मध्यान्हका घाम चर्कन थालेका थिए र क्रमशः फसल पोटिलो हुँदै थियो । यो २०७७ सालको फागुन महिनाको दिउँसोतिरको कुरा हो । उनी ओसारामा बसेर आफूलाई मन पर्ने होराहा (पोलेको चना) र हरियो धनियाको चटनी खाँदै थिए ।
गाउँमा गतवर्ष कोरोना भाइरसले जनजीवनमा पारेको प्रभावको अध्ययन गर्न काठमाडौँबाट आठदस जनाको एक टोली खटियो । टोली घरघरमा गएर प्रश्नावली भराउने क्रममा उनको घरमा पुग्यो ।
टोली प्रमुखले भने, “काका नमस्कार ! हामी गत वर्षको महामारीबाट परेको प्रभावको अध्ययन गर्न आएका हौँ । सहयोग गरिदिनुहोस् ।”
उनले उठेर नमस्कार गरे । आँगनमा रहेको डोरीले बुनेको खटिया र केही प्लास्टिकका कुर्सी राखिदिए र बस्न भने ।
टोलीका सदस्यमध्ये कसैले क्यामरा, कसैले कापीकलम र कसैले फाराम निकाले ।
“पहिले पानी खाऊँ ।” उनले दैलाभित्र हेर्दै भने, “अरे हो कोरोना की माई ! यहाँ पाहुनाहरुलाई पानी ल्याइदेऊ त ।”
टोलीका सदस्यहरुले एकआपसमा मुखामुख गरे ।
‘कोरोना की माई माने कोरोनाकी आमा !’ एक सदस्यको मुटुको धड्कन बढ्यो । उसले अरुका मुखमा हे¥यो । सबैको त्यस्तै अवस्था देख्यो ।
एक्कासी उनीहरु जुरुक्क उठे र हिँडिहाले । एकछिन त उनले केही बुझेनन् अनि भने, “ए भाइ ! ए बहिनी ! रोक्नुस् । कुरा त बुझ्नुस् ।”
उनी उनीहरुतिरै लागे । उनीहरु झन् पर दगुरे ।
उनले चर्को गरी कराएर भने, “रोक्नुस् । यहाँ आउनुस् । सुन्नुस् । पढेलेखका मान्छे कुरै नबुझी त्यत्तिकै भाग्ने !”
उनीहरु रोकिए । बिस्तारै आँगनका छेउछाउतिर आए र डराईडराई उभिए ।
ओसारामा काखमा शिशु लिएकी एक महिला देखापरिन् ।
उनले भने, “कोरोना मेरी बिटिया हो र कोरोना की माई मेरी मेहरारु !”
०००
कोरोना बेड
बेड दुईले बेड एकलाई पटकपटक टाउको उठाएर हे¥यो ।
मेरा आँखा भरखर उघ्रेका थिए । बाहिर लगातार एम्बुलेन्सको साइरन बजिरहेको थियो ।
बेड दुईका आँखा नीला थिए । उसले आँखा कोप्रो पारेर हे¥यो । ढाड थोरै माथि सारेर अडेस लगायो ।
उसले बेड एकलाई चिनेझैँ बोल्यो, “हेल्लो डाक्टर! तिमी पनि यहाँ ?”
बेड एकले आँखा खोल्यो र भन्यो, “हेल्लो डाक्टर ! तिमी ?”
बेड दुईले भन्यो, “अँ म यहाँ । तर तिमी कसरी यहाँ ?”
म बेड तीनमा थिएँ । तिनका संवाद मन लगीनलागी सुनेँ । बाहिरबाट डाँको छाडेर रोएको थरीथरी कङ्कला स्वर आइरहेको थियो । सेतो आवरणका मानवआकृति
कालो प्लास्टिकमा बेरेर भुइँमा लडाइएका मुढाकृतिलाई सकेसम्म बचाएर यताउति गर्दै थिए ।
बेड एकले ढाड माथि सा¥यो । मास्क चिउँडामा झा¥यो । आँखा पुछ्यो र भन्यो, “त्यही त तिमी पोजिटिभ देखिएर कुदिहाल्यौ । म त्यही अस्पतालमा उपचार गर्दै थिएँ । उपचारका क्रममा एउटा पेसेन्ट आयो । फिबर १०२ थियो । स्वाब टेस्ट गर्दा पोजिटिभ देखियो ।”
“अनि ?”
“अस्पतालमा बेड थिएन । भेन्टिलेटर थिएन । मैले उसलाई घरमै बसेर उपचार गर्न भनिदिएँ । पोलिसी त्यस्तै थियो ।”
“अनि ?”
“उसले आफ्नो घर नभएको र डेरामा उपचार हुन नसक्ने हुँदा भर्ना गरिदिन खुब रिक्वेस्ट ग¥यो । ठाउँ नभएकाले मैले भर्ना गर्न सकिन ।”
“अनि ?”
“अनि एक्कासि उसले आफ्नो हर्थुङ्गोमा थुक्यो र मेरा मुख्खैमा मुड्क्यायो । कस्तो जिराहा साँढे रहेछ ।”
“अनि ?”
“अनि त उसलाई सेक्युरिटीले मुन्ट्याएर लगिहाल्यो । मेरो रिपोर्ट पोजिटिभ आएकाले यहाँ ल्याइएँ । अहिले सामान्य छु ।”
म पनि सामान्य भइसकेको थिएँ ।
यसो टाउको उठाउँदै मैले हेरेँ र भनेँ, “म त्यही पेसेन्ट हुँ डाक्टर । हारगुहार लगाएर म यहाँ भर्ना हुन आएको थिएँ !”