धंबहाल, कोबाहल ललितपुरमा वि.सं. १९९१ श्रावणमा जन्मेका डा. जनकलाल वैद्य नेपालभाषा साहित्य उत्थानका लागि निकै लामो समयदेखि समालोचनाका क्षेत्रमा, अनुसन्धात्मक लेखनमा र मौलिक साहित्य सिर्जनामा समय खर्चेर लागिपरिरहेका व्यक्तित्व हुन् । निरन्तर खोजीमा जुटिरहन मन पराउने अनुसन्धानका ज्ञाता तथा परिश्रमी समालोचक जनकलाल वैद्यले नेपालभाषा साहित्यमा महत्वपूर्ण ग्रन्थहरु प्रकाशित गर्नुका साथै उल्लेखयोग्य ग्रन्थहरुको सम्पादन पनि गरेका छन् । वि.सं. २००८ सालदेखि लेखनकार्यमा जुटेका यिनी ३५ वर्षको प्राध्यापन सेवापछि हाल घरैमा स्वअध्ययन, अनुसन्धान, लेख–रचना लेखनमा संलग्न भई भाषा र साहित्यको सेवामा तल्लीन भएर जुटेका छन् ।
त्रिभुवन विश्वविद्यालयबाट ‘नेपालभाषाको प्राचीन काव्यमा सिर्जनात्मक प्रवृत्तिको विश्लेषणात्मक अध्ययन’शीर्षकमा नेपालभाषाकै माध्यमबाट अनुसन्धान प्रबन्ध लेखी विद्यावारिधि उपाधि प्राप्त गर्ने पहिलो नेपालीका रुपमा चिरपरिचित भाषासेवी तथा अन्वेषक साहित्यकार जनकलालले नेपालभाषाको उत्थानमा र नेपालभाषा साहित्यको प्रगतिमा उल्लेखनीय तथा स्मरणयोग्य योगदान पुर्याएका छन् । यतिमात्र नभई यिनले नेपाली र अङ्ग्रेजीमा पनि निकै अनुसन्धात्मक लेख रचना लेखेर आफ्नो क्षमता देखाएका छन् । प्रत्येक नयाँ वर्षमा खेलुइता: (साहित्यिक वार्षिकपत्र) का रुपमा नेपालभाषाबाट स्तरीय पत्रिका प्रकाशित गराएर यस्को अङ्क २५ नघाएका छन् । निरन्तर केही खोजिरहन रुचाउने, सधैं लेख्न र पढ्न जुटिरहने यिनको स्वभावले यिनलाई आफ्नो सिर्जना र अनुसन्धानमा थप बल थपिदिएको छ । प्रेम, सहयोग र सद्भावपूर्ण पारिवारिक वातावरणमा हुर्केका जनकलाल वैद्य पिता स्व. रामलाल वैद्य र माता स्व. आशामाया वैद्यको छोरा भएर जन्मेका हुन् ।श्रीमती विष्णुदेवी श्रेष्ठको माया पाएर छोराहरु विजयेश्वर, स्व. ज्ञानेश्वर र राजेश्वर र छोरी मतिनाको बाबु भएर जीवन्त रहेका जनकलाल वैद्यले कुलायन पेशा आयुर्वेदिक चिकित्सा सेवालाई भन्दा भाषा–साहित्यको सेवालाई कुलायन सेवा सम्झेर लागेका छन् ।
हालसम्म यिनका प्रकाशित कृतिहरुमा सिद्धिदास विरचित खण्डकाव्यको समीक्षा (सत्यसतीको विवेचना), नेपालभाषाया प्राचीन काव्यय् सिर्जना प्रवृत्ति (अनुसन्धानग्रन्थ), राष्ट्रिय अभिलेखालयस्थित नेपालभाषा(नेवारी अभिलेख ग्रन्थसूची – त्रि.वि.वि. २०४०), आशा सफू कुथिया अभिलेखग्रन्थमा वर्णनात्मक धल (ने.