प्रिय साथी,
केही महिनाको फरक पारी हाम्रो भेट बरोबर नै भइरहन पाओस् । यसको निम्ति सगाइ–आउनुभएका साइँलालाई विचारमा अझ् बढी उकास्न हामीले प्रयत्न गरिरहनुपर्छ । सीमाक्षेत्रहरूको भौगोलिक विशेषता र त्यहाँको जनजीवनबारे उहाँलाई गम्भीर रूपबाट अध्ययन गर्न हामी बरोबर प्रेरित गरिरहौं – विभिन्न पक्षबारे उहाँको अध्ययनका आधारमा छलफल गरेर । तपाईंसित उहाँको महिनैपिच्छे भेट हुन पाए झ्न् जाती ।
प्रश्रितको चिठी प्रकाशित भएको छलफल तपाईंले साथी नरबाट पाउनुहोला ।
(तपाईंबाट इलामतिरका निकै कुराहरू सुन्न पाइयो । राजधानी उपत्यकाभित्रै पनि वामपन्थीहरूलाई दु:ख दिने काम चलिरहेकै पाइन्छ ।)
प्रश्रित साउन ६ गते छुट्ने कुरा पत्रपत्रिकामा प्रकाशित भएको छ । त्यस बेला सजायको अवधि सकिने भएर हो कि ? अवधि फेरि नथपिने हो भने छुट्नु पनि होला । उहाँले लहर अङ्क ९, २०४१ मा माधवी उपन्यासमा केहीबेर घोरिँदा भन्ने लामो लेख लेख्नुभएको रहेछ । यसबाट उहाँको दृष्टिकोणका साथै माधवीको सारांश तथा त्यसमा दीक्षितजीको दृष्टिकोण बुझन पनि सघाउ होला । मैले यो लेख पढेको भने छैन ।
उत्साह (जेठ, २०४१) मा कलाबारे भट्टज्यू र केही अरू साथीहरूको विचार पढ्न पाएँ । बेस लाग्यो । तर यस विषयमा छलफल किन चलाउनुपरेको होला ? (सम्पादक प्रकाशकहरूले) भन्ने पनि लागिरह्यो ।
जनसङ्ख्यासम्बन्धी गोष्ठीमा भट्टज्यूले बोल्नुभएका कुरा बिल्कुलै सही छन् । राष्ट्रियताबारे उहाँले जनमानसमा लेख्नुभएको लेखमा पनि नेपाल र भारतको सम्बन्ध (र समस्या)लाई कसरी हेर्नुपर्छ भनी उहाँले सही मार्गदर्शन गर्नुभएको छ । हामीलाई उत्तेजित पारी गलत कुरा बोल्न र लेख्न लाउनु वा अरू गलत काम गर्न लाउन खोज्नु गलत तत्वहरूकै दाउचाल हो । हामीले संयमी र सन्तुलित भई यस्ता चालको सिकार हुनबाट जोगिनैपर्छ । आनन्द, लोहनीहरूको स्वर वर्ता–क्रान्तिकारी हुनुमा उनीहरू रुसको नीतिअनुसार डोरिएर पनि हो कि !– बुझदै जानुपर्छ । नेपाल भाँड्न खोज्ने विदेशी शक्तिहरू नेपालीहरूलाई नै हात लिएर नचाहिँदा क्रियाकलापहरू गराइरहेछन् ।
निकै सम्पादकहरूले स्वदेशी र विदेशीहरूबाट गरी दोहोरो–तेहोरो तलब पाउने गरेका कुरा पनि थाहा पाएँ । ‘न्यू स्टार’को नीति उदाङ्गिएको पनि थाहा पाएँ । तपाईंबाट यस्ता महत्वपूर्ण सूचनाहरू बरोबर पाइरहँदा निकै मद्दत हुने गरेको छ ।
खड्काजीसितको भेटमा उहाँ त्यति निरासिनुभएको जस्तो त लागेको
थिएन र उहाँको पत्रिका कसरी नियमित हुन सक्छ भन्नेबारे केही सुझउहरू पनि दिएको थिएँ । विशेषगरी भट्टज्यूसँग गाँसिएर चल्ने सल्लाह प्रकट गरेको थिएँ ।
केटाकेटीहरूले प्रतियोगितामा कविता पठाएको र उनीहरू अति व्यस्त रहने गरेको पनि तपाईंबाट थाहा पाएँ । आफ्ना साथीहरूसित सल्लाह गरी चल्ने गरिएको भए ठीकै छ । तर सुधारवादी कामहरूतिरभन्दा समाज–व्यवस्था नै फेर्न हिँडेका साथीहरूलाई बढी सघाउ पुर्याउन व्यस्त हुनु झ्न् महत्वपूर्ण हुन्छ । यसबारे पनि भेटमा उनीहरूको ध्यान आकर्षित गरिदिने गर्नुभए जाती होला कि ?
स्वास्थ्यको निम्ति प्रयत्न जारी राख्नुभएकै होला । हाल मलाई रक्तचाप अलि न्यून भएको रहेछ । अरू खराबी त केही देखिएको छैन ।
अरू कुरा नर साथीसँगको भेटमा पनि गर्नुहुने नै छ ।
तपाईंकै – भाइदाइ
थप –
प्रहरी कार्यालयमा रहेका नक्साहरूमा जिल्लाभित्रका विभिन्न पञ्चायतहरूलाई कम्युनिस्ट एरिया भनेर लेखिएको र पञ्चायतभित्र कुन–कुन ओडामा कम्युनिस्ट गतिविधि भनेर पनि नक्सामा देखाइएको रहेछ ।
…………………….
नर = कुलमानसिंह भण्डारी
खड्काजी = जनकप्रसाद हुमागाईंजी ।
भट्टज्यू = गोविन्द भट्टज्यू ।
भाइदाइ = श्यामप्रसाद ।
साइँला = कृष्णप्रसाद नापित ।
जनमत मासिक वि.सं २०४२ मा प्रकाशित