तिनका मन्त्रीहरूसम्म मात्र सीमित थियो । राजनीतिक चेतनाको मेरो तात्पर्य यहाँ जनक्रान्तिसित सम्बन्धित छ जुन स्वतन्त्रता, जनतन्त्रता र मौलिक अधिकारहरूका लागि जागृत भएको होस् । यसपछि क्रान्तिकारी बौद्धिक तथा राजनीतिक चेतना जनमनमा प्रवाहित हुँदाहुँदा सन् १७७६ मा अमेरिकामा बाढीकै रूपमा प्रत्यक्ष भयो । त्यहाँ जर्ज वासिङ्टनको नेतृत्वमा जनताले तन–मन–धनका साथ भारी आन्दोलन गरेका थिए । फलस्वरूप तिनीहरूले त्यहाँ राजतन्त्र र परतन्त्रको सिक्री तोडेर नै छाडे । त्यसपछि बढ्दै गएको राजनीतिक चेतनाको कारण सन् १७८९ मा क्रान्तिको आगो फ्रान्समा झन् उल्र्यो । फ्रान्सको जनक्रान्तिले त्यहाँ पनि जनताका मौलिक अधिकार प्राप्त गरेरै छाड्यो । बस, जनतामा आएको राजनीतिक चेतनाको जागरणले गर्दा संसारभरि जताततै क्रान्तिका झिल्काहरू उठ्न थाले ।
रूसी क्रान्ति
क्रान्तिहरूमा सबैभन्दा जोडदार क्रान्ति सन् १९१७ मा रूसमा भयो । लेनिनको नेतृत्वमा रूसका तमाम जनताले हत्केलामा प्राण राखेर जारशाहीविरुद्ध क्रान्ति गरे । त्यस्तो रक्तमयी शक्तिशाली क्रान्ति दुनियाँमा अन्यत्र कतै भएको छैन । त्यस रक्तक्रान्तिको ज्वालामा जारशाहीका तमाम खानदान–बालबच्चाहरूलाई समेत गोलीले उडाइएको थियो । शोषण र उत्पीडनले सन्तप्त र क्रुद्ध रूसी जनताले जारहरू र जारशाहीलाई बीउ नै बाँकी नरहने गरी समाप्त पारे । क्रान्तिद्वारा जारशाहीलाई पल्टाएर नराम्ररी कुल्चेपछि सोभियत रूस प्रगतिको बाटोमा कति जोडसित दगुर्योे भने मात्र ४२ वर्षहरूमा करिब दुई सय वर्षहरूमा दौडँदै संसारको अगाडि हिँडिरहेको अमेरिकालाई पनि पछाडि पार्यो । आज ऊ चन्द्रमामा पुग्ने लक्ष्यमा संलग्न छ । स्पुतनिक र दूरगामी रकेटको निर्माणले वैज्ञानिक गतिविधिमा विश्वमा सबैभन्दा अगाडि भएर परमाणुशक्तिको महाबली अमेरिकालाई हल्लाइदिएको छ । उसको औद्योगिक र आर्थिक स्थिति पनि दिनप्रतिदिन बलियो हुँदै गइरहेको छ । संसारमा आज सोभियत रूसकोे धाक कति जमेको छ भने दुनियाँमा तमाम मानिसहरू उसबाट शान्तिको आशा र आकाङ्क्षा राखिरहेका छन् । सय वर्षअगाडि लेखेर प्रचार गरिएको कार्ल माक्र्सको सिद्धान्तका आधारमा लेनिनले क्रान्ति गरेका थिए । आज त्यस सिद्धान्तको कति बोलबाला छ भने आधाभन्दा बढी दुनियाँ त्यसैलाई अँगाल्दै छ ।
चीनिया“ क्रान्ति
रूसपछि माउत्सेतुङको नेतृत्वमा चीनले माक्र्सको सिद्धान्तलाई झनै प्रज्वलित गरिदियो । सन् १९४९ मा चीनले साम्राज्यवादको तख्ता उल्टाइदिएको थियो र मात्र ९–१० वर्षमा नै चीनको तीव्र द्रुतगामी प्रगति देखेर संसार चकित भयो । तब साम्यवादप्रति दुनियाँको विश्वास अभैm बढ्न गयो ।
भारतमा पनि क्रान्तिको सुरुवात
भारतमा पनि राजनीतिक चेतना सय वर्षभन्दा अगाडिदेखि नै हुँदै आएको छ । भारतले सय वर्षअगाडि सन् १८५७ मा अङ्ग्रेज सरकारका विरुद्ध ठुलै राष्ट्रिय क्रान्ति गरेको थियो । सन् ‘५७ को गदर’ नामले त्यो क्रान्ति विश्वमा प्रख्यात छ । त्यो ऐतिहासिक विद्रोह स्थायी रूपले रहन पुग्यो । यद्यपि भारतको त्यस राष्ट्रिय विद्रोहलाई अङ्ग्रेजहरूले नराम्ररी कुल्चिदिएका थिए तर त्यस विद्रोहले अङ्ग्रेज सरकारको जग कति धेरै हल्लाइदियो भने अन्त्यमा त्यसले धाराशायी बनेर माटो खानुपर्यो ।
