—
१. विषयप्रवेश
महाकाव्य काव्यिक महानताहरू प्रस्तुत गर्ने त्यस्तो प्रबन्धकाव्य हो जसमा आख्यान, चरित्र, परिवेश, प्रकृति, विषय, भाव, विचार, भाषाशैली, उद्देश्य, युगीन यथार्थ र काव्यसौन्दर्य आदिको महानता हुन्छ । नेपाली भाषामा ‘महाकाव्य’ नामधारी प्रबन्धकाव्यहरूको सङ्ख्या २५० भन्दा बढी छ तर गरिमाका दृष्टिले महाकाव्य नै भन्न सकिने प्रबन्धकाव्य भने अत्यन्त थोरै छन् । नेपाली भाषा विश्वमा सबैभन्दा बढी सङ्ख्यामा महाकाव्य लेखिएको भाषामध्ये एक हो । संसारका अन्य भाषाहरूमा महाकाव्यलाई पुरातनपन्थी, डेट गइसकेको, बुढो र मृत विधा भनेर उपेक्षा गर्न थालिएको परिस्थितिमा नेपाली भाषामा भने झन् झन् रुचिका साथ महाकाव्यहरू धमाधम लेखिँदै छन् । यस क्रममा वि.सं.२०७३ सालमा पनि केही महाकाव्यहरूको रचना भएको पाइन्छ जसमा महाकाव्यकार नवराज लम्सालको ‘धरा’ विशेष उल्लेखनीय छ । यो महाकाव्य नामधारी महाकाव्यभन्दा माथिल्लो स्तरको छ । यसलाई २०७३ सालमा प्रकाशित एकाध राम्रा महाकाव्यमध्ये एकका रूपमा लिन सकिन्छ ।
‘धरा’ विषयगत रूपमा धेरै बढी क्षेत्रहरूलाई सम्बोधन गर्दै लेखिएको महाकाव्य भएकाले एउटा सानो लेखमा यस महाकाव्यका सबै पक्षको वस्तुपरक र गम्भीर विश्लेषण गर्नु सम्भव छैन । यो महाकाव्य लेखकीय स्वतन्त्र चेतनाको उपयोग गर्दै र नेपाली समाज र नेपाली चरित्रको पनि गम्भीर अध्ययन–मनन गर्दै आलोचनात्मक दृष्टिविश्लेषणका साथ तयार पारिएको बौद्धिक रचना हो । विषयगत विविधता, युगजीवनको व्यापकता, शैली, भाव तथा विचारगत अनेकताका कारण यसलाई कुनै पनि पाठकले सामान्य पठनका भरमा सही रूपमा आत्मसात् गर्न सक्दैन भन्ने मेरो बुझाइ छ । यसमा स्पर्श गरिएका विषयक्षेत्र, सम्बोधन गरिएका पक्षहरू, निष्पन्न गर्न खोजिएको भाव, व्यक्त भएको चेतना र प्रक्षेपण गरिएको विचारलाई बुझ्न पाठक पनि उत्तिकै पठित, अध्ययनशील, बौद्धिक र धैर्यवान् हुनु जरुरी छ । इतिहाससम्बन्धी अध्ययन नभएको, धर्मशास्त्रका मान्यताको बोध नभएको, परम्पराका सुन्दर र कुरूप यथार्थसँग परिचित नभएको, साहित्य–सङ्गीत–कला, राजनीति, भूगोल, दर्शन, अर्थशास्त्र, समाजशास्त्र आदिको आधारभूत ज्ञान नभएको र कवितामा हुने बिम्बप्रतीक र ध्वन्यादिका बारेमा राम्रो ज्ञान नभएको तथा सौन्दर्यसम्बन्धी आधारभूत ज्ञान नभएको पाठकले यस महाकाव्यको मर्म पहिल्याएर अध्ययन गर्न सक्दैन किनभने यसभित्र इतिहास, परम्परा, समयुगीन विविध यथार्थ, मानिसका वृत्ति–प्रवृत्तिहरू, तिनका रुचि र अरुचिहरू, रहर र कहरहरू, देशको असरल्ल परिवेश र भत्किएका–बिग्रिएका र सम्हालिनसक्नु बनेका समस्या र सङ्कटहरू, नेपाल र नेपाली जनताको भविष्यप्रतिको चिन्ता र चासो, नेपाली प्रकृति, नेपाली संस्कृति र नेपाली जनजीवनका विविधता, नेपाली माटो र नेपाली मनको सम्बन्ध, नेपालको राष्ट्रियता र अखण्डता, स्रष्टाले निर्वाह गर्नुपर्ने काव्यिक तथा नागरिक दायित्व आदिसँग जोडिएका अनेक पक्षमाथि काव्यिक विमर्श गरिएको छ । यसलाई भाषाशैली, प्रयोगधर्मिता, बिम्बविधान, सूक्तिमय अभिव्यक्तिको व्यापकता, वैचारिकता, महाकाव्यिक तत्त्वहरू लगायतका धेरै आधारमा अध्ययन–विश्लेषण गर्न सकिन्छ । यस्ता सबै कुरा एउटै लेखमा समावेश गर्न खोजियो भने त्यो टिपनटापनमूलक र अपूर्ण समालोचना मात्र हुन सक्छ । त्यसैले यस