२००३ जेठ २ गते गहेलीटोल, विराटनगर, मोरङमा जन्मेकी भुवन कोइराला नै पछि दमननाथ ढुङ्गानासँग विवाह भएपछि भुवन ढुङ्गानाका रुपमा देखापर्दै आएकी साहित्यकार हुन् । वि.सं. २०२६ मा ‘मधुपर्क’मा ‘शब्द कोशको (अ) झैं’ कविता छपाएर साहित्यिक क्षेत्रमा देखापर्दै आएकी यिनी हालसम्म पनि साहित्यिक लेखनमा आफूलाई देखाउँदै छन् । विभिन्न विधामा कलम चलाउँदै आएकी यिनी महिला लेखिकाहरुको बीचमा एकअर्कामा भेटघाट गर्ने, कृतिबारे आपसमा छलफल चलाउने, कृतिको अध्ययनपछि विचार–विमर्श गर्ने तथा महिनाको एकपटक भेटघाट चलाउने उद्देश्यले स्थापित ‘गुञ्जन’ साहित्यिक संस्थामा यिनले महत्वपूर्ण भूमिका निभाएको देखिन्छ । ‘पेन’ इन्टरनेशनल साहित्यिक संस्थामा पनि यिनको सक्रियतापूर्वक सहभागिता भएकोदेखिन्छ । भारतीय शास्त्रीय नृत्यमा स्नातक उत्तीर्ण गरेकी यिनले पाकिस्तानी लेखिकाहरुको कथासङ्ग्रह अनुवाद गरेर प्रकाशित गरेका छन् । ईश्वर–निन्दा २०६१ मा प्रकाशित अनुवाद उपन्यास हो ।२ ०२६ देखि २०४८ सालसम्ममा यिनकै सक्रियता र सम्पादनमा साहित्यिक पत्रिका ‘सिउँडी’ निकालेको देखिन्छ । “साहित्य सिर्जनामा र साहित्यिक कृयाशीलतामा पूर्वाग्रही सोच राख्नु हुँदैन, सिर्जनशीलतामा लाग्नेहरुका बीच मेल हुनुपर्छ । सैद्धान्तिक राजनीति सोचको आधारमा सङ्कुचित भई साहित्यिक क्षेत्रलाई विभाजित गर्न नहुने, साहित्य सबै पक्ष र सबै वर्गको लेख्न सकिने र आवश्यकता अनुसार साहित्य सिर्जना हुन सक्छ” भन्ने धारणा राख्ने यिनी हाल गौशाला, काठमाडौंमा बसोबास गर्छिन् ।
१. तपाईंको साहित्य लेखनको थालनी कसरी भयो ? कृपया बताइदिनुहुन्छ कि ?
प्रकृति प्रेमबाट नै भयो होला जस्तो लाग्छ ।
२.साहित्यको सिर्जना गर्ने भावना र प्रेरणा कसरी र को–बाट प्राप्त गर्नुभयो ?
आफ्नो वरिपरिको परिवेश र संवेदनशील चरित्र नै प्रेरणाका श्रोत हुन् ।
३.साहित्य सेवामा निरन्तर रूपमा लागिरहनुभएकी तपाईं यसबाट कतिको सन्तुष्ट हुनुहुन्छ ? कृपया बताइदिनुहोस् ।
आफूले संख्यात्मक रुपमा लेख्न नसकेकोमा असन्तुष्ट छु । अरुले सोधिदिन्छन्, कतिवटा किताब प्रकाशित भएको छ ? असन्तुष्टि लेखनका लागि प्रेरक तत्व हो जस्तो लाग्छ ।
४.नेपाली साहित्यमा महिला लेखिकाहरूको भूमिका र अग्रसारिता सम्बन्धमा तपाईं कस्तो धारणा राख्नुहुन्छ ?
सकारात्मक धारणा छ, यद्यपि निरन्तरताको प्रश्न टड्गारो रुपमा देखिन्छ । महिला लेखिकाहरुको गुणात्मक बृद्धि होस् भन्ने चाहन्छु ।
५.“साहित्यकारहरू आ–आफ्नो विचार वा दृष्टिकोण कलात्मक तरिकाले उद्घाटन गर्ने माध्यम साहित्यलाई बनाउँछन् । वास्तवमा साहित्यमा मुख्य कुरो सिद्धान्त र दृष्टिकोण हुन्छ र त्यसलाई मार्मिकरूपमा जनसमक्ष पुर्याउन र उनीहरूलाई हृदयङ्गम गराउन कलात्मक सौन्दर्यकासाथ प्रस्तुत गरिन्छ ।” यस भनार्इंप्रति तपाईंको के धारणा छ ?
कस्तो सिद्धान्त र दृष्टिकोण भन्न खोज्नु भएको हो ? राजनैतिक दृष्टिकोण र सिद्धान्तभन्दा माथि उठेको हुनुपर्छ साहित्यिक दृष्टिकोण ।
६.हालका विभिन्न साहित्यिक प्रतिष्ठानको साहित्यिक गतिविधि र साहित्यिक धारा सम्बन्धमा तपाईं कस्तो धारणा राख्नुहुन्छ ?
धेरै छन्, समय सापेक्ष छन्, नयाँ छन्, पुराना छन् । क–कसको नाम लिऊँ ?
७.तपाईंलाई मनपर्ने स्वदेशी र विदेशी लेखकहरू को–को हुनुहुन्छ ? कृपया बताइदिनुहुन्छ कि ?
साहित्यिक प्रतिष्ठानहरुको साहित्यिक गतिविधि स्वार्थबाट सञ्चालित नहोस् भन्ने चाहन्छु । मेरो आफ्नो कुनै साहित्यिक धारा, वाद वा गुटसँग संग्लनता छैन ।
८.तपाईंलाई सधैं सम्झना रहिरहने कुनै साहित्यिक रोचक घटना भए कृपया झर्को नमानिकन उल्लेख गरिदिनुहोस् ?
कविता वाचन गर्ने क्रममा आफनो नाउँ बोलाएपछि स्टेजमा गएर वाचन गर्न नसक्नु र लाज र संकोचले हात र खुट्टाहरु थरथर काम्न थाल्नु मेरो पहिलो रोमाञ्चकारी अनुभव हो २०२६ सालतिरको । यद्यपि भूपि शेरचनको सभापतित्वमा भएको त्यो समारोहमा प्रथम पुरस्कार भने मैले नै प्राप्त गरेकी थिएँ । कविताको शीर्षक थियो ‘सिग्रेटको एक ठूटो : निभूँ कि बलूँ’ ।
९.तपाईंको पहिलो प्रकाशित रचना कुन हो र तपाईंका प्रकाशित लेख–रचनाहरूमध्ये सबभन्दा मनपर्ने कुन रचना हो ?
मेरो प्रथम प्रकाशित रचना कविता हो, जस्को शीर्षक हो ‘शब्दकोषको अ झैं हो’ र यो मधुपर्कमा प्रकाशित भएको थियो ।
१०.यस बाहेक तपाईंको साहित्य सम्बन्धमा केही कुरा भन्न बाँकी छ भने बताइदिनुहोस् ।
साहित्यकारहरुले लेख्ने मन गर्छन्, त्यही किनेर पढिदिऊन जस्तो लाग्दछ ।
(जनमत, पूर्णाङ्क ५८,०५५)