कता हो कता घन्टी बजेको मधुरो स्वरले मेरो मीठो गहिरो निन्द्राको एक पाखो भत्काइदियो । तैपनि म पूर्ण रुपले बिउँझिन सकिनँ । मलाई निद्राको नशाले लठ्याइराखेको थियो । एकनासले बजिरहेको घण्टीको आवाज नजिकिँदै आयो । अर्को पाखो पनि भत्काइदियो । मैले मुश्किलले आँखा खोलेँ । एकनासले घन्टी बजेको बज्यै थियो । अनि म झस्केर उठेँ । तल चोटामा कलबेल बजिरहेको थियो …लौ, के भयो ? तल आगलागी त भएन ? बत्तीको मेनस्विच र मिटर त मेरो कोठाबाहिर भएको मैले सम्झेँ । मुटुको ढुकढुकी यस्तरी बढ्यो कि मलाई सास फेर्न पनि गाह्रो भयो । म निस्सासिँदै उठेर कोठाको बत्ती बालेँ । अर्धचेतनाकै अवस्थाले कोठाको ढोका खोल्दै अत्तालिँदै कराएँ –‘आएँ…आएँ ।’ एकै सासले भर्याङ्ग ओर्ली ढोका खोल्ने बित्तिकै एक हूल मान्छेहरु मलाई नै उछिनेर आतङ्कित हुँदै स्वाँस्वाँ र फ्वाँफ्वाँ गर्दै माथि उक्लिँदै भने –“तपाईं शान्ता दिदी होइन ? माथि आउनुस्, माथि आउनुस् ।”
म तीन छक परेँ । एकैछिन त म स्तब्ध भएँ । तिनीहरुलाई ठम्याउन चोटाको जिरोवाट बत्तीको प्रकाशले पुगेन मलाई । मैले झ्वास्स सम्झेँ । देवेन्द्र पराजुली र उनका अन्य साथीहरु मेरो शरणमा आएको त होइन । केही दिन पहिले मात्र उनलाई डेरा चाहियो भन्ने खबर आएको थियो । मैले जवाफ पठाएकी थिएँ – ‘मेरो घरमा बस्न सक्नुहुन्छ भने, सहर्ष स्वागत छ ।’ तर मेरो घर अति नै सेन्टरमा परेकाले आँट गर्न सकेनन् क्यारे, आएनन् पनि । अहिले अवश्य पनि आपत परेर मेरो शरणमा आएका हुन् । जसरी हुन्छ मैले यिनीहरुलाई बचाउनुपर्छ भन्ने बलियो भावले मलाई छोपिहाल्यो । अब मैले यिनीहरुलाई कहाँ लुकाउने ? जरुर सेना या प्रहरीले लखेटेर ल्याएको हुनुपर्छ । त्यसैले भयभीत भई आतुरीले तिनीहरु मभन्दा पनि अघि लागी माथि उक्लेका थिए । मेरो मुटुको ढुकढुकी पनि बढिहाल्यो । कहाँ लुकाउने ? लुकाउन सकिने ठाउँ त मेरो घरमा थिएन । निमेषमा घरको प्रत्येक कुना मेरो आँखामा घुमिहाल्यो ।
“शान्ता दिदी । तपाईं माथि आउनुस् छिटो माथि आउनुस् ।”
मेरो निमेषको सोचाइमा अलमलिइरहेको ध्यानलाई भर्याङ्गको मुखमा पुगिसकेको भाइको ‘अर्डर’ ले छताछुल्ल पारिदियो । मैले उनलाई हेरेँ । उनले नकाब लगाइराखेका थिए । उनको मुनि तीनजना भाइहरु पनि अल्मलिएर भर्याङ्गका खुड्किलाहरुमा उभिइरहेका थिए । सबैको हातमा गन थियो । क्रान्तिकारी विद्यार्थीहरुको कत्रो व्यवस्था ? तिनीहरुको हातहातमा गन देखी म प्रफुल्ल भएँ । हौसिँदै मैले भनेँ –“पख्नुस् । तपाईंहरुको सुरक्षाको लागि बत्ती निभाई म ढोका लगाउँछु ।” यति भन्दै मैले ढोका तानेकी मात्र थिएँ, त्यही भाइले भने– “तपाईंले ढोका लगाउनु पर्दैन । त्यहाँ हाम्रा मान्छे बस्छन् । तपाईं माथि आउनुस् । छिटो माथि आउनुस् ।”
