कृषिकार्यका लागि शक्ति सञ्चय गर्ने उद्देश्यले नेवार जातिले जेष्ठ शुक्ल पष्ठीका दिन सिथि नख: मनाउने गर्छन्। सिथि नख: लाई कुमार पष्ठी पनि भन्ने चलन छ । यो दिन कुमारको पूजा गरी जात्रा पनि गरिन्छ । नेवार समाजमा कुनै पनि कार्य गर्नु अघि गणेशको पूजा गरिन्छ भने गरेको कार्य सफल रूपले सम्पन्न होस् भन्ने उद्देश्यले घरको मूलढोका अगाडि रहेको पिखालखुमा कुमार पूजा गरिन्छ । हरेक नेवार घरको मूलढोका अगाडि पिखालखु रहन्छ भने त्यो पिखालखु रहने स्थान नै कुमारको स्थान हो। पिखालखुलाई हिन्दूमार्गीहरू कुमारको रुपमा मान्दछन् भने बौद्धमार्गीहरू क्षेत्रपालको रूपमा पूजा गर्दछन्। त्यसरी नै प्रत्येक टोलमा एक एक वटा स्थानीय गणेश पनि रहेको हुन्छ । सिथि नख: मूलत: ज्येष्ठ शुक्ल षष्ठीका दिन मनाइने चाड हो। यही ‘षष्ठी’ शब्द अपभ्रंस भई ‘सिथि’ हुन गएको हो। यसको मुख्य नाम षष्ठी नख: हो। सिथि नख:लाई कुमार षष्ठी पनि भन्ने गरिन्छ । यसै दिन कुमारको जन्म भएकोले यसो भनिएको हो। कुमारको जन्मबारे यस्तो कथा सुन्न पाइन्छ । एकचोटी महादेव र पार्वती लीला गरिरहेका रहेछन्। त्यही बखत दानवहरूले स्वर्गमा आक्रमण गरेछन्। आफ्नो राज्यमा आक्रमण भए पछि स्वर्गका सम्पूर्ण देवदेवीहरू महादेवको शरणमा गएछन्। त्यसबेला महादेवको कामाग्नी प्रज्वलित भई चरम उत्कर्षमा पुगेको रहेछ । बाहिर इन्द्र लगाएका देवताहरूले हल्ला गरेकाले क्रोधले चुर भएका महादेवले अन्तपुरको ढोका खोली पार्वतीलाई पोख्नुपर्ने वीर्य इन्द्रमाथि खन्याइ दिएछन्। महादेवको वीर्यको तापले इन्तु न चिन्तु बनेका इन्द्रजी ताप शान्त पार्न गंगाजीको पानीमा डुबुल्की लगाउन पुगेछन्। यसले गर्दा महादेवको वीर्य गंगाजीमा सरेछ । ठीक बेला गंगाजीमा स्नान गर्न भनी स्वर्गबाट छ जना परीहरू पनि आइपुगेछन्। गंगाजीमा स्नान गर्दा पानीमा बहिरहेको महादेवको वीर्य ती परीहरूको गर्भमा पुगेछन्। र, आफ्नो गर्भमा रहेका बालकलाई आफूसँग भएको
गुणले पूर्ण गरिदिएछन्। पछि ती छवैजना परीहरूले एउटै बच्चालाई जन्म दिएछन्। यसरी जन्म भएको तिनै बालक कुमार हुन्। कुमारलाई महादेवले आफ्नो छोरा भनी पार्वतीलाई सुम्पिदिए । षष्ठीका दिन जन्मेका मात्र होइनन् उनी छ जना आमाबाट जन्मेका बालक पनि हुन्। यसरी कुमारको नामसँग षष्ठी जोडिन आएको हो। जसबाट ‘कुमार षष्ठी’ भन्ने चलन शुरु भयो। सिथि नख: अर्थात कुमार षष्ठीलाई रावण संजिता षष्ठी पनि भनिन्छ । अयोध्याका राजा दशरथका जेठा छोरा श्री रामचन्द्रले आफ्नी पत्नीलाई रावणले हरण गरे पछि युद्धद्वारा रावणलाई हराएको दिन पनि यही नै हो। त्यसैले यो दिनलाई रावण संजिता षष्ठी पनि भन्ने भन्ने गरिएको हो अर्थात् रावण पराजित भएको दिन बौद्धमार्गीहरू उक्त दिनलाई