वि.सं २०७८ असार महिनामा ‘टाइगर हिलकी पुनम’ निबन्धसङ्ग्रहको तेस्रो संस्करण बजारमा आएको छ । यसका रचयिता गण्डकी अञ्चलअन्तर्गत पर्ने तनहुँ जिल्लाको आँबुखैरनी निवासी स्रष्टा अनिल श्रेष्ठ हुन् । समकालीन प्रगतिशील नेपाली कथा तथा कवितासाहित्यमा अनिल श्रेष्ठ अपरिचित नाम होइन । कथा, कविता तथा निबन्ध विधाका उनका निम्न लिखित कृतिहरू प्रकाशित छन् । जसमा ‘प्रजातन्त्र र पागल’ (कथासङ्ग्रह,२०५०), ‘राष्ट्रले शोकधुन बजाएको छ’ (कवितासङ्ग्रह,२०५१), ‘मृत्युपर्व होइन मेरो देश’(कवितासङ्ग्रह, २०५५), ‘आरू फुलेको साँझ’ (कवितासङ्ग्रह, २०६३), ‘फेरि पनि छिम्कालेकमा गुन्जिरहन्छ यी गीतहरू’ (संस्मरणात्मकअनुभूति र कविता, २०६६), ‘मफलर युद्ध’(कवितासङ्ग्रह, २०६९), ‘टाइगर हिलकी पुनम’ (निबन्धसङ्ग्रह, २०७१), ‘अनिल श्रेष्ठका प्रतिनिधि कविता’ (कवितासङ्ग्रह, २०७३), ‘मध्यरातमा मुर्कट्टा’ (कवितासङ्ग्रह, २०७८) पुस्ताकाकार कृति प्रकाशित भएका छन् । साहित्यिक क्षेत्रमा सक्रिय भएर लागेका कवि अनिल श्रेष्ठ साहित्यसँगै विभिन्न सामाजिक, राजनीतिक, साँस्कृतिक सङ्घसंस्थामा आबद्ध छन् । उनी अखिल नेपाल जनसांस्कृतिक महासङ्घ: केन्द्रीय सदस्य, अखिल नेपाल लेखक सङ्घ: केन्द्रीय महासचिव, जनमत वाङ्मय प्रतिष्ठान नेपाल: सदस्य, आँबुखैरनी स्रष्टा समाज अध्यक्ष, बालवाङ्मय तथा अनुसन्धान केन्द्र: आजीवन सदस्य भएर पनि साहित्यको सेवा गरिरहेका छन् । प्रगतिवादी साहित्यको निरन्तर साधक अनिल श्रेष्ठ ‘एरोमा एसेन्स साहित्य सम्मान’–२०५९, ‘जनमत सहयात्री सम्मान’–२०७१, ‘इच्छुक स्मृति पुरस्कार’–२०७४, देशभक्त गणतान्त्रिक सम्मान–२०७४, आँबुखैरेनी महिला सञ्जाल सम्मान– २०७४, शक्ति पुरस्कार–२०७८, शुक्ला प्रतिभा पुरस्कार–२०७८ आदिबाट सम्मानित तथा पुरस्कृत भइसकेका छन् ।
निबन्ध साहित्यको आख्यानेतर गद्य विधाअन्तर्गत पर्दछ । यसमा सुललित शैलीमा विचारको प्रस्फुटन हुन्छ । वस्तुपरकता, आत्मपरकता, मौलिकता, सुललित बौद्धिकता, भाषागत सरलता तथा शैलीगत नवीनता लिएर आधुनिक नेपाली निबन्ध अघि बढिरहेको छ । यसै आधुनिक नेपाली निबन्धको उत्तरवर्ती चरणमा देखा परेका निबन्धकार हुन् अनिल श्रेष्ठ । उनको ‘टाइगर हिलकी पुनम’ निबन्धसङ्ग्रहको छोटो चर्चा गर्ने प्रयास तल गरिएको छ ।
‘टाइगर हिलकी पुनम’ निबन्धसङ्ग्रहलाई विवेक सिर्जनशील प्रकाशन प्रा.लि काठमाडौँले प्रकाशनमा ल्याएको छ । आवरणपृष्ठबाहेक २६४ पृष्ठमा फैलिएको यस निबन्धसङ्ग्रहको मूल भाग पृष्ठ ५ देखि २६४ सम्म रहेको छ । अग्र भागमा प्रभा बरालको प्रकाशकीय रहेको छ । निबन्धकार श्रेष्ठको चालिसको दशकको अन्त्यदेखिको २०७२ सालसम्मका फुटकर प्रकाशित तथा अप्रकाशित २१ ओटा रचनाहरू यस निबन्धसङ्ग्रहमा सङ्ग्रहीत छन् । यात्राजन्यानुभूति, स्मृतिजन्यानुभूति तथा पाठकीयअनुभूतिमा सामाजिक राजनीतिक विषयवस्तुका घटनासँग तादाम्य भएर सुललित कवितामय, कतै संस्मरणमय, कतै कथामय, कतै नियात्रामय भएर यस सङ्ग्रहका निबन्धहरू विकसित भएका छन् । मर्मस्पर्शी हृदय भएका पाठकलाई यसले द्रवीभूत बनाउँछ ।
निबन्धसङ्ग्रहभित्र रहेको सोह्रौँ ‘टाइगर हिलकी पुनम’ नामक निबन्धबाटै सिङ्गो निबन्धसङ्ग्रहको नामाकरण टाइगर हिलकी पुनम राखिएको छ । टाइगर हिलको उकालो चढेर बिहानै उदाउँदो सूर्यको किरणको रमणीय दृश्यले मानिसलाई आनन्दित बनाउँछ । हृदयमा प्रसन्नता छाउँछ । धर्तीमा उज्यालोको नवीन ऊर्जा फैलिन्छ । त्यस्तै निबन्धकार श्रेष्ठ पनि टाइगर हिलकी पुनम निबन्धसङ्ग्रहमार्फत उज्यालोको खोजीमा छन् । मानवीय उत्थानमा छन् । कुरूपप्रति असन्तुष्टि राख्दै सुन्दरको खोजीमा छन् । भित्री रूपमा इमान र नैतिकताको प्रश्न उठाएका छन् । मानव भएर बाँच्न घचघच्याएका छन् । सुख र दु:खका अनुभूतिहरू आत्मरागमा प्रस्फुरित गरेका छन् । घटना निजात्मक भए पनि मुद्धा समाजका हुन, देशका हुन् । तल टाइगर हिलकी पुनम निबन्धसङ्ग्रहको अन्तर्वस्तुबारे छोटो चर्चा गरिएको छ ।
‘फेरि पनि छिम्कालेकमा गुन्जिरहन्छन् यी गीतहरू’ शीर्षकको निबन्ध जनादेशमा वि.सं. २०५५ मा प्रकाशित भएको पाइन्छ । यस निबन्धमा विचार तथा क्रान्ति कहिल्यै नमर्ने कुरा उल्लिखित भएको छ । विचार तथा क्रान्तिलाई सामन्ती तानाशाहहरू अपदस्थ गर्न खोज्छन् तर सशक्त विचार तथा क्रान्तिले तानाशाहहरूलाई नै अपदस्थ गरिदिन्छ । क्रान्तिको नाममा लुटिखाने केही सहरी माक्र्सवादी बुजु्रकहरूको बौद्धिक ट्रेडप्रति निबन्धकार श्रेष्ठ असन्तुष्टि पोख्छन् । तिनीहरूबाट क्रान्ति सफल नहुनेमा श्रेष्ठ विश्वस्त छन् । तनहुँको छिम्कालेक क्रान्तिको गाथा बोकेको एउटा गाउँ हो । जहाँ वर्गीय सङ्घर्षका कथाहरू छन् । सहिदका स्मृति गाथाहरू छन् । श्रम र श्रमजीवीप्रतिको श्रद्धाभाव विकसित भएको छ । तानाशाहहरू क्रान्तिका गीत, कविताहरू मन पराउँदैनन् तथापि छिम्कालेकमा तानाशाहका विरुद्धमा विचार, परिवर्तन र क्रान्तिका गीतहरू गुन्जिरहन्छन् । क्रान्तिचेतले सशक्त यस्तै यस्तै विचारहरू यस निबन्धमा प्रकटित भएका छन् ।