सं. ११११, च्वासापासा स्व. प्रेमबहादुर कंसाकार, सह–सम्पादन), नेपाल भाषा प्राचीन काव्य सिर्जना र नेपालभाषा साहित्येतिहास महत्वपूर्ण नेपालभाषा साहित्यको इतिहास (नेराप्रप्रबाट), दतात्रय मन्दिरकोइतिवृत्तान्त आदि छन् । नेपालभाषा क्षेत्रमा सिर्जनात्मक, समीक्षात्मक, अनुसन्धात्मक लेखहरु लेख्ने लेखकहरु औंलामा गन्न सकिनेमात्र रहेको स्थिति र परिवेशमा जनकलाल वैद्यको लगन र श्रमको मूल्य आफ्नै ठाउँमा महत्वपूर्ण रहेको छ । वैद्यले पुर्याएको योगदानको महत्व सम्झेर नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट वि.सं. २०५३ को मायादेवी प्रज्ञा पुरस्कारले यिनको सम्मान गरेको थियो र हालैमात्र नेपालभाषा परिषद्ले यिनले पुर्याएको समालोचना र अनुसन्धान तथा साहित्यको विविध विधामा लेख–रचना लेखी नेपालभाषाको उत्थानमा उल्लेखनीय काम गरेवापत चित्तधर सिरपा: दिने भनिएता पनि पछि भाषा थुवा:को उपाधिले सम्मान गर्ने पत्र प्राप्त भएपनि भाषा थुवा:को सम्मान यिनले लिएनन् । स्वाभिमानी स्वभावका यिनी आफूले ठम्याइसकेको कुराहरुमा विश्वास गर्छन् । त्यसैका लागि उनी प्रत्यनशील भइरहन्छन् । यिनी यात्रामा थाकेको थाहा छैन – कान अलिक नसुन्नेजस्तो स्थिति रहेर पनि नयाँ नयाँ कुराहरु सिक्न, देख्न र सुन्न चाहन्छन् ।
महाकवि चित्तधर हृदय र कविवर सिद्धिचरण श्रेष्ठबाट प्रेरणा प्राप्त गरेर साहित्य र भाषाको सेवामा जुटेका जनकलाल वैद्यले २०१२ सालमा नेपालाभाषामा कथा छापेर र २०१८ सालमा नेपालीमा समालोचना लेखेर साहित्यकारको आफ्नो पहिचान देखाएका छन् । यिनले समालोचना ग्रन्थ, अनुसन्धानपत्र, शोधग्रन्थमा मात्र नभई कल्याणीनाटक र स्वयाच्वंगु मिखा(हेरिरहेको आँखा) कथासङ्ग्रह पनि प्रकाशित गरेर आफ्नो साहित्यिक परिचय देखाएका छन । यिनलाई मनपर्ने स्वदेशी साहित्यकारहरुमा चित्तधर हृदय, सिद्धिचरण श्रेष्ठ, प्रेमबहादुर कसा:, पूर्णदास श्रेष्ठ, धुस्वां सायमि, स्वयम्भूलाल श्रेष्ठ आदि र विदेशी साहित्यकारहरुमा वर्डस्वर्थ, शेक्सपियर, रविन्द्रनाथ ठाकुर, शरतचन्द हुन् । साहित्यको परिभाषामा यिनी यसरी आफ्नो विचार प्रकट गर्दछन् – ‘जीवनप्रति सद्भाव, सत्सन्देश, संवाहक हुने जुनसुकै रचनाकृति होस् त्यो नै साहित्य हो । यस्तै जीवनप्रतिको दृष्टिमा – आशावादी र प्रगतिवादी तथा यथार्थोन्मुख आदर्शवादी हुनुपर्ने आफ्नो दृष्टि फुकाउँछन् । जसले जेसुकै गर्दै जाऊन्, जसले जेसुकै भन्दै रहून र जस्ले जेसुकै बाटोमा षड्यन्त्र रच्दै जाऊन् उनलाई मतलब र परवाह छैन । उनी सधैं नेपालभाषा र नेपाली साहित्य एवं संस्कृतिको क्षेत्रमा निरन्तर अनुसन्धान कार्य गरिरहने आफ्नो भविष्यको इच्छा रहेको कुरा