सिर्जनात्मक समालोचनामा प्रस्तुत महाकाव्यमा पाइने घतलाग्दा केही अभिव्यक्ति, कविको सोच र जीवनबोधमाथि विशेष विमर्श गरिएको छ । साथमा यसका केही अभिव्यक्ति र मेरा कविता–काव्यहरूका अभिव्यक्तिबिच देखा पर्ने अनुभूतिगत र अभिव्यक्तिगत समानताका एकाध पक्षमाथि चर्चा गर्दै अन्त्यमा यस महाकाव्यमाथि समीक्षा गर्न चाहने अन्य समालोचकका लागि सम्भाव्य शीर्षकहरूका बारेमा पनि सङ्केत गरिएको छ । यो नै यस समालोचनाको मुख्य सीमा रहेको छ ।
२. चर्चित र परिचित प्रतिभा नवराज लम्साल
गीत, सङ्गीत, साहित्य, सञ्चार र राजनीतिलगायतका अनेक क्षेत्रमा सिर्जनात्मक योगदान दिँदै आएका कवि नवराज लम्साल नेपाली जनमानसमा चर्चित र परिचित व्यक्ति हुन् । गीत र कविताबाहेक उनको विशेष प्रतिभा सुमधुर वक्तृता र प्रवाहमय उद्घोषणमा देखिँदै आएको छ । रेडियो नेपाल तथा एफएमहरूमा उनले गरेको उद्घोषणबाट देश र विदेशमा बस्ने लाखौँ नेपालीहरू मोहित हुने गरेका छन् भने मञ्चहरूमा प्रस्तुत हुने उनको वक्तृताबाट पनि श्रोताहरू उत्तिकै आकर्षित र प्रभावित भएको पाइन्छ । हँसमुख, मिलनसार, सहयोगी, उत्साही, सकारात्मक सोचले उज्याला र देश र जनतालाई अत्यन्त माया गर्ने गुणहरूका कारण उनी सर्वसाधारण नेपालीदेखि बौद्धिक वर्गसम्म लोकप्रिय र चर्चाको पात्र बनेका छन् । पछौटे नेपाली समाजलाई सकारात्मक दिशामा परिवर्तन गराउनका लागि लामो समयदेखि काम गर्दै आएका लम्सालको मुख्य प्रसिद्धि मूलतः सञ्चारजगत्मा नै रहेको छ तापनि उनको विशेष गरिमा भने कविताकाव्यको सृजनामा देखिन्छ ।
कवि नवराज लम्साल सचेत र प्रगतिशील चेतना बोकेका नागरिक कवि हुन् । मैले उनलाई सदैव न्यायका पक्षमा आवाज उठाउँदै आएको देखेको छु । आवश्यक पर्दा उनी सङकमा हुने क्रान्ति र सङ्घर्षहरूमा पनि सहभागी भएको इतिहास छ, म स्वयं त्यसको एउटा साक्षी हुँ । मैले नवराज लम्साललाई सरकारी जागिर खाइरहेकै अवस्थामा पनि सरकारले गरेका जनविरोधी कामहरूको विरोध डटेर गर्ने आँट गरेको देखेको छु, सत्तासँग जोडिएर पनि सत्ताधारीहरूले गर्ने जनविरोधी कामहरूका विरुद्ध सङ्घर्षमा होमिएको भेटेको छु र यदि कुनै व्यक्ति प्रतिभाशाली छ भने त्यो जुनसुकै विचारधाराको होस्, उसको सम्मान गर्नुपर्छ भन्ने उदात्त विचार भएका व्यक्तिका रूपमा पाएको छु । आफ्नै विचारधारा र आफ्नै वर्गका मानिसहरूले नै गरेका भए पनि यदि त्यो काम नराम्रो छ भने त्यसलाई कुनै हालतमा स्वीकार गर्नु हुँदैन भन्ने मान्यतालाई समेत उनले व्यवहारमा उतार्दै आएका छन् । २०७३ सालमा ‘नेपाली लेखक सङ्घ’को चुनावमा अध्यक्ष पदमा विजयी बनेपछि केही महिनामै उनले त्यस संस्थाबाट राजीनामा दिएको सन्दर्भले उनको यस चरित्रलाई अझ बढी मुखरित गरेको छ । नेपाली साहित्यजगत्लाई यथाशक्य सहिष्णु, उदार र सबैको बनाउने सङ्कल्पका साथ ‘नेपाली लेखक सङ्घ’का अध्यक्ष बनेका लम्सालले त्यस संस्थामा साहित्यको सेवाभन्दा बढी व्यक्तिगत स्वार्थको बोलबाला हँुदै आएको र अहिले पनि त्यस संस्थामा त्यही अवस्था विद्यमान रहेको देखेपछि सुरुमा सुधार्ने प्रयत्न गरे तर सुधार्न सम्भव नदेखेपछि त्यस्तो संस्थामा बसेर दूषित बन्नुभन्दा स्वतन्त्र भएर प्रदूषणका विरुद्ध लड्नु ठिक छ भन्ने अठोट गरी अध्यक्ष पदबाट राजीनामा दिए । यसबाट उनको इमानदार व्यक्तित्वका साथै जिम्मेवार चरित्रको समेत परिचय मिल्छ । गीत, कविता, प्रबन्धकाव्य र सञ्चारमाध्यमको भूमिका तथा यस्तै किसिमका अन्य कामहरू गर्दै आएका र गरिरहेकाले उनी आज नेपालभित्र र नेपालीहरूले बसोबास गर्दै आएका विश्वका अनेक मुलुकहरूमा चर्चित र परिचित छन् ।