‘घान्द्रुकको घाम’ शीर्षकको निबन्ध गतिविधि साप्ताहिक पत्रिकामा विं. सं २०४८ मा प्रकाशित भएको देखिन्छ । यस निबन्धमा कास्कीको घान्द्रुकमा आँखा शिविरका लागि काठमाडौँबाट हिँडेका निबन्धकार श्रेष्ठको टिमको यात्राजन्य निजात्मक अनुभूति प्रस्तुत भएको छ । त्यस क्रममा विविध विषयवस्तुको उठान निबन्धकार श्रेष्ठले गरेका छन् । काठमाडौँको हुस्सुले ढाकिएको, चिसो पानी परिरहेको वातावरण केही समयको अन्तरालमै धादिङको नौबिसे पुग्दा–नपुग्दै सुरम्य रमणीय प्रकृति देखा पर्छ । निबन्धकार भन्छन्: “पारि घाम पोखिएका पाटाहरू । झुलिरहेका फाँटहरू । गराहरूमा खेलिरहेको सूर्य । गाउँलाई हत्केलामा राखेर उभिइरहेका धादिङका पहाडहरू र उत्तरतिर फैलिएर मुुसुक्क मुस्कुराइरहेको हिमाल । एउटा बैँसालु प्रकृति ।” । काठमाडौँको चिसोले कठ्याङ्ग्रिएका निबन्धकार श्रेष्ठ धादिङमा सुरम्य बनाइरहेको त्यो पहारिलो घामसँगै आह्लादित तथा रोमाञ्चित हुन पुग्छन् । निबन्धकार श्रेष्ठले घान्द्रुकको यात्रा गर्दै गर्दा भर्खर जिर्णोद्धार भएको रहेछ नौबिसे सडकखण्ड । अर्थात् सुव्यवस्थित रहेछ । तर अव्यवस्थित मापदण्डका कारण जिर्णोद्धार गरिएको छोटो कालखण्डमा नै पुन: जीर्णोद्धार गर्नुपर्ने भएको छ हाम्रा सडकमार्गहरू । वर्तमान अवस्थामा पनि त्यस सडक खण्डको जिर्णोद्धार तथा सडक विस्तारको काम भइरहेको देख्न सकिन्छ । पृथ्वी राजमार्ग हुँदै काठमाडौँ छिर्ने र फर्कने प्राय: यात्रुहरू मलेखु र त्यहाँको खाना नास्तादेखि अपरिचत छैनन् । निबन्धकार श्रेष्ठसँगै यात्रामा रहेका पदम दाइले ४८ सालतिर भनेको जस्तै वाह होटल व्यवसायी भन्ने वातावरण अहिलेका होटल व्यवसायीले पनि निर्माण गरुन् । धादिङ जिल्लाकै बेनाम हुने काम धादिङका सडक मार्गका होटल तथा पसल सञ्चालन गरेका व्यवसायीहरूले नगरुन् । निबन्धका होटलमा श्रम गर्न बाध्य, बालबालिका तथा किशोरीहरूको वस्तु सत्यलाई पनि देखाइएको छ । मौसम परिवर्तनका कारण वर्षा नभएकाले आँबुखैरेनीका टारहरू उब्जनी शून्य भएको प्रसङ्ग निबन्धमा आएको छ । निबन्धमा पोखराको प्राकृतिक सौन्दर्यको चित्रण भएको छ । पर्यटनका दृष्टिले पोखराको महत्तागान गाइएको छ । रेडक्रसका केही भोलिन्टियर र काठमाडौँ लायन्स आँखा अस्पतालका स्वास्थ्यकर्मीहरू रेडक्रसको जिपमा पोखराबाट बागलुङ जाने सडक समातेर नयाँपुल पुगेर रोकिन्छन् । त्यहाँबाट घान्द्रुकको पैदल यात्रा प्रारम्भ हुन्छ । वीरे ठाँटी हुँदै यात्रा अघि बढ्छ र मोदीको किनारमा रहेको स्याउली बस्तीबाट तीन घण्टाको कठोर उकालो यात्रापछि घान्द्रुक आइपुग्छ । भोलिपल्ट देखि घान्द्रुकमा निशुल्क आँखा शिविर सञ्चालन हुन्छ । यस सन्दर्भमा मोतिया बिन्दुका बिरामीका लागि लायन्स आँखा अस्पतालले गाउँ गाउँमा चलाएको आँखा शिविरको महत्तालाई देखाइएको छ । त्यस्तै घान्द्रुकको गाउँमा सुव्यस्थित बस्ती र त्यहाँको उच्च हृदय भएका कर्मशील समाज, उनीहरूको आतिथ्य संस्कारको परम्परा तथा घान्द्रुकको सदा ऊर्जा भर्ने रमणीय हिमाली प्रकृतिको चित्रण निबन्धमा भएको छ । घान्द्रुकको घाम मूलत: यात्राजन्य अनुभूतिमा आधारित निबन्ध हो । त्यस क्रममा निबन्धमा विविध विचारहरू सशक्त रूपले छचल्किएका छन् ।
‘भुङलिचोक भुलिगए पाप लाग्ला’ शीर्षकको निबन्ध शब्दाङ्कुर पत्रिकामा वि. सं २०७० मा प्रकाशित भएको देखिन्छ । यस निबन्धमा स्रष्टा मोदनाथ मरहठ्ठाको निमन्त्रणामा तनहुँको आँबुखैरनीबाट गोरखाको भुङलिचोक आएका आँबुखैरेनीका स्रष्टा त्रयका यात्राजन्य अनुभूतिलाई प्रस्तुत गरिएको छ । त्यस सन्दर्भमा निबन्धमा मूलत: निर्धारित समयमा हिँड्न नजान्ने नेपाली प्रवृत्ति, छोटा दूरीका यात्रुले सार्वजनिक सवारी साधनमा यात्रा गर्दा भोग्नुपर्ने दु:ख कष्टहरू, व्यापारका कारण फुत्त छोडेर यात्रामा निक्लन नपाउँदाको दु:खानुभूति, जिन्दगीलाई जोखिममा राखेर ग्रामीण भेगमा विना मापदण्ड इन्जिनियरिङ इस्टमेटविना खोलिएका कच्ची सडक मार्गमा यात्रा गर्ने यात्रु र चालकका दु:ख पीडा र त्यसप्रति सरोकारवाला निकायको अन्धदृष्टि, ऐतिहासिक सामरिक महत्त्वका दृष्टिले भुङलिचोकको भैरवीटारको चित्रण, माओवादी जनयुद्धको समयमा भुङलिचोकको गतिविधि र सरकारी शाही सेनाद्वारा माओवादीका नाममा स्थानीय विद्यार्थी शङ्कर थापालाई रुखमा झुन्ड्याएर गोली हानी हत्या गरिएको बीभत्स घटनाको स्मरण गरिएको छ । साथै चितवनको फिस्लिङबाट पारि तरेपछि गोरखा आइपुग्छ । त्यहाँबाट कच्ची ग्रामीण उकालो सडक मार्गको यात्राबाट आइडाँडा, बिजौरे हुँदै