दीपक रौनियारको निर्देशन रहेको ‘पूजा, सर’ विश्व प्रसिद्ध भेनिस फिल्म फेस्टिभलमा प्रिमियर हुने भएको छ। फेस्टिभलको ओरिजोन्टी खण्डको प्रतिस्पर्धामा फिल्म छनोट भएको हो।
यसका कलाकार आशा मगराती, ऋचा शर्मा, विजय बराल लगायतले सामाजिक सञ्जाल फेसबुकमार्फत फिल्म भेनिसमा छनोट भएकोमा खुसी साटेका छन्।
थ्रिलर विधामा बनेको फिल्ममा महिला प्रहरी इन्स्पेक्टरको कथा समेटिएको छ।
जनकपुरमा छायांकन गरिएको फिल्मको सेटमा एकैदिन ६ सय भन्दा बढी व्यक्ति देखिएका थिए।
फिल्ममा अभिनेत्री आशा मगरातीले शीर्ष भूमिकामा अभिनय गरेकी छन्।
उनीसहित अभिनेता दयाहाङ राई, पूर्व मिस नेपाल निकिता चण्डक, आरती कर्ण, ऋचा शर्मा, विजय बराल, गौमाया गुरूङ, घनश्याम मिश्र, प्रमेश्वर कुमार झा, निरज श्रेष्ठ र पशुपति राईको अभिनय छ।
फिल्मलाई विश्व बजारमा प्रदर्शन गरिसकेपछि मात्रै नेपाल प्रदर्शन गर्ने तयारी छ।