३. महाकाव्यकार नवराज लम्साल र ‘धरा’ महाकाव्यले समेटेका आधारभूत विषय–क्षेत्र
बालकविता, गीत, फुटकर कविता र महाकाव्यका गरी आधा दर्जन कृतिको प्रकाशन गराइसकेका कवि नवराज लम्साल कविबाट क्रमशः महाकवि बन्ने दिशामा साधनारत देखिन्छन् । ‘कर्ण’ र ‘धरा’ महाकाव्य उनको यसै साधनायात्राका दुई शक्तिशाली पाइला हुन् । ‘कर्ण’ पौराणिक मिथकलाई आधार बनाएर रचिएको आधुनिक चेतना अभिव्यञ्जित गर्ने प्रयोगधर्मी महाकाव्य हो । वर्तमान युगलाई मानवीय मूल्य र गतिशील चेतनाले सम्पन्न भएका आधुनिक कर्णहरूको आवश्यकता छ भन्ने सन्देश प्रवाहित गर्ने यस महाकाव्यमार्फत लम्सालले नेपाली महाकाव्यमा काव्यिक प्रयोगधर्मिताको प्रदर्शन गरेका छन् भने ‘धरा’ चाहिँ लामो कालखण्डको काव्यिक साधनाबाट सम्पन्न गरिएको राष्ट्रवादी तथा देशभक्तिको भावले ओतप्रोत बहुविषयक महाकाव्य हो । जीवन, समाज, इतिहास, वर्तमान र भविष्यदृष्टिसमेतको व्यापक अध्ययनमनन गरेर तयार पारिएको ‘धरा’ महाकाव्य अनुभूति, अध्ययन, ज्ञान, बोध, कल्पना र स्वप्नदृष्टिसमेत समन्वित भएको महाकाव्य हो । यसमा कवि लम्सालको प्रतिभा, व्युत्पत्ति र अभ्यास तीनवटै कुराको संश्लेषण छ ।
‘धरा’ महाकाव्यमा विविधता छ । यसमा परम्पराबोध छ; इतिहासचेत छ । वर्तमानको अध्ययन छ; भविष्यप्रतिको अनुमान र आग्रह छ । नागरिकसँगका संवाद छन्; नेतृत्वले गरेका कुकर्ममाथि परिहास छ । त्यागको सन्देश छ; बलिदानको महिमागान छ । श्रमजीवी जनताका सुखदुःखका बारेमा गम्भीर चासो छ; उत्पीडित मानिसप्रतिको संवेदनशीलता छ । सङ्घर्षका कुरा बढी नै छन्— दरबारिया सङ्घर्ष, सत्तासङ्घर्ष, वर्गसङ्घर्ष, जातीय सङ्घर्ष, क्षेत्रीय सङ्घर्ष, मुक्तिसङ्घर्ष, राष्ट्रियताको सङ्घर्ष, जीविकाको सङ्घर्ष, सृजनशीलताको सङ्घर्ष आदि । यस्तै उत्पीडित वर्गप्रति तीव्र सहानुभूति छ भने उत्पीडक वर्गप्रति चर्को आक्रोश छ । समाजरूपान्तरणको लालसा छ भने अत्याचार र अन्यायविरुद्ध विद्रोह छ । राष्ट्रिय एकता र अखण्डतामा जोड दिइएको छ भने विखण्डनवादी सोच र अराजक क्रियाकलापको विरोध गरिएको छ । तथाकथित प्राज्ञहरूप्रति चर्को व्यङ्ग्य छ भने प्राज्ञिक मर्यादा र लेखकीय स्वतन्त्रताको माग छ । समाजमा देखिने तमाम विकृतिको आलोचना छ भने सुकृतिको प्रशंसा छ । मानवीय मूल्यका बाधक तत्त्वहरूको अनुशीलन र विरोध छ भने उदात्त मानवताको पक्षधरता छ । आडम्बरी धर्मवाद र परनिर्भरताको आलोचना छ भने कर्मवाद, आत्मनिर्भरता, स्वाभिमान र आत्मसम्मानको पक्षधरता छ । देश बनाउने सङ्कल्प छ । सच्चा नागरिक बन्ने प्रतिबद्धता छ । नेपालको सर्वाङ्गीण विकासको चाहना छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिप्रति चासो छ । यी सम्पूर्ण कुराहरूलाई थेग्ने गरी नेपाल, नेपाली जनता, धरती र स्वयं आफू (कवि) गरी चार स्तम्भहरूमा यस महाकाव्यको महल खडा गरिएको छ । यी चार पक्ष नै यस महाकाव्यका आधारभूत विषय–क्षेत्र हुन् ।
४. आत्मतत्त्वको खोज र निजत्वको माग