भुङलिचोक र अझ पैदल उकालो चढ्दा विशेष पर्यटकीय क्षेत्र भैरवीटार आइपुग्छ । यस भूगोलको विचरण गर्दा तल फिस्लिङमा सलल बगेकी त्रिशुली र पृथ्वीराज मार्गमा गुडेका सवारी साधनलाई टाढाबाट अवलोकन गर्न सकिन्छ भने पारिपट्टि हालको इच्छाकामनाको रमणीय प्रकृतिलाई देख्न सकिन्छ । गुरुङ, मगर र नेवार समुदायको बाहुल्य रहेको यस क्षेत्रमा मानिसहरू कृषिमा आश्रित रहेका छन् । कृषिमा पनि सुन्तला, केराउ र कोदाका लागि यो क्षेत्र विशेष परिचित रहेको छ । गुरुङ, मगर र नेवार संस्कृति यस क्षेत्रमा विकसित भएको देखिन्छ । कृषि, पर्यटन र ऐतिहासिक राजनीतिक दृष्टिले भुङलिचोकको विशेष महत्त्व रहेको कुरा निबन्धकार श्रेष्ठले गरेका छन् ।
‘मैले डिलिट गर्न नसकेको फोन नम्बर’ शीर्षकको निबन्ध २०६९ सालमा शारदा देउरालीमा प्रकाशित भएको देखिन्छ । यो निबन्ध रुद्र खरेलको देहावसानको कारण निबन्धकारमा पर्न गएको दु:खजन्य स्मृतिमा आधारित रहेको छ । त्यस सन्दर्भमा निबन्धमा निरङ्कुशता विरुद्धको आन्दोलनमा जुटेको ‘प्रतिभा प्रवाह’को एउटा शृङ्खलामा कविताको भावगत गाम्भीर्य कस्तो हुनुपर्छ भनी समालोचक रुद्र खरेलले गरेको अभिव्यक्तिबाट निबन्धकार श्रेष्ठ प्रभावित हुन्छन् । निबन्धकार श्रेष्ठले रुद्र खरेलको निबन्धकार व्यक्तित्व, समालोचक व्यक्तित्व र कवि व्यक्तित्वको बारे पनि निबन्धमा स्मरण गरेका छन् । निबन्धकार श्रेष्ठको ‘मृत्युपर्व होइन मेरो देश’ कवितासङ्ग्रहका केही पङ्क्ति समकालीन प्रगतिवादी कवितासम्बन्धी समीक्षामा समीक्षक रुद्र खरेलले चर्चा गर्नुभएका कारण निबन्धकार श्रेष्ठ खुसी हुन पुगेका छन् । यहीँ क्रममा ‘आरु फुलेको साँझ’ कवितासङ्ग्रहको भूमिका लेखाउन निबन्धकार श्रेष्ठ रुद्र खरेलसँग जोडिन पुग्छन् । त्यस सन्दर्भमा निबन्धमा रुद्र खरेलको सरल व्यक्तित्वको चर्चा गरिएको छ । प्रलेसका केन्द्रीय उपाध्यक्षसमेत रहनुभएका रुद्र खरेल प्रलेसलाई केही व्यक्तिका गुटमा मात्र नअल्मलाई साझा सांस्कृतिक आन्दोलनलाई सुबद्ध गर्न जोड दिनुहुन्थ्यो भन्ने कुरा निबन्धमा आएको छ । पछिल्लो पटक नेपाल प्रज्ञा– प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय साहित्य सङ्गोष्ठीमा सँगै रहेका निबन्धकार र समालोचक रुद्र खरेल त्यसपछि भौतिक रूपमा कहिल्यै जोडिन सकेनन् । रुद्र खरेलको देहावसानको खबर फोनबाट एकाबिहानै प्राप्त गरेका निबन्धकारलाई सो खबरले दुखित बनाउँछ । निबन्धमा अनावश्यक फोन नम्बरहरू डिलिट गर्ने बानी बसालेका निबन्धकार मोबाइलमा रुद्र खरेलको नम्बर भने अतिशय प्रेमका कारण डिलिट गर्न सक्दैनन् । मूलत: ‘मैले डिलिट गर्न नसकेको फोन नम्बर’ शीर्षकको निबन्धमा निबन्धकार श्रेष्ठ रुद्र खरेलसँग जोडिएका स्मृतिलाई सम्झँदै श्रद्धाभाव व्यक्त गर्दछन् ।
‘साँझको सङ्घारबाट सीमा आभासलाई नियाल्दा’ शीर्षकको निबन्ध वि. स.ं २०७० मा जनमत पत्रिकामा प्रकाशित भएको देखिन्छ । यस निबन्धमा निबन्धकार श्रेष्ठले सीमा आभासको ‘साँझको सङ्घारबाट’ कवितासङ्ग्रहलाई केन्द्रमा राखेर सीमा आभासको व्यक्तित्व र उनका कविताले उठाएको आवाजको एकातिर चर्चा गरेका छन् भने अर्कातिर सँगसँगै आफूले एक दशकअघि बिताएको विराटनगरको त्यो भूूगोलमा सीमा आभासका कवितासँगै पूर्व स्मृतिमा रमाउन पुगेका छन् । ‘साँझको सङ्घारबाट’ कवितासङ्ग्रह माथिको डा. गोविन्दराज भट्टराईको भूमिकालाई निबन्धकार श्रेष्ठ सीमा आभास र उनको कृतिमाथिको अवमूल्यन ठान्छन् । मूलत: निबन्धकार श्रेष्ठ त्यस सिर्जना गर्दा शासकद्वारा मारिने युगमा सङ्घर्ष गरेकी क्रान्तिको स्वरलाई मुखरित गरेकी सीमा आभासप्रति आभार प्रकट गर्छन् र एउटा सुनौलो बिहानीको आशा ‘साँझको सङ्घारबाट’ सीमा आभासलाई नियाल्दा शीर्षकको निबन्धबाट राख्छन् ।
‘हामी यहाँ सन्चै छौँ कमरेड तपाईं कस्तो हुनुहुन्छ ?’ शीर्षकको निबन्ध जनआह्वान पत्रिकामा २०५५ सालमा प्रकाशित भएको पाइन्छ । यस निबन्धमा निबन्धकार श्रेष्ठले क्रान्ति चेतनालाई थुनेर थुन्न सकिँदैन भन्ने विचारलाई विविध सन्दर्भबाट देखाएका छन् । निबन्धमा निरङ्कुशताको विरुद्ध आन्दोलनमा होमिएकी शशी निरङ्कुश राज्यसत्ताको जेलमा थुनिन पुगेकी छन् । यस सन्दर्भमा राजेन्द्रसँग मोरङको चिस्याङ खोलाको किनारबाट उकालो पहाड चढेका विभूका मनमा निरङ्कुशता विरुद्ध लडेकी शशीले हामी यहाँ सन्चै छौँ कमरेड तपाईं कस्तो हुनुहुन्छ भनिरहेको आभास भएको छ । निबन्धमा मूलत: निरङ्कुशता विरुद्धको क्रान्ति गाउँ गाउँबाट जागेको र अब चाँडै नै क्रान्ति सफल हुने आशा गरिएको छ । बन्दुकले रुखको हाँगा भाँचेको बिम्बद्वारा चाँडै नै निरङ्कुश सत्ताको अन्त्य भई जनवर्गीय सत्ता कायम हुने आशा पनि निबन्धमा गरिएको छ । साथै निबन्धमा सुन्दर मनोरम प्रकृतिको पनि चित्रण गरिएको छ । अझ छिम्कालेकसँग जोड्दै गाउँलाई क्रान्तिको केन्द्रबिन्दु मानिएको छ ।