तुरुन्तै सेना र सशस्त्र प्रहरी आइपुग्ने आशंकाले म एकदमै त्रसित र भयभीत थिएँ । मेरो मुखमा थुक सुक्दै आयो । आँखा तिरमिराउन थाले । कानमा एक प्रकारको अव्यक्त शून्य सुसाउन थाल्यो । म हतारले भर्याङ्गका खुड्किलाहरु चढी मेरो कोठाभित्र पस्ने ढोकानिर पुगेँ । कोठाभित्र मतिर ‘गन’ सोझ्याएर उभिरहेका दुईजना भाइहरुले कम्ब्याट लुगा र अनुहारमा नकाब लगाइराखेका थिए । दुईजना भाइहरु माथि बुइँगलमा गए । मैले सम्झेँ कि आफ्नो सुरक्षाको लागि माथि ठाउँ हेर्न गएका होलान् । तिनीहरुको फूर्ति र साहसले मेरो कामिरहेको मुटु पनि एकाएक साम्य भयो । भाइहरु त सेनाको भेषमा पूरा तयार भई आएकाले तिनीहरुलाई बचाउन मलाई त्यस्तो गाह्रो नपर्ने विचारले म वाल्ल परिरहेँ ।
“शान्तादिदी, हामी को हौं ? तपाईंले थाहा पाइसक्नुभो होला । हाम्रो लुगाबाट पनि तपाईंले थाहा पाउनु भयो होला ।”
अचानक म अलमलमा परेँ । नकाब नखोली किन मसित त्यस्तो प्रश्न गरेका होलान् ? भनी एकछिन त म हैरान पनि भएँ । अनायास म मुस्काएँ । मसित किन ठट्टा गरेका होलान् भन्ने भावले भनेँ– “खोइ मेरो कोठामा आइपुगेर पनि तपार्ईंहरुले नकाब खोल्नुभएन । तपाईंहरुलाई मैले चिनेकी छु भनूँ या चिनेकी छैन भनूँ ? मलाई अलमल्लमा पार्नुभो तपाईं भाइहरुले ।”
“हामी सेना हौं । बुझ्नुभो ?”
म त खङ्ग्रङ्ग भएँ । मेरो पाउमुनिको जमिन नै भास्सिएर गएको जतिकै म तिर्मिराएँ । म स्तब्ध भएँ । मैले के सोचेकी थिएँ । के देख्नुपर्यो, तैपनि मलाई पूर्ण विश्वास लागेन । यदि सेना भइदिएको भए त अनुहारमा नकाब किन ? त्यत्रो आतुरीले त्रसित भई माथि किन उक्ले ? त्यस्तरी हस्याङ्फस्याङ् गर्नुपर्ने जरुरत के थियो ? मैले उनलाई राम्ररी हेरेँ । देवेन्द्रजस्तै लाग्यो । कानमुनिको गालानिर देखिएको छाला गोरो र टनक्क टन्केको थियो । त्यस्तै ३०/३२ वर्षको तन्नेरी नै लाग्यो मलाई । उनको अनुहारको नकाब मैलिसकेको पाकेट रुमालको थियो ।
माथि बुइँगलबाट दुईजना बन्दुकधारी नकाब लगाएका कम्ब्याट ड्रेसमा सेनाहरु घ्वारघ्वार ओर्लेर म उभिइरहेको दैलोनिर आइपुगे ।
“सर ! माथि त कोही पनि छैन ।”
“राम्ररी हेरेको हो ?”
“हो सर । कोही पनि छैन ।”
“अरु कोही भेटियो कि भेटिएन ?”
“केही पनि भेटिएन सर ।”
“उताको कोठामा हेर त ।”
“बल्ल मलाई विश्वास भयो, यिनीहरु सेना नै हुन् । एकाएक मेरो सम्पूर्ण शरीरमा निस्पट्ट अन्धकार खनिइहाल्यो । मेरो पैतलामुनिको जमिनै भासिएको जत्तिकै मलाई त आफ्नो शरीर पनि थाम्नै गाह्रो भयो । मुटु त पीपलको पातसरी हल्लिन थाल्यो । आँखामा अँध्यारो भएर आयो । मैले बुझिसकेकी थिएँ कि सेना मेरो घरमा किन आए ?
