१. प्रविष्टि
लघुकथा आख्यान विधाको सानो प्रभेद हो । आख्यान साहित्यको परम्परामा कथाको कान्छो प्रविधाका रुपमा यसलाई लिइन्छ । पछिल्लो चरणको नेपाली साहित्यमा खासगरी काव्य र आख्यानका क्षेत्रमा लघु र लघुतम प्रविधाको लेखनले प्राथमिकता पाइरहेको दृष्टिगत हुन्छ । कवितामा हाइकु, चतुष्पदी मुक्तक, गजल आदिको लेखनले तीव्रता पाएजस्तै आख्यानमा लघुकथा, सूत्रकथाहरुको लेखनले उत्तिकै महत्व पाएको देखिन्छ । गजल र मुक्तकका विभिन्न संस्थाहरु स्थापना भएजस्तै लघुकथाको विकास, विस्तार र समुन्नयनको उद्देश्यले लघुकथा समाज नामक संस्थाको पनि स्थापना भएको छ । यस संस्थामा मूलतः लघुकथाका स्रष्टाहरु आबद्ध छन् । यसै संस्थाका स्रष्टाहरुका लघुकथाहरुको संयुक्तसङ्ग्रह आजका लघुकथा नामक कृति प्रकाशित भएको छ । यहाँ यसै कृतिभित्रका लघुकथाहरुको अनुगमनात्मक अध्ययन गर्ने प्रयास भएको छ ।
२. लघुकथाहरुको चर्चा
आजका लघुकथा नामक यस कृतिमा ध्रुव मधिकर्मी, श्रीओम श्रेष्ठ रोदन, गोपाल अश्क, सुमन सौरभ, कृष्ण बजगाईं, तुलसीहरि कोइराला, डा. पुष्करराज भट्ट, कृष्ण शाह ‘यात्री’, श्रीबाबु कार्की ‘उदास’, डम्बर रसिक भारती, सिन्धु गौतम, सुष्मा मानन्धर र श्रीराम राईसहित १३ जना स्रष्टाहरुका पाँच पाँचवटा गरी ६५ वटा लघुकथा समाविष्ट छन् । पहिलो अनुक्रममा ध्रुव मधिकर्मीकाबाटैबाटो, सुनको पुल, धोएको गधा, दाबी र आयात शीर्षकका लघुकथाहरु रहेका छन् ।बाटैबाटो, सुनको पुल र धोएको गधा शीर्षकका लघुकथामा राजनीतिक क्षेत्रका विकृति–विसङ्गतिहरुमाथि तीव्र व्यङ्ग्य प्रहार गरिएको छ भने दाबी शीर्षकको लघुकथामा पशुमा पाइने सबै गुण मान्छेमा पनि पाइन्छन् भन्ने भाव व्यक्त भएको छ । यसरी नै आयात शीर्षकको लघुकथा हाम्रो परनिर्भरतामाथि गरिएको व्यङ्ग्यमा आधारित छ । दोस्रो अनुक्रममा श्रीओम श्रेष्ठ रोदनका स्वार्थ स्वाद, शक्तिसूत्र, पृथक् बाटो, संस्कृति र संरक्षण तथा गोटी शीर्षकका लघुकथाहरु समावेश गरिएका छन् । यीमध्ये स्वार्थस्वाद नारी मनोविज्ञानमा आधारित छ । नारीवेदना प्रतिविम्बित भएको यस लघुकथामा यौनपिपासु हाकिमको कुत्सित मनोवृत्ति तथा गरिबी र बेरोजगारीका कारण विवश हुन पुगेकी पीडित युवतीको सजीव चित्रण छ । शक्तिसूत्रमा धर्मले साम्प्रदायिक रुपमा समाजलाई विखण्डन गरेको हुन्छ भने पेसागत सङ्गठनले एकताको सूत्रमा बाँधेर शक्तिशाली बनाएको हुन्छ भन्ने कुरालाई पुष्टि गर्न कारखानाका मजदुरहरुको आन्दोलन र त्यसलाई निस्तेज गर्न व्यवस्थापनका पक्षबाट अस्त्रका रुपमा प्रयोग गरिएको विभिन्न धार्मिक र साम्प्रदायिक नेताहरुको प्रवचनलाई प्रस्तुत गरिएको छ ।