भगवान बुद्धको पहिलेको जन्म महासत्वले निर्वाण प्राप्त गर्नुभएको दिनका रूपमा मनाउने गर्दछन्। महासत्वले भर्खर बच्चा जन्माई अशक्त भएका एक बघिनी र उनका डमरूहरूलाई आफैले आफ्नो मासु काटेर खुवाउनु भएको थियो। उक्त घटना भएको स्थानलाई हाल नमोबुद्ध (नमुरा) भन्ने गरिन्छ । बघिनी र उनको बच्चालाई आफ्नो मासु काटेर ख्वाउँदा ख्वाउँदै महासत्व निर्वाण हुनुभएको थियो। यस्तो महान कार्य गरेको हुनाले आजसम्म पनि राजकुमार महासत्वको गीत गाउने चलन रहेको छ ।सिथि नख:का दिन गोबरले भुइँमा गोलो आकार हुने गरी लिपेर त्यसमाथि ६ वटा पात भएको कमलको फूल लेखी श्री कुमार (सिथि द्य:) को आराधना गरिन्छ ।
कुमारको पञ्चोपचार पूजा गरी मास, मुंग अथवा सानो केराउको व: (बारा), चतांमरि, कोदोको रोटी र मकैको रोटीका साथै छ थरीका तरकारी चढायो भने घरमा कुनै विघ्न बाधा आइपर्दैन भन्ने विश्वास गरिन्छ । दशैंका बेला चङ्गा उडाए झैँ सिथि नख:को बेला घर घरमा कागजको फिरफिरे (फय्लिंचा) घुमाउने चलन छ । अहिले यस्तो चलन नदेखिए पनि आठवटा कुना भएको र प्रत्येक कुनामा कमलको फूल लेखिएको कागज वा कपडाको फिरफिरे उडाउने गर्यो भने सबै दोष मुक्त भई अष्ट महाभयबाट रक्षा हुन्छ र अष्टसिद्धि प्राप्त हुन्छ भन्ने भनाई छ । यो चाड सकिने बित्तिकै खेतिपाती सुरु हुने र त्यतिबेला घर सरसफाई गर्न नभ्याइने भएकोले सिथिनख:का दिन घर बढारकुढार गर्ने,लिपपोत गर्ने र घरका सबै सदस्यहरूले पनि नुहाईधुहाई गरी सफा सुग्घर हुने काम गरिन्छ । नुहाउने काम त्यसै दिन सकाउनु पर्छ । छ किसिमको बारा (व:) र छथरीका तरकारी राखी कुमार पूजा गरिन्छ । साथै कुमारको नाममा व्रत बस्ने र आआफ्नो पूजा कोठामा विभिन्न देवीदेवताको पूजा गरी
बारा चढाउने चलन पनि छ ।आ–आफ्नो शरीर वा घर मात्र सफा गर्ने नभई खेतीपातीको यामभरि पानी परेर फोहोर हुने भएकोले टोल टोलमा रहेको इनार, जरुवा,पानीको मूल, चोकको ढल सफा गरी वर्ष दिनलाई ठिक्क पार्ने काम गरिन्छ । यस दिन विशेष गरी पानीको मूल सफा गरिन्छ । सिथि नख: लगत्तै रोपाइँ शुरु हुने भएकोले त्यसैको लागि शक्ति सञ्चय गर्ने र सफा पानी पिएर स्वस्थ हुने पर्वका रुपमा पनि सिथि नख: मनाइने हो। पाटनको बुंगद्य: (मछिन्द्रनाथ) रथमा आरोहण गराए पछि सुरु हुने देवाली सिथि नख:सम्म मात्रै मनाउने परम्परा छ । यदि कसैको देवाली मनाउने चलन छैन वा
देवालीका दिन पूजा गर्न सकिएन वा देवालीको दिन थाहा हुन सकेन भने तिनीहरूले यसै दिन देवाली पूजा गर्ने चलन छ । देवाली पूजा गर्दा घरमा मात्र नभई बाहिर देवालीथानसम्म पनि गई पूजा गरिन्छ ।खेतीपातीको काम गर्न शक्ति आवश्यक हुने गर्दछ । त्यसैको लागि यस पर्वमा थरीथरीका बारा (व:) खाएर शक्ति सञ्चय गरिन्छ । यति बेला खाइने विभिन्न गेडागुडीका बाराहरू अत्यन्त प्रोटिनयुक्त परिकार हुन्।