‘यी कर्मशीलहरू’ शीर्षकको निबन्ध वि.सं. २०७० मा सम्मोहन पत्रिकामा प्रकाशित भएको देखिन्छ । मुखभन्दा हात चलाउन रुचाउने रत्नबहादुर कुवँर र बाबा सुरेश गिरिले मस्र्याङ्दी तीरको उजाड मसानघाटलाई सुन्दर उपवन बनाउन गरेको योगदानलाई ‘यी कर्मशीलहरू’ शीर्षकको निबन्धमा प्रस्तुत गरिएको छ । त्यस सन्दर्भमा निबन्धमा राजनीतिक नेतृत्वको अनुत्तरदायी प्रवृत्तिका कारण कुरूप बन्दै गएको राजनीतिले जनतामा भरेको निराशा, मौसम परिवर्तनका कारण प्रकृतिमा देखिएको उजाडतालाई पनि देखाइएको छ । आँबुखैरनी अर्थात् मस्र्याङ्दी नदीको ऐतिहासिक सन्दर्भलाई जोड्दै निबन्धमा त्यस मस्र्याङ्दीको बगरमा पहिले प्राथमिक विद्यालय रहेको तर गर्मी मौसममा पौडी खेल्ने क्रममा दुई जना विद्यार्थीको निधन भएकाले आभिभावकको आग्रहअनुसार त्यस ठाउँबाट विद्यालय अन्यत्र सारियो । बिस्तारै त्यो क्षेत्र मसानघाटका रूपमा चिनियो तर श्रमका पारखी सौन्दर्यका उपासक समाजसेवी रत्नबहादुर कुवँर र बाबा सुरेश गिरिको आँखा त्यस क्षेत्रमा पर्यो । उनीहरूले त्यस मसानघाटलाई हराभरा बनाए । शिव मन्दिरको स्थापना गरे । चौतारोको निर्माण गरे । बिस्तारै त्यसै क्षेत्रमा अन्य सङ्घसंस्थाको भवन निर्माण हुन थाल्यो । अहिले मनकामना जाने यात्री त्यस ठाउँलाई विश्राम स्थलका रूपमा प्रयोग गर्छन् । आँबुखैरनी बजारको सहरी वातावरणको दिक्दारीबाट शान्तिको अनुभव लिन मानिसहरू त्यहाँ जान्छन् । तनहुँ आसपासका जिल्लाका नव वर वधू परम्परितभन्दा भिन्न शैलीको विवाहका लागि त्यहाँ आउँछन् । विवाह सम्पन्न गरेर जान्छन् । रत्नबहादुर कुवँर र बाबा सुरेश गिरीको कर्मशील हातद्वारा उजाड मसानघाट आज हराभरा भएको छ । निबन्धमा ती कर्मशील व्यक्तित्वहरूप्रति आभार प्रकट गरिएको छ । श्रम सौन्दर्यको महिमा गान गाइएको छ । साथै आँबुखैरनीको ऐतिहासिक पक्षलाई पनि सूक्ष्म सङ्केत गरिएको छ ।
‘पारिजात फेरि कहिल्यै ओइलाउँदैन’ शीर्षकको निबन्ध जनमत पत्रिकामा २०५० सालमा प्रकाशित भएको देखिन्छ । यस निबन्धमा साहित्यकार पारिजातको देहावसानप्रति दु:खानुभूति गर्दैै निबन्धकार श्रेष्ठले साहित्यकार पारिजातप्रति श्रद्धाभाव प्रकट गरेका छन् र नेपाली साहित्यकाशमा फुलेको पारिजातको फूल कहिल्यै नओइल्याउने विचार निबन्धमा प्रकट गरेका छन् । त्यस सन्दर्भमा पारिजातका कृतिहरूको पठनबाट प्रभावित रहेका निबन्धकार श्रेष्ठ प्रतिभा प्रवाहको कार्यक्रममा शारीरिक रूपले अशक्त भएकी पारिजातलाई देखेर एक किसिमको कौतूहलता उनको मनमा उत्पन्न हुन्छ । त्यसको केही समयपछि मित्र सुरेन्द्र देवकोटाको सहयोगमा निबन्धकार श्रेष्ठ आफूले लेखेको उपन्यासको पाण्डुलिपि लिएर पारिजात निवासमा पुग्छन् । पारिजातले निबन्धकार श्रेष्ठको पाण्डुलिपिको अध्ययनपछि छपाउन हतार नगर्नोस् भन्दै उपन्यासको लेखनका तथा विचारका बारे केही सल्लाह सुझाव दिन्छिन् । अझ निबन्धकार श्रेष्ठलाई लेखन शैली राम्रो छ भन्दै छोटा कथा लेख्न उत्प्रेरित गर्छिन् । यस सन्दर्भमा निबन्धमा सूक्ष्म रूपले सिर्जना जीवनका लागि हुनुपर्छ भन्ने विचार उठेको छ । नेपाली साहित्यकाशमा विसङ्गति र अस्तित्ववादको वकालत गरे पनि मूलत: पारिजातको अन्तिम लेखनको गन्तव्य भने प्रगतिवादमा गएर टुङ्गिएको कुरा निबन्धकार श्रेष्ठले गरेका छन् । त्यसको केही समयपछि निबन्धकार श्रेष्ठ पारिजातको हातबाट आफ्नो कथासङ्ग्रहका लागि भूमिका लेखाउन चाहन्थे तर पारिजातको अस्वस्थताको कारण भूमिका लेखाउन सकेनन् । अन्तत: निबन्धाकार श्रेष्ठले पारिजात लिखित भूमिका राख्ने ठाउँमा श्रद्धाञ्जलिका शब्दहरू राख्न समयले बाध्य गरायो । पारिजातको देहावसानले सिङ्गो नेपाली समाजलाई शोकमय बनायो । अझ निबन्धमा उठेको एउटा दु:खद पक्ष जसले जीवनभर नेपाली भाषा, साहित्यको सेवा गरिन् । उनै पारिजात अनागरिक भएर विदेश उपचार गर्न जान नमिलेर मृत्यु वरण गरिन् । पारिजातको भौतिक शरीर हामीमाझ नरहे पनि उनले नेपाली साहित्याकाशका छोडेर गएका कृतिहरूका कारण पारिजातको फूल कहिल्यै ओइल्याउने छैन र सुगन्ध छरेर हावामा फैलिरहने छ ।
‘घनश्याम ढकालसँग जोडिएका मेरा केही पलहरू’ शीर्षकको निबन्ध वि.सं. २०६८ मा गण्डकी सङ्गम पत्रिकामा प्रकाशित भएको देखिन्छ । यस निबन्धमा घनश्याम ढकालको निधनका कारण निबन्धकार श्रेष्ठ दुखित बनेका छन् र उनीप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरेका छन् । त्यस सन्दर्भमा निबन्धकार श्रेष्ठले घनश्याम ढकालसँग जोडिएका स्मृतिहरूलाई स्मरण गरेका छन् । उनको निश्चल व्यक्तित्वको चर्चा गरेका छन् । अखिल नेपाल लेखक सङ्घका केन्द्रीय अध्यक्ष घनश्याम ढकाल आदर्श र निष्ठावान् व्यक्ति थिए । उनी प्रगतिशील विचारलाई अँगालेर जीवनलाई तदनुरूप आचरण गर्दथे । विचारअनुसारको व्यवहारका जोड दिन्थे । कोरा विचारका अवसरवादीदेखि सजग र सचेत रहन्थे । स्वार्थइतर भएर सांस्कृतिक आन्दोलनलाई लक्ष्यममा पुर्याउन तल्लीन हुन्थे । यस्ता कर्तव्यनिष्ठ अभिभावक गुमाउनुपर्दा निबन्धकार श्रेष्ठ दु:खित भएका छन् र उनीप्रति श्रद्धाभाव व्यक्त गरेका छन् । साथै सहिद कृष्णसेन इच्छुक र रुद्र खरेलको पनि स्मरण निबन्धमा घनश्याम ढकालसँग जोडिएर गरिएकोे छ ।