पृथक् बाटो नारीसमस्यामा केन्द्रित लघुकथा हो । यसमा हिरोले हिरोइनलाई बलात्कृत हुनबाट बचाएको जस्तो चलचित्रीय शैली अवलम्बन गरिएको छ भने अन्तमा नारी मनोविज्ञान मुखरित भएको छ ।संस्कृति र संरक्षण शीर्षकको लघुकथाको विषयवस्तु संस्कृति र पर्यावरणसँग जोडिएको छ । यसमा पर्यावरणको संरक्षण हुनुपर्छ भन्ने कुरालाई एकातिर जोड दिइएको छ भने अर्कातिर पर्यावरणको न्यूनतम क्षति हुने भए पनि संस्कृति जोगाउनैपर्छ भन्ने सन्देश दिन खोजिएको छ ।गोटी देशमा जनसंख्या वृद्धि, त्यसको नियन्त्रण र त्यसपछिको परिणाममा आधारित छ । नेपालको नीतिनिर्माणमा हुने विदेशी हस्तक्षेपलाई प्रतीकात्मक रुपमा दर्साइएको छ यस लघुकथामा । तेस्रो अनुक्रममा गोपाल अश्कका कमी, सम्बन्ध, बदलिँदो नाता, आजको लक्ष्मण र चिन्ता शीर्षकका मूलतः पारिवारिक पृष्ठभूमिमा लेखिएका लघुकथाहरु छन् । यिनको कमी शीर्षकको लघुकथामा एकातिर नारीहरुको ईष्र्याजन्य र कुरा काट्ने प्रवृत्तिको चित्रण छ भने अर्कातिर सन्तानको कमी भएकाहरुको मनोभाव दर्शाइएको छ ।सम्बन्ध शीर्षकको लघुकथा बाबु र छोराहरुबीच अहम्बोधका कारण उत्पन्न विवादबाट आरम्भ भएको छ भने आन्तरिक रुपमा उनीहरुमा श्रद्धा र माया उत्तिकै छ भन्ने कुरालाई इङ्गित गरिएको छ । बदलिँदो नाता शीर्षकको लघुकथा सहोदर समलिङ्गी दिदीबहिनीबिचको नाता पतिपत्नीमा बदलिएको प्रसङ्गमा आधारित छ । आजको लक्ष्मण शीर्षकको लघुकथामा मृत अवस्थामा भेटिएकी एउटी महिलाको हातको औँठी र खुट्टाको पाउजु चिन्न नसकेको देवरले ब्रेसियर चिन्दछ । यसरी प्रतीकात्मक रुपमा देवर र भाउजूबिच अवैध यौनसम्बन्ध थियो भन्ने कुराको रहस्योद्घाटन भएको छ यस लघुकथामा ।चिन्ता शीर्षकको लघुकथामा बिहे गरेर दिइसकेकी छोरीको पनि जिम्मेवारी वहन गरिरहन बाध्य पिताको मानसिक चिन्ता मुखरित भएको छ । चौथो अनुक्रममा सुमन सौरभका सङ्क्षिप्त इतिहास, भोकमरी, विवेक, घृणा र अमानव शीर्षकका लघुकथाहरु रहेका छन् । यिनमा पृथक् प्रवृत्तिको आभास हुन्छ । यिनका लघुकथा कथ्यको नवीन खोज र प्रयोगमा आधारित छन् । सङ्क्षिप्त इतिहास शीर्षकको लघुकथामा एकातिर पृथ्वीको उत्पत्तिको सङ्क्षिप्त इतिहास छ भने अर्कातिर संसारमा भइरहेको जनसङ्ख्या विस्फोटन, अभाव र दुःखकष्टको विकल्पका लागि सूर्य पड्केर अरु दुईचारवटा पृथ्वी बनून् भन्ने कामना गरिएको छ । भोकमरी शीर्षकको लघुकथामा स्वैरकल्पनाका माध्यमबाट गरिबीले ग्रस्त मानवजीवनको पराकाष्ठा देखाइएको छ । किराहरुले बरु अन्नगोदाममा भोज मनाइरहेका छन्, तर गरिबहरु भोकका कारण मृत्युको सिकार हुन बाध्य छन् भन्ने कुरालाई यस कथामा अत्यन्त मार्मिक ढङ्गले उठाइएको छ ।विवेक शीर्षकको लघुकथामा अन्धविश्वासप्रति परोक्षतः व्यङ्ग्य गरिएको छ भने विज्ञान र ज्ञानको प्रयोग गर्दा विवेक पुगेन भने त्यसको दुष्परिणाम देखा पर्दछ भन्ने कुरा पनि दर्साइएको छ । घृणा शीर्षकको लघुकथामा यौनपिपासु हाकिमको कुत्सित व्यवहारका कारण एचआईभी सङ्क्रमित एउटी नारी कर्मचारीको मनोदशा मुखरित भएको छ । अमानव शीर्षकको लघुकथामा पनि स्वैरकल्पना छ । यसलाई विज्ञान लघुकथा पनि मान्न सकिन्छ । दुर्गुणहरु मानवीय प्रवृत्ति हुन् भने कुनै न कुनै दुर्गुण नभएको मान्छे मानव होइन, अमानव भइदिन्छ भन्ने सार यस लघुकथामा अन्तर्भूत छ । यस सङ्ग्रहअन्तर्गत पाँचौँ अनुक्रममा कृष्ण बजगाईंका यन्त्रवत्–१, यन्त्रवत्–२, समावेशी उद्योग, पूर्णता र स्पेयर पार्टस् शीर्षकका लघुकथाहरु समाविष्ट छन् ।यन्त्रवत्–१ मूलतः विज्ञान कथ्यजस्तो प्रतीत हुने स्वैरकल्पनामा सङ्केन्द्रित लघुकथा हो । यसमा खास मान्छेले यन्त्रमानवको रुप धारण गरेर आधुनिक तरिकाले भीख मागेको रोचक कथावस्तु छ ।यन्त्रवत्–२ मा पनि यन्त्रमानवकै प्रसङ्ग छ । यन्त्रवत्–१ को मानव पात्रले साँच्चिकै यन्त्रमानवलाई प्रदर्शन गरेर अर्थोपार्जन गरी जीवन चलाएको कथावस्तु यस लघुकथामा छ ।समावेशी उद्योग शीर्षकको लघुकथामा मसाजका नाममा गरिने यौनव्यवसायको चित्रण छ । समावेशी युवतीहरुको संलग्नता रहेको मसाजकेन्द्रमा राजनीतिक दलका नेता र कार्यकर्ताहरुको भीड लाग्ने गरेको कुराले यस लघुकथामा मूलतः राजनीतिमा महिला समावेशिताप्रति व्यङ्ग्य गरिएको छ । पूर्णता नारी यौनमनोभावमा आधारित लघुकथा हो । महिलाहरुको विवशताजन्य विषयवस्तुमा केन्द्रित यस लघुकथामा विविध कारणले तीनजना पुरुषसँग विवाह गरेकी तर जीवनमा एउटा पनि पूर्णपुरुष नपाएपछि आत्महत्याको बाटो रोजेकी एउटी नारीको चित्रण छ ।स्पेयर पार्टस् शीर्षकको लघुकथामा नेपाल बन्दको प्रसङ्गसहित मजदुरी गरेर जीवन चलाउने निरीह गरिबहरुको दर्दनाक चित्रण छ । बजगाईंका सबैजसो लघुकथामा कथ्यको कल्पना नितान्त नयाँ दृष्टिगत हुन्छ । यस सङ्ग्रहअन्तर्गत छैटौँ अनुक्रममा तुलसीहरि कोइरालाका कृति उपहार, महादेव बाजे, मानव अधिकार, शालिक प्रेम र उपचार शीर्षकका लघुकथाहरु समाविष्ट छन् । कृति उपहारमा एकातिर स्रष्टाहरुको नियति र चरित्रको उद्घाटन भएको छ भने अर्कोतिर कवि लेखकहरुले कृतिविमोचन गर्ने र सित्तैमा बाँड्ने तर प्राप्तकर्ताले त्यसको सदुपयोग नगर्ने प्रवृत्तिको सङ्केतन गर्दै यस्ता प्रवृत्तिमाथि स्वाभाविक ढङ्गले व्यङ्ग्य गरिएको छ ।