कपिलवस्तुस्थित कपिल आरोग्य मन्दिर कपिलधाम परिसरमा रहेको साहित्य तिर्थमा वरिष्ठ बाल साहित्यकार कृष्णप्रसाद दुवालकाको शालिक स्थापना गरिएको छ । जनमत वाङमय प्रतिस्थान नेपालका अध्यक्ष मोहन दुवाल र कपिल आरोग्य मन्दिर कपिलधामका अध्यक्ष शंकर आचार्यको संयुक्त सभापतित्व तथा वरिष्ठ लेखक प्रा.डा. कपिलदेव लामिछानेको प्रमुख आतिथ्यमा २०७८ मंसिर २३ गते आयोजित समारोहमा कृष्णप्रसाद दुवालको प्रतिमा अनावरण गरियो । जनमत वाङमय प्रतिस्थान नेपालको सक्रियतामा स्व. गणेशबहादुर दुवाल र स्व. खिलकुमारी दुवालका सम्पुर्ण परिवारजनको सहयोगमा शालिक स्थापना गरेको हो । सो प्रतिमा मूर्तिकार राजु तुलाधारले तयार पारेको हो ।
कपिलवस्तुको कपिलधाम वाणगंगा नगरपालिका–९, मा अहिले भाषा वाङ्मय साधना गर्ने राष्ट्रका २० अमूल्य निधिका प्रतिमा एकै ठाउँमा देख्न सक्नुहुन्छ । कपिलधामस्थित उक्त ठाउँलाई ‘साहित्य तीर्थ’ नाम दिइएको छ । आदिकवि भानुभक्त आचार्य, कविशिरोमणि लेखनाथ पौडेल,पं. दधिराम मरासिनी, भीमनिधि तिवारी ,जनकविकेशरी धर्मराज थापा, लीलाध्वज थापा, राजीवलोचन जोशी, सरदार रुद्रराज पाण्डे, रश्मिराज आत्रेय ,मास्टर मित्रसेन थापा,साहित्यकार भवानी भिक्षु, टीकाराम पन्थी ,कवयित्री लोकप्रिया देवी, कवि वासु शशी , समालोचक कुमारबहादुर जोशी , डा. हर्ष बहादुर बुडामगर र बाल साहित्यकार कृष्णप्रसाद दुवालको प्रतिमा स्थापना भइ सकेको छ ।
प्रतिमालाई सुरक्षित राख्न टिनको छाना पनि बनाइएको छ । प्रतिमा २ देखि ४ फुट अग्ला छन् । प्रतिमा ढुंगा, पित्तल र फलामवाट बनाइएका छन् । लुम्बिनी वाङ्मय प्रतिष्ठानले संयोजन गरेर साहित्य तीर्थ बनाएको हो । कपिल आरोग्य मन्दिर कपिलधाम धार्मिक वनको ३ बिघा जग्गामा प्रतिष्ठानले साहित्य तीर्थ बनाइरहेको हो ।
यहाँ प्रतिमा राख्नका लागि लुम्बिनी वाङ्मय प्रतिष्ठानले ३ सदस्यीय मूल्यांकन उपसमिति छ । नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको साहित्यकार कलाकारको रोस्टरमा नाम सूचीकृत हुन अनिवार्य गरिएको छ । त्यसपछि मात्र प्रतिमा राख्न दिने÷नदिने निर्णय गरिनेछ । यहाँ मुलुकभरिका १ सय ८ जना स्रष्टाको प्रतिमा राख्ने योजना बनाइएको हो ।
जनमत वाङमय प्रतिस्थान नेपालले सोही कार्यक्रममा रुपन्देही, पाल्पा, कपिलवस्तु, गुल्मीका बाल साहित्य स्रष्टा सम्मान पनि गरेको थियो । बाल साहित्य स्रष्टा सम्मानवाट डा. शालिकराम पौडेल,पुरुषोत्तम पाण्डे,दलबहादुर गुरुङ्ग, हरिप्रसाद भण्डारी सम्मानित भएका थिए भने बाल प्रतिभा जेशिका कँडेल, अस्मिता अर्याललाई बाल प्रतिभा सम्मानवाट सममानित गरिएको थियो ।
डा. शालिकराम पौडेल,पुरुषोत्तम पाण्डे,दलबहादुर गुरुङ्ग, हरिप्रसाद भण्डारी, रुद्र ज्ञवाली, विजय सागर, बूँद राना, बनमाली निराकार आदि कार्यक्रममा बक्ताको रुपमा आ आफ्नो भनाइ राखेका थिए । रुपन्देही, पाल्पा, कपिलवस्तु, गुल्मीवाट आएका दुई दर्जक कवि कवियत्रीहरुले कविता प्रस्तुत गरिएका थियो । कार्यक्रममा ऋृषि आजादले उद्घोषण् गरेका थिए भने एक दर्जन बटुकहरुवाट स्वस्तिक बाचन गरेको थियो ।