अङ्ग्रेजहरूले सेनाको बलले सन् ‘५७ को क्रान्तिलाई त दबाए तर भारतमा उठेको राजनीतिक चेतनालाई दबाउन सकेनन् । अङ्ग्रेज सरकारले असङ्ख्य क्रान्तिकारीहरूलाई मृत्युको घाटमा पुर्याइदिएका थिए । भारतभूमिमा विद्रोहमा मारिएका भारतीय वीरहरूको रगतको बाढी नै आएको थियो, तर ती वीरहरूको रक्तप्रवाहलाई देखेर बाँकी भारतीय वीरहरू रोएर बसेनन्, बरु ती सहिदहरूको कामना पूरा गर्नका लागि मनैमनमा सङ्कल्प गर्न थाले । ती सहिदहरूको रगतले बाँकी भारतीयहरूको मनमा अचानक नै राजनीतिक चेतना बढ्न थाल्यो ।
पहिले भारतका हिन्दूहरूमा तँ–तँ, म–मदेखि झगडा र हातपातको पराकाष्ठासमेत हुन्थ्यो । हिन्दूहरूको पारस्परिक सङ्कीर्णताको भावना जागेर तिनको शिरमा हरसमय साम्प्रदायिकताको भूत सवार थियो । पछि मुसलमानहरू आउनाले त झन् भारतमा सदैव झगडाको आगो लाग्न थाल्यो । वैमनस्य र साम्प्रदायिकताको आगो बढ्दैबढ्दै मारकाटसम्म सुरु हुन थाले । तर हिन्दू र मुसलमानहरूबीच एकअर्काको जन्मजात शत्रु ठान्ने वास्तविक साम्प्रदायिक भावना भने हिन्दूस्तानमा अङ्ग्रेजहरूको प्रवेशपछि नै बढी उत्पन्न भयो । “फुटाऊ र राज्य गर” भन्ने नीति अङ्ग्रेजहरूले अँगाले र आफ्नो नीतिको भाङमा मह र गुलाबजल घोलेर हिन्दूमुसलमानहरूलाई खुवाउन थाले । तर बिचरा हिन्दू र मुसलमानहरूलाई के थाहा, त्यसमा भाङको नशा पनि छ । शुद्ध मह र गुलाबजलको घोट्टा सम्झेर अङ्ग्रेजहरूलाई धन्यवाद दिँदै उनीहरूले त्यो भाङ हाँसीहाँसी पिउन थाले । नशाले आफ्नो प्रभाव देखाउन किन पो छाड्थ्यो र ? बस, केहीबेरमै नशामा चूर भएर हिन्दू र मुसलमानहरू छुरी र खन्जर लिई मैदानमा दगुर्न थाले र एकअर्काको छातीमा घोप्न थाले । आश्चर्यको कुरा त के छ भने होस आँउदा पनि उनीहरूमा बेहोसीको भाव छाई नै रह्यो । तिनीहरू हमेसा के भन्दै छन् भने काफिर हिन्दूहरूलाई समाप्त नगरेसम्म हामी चैनको सास फेर्नेछैनौँ र म्लेच्छ मुसलमानहरूलाई हिन्दूस्तानबाट नलखेटेसम्म हामी आनन्दको सास फेर्नेछैनौँ । अङ्ग्रेजहरूद्वारा पिलाइएको यो मीठो नशा लागू पदार्थभैmँ बनेर आजसम्म पनि केहीकेही हिन्दू–मुसलमानहरूमा लागिरहेकै छ । त्यस लागूका कारण विशाल र अखण्ड भारतभूमि आज पाकिस्तान र हिन्दूस्तान बनेर दुई टुक्रा भएको छ ।
तर खुसीको कुरा के छ भने अङ्ग्रेजहरूको फुटाउने नीति चलिरहँदा पनि हिन्दूस्तानका हिन्दू–मुसलमान दुई विशेष जाति तथा सम्प्रदायहरूमा सन् १८५७ देखि राष्ट्रियताको गर्भधारण भएको थियो । सन् ५७ को गदरमा हिन्दू–मुसलमान दुवै जातिले काँधमा काँध मिलाएर अङ्ग्रेजविरुद्ध विद्रोह गरेका थिए । एकता र राष्ट्रियताको बीजारोपण पनि हिन्दू–मुसलमानहरूबीच मूलत: त्यसै समयदेखि भएको थियो । हुनत अङ्ग्रेजहरूको चालबाजी र छक्कापन्जाबाट सन् ‘५७ को त्यो एकता तथा राष्ट्रियता ९० वर्षपछि सन् १९४७ मा अन्तत: पाकिस्तानका रूपमा गर्भपात भएर नै छाड्यो तर फेरि पनि एकता र राष्ट्रियताको बीउ कति शक्तिशाली र आश्चर्यजनक हुन्छ भने त्यसले अर्को अंशमा प्रशस्त मात्रामा एकताको सूत्र र राष्ट्रियताको जागरण गराउने क्षमता भएका सपूत तथा नेताहरूलाई जन्मायो । ती नेताहरूमा महात्मा गान्धी आज आफ्नो भारतमा मात्र होइन, सारा दुनियाँमा सुविख्यात र प्रभावशाली नेता छन् । महात्मा गान्धीले भारतीयहरूको हृदयमा एकता र राष्ट्रियताको भावना कतिसम्म जगाइदिएका छन् भने अङ्ग्रेजहरूको कूटनीति र चालबाजी पनि छक्क पर्यो र त्यसको सिंहासन हल्लन थाल्यो ।
स्वराज्यको आवाज