महादेव बाजेमा सम्पन्नता र सम्मानका लोभी मान्छेको चरित्रोद्घाटन छ । तराई आन्दोलनका कारण बसाइँ सरी काठमाडौँ आएको, तर यहाँ त्यहाँजस्तो सामाजिक सम्मान र प्रतिष्ठाबाट वञ्चित भएको ऊ पात्रले सम्मान खोज्ने क्रममा घरको परिसरभित्र चिटिक्कको मन्दिर बनाएर महादेवको मूर्ति स्थापना गरी स्वयम् पूजारी भई बस्न थालेपछि महादेव बाजे भनेर चिनिएको र मन्दिरमा आउने जाने सबैबाट नमस्कार पाउने गरेको कथ्य छ ।मानव अधिकार नामक लघुकथामा नाङ्गाभोकाहरुको मर्म नबुझ्ने मानव अधिकारवादीहरुप्रति तीव्र व्यङ्ग्य गरिएको छ । शालिक प्रेममा कविकलाकारहरुलाई जीवित अवस्थामा आदर सम्मान नगर्ने तर दिवङ्गत भइसकेपछि शालिक बनाएर श्रद्धा व्यक्त गर्ने प्रवृत्तिमाथि व्यङ्ग्यात्मक प्रहार छ । कथाकी गौण पात्र मङ्गली भाउजूले कविको शालिकमा मदिरा चढाउने गरेको र कविको जयन्ती मनाइसकेपछि केही अनुयायी कविहरु साँझ मङ्गली भाउजूको मदिरालयमा रमाइरहेको प्रसङ्ग पनि उत्तिकै व्यङ्ग्यात्मक छ ।उपचार निकै रोचक र कौतूहलपूर्ण लघुकथा हो । यसमा पेटभरि खानका लागि आफूलाई मिर्गौला रोगीको रुपमा प्रस्तुत गरी फ्लेक्स ब्यानरसहित सडकमा माग्ने गरेको एउटा नक्कली रोगीको रहस्योद्घाटन छ । यस सङ्ग्रहअन्तर्गत सातौँ अनुक्रममा रहेका डा. पुष्कर भट्टका प्रक्रिया, आडम्बर, मुक्तिदाता, आमा र नव समालोचक शीर्षकका लघुकथाहरु समाविष्ट छन् । प्रक्रियामा हाम्रो प्रशासनिक निकायमा अझै पनि घुसखोरी प्रवृत्ति कायमै रहेको यथार्थको स्वाभाविक र विश्वसनीय ढङ्गले उद्घाटन गरिएको छ । नाटकीय शैलीमा लेखिएको आडम्बरमा वर्तमान बुझ्न नखोज्ने पुरानो पुस्ताका आडम्बरी कविको धारणाको चित्रण छ । मुक्तिदातामा मदिरालयभित्र कमैयाको पक्ष र विपक्षमा रहेका दुईजना पात्रको संवाद छ । कमैयाहरुको अवस्थामा सुधार नहोस् भन्ने सामन्ती चरित्रको पात्रले भनेका कुराहरु नै यस लघुकथाको अन्तर्वस्तु हो ।आमा शीर्षकको लघुकथामा एकातिर छोराको आमाप्रतिको श्रद्धा र आमाको छोराप्रतिको ममता देखाइएको छ भने अर्कातिर बुहारीको सासूप्रतिको दुव्र्यवहारलाई प्रतिविम्बन गरिएको छ ।नव समालोचकमा सिद्धान्तको ज्ञान नभएका तर आफूलाई महान समालोचक ठान्ने नयाँ पुस्ताका सतही समालोचकहरुप्रति तीव्र व्यङ्ग्य प्रहार गरिएको छ ।
