… बाहिर निरन्तर पानी परिरहेछ । रात आधा बितिसक्यो तर निद्रा पटक्कै लाग्दैन । लागोस् पनि कसरी ? जोडले टाउको दुखिरहेछ । अनि शरीर आफ्नो कोठाभित्र भएपनि मन मस्तिष्क भने अर्को कोठाभित्र छ, जहाँ आन्तरिक कलहले कुन बेला कस्तो रूप लिन्छ भनेर अड्कल पनि गर्न सकिंदैन । जुरूक्क उठ्छु पलङ्गबाट, झ्यालको पर्दा खोल्न हात लम्काउँछु – बाहिरको शान्त वातावरणलाई सलक्क निलेर आनन्दले निदाउन मन लाग्छ । केही क्षण भए पनि मिठो सपनासँगै – लुटपुटिएर आफू स्वयमलाई हराउन मन लाग्छ । तर पर्दा खोल्न आँट आउँदैन । किनभने मेरो घरभित्रको वातावरणको अशान्त र कोलाहलपूर्ण स्थितिको वरीपरि छरछिमेकी र आकाश–धरतीले नै अध्ययन गरेर मलाई गिज्याइरहेझैं भान हुन आउँछ । अहँ ! म पर्दा खोल्न सक्तिनँ, झ्याल खोल्न पनि सक्तिनँ अनि बाहिर चियाउनै सक्तिनँ । कति विवश जिन्दगी !
म पुन: पलङ्गमा आई थचक्क थच्चिन्छु । यो शरीर पनि कत्ति गर्हुँगो भएको । आफ्नो शरीर आफैंलाई घाँडो लागेर आउँछ । ‘धेरै रोए पछि शरीर नै आँशु बन्छ’ भन्ने कुरो मलाई सत्य लाग्न थालेको छ, आफू आफैंलाई चिसो अनुभव हुन्छ र सम्झन्छु मरो शरीर नै अब सायद आँशु बनिसक्यो; एउटा ठोस आँशु !!
००
— ओहो उता कोठामा फेरि रडाको शुरू हुन्छ …, कोलाहल मच्चिन्छ ! म सुनेर पनि नसुने जस्तो गर्न चाहन्छु, बुझेर पनि नबुझे जस्तो गर्न चाहन्छु कारण यो कोलाहलले मलाई लाटी तुल्याइसकेको छ । बहिरी नभइसकेकी भए पनि हुन चाहन्छु म । कहिलेकाहीँ त लाग्छ आफ्ना आँखा र कानहरू आफैंले फेरिदिउँ ता कि, त्यो वातावरणको मलाई कुनै पर्वाह नहोस् । कुनै वास्ता नहोस् । तर मैले त्यसो गर्नु उपयुक्त ठहरिन्दैन ! यस घरकी एउटी छोरी हुनुको धर्मले पनि मेरो कर्तव्य हो यहाँको चासो राख्नु ! त्यसैले त त्यो रडाको र कोलाहलपूर्ण वातावरण मेरो जिन्दगीको एउटा महत्वपूर्ण किताब बनिसकेको छ । अनि त्यस किताबका हरफहरू, मात्र एउटा प्रश्नवाचक चिन्ह ! त्यो प्रश्नचिन्ह भित्र कुनै अर्थ र परिणाम छैन । यो थाहा हुँदाहुँदै पनि म त्यहाँ अर्थ र परिणाम खोज्ने निरर्थक प्रयास गरिरहेकी हुन्छु । त्यही अर्थ खोज्नुको नियमिततामा आफू उमेर भन्दा पनि जेठी र परिपक्क देखिएकी कुरो पनि मैले महसुस नगरेकी कहाँ हुँ र !! तर मलाई यसमा अलि कति पनि अपशोच छैन । अहँ ! मलाई दु:खले पनि छुँदैन । सुखले पनि छुँदैन । म एकनाश भइसकेँ !! मेरो स्वभाव यति स्थिर भइसक्यो कि कसैको आलोचनाले पनि मेरो स्थिति छचल्किंदैन र समालोचनाको पनि अनासक्त छु ।
००
स–सना कारणवश उग्ररूपमा परिणत हुने त्यो वातावरणलाई सही रूपमा यथावत गराउन मैले सानो उमेरदेखि नै अनेक प्रयत्न गरेँ – तर अहँ ! म सफल भइन र, मलाई थाहा छ कोही पनि सफल हुँदैनन् । हरेक बिहान छ्याङ्ग खुलेको आकाशसँगै उग्रिन्छ वातावरण पनि । दिनचर्या एकैनाश, उही क्रममा अनवरत, समय चालु पनि रहेको छ – रहन्छ पनि । दिन, रात, महिना र वर्षहरूले आफ्नो रफ्तार कायमै राखेको छ । यस परिवारमा सबैभन्दा कान्छो भएर जन्मिएको