‘धरा’ आत्मतत्त्व र निजत्वको पक्षमा बोल्ने महाकाव्य हो । यसमा कवि नवराजले बारम्बार ‘म’तत्त्वको प्राप्तिका निम्ति जिरह गरेका छन् । महाकाव्यको पहिलो सर्ग कविको सोच र बोधको प्रतिनिधित्व गर्ने विशिष्ट सर्ग हो । यसमा कविले गरेको आत्मतत्त्वको खोज हेर्दा नवराज लम्साल कतै अध्यात्मवादी कवि त होइनन् भन्ने जिज्ञासा उत्पन्न हुन्छ तर महाकाव्य पढ्दै जाँदा कविमाथि पूर्वीय अध्यात्मवादको प्रभाव प्रशस्त भए पनि उनी अध्यात्मवादीभन्दा बढी विज्ञानवादी नै हुन् भन्ने देखिन्छ । महाकाव्यभरि उनको वैयक्तिक स्वतन्त्रताको स्वर गुन्जिरहन्छ । उनी म तत्त्वको खोजी गर्नुका साथै निजी पहिचान र नेपाली अस्तित्वप्रतिको संवेदनशीलता प्रकट गरिरहन्छन् ।
मभित्र मेरै म हुने म देऊ (पृ.१) जस्ता अभिव्यक्तिका माध्यमबाट महाकाव्यकार नवराज लम्साल मौलिकता, आत्मतत्त्व र निजत्वका पक्षमा बोलिरहन्छन् । उनको यो बोली उनको चाहनाको मात्रै नभएर उनले राखेको मागकै रूपमा प्रकट भएको छ । यो माग एक ठाउँ होइन, दुई ठाउँ होइन, अनेक ठाउँमा पुनरावृत्त भइरहन्छ । यस्ता अभिव्यक्तिलाई पढिरहँदा बौद्धिक पाठकको मनमा के प्रश्न उठिरहन्छ भने यो ‘म हुने म’ भनेको के हो ? कवि ठाउँ ठाउँमा त्यसको जवाफ दिने प्रयत्न पनि गरिरहेका देखिन्छन् । जस्तै ः ज्यूँदो बनी बाँच्नु छ बाँच्न देऊ (पृ.२) । अर्थात् जिउँदो मान्छे बनेर बाँच्न सक्दा ‘म हुने म’ प्राप्त हुन्छ । तर फेरि पनि प्रश्न उठ्छ — कसले दिएको छैन जिउँदो हुने गरी बाँच्न ? यो माग कविले कोसित गरेका हुन् ? — देउतासित ? देशसित ? विदेशसित ? समाजसित ? राजनेतासित ? वा आफैसित ? कसले दिने यसरी बाँच्न ? यसबारेमा गम्भीर विमर्श हुन सक्छ । ‘म हुने म’ अरूले मलाई दिने हो वा म आफैले ‘म’को प्राप्तिका निम्ति दृढतापूर्वक प्रयत्न गर्ने हो ? यो नै गम्भीर विमर्शको विषय हो । महाकाव्यका अभिव्यक्तिहरूमा कवि अरूसँग मागेजस्तो गरेर प्रस्तुत भए पनि अन्तर्यमा उनी स्वयं नै म हुने म बन्न प्रयत्नशील छन् भन्ने अनुमान गर्न सकिन्छ । यो माग वा चाहना मूलतः नेपालीको निजत्व, मौलिकता, आत्मगौरव, आत्मसम्मान र आत्मनिर्भरताको माग हो भन्ने कुराको अनुमान सहजै गर्न सकिन्छ । ‘म हुने म’ बन्नका निम्ति के गर्नुपर्छ र कवि आफू के गर्न चाहन्छन् भन्ने कुरा हामी तलका अभिव्यक्तिहरूबाट अनुमान लगाउन सक्छौँ ः
धोएर आँखा नरुने म देऊ
रोएर छाती नधुने म देऊ
छुनेहरूले नछुने म देऊ
मभित्र मेरै म हुने म देऊ । (पृ.१)
बाँकी छ मैले धरती निफन्न । (पृ.१)
धेरै छ मैले अझ गर्न बाँकी । (पृ.२)
म फाल्छु सामाजिक दुष्प्रवृत्ति । (पृ.२)
म प्रेमको भाव मभित्र सारूँ
र जिन्दगी यो परिपूर्ण पारूँ । (३)
नलेखिएको दिल लेख्न पाऊँ
विकार बाधा बल छेक्न पाऊँ (पृ.४)
संसारको सुन्दरता म रोजूँ
र सृष्टिको सार मभित्र खोजूँ । (पृ.७)
देखूँ सबै देश र देशबासी
लेखूँ सबै देश र देशबासी । (पृ.७)
यस्ता कुराकाम गर्न सक्दा मात्र कुनै पनि व्यक्तिले निजत्व र स्वत्व प्राप्त गर्न सक्छ अथवा म हुने म बन्न सक्छ भन्ने बुझाइ कविको देखिन्छ । के कुरा सत्य हो भने जबसम्म स्वतन्त्र चेतनाका साथ वस्तुपरक आलोचना गर्ने सामथ्र्य देशवासीहरूमा हुँदैन तबसम्म व्यक्ति र समाजले सही बाटो लिन सक्दैन । नेपालका सन्दर्भमा यस दृष्टिले गर्नुपर्ने कुरा धेरै नै बाँकी छन् । समाजका दुष्प्रवृत्ति समाप्त गर्न बाँकी छ । लेख्नुपर्ने तर नलेखिएका कुरा कति छन् कति । मानवीय मूल्य र सामाजिक गतिशीलतालाई रोक्न खोज्ने बाधक तत्त्व यथावत् नै छन् । यी कुराको समाधान नगरी म हुने म बन्नु सम्भव छैन । यसै कुरामाथि जोड दिँदै कवि लम्साल आत्मोक्तिका शैलीमा मान्छेले गर्नुपर्ने तर गर्न बाँकी रहेका कुराकामका सम्बन्धमा यस्तो भन्छन् ः
