राजु स्याङ्तानको कविता संग्रह ‘ओ पेङ्दोर्जे’ ले यस वर्षको पहिचान पुरस्कार पाएको छ । पहिचान पुरस्कार कोषका बोर्ड अध्यक्ष सुवास राईले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै स्याङ्तानको कविता संग्रह ‘ओ पेङ्दोर्जे’ लाई ०८०/८१ को पहिचान पुरस्कार दिने निर्णय गरेको जानकारी दिएका छन् । पुरस्कारको राशि ४ लाख २ हजार २ रुपैयाँ रहेको छ ।
यस वर्ष पहिचान पुरस्कारका लागि ८ वटा कृति मनोनयनमा परेका थिए । स्याङ्तानको ‘ओ पेङ्दोर्जे’ सहित गीलु रातोसको ‘सिलीदुङ’, विश्व कुँइकेल ‘गोपीचा’, मिथोचको ‘आगोको पिदार’, प्रविण खालिङको ‘चिया गफ’, अभागी थेगुवाको ‘सपनाहरूको बही’, श्याम सामसोहाङ राईको ‘मुन्दुम ट्रेल’ र निर्भीकजंग राईको ‘त्यसरी त कहिल्यै सोचिएन’ अन्तिम सूचीमा परेका थिए ।
‘ओ पेङदोर्जे’ कविता संग्रह गोर्खा राज्य विस्तार हुनुअघि र गोर्खा राज्य विस्तार भएपछि आफ्नो पहिचानका लागि रगत पसिना साथै जीवन आहूति दिने तामाङ जाति र अन्य भूइँमान्छेहरुले खेपेको शोषणका बारेमा लेखिएको छ । विषय, शिल्प, शैली, प्रस्तुति सबै दृष्टिकोणले कविता सङ्ग्रह ‘ओ पेङदोर्जे’लाई पहिचान पुरस्कार दिने घोषणा गरिएको संस्थापक नरेश काङमाङ राईले जानकारी दिए ।
संस्थाले जनाएअनुसार, २०८१ साल चैत्र २३ गते भोजपुर जिल्लाको टेम्के मैयुङ गाउँपालिका वार्ड नम्बर ४ को सुन्दर चखिया डाँडामा पुरस्कार वितरण गरिने छ । तीन साल अघिदेखि चखियामा पुरस्कार प्रदान गरिँदै आएको छ । गत वर्ष प्रगति राई ‘थाङ्ग्रा’ र प्रकाश गुरागाईंको ‘जङ्सन पिपलबोट’लाई पहिचान पुरस्कार प्रदान गरिएको थियो ।