यस सङ्ग्रहअन्तर्गत आठौँ अनुक्रममा रहेका कृष्ण शाह यात्रीका पहिचानको खोजी, डर, लाशघर, श्रवणकुमार र शहीदहरु शीर्षकका लघुकथाहरु समाविष्ट छन् ।पहिचानको खोजीमा कुनै पनि पेसा ठूलो सानो हुँदैन, हरेक कामको आफ्नै महत्व हुन्छ भन्ने केन्द्रीय भाव रहेको छ । डर राजनीतिभित्रको विकृतिमा आधारित छ । यसमा शक्तिशाली नेताहरुका विरुद्ध आफ्नै पार्टीभित्रका नेता, कार्यकर्ताहरु नै लागेका हुन्छन् भन्ने कुरालाई मूल कथ्य बनाइएको छ । लाशघरमा यथार्थतः द्वन्द्वकालीन र भूकम्पपछिको अवस्थालाई समेट्दै अतियथार्थ र स्वैरकल्पनालाई अवलम्बन गरिएको छ ।श्रवणकुमारमा आधुनिक युगमा पौराणिक युगका श्रवणकुमारजस्ता पुत्रहरु छैनन् अर्थात् हुँदैनन् भन्ने कुराको सङ्केत छ । शहीदहरुमा ऐरेगैरे जोसुकैलाई शहीद घोषणा गर्ने हाम्रो सरकारको फितलो नीतिप्रति व्यङ्य गरिएको छ । यसमा पनि अतियथार्थवादको छनक पाइन्छ । नवौँ अनुक्रममा रहेका श्रीबाबु कार्की ‘उदास’का अन्तिम इच्छा, रोबर्ट र मानिस, धर्म, अपसोच र प्रजातन्त्र शीर्षकका लघुकथाहरु समाविष्ट छन् ।अन्तिम इच्छा यौनविषयक लघुकथा हो । यसमा सम्भ्रान्तवर्गका महिलाहरुले कामदार युवाहरुबाट कसरी यौनानन्द लिन्छन् भन्ने कुरालाई अन्तर्वस्तु बनाइएको छ । रोबर्ट र मानिस प्रविधिजन्य लघुकथा हो । यसमा विज्ञान र प्रविधिको अति विकासबाट अन्ततः मानिसमा हतियारी उन्माद बढ्ने कुरातर्फ सङ्केत गरिएको छ ।धर्ममा धर्मका नाममा गरिने अधर्मको उद्घाटन भएको छ ।अपसोच प्रतीकात्मक छ । यसमा देशको नक्सालाई विभिन्न रङले सजाउन खोज्दा अन्ततः मूल रेखा नै मेटिने सम्भावनालाई कथ्य बनाइएको छ । प्रजातन्त्रमा धर्मका नाममा कसैको हक अधिकारमाथि हस्तक्षेप हुनु हुँदैन र सबैले स्वतन्त्रतापूर्वक बाँच्न पाउनुपर्दछ भन्ने सन्देश अन्तर्निहित छ । दसौं अनुक्रममा रहेका डम्बर रसिक भारतीका टिप्पणी, अभिनयहरु, बसद्धिमापक यन्त्र, भङ्ग भएको अपेक्षा र दानवीर शीर्षकका लघुकथाहरु समाविष्ट छन् । टिप्पणी मा अर्काको आलोचना गर्ने मानवीय दुष्प्रवृत्तिको चित्रणसहित एउटा व्यक्तिलाई हेर्ने फरकफरक व्यक्तिका भिन्नभिन्न दृष्टिकोण हुन्छन् भन्ने कुरा देखाउन खोजिएको छ । अभिनयहरुमा आदर्श शिक्षा दिन नजान्ने आजका शिक्षकहरुप्रति व्यङ्ग्य गरिएको छ भने विद्यार्थीहरुको देखावटी उदारता र आदरभावको चित्रण छ । बुद्धिमापक यन्त्रमा ईष्र्याजन्य मानवीय प्रवृत्तिप्रति व्यङ्ग्य छ । धेरै विताब पढ्दैमा बुद्धि बढ्दैन, तर पनि मान्छेहरु यस्ता बाहियात कुपरदेशीमा विश्वास गर्छन् भन्ने मूल कथ्यमा यो लघुकथा लेखिएको छ । भङ्ग भएको अपेक्षामा नारी मनोविज्ञान अभिव्यक्त भएको छ । छोटो यात्रामा एउटै सिटमा रहेको पुरुषप्रति आकर्षित भएकी युवतीको मनमा ऊ भ्यासेक्टोमी गर्न हिँडेको जानकारीपछि अकस्मात् चोट परेको देखाइएको छ । दानवीरमा अवैध धन्दाबाट कमाएको धन दान गर्ने वा चन्दा दिनेलाई सम्मान गर्ने हाम्रो सामाजिक मानसिकतामाथि व्यङ्ग्य गरिएको छ ।