‘टुक्रा टुक्रा छरिएका मनहरू’ लिएर शीर्षकको निबन्ध २०६५ सालमा लेखिएको पाइन्छ । मस्र्याङ्दी र दरौदीको प्राकृतिक सौन्दर्यको चित्रणबाट सुरु गरिएको यस निबन्धमा निबन्धकारका मनमा उठेका विविध तरेलीहरूलाई प्रस्तुत गरिएको छ । त्यस सन्दर्भमा तत्कालीन समयमा कथा लेख्नु, त्यसको प्रकाशन हुनु र समीक्षक तथा पाठकबाट टीका टिप्पणी हुने सहज वातावरण थिएन । मूलत: कविताकै वर्चस्व थियो भन्ने कुरा निबन्धमा उठाइएको छ । त्यस्तै नयाँ पुस्ता र पुराना पुस्ताबिचको मत भिन्नता र त्यसलाई समालोचक तथा सम्पादकले हेर्ने दृष्टिकोण समान थिएन । नयाँ पुस्तालाई स्थापित हुन जटिल थियो । पुराना र स्थापितहरुका सिर्जना मात्र पत्र–पत्रिकामा छापिन्थ्यो । यस वातावरणमा सङ्घर्ष गर्दै कवितालाई कविता र कथालाई कथा बनाउने चेष्टामा निबन्धकार श्रेष्ठ सचेत भएर लागेको देखिन्छ । त्यस्तै निबन्धमा आर्थिक विपन्नताले सृजना गर्ने दु:ख कष्टलाई पनि देखाइएको छ अनि बाल्यकालमा मातृस्नेहबाट वञ्चित हुुनुपर्दाको पीडालाई निबन्धमा देखाइएको छ । निबन्धमा आमाको मातृत्वदेखि किन कुन कारणले विमुख भइन् भन्ने प्रश्नहरूसहित कर्तव्यबोधहीन आमाका कारण बालबालिकाले कसरी टुहुरो भएर मातृस्नेहबाट विमुख भएर अन्धकारमय दु:खमय जीवन बिताउन बाध्य हुन्छन् भन्ने कुरा वर्णित रहेको छ । मूलत: निबन्धकारको आत्मजीवनका घटनामा निबन्ध केन्द्रित रहेको छ ।
‘अप्रिलको घाम जुवैलको मरुभूमि’ शीर्षकको निबन्ध वि.सं २०६२ चैत्रमा शारदादेउराली पत्रिकामा प्रकाशित भएको देखिन्छ । यस निबन्धमा निबन्धकार श्रेष्ठले जन्मभूमि र परिवारलाई चटक्क छोडी श्रम तथा रोजगारीका लागि विदेशी भूमिमा जान बाध्य नेपालीहरूको दु:खदायी जीवनको चित्रण गरेका छन् । त्यस सन्दर्भमा निबन्धकार श्रेष्ठले स्वदेशमा नै श्रम गर्ने वातावरण नभएकोमा चिन्ता प्रस्तुत गरेका छन् । श्रम तथा रोजगार मन्त्रालयको वेपर्वाहले कसरी म्यानपावर कम्पनीहरूबाट नेपाली श्रमिकहरू ठगिन पुग्छन् भन्ने तथ्यलाई छर्लङ्ग पारिएको छ । निबन्धमा विदेशी भाषा, संस्कृति, कानुनको ज्ञानको अभावका कारण नेपाली श्रमिकहरू दु:खदायी, अपहेलित, उपेक्षित जीवन जिउन बाध्य छन् । निबन्धमा नेपाली श्रमिकहरूमाथि गरिएको श्रम शोषणलाई देखाइएको छ । विदेशी भूमिको तातो मरुभूमिमा कमभन्दा कम ज्यालामा कठिनभन्दा कठिन कार्य गर्न नेपाली श्रमिकहरू बाध्य छन् । साउदीको जुवैल मरुभूमिमा नेपाली श्रमिकका रूपमा भोगेका निजात्मक अनुभूतिहरूलाई निबन्धकार श्रेष्ठले ‘अप्रिलको घाम जुवैलको मरुभूमि’ शीर्षकको निबन्धमा प्रस्तुत गरेका छन् । यी श्रमिकका रेमिट्यान्सबाट आफ्ना परिवार पालिरहेका राज्यका नेतृत्व तहमा रहेकाहरू श्रमिकका यी दु:खहरूप्रति बेखबर रहनु र स्वदेशमै रोजगारीको वातावरण निर्माण गर्न तत्पर नरहने प्रवृत्ति तथा संस्कार भने दु:खदायी छ ।
‘पहाडपानीको उकालो’ शीर्षकको निबन्ध शब्दाङ्कुर पत्रिकामा वि.सं. २०६९ मा प्रकाशित भएको छ । यस निबन्धमा निबन्धकार अनिल श्रेष्ठको जागिरे जीवनसँग जोडिएको विषयवस्तु प्रस्तुत भएको छ । बन्दीपुर नै पुख्र्यौली घर भएका अनिल श्रेष्ठ राधा दिदीको सहयोगमा लायन्स आँखा अस्पतालको जागीरमा जोडिन पुग्छन् र त्यहाँबाट तालिम लिई बन्दीपुरमै लायन्स आँखा अस्पतालको शाखामा कार्यरत रहन पुग्छन् । तालिमका लागि तीन वर्षे काठमाडौँ बसाइमा उनको छुटिएको साहित्यिक यात्रा पुन: प्रारम्भ पनि भएको छ । मोतीबिन्दुका कारण दृष्टि गुमाएका व्यक्तिहरूलाई पुन: दृष्टि दिन लायन्स आँखा अस्पतालले ग्रामीण क्षेत्रहरुमा पुर्याएको स्वास्थ्य शिविरहरुमा सहभागी भई असहायहरुको सेवा गर्न पाउँदा उनको मन हर्षले पुलकित भएको छ । मूलत: यस निबन्धमा आफ्नो जागिरे जीवनको प्रारम्भ र सेवा गर्दाको हर्ष र केही एकाध दु:खका घटनालाई पनि निबन्धमा देखाइएको छ । कामका लागि सहयोगी भूमिका खेल्नेहरूप्रति कृतज्ञता प्रकट गरिएको पनि छ ।
