यहाँ फूल पनि किन जोडी फुल्छन्?
ढुकुर,परेवा पनि जोडी उड्छन्!
शायद मौसम नै प्रणय उत्सव,
ती प्रेमी प्रेमिका भन्दै जोडी खोज्छन्!
शिशिरलाई बिदा गरी वसन्तलाई निम्त्याउने समय। वसन्तमा फुलाउने फूलका बिउ बेर्ना सार्ने चटारो । एक झर वर्षाको पर्खाइमा।बोट बिरुवाहरूमा मुना पलाउने तरखर हुँदै छ। फुङ्ग उडेका अनुहारहरूमा लाली पोत्न पनि केही चाडबाडको बहाना त चाहियो नि। वनभोज जाने मौसम। मनमोहक लाग्छ यो मौसम।भरखर ल्होसार सकियो,वसन्त पञ्चमी आउँदै छ।हाम्रा जवानामा खरीले मन्दिर मन्दिरका स साना बच्चा बच्चीलाई भित्तामा र स्लेटमा लेख्न लगाई अक्षरारम्भ गरेको सम्झना हुन्छ ! विद्यालयहरूमा धूमधाम सांस्कृतिक कार्यक्रमसहित सरस्वती प्रसाद बाँड्दै हिँडेको याद आउँछ।
साइत हेर्न नपर्ने भनी कतिको मन्दिरमा बिहे हुने दिन ।बाटा बाटामा बाजागाजा जन्ती सहित जोडी बाँधिने ,बिहे वारी हुने साइत।
ओहो ! यसपालि 14 Feb.-Valentine’s Day!एउटै दिन परेछ- पश्चिमी चाड !कस्तो संयोग!समावेशी समाज। देश,काल परिस्थिति अनुसार समाज बद्लिरहेको हुन्छ।जे पनि जबसम्म आफूलाई पर्दैन,तब सम्म थाहा हुँदैन। जो जेसँग जोडिन्छ, त्यसको बारे थाहा हुँदै जाने त हो।हप्ता दिनसम्म मनाइँदो रहेछ।
प्रत्येक दिनको आफ्नै महत्त्व होला।विश्वव्यापीकरण को जवाना । देश, महादेशमा भएकाहरूका अनेकन् सम्बन्ध। साथी सङ्गी,पारिवारिक, व्यापारिक, सामाजिक, सांस्कृतिक, अध्ययन, आध्यात्मिक,प्राविधिक अनेकन् अनेकन् रूपले जोडिरहेका मानिसहरूका सम्बन्धलाई नजोडिऊ भन्न पटक्कै मिल्दैन।यो गर उ गर ,यो नगर उ नगर भनेर पनि साध्य चल्दैन। विवेकशील प्राणीले आफ्नो इच्छाअनुसार के के गर्दै जान्छन्। कसैलाई मन पर्छ कसैलाई मन पर्दैन।
जे होस सबै खुसी होउन्,हाँसी खुसी जिउन। के बच्चा के तन्नेरी,के उमेर पाकेका।सबैको आफ्नो उमेरमा रमाउने चाहना हुन्छ।
त्यसैले यो प्रणय दिवस जस जसलाई मनाउन मन लाग्छ,आफ्नो इच्छा अनुसार मनाउन।विशेष गरी यौवनमा पाइला टेकेकाहरूलाई यौवनको मिठासमा रम्न छोडी दिऊँ।हिन्दुकै भगवानहरूकै लीला सुन्दा पनि भगवानहरूले रमाइलो गरेका कथाहरू प्रशस्त छन्। भगवानका प्रेमील जोडीहरू एकसे एक नाम लिएर साध्य छैन। राधाकृष्ण ,शिवपार्वती,लक्ष्मीनारायण,सरस्वती ब्रह्मा ,अनेकन् । परापूर्व काल देखि चलिआएको माया,प्रेम,स्नेह आदि सम्बन्ध रहिरहन्छ,कालान्तर सम्म रहिरहने छ।मानिसमा मात्र होइन जीवजन्तु सबैमा।वन जङ्गल अवलोकन गर्दै हिँड्दा पनि छर्लङ्ग हुन्छ ।कति रमाइलो! प्रकृति जोडी चराहरू उडेको देख्दा पनि।जोडी पुतलीहरू एकले अर्कोलाई पच्छ्याउँदै उडेको । प्रेमिल जोडीहरू मस्किँदै हिँडेको।मेरो हेर्ने आखाॅले यस्तै मन पराउँछ। आफ्नै प्रणय जोडीसँग हरदम रहेको कल्पना मै रमाउँछ।