महात्मा गान्धीभन्दा पनि पहिले भारतमा दुईचार योग्य नेताहरू भइसकेका थिए । सन् ‘५७ को विद्रोहनिम्ति लोकमान्य तिलकले भारतको मुक्तिनिम्ति आवाज उठाए । “स्वराज्य हाम्रो जन्मसिद्ध अधिकार हो” को नारा लगाएर स्वतन्त्रताका लागि तिनले भारतीयहरूलाई आह्वान गरे । साथै गोखले, विपीनचन्द्र पाल, सी.आर. दास आदि नेताहरूले पनि स्वराज्यका लागि अङ्ग्रेजविरुद्ध मोर्चा कसे । तब हिन्दूस्तानमा स्वराज्यका निम्ति केही जोस पनि आयो । तर यिनबाट अङ्ग्रेजहरूको मन डरले झसङ्ग भए पनि आफ्नो अजेय शक्तिको भरोसामा मस्त भएर तिनीहरूले के सम्झन थाले भने यी किराहरूबाट हाम्रो रौँ पनि हल्लन सक्दैन ।
तर स्वतन्त्रताका लागि भएका क्रान्ति र उठेका आवाजहरू यद्यपि शक्तिको प्रभाव र दमनका बलले दबिन्छन् तर मर्न सक्दैनन् । त्यो आगो भित्रभित्रै दन्किरहन्छ र अनुकूल स्थिति आएपछि सहसा आगलागीका रूपमा प्रज्वलित भएर उठ्दछ जसमा उत्पीडक, शोषक र अत्याचारीहरूको सम्पूर्ण शक्ति डढेर भस्म बन्दछ एवं तिनले अरूबाट लुटिएका समस्त चीजहरू अर्थात् सबै अधिकारहरू उत्पीडितहरूको चरणमा सर्माउँदै धरोहरका रूपमा फर्काउनै पर्दछ ।
जसले ४० करोड जनसङ्ख्या भएको विशाल भारतलाई हड्पेर राखेका थिए, त्यो लघुसङ्ख्याको सानो देश इङ्लिस्तानको अङ्ग्रेज सरकार कति मजबुत र शक्तिशाली थियो भने हिटलर त त्यसको जानीदुश्मन नै थियो तर हिटलरको साथ यदि सिकन्दर र नेपोलियन पनि एकसाथ मोर्चा कसेर आउँथे भने पनि तिनले पनि पुच्छर लुकाएर भाग्नुपर्ने हुन्थ्यो ।
गान्धीको नेतृत्व
यस्तो स्थितिमा अङ्ग्रेजहरूका विरुद्ध विद्रोह गर्नु, क्रान्ति गर्नु र लड्नु सहज थिएन; फलामका चिउरा चबाउनु थियो । तर कसैप्रति अन्यायको अतिक्रमण हुन्छ भने त्यो अन्यायी जतिसुकै बलशाली किन नहोस्, त्यसलाई माटोमा मिलाउनेवाला कुनै न कुनै निस्किहाल्छ । सन् १७५७ देखि परतन्त्र भारत स्वतन्त्रताका लागि त्यस शक्तिशाली अङ्ग्रेजसँग सङ्ग्राम गर्न नाङ्गा र निरस्त्र गान्धी निस्के । यस्तो अद्भुत र विचित्र व्यक्ति विश्वको इतिहासमा अर्को छैन । अद्भुतअद्भुत शस्त्र र अपार शक्तिशाली अङ्ग्रेजहरूसित नाङ्गो हातले लड्नु र तिनलाई भारतबाट भाग्न चुनौती दिनु कम आश्चर्यको कुरा होइन । महात्मा गान्धीलाई के कुरा राम्ररी थाहा छ भने अङ्ग्रेजहरूको अपार शक्ति शस्त्रबाट झुक्न सक्दैन । उनलाई के पनि थाहा छ भने आजको समयमा संसारको कुनै पनि शक्तिले उसलाई झुकाउन सक्दैन । त्यसैले यस्तो शक्तिको मुकाबलामा सशस्त्र क्रान्ति गर्नु र हिंसात्मक विद्रोह गर्नु माटोका डल्ला लिएर सिंहको सिकारमा जानुसरह हो । अतएव यस विचित्र व्यक्तिले शक्तिसम्पन्न अङ्ग्रेजहरूका साथमा नाङ्गै र शस्त्रास्त्ररहित भएर नै लड्ने सोच बनायो र यस नैतिक तथा आदर्श सङ्घर्षका लागि जनमत र जनबलको परम आवश्यकता देखेर भारतका समस्त जनतासित आह्वान र अपील गर्यो । सुरुसुरुमा त उनको कुरा सुनेर भारतीय जनता हाँस्न थालेका थिए तर उनको भावनामा पवित्रता, उनको रगतमा राष्ट्रियता, उनको कर्ममा विचित्रता, उनको लगनमा दृढता र उनको सुझबुझमा सशक्तता देखेर सारा जनताले उनको सङ्घर्षमा सहयोगमात्र गरेनन्; उनलाई आफ्नो सबैभन्दा ठूलो नेताको मान्यता पनि दिए । उनको प्रभावशाली नेतृत्वमा हिन्दूस्तानका समस्त जाति, आबालवृद्ध र महिलाहरू पनि स्वतन्त्रताका लागि आपूmलाई बलिदान गर्न तयार भए । विद्यार्थीहरू परीक्षा, स्कुल र कलेज छाडेर मैदानमा डट्न थाले र मनुको जमाना अर्थात् आदिकालदेखि केवल आँगन र पर्दामा रहेर पुरुषहरूको सेवा गर्दै आइरहेका नारीहरू पनि गान्धीको आह्वानमा आँगन र पर्दाबाट बाहिर आएर मैदानमा जुट्न थाले ।