मनोरञ्जन
सिथि नख:सम्म महासत्व राजकुमारको साथसाथै धातु गीत पनि गाउने गरिन्छ । यसको भोलिपल्टदेखि रोपाइँ गीत (सिनाज्या म्येँ) गाउन सुरु हुन्छ । रोपाइँ गीत सुरु हुनु भनेकै खेतीपातीको काम सुरु हुनु हो। त्यसैले सिथि नख:देखि नै खेतिपातीको काम पनि सुरु हुन्छ । खेतीपातीको काम साह्रै कष्टपूर्ण हुने भएकोले यतिबेला मीठो पोषिलो खाई मनोरञ्जन गरी मन र शरीरलाई स्वच्छ र स्वस्थ बनाइ राख्नुपर्ने हुन्छ । खेतिपातीको काम सुरु हुने भएकोले के बुझ्न सकिन्छ भने सिथि नख:को समयमा मानिसहरूको घरमा अन्नको भण्डार रित्तिसकेको हुन्छ । त्यस कारण यो पर्व नेवारहरूले वर्षभरि मनाउने चाडपर्वहरू मध्ये सबैभन्दा पछिल्लो हो। अर्थात वर्षभरिको सबैभन्दा अन्तिम पर्व हो। यो पर्वलाई चेली पर्व पनि भन्ने गरिन्छ । यो चाडमा चेलीबेटी बोलाई थरिथरिका व: (बारा) का परिकार बनाएर भोज खुवाउने चलन छ ।
यो चाडमा कुनै कुनै गाउँमा खोलाको दुई किनारमा दुई हुल मानिसहरू बसी एकले अर्काेलाई ढुंगा हानी रगताम्य पार्ने अनौठो परम्परा पनि थियो।तर अहिले यो परम्परा लोप भइसकेको छ । यसलाई जङ्गबहादुरले रोकेको भनिन्छ । पानीको मुहान सफा गर्नु अघि त्यहाँ बस्ने नागहरूलाई शान्त पार्न कपास बाटेर (माला जस्तो उनेर) चढाउने चलन छ । पानीको मुहानमा नागको बास भएछ भने त्यहाँ पानी उम्रिन्छ भन्ने जनधारणा रहेको छ । सिथि नख:को बेला देवतालाई चढाउने व: (बारा) र चतांमरी (चामलको पीठोबाट बनाइने रोटी) का बारे पनि मनोवैज्ञानिक विश्लेषण गरिएको पाइन्छ । कृषि उत्पादनहरू मध्ये सबैभन्दा महत्वपूर्ण अन्न धान वा चामललाई मानिन्छ । चामलको पीठोबाट बनाइने चतांमरीलाई पृथ्वी र त्यसमाथि सजाइने थरिथरिका बारालाई आकाशको प्रतीक मानिन्छ । चतांमरी पृथ्वी र व: आकाशको प्रतीक हो भने त्यसमाथि राखिने विभिन्न परिकार चाहिँ पृथ्वीमा बस्ने जीवजन्तुहरूको प्रतीक हो।खेतिपाती धर्तीमा गरिन्छ । यसलाई चाहिने जल, वायु, तेज सबै माथिबाट अर्थात् आकाशबाट प्राप्त हुन्छ । साँच्चै भन्ने हो भने व: पञ्चतत्वको चिन्ह पनि हो।
सिथि नख:मा कुमार जात्रा
नेवारहरूले वर्षभरि मनाउने पर्वहरू मध्ये सिथि नख:मा चतांमरी, दालको व: र छ थरिको तरकारी खाएर इनार र पानीका मुहानहरू सफा गर्ने मात्र होइन यसको साथसाथै कुमार देवताको जात्रा पनि गर्ने चलन छ । यो कुमार जात्रा अथवा सिथि देवताको जात्रा पहिले पहिले काठमाडौं, पाटन र भक्तपुर तीनै शहरमा चलाउने गरिन्थ्यो। तर अहिले काठमाडौंमा मात्रै बाँकी छ । नेवार संस्कृतिमा कुमारको छुट्टै स्थान भएकोले यो देवतालाई पिखालखु (घरको मुख्य ढोका सामुन्ने) मा स्थापना गर्ने चलन