सुनाउँछन् । नेपाल प्रज्ञा प्रतिष्ठानजस्तो साहित्यिक संस्थाले नै खोजी गरी गर्नुपर्ने कार्यहरु एक्लै व्यक्तिको प्रयासमा हुँदै जान्छन् तर व्यक्तिको सही कार्यमा मूल्याङ्कन गर्न प्रेरणा दिने कार्यमा कन्जुस्याइँ हुने यस ठाउँमा जनकलाल वैद्यको अनुसन्धात्मक कृतिहरुको महत्व बुझ्न गाह्रो हुन्छ । चाकरी, चुक्ली र दास मानसिकताले काम हुने ठाउँमा स्वाभिमानका झण्डाहरुको अर्थ के रहन्छ र ? हल्ला, सतही हल्ला र हल्लामा मात्र विश्वास गर्नेहरुले जनकलाल वैद्यका अनुसन्धानपूर्ण इतिहासका पानाहरुलाई पनि हल्लाकै पानामा रङ्गाइदेलान् कि भन्न डर किन नमान्ने ? जनकलालजस्ता सोझा सिधा, इमान्दार स्रष्टाहरु आफ्नै सिर्जना र अनुसन्धानमा लागिरहन्छन् । यिनीहरुलाई तिकडम र षड्यन्त्र थाहा हुँदैन; आफ्नै यात्रामा लागिरहन्छन् । यिनीहरुको यात्रामा साथ दिनु सबैको कर्तव्य हो; जनकलाल वैद्यका सोझा देखिने आँखाहरु हेरेर म प्रश्न उठाइरहेछु ।
जनकलाल वैद्यका जीवन र हृदयलाई नियालेर उनले पुर्याएको योगदानमा भन्न सकिन्छ, उनी धैर्य र अध्यवसायका धनी व्यक्तित्व हुन् । नित्य निरन्तर अभ्यास, साधना, प्रतिबद्धताका उदाहरणीय व्यक्तित्वका रुपमा पनि उनी चिरपरिचित छन् । उनी बिहान सबेरै ब्युँझन्छन्, बिहानको व्यावहारिक कामहरु सकेर नित्यजसो स्त्रोत्र पाठ गर्छन्, केही क्षण प्रभात कालको भ्रमण गर्छन्, समाचारपत्र पढ्छन्, लेख रचना लेख्छन् । यस्तै – यस्तै कार्य सम्पादन गरेर उनी जीवन्त बनिरहेका छन् । हाल यिनी सकिनसकी नेपालभाषा प्राचीन शब्दकोष निर्माण गर्ने समितिमा मन घुमाएर, च्वासापासा साहित्यिक संस्थामा रमेर, खेलुइता:मा भाषा र साहित्यको प्रकाश बालेर र अनुसन्धनात्मक लेख लेखेर साहित्यकार र भाषासेवी जनकलाल वैद्य भएर जीवनका क्रमहरु गुजार्न सङ्घर्षरत छन् । यिनका अनुसन्धानलाई राष्ट्रले माया गरिदिनुपर्छ; यिनले तयार गरेका थुप्रै सङ्ग्रहणीय कृतिहरुमध्ये नेपालभाषा–साहित्य इतिहाससम्बन्धी ग्रन्थ, समालोचनात्मक र अनुसन्धात्मक लेखहरुका टिप्पणीसङ्ग्रह र राष्ट्रिय अभिलेखालय एवं आशा सफूकुथिका अभिलेख ग्रन्थहरुका वर्णनात्मक सूची आदि प्रकाशित गरिदिनुपर्छ । यिनले तयार गरिसकेका सम्पूर्ण ग्रन्थ, अभिलेखहरु राष्ट्रले संरक्षित गरिदिनुपर्छ ।
अनुसन्धानमा झिँजो नमानीकन सधैं लागिरहने मनहरु, नयाँ नयाँ उद्गमका स्रोतहरु हेरिरहन रुचाउने आँखाहरुले डा. जनकलाल वैद्यहरुलाई सबल र सक्षम तुल्याउँदै जानुपर्छ । इतिहासमा यिनीहरुलाई दुख्न दिनु हुँदैन – यात्रापथमा जनकलाल वैद्यहरुलाई बढ्न दिनुपर्छ ।