पुग्नै पर्ने कठिन पथमा पुग्न बाँकी छ मैले
टेक्नै पर्ने शिखर शिरमा टेक्न बाँकी छ मैले
देख्नै पर्ने शिखर मनको देख्न बाँकी छ मैले
नौलो गाथा गति र गरिमा लेख्न बाँकी छ मैले । (पृ.३७)
निश्चय नै यी बाँकी कामहरू पूरा गर्नका लागि बाधक समस्याहरू समाधान गर्दै सृष्टिको सार खोजेर तथा देश र देशवासीका पक्षमा केही उल्लेखनीय कर्म गर्न सक्दा मात्र म हुने म प्राप्त हुन सक्छ । यस्तो प्राप्तिका लागि दृढ सङ्कल्पको आवश्यकता पर्छ । सोचेर मात्र हुँदैन र आँखाले सपना देखेर मात्र पुग्दैन; कर्म गर्ने दृढ सङ्कल्प नै चाहिन्छ किनभने —
असल मान्छेले सपना आँखामा होइन, सङ्कल्पमा देख्छ । (पृ.२७) ।
५. देशभक्ति र राष्ट्रियताको भाव
‘धरा’ महाकाव्यमा देशभक्ति र राष्ट्रियताको भाव सशक्त छ । सम्पूर्ण महाकाव्यको मेरुदण्डका रूपमा देशभक्ति रहेको छ । राष्ट्रियतासँग जोडिएको देशभक्तिको भाव सर्ग सर्गमा मुखरित भएको पाइन्छ । नेपाललाई कसरी विकसित र सम्मानित तुल्याउन सकिन्छ ? नेपालको स्वाभिमानी शिर कसरी उठाउन सकिन्छ ? नेपालको राष्ट्रिय अखण्डता कसरी बचाउन सकिन्छ ? नेपालले आज किन यो दुर्दशा भोग्दै छ ? यो देश गरिब किन भयो ? हामी पछौटे किन बन्यौँ ? ऐतिहासिक गौरवलाई निरन्तरता दिन किन सकिएन ? युवाको विदेशपलायन किन बढिरहेको छ ? आदि आदि तमाम प्रश्नहरूलाई मानसमा राखेर नेतृत्वकर्तामाथि कडा प्रहार र व्यङ्ग्य गर्दै देशलाई असाध्यै माया गरेका अभिव्यक्तिहरू सर्गैपिच्छे रहेका छन् । सारमा भन्दा नेपाल र नेपालीलाई गौरवशाली बनाउन नेपालीहरूले सङ्कल्प र त्याग गर्नुपर्ने तथा सिर्जना र बलिदान दिनुपर्ने कुरामा जोड दिइएको छ । लेखकले आफ्नो भनाइका क्रममा पनि यस कुरालाई महत्त्व दिएर प्रस्तुत गरेका छन् ः
देश नै सबैभन्दा ठुलो सत्य हो मेरा लागि ।…
आफूले भेटेका देखेका, सुनेका, सम्पर्क गरेका, बुझेका नेपालीहरूको जीवनस्थिति र नेपालको इतिहास र वर्तमान मेरा विश्वविद्यालय हुन् ।…
मेरो प्रत्यक्ष भोगाइ, अध्ययन र देशप्रेमको अनुभव हो धरा ।…
देश पढेँ, मान्छे पढेँ र ती सबैमार्फत आफैलाई पढ्न खोजेँ । यी सबैको तालमेलसँग खासमा मैले जानेको र बुझेको मेरो देश नै मेरो धरा हो । मेरो धरा मेरो अक्षरको देश । मेरो सपनाको सुन्दर आकृति ।…
(धराप्रेम र स्वकथन, पृ.४३४–४३८)
महाकाव्यभित्र रहेका कविका निम्नलिखित अभिव्यक्तिहरूले पनि यस महाकाव्यमा रहेको देशभक्तिभाव र राष्ट्रवादी विचारको प्रतिनिधित्व गर्छन् ः
उठाऊँ आफ्नो शिर स्वाभिमान । (पृ.१०)
म र मेरो समाजभन्दा माथि त देश छ । (पृ. २८)
धेरै ढिलो भएको छ
कुल्चौँ आलस्यको लय
र आफ्नै हातले लेखूँ
आमा नेपालको जय । (पृ.८९)
म टाढा फर्फराइरहेको हेर्न चाहन्छु—
राष्ट्रिय स्वाभिमानका साथ नेपालको राष्ट्रिय झन्डा
यही हो —
मेरो कविताको सीमा पनि
र मेरो जीवनको उद्देश्य पनि । (पृ.१९९)
देशविनाको काव्य पनि प्रिय छैन
र देशविनाको कविता