यसप्रकार हिन्दू, मुसलमान, जैन, सिख, ब्राह्मण, शूद्र, छुत–अछुत, नरनारी सबै जाति र वर्णका मानिसहरू गान्धीको अहिंसासेनामा भर्ना हुन थाले । यति धेरै देशप्रियता र राष्ट्रियताको भावना हिन्दूस्तानको इतिहासमा पहिले कहिल्यै जागेको थिएन । परस्परको बेमेल र साम्प्रदायिक तँ–तँ, म–मको कारण नै हिन्दूस्तानको दुर्गति भएको थियो र परतन्त्र भएर अङ्ग्रेजहरूका पैताला चाटेर बस्नुपरेको थियो । यसै कुरालाई गान्धीले मुख्य कारण ठानेर उत्पीडक र शोषकहरूसित सङ्घर्ष गर्नका लागि एकता र राष्ट्रियताको सशक्त आवश्यकता देखे र यसैका निम्ति सम्पूर्ण प्रयास गर्न थाले ।
गान्धी नयाँ र पुराना प्रगति र परम्परा, शान्ति र क्रान्ति इत्यादि द्वन्द्वहरूको उपयुक्त समन्वयवादी र अद्भुत संयुक्त मूर्ति थिए । उनी हरेक कुराको उपयोगिता जान्दथे र हरेक उपयोगितालाई ग्रहण गर्नबाट चुक्दैनथे । गान्धी दुनियाँको हरेक सम्प्रदाय, धर्म, जाति र व्यक्तिको सम्मान तथा आदर गर्ने बानीका कारण पनि विश्ववन्द्य भएका छन् । उनी कुनै पनि कुरामा रहेको असल गुणलाई सहर्ष अँगाल्दथे । हिन्दूस्तानको रहनसहन, वातावरण र प्रकृतिलाई जति सूक्ष्मतासाथ गान्धीले बुझेका थिए त्यति आजसम्म अरू कसैले बुझेको छैन । उनी हरेक कुरालाई मसिनो गरी हेर्थे र प्रत्येक कुरालाई गहिराइसित विचार गरेर अगाडि बढ्दथे । उनले हिन्दूस्तानको नाडीलाई राम्ररी छामेका छन्; चिनेका छन् । त्यसैले उनले स्वराज्यको लडाइँमा योगदान पाउन सबैलाई प्रभावित पार्न सके ।
जहाँसम्म म सम्झन्छु, गान्धी पुरै प्रगतिशील तथा क्रान्तिकारी व्यक्ति हुन् । उनको सबैभन्दा ठूलो ध्येय हो देशलाई पराधीनताको जन्जिरबाट मुक्त पार्नु र करोडौँ भारतीयहरूलाई विकासको हावा खुवाउनु । त्यसैले सबैको योगदान पाएर आफ्नो सङ्घर्षलाई सफल बनाउनका लागि अवकाशको कमी हुँदाहुँदै पनि रामनाम–महिमाका गल्लीहरूमा गएर चिच्याउन र नाच्नसमेत हिच्किचाउँदैनथे । उनले हिन्दू सम्प्रदायको कुष्ठरोग बनेको जातिभेदलाई हटाएर अछुतहरूलाई मन्दिर प्रवेश गराउन र तिनीहरूलाई आर्थिक, सामाजिक तथा राजनीतिक सार्वभौमिकताको अधिकार दिलाउनका लागि जिउज्यानले प्रयत्न गरे एवं धेरै हदसम्म सफल पनि भए, यद्यपि यति मात्रामा प्रगतिशील तथा क्रान्तिकारी हुँदाहुँदै पनि हिन्दूहरूलाई नर्कमा लैजाने वर्णाश्रम धर्मलाई स्वीकार गरेर निन्द्यपरम्पराको फोहरलाई पनि उछाली नै रहे । यद्यपि उनको यो नीति आलोचकहरूका दृष्टिमा श्लाघ्य भएन तथापि यसबाट उनको सङ्गठनमा प्रशस्त शक्तिसञ्चार भयो । यता शूद्र र अछुतहरूदेखि लिएर उता ब्राह्मण तथा उच्च वर्गहरूको सहयोग पनि उनलाई मिल्यो । वास्तवमा वर्णाश्रम धर्मलाई मान्यता दिनु त खालि शाब्दिक नम्रता र सन्तुष्ट पार्ने उनको एक कलामात्र हो । यतिबाट कोही खुसी र सन्तुष्ट हुन्छ भने यसमा आपत्ति नै के छ र ? गान्धीको विचार थियो— यसबाट त्यस क्षेत्रका सारा मानिसहरू पनि आफ्नो पक्षमा हुनेछन् । यथार्थमा गान्धी बडो चलाख र यस युगका चाणक्यमात्र होइनन्, चतुर चाणक्य हुन्, जबकि अछुतहरूलाई सर्वतोभावेन पुरै अधिकारहरू दिएर जातिभेदलाई नै तोडिदिने हो भने वर्णाश्रम धर्मको मान्यतामा प्राण नै कहाँ रहन जान्छ र ?