“खोइ ? मनु हुमागाईं कहाँ छ ? तपाईंले देखाइ दिनुपर्यो । कहाँ छ ऊ ? हामी त्यसैको खोजीमा आएका हौं । यस घरमा कल्पना धमला पनि छन् । लौ तुरुन्त देखाइदिनुपर्यो ।”
मेरो भृकुटीमा सिङ्गो मनु हुमागाईं र कल्पना उभिन आए । उनीहरुको खोजी भइरहेको मलाई राम्ररी थाहा थियो । उनीहरु भूमिगत रहेको पनि मलाई जानकारी थियो । उनीहरु मकहाँ बराबर आउने गरेका थिए । उनीहरुलाई मैले सक्दो मद्दत पनि गरेर आइरहेकी थिएँ । यी सबै जानकारी एउटा मनको कुनामा थन्क्याई मैले फ्याट्ट भनेँ –
“को मनु हुमागाईं, को कल्पना ? म त चिन्दिनँ तिनीहरुलाई ।”
“शान्तादिदी तपाईंले झूट नबोल्नुस् । तपाईंले तिनीहरुलाई राम्ररी चिन्नुभएको छ । कल्पनाको कुरा छाड्नुस् अहिले मनु कहाँ छ बताउनुस् । ऊ क्रान्तिकारी महिला हो । तपार्ईंले उसलाई तीन महिनासम्म यस घरमा भाडामा राख्नुभएको छ । हामीसित झूट कुरा गर्नुभयो भने, तपाईं नराम्रोसित फस्नु हुनेछ । मैले तपार्ईंलाई जनाउ दिएको छु । हामीसित साँचोसाँचो कुरा गर्नुस् । तपाईंलाई केही पनि हुँदैन । भन्नुस् मनु हुमागाईंलाई कहाँ राख्नुभएको छ तपाईंले ? हामीलाई देखाइदिनुस् ।”
“होइन । तपाईंले को मनु हुमागाईं भन्नुभएको ?”
“त्यही मनु हुमागाईं जसलाई तपाईंले यस घरमा राख्नुभएको छ ।” रनक्क मलाई रिस उठिहाल्यो । अलि ठूलै स्वरले मैले भनेँ– खोज्नुस न त । तपाईंहरुलाई मैले रोकेकी छैन । घर यही हो । खोज्नुस् । उनलाई भेट्टाए, लैजानुस् । मसित के सोध्नुहुन्छ ?”
“तपाईंले हामीलाई सिकाउनु पर्दैन । कसरी खोज्नुपर्छ ? हामीलाई थाहा छ ।”
सेनासित भनाभन भइरहँदा पनि मेरो मन मनु हुमागाईंकहाँ नै पुगिरहेको थियो । मेरो छातीभरि मनु हुमागाईं बसिरहेकी थिइन् । जीवनमा पहिलो पटक मैले ‘सफेद झूट’ बोलेकी थिएँ । मलाई थाहा थिएन, झूट बोल्नुभन्दा झूट बोलिसकेपछि त्यसैमा टिकीरहन सारै गाह्रो पर्ने रहेछ । मेरो मुखमा थुक सुकिसकेको थियो । मुख एकदम तीतो न तीतो भएर आइसकेको थियो । ब्यागबाट एक फुली ल्वाङ्ग झिकेर मुखमा राखेँ । मलाई बन्दुक सोझ्याएर बसेका सेनाले चारैतिर आँखा घुमाइरहेका थिए, मेरो भने मैले बोलेको झूट कुरामा कसरी टिकेर बस्ने हो ? त्यही ध्याउन्ना थियो ।
बन्दुकधारी दुईजना सेना मेरो कोठाभित्र पसेर एकजनाले भने – “सर ! उता कोठामा पनि केही भेटिएन । सर ।”
“राम्ररी हेरेको हो ?”
