हाल तपाई के लेख्दै हुनुहुन्छ ?
फुटकर कविताहरुका साथै लामो कविताको श्रृङ्खला लेखिरहेको छु । कविता जति लामो भयो उति नै दुर्घटना हुन सक्ने सम्भावनाको भय पनि साथै रहेको छ ।
प्रत्येक स्रष्टाका साहित्यलाई हेर्ने र परिभाषित गर्ने आ–आफ्नै किसिमको दृष्टिकोण हुन्छ । तपाईको दृष्टिकोण के हो ?
मूलत: म आफूलाई माटो र मान्छेको कवि हुँ भन्न रुचाउँछु । यी दुवै पृथ्वी र पृथ्वीवासीहरुका लागि प्रिय विषय पनि हो । आफ्नो जीवन भोग्न आएका हामीहरु आफ्नो कारणले सबैका बाटाहरु फराकिलो होस् भन्ने दृष्टिकोण राख्नु मेरो कविको कर्तव्य हो जस्तो लाग्छ ।
तपाई कस्तो लेखनलाई उत्कृष्ट ठान्नुहुन्छ ?
साहित्यमा उत्कृष्टता नाप्ने कुनै यन्त्र बनेको छैन, तर पनि धेरैलाई मनपर्नु, मानिसले मानिसका लागि सोच्नुपर्ने कर्तव्यबोधका रचनाहरु सधै नै उत्कृष्ट हुन्छन् भन्ने मलाई लाग्छ ।
साहित्यकारहरुको दायित्व कस्तो हुनुपर्छ ? तपाईको विचार प्रष्ट पारिदिनुहोस् ।
प्रतीक्षापछिको सुन्दर सपना जस्तो हुनु पर्दछ साहित्यकारहरुको दायित्व । जसले गर्दा ब्युँझदाको बिहान सुन्दर होस्, बिहानमा ब्युँझनेहरुको फराकिलो आकाश र त्यो आकाशमा उडान भर्नेहरुको बलियो पखेटा होस् । आफ्नो उडानबाट कोही पनि बञ्चित हुन नपरोस् भन्ने हर प्रयास गर्ने हुनु पर्दछ साहित्यकारहरुको दायित्व ।
हालसालको साहित्यलाई तपाईले कसरी हेरिरहनुभएको छ ?
व्यापार साहित्य बचाउने कडी पक्कै पनि हो । तर पनि साहित्य सेवामुखी भन्दा व्यापारमुखी भएको हो कि जस्तो लाग्दछ । त्यसैका कारण गुणमुखी भन्दा हल्लामुखी भएको देखिन्छ । सिर्जना भन्दा भ्रम र देखावटी हावी भएको हो कि जस्तो पनि लाग्छ कहिलेकाहीँ ।
तपाई आफू कुन कुन साहित्यकार, चिन्तकहरुबाट प्रभावित हुनुहुन्छ ?
हृदय खोलेरै भन्न सक्छु म रिमाल धारको कवि हुँ । मलाई खलिल जिब्रान, भूपी, वल्लभ, बैरागी काइँलाहरुको कविताले निक्कै छुने गर्दछ । उसो त म राम्रा कविता सबैको मन पराउँछु । म मेरो आफ्नै जीवन चिन्तनको दार्शनिक हुँ, मैले आफ्नो छोटो जीवनमा धेरै अनुभवहरु गर्न पाएको छु । गीता, नित्से, माक्र्स, ओशो र बुद्ध वचनको म सधैँ नजिक रहन्छु ।
तपाईको लेखकीय जीवनको शुरुवात कसरी भयो ? र तपाईको साहित्यिक यात्रा कुन विधाबाट शुरु भयो ? कृपया सबभन्दा पहिलो प्रकाशित कुनै पनि विधाको लेख रचना उल्लेख गर्नुहोस् ।
म स्कुलदेखि नै चित्र र कविता कोर्न लेख्न पराउँथे । २०४० सालमा एसएलसी दिएपछि मेरो कवि गतिशील भएर अगाडि बढेको हो । मेरो मूल विधा नै कविता हो आजसम्म म निख्खर कविता लेखिरहेको छु । सायद मृत्युको अघिल्लो समयसम्म पनि कविता नै सोचिरहन्छु, कविता लेखेर मृत्युलाई नै सुनाउने धोको पनि छ मलाई । मेरो पहिलो कविता युद्ध थियो जस्तो लाग्छ ।
तपाईलाई कसरी साहित्य सिर्जनामा लाग्ने प्रेरणा प्राप्त भयो ? बताई दिनुहुन्छ कि ?
