जनमत साहित्य डट कमले आफ्नो दोस्रो कार्यक्रमको रुपमा इन्टरनेट पुस्ताका लागि बाल साहित्य सम्बन्धि छलफल कार्यक्रमको आयोजना गर्यो । अहिले बालबालिकाहरु इन्टरनेट प्रति निर्भर भइरहेको अवस्थामा नेपाली बाल साहित्य लेखनमा के कस्ता चुनौतीहरु थपिएको छ , बालबालिकाहरुको लागि कस्ता कस्ता साहित्यहरु बजारमा आइरहेको छ ,बाल साहित्यलाई कसरी मल्टी मिडियामा लगेर इन्टरनेट पुस्ता माझ पहुच बढाउने , नेपाली बाल साहित्यको इतिहास, बाल साहित्यमा स्केचको भुमिका र चुनौती, विद्यालयस्तरमा बाल साहित्यको व्यवस्थापन तथा प्रि टिन तथा टिनएजरका लागि नेपाली साहित्य निकै कम भएका विषयमा छलफल भयो ।
यी विषयहरुमा केन्द्रित रहि जनमत साहित्य डट कमले बाल साहित्य समाजको उपाध्यक्ष, बाल बाङमय तथा अनुसन्धानका अध्यक्ष प्रमोद प्रधान, बाल साहित्यमा कलम चलाइ रहेका अनन्त प्रसाद वाग्ले, कार्तिकेय घिमिरे, अनुराधा, यशू श्रेष्ठ, केदार श्रेष्ठ, विज्ञता कार्की , कलाकारको प्रतिनिधीवाट रविन्द्र मानन्धर र विद्यालय प्रतिनिधीको रुपमा प्रज्ञाकुञ्ज स्कुलवाट प्रिन्सिपल सुनिता पौडेल थापाले आ आफ्ना विचारहरु व्यक्त गरे । संचारकर्मी सोनु लोहनीले सहजकर्ताको रुपमा कार्यक्रम संचालन गरेका थिए ।
ज्ञान र अनुभव प्राप्त गर्ने र बाडचुँड गर्ने विषयमा दुई दशक अघिको परिस्थिति र अहिलेको परिस्थिति बिल्कुलै फरक छ । अब ज्ञान किताब, स्कुल, अभिभावक र गुरुमा सीमित छैन । प्रविधिको द्रुत विकाससंगै अहिलेका बालबालिकाको संसार बदलिएको छ । बढ्दो शहरीकरणले परिवेशसगै उनीहरूको पठन शैली, खेल ,व्यवहार र सोच्ने तरिका फेरिएको छ । अहिले कोरोनाको महामारीको कारण बालबालिकाहरु घर भित्रै सिमित छन् र उनीहरु इन्टरनेटमा निर्भर छन् । कक्षाहरु इन्टरनेटमा, होमवर्क बुझाउने इन्टरनेटमा हुदा इन्टरनेट र ग्याजेट विना उनीहरुको संसार कल्पना बाहिर जस्तै भएको छ ।
हामी सानोमा दन्त्य कथा, लोक कथाहरु पढ्दै हुर्क्यौं । त्यति बेला हामीसंग सिमित साधन स्रोतहरु थिए । विद्यालय र घरको शिक्षा मै हामी सिमित हुन्थ्यौं । तर अहिलेको बालबालिकाहरु जन्मे देखि डिजिटल दुनियामा हराइ रहेका छन् । बोल्न नजादैं एनिमेशन गरेका भिडियो कथाहरुमा भुल्दै गइ रहेको छ । अधिल्लो पुस्ताहरु भन्दा धेरै नै बाठा बन्दै गइ रहेको छ । यस्तो अवस्थामा नेपाली बाल साहित्यलाई पनि मल्टिमिडिया मार्फत लैजानु पर्ने देखिन्छ ।
बालसाहित्य बालबालिकालाई नैतिक र चरित्रवान जस्ता गुण विकास गर्न र त्यसप्रतिको धारणा विकास गर्न बढी उपयोगी हुन्छ भन्ने धारणाले नै मैले मेरो छोरीलाई बाल साहित्य सम्बन्धी पुस्तकहरु किनेर लगि दिन्थें । एक, दुई कक्षा सम्म रमाइ रमाइ पढ्ने उनी अहिले नेपाली बाल साहित्यका पुस्तकहरुले तान्न सकेको देख्दिन । अंग्रेजी बाल साहित्यका सिरिजहरु किन्न लगाउछन् । अहिले त इन्टरनेटमै कोरियन संगीत र सिरीयलहरुमा यी पुस्ताहरु रमाइ रहेको पाइन्छ ।