“हो र ।”
सेनाबाट केही भेट्टाउन नसकेको कुरा सुनी म मनमनै हर्षित भएँ । माछा मार्न आएकाहरुले भ्यागुता पनि फेला पार्न सकेनन् ।
“खोइ ? म हेर्छु ।” भन्दै मसित प्रश्न गरिरहेको सेना उताको कोठामा जाने बित्तिकै म झस्किहालेँ । केही महिना पहिले मनु हुमागाईंले मलाई एउटा सुतीको रुमाल दिएकी थिइन् –“दिदी यो रुमाल तपाईंले राख्नुस् । महिला कारागारका बहिनीहरुले दिएका थिए । हेर्नुस् त कति राम्रो ?! कति मिहिनेत गरेका छन् यसमा । फाल्न या नष्ट गर्न पनि सारै माया लाग्यो । यसरी लुकेर हिँड्नु परेको छ । यसलाई सँगै लिएर हिँड्न पनि सकिन्न । तपाईं नै राख्नुस् यो ।”
मैले रुमाल हातमा लिई यसो फैलाएर हेरेँ । फिका आकाशे रङ्गको मोटो खालको सुतीको कपडा त्यस्तै २०/३० साइजको रुमालमा सेतो मोटै धागोले नेपालको नक्सा भरेर हिमालको शृङ्खलामुनि एकातिर रातो सूर्य अर्कोतिर रातो तारा र बीचमा ‘प्रचण्डपथ’ रातो धागोले भरेको थियो । त्यसको सँगै ‘जनयुद्ध’ पनि रातै धागोले भरेको थियो । तल ऐनामा फ्रेमभित्र राख्न सुहाउने सीप थियो त्यस रुमालमा । मैले उनैको अगाडि, चकटीको खोलभित्र मिलाएर सुरक्षित हुने गरी लुकाएर राखेकी थिएँ । त्यो कुरा मैले झ्वास्स सम्झेँ । मुटु ढुक्क फुलि हाल्यो । हतार मान्दै सेनासँगै म पनि उताको कोठामा पुगेँ । त्यस कोठाको फ्रिजदेखि लिएर गाग्रो र अन्य घरेलु सामान किताब भएको र्याक, बेत र काठका कुर्सीहरु टेबिल, पलङ्ग, जुत्ता आदि सामानहरुले आधाभन्दा बढी कोठा भरिएको थियो । पलङ्गमा उठाइराखेको एकसरो ओछ्यान, सिरक, कम्बल तकियाहरु, चकटीहरु आदि थिए । त्यसबाहेक थुप्रै किताब, पत्रपत्रिका, म्यागजिन, मेरा लेख–रचनाहरु, नयाँ प्रकाशित मेरो उपन्यासको थुप्रो र पाँचवटा सुट्केश पनि त्यही कोठामा थिए ।
“क्या हो ? यहाँ त लेडिज जुत्ताहरु छन् ?”
“किन र भाइ ? तपाईंले मलाई लेडी मान्नुभएको छैन ? लेडीको कोठामा लेडिज जुत्ता देखेर तपाईंले आश्चर्य मान्नुभो ।”
उनी नाजवाफ भए । टेबिलमाथिका सयौँ पत्रपत्रिका र म्यागजिनहरु धमाधम पल्टाएर हेरे दुईजना सेनाले । अर्को मसित सोधपुछ गर्नेले किताबहरु हेर्न थाले । मेरो ध्यान भने चकटीहरुमा नै थियो । चारवटा चकटीमा कुनमा पर्यो त्यो रुमाल, मेरो मुटु ढुकढुक हान्दै थियो । तिनीहरुलाई कसरी छल्ने ? ध्यान त्यसैमा थियो मेरो ।
“यो ओछ्यानमा को सुत्ने ? किन यो ओछ्यान यहाँ ?” सिङ्गै विनोद मेरो छातीमा बस्न आए । उनी सुत्ने गर्थे आएको बेलामा ।
“कस्तो कुरा गर्नुभएको ? मान्छे बसेको घरमा एक्स्ट्रा ओछ्यान हुँदैन र ? दुईर्ष पहिले मेरो काम गर्ने केटी यसमा सुत्थी ।”
“अहिले खोइ त केटी ?”
“उसको बिहे भएर पनि अहिले छोरी पाइसकेकी छे । यो घरमा नबसेकी त्यस्तै आठ महिना जति भयो होला ।”
“अहिले कहाँ बस्छे त ?”
“मैतीदेवीतिर छन् रे । तर मैले देखेकी छैन ।”
“मलाई उनको जानकारी दिनुस् । उनको लोग्ने के गर्छन् ?”
मलाई अचम्म लाग्यो । उसको जानकारी किन दिने मैले ? उसलाई पनि ‘हाय्रेस’ गर्ने बाटो किन दिने ? म बडो अप्ठ्यारो मोडमा आइपुगेँ । सेनाले त मलाई छोड्दैन । मैले उसको र उसको लोग्नेको बारेमा केही त भन्नैपर्यो । मैले सेनाको अनुहारमा हेर्दै कुरा गर्दै चारैवटा चकटी बेदको आराम कुर्सीमा राखेर त्यसामथि म थचक्क बसेँ । मुटुको ढुकढुकी त बढिरहेकै थियो । उनले ओछ्यान, सिरक, तकिया, कम्बल सबै पल्टाएर हेरे । त्यसपछि फ्रिज खोलेर हेरे । त्यसभित्रको सानो डीफ्रिजसमेत खोलेर हेर्दा मेरो हाँसो छुटिहाल्यो –
“त्यसमा पनि मनु हुमागाईं खोज्नुभएको भाइ ?”