छोरो ‘निमेश’ अब ऊ पनि कसैलाई नटेर्ने भइसक्यो । त्यसो हुनु अस्वाभाविक पनि होइन किनभने उसमा अब, सबैले पुलपुलाएर, माया गरेर हुर्काएको समयको सम्झनाको अवशिष्ट बाँकी छैन । ऊ दशौं कक्षामा अध्ययन गर्ने भइसकेको छ । बोर्डिङ्ग स्कुलमा पढ्छ ऊ । अबोध बालक छँदा ऊ घरमा झगडा पर्दा बेसरी आत्तिन्थ्यो, रून्थ्यो र आमालाई अङ्गालो हालेर कहालिन्थ्यो …, र अब आफ्नो बा–आमाको निरन्तर झगडालाई उसले पनि गहन रूपमा लिन छोडिसक्यो । त्यसमा एकत्रित भइरहँदा आफ्नो मस्तिष्कको सञ्चालित तन्तुहरूमा मात्रै असर पर्न जान्छ भन्ने हेतुले, जब उतापट्टि कोठामा झगडा पर्ने लक्षण देखिन्छ तब निमेश ओछ्यानबाट जुरूक्क उठेर घरबाटै हिँडिदिन्छ –‘साथीकहाँ सुत्न जाने रे … !’ कति सजिलो छ उसको रात बिताउने उपाय । तर म … ?? स्वास्नीमान्छे हुनुको अपवादले गर्दा घर छोडेर कहिँ जान सक्तिनँ ! हरेक रातलाई चपाएर चुपचाप मैले जीवन बाँच्नु नै पर्दछ । कहिलेकाहीँ त स्वास्नी मान्छेको जुनी नै अभिशाप लाग्दछ ! अभिषप्त जीवन बाँच्ने अनुक्रममा कैयौं पटक मैले जहरको शिकार बन्ने कोशिश पनि नगरेकी होइन, तर त्यो झन अनुचित लाग्यो, घृणित लाग्यो । आफ्नो परिस्थितिको प्रस्तुतिकरण कसैको सामु गरेर आफू आनन्दको श्वास फेर्न पनि म चाहन्न । म जान्दछु, यस विषयको मेरो प्रस्तुति कसैको लागि पनि आकर्षक विषयवस्तु हुन सक्तैन । तसर्थ हरेक समय खल्लो हाँसोभित्र मैले आफूलाई लुकाएकी हुन्छु । हो म सधैं हाँस्छु; एउटा मौन हाँसो ! बाध्यताको हाँसो ! साँघुरो हाँसो ।
००
ओहो ! अनायासै मेरो शरीर फेरि खङ्ग्रङ्ग हुन्छ … ! कुनै ठूलो भारी वस्तु झ्याम्म फुटेको आवाज मेरो कानमा परिरहेछ । त्यहाँ अवश्य पनि भयावह स्थितिको सृजना भइसक्यो भन्ने कुरो म आफूमा अनुमान लगाउँछु; सबै बुझेर पनि कपटी भई बस्नु मेरो निमित्त अशोभनीय थियो । म हतार हतार जुरूक्क उठेर त्यो कोठामा जान्छु– भित्रबाट चुकुल लगाइएकोले ढोका खोल्नु सजिलो थिएन । म त्यहीँ उभिरहन्छु …. किंकर्तव्यविमुढ !! एउटा पति र पत्नीबीचको, त्यो युद्धको कुनै उपलब्धी छैन भन्ने थाहा हुँदाहुँदै पनि पराजीत हुन दुवै चाहँदैनन् । त्यो कोठा एउटा युद्धभूमि नै भइसक्यो … ! त्यो युद्ध साम्य गराउन यस घरका सबै सदस्यहरूले अनेक कोशिस गरिसके, तर असमर्थ ! आज सबै थाकेका छन् त्यसैले त्यहाँ स्वयम् आफू योद्धाको भूमिका निभाएर निन्द्रा खेरफाल्नु अब कोही उपयुक्त ठान्दैनन् । हो, जो त्यहाँ सन्धिको प्रस्ताव राख्न जान्छ – ऊ स्वयम योद्धा बन्नु नै पर्दछ । झगडामा मुछिनु नै पर्दछ मात्र म अबुझ भएर रहन नसक्नुको कारण निरन्तर त्यस युद्धमा मुछिएको हुन्छु । म चुप लागेर त्यो भयावह स्थितिको अनुशीलन गरेर मात्रै बस्न सक्तिनँ । किनभने मेरो मानवताको कर्तव्य त्यो होइन ! मैले सत्यको निमित्त बोल्नु पर्दछ, अधिकार आफ्नो नभए पनि पाउनु पर्ने अधिकार खोसेर नै भए पनि अङ्गाल्नुपर्छ र न्यायको निमित्त कर्तव्यबाट कदापि पछि हट्नु हुँदैन । … हो, यसैकारण मेरो भाइ निमेशले पनि दोषी मलाई नै औल्याउँछ; तर म बिचलित हुन्न ! किनभने म सदा सत्यकै पक्ष लिन्छु दोष मेरो केवल यति हो, ती दुई पनि पत्नीमा एक पक्षीय हुन नसक्नु । एकपक्षीय हुन बाको साथ दिनुपर्ने हुन्छ …. तर ‘आमा !!’ जसलाई अकारण नै दोषी सावित गर्न मेरो आत्माले स्वीकार्दैन । मलाई थाहा छ आमा समुद्र जस्तै स्वच्छ र सङ्लो हुनुहुन्छ भन्ने । त्यसैले त उहाँ अब बाको लोग्नेमान्छे हुनुको र एउटा उच्च ओहदाको मान्यता प्राप्त व्यक्ति हुनुको अहमपूर्ण भावनाप्रति त्रसित हुनुहुन्न । अझ आफ्नो घर–परिवार सुगठित र व्यवहारको सही सञ्चालिका हुनुको आफ्नो योगदानले पनि वहाँ पराजित हुन नचाहनु स्वाभाविकै हो । त्यही स्वाभिमानताले गर्दा म पनि चाहन्छु नारीलाई कदर गर्नु र तीनका भावनालाई पनि महत्व दिनुमा नै पुरूषले आफ्नो मान, प्रतिष्ठा र इज्जत प्राप्त गर्न सक्तछ अन्यथा अनावश्यक दवाव सहनु कुनै पनि सुशील र भद्र महिलाको निमित्त सह्य हुन आउँदैन । सोही कारण म पूर्ण रूपमा बाको समर्थन गर्न सक्तिनँ । बरू आफैलाई सलक्क निलेर म आत्म–तृप्ती हुन चाहन्छु !! तर जीवनको बिट त्यति सजिलै कहाँ मारिंदो रहेछ र … ।
००
उफ् ! आमाको रोदनले मेरो छाती चिरिइरहेछ, म आवेशमा जोडले ढोका घच्घच्याउँछु, ढोका खुल्दैन ! मलाई डर लाग्छ – ‘आमालाई केही भएको रहेछ भने !’ म कसैलाई केही गर्न पनि हिच्किचाउने छैन । म दाह्रा किट्दै रिसले चुर भई पुन: ढोका घच्घच्याउँछु । बिस्तारै ढोका खुल्छ । त्यहाँ ढोकामा आमा उभिनु भएको रहेछ ! निधारमा ठूलो चोट लागेर रगत बगिरहेको थियो, मेरो अनुहारमा ट्वाल्ल हेरेर वहाँले भन्नुभयो, ‘छोरी ! जीवनमा कसैको सहारा र आधार लिएर जिउने आस्था नराखे है … ! अरूको आधार जहिले पनि निर्धो हुन्छ ।’ म केही बोल्दिनँ, बोल्नै सक्तिनँ । मुटु पग्लिएर आँखाबाट झर्छ । आफ्नैपनमा बा बोल्नुहुन्छ, –‘अँ …! खुब चाहिने उपदेश दिंदैछेस् छोरीलाई पनि ??’ ‘हो बुबा !, मलाई मात्रै होइन, हरेक नारीवर्गलाई चाहिने उपदेश हो यो ।’ मेरो मनले भन्छ तर ओंठ खुल्दैन । निधारको चोटले असह्य भई आमा डङ्रङ्ग भुईंमा लड्नुहुन्छ त्यसको प्रतिक्रिया बामाथि पर्दैन । प्रतिक्रियाको अपेक्षा पनि म गर्दिनँ कारण मलाई थाहा छ यसलाई नै वहाँ लोग्ने हुनुको उपलब्धि ठान्नुहुन्छ । त्यसैले त जुरूक्क उठेर बैठक कोठातिर लाग्नुभयो वहाँ … ! हो, अब वहाँ बैठक कोठामा आनन्दको निंद निदाउनु हुनेछ ।
बाहिर फेरि पानी दर्किन्छ । हुरी चल्छ । रात सुस्तरी ढल्दैछ । सबैजना मस्त निंद्रामै छन्; म करूवाको पानीले रूमाल भिजाउँछु र आमाको टाउकोमा राखिदिन्छु, घाउलाई ‘डिटोलले’ सफा गरिदिन्छु । आमा अझै बेहोशै हुनुहुन्छ ..! म एक्लै छटपटिइरहेछु; उज्यालो कुरिरहेछु; मलाई विश्वास छ – उज्यालो अवश्य हुन्छ । भोलिको उज्यालोमा नयाँ किरण हाँस्नेछ, नयाँ युग चम्कनेछ, तर … म यसै भन्न सक्तिन । नयाँ युगले यस घरको अस्पष्ट वातावरणमा पनि नयाँ किरण फैलाउनेछ या यथावत् नै रहनेछ सयम अनुक्रम !!