यसबाट के थाहा हुन्छ भने वेशभूषा र रहनसहनमा परम्पराका पुजारी देखिँदादेखिँदै पनि यथार्थमा गान्धी प्रगतिशील तथा क्रान्तिकारी छन् । यसरी नै उनले स्त्रीहरूलाई पनि पतिभक्ति र अन्य हिन्दू गृहस्थ–परिपाटीमा रहने उपदेश दिएर पनि तिनीहरूलाई मैदानमा उत्रन र आफ्ना अधिकारहरूका लागि जोसित पनि सङ्घर्ष गर्दै विकासको क्षेत्रमा अगाडि बढ्नका लागि आह्वान गरेका छन् ।
गान्धीले रामभजन, प्रार्थनासभा, चर्खा, गौसेवा तथा कतिपय परम्पराहरूलाई स्वीकार गरेर यी कुराहरूमा विश्वास राख्ने पुरानो संस्कारका मानिसहरूलाई आफ्नो साथमा लिए । यसरी आफ्नो सङ्गठन बलियो बनाएर उनले अङ्ग्रेजहरूलाई भारत छाडेर जान चुनौती दिए । गान्धीको गम्भीर नीति र अलौकिक प्रवीणता देखेर भारतीय जनताले उनलाई मैदानमा आउनासाथ आफ्नो नेतृत्व सुम्पे र उनको नेतृत्वमा रहेर प्राणसम्मको बलिदान दिन पनि तयार बने । अनौठाअनौठा शस्त्रास्त्रले युक्त अपार शक्तिशाली अङ्ग्रेजहरूसित लड्नका लागि गान्धीले अहिंसालाई अँगाले र केवल अहिंसाबाट नै उनीहरूका शस्त्र–अस्त्र बेकार बनाएर अङ्ग्रेज सरकारको दुम निकाल्न सकिन्छ भन्ने विश्वास उनले गरे र सबै जनतालाई विश्वस्त बनाए । बस यसै विश्वासको आत्मबल र आत्मभरोसाबाट उनले अङ्ग्रेज सरकारका साथमा अहिंसात्मक सङ्घर्ष गरे । सत्याग्रह, हड्ताल, सविनय–अवज्ञा आन्दोलन, अनशन इत्यादि साधन उनका हतियार थिए । उनको सत्याग्रह र अनशन आदिमा कति प्रभाव थियो भने अङ्ग्रेज सरकार काँप्दथ्यो र उनको योग तथा दावीप्रति उसले झुक्नै पर्दथ्यो । तर गान्धी खास कुरा अर्थात् सत्यतापूर्ण तथ्यमा एवं असह्य अन्याय आदि हुँदा मात्रै आफ्नो अहिंसात्मक हतियार उठाउँथे । यसप्रकार एक थोपा रगत नबगाई तथा कसैको हृदयमा घाउ तथा चोट नपुर्याई अङ्ग्रेज सरकारजस्तो मानौँ “नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावक” शक्तिलाई आफ्नो भूमि भारतबाट सदाका लागि हटाइदिए । गान्धीको हर कदममा अङ्ग्रेज सरकार आत्तिन्थ्यो । यसैगरी ज्यान हत्केलामा लिएर उनले साम्प्रदायिक दङ्गाहरूलाई सुल्झाए र राष्ट्रियता तथा भ्रातृभाव जगाए । सन् १९४७ मा नोवाखली काण्ड र पटनाकाण्डमा उनले गरेका प्रयास र योगदान विशेष उल्लेखनीय छन् । त्यस समय उनी हुँदैनथे र उनी बलिदान दिनका निम्ति तयार बन्दैनथे भने ती काण्डहरूमा हिन्दू र मुसलमानहरूको रगतको भलले भारत नै बग्ने सम्भावना थियो । आफ्नो जीवनमा उनले भारत, राष्ट्रियता एवं मानवताको सुरक्षाका लागि यस्ता त्याग वा कुर्बानी कति गरेका छन् भन्ने कुरा गनेर सकिँदैन ।
सङ्गठन गर्नमा, जनतालाई एकतामा ल्याउनमा र ठूलाठूला समस्याहरू हल गर्नमा गान्धी उस्ताद छन् । उनी यस्तायस्ता तौरतरिका निकाल्छन् जसलाई देखेर सबै छक्क पर्दछन् । तर उनका प्रत्येक सोच तथा पाइलामा त्याग छ, तपस्या छ र लगन छ । त्यसैले उनका सबै काम प्रभावशाली र श्लाघ्य हुन्छन् ।
कुनैकुनैले महात्मा गान्धीलाई परम्परावादी एवं पुराना विचार र संस्कारका कट्टर हिन्दू भन्दछन्, तर मसिनो गरी हेर्ने हो भने यी आरोपहरू बिल्कुलै गलत साबित हुन्छन् । के कुराचैँ अवश्य सत्य हो भने गान्धी हिन्दू हुन् । हिन्दू हुनुको नाताले उनी हिन्दू संस्कृतिका कतिपय परम्पराहरूलाई ग्रहण गर्न सक्दछन् । यदि चीज राम्रो छ भने पुरानै भए पनि अँगाल्न सकिन्छ, यदि चीज खराब छ भने नयाँलाई पनि छुनु हुँदैन । गान्धी टुप्पी राख्छन्, टीका लगाउँछन्, गाईलाई पुज्दछन् र मासु, रक्सी, लसुन र प्याज आदि खाँदैनन् भने यसबाट कसलाई के नोक्सानी पुग्दछ ? गान्धी भजन गर्छन्, प्रार्थनासभा गर्छन् भने यसबाट पनि कसलाई के नोक्सान हुन्छ ? मैले माथि अनेकपटक के भाव व्यक्त गरिसकेको छु भने उनका भजन र प्रार्थनासभा अरू भजन तथा प्रार्थनासभा जस्ता होइनन्, तिनमा प्रशस्त ज्यान छ, उनका ती क्रियामा शक्तिसङ्ग्रहको उपासना छ, सम्भावना छ । उनले भजन, प्रार्थना र हिन्दूत्वका संस्कारलाई अपनाउनु र केही परम्पराहरूलाई मान्यता दिनु गौण कुरा हुन्, यिनै कुराहरूमा उनको कुनै प्राधान्य छैन । यद्यपि उनमा यी सबै गुणहरू छन् तथापि उनीमाथि अनावश्यक टीकाटिप्पणी र खिचातानी गरी उनलाई प्रतिक्रियावादी वा कोरा परम्परावादी सम्झनु नितान्त भूल हो । वास्तवमा जनताले के हेर्नुपर्दछ र के सोच्नुपर्दछ भने सबै मिलाएर उनले के गरे एवं उनको गति र नेतृत्वले हिन्दूस्तान कहाँ पुगेको छ ? समयको बचतका लागि दुई शब्दमा उत्तर दिनुपर्यो भने हामीले भन्नै पर्नेछ— उनी यथार्थमा प्रगतिशील तथा क्रान्तिकारी छन् ।
महात्मा गान्धी आफ्नो राष्ट्र हिन्दूस्तानको स्वतन्त्रतासङ्ग्रामका अग्रगण्य योद्धा त थिए नै, साथमा अन्तर्राष्ट्रहरूमा पनि उनी शान्तिका अग्रदूत थिए । उनी स्वदेशको सुख र मुक्तिका साथमा सदैव विश्वको सुखशान्तिका लागि पनि उत्सुक र प्रयत्नशील रहन्थे । त्यसैले आज राष्ट्रले उनलाई राष्ट्रपिता र अन्तर्राष्ट्रले शान्तिदूत एवं विश्वविभूति मानेर यथोचित सम्मान गरेको छ ।
गान्धीले राजनीतिक चेतनालाई कति जगाइदिए भने हिन्दूस्तानका बच्चाबच्चा जागरुक र चेतनशील भएर राजनीतिक अखाडाका पहलमान बन्दै गइरहेका छन् । गान्धीको नेतृत्वबाट तयार भएका राजनीतिज्ञहरूमा पं. जवाहरलाल नेहरू सबैभन्दा ठूला नमुना हुन् जो उनका उत्तराधिकारी भएर आज घर तथा बाहिर सर्वत्र प्रसिद्धि पाइरहेका छन्; विश्वका सर्वश्रेष्ठ नेताहरूमा एक विश्वनेता भइरहेका छन् र विश्वशान्तिका आशाकेन्द्र भएर सबका आकर्षण भइरहेका छन् । गान्धीका श्रेष्ठ नैतिक आदर्श र उनीद्वारा भरिएको आत्मबलका माध्यमले आज विश्व उनका विचार, सन्देश तथा प्रभावका लागि लालायित रहन्छ । उनको समर्थन तथा विरोधको महŒव र मूल्य दिनप्रतिदिन संसारका बढिरहेको छ । मुलुकमा प्रगति र विकास गर्न र बढाउनका लागि पनि उनी जिउज्यान लगाएर प्रयत्न गर्दै छन् । कस्तो लक्षण देखिँदै छ भने थोरै वर्षहरूमा नै भारत उन्नति तथा प्रगतिको शिखरमा पुगेर विश्वशान्तिको प्रभावकेन्द्र बन्नेछ ।
सन् १८५७ र गान्धीको नेतृत्वपछि बढ्दै गएको राजनीतिक चेतनाका कारण अरू पनि असङ्ख्य राजनीतिज्ञ तथा नेता भारतमा भएका छन् । तिनमा सुभाषचन्द्र बोस पनि पं. नेहरूजत्तिकै प्रभावशाली र लोकप्रिय थिए । जसको आश्चर्यजनक वीरता, युद्धोत्साह र प्रभावशालिताले अङ्ग्रेज सरकारलाई हल्लाइदिएको थियो र जसको पाइला स्वराज्य–प्राप्तिको एक प्रभाव बन्न गएको छ । स्वराज्य प्राप्त हुनमा एउटा शक्तिशाली प्रभाव सन् १९४२ को राष्ट्रव्यापी क्रान्ति पनि हो जसको नेतृत्व जयप्रकाश नारायणले गरेका थिए । सन् ४२ को त्यस क्रान्तिले पनि भारतीय सङ्गठन, उत्साह र जनमत अङ्ग्रेजहरूलाई देखाइदियो, जसलाई देखेर अङ्ग्रेज सरकारले गुन्टा बाँधेर भारतबाट जानुमा नै आफ्नो कल्याण सम्झन थाल्यो । आज विश्वविख्यात उनीहरू क्रान्तिकारी नेता राजनीतिबाट सन्न्यास लिएर गान्धीका सामाजिक वा आध्यात्मिक उत्तराधिकारी शिष्य विनोवा भावेको नेतृत्वमा भूदानयज्ञको आन्दोलन पनि देशकल्याणका लागि एक परम तथा प्रभावशाली कार्य हो जो भारतको प्रकृति, संस्कृतिका लागि परमोत्कृष्ट तथा हितकारी छ, तथापि जयप्रकाश नारायणजस्ता प्रवीण र प्रभावशाली राजनीतिक नेताको राजनीतिक सन्न्यास देशका लागि हानिको कुरा हो । यसबाट राजनीतिक चेतनामा पनि ठेस पुग्न सक्दछ किनभने अभैm पनि भारतलाई त्यसको आवश्यकता छ ।