“तपाईं नकराउनुस् है । के खोज्दैछौं ? त्यो हामीलाई थाहा छ ।”
उनले गाग्राभित्रसमेत हेरे । कतै केही पाउन नसकेपछि उनी हैरान भएर भने –“तल पनि कोठाहरु छन् होइन ? देखाउनुस् त ।”
बल्ल मेरो मन अलि आनन्द भयो चकटीको खोल झिकेर हेरेनन् । म तिनीहरुसित तल गएँ । बजारपट्टिको कोठामा ताल्चा खोलेर देखाएँ । पूरा खाली थियो । त्यसमा सुकुल समेत थिएन ।
“तपाईं बिहान कहाँ जानुभएको थियो ?”
“उता मेरो भाइको घरमा । त्यहाँ पास्नीको कार्यक्रम थियो । ए.. त्यसो भए तपाईंहरुले मेरो बिहानै खोजी गर्नुभएको रहेछ । त्यसैले त्यो कोठा ह्वाङ्ग पारी खोलिराखेको थियो ।”
हामी सबै माथि मेरो कोठामा नै आयौँ । दुईजना सेना कोठा बाहिर उभिएर बसे । दुईजना कोठाभित्र । म छेउको सोफामा बसेँ । टोलीप्रमुखले अलि नरम भई भने –“शान्तादिदी ! अब तपाईंले हामीलाई मद्दत गर्नुपर्यो । भन्नुस्, मनु हुमागाईंलाई तपाईंले कहाँ राख्नुभएको छ ? हामीलाई नढाँट्नुस् है । नराम्रो पर्नेछ, मैले भनिदिएको छु ।”
“फेरि त्यही प्रश्न ? तपाईंले भन्नुभएको होइन ३ महिनादेखि मैले यो घरमा मनु हुमागाईंलाई भाडामा लिएर राखेकी छु । खोइ त मनु ? मैले उनलाई निलेँ ? तपाईंहरुले मध्यरातमा मेरो घरमा छापा मार्नुभयो । केही भेट्टाउन सक्नुभएन । उल्टो मसित सोध्ने उनी खोइ ? कहाँ राख्यौ भनेर ? अचम्म छ बा …। तपाईंले केही पाउनुभो त यस घरमा ?”
“केही पाएनौँ ।”
“अनि तपाईंहरु शर्मिन्दा हुनु परेन त ? उल्टो मलाई कहाँ राखेकी छौ भनेर चोरलाई जस्तो केरकार गर्ने ? यो कहाँको इन्साफ हो ?”
घरमा तिनीहरुले केही भेट्टाउन नसकेपछि मेरो आत्मबल एकदम बढेको थियो । यस्ताहरुले के पत्ता लगाउन सक्छन् भन्ने भावले तिनीहरुलाई मैले आफूभन्दा निकै होचो देख्न थाले । तर पनि मनमा अझै डर र आशङ्काले पूर्ण रुपले छोडेको थिएन । मेरो पलङ्गनिरको किताबले भरिएको र्याकमा ‘दिशाबोध’ मासिक पत्रिका पट्याएर मोटा मोटा किताबहरुभित्र ३/४ वटा लुकाएर राखेकी मलाई सम्झना भयो । टोलीप्रमुख सेनाले अर्को सेनालाई अह्राएर भने– “ए के उभ्भिइरहेको ? ती किताबहरुमा हेर ।”
लौ मार्यो । किताबभित्र ‘दिशाबोध’ देख्यो भने अर्को समस्या खडा गर्ने आशङ्काले म जुरुक्क उठेर पलङ्गमा बस्न गएँ । सेनाको टोली प्रमुखले भित्तामा झुन्डिरहेका मेरा विभिन्न सम्मान–पत्रहरु हेरिरहेका थिए । मैले र्याकमा रहेका किताबहरु धमाधम झिक्दै किताब पल्टाएर हेरिरहेका सेनालाई मद्दत गर्न गएँ ।
“भाइ ।” तपाईं किताबभित्र हेर्दै जानुस् म किताबहरु झिकेर तल राखिदिन्छु ।”
उनले केही जवाफ दिएनन् । उनको मौनतालाई स्वीकृति मानी किताबहरु धमाधम तल राखिदिएँ । जुन मोटो किताबहरुभित्र दिशाबोध थियो, ती किताबहरु सबैभन्दा तल पारी, त्यसमाथि चारवटा जति किताब राखिदिएपछि सेनाले भने –“भैगो दिदी, अरु नझिक्नुस् । यी किताबहरु पनि र्याकमा नै राख्नुस् ।”
उनले चालीसवटा जति किताबको नाम र भित्र पल्टाएर हेरिसकेपछि झर्को मानेको जस्तो लाग्यो मलाई । मलाई बचेँ जस्तो लाग्यो ।
“सर यहाँ पनि केही भेटिएन ।” टोली प्रमुखले सेनालाई पुलुक्क हेर्दै भने –“भैगो ! यता आऊ यो टेबिलमाथिका म्यागजिनहरु हेर ।”
अनि उनले मलाई हेरेर भने –“दिदी ! तपाईं यसरी चुप लाग्दैमा, तपाईंले पार पाउन सक्नुहुन्न । हेर्नुस् । हाम्रो समय एकदमै कम छ । तपाईंले हामीलाई ढाँटिरहनुभएको छ । तपाईं आफै सोच्नुस् कि यसबाट तपाईंलाई कस्तो असर पर्नेछ । तपाईंले मनु हुमागाईंलाई यस घरमा तीन महिना राख्नु भएकै हो । हामी त्यसै तपाईंको घरमा चढेका हैनौँ । बुझ्नुभो हामीले पूरा तीन महिना अनुसन्धान गरेर मात्र यो घरमा चढेका हौँ । हाम्रो अनुसन्धानले कहिल्यै फेल खान सक्दैन । बुझ्नुभो तपाईंले ? हाम्रो समय लिने प्रयत्न नगर्नुस् । खुरुक्क भन्नुस् मनु हुमागाईंलाई तपाईंले कहाँ राख्नुभयो ?”