सिन्धु गौतमका लघुकथाहरु एघाराँै अनुक्रममा रहेका छन् । यिनका सेटो कोट, नियमपालना, प्रच्छन्न रहस्य, संस्कृति र बहाना शीर्षकका लघुकथाहरु यस कृतिमा सङ्कलित छन् । सेटो कोटमा स्वास्थ्यक्षेत्रमा देखिएको विकृति र चिकित्सकहरुको स्वार्थीपनमाथि व्यङ्ग्य गरिएको छ । डाक्टरहरु प्राइभेट अस्पताल र क्लिनिकहरुमा सेवा गर्दछन्, सरकारी अस्पतालमा विपरदेशीहरु उचित सेवासुविधाबाट बञ्चित हुनुपर्दछ भन्ने सारवस्तु छ यस लघुकथामा । नियमपालनामा यातायातमा क्षेत्रमा देखिने विकृति र लापर्बाहीप्रति व्यङ्ग्य गरिएको छ । प्रच्छन्न रहस्यमा पैसाका लागि श्रीमतीलाई विदेश पठाउने र उसकै चरित्रमाथि प्रश्न उठाउने पुरुषचरित्रको उद्घाटन गरिएको छ र अन्त रहस्योद्घाटनबाट भएको छ । संस्कृतिमा हाम्रो समाजमा पश्चिमा संस्कृतिको आकर्षण बढिरहेकोप्रति व्यङ्ग्य गरिएको छ । बहाना शीर्षकको लघुकथाले बाबुआमाको सन्तानप्रति मोह वा ममता भइरहन्छ तापनि आजको समयमा सन्तानहरुको बाबुआमाप्रतिको श्रद्धाभावमा पूर्णतः ह्रास आइरहेको छ भन्ने कुरालाई व्यङ्ग्यात्मक रुपमा उजागर गरेको छ । सुष्मा मानन्धरका लघुकथाहरु बाह्राँै अनुक्रममा रहेका छन् । यिनका फोटो प्रदर्शनी, बन्दमा, घाम, तितो सत्य र औँठी शीर्षकका लघुकथाहरु यस कृतिमा सङ्कलित छन् ।फोटो प्रदर्शनीमा जनयुद्धको प्रसङ्ग छ । यसमा भागेका वा आफ्नै कारणले मृत्यु भएका व्यक्तिहरुलाई शहीद घोषणा गरेर सच्चा शहीदहरुप्रति अपमान गर्ने प्रवृत्तिप्रति व्यङ्ग्य गरिएको छ । बन्दमा शीर्षकको लघुकथाले नेपाल बन्दका जटिल प्रसङ्गलाई उठाएको छ । बन्द गर्नेहरु नै कहिलेकाहीँ त्यसको मारमा पर्दछन् भन्ने कुरालाई देखाइएको छ । घामले अग्ला महलले होचा घरमा घाम छेक्ने प्रसङ्गलाई दर्साउँदै हाम्रो समाजको आर्थिक विषमतालाई प्रतिविम्बन गरेको छ । तितो सत्यले जागिरबाट सेवा निवृत्त भएका व्यक्तिको एक्लोपन र उपेक्षित हुनुपरेको अनुभूतिलाई चित्रण गरेको छ । औँठी मनोविज्ञानमा आधारित लघुकथा हो । यसमा सुनको ठानेर चोरेको औँठीले चोर्नेको मन पोलेको र अन्तमा सुनको नभएर सय रुपियाँको मात्रै हो भन्ने जानकारी पाएको कथ्य यसमा रहेको छ । यस सङ्ग्रहको तेह्रौ अर्थात् अन्तिम अनुक्रममा श्रीराम राईका नयाँ नेपाल, सेतो सल, मन, सम्मान पत्र र स्वार्थ शीर्षकका लघुकथाहरु रहेका छन् । नयाँ नेपालमा नेताहरुमा अन्तर्निहित स्वार्थीपन र भ्रष्ट व्यवहारप्रति व्यङ्ग्य गरिएको छ ।