तिमी हुनुको अर्थ
गहिरो छ प्रिय ।
तिम्रो उपस्थितिको अनुभूतिले
म मा नवीन रक्तसञ्चार गराएको छ,
कामको गति बढाएको छ
अनि बाँच्ने रहर पलाएको छ ।
जब जब म आफ्नो लक्ष्यमा
विचलित हुन्छु,
तिम्रो भरोसाले सिञ्चित भएर
अघि बढिरहन्छु निरन्तर ।
मेरो जीवनको प्रेरणाको पुञ्ज
बनेर आएकी
तिम्रो मायाको अनुभूतिले
म संसार जित्न दौडिरहन्छु ।
जीवन संघर्षका कठिन दिनमा
तिम्रो साथ र भरोसाले
उर्जावान बनेको छ जीवन ।
आँशु र दुःख
हाम्रा प्रिय साथी बनिरहे,
संघर्षले हामीलाई साथ छोडेन,
आफन्त बिराना भए,
साथीसंगी बिराना भए
तर हाम्रो साथ
अटुट रहिरह्यो ।
हाम्रो माया
सडकमा, होटलमा, सभासमारोहमा
अनि सामाजिक सञ्जालमा पोखिने
मायाभन्दा फरक छ ।
एक अर्काको साथ र समर्थनमा अडेको
हाम्रा प्रेमका अनुभूति अजर अनि अमर छन् ।
हामी हाम्रा सुखदुख साटेर
जीवन संघर्षका हरेक मोडमा
अघि बढिरहेका छौं ।
हाम्रो माया प्रदर्शनमा हैन,
आपसी विश्वासमा टिकेको छ
हाम्रो माया बजारको
सस्तो मायाभन्दा भिन्न छ ।
तिमी हुुनुका अर्थ
गहिरो छ प्रिय ।
भावनामा, संवेदना अनि कर्ममा
तिम्रो उपस्थितिले अर्थ राख्दछ ।
तिमी हुनुको अनुभूतिले जीवन गतिमा
प्राण भरिरहन्छ प्रिय ।
कीर्तिपुर, काठमाडौं