अहिलेका बालबालिकाहरु १० वर्ष देखि प्रि टिनमा प्रवेश गरि सकेका हुन्छन् । पहिले १३ वर्ष पछि टिनएज भनिए पनि अहिलेका बालबालिकाहरुमा छिटै परिपक्वता विकास भइ रहदा ती उमेरकाहरुको लागि बाल साहित्य त्यति लेखिएको देखिएन । ती उमेरका नानीहरु नेपाली साहित्यवाट विस्तारै टाढिदैं गइ रहेको अवस्था छ । यदि ती बालबालिकाहरुलाई उनिहरुको मनोभावना र सोच अनुशारको बाल साहित्यको खुराक पस्कन सकनौं भने भविष्यमा ती पुस्ताहरुले साहित्यमा कस्तो योगदान दिन्छ , यो साहित्यकै लागि चुनौतीको विषय हो ।
इन्टरनेटको पहुच सर्वव्यापी हुदैछ । कतिपय परिवारमा बच्चा जन्मेको केही महिनादेखि नै फोन, आइप्याड, ट्याब्लेटहरुमा बालगीत, कार्टुन हेर्न थाल्छन् । स्कुल नजाँदै बच्चाहरुले वर्णमाला, अंक, रग र कतिपय यन्त्र उपकरणको काम गर्ने तरिका थाहा पाइसकेका हुन्छन् । आधुनिक बालबालिकाहरुले सहजै देख्न, सुन्न, बुझ्न, थाहा पाउन सक्ने अवसर यति धेरै । अहिलेका बालसाहित्य सर्जकहरुले आफ्नो बाल्यकालमा त्यो अवसर पाउदै पाएनन् । यसैले पुराना पुस्ताका बालसाहित्य सर्जकहरुसामु इन्टरनेट पुस्ताका बालबालिकाका लागि लेख्नुपर्ने जिम्मेवारी ठूलो चुनौतीकोे रुपमा उपस्थित भएको छ ।
समाज डिजिटल युगमा प्रवेश गरिसकेको छ । शिक्षा क्षेत्र द्रुत गतिले डिजिटल प्रविधिमा गइरहेको छ । अहिलेको वृत्तान्त अक्षर वा शब्दमा मात्र सीमित छैन । ध्वनि र चलचित्रमा पनि फैलिएको छ । अबका साहित्यकारहरु शब्द र विचारसग खेल्न जानेर मात्रै पुग्दैन माध्यमहरुसंग पनि खेल्न, तिनीहरुको उपयोग गर्न जान्नुपर्छ ।
एकातिर मानव समाजलाई सभ्य र समृद्ध बनाउन नया पुस्तालाई कस्तो मूल्यमान्यता हस्तान्तरण गर्ने भन्ने छ भने अर्कोतिर नया माध्यमको सदुपयोग प्रभावकारी रुपमा कसरी गर्ने भन्ने प्रश्न छ । यी दुबै कुरा नबुझी बालसाहित्य सिर्जना गर्नु भनेको कुहिरोभित्र उड्ने काग सरह बन्नु हो ।
बालबालिकाको उमेर जीवनको सबैभन्दा महत्व्पूर्ण समय हो । यस उमेरमा बसेका धारणाहरु चीरस्थायी हुन्छन् । यो उमेरका बालबालिकालाई हामीले जति धेरै र राम्रा धारणाको विकास गर्न सक्यौं बालबालिकाको जीवनको सफलता पनि यसैवाट निर्धारण हुन्छ । कुनै पनि वस्तुप्रति बालबालिकाको धारणा समाज, घर परिवार, साथी, शिक्षक, किताब, टेलिभिजन तथा इन्टरनेट लगायत उनीहरूले देखेका कुराहरू आदि अनुसार निर्धारण भइरहेको हुन्छ ।
विगत डेढ दशक देखि बालबालिकाहरु कोठा भित्र र त्यसमा पनि इन्टरनेटकै पहुचमै सिमित हुन थालेको अवस्था छ । उनीहरुको शारिरीक र मानसिक अभ्यासहरु पनि ग्याजेटले सिमित बनाइ रहेको अवस्थामा अहिलेको बालबालिकाहरुको लागि बाल साहित्यले मानसिक रुपमा मल्हमको काम गर्ने सक्छन् । बाल साहित्यलाई बालबालिकाको सजिलै र उनीहरुको सामु आकर्षित ढंगवाट कसरी प्रस्तुत गर्ने सकिन्छ भन्ने कुरा छलफल भयो । कार्यक्रमलाई बाल दिवशको अवसरमा जनमत साहित्य डट कमको युट्युब च्यानलवाट प्रशारण गर्नेछौं ।