मेरो कविता लेखनको प्रेरणाको स्रोत मेरो आफ्नै जीवन हो । जिन्दगीको रङ्गमञ्चमा धेरै प्रकारको अभिनय गर्नुपर्दा प्राप्त भएको अक्षरहरुको अमूल्य संयोजन हो मेरो कविता ।
तपाईले विविध विधामा कलम चलाउनु भएको छ । कुन विधाको लेखनमा तपाई सन्तुष्ट हुनुहुन्छ ?
मूलत म कवि नै हुँ गीत, गजल, मुक्तक यसैको लहरा हुन् । तर म चित्रकार पनि हुँ, सितिमिति सबैलाई प्राप्त हुँदैन यो संयोग । मलाई मेरो जीवनलाई प्रकृतिले दुई वटा विधा प्रदान गरेको छ चित्र र कविता । समय र सिर्जना हेरेर कहिले कुनै कविताले सन्तुष्टि दिएको छ, कहिले कुनै चित्रकलाले ।
साहित्यकारको रुपमा तपाईको सही मूल्याङ्कन भएको छ कि छैन ?
जनमत जस्तो साहित्यिक पत्रिका र संस्थाले सम्झेको छ माया गरेको छ । कसरी मूल्याङ्कन भएको छैन भनुँ ?
साहित्य र राजनीतिमा तपाई कस्तो समानता वा असमानताको अनुभव गर्नुहुन्छ ?
साहित्य आँखा हो भने राजनीति गाजल हो । दूरदर्शी आँखाको महत्व उजागर गर्न राम्रो स्तरको गाजल चाहिन्छ । गाजल पायो भनेर मात्र पनि हुँदैन मिलाएर लगाउने शिल्प पनि चाहिन्छ ।
कृपया तपाईको साहित्यिक यात्रा र साहित्यिक सिर्जनाका जीवन–यात्राहरु बताई दिनुहोस् ?
मेरो साहित्यिक यात्राले हरेक युगको हरेक समयको अँध्यारोलाई उखेलेर उज्यालोको जरा खोज्न मन परायो । जीवन यात्रा यही अभिमन नै छ जो आजसम्म पनि उज्यालोकै तिर्खामा छ ।
एकजना सफल लेखक हुन के के गुणहरु आवश्यक हुन्छ ? तपाईको विचार राख्नुहोस् ।
आर्थिक सम्पन्नता, गुट, ढोङ, नाटकीकरण सहितको बैंश पनि चाहिन्छ भन्छन् । यस्सो हेर्दा हो कि जस्तो धेरैचोटि लाग्ने गरेको छ । तर पसिनाको निलो नदी र सिर्जनशील उडानको त्यो वेग जसले पनि देख्छ । एकथरी देखेर पनि कुण्ठाले भन्न डराउँछन् । एकथरी देखेर पनि भन्ने स्थितिमा रहँदैनन् । कुनै कुनै सफलता क्षणिक पनि भएको देखिएको छ ।
लेखक स्वतन्त्र हुनुपथ्र्याे, यस भनाइप्रति तपाईको भनाइ के छ ?
स्वतन्त्रता कवि लेखकको प्रिय विषय नै हो । संयोगले मेरो पिँढीसम्मको प्राय: कवि लेखकले स्वतन्त्रताकै निमित्त कलम चलाउनु पर्यो । तर पछिल्लो पिँढीले जुँघा तिखार्न र साप्रा बजाउन अलिबढी जोड गरेको हो कि भन्ने लाग्दछ । हेर्दै छु, हेर्दै जाउँ ।
तपाई साहित्यका एकजना वरिष्ठ लेखक हुनुहुन्छ । राष्ट्रमा साहित्यको गहनता र आवश्यकताको व्याख्या गर्दा तपाई आफुलाई कसरी प्रस्तुत गर्नुहुन्छ ?