‘त्यो फेब्रुवरी’ शीर्षकको निबन्ध वि.सं. २०६१ चैत्र महिनामा लेखिएको देखिन्छ । यस निबन्धमा राजा ज्ञानेन्द्रले प्रधानमन्त्री तथा मन्त्रीहरूलाई बर्खास्त गरी कु गरेर सङ्कटकाल घोषणा गरेको, सञ्चार सुविधालाई नियन्त्रणमा लिई निष्क्रिय गरेको, मानव अधिकारकर्मी, पत्रकार आदिलाई नियन्त्रणमा लिएको, माओवादी जनयुद्धलाई जबर्जस्ती दबाउन खोजेको राजनीतिक विषयवस्तु एकातिर प्रस्तुत भएको छ भने एर्कातिर श्रमका लागि बिदेसिएका नेपाली दाजुभाइहरू कसरी त्यहाँका कम्पनीहरूद्वारा ठगिन पुग्छन् । कसरी अपहेलित तथा तिरस्कृत हुन्छन् । श्रमिकलाई श्रम मूल्य दिँदैन् । मृत्यु भएको अवस्थामा सहज ढङ्गले स्वदेशमा लास पुग्ने अवस्था पनि छैन । यस्तो नेपाली श्रमिकका दर्दनाक पीडा, कष्टलाई पनि ‘त्यो फेब्रुवरी’ शीर्षकको निबन्धमा देखाइएको छ ।
‘मृत्युसँग जुझ्दै गर्दा’ शीर्षकको निबन्ध वि.सं. २०६६ सालमा लेखिएको देखिन्छ । यस निबन्धमा निरङ्कुशताका विरुद्ध माओवादी जनयुद्धमा सक्रिय हुँदा शाही सेनाले दिएको यातनालाई देखाइएको छ । सर्वसाधारणलाई समेत आतङ्कारी भन्दै मार्ने शाही सेनाले पार्टीका केही गद्दार अवसरवादी कार्यकर्ताको सूचना सूत्रद्वारा निरङ्कुशताको विरुद्ध लडेको माओवादी कार्यकर्तालाई निर्मम यातना दिएको विषयवस्तु यस ‘मृत्युसँग जुझ्दै गर्दा’ शीर्षकको निबन्धमा प्रस्तुत भएको छ ।
म त्यो परको आकाशजस्तै रित्तो थिए’ शीर्षकको निबन्ध २०६७ सालमा लेखिएको देखिन्छ । यस निबन्ध अभिभावकले अभिभावकत्व वहन नगर्दा केटाकेटीहरू कसरी विचलित भएर तिरस्कृत अपहेलित र नीरस जिन्दगी जिउन बाध्य हुन्छन् भन्ने सन्दर्भलाई देखाइएको छ । मातृत्व र वात्सल्यले नै आमालाई महान् बनाउँछ । मातृत्व र वात्सल्य धर्मले अविच्छिन्न नरहेकी आमाले आमा शब्दको गरिमा र महिमा बोक्न नसक्ने र जसका कारण आमाको वात्सल्यबाट बालबच्चाहरु विमुख हुन बाध्य भई अरूका सहारामा अपहेलित र तिरस्कृत जीवन जिउन बाध्य भएको यथार्थलाई प्रस्तुत गरेका छन् । त्यस्तै पिता आफ्नो कर्तव्यबाट विमुख हुँदा केटीकेटीहरूले कसरी दु:खित, अपहेलित, तिरस्कृत र पीडाको जिन्दगी जिउनुपर्छ भन्ने सन्दर्भलाई पनि देखाइएको छ । जन्म दिनु मात्र आमा र बुबाको काम होइन, उनीहरूलाई उचित हेरविचार, स्नेह, आचरण, संस्कार र शिक्षा दिनु पनि कर्तव्यनिष्ठ आमा बुबाको दायित्व रहन्छ । निबन्धमा आमा बुबाबाट टुहुरो भएर परिवारका अन्य सदस्यकहाँ आश्रित बनी जटिलभन्दा जटिल श्रम गरी तिरस्कृत र अपहेलित जीवन जिउन निबन्धको म पात्र बाध्य भएको छ । त्यसैले उनको हृदय आकाश जस्तै स्नेहरहित भएर खुला रहेको छ । रित्तो रहेको छ । मातृ स्नेह र बाबुको अभिभावकीय संरक्षणबाट बालबच्चाहरू विमुख भएका छन् । निबन्धकार घर कस्तो हुनुपर्छ निबन्धमा भन्छन्: “त्यो घर अब घर रहेन । ढुङ्गामाटोको गारो र छानोले मात्र सायद घर नहुँदो रै’छ । घर हुन त बर्षौँदेखिको परिवारको एकात्मक नाता र भावनात्मक सम्बन्ध गाढा चाहिँदो रै’छ । जहाँ आमाको मातृत्व र वात्सल्यता होस्, केटाकेटीहरूको ओठको हाँसो र उनीहरूको स्वच्छन्दताले खेलोस् । जहाँ बाबुको संरक्षण होस् र साँझको बत्तीको उज्यालोमा छोराछोरीका आँखाहरू घरभित्र खुसीहरूले रमोस्” आमाको स्नेह र बाबुको संरक्षणविनाको घर रित्तो, निराश, अन्धकारमय खल्लो र अप्रियकर हुने निष्कर्ष निबन्धकार श्रेष्ठले निकालेका छन् ।
‘टाइगर हिलकी पुनम’ शीर्षकको निबन्ध वि.स.ं २०७० मा शब्दाङ्कुर पत्रिकामा प्रकाशित भएको पाइन्छ । यसै निबन्धबाट सिङ्गो निबन्धसङ्ग्रहको नामाकरण पनि गरिएको छ । यस निबन्धमा आँबुखैरेनी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको आयोजनामा पूर्वको केही जिल्लाको भ्रमणमा निक्लेका निबन्धकारलगायतका टोलीको संयोगले जुराएको दार्जलिङको यात्रा र टाइगर हिलको उकोलो चढी त्यहाँबाट हेरिएको सूर्योदयको विस्तृत वर्णन रहेको छ । त्यस सन्दर्भमा निबन्धमा भारतीय प्रहरी प्रशासनले सीमानामा दिने दु:ख, नेपालीहरूप्रति उनीहरूले गर्ने दुव्र्यवहार, आप्रवासी नेपालीहरूले स्वकीय गौरव र पहिचान गुमाउनु पर्दाको पीडा, भारतीय विस्तारवादका कारण राष्ट्रवादी नेपालीको हृदयमा पर्न गएको पीडा, दार्जिलिङका शासकहरूले केन्द्र सरकारसँगको मिलेमतोमा गोरखाल्यान्ड आन्दोलनलाई असफल पार्न खेलेको गद्दारी भूमिका आदिलाई पनि देखाइएको छ । त्यस्तै दार्जलिङमा जन्मेर नेपाली भाषा साहित्यको सेवामा जीवन समर्पण गरेका व्यक्तिहरूको स्मरण निबन्धमा भएको छ । सूर्योदय हेर्न टाइगर हिलको उकालो चढ्दा कफी बेच्न आइपुगेकी निलम र पुनमको चर्चा निबन्धमा भएको छ । त्यसैबाट निबन्धको शीर्षक पनि राखिएको छ ‘टाइगर हिलकी पुनम’ । त्यस्तै निबन्धमा पर्यावरणीय सौन्दर्यको वर्णन भएको छ अनि फिक्कलको प्रेमिल वातावरणले निबन्धकारको जीवनमा पहिलो पटक प्रेमपत्र लेख्ने वातावरण सिर्जना गरेको प्रसङ्ग पनि आएको छ । प्रकृतिले मान्छेलाई तदनुरूप बनाउन प्रेरित गर्छ भन्ने निष्कर्ष पनि निकालिएको छ । मूलत: यो निबन्ध दार्जलिङको यात्राजन्य अनुभूतिमा केन्द्रित भए तापनि राष्ट्रप्रेमले उद्वेलित भएर राष्ट्रिय चिन्ताको विविध भावहरू निबन्धमा सशक्त मुखरित हुन पुगेको देखिन्छ ।
