खाली थिए
जिन्दगीका पानाहरू
रङ्गहीन एकदम सफा
बरु आकाश शून्य भनिएर पनि
नीलाम्ये हुन्छ आँखामा,
एकाएक भेटियौ समयको कुइनेटामा
जन्मोत्सवमा फूलको
खुसी थियो फूलबारी,
हो ठीक त्यही शुभबेला बनाएर
एक पसर
खुसीका रङ्ग
लिएर आयौ तिमी
र,
तिम्रो सुमधुर प्रेमले
रङ्गायौ मलाई
त्यही दिन त हो,
ओठबाट मेरो मुस्कान
आँखाको दोबाट भएर
देब्रे छातीसम्म पुगेको
पूmलको कसम,
जीवनमा पहिलोपटक
तिमीसँगै
रङ्गिएकी हुँ म
प्रिय !
पहिलोपटक
होली खेलेकी हुँ मैले
वसन्तपर्वमा थुँगाजस्तै खुसीले हराउँदै,
शिशिर याममा आज,
तिम्रो मुहारसँगै,
मुस्कान बसेको उही पाटामा छातीको,
चस्स गर्छ, तिमीलाई नदेख्दा,
बगाउँछ यादको भेलले
खुसीका जूनताराको बस्ती,
लडाउँछ र घिसार्छ
आशङ्काको हुन्डरीले,
हररात सुनामी चल्छ
सपनाको फूलबारीमा,
प्रिय !
जीवनमा हरेक पाठ पढेँ तिमीसँगै,
प्रेम गर्न तिमीले सिकायौ
विश्वास र भरोसा गर्न तिमीले सिकायौ
रङ्गीन सपना देख्न तिमीले सिकायौ
सिकाएनौ त
बस्
तिमीविना बाँच्न !!