तीतो यथार्थ, हामी त्यो चरणको देशको कवि साहित्यकार हौं, जसलाई कवि साहित्यकार कम र नागरिक बढी भएर बाँच्नुपर्ने बाध्यता छ । विष्णुकुमारी वाइवाको समयमा उनका छिमलहरु सुन लगाएका सम्पन्न र सुन्दर तरुणीहरु थुप्रै थिए । तर उनीहरु प्राय नाम नपाएरै मरे, सकिए । तर उनै विष्णुकुमारी वाइवा पारिजात भएर आजसम्म पनि नेपाली साहित्यमा मग्मगाइरहेका छन् । मलाई थाहा छ नेपाल रहेसम्म मग्मगाई रहने छन् । यही नै हृदयका कुराहरु हुन् ।
नेपालका प्रज्ञा प्रतिष्ठानहरु लेखक कलाकारहरुको स्वतन्त्र प्रतिष्ठान हुनुपथ्र्याे तर त्यसो नभई नेपाल सरकारको कार्यालय जस्तो भयो । यस भनाइप्रति तपाईको टिप्पणी के छ ?
परिवर्तित समयका परिवर्तनकामी पक्षधरहरुबाटै बनेको प्रज्ञाप्रतिष्ठान तपाई हाम्रो सामु छ । सरकारी नियम कानुन अन्तर्गत चल्ने भएपछि त्यसै अनुरुप देखिनु स्वाभाविकै हो । तर जसको लठ्ठी उसैको भैंसी परम्परा चाहिँ राम्रो होइन ।
जीवनमा कहिल्यै कठिनाई अनुभव गरी लेखकीय जीवनबाट निराश त हुनु भएको छैन ?
जीवन भोग्ने क्रममा उतारचढाव त अवश्य आइरहन्छ । तर पञ्चायतकालको पोखराको चर्चित दुर्गादेवी आचार्य बलात्कार काण्डमा विरोध सभामा कविता लेखेर वाचन गरियो । त्यो कविता मेरो साथी पत्रकार पुण्य पौडेलले दृष्टि पत्रिकामा छापिदियो । पछि राष्ट्रिय रुपमा चर्चा भए पश्चात पुलिसले निक्कै दु:ख दिएको सम्झना आइरहन्छ ।
दिनचर्या कस्तो छ ? जीवनका समकालिन क्षणहरुबारे जानकारी दिनुहन्छ कि ?
सकिनै लागेको साधारण जागिर छ । परिवारको अभिभावक हुनुपर्ने दायित्व, कविता र चित्रकलाको प्रेम र उडान, जीवन दर्शनको महान अध्यायमा उपस्थिति जनाउने उत्कण्ठा सहित चलि नै रहेको छ ।
तपाईको व्यक्तिगत र साहित्यिक जीवनका तीतामीठा अविस्मरणीय क्षणहरु छन् भने कृपया बताइ दिनुहोस् न ?
म सधैं परिवर्तन र निर्माण गर्ने हिमायतीहरुको लाममा जानेरै नजानेरै उभिइरहेँ । तितामीठा कुराहरु त खै कुनलाई उल्लेख गरौं । कुनै समय, समयले साथ दियो भने पुस्तकै बनाएर टक्र्याउँला नि ।
भविष्यमा तपाईको योजना ?
किताबहरु निकाल्ने, चित्रकला प्रदर्शनीहरु गर्ने इच्छा छ । साथीहरुसँग सल्लाह भइरहेको छ पोखरामा एउटा आर्ट भिलेज बनाउने, जहाँ सिर्जनशील हृदयहरु अटाउन सकोस् ।
तपाई खास कुनै अम्मल छ कि ?
चिया खान्छु, कविता पढ्ने लेख्ने, चित्र हेर्ने बनाउने अम्मल चाहिँ गाढा छ ।
अन्तमा जनमत र पाठकहरुलाई के सन्देश दिन चाहानु हुन्छ ?
लेखक बाँच्ने भनेकै पाठकको माया र सद्भावनाले हो । पाठक भएन भने आकाश नभएको ताराहरु जस्तै हुन्छन् लेखकहरु । जनमतले आकाश तैयार गरिदिएको छ, म र हामी जस्ता कविहरु उड्न पाएका छौं, आफ्नो पखेटा फिँजाएर देखाउन पाएका छौं । पाठकहरु प्रति आभारी छु, जनमत प्रति कृतज्ञ छु ।