ढाकियामा फूल बेचिरहेकी केटी
फक्रिँदै गरेको फूल जस्ती छे स्वयम्
ग्राहकहरु फूल किन्दा
फूलसँगै थपक्क ऊ नै आइदिएकी ठान्छन्
र खुसीले मुस्कुराउँछन्
केटी पनि मुस्कुराउँछे
उसको मुस्कानमा मोती टल्किन्छ
ऊ फूलसँगै मुस्कान बेचिरहन्छे
यहि सडक किनारमा बसेर फूल बेचिरहँदा
उसले आफ्नो बालापन बेची
बालापन सँगसँगै
अक्षरसँगको सपना बेची
झोला बोकेर हिँडिरहेका आफ्ना दामलहरुलाई हेर्दै
स्कूल जाने र आउने समय बेची
उनीहरुले गाउने अक्षरका लयहरु बेची
मनभरी रहरका मुनाहरु पलाउँथे
त्यसलाई पनि माया गरेर
पटपट भाँच्थी र बेच्थी
यसरी बेच्दा बेच्दै रहर
यसरी बेच्दा बेच्दै सपना
ऊ कतिखेर जवान भई उसैलाई थाहा छैन
धेरै अगाडी
झोला बोकेर स्कूल जाने दामलहरु
अफिस जान थालेका छन् सुकिला लुगा लगाउँदै
ऊ अचेल फूल सँगसँगै
जवानी समय पनि बेच्न अभ्यस्त छे ।