छ । कुनै पनि पूजा वा ठूलो कर्मकाण्ड गर्नु पर्दा पूजा भन्दा पहिले नै पिखालखुमा कुमारलाई पूजा गर्नु पर्दछ र त्यसपछि मात्रै अरू देवीदेवताहरूको पूजा गर्ने प्रचलन छ । महायानी बौद्धहरूले पिखालखुको देवतालाई क्षेत्रपालको रुपमा मान्दछन् भन्ने अरूले कुमारको रूपमा । यस बारे एउटा धार्मिक आख्यान के छ भने, एकपटक महादेवले आफ्ना दुई भाइ छोराहरूलाई बोलाएर जो पहिले सुमेरु पर्वत घुमेर आउँछ उसलाई वरदान दिने भनेर आज्ञा गर्नुभएछ । दुवै दाजुभाई सुमेरु पर्वत घुम्न तयार भएछन्। माता पिताबाट आज्ञा भए बमोजिम कुमार त आफ्नो बाहक मयुरलाई लिएर उडिहालेछन्। तर गणेश भने मोटोघाटो, पेट पनि ठूलो तर वाहन भने छुचुन्द्रो। सुमेरु पर्वत घुम्न त धेरै समय लाग्ने भयो। त्यसैले गणेश सुमेरु पर्वत घुम्न नगई महादेव र पार्वती बसिरहेको ठाउँमा गई दुबैलाई परिक्रमा गरी आफ्नो लागि त माता पिता नै सुमेरु पर्वत पनि हो, अरु पनि सबथोक हो भनी बिन्ती चढाएछन्। गणेशको यो चतुरतापूर्ण बिन्ती सुनेर महादेव पार्वती दुवै दंग भएछन्। छोराको यो धारणा त ठीकै हो भनी प्रशन्न भएर गणेशलाई वरदान दिनुभएछ । त्यो वरदान हो, कुनै पनि मानिसले पूजापाठ जस्ता जुनसुकै धार्मिक क्रिया गरे पनि सबैभन्दा पहिले गणेशलाई पूजा गर्नु पर्छ होइन भने त्यसको कुनै पनि कार्य सफल हुने छैन । त्यसै कारण टोलटोलमा स्थानगणेशको रूपमा पूजा ग्रहण गर्नु भन्ने आशा भएछ । त्यसपछि कुमार पनि मयुरमा सवार भई सुमेरु पर्वत पूरै घुमेर पिताकहाँ आइपुग्दा गणेश त पहिले आएर आसन ग्रहण गरिसकेको हुन्छ । आफूभन्दा पहिल्यै गणेश आइसकेको देख्दा कुमारलाई अचम्म लाग्छ । आफूले सारा सुमेरू पर्वत घुमिसक्दा पनि कतै भेट नभएका गणेशलाई आफूभन्दा पहिल्यै आसनमा बसिसकेको देखेपछि कुमारलाई छक्क लाग्नु स्वाभाविकै हो। उनले आफूले दु:खपूर्वक सुमेरु पर्वत घुमेर पिताको आदेशको पालना गरेको तर गणेशले आदेशको पालना नगरी छलपूर्ण काम गरेको भनी मनको कुरा राखिसकेपछि महादेव र पार्वतीलाई चेत भयो। त्यसपछि उहाँहरूले कुमारलाई गणेश भन्दा पनि पहिले पूजा गराउने हेतुले घरको पिखालखुमा वासस्थान हुने छ भनेपछि कुमारले आज्ञा शिरोपर गरी पिखालखुमा वासस्थान ग्रहण गरे। यसरी हाम्रो
धार्मिक र साँस्कृतिक
परम्परामा कुमारका बेग्लै स्थान रहन आएको छ । पिखालखुमा बसेर घरको रक्षा गर्नु कुमारको कर्तव्य हो। त्यसकारण कुमारलाई क्षेत्रपालको रुपमा पनि लिने गरिन्छ ।