भारतीय स्वतन्त्रतासङ्ग्रामदेखि राजनीतिक चेतना झन् जागृत
भारतको स्वतन्त्रतासङ्ग्राम र त्यसको सानदार सफलताबाट संसारमा अझ बढी राजनीतिक चेतना र जागृति बढ्न गयो । उपनिवेशवादका विरुद्ध सङ्घर्ष गरी स्वतन्त्र हुने उत्सुकता र छटपटी प्राय: सबै पराधीन मुलुकहरूलाई भयो र करवट बदल्नासाथ अङ्गडाई लिँदै उपनिवेशवादबाट पीडित समस्त जनता मैदानमा डट्न थाले । फलस्वरूप आज दक्षिण अफ्रिकाजस्तो पिछडिएको मुलुकले पनि अङ्ग्रेज सरकार अर्थात् उपनिवेशवादी सशक्त राष्ट्रहरूसित टक्कर लिन थाले; उनीहरूले आज लुटिएका अधिकारहरू फिर्ता दिएर जानका लागि चुनौती दिन थालेका छन् । घाना, गिनी, मोरक्को, ट्युनिसिया, सुडान आदि मुलुकहरू त मुक्तिसङ्ग्राममा सफल भएर स्वतन्त्र पनि भएका छन् । न्युजिल्यान्ड, अल्जेरिया, नाइजेरिया, केन्या, क्यामरून, इरिट्रिया, युगान्डा, जन्जीबार, सोमालील्यान्ड आदि देशहरू स्वतन्त्रताका लागि लडिरहेका छन् । त्यहाँका समस्त जनता कुर्बानीका लागि तयार छन् । दक्षिण अफ्रिकाका प्राय: सबै मुलुकहरू गान्धीको अहिंसानीतिको बाटोमा लड्दै छन् । गान्धीको अहिंसानीति र त्यसको सफलताबाट त्यहाँका जनता र नेताहरूलाई धेरै प्रेरणा मिलेको छ र हदैसम्म त्यस नीतिलाई अँगाल्दै छन् । गान्धी तथा भारतको स्वतन्त्रतासङ्ग्रामबाट एसियामा प्रशस्त मात्रामा राजनीतिक चेतना र प्रेरणा मिलेको छ । यद्यपि धेरै ठाउँहरूमा बाध्य भएर सशस्त्र क्रान्ति पनि भएको छ । नेपालमा पनि सन् १९५० मा राणासरकारको हुकुमी तन्त्रका विरुद्ध नेपाली काँग्रेसको नेतृत्वमा नेपाली जनताले सशस्त्र क्रान्ति गरेका थिए तर क्रान्ति सफल भएपछि नेपाली काँग्रेस, अन्य प्राय: नेपाली राजनीतिक दल तथा प्राय: नेपाली जनता अहिंसानीतिमाथि श्रद्धा राख्दै छन् । सन् ५० को जनक्रान्तिपछि स्थापित सरकारहरूसित पनि नेपालमा जनता तथा पार्टीको सङ्घर्ष भइसकेको छ तर स्पष्ट अर्थमा प्राय: गान्धीकै नीति अपनाइएको छ । केभन्दा अत्युक्ति हुनेछैन भने नेपाली जनतामा राजनीतिक चेतनाको जागरण गान्धी र भारतको प्रेरणाबाटै भएको हो । आजसम्म संसारमा जति पनि राजनीतिक क्रान्ति भएका छन् तिनमा भारतको क्रान्ति सबैभन्दा प्रशंसनीय र अद्भुत छ । यसको श्रेय एकमात्र गान्धीको अहिंसानीतिलाई नै छ । एक थोपा रगत नबगाई यति ठूलो देशको क्रान्ति सफल हुनु, यति ठूलो शक्तिलाई मीठो मुखले देशबाट निकालेर धपाउनु कम आश्चर्यको कुरा होइन । गान्धी अर्थात् भारतको अद्भुत सफलताले दुनियाँमा राजनीतिक चेतना र प्रेरणा कति बढ्यो भने इँट, ढुङ्गा र जडपदार्थसमेत सायद जागे–उठे हुनन् । आज गान्धी र हिन्दूस्तानको यस आदर्शले गर्दा संसार नैतिकताको सम्मान गर्न जान्दै छ ।
विशेषत: भारत, रूस, चीन आदि राष्ट्रहरूको सफलताबाट संसारमा दिनदिनै राजनीतिक चेतना बढिरहेछ । गान्धी, लेनिन, माओत्सेतुङ आदि श्रद्धेय तथा प्रात:स्मरणीय नेताहरूको नेतृत्वबाट विश्वका जनताहरूमा राजनीतिक चासो बढ्दै छ र सामन्ती, साम्राज्यवादी शोषक तथा उत्पीडकहरूसित सङ्घर्ष गरी देश र समाजमा सुख र शान्ति छाउनमा होड चलिरहेछ । आजको मान्छेले अन्यायी र शोषकहरूका अन्याय र उत्पीडनलाई चुपचाप सहेर बस्नेछैन, हक तथा न्यायका आधारमा तिनीहरूसँग लडेर तिनीहरूलाई ठीक बाटोमा ल्याएरै छाड्नेछ । आजका नारीहरू पुरुषहरूलाई प्रेमको आधारमा प्रभु ठानेर पूजा त गर्नेछन् तर अन्यायमा उनीहरू तिनका दासी बनेर कहिल्यै बस्नेछैनन् । यी कुराहरू राजनीतिक चेतनाको जागरणकै परिणाम हुन् जुन समाज र राष्ट्रहरूलाई सन्तुलित राखी सुख, शान्ति र न्याय प्रदान गर्नमा समर्थ छन् ।