मलाई चाहिन्न, कहिल्यै चाहिन्न । (पृ.३३३)
६. जीवनवादी–आशावादी स्वर
देशभक्तिपछि ‘धरा’ महाकाव्यको मुख्य विशेषता सङ्घर्षमय र गतिशील जीवनको उदात्तीकरण गर्नु हो । कवि लम्साल यस महाकाव्यमार्फत ‘गतिशीलता नै जीवन हो र सङ्घर्ष नै गतिशीलताको आधार हो’ भन्ने कुरा बताउन चाहन्छन् । कुनै पनि जीवन विनासङ्घर्ष उच्च गन्तव्यमा पुग्न पनि सक्दैन र समाज तथा नवपुस्ताका लागि अनुकरणीय बन्न पनि सक्दैन भन्ने सन्देश दिनु यस महाकाव्यको लक्ष्य देखिन्छ । महाकाव्यका सर्ग सर्गमा उदात्त जीवनबोधले सम्पन्न सूक्तिमय अभिव्यक्ति पाइन्छन् । पक्कै पनि कुनै पनि मान्छे सहजै विशेष व्यक्तित्व बन्न सक्दैन । सङ्कल्पसहितका प्रयत्न, सम्झौताहीन सङ्घर्ष र थकानरहित निरन्तरताले नै कुनै पनि व्यक्तिलाई विशेष र उल्लेखनीय बनाउँछन् । महाकाव्यकार नवराज लम्साल यस कुरामा स्पष्ट छन् । तलका उद्धरणहरू उनका यस्तै विचार र उदात्त जीवनबोधलाई कलात्मक र सूत्रात्मक रूपमा प्रस्तुत गर्ने अभिव्यक्ति हुन् ः
नठोकिइकन कडा चट्टानमा
कुन नदी कसरी झर्छ बस्तीमा ? (पृ.३२)
धर्ती पट्ट फुटाएर ननिस्की मूल
कसरी बग्नु पानी भएर ? (पृ.७५)
नउक्लीकन देखिन्न
अग्लो पर्वतको व्यथा
नदेखीकन लेखिन्न
लेख्नुपर्ने सबै कथा । (पृ.५९)
‘धरा’का कवि नवराज लम्साल सार्थक जीवनको पक्षमा छन् । सार्थक जीवनका लागि व्यक्तिले जीवनलाई माया गर्नु र आशावादी हुनु जरुरी छ । यही बुझाइअनुरूप यस महाकाव्यमा जनताका निराशाको उद्घाटन गरिएको छ, जनताहरूमा नैराश्य बढाउने राजनीतिक तथा अन्य नेतृत्वको कटु आलोचना गरिएको छ र साथमा भविष्यमा राम्रो नेतृत्व ल्याउनुपर्छ भन्ने कुरामा जोड दिँदै त्यो सम्भव छ भन्ने आशावादी–जीवनवादी स्वर प्रस्तुत गरिएको छ । जतिसुकै अभाव बेहोर्नुपरे पनि र जतिसुकै पीडा सहनुपरे पनि मान्छेले हिम्मत हार्नु हुँदैन । हारजित भन्ने कुरा परिस्थितिले मात्र निर्धारण गर्दैनन्, व्यक्तिको मनोदशाले पनि हार र जितको निर्धारण हुने गर्छ । जसले मनले हार्छ उसलाई कसैले जिताउन सक्दैन तर जो मनले हार्दैन ऊ बारम्बार हारेर पनि जित्छ । निराशा र हारको चेतनाले संसार जित्न सकिन्न । जीवन मान्छेको अमूल्य प्राप्ति हो, त्यसैले जीवनलाई माया गर्नु जरुरी छ । निराशाले जीवनबाट पलायन गराउँछ भने आशाले जीवनप्रति मोह बढाउँछ । जीवनप्रतिको मायाले नै मान्छेलाई केही गर्ने साहस र गति प्रदान गर्छ । तर जीवनलाई माया गर्नुको अर्थ जीवनलाई जसरीतसरी बाँच्नु भन्ने होइन किनभने जसरीतसरी बाँच्नाले मात्र जीवन सार्थक हुन सक्दैन । सार्थक जीवनका लागि जीवनले जीवन्त हुनु जरुरी छ र जीवन जीवन्त तब मात्र हुन्छ जब व्यक्तिले जिम्मेवारीको बोध र सिर्जनासहितको जीवन जिउँछ । सङ्घर्ष गर्नुपरे पनि र सङ्कष्टहरू बेहोर्नुपरे पनि केवल बाँच्ने बाटो नरोजी जिम्मेवारीनिर्वाह गर्ने बाटो अँगालेर कर्म गर्न प्रेरित गर्ने चेतनाले नै जीवनलाई सार्थक बनाउन मद्दत गर्छ । यही आत्मबोध पाठकसम्म पु¥याउन उनी लेख्छन् ः
जीवन छ र त हामी लेखिरहेछौँ जीवनको कविता । (पृ. २३)
बाँचेर जीवनलाई धिक्कार्नु खाएकै थालमा फोहर गर्नु हो,
आऊ जीवनलाई प्रेम गरौँ । (पृ. २५२)
बाँच्न होइन, जीवन्त हुन चाहन्छु— जीवन शेषपछि पनि । (पृ.९९)
हारेको चेतनाले संसार जित्न सक्दैन कविता । (पृ.७८)
जिम्मेवारी र जीवन कुन ठुलो ?
