कठघरामा उभ्याइएको छ मलाई
विभेदको पहाड
फोरेको आरोपमा
आँशुको नदी
थुनेको अभियोगमा
तीर चलाएर आक्रमक भएकोमा
म अभियोग स्वीकारेर
प्रतीक्षारत छु फोरेन्सिक रिपोर्टको
विधिविज्ञान प्रयोगशालामा
जाँचिँदै छ
प्रमाणस्वरूप जम्मा पारिएका
ग्रिनेड, बम, बन्दुक, भाला आदिआदि
आइपुग्यो
फोरेन्सिक रिर्पोट
जसमा उल्लेख थियो—
‘टङ्क उप्रेतीको फिङ्गरप्रिन्ट
कलममा मात्र भेटियो ।’
००