जनतामा राजनीतिक अन्धता हुनाले शासक तथा अधिकारीहरू मनोमानी गर्न थाल्दछन्, कहाँसम्म भने रगतपसिना पिउनसमेत हिच्किचाउँदैनन् । यसै कारणले समाजमा तथा देशमा उन्नति ढिलो हुन्छ र जनता शोषण र गरिबीले सुक्दछन् । संसारमा आखिर यस्तो भएरै छाड्यो । राजा तथा शासकहरूद्वारा पोषित ब्राह्मण, मौलवी र पादरीहरूको ‘आम जनतालाई राजनीतिसित मतलब छैन’को मन्त्र पढेर सीधासादा जनता राजनीतिबाट टाढा भएकै हुनाले शासित उनीहरू धोकाको सिकार भए, शोषण र गरिबीको चक्रमा फँसेर उनीहरू हाडछाला बने । तर फेरि पनि जनता राजनीतिक चेतनाको अभावकै कारण हाम्रो यस्तो दुर्दशा र स्थिति भइरहेको छ भन्ने कुरा सोच्दैनन्, अभैm पनि तिनलाई के विश्वास (भ्रम) छ भने राजनीति हाम्रो विषय होइन, यो त राजा वा शासकहरूको एकमात्र विषय हो । हुन पनि यस्तै नै भइरहेछ । राजनीतिलाई राजा, शासक वा शासनाधिकारीहरू आफ्नो बपौती ठान्दै छन् र गैरजनता त यसमा चासो नै लिँदैनन् । यसको परिणाम के भयो भने राजा वा शासकहरूका मनोमानी र अन्यायहरूबाट उत्पन्न स्थितिहरूलाई पनि जनताले आफ्नो भाग्य वा दशा ठान्न थालेका छन् ।
तर आज सौभाग्यले दुनियाँमा समस्त जनतामा राजनीतिक चेतनाको लहर आइरहेको छ; सारा संसार यस कुरामा चनाखो भएको छ । त्यसैले अब शासक, शोषक वा अन्यायीको दाल गल्न सक्दैन । अब कस्तो ढाँचाको दुनियाँ बन्दै छ भने घरघरमा घिउको बत्ती बल्नेछन् र सबैको अनुहारमा मुस्कान हुनेछ । दुईचार इनेगिने मानिसहरूमात्र मीठो नीदमा सुत्नेछन् भन्ने कुरा अब कहिल्यै हुन सक्दैन ।
राजनीतिक चेतना एक यस्तो शक्तिशाली प्रहरी हो जसले शासनाधिकारी कसैलाई पनि अनैतिकता, मनोमानी र जबर्जस्ती शोषण आदि अन्यायहरूतिर घुस्न र भड्किन दिँदैन र सबैलाई सद्भावनातर्पm बढाएर संसारमा सुख र शान्तिको स्थापना गर्नमा योगदान दिन्छ । त्यसैले आज ठूलाठूला राजा, सामन्ती र साम्राज्यवादीहरू पनि सद्भावनातर्पm झुक्दै छन् किनभने जनतामा राजनीतिक चेतना दिनप्रतिदिन बढ्दै छ र आफ्नो हक र न्यायनिम्ति जोसुकैसित बोल्ने र लड्ने हिम्मत तिनीहरूमा बढ्दै छ ।
राजनीतिक चेतनालाई स्वागत गर्नुको मेरो तात्पर्य केचाहिँ पटक्कै होइन भने सम्पूर्ण जनता यसै राजनीतिमै डुबेर प्रवाहित भइराखून् । यस्तो भयो भने विद्यार्थीले पढ्न पाउन्नन्, किसानले खेती गर्न पाउन्नन्, व्यापारीले व्यापार गर्न पाउन्नन्; बस, सारा सामाजिक तथा व्यावहारिक काम ठप्प हुन जानेछन् । यसबाट समाजमा झन् बढी अशान्ति फैलन सक्छ । सारा जनता राजनीतिको सदस्य भएर सम्पूर्ण संसार राजनीतिको अड्डा हुने हो भने यो पनि एककिसिमको सैनिक संसार भएर नीरस र भयावह हुन जानेछ । राजनीतिक चेतनाको मेरो तात्पर्यचाहिँ त्यसमै अत्यधिक नशा राखेर नशाबाज हुनुपर्छ भन्ने पटक्कै होइन, बरु जनता कुनै शासक, शोषक र अधिकारीले अन्याय गर्न थाल्दछ भने सोझो बनी त्यसलाई सहने व्यक्ति नबनेर त्यस अन्याय र अत्याचारका विरुद्ध बुलन्द आवाज निकाल्न र सङ्घर्ष गर्न योग्य होऊन्; त्यसका लागि मात्र सबैमा राजनीतिक चेतना आवश्यक छ भन्ने मेरो भनाइ हो । अचेल जनताको राजनीतिक चेतना र जागरणकै कारण संसारका अन्यायी र अत्याचारीहरू समाप्त हुँदै गइरहेका छन् तर अबचाहिँ सामन्ती शोषणको स्थिति रहनेछैन भन्ने ठानेर सबै जनताले राजनीतिबाट मुख फेरे भने भोलि फेरि ती खराबीहरूले चिहानबाट टाउको उठाएर हेर्न र चियाउन थाल्नेछन्, यो नि:सन्देह निश्चित छ । त्यसैले शोषण र अन्याय आदि खराबीहरूको सामना गर्नका लागि जनतामा राजनीतिक नेताहरू र दलहरू हुनुमात्र पर्याप्त हुँदैन; सर्वसाधारण जनताले पनि राजनीतिमा चेतनशील हुनु जरुरी छ ।