‘चण्डिभन्ज्याङको दैलोमा पोखिएका कविता’ शीर्षको निबन्ध २०७१ सालमा गण्डकी सङ्गम पत्रिकामा प्रकाशित भएको देखिन्छ । जनसांस्कृतिक महासङ्घ चितवनको आयोजनामा भएको शारदा घरदैलो प्रतिभा प्रवाहको ८३ औँ शृङ्खला चितवनको दारेचोकको चण्डिभन्ज्याङमा सम्पन्न भएको प्रसङ्ग निबन्धमा आएको छ । यस सन्दर्भमा निबन्धमा विविध विचारहरू उठेका छन् । उत्तर आधुनिक लेखनका कुरा, स्रष्टाका कुरा, पाठकका कुरा निबन्धमा आएको छ । त्यस्तै मोफसलका स्रष्टा र केन्द्रका स्रष्टा बिचको अन्तर्यलाई पनि निबन्धमा उठाइएको छ । लेखक तथा स्रष्टा गाउँमा छन् तर उनीहरू प्रचारबाजीदेखि टाढा छन् । मिडिया र केन्द्रका समालोचकदेखि टाढा छन् तर सिर्जनामा मस्त छन् । तथापि उनीहरूको उचित सम्बोधन हुन सकेको छैन । सिर्जना केका लागि भन्दै प्रश्न उठाइएको छ र सिर्जना जीवनमुखी, सौन्दर्यमय, युगबोधी, कालजयी हुनुपर्छ भन्ने निष्कर्ष निबन्धकार श्रेष्ठले उक्त निबन्धमा उठाएका छन् । साहित्य सत्ताको प्रतिपक्ष हुन्छ भन्दै कुरूप राजनीतिक सामाजिक संस्कृतिको उछित्तो काट्न र सुन्दर संस्कृतिको निर्माणका लागि कवि कलाकार जाग्नुपर्ने विचार पनि निबन्धमा उठेको छ । त्यस्तै सिर्जना गाउँमुखी, जनमुखी बन्नुपर्ने धारणा पनि निबन्धमा आएको छ । गाउँ जागृत भए परिवर्तन सम्भव हुन्छ भन्ने निष्कर्ष पनि निबन्धमा निकालिएको छ । कलमद्वारा सांस्कृतिक र नैतिक रूपले विचलित हुँदै गएको सत्तालाई सचेत गराउन आह्वान पनि गरिएको छ ।
‘अनुभूतिमा वैशाख १२’ शीर्षकको निबन्ध वि.सं. २०७२ मा जनमत पत्रिकामा प्रकाशित भएको देखिन्छ । यस निबन्धमा नेपालमा २०७२ साल वैशाख १२ र २९ गते गएको महाभूकम्पकलाई विषयवस्तु बनाइएको छ । गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पले गोरखा, धादिङ, रसुवा, सिन्धुपाल्चोक, काठमाडौँ, लिलितपुर भक्तपुरलाई बढी नै प्रभावित गर्यो । ठुलो भौतिक तथा मानवीय क्षति बेहोर्नुपर्यो । प्राकृतिक दोहनको कारण प्रकृति असह्य भएर रिसाएर पनि भूकम्प गएको हुन सक्ने आशङ्का निबन्धको सुरुवाती चरणमा गरिएको छ । त्यसपछि भूकम्पले आँबुखैरेनीमा सिर्जना गरेको त्रसित वातावरणको चर्चा निबन्धमा भएको छ । आँबुखैरेनी स्रष्टा समाजको सक्रिय सहभागितामा तनहुँका अन्य सङ्घसंस्थाको सहकार्यकमा राहत उद्धारका लागि स्वास्थ्य टोलीसहित गोरखाको विभिन्न विकटभन्दा विकट गाउँमा पुगी घाउमा मलम लगाउन तल्लीन भएका तनहुँका सक्रिय व्यक्तिहरूको चर्चा निबन्धमा आएको छ । निबन्धमा ९० सालको समेत भूकम्पको अनुभव गर्नुभएका आमाबुबाको अनुभवलाई पनि समेटिएको छ । राहत वितरण तथा उद्धारमा जनप्रतिनिधिले देखाएको अनुत्तरदायी चरित्र, राहत वितरणमा भएको अनियमितता, भूकम्पसँगै विकसित भएको मगन्ते प्रवृत्ति आदिप्रति पनि निबन्धमा चिन्ता व्यक्त गरिएको छ । त्यस्तै भूकम्पले हामीहरूलाई मजबुत भरपर्दो संरचना निर्माणका लागि पाठ पढाएर गएको निष्कर्ष पनि निकालिएको छ । ध्वंसपछि पुन: निर्माण प्रक्रिया प्रारम्भ हुन्छ । दु:खको बिचबाट पनि उज्यालो खुसी खोज्न लाग्नुपर्ने विचार निबन्धमा आएको छ । त्यस्तै शनिबार तथा दिउँसोको समयमा गएको भूकम्पका कारण ठुलो मानवीय क्षतिबाट जोगाएको कुरा पनि निबन्धमा आएको छ । मूलत: यस निबन्धमा वैशाख १२ र २९ को महाभूकम्पले दिएको पीडालाई चित्रित गर्दै मानवीय दु:खमा मानवता नभुली उद्धारमा खट्न र उचित स्वार्थरहित राहतवितरणमा लाग्न र दु:ख तथा शोकलाई शक्तिमा बदली पुननिर्माणमा जुट्न आह्वान पनि गरिएको छ ।
‘कुस्माको निम्तो’ शीर्षकको निबन्ध सगुन पत्रिकामा २०७२ सालमा प्रकाशित भएको पाइन्छ । यस निबन्धमा बन्द, हडताल, जुलुसले अन्योल ग्रस्त बनाइरहेको तत्कालीन समयमा निबन्धकार श्रेष्ठ पर्वत कुस्माका अग्रज साहित्यकार शान्तिनारायण श्रेष्ठको निमन्त्रणामा आँबुखैरेनी तनहुँबाट पर्वतको कुस्माको यात्रामा हिँडेका छन् । बन्द, हड्ताल र जुलुसका कारण देशको वातावरण अराजकमय भएको छ । यस परिस्थितिमा निबन्धकार श्रेष्ठ शान्तिनारायण श्रेष्ठको नागरिक अभिनन्दन तथा साहित्यकार शान्तिनारायण श्रेष्ठ: स्रष्टा र सिर्जना’ समीक्षात्मक कृतिको विमोचन कार्यक्रममा पर्वतको कुस्मा गएका छन् । त्यस सन्दर्भमा निबन्धमा पोखराको प्राकृतिक सौन्दर्य तथा कुस्माको धार्मिक सांस्कृतिक पर्यटनको महत्त्व आदिलाई पनि उठाएका छन् तर विशेषत: निबन्धमा मोफसलमा बसेर २०१२ सालदेखि निरन्तर नेपाली साहित्यको सेवामा लागेर १६ ओटाभन्दा बढी सिर्जना नेपाली साहित्यमा अर्पण गरेका कुस्मा पर्वतका अग्रज स्रष्टा शान्तिनारायण श्रेष्ठको व्यक्तित्व, कृतित्व र उनीसँग जोडिएको त्यस क्षेत्रको नेपाली साहित्यको सूक्ष्म चर्चा गर्ने काम कुस्माको निम्तो शीर्षकको निबन्धमा भएको छ ।
