विगत १० वर्षदेखि निरन्तर संस्कृति साहित्य र कलाको लेखन, प्रकाशन, प्रसारण र विस्तार गर्दै आएको संसाक मासिकले हरेक वर्ष प्रदान गर्दै आएको विभिन्न विधाका साहित्यिक सम्मान – २०७९ को घोषणा गरेको छ । संसाकले यस वर्ष समीक्षा, काव्य कविता, मुक्तक, नियात्रा, आदि विधाका ५ जना स्रष्टाहरूलाई सम्मान दिने घोषणा गरेको छ ।
यस वर्ष विभिन्न विधाका सम्मान पाउने स्रष्टा सर्जकहरूमा संसाक यात्री नियात्रा सम्मान– नियात्राकार जय छाङ्छा, भोजपुर ,संसाक अनामणि समीक्षा सम्मान– डा.भूपहरि पौडेल, भक्तपुर , संसाक भद्रकुमारी के.सी. मुक्तक सम्मान– कवि सिर्जना दुवाल, काभ्रे , संसाक रेमन्त साहित्य सम्मान– साहित्यकार घन थापा, स्याङ्जा ,संसाक गोपालराज मैयादेवी साहित्य सम्मान– कवि भवानी मैया पन्त, नुवाकोट हुन् । कवि साहित्यकार डा. दामोदार पुडासैनी किशोरको संयोजकत्व र कवि पत्रकार यशोदा अधिकारी र मुक्तककार राजेन्द्र घिमिरे सागरको सदस्यमा गठित तीन सदस्यीय स्रष्टा छनोट समितिले सम्मानित स्रष्टाहरू चयन गरेको हो । यी सम्मानहरू संसाकको वार्षिकोत्सवको अवसरमा आगामी भदौ ३ गते स्रष्टाहरूमा समर्पण गरिने छ ।