सेनाको बारम्बारको एउटै प्रश्नले मेरो आक्रोश रोक्न अत्यन्त गाह्रो परेको थियो । म त भित्रदेखि काम्न थालेकी थिएँ । एक त सेनाको जिद्दी, दोस्रो मैले बोलेको झूटले मलाई अति नै हैरान पार्न थाले । यी दुई विपरीत बोलीको बीचमा म च्यापिँदै गइरहेकी थिएँ । सेनाले आफ्नो अडान नछोड्ने निश्चित थियो । त्यस्तो स्थितिमा मैले मनु हुमागाईंलाई चिनेकी छु । मैले झूट बोलेँ भनेर कसरी ‘कन्फेस’ गर्ने ? मैले जे बोलेँ बोलेँ । त्यसैमा अडान लिनुपर्ने आवश्यकताले मलाई गाँज्दै ल्यायो । अड्ने मैले निर्णय गरेँ ।
“हेर्नुस् भाइ, जसलाई मैले चिनेकै थिइनँ, त्यसलाई मैले कहाँ राखेँ भनूँ ? म जस्तोबाट पनि जे पायो त्यो बकाउन चाहनुहुन्छ तपाईं ? तपाईंले मलाई यसरी एउटै प्रश्न गरी ह्यारेस गरिरहन, मेरो आजसम्मको पचासौँ वर्षदेखिको राष्ट्रहित र प्रजातन्त्रको निम्ति गर्दै आएको सङ्घर्षको इतिहास भएको मलाई यसरी सोधिरहन तपाईंलाई कसरी अलाउ गर्यो ? जहाँसम्म तपाईंहरुको ३ महिनाको अनुसन्धानको प्रश्न छ, त्यसले योभन्दा बढी के फेल खानू ? एक्लै आइमाई सुतिरहेको घरमा मध्यरातमा छापा मारी मेरो निद्रा हराम गरी मेरो समय लिई मलाई बेतुकको प्रश्नले हैरान पार्ने अनि तपाईंले मलाई नै मैले तपाईंहरुको समय लियौँ कसरी भन्नसक्नुभो ? हेर्नुस् भाइ ! अधिकारको मिस–युज नगर्नुस् ।”
मेरो कुरा सुने–नसुनेको जस्तो गरी मेरा लेख–रचना र भर्खरै प्रकाशित उपन्यास पल्टाएर हेरिरहेका सेनाले उभिइरहेका सेनाहरुलाई हकारेर भने –“ए, के उभिरहेका ? यताउता राम्ररी हेर न । उता ट्वाइलेटहरुमा हेरेको हो ?”
“हो सर ।”
“फेरि राम्ररी हेर ।”
उनले पाएको असफलताको झोक अरु सेनाहरुलाई हकारेर देखाए । म भने मनमनै प्रफुल्ल भएँ । अब यिनीहरु लज्जित भई भुस्याहा कुकुरले पुच्छर लतारेर भागेजस्तै मेरो घरबाट जाने निश्चय हुने भएकोले म निर्धक्क भइहालेँ । सेनाले मलाई पुलुक्क हेरी प्रश्न गरे – “यो ब्याग कसको ?”