‘स्वर्गीय अनिलबाबु श्रेष्ठ ट्रस्ट’ शीर्षकको निबन्ध वि.सं २०७१ मा जनमत पत्रिकामा प्रकाशित भएको देखिन्छ । यस निबन्धको सुरुवाती चरणमा मानव शरीरलाई रोगमन्दिरको रूपमा हेरिएको छ । सेयर बजारको भाउजस्तै रोगहरू घटबढ भइरहने कुरा निबन्धमा आएको छ । त्यसपछि परिवारमा महिलाले खेलेको भूमिकाप्रति अवमूल्यन गर्ने हैकम रवाफयुक्त पुरुष सोचलाई रोचक ढङ्गमा राखिएको छ र लैङ्गिक विभेदजनित मनोधारणालाई उदाङ्गो पार्ने काम निबन्धमा भएको छ । साहित्यले बाँच्ने शक्ति दिने विचार पनि निबन्धमा आएको छ । त्यसपछि निबन्धमा एउटा नवीन शैलीको प्रयोग भएको छ । कथामा जस्तो निबन्धमा पनि निद्रामा घटित घटना वर्णित छ तर त्यहाँ उठेको विचार भने सशक्त छ । सामाजिक असुहाउँदो विवाहका कारण जीवित छोरालाई बाबुले मृत घोषणा गरी काजक्रिया गरेका छन् । भित्तामा रहेको उनको फोटोमाथि माला लगाइएको छ । यस सन्दर्भमा भित्ताका व्यक्ति र जीवित व्यक्ति बिच कुराकानी हुँदा जीवित व्यक्तिको अंश ऊ मरिसकेको हुँदा सामाजिक सेवामा लगाइदिन अनुरोध गरिएको सपना निबन्धमा वर्णित भएको छ । यस निबन्धमा समाजमा रहेको विभेदलाई उदाङ्गो पार्ने काम गरिएको छ भने अभिजात्य वर्गीय अहङ्कारलाई चिर्ने प्रयत्न पनि गरिएको छ ।
‘टाइगर हिलकी पुनम’ निबन्धसङ्ग्रहको अन्तिम अर्थात् एक्काइसौँ निबन्ध ‘सेदोकाले छोएर गएको मन’ रहेको छ । यो निबन्ध सचेत प्रयास साप्ताहिकमा प्रकाशित भएको पाइन्छ । यस निबन्धमा सरल सुललित शैलीमा निबन्धकार अनिल श्रेष्ठले निरन्तर सोह्रओटा कृतिहरू प्रकाशित गरिसक्नुभएका पर्वत कुस्माका स्रष्टा शान्तिनारायण श्रेष्ठको साहित्यिक व्यक्तित्व, कृतित्व र योगदानलाई सङ्क्षिप्त रूपमा शान्तिनारायण श्रेष्ठका सेदोकाहरूलाई केन्द्रमा राखेर चर्चा गरेका छन् । त्यस सन्दर्भमा निबन्धकार श्रेष्ठले लेखनको कुरा उठाएका छन् । शान्तिनारयण श्रेष्ठको व्यक्तित्व र कृतित्वको बारे थोरै शब्दमा धेरै चर्चा गरेका छन् ।
यी २१ ओटा विविध भावका निबन्धमा निबन्धकार अनिल श्रेष्ठले सुललित शैलीमा आफ्नो विचार प्रस्तुत गरेका छन् । निबन्धकार अनिल श्रेष्ठका यी निबन्धहरू सुललित भाषामा निजात्मकता, संस्मरणात्मकता, गतिशीलता, चित्रात्मकता, भावुकता, तथ्यपरकता, स्थानीयता, कवितात्मकता, आख्यानात्मकताको मिश्रित शैलीमा नवीन रूपले प्रस्तुत भएको छ । श्रेष्ठको निबन्धमा निबन्धभित्र समालोचना पाइन्छ, निबन्धभित्र संस्मरण पाइन्छ । निबन्धभित्र आख्यानात्मकता पाइन्छ । निबन्धभित्र सुललित कवितात्मकताको स्वाद लिन सकिन्छ । निबन्धभित्र नियात्राको स्वाद चाख्न पाइन्छ तर कविताबाहेक अरू विधा गद्यात्मक नै हुन्छन् । कृष्णसेन इच्छुकसँग जोडिएको प्रसङ्गमा निबन्धको बिचबिचमा कविताको स्वाद चाख्न पाइन्छ । आयमका हिसाबलो मध्यम तथा लामा आयमका निबन्धहरू भए तापनि श्रेष्ठका निबन्ध पढ्दा पाठकलाई पट्यार लाग्दैन बरु त्यसपछि के भयो होला भन्ने उत्सुकताले तानिरहन्छ । त्यसो हुँदा कुनै कुनै ठाउँमा निबन्धकार अनिल श्रेष्ठ हावी नभएर कथाकार अनिल श्रेष्ठ हावी भएका पो हुन् कि भन्ने अनुभूति पाठकलाई लाग्न सक्छ । कतै उनले निबन्धमा उठाएको विचार प्रबल भइदिन्छ र पाठकलाई त्यसको भानबाट मुक्ति दिलाउने कोसिस गर्छन् । प्राकृतिक सौन्दर्यको सुन्दर चित्रण हरेक निबन्धमा निबन्धकारले गरेका छन् । राजनीतिक विषयवस्तुका निबन्धमा समेत सुन्दर ढङ्गबाट प्रकृतिको चित्रण गरेका छन् । मूलत: तत्सम, तद्भव र केही आगन्तुक शब्दहरुबाट सुगठित श्रेष्ठको भाषाशैली लालित्यमय रहेको छ । मिठासपूर्ण रहेको छ । निबन्धहरु सरल छन्, सहज छन्, बोधगम्य छन् । छोटा छोटा वाक्यहरूद्वारा गठित रहेका छन् ।
नेपाली आधुनिक निबन्ध परम्पराको उत्तरवर्ती चरणमा देखा परेका निबन्धकार अनिल श्रेष्ठले राष्ट्रप्रेम, प्रकृतिप्रेम, मानवताको वकालत, सामाजिक राजनीतिक विसङ्गतिप्रति क्रान्तिकारी विद्रोह चेत प्रकट गर्दै सुन्दर समाज निर्माणका लागि निरङ्कुशताका विरुद्ध तिखो बाण हानेका छन् । समाजको कुरूप संस्कृतिलाई उदाङ्गो पार्दै सुध्रिनका लागि सचेत गराएका छन् । अप्रत्यक्षत: मान्छेमा नैतिक आचरण अर्थात् मानवीय दायित्व र कर्तव्यमा जोड दिएका छन् । स्खलित हुँदै गएका, इमान र नैतिकता बेच्दै हिँडेका राज्यसत्ताका नेतृत्वप्रति, अवसरवादी स्वार्थी प्रवृत्ति बोकेकाहरूलाई सच्चिनका लागि आग्रह गरेका छन् नत्र क्रान्तिको ज्वालाले, कलमको शक्तिले, सारङ्गीको धुनले चाँडै नै विनाश गर्ने चेतावनी पनि दिएका छन् । अन्त्यमा, ‘टाइगर हिलकी पुनम’ निबन्ध सङग्रहभित्र रहेको यो एक सान्दर्भिक अंश:
वैरीहरू छेक्न खोजुन् चाहे त्यो सूर्यलाई
कहिल्यै हत्केलाले छेकिएको छ र हामी छेकिन्छौँ ?(पृ.११)।
०००