प्राचिन समयमा कुमारलाई किल्ला प्रमुखको रुपमा मान्ने परम्परा पनि रहेको छ । त्यसबेला जसरी ठाउँ ठाउँमा कुमारी रहन्थे त्यसरी नै कुमार पनि रहने गर्दथ्यो। राजप्रासादमा कुमारी जात्रा गरे झैँ कुमारको पनि जात्रा गरिन्थ्यो। लिच्छवीकाल भन्दा पहिलेको नगर भनेको यही राजप्रासाद छेउछाउको क्षेत्र हो। त्यसकारण त्यसबेला कुमार पनि राजदरबारकै कुमार भएकाले जात्रा हुन्थ्यो भन्ने अनुमान गरिन्छ । तर यो जात्रा कहिलेदेखि शुरू भयो भन्न सकिँदैन । काठको रातो वर्णका कुमारलाई जात्राको तीन दिन अगावै चोभारस्थित च्वबाहाद्य:लाई स्नान गरी रंगरोगन गराइ सकेपछि बाँकी रहेको रङ्गले सिँगारी भोलिपल्ट काठमाडौंस्थित क्वहिटी (जैशीदेवल सँगै) को पाटीमा राख्ने गरिन्छ । जात्रा शुरू गर्नु अघि कुमारलाई बच्चा जन्मँदा गरिने संस्कारहरू जस्तो कि ‘सिचापालु’ देखाउने, कान छ्ेड्ने, इही (बेल विवाह) गर्ने, गुफा राख्ने र व्रतवन्ध गर्ने जस्ता कार्यहरू सम्पन्न गरिन्छ । देवताको अगाडि कुसुन्दिको होम गरिन्छ । त्यसको भोलिपल्ट अर्थात सिथि नख:को अर्काे दिन कुमार जात्राका गुठियारहरूले खटमा राखी बोकेर कुमारलाई जहाँ जहाँ घुमाइन्छ त्यहाँ त्यहाँ जात्रा हुने चलन छ । यसरी कुमारको खट जात्रा गराउँदा देउतालाई सँभाल्न पनि एक जना बस्नु पर्ने हुन्छ । खटमा देवतालाई सँभाल्ने भन्ने कुराले यो जात्रामा पनि कुनै बेला कुमारी झँै जीवित कुमार केटोलाई नै खटमा राखेर परिक्रमा गराइन्थ्यो भन्ने संकेत मिल्दछ । जनधारणा अनुसार पनि एउटा हराइरहेको केटो कै कारणले उक्त जात्रा शुरू भएको हो। उनीहरूका अनुसार कुमार बलम्बुनिवासी केटा हुन्। उनलाई काठमाडौंको न्हूघल (जैसी देवल) मा रोइरहेको अवस्थामा भेट्टाइएको थियो। त्यसपछि उनलाई आफ्नो पूर्खामा कोही पनि छोरा मान्छे नभएका एकजना स्थानीयले बारा र चतांमरी दिएर फकाएर राखेका रहेछन्। पछि हराएको केटोलाई खोज्दै बलम्बुका स्थानीय मानिसहरू पनि उहीँ आइ पुगे र उनलाई लिएर गए । तै पनि केटो बलम्बुबाट पुन: फर्केर न्हूघल मै आए र त्यहीँ सिद्ध भए भन्ने भनाई रहेको छ ।
देउतालाई “लँपुल्यं” चढाउन आचारविचार पुर्याउने काम ठसि (लगनखेल) का नेकु (नेमकुल) हरूले गर्छन् तर जात्रा भने न्हूघलका ज्यापूहरूले चलाउँछन्। यो देवताको जात्रा गर्दा बलम्बुका स्थानीय मानिसहरू केटो खोज्न आउँछन् भन्ने भनाई छ । भोलिपल्ट अर्थात सप्तमीका दिन सबैभन्दा पहिले राजदरबार लगी दरबारको पूजा थाप्छन्। त्यसपछि अट्कोनारायणस्थानका मानिसहरूले ठूलो लाखामरी चढाउने चलन छ । तर आजभोलि सानो मात्रै चढाउने गरेको पाइन्छ । यससँगै पाँचवटा बारा पनि चढाइन्छ । यसलाई तत्कालिन समाजमा उक्तस्थानको कर तिर्ने हिसाबले चढाएको भनिन्छ । जात्रा सकिएपछि देउतालाई देउताघर (द्य:छेँ) को पिखालखुमा पूजा गरी भित्र्याउने चलन छ । देउता भित्र्याएपछि चार दिनसम्म कसैलाई दर्शन गराइँदैन ।
नेवा: सांस्कृतिक चाडपर्व
मौलिक कृति नेवा: भाय् (नेपाल भाषा) मा
डा. चुन्दा बज्राचार्य
नेपालीमा अनुवादक
देवेन्द्र कुमार मल्ल