“मेरो कोठामा कसको हुनु ? मेरो नि ।”
“यसलाई खोल्नुस् त ।”
“तपाईं आफै खोल्नुस् ।”
हामी अर्काको ब्याग खोल्दैनौँ । बुझ्नुभो ?
ब्यङ्गयले फिस्स हाँस्दै भनेँ– “किन र भाइ ? तपाईंले मध्यरातमा मेरो घर खोल्न हुने, यो ब्याग खोल्न नहुने ?”
“हेर्नुस् दिदी ! तपाईंले बढ्ता बोलिरहनुभएको छ । तपाईंको बढ््ता कुरा सुन्न आएका होइनौँ हामी बुझ्नुभो ? तपाईंले हामीलाई छक्याउन सक्नुहुन्न बुझ्नुभो ?”
“मैले तपाईंहरुलाई किन छक्याउने ? के कारणले छक्याउने ? मेरो ठाउँमा तपाईंले बसेर हेर्नुस् त । कम से कम मेरो उमेरको त ख्याल राख्नुस् । तपाईंले अवश्य पनि उच्च शिक्षा पाउनुभएको होला । तपाईंले भन्नुस्, मैले तपाईंको प्रश्नको के जवाफ दिने ?”
“तपाईं धेरै चलाख हुनुहुन्छ । तर तपाईंको यो चलाखीपनले काम चल्दैन । हाम्रो समय छैन । छिटो भन्नुस् मनु हुमागाईं कहाँ छ ?”
“यो प्रश्नको जवाफ मसित छैन । तपाईंको विवेकले जे गर्नुहुन्छ, म तयार छु ।”
“त्यसो भए, तपाईं हामीलाई सहयोग गर्न चाहन्नुहुन्न हैन ?”
म आफैमा भुत्भुताएँ । भित्रभित्रै म रनथनिएँ पनि । म जुरुक्क उठेँ, सेनाको नजिक गएँ र मेरो ब्यागका सबै पाकेटका जिपरहरु खोली त्यसभित्रका सबै सामानहरु निकालेर उनको अगाडि राखिदिएँ । उनले सबभन्दा पहिले मेरो डायरी खोलेर हेरे । त्यस डायरीभित्र आठवटा पाकेटहरु थिए । ती सबै पाकेटहरुबाट पनि सामानहरु झिकेर अगाडि राखिदिएँ । उनले एकएक गरी खूब गौर गरी हेरे । शङ्का लागेका नेगेटिभहरु मलाई देखाउँदै उनले सोधे– “यो कसको नेगेटिभ ?”
“मेरो मामाको आमाकी ठूली आमाको छोराको । उहाँले १६ वर्ष जेलको सजाय भोग्नु भई २००७ सालको आममाफीमा छुट्नुभएको थियो ।”
“किन के अपराधमा जेल पर्नुभएको थियो ?”
“कमान्डर इनचिफ रुद्र शमशेर जबराको खरिदार हुनुहुन्थ्यो । उहाँलाई पाल्पामा जुद्ध शमशेरले लघारेपछि मेरा मामाले मालिकसँग पाल्पा जाने माग गरी श्री ३ जुद्ध शमशेरलाई बिन्तिपत्र लेख्नु नै अपराध मानी मुद्दासमेत नचलाई केन्द्रीय कारागारमा थुनिराख्दा, उहाँले जेलभित्रैबाट त्यतिबेला थुनिराखेका १९९७ सालका नेताहरुसित मिलेर हुकुमी राणा शासनको विरोध गर्नुभएको थियो ।”
“इन्ट्रेस्टिङ्ग । उहाँको नाम ?”
“पूर्णबहादुर श्रेष्ठ ‘बान्धव’ ।”
“यो कसको फोटो ?”
“यो जया भारद्वाजको । यो केटीको बडो मार्मिक व्यथा छ । उनले आफूलाई जन्माई १८ वर्षसम्म आफ्नै छत्रछायामा राखेकी आमालाई उनको बुबाले लगेदेखि आजसम्म भेटाउनु त के अनुहारसम्म पनि नदेखाएको ३३ वर्ष भयो ।”
“त्यस्तो किन नि ? छोरीले नै भेट्न नचाहेकी ?”
“जया सुस्त मनस्थितिकी, भोक लाग्योसम्म पनि भन्न नसक्ने, जहाँ राख्यो, त्यहीँ थुप्रिएर बसिरहने ? कहिल्यै घरबाट बाहिर नलगेकाले असन–इन्द्रचोकसमेत देखेकी छैन । घरैमा थुनेर राख्ने गरेका छन् ।”
“कसले ?”