जिम्मेवारी रोजूँ कि जीवन ? (पृ.२५०)
शरीर त्यागेर परम गति होइन
शरीर साँचेर खोज्नु छ खास परम गति । (पृ.२८७)
७. न्यायमूलक कर्मवादमा जोड
‘धरा’ महाकाव्यको अर्को महत्त्वपूर्ण पक्षधरता न्यायमूलक कर्मवादप्रति देखिन्छ । यसमा अभिव्यक्त कर्मवाद कृष्णले अर्जुनलाई गीतामा दिएको उपदेशजस्तो निरपेक्षतावादी किसिमको नभएर मान्छेका अधिकारसँग जोडिएको न्यायपक्षीय कर्मवाद हो । गीताले प्रस्तुत गर्ने ‘कर्म गर, फलको आशा नगर’को कर्मवादले शोषक र उत्पीडक वर्गलाई नै फाइदा पु¥याउँदै आएको छ । गीताले प्रस्तुत गरेको उक्त कर्मवादको आडमा शोषकहरूले भाग्यवादलाई प्रश्रय दिँदै आएका छन्, श्रमजीवी वर्गलाई जागृत हुनबाट रोक्दै आएका छन्, आफ्नो श्रम र सिपको उपलब्धि पाउनबाट तिनलाई वञ्चित गराउँदै आएका छन् । कर्म गरेपछि फलको आशा पनि गर्नुपर्छ र त्यो फल श्रम र सिपअनुकूल न्यायपूर्ण पनि हुनुपर्छ । श्रमले सही उपलब्धि प्राप्त गर्नुपर्छ र त्यसको फल श्रम गर्नेले पाउनुपर्छ भन्ने किसिमको कर्मवाद धरा महाकाव्यमा रहेको छ । धराका निम्नलिखित उद्धरणहरूले यस किसिमको कर्मवादी विचारको प्रतिनिधित्व गर्छन् ः
आफै सीमान्तमा जान्छु
हेर्छु जम्मै रितिस्थिति
भावीकै भाग्य फेर्ने छु
पौरखी पाउले थिची । (पृ.४७)
म अक्षर अनुवाद भएको देख्न चाहन्छु कर्ममा
र लेख्न चाहन्छु कर्मकै काव्य कोमल भाषामा । (पृ.७१)
कुनै डमरु हिँड्दैन अर्काले बनाइदिएको सुर्के बाटोमा । (पृ.१२६)
आँखा बेचेर चस्मा किन्ने सल्लाह
मलाई मन्जुर छैन महोदय ! (पृ.३३६)
८. कवि नवराज लम्साल र मेरा अनुभूति र अभिव्यक्तिमा समानता
महाकाव्यकार नवराज लम्सालको ‘धरा’ महाकाव्य पढिरहँदा मलाई यस महाकाव्यमा अभिव्यञ्जित केही अनुभूति–अभिव्यक्तिको स्वरूप र मेरा आफ्नै कविता–काव्यमा अभिव्यञ्जित केही अनुभूति–अभिव्यक्तिको स्वरूप उस्तै उस्तै लागिरहे । पाठकहरूका लागि यो पक्ष रोचक र विचारणीय दुवै हुन सक्छ । त्यसैले मलाई धराका त्यस्ता एकाध अभिव्यक्ति र तीसँग मिल्दा मेरा कविताकाव्यका एकाध अभिव्यक्ति सँगसँगै प्रस्तुत गर्न मन लागेको छ । हामी दुईका भिन्न भिन्न कालखण्डमा लेखिएका कविताकाव्यमा यस्तो समानता हुनुको कारण के होला ? यसबारेमा मेरो आफ्नै बुझाइ त छ नै, पाठक तथा समालोचकका पनि निजी बुझाइ हुन सक्लान् । कुनै समयमा यसबारेमा तुलनात्मक समालोचना हुन पनि सक्ला । कसरी उस्तै उस्तै बनेका छन् हामी दुईका अभिव्यक्तिहरू ? धरा महाकाव्यका उद्धरण र मेरा कविता–काव्यका उद्धरणहरू सँगसँगै राखेर हेरौँ ः
१. नठोकिइकन कडा चट्टानमा
कुन नदी कसरी झर्छ बस्तीमा ?
