बुवा !
सार्है गार्हो हुँदोरहेछ
स्वाभिमानको आकाश ओढेर
आदर्शको धर्ती टेक्न !
म सम्झँदैछु यतिखेर
कति गार्हो हुन्थ्यो होला तपाईंलाई
स्फटिक भई बाँच्न !
“आफ्नै श्रम र सिपको भर्याङ टेक्दै
सफलताको उचाई अग्ल्याउनेहरू नै
टाकुरामा टिकि रहन्छन् ! भन्दै
न कसैको बुइ चढ्न सिकाउनु भो
न कसैको काँध !
न भन्नुभो कहिल्यै
“अगाडी बढ्नलाई
चाहिन्छ कसैको हात !”
ताते ताते गराउँदै गर्दा
आफ्नो हत्केलाबाटै
फुत्काएर छोडि दिनु हुन्थ्यो
मेरा स-साना औंलाहरू..
गौँथलिले बचेरालाई
पखेटा चाल्न छोडिदिए झैँ !
अन्योलमा परि
जब्बर गौँडो गल्छेँडोमा
निसासिँदै म लड्दा त्यतिखेर
भन्नुहुन्थ्यो “उठ !
आफै उठ्नुपर्छ छोरी
आफैलाई टेको बनाएर !
तिम्रो बाबा कहाँ हुन्छु र सधैं
तिमीसित !?”
अरुको काँध
र अरुको बुईको त
ब्याज तिरीरहनुपर्छ निरन्तर !”
बुवा !
साउँब्याज र कर नलाग्ने
तपाइँको त्यो निश्वार्थ
मायाको गुरुकुल
पुरिएपछि समयको पहिरोमा
उत्खनन गरि गरि त्यहि ठाउँ
उप्काएर बिश्वासको थुन्सेभरि
तपाईंको आदर्शमय कमेरो…
मेरो जीवन भित्तो लिपिरहेछु म !
हो
सेतो कमेरोको
मौलिक रङ नै त रहेछ
सबैभन्दा असली रङ !
मैले सकिन बुवा
कमेरोको ढाँचा बिगार्न
सकिन आफूलाई छद्म ईन्द्रेनी बनाउन
पटक्कै सकिन बुवा ,
शरीर काँचुली फेर्न !
त्यसैले त चालिरहेकी अनवरत :
निर्भिक माझी झैँ एकोहोरो
समुद्रमा जीवन डुङ्गा !!
यहाँ सर्प झैँ फँडा फैलाउन पनि
जान्नुपर्दो रहेछ !
आदर्श र स्वाभिमानलाई बस्तु बनाई
बिकाउमा राख्न पनि जान्नु पर्दो रहेछ !
तपाईंले हिँड्न भन्नुभएको बाटो
जव बाङ्गिन्छ बाटै नदेखेर
तपाईंले पुग्न भन्नुभएको गन्तव्य
जव टाढिन्छ आँटै नभेटेर
तव बुवा !
डुवाएर समुद्रमै यो मायावी डुङ्गा
स्थिर गराई केहि समय पानीलाई
प्रकृतिलाई नै स्तब्ध तुल्याउँ झैँ लाग्छ !!
मृत्यु झेलिसकेपछि
बाँकि नहुँदोरहेछ कुनै डर मान्छेमा !
अहिले जस्तो लाग्छ बुवा !
बोलि पनि प्रष्ट नफुड्दै
फिट्फाट गराएर मलाई
तपाईंले बार्हखरी घोकाएको !
ठस् ठस् परि
आँखा र नाक पुस्दै
दारा किटि किटि ‘कपुरी क !’ रट्नु
कुहिरोभित्रको कागले
गन्तव्य खोज्नु सरह हुन्थ्यो !
तपाईं भनिरहनुहुन्थ्यो –
“आफै भर्नुपर्छ आफ्नो जीवनमा
सबैले टिप्ने लय,
जीवन सारङ्गी बनोस्
सबैको दुख रेट्न सक्ने !
जीवन यसरी तिखारियोस्
बाँसुरी बनोस् !
अनि मात्रै जीवन
जीवनजस्तो हुन्छ ।”
निश्वार्थ रेटिँदै तिखाँरिदै
सारङ्गी र बाँसुरी बनेको जीवन
यो ब्यापारी हिसाव कितावको
ब्यस्त बजारमा
निश्चित मूल्यको ट्याग बिना
जीवनजस्तो हुँदो रहेनछ !
बुवा ! तव यो जीवन ,
तपाईंको ईच्छाको बाँसुरीको धून
र सारङ्गीको तारमा कसरी समेटुँ म ?