“उनका सौतनी आमापट्टिका भाइले ।”
“उनकी आमा कहाँ छिन् अहिले ?”
“आफ.नो परिवारमा । उनले पनि दोस्रो बिहे गरेकी थिइन् । हामीले जयाकी आमाको बिरह हेर्नै नसकी, छोरीको मुख मात्र आमालाई देखाउने प्रयत्न गरेको ३ वर्ष भयो । तर सकेनौं ।”
“किन त्यस्तो गरेको त सौतेनी भाइले ?”
“जलन । दोस्रो बिहे गरी जयाकी आमाले धेरै सुख पाइन् । छोरै छोरा तीनजना छन् । एक से एक पढेलेखेका, उच्च शिक्षा पाएका, एउटा मेडिकल डाक्टर, अर्को पि.एच.डी., अर्को एम.ए. पास । आर्थिक अवस्था पनि एकदम राम्रो ।”
“खैर छौडौं यो कुरा । यो फोटो कहाँ को त ?”
“यो चारखाल अड्डाभित्रको खोरको । ढोकाभित्र उभ्भिरहेका आइमाईहरु २०१७ सालको काण्डमा नुवाकोटका महिलाहरु थुनिएका । ढोकाबाहिर देखिहाल्नुभयो सङ्गीन लिई बसेका पहरेदार ।”
सेनाले अरु फोटो नेगेटिभहरु हेरे मात्र । तर मसित सोधेनन् । उनैले फोटो र नेगेटिभहरु, डायरीकै पकेटमा राखिदिए ।
त्यतिबेला मैले भने ती सेनालाई ठम्याउने प्रयत्न गरिरहेकी थिएँ । दुईवटा आँखामात्र देखिने गरी, पूरा नाक र कानसमेत छोपी अलि मैलिसकेको रुमाल तीन कुन्ने पारी अनुहारमा बाँधिराखेकाले मलाई सारै अप्ठ्यारो परेको थियो । उनको टाउको कम्ब्याट ड्रेसकै क्याप थियो – आँखी भौँ समेत छोपेको । उनका आँखा मेरा सामानहरुमाथि थिए । मेरा आँखा उनको अनुहारमा । हामी दुईजनाको अनुहारको बीचमा एउटा कफी टेबिल थियो । त्यसमाथि नै ब्यागका सामानहरु र मैले लेख्दै गरेको उपन्यासको चाङ्ग थियो । रुमालभित्र उठेको उनको नाकको धारले अनुहार लाम्चो र थुतुनो अलि बाहिर निस्केको जस्तो लाग्यो, मतलब धारिलो भई उठेको नाकमुनिको थुतुनो पनि उठेको । मान्छेको स्वर अलि बेग्लै खालको नाकेनाके थियो । मान्छे त गतिलै थियो । अग्लो गोरो । जीउडाल मिलेको । मैले उनलाई एकतमाशले हेरिरहेको उनले देखिहाले । मसित आँखा जुधाउन सकेनन् । हतारले रुमालको नकाब माथि हेरिरहेको उनले देखिहाले । मसित आँखा जुधाउन सकेनन् । हतारले रुमालको नकाब माथि सारेर पूर्ण आँखा पनि नदेखिने पारी हाले । तर मैले भने उनको आँखाको तस्बिर मेरो मनमा उतार्ने नियतले नै उनको आँखामा हेरिनै रहेकी थिएँ । उनको आँखा बारम्बार मेरो आँखामा चिप्लिरहेका थिए । केही गरेर पनि उनले आफ्नो आँखा मेरो आँखाबाट लुकाउन सकेनन् । कस्तो अनौठो आँखा । कुइरेको नीलो आँखाको नानी र बिरालोको आँखाको खैरो नानी मिसाएर बनाएको नानीजस्तै अनौठो रङ्गको आँखाको नानी थियो उनको । आँखाको सेतो भागको वरिपरि फिक्का गुलाबी रङ्ग थियो भने बीचको नानीको वरिपरि सेतो भागमा रौँभन्दा पनि मसिना नसाहरु नागको आकारमा विद्यमान थिए । त्यो अनौठो अप्रिय एकजोडी आँखामा टल्पलाइरहेको पानीमा निराश, हैरान, थकाइ र एकप्रकारको निद्राको मातले धमिलिएको थियो । एकपटक देख्नेले सायदै मात्र बिर्सन सक्थ्यो होला ती आँखा । हजारौँ आँखाको बीचमा पनि मलाई ती आँखा ठम्याउन गाह्रो पर्दैन होला । त्यस्तो गहिरो छाप परेको छ मेरो दृष्टिमा त्यो आँखाको ।