सेतो सल विधवाको प्रतीक हो । यस लघुकथामा रोजगारीका लागि विदेश गएको आफ्नो पतिको उतै मृत्यु भएका कारण विधवा हुन पुगेकी युवतीको ईश्वरप्रतिको दृष्टिकोण तथा आन्तरिक वेदना र अठोट मुखरित भएको छ । मन भूकम्पको सन्दर्भलाई विषयवस्तु बनाएर लेखिएको छ । भूकम्पको क्षतिजन्य पीडाले कठोर मनहरु पनि अकस्मात् संवेदनशील हुन पुग्दा रहेछन् भन्ने कुरालाई दर्साएको छ ।सम्मान पत्रमा अस्पताल बनाउनका लागि आफ्नो सामथ्र्यले भ्याएसम्मको तन, मन र धनले सहयोग गरी सम्मान पाएको व्यक्तिले स्वयम् बिरामी पर्दा सोही अस्पतालमा धरौटी राख्न नसकेर उपचार पाउनबाट वञ्चित भएको कारुणिक अन्तर्वस्तु छ । स्वार्थमा मानवेतर अर्थात् धान र सामाजस्ता वानस्पतिक पात्रको संवादका माध्यमबाट मानवीय स्वार्थी प्रवृत्तिउपर तीक्ष्ण व्यङ्ग्य प्रहार गरिएको छ ।
३. समापन
आजका लघुकथा अन्तर्गतका यी लघुकथाहरुमा समसामयिक नेपाली लघुकथाको खास स्वरुप देख्न सकिन्छ । झन्डै तीन दशकको अन्तरालका अग्रजदेखि अनुज पुस्तासम्मका लघुकथाकारहरुको प्रतिनिधित्वले गर्दा यो कृति प्रतिनिधिक बन्न पुगेको छ । यद्यपि नेपालभित्र र बाहिर समेत नेपाली भाषामा लघुकथा लेख्नेहरुको जमातमा व्यापक सहभागिता रहेको हामी पाउँछौँ । तर पनि वर्तमान समयमा लेखिएका नेपाली लघुकथाका मूल प्रवृत्ति, कथ्य वा अन्तर्वस्तु र प्रस्तुति शैली के कस्ता छन् भन्ने प्रश्नको उत्तरका रुपमा यी लघुकथाहरुलाई प्रस्तुत गर्न सकिन्छ । केहीमा परिपक्वता र केहीमा आभ्यासिक चरणको अवस्था देखिने भएकाले यी लघुकथामा स्तरका दृष्टिले समानता देखिँदैन तापनि यिनको छनोटमा विवेक भने पु¥याएको पाइन्छ । यी लघुकथामा प्रवृत्तिगत दृष्टिले सहजै विविधता देख्न सकिन्छ । धेरैजसो लघुकथा सामाजिक विषयवस्तुमा लेखिएका छन् भने केही मनोविज्ञान तथा केही विज्ञान र प्रविधिका परिवेशमा लेखिएका देखिन्छन् । यी लघुकथामा संवादात्मक, नाटकीय, वर्णनात्मक, सूचकात्मकजस्ता शैलीहरु भेटिन्छन् । अधिकतर लघुकथामा समाजिक र राजनीतिक क्षेत्रका विकृति, विसङ्गति र विडम्बना उद्घाटित भएको देखिन्छ । यसरी नै यस कृतिअन्तर्गतका धेरै लघुकथामा सशक्त व्यङ्ग्यको अस्तित्व रहेको पाइन्छ । केही लघुकथाका शीर्षक प्रतीकात्मक छन् । स्वैरकल्पना, श्यामव्यङ्ग्य, चेतनप्रवाह, रहस्यात्मकता, कौतूहलपूर्णताजस्ता अनेक विशेषताले युक्त लघुकथाहरु समाविष्ट यो कृति विविधरङ्गी चित्रहरुको सँगालोजस्तै बनेको छ । वस्तुतः पाठकमनमा गहिरो प्रभाव पार्न सक्ने सामथ्र्य भएका लघुकथाको सङ्कलनका रुपमा यो कृति आएको छ । डा. लक्ष्मणप्रसाद गौतमको समालोचनात्मक भूमिकामा अत्यन्त गहन ढङ्गले यस कृतिअन्तर्गतका लघुकथाहरुका बारेमा यथेष्ट चिरफार गरिएको छ । समग्रमा यसलाई नेपाली लघुकथाका क्षेत्रमा एउटा महत्वपूर्ण उपलब्धि मान्न सकिन्छ ।