(धरा, पृ.३२)
पक्कै हो सजिलै हुन्नन् उज्याला परिवर्तन
हुँदैनन् सजिलै प्राप्त हिरामोती तथा सुन
बज्दैनन् सजिलै राम्रा मधुरा गीतका धुन
आगो खाएर चम्किन्छन् चम्किला गहना–सुन ।
(‘स्वप्नदृष्टि’ महाकाव्य, पृ.२३६)
२. पुग्नै पर्ने कठिन पथमा पुग्न बाँकी छ मैले
टेक्नै पर्ने शिखर शिरमा टेक्न बाँकी छ मैले
देख्नै पर्ने शिखर मनको देख्न बाँकी छ मैले
नौला गाथा गति र गरिमा देख्न बाँकी छ मैले ।
(धरा, पृ.३७)
छर्नै पर्दछ चेतना प्रगतिको छर्ने छु मैले पनि
हर्नै पर्दछ वेदना दुखितको हर्ने छु मैले पनि
गर्नै पर्दछ सिर्जना मन छुने गर्ने छु मैले पनि
भर्नै पर्दछ भावना मन छुने भर्ने छु मैले पनि ।
(‘हिँडी रहूँ हिँडी रहूँ’ यात्राकाव्य, पृ.७३)
३. मैले सुन्नु छ गाउँमा जनहरू बोल्छन् कसोरी बरा
मैले हेर्नु छ चन्द्रमा शिखरमा मान्छेहरू निख्खरा
मैले भोग्नु छ देशका सब कुरा जस्मा स्वयं फुल्छु म
फुल्ने खुल्दछ रेशमी गगनमा त्यस्मै सदा खुल्छु म ।
(धरा, पृ.८२)
मैले चढ्नु छ उच्च पर्वतहरू भन्ज्याङ गौँडा हुँदै
मैले झर्नु छ लेक, खोच, वन यी संज्ञान नौला छुँदै
मैले छर्नु छ बीज काव्यरसको बिम्झाउँदै मानिस
यात्रा गर्नु छ मुक्तिमार्गतिरको मैले नमर्दातक ।
(‘हिँडी रहूँ हिँडी रहूँ’ यात्राकाव्य, पृ.६६)
४. खोजी रहस्य भेटुँला, भेटुँला जनता–जन
जनतासँग सोधुँला जनता दुःखमा किन ?
हेरुँला श्रमको खेत चुमुँला पसिना जल
तिर्खा पिएर पानीमा पुजुँला दिल निर्मल ।
(धरा, पृ.९१)
खोल्ने हो दिलको दैलो, बोल्ने हो शब्द निर्मल
फाल्ने हो द्वेषको मैलो, पोल्ने हो दम्भको बल
खार्ने हो पहरापाखा, बार्ने हो उर्वरा गरा
पार्ने हो धरतीलाई सिर्जनाले हराभरा ।
(‘हिँडी रहूँ हिँडी रहूँ’ यात्राकाव्य, पृ.५८)
५. यात्रा गरूँ काव्य र देश देखूँ
कैल्यै नमर्ने कविता म लेखूँ
(धरा, पृ.९६)
लेखिए कविता लाखौँ, करोडौँ गीत लेखिए
केही मात्र सके बाँच्न, थोरै जीवन्त देखिए
म यस्तो कविता लेखूँ, लेखूँ यस्तो प्रकारले
भिजाओस् भावधाराले, सन्न पारोस् विचारले ।
(‘स्वप्नदृष्टि’ महाकाव्य, पृ.४४)
६. जे गर्नु छ यहीँ गरौँ
आजै गरौँ, अहिल्यै गरौँ ।
(धरा, पृ.१६०)
गरौँ आयु छँदै काम, युवावस्था छँदै गरौँ
मर्नै पर्ने छ हामीले— नमर्ने कृति भै मरौँ …
भविष्य भोग्न मिल्दैन, राम्रो होस् चाहना गरौँ
वर्तमानै छ यो मुख्य यहीँ बाँचौँ यहीँ मरौँ ।
(‘स्वप्नदृष्टि’ महाकाव्य, पृ.३०५)
७. जीवनलाई प्रेम गरौँ र
बाँचौँ जीवन जस्तो जीवन ।
(धरा, पृ.२५२)
निर्धक्क सुखका गीत लेख्न पाए हुने थियो
जिन्दगी जिन्दगी जस्तै बाँच्न पाए हुने थियो ।
(आकाङ्क्षा, पृ.५६, ‘शब्दार्थ–सौन्दर्य’ कवितासङ्ग्रह)
८. प्रेम मारेर प्रेम खोज्छ दुनियाँ
(धरा, पृ.२५३)
अर्काको दिल तोडेर दिल पाइन्छ के गरी ?
(सगरमाथाको प्रबोधन, पृ.६४, ‘शब्दार्थ–सौन्दर्य’ कवितासङ्ग्रह)
यस्तो समान अनुभूति किन भयो र अभिव्यक्तिमा झन्डै उस्तै उस्तै पदपदावली र शैलीको प्रयोग किन भयो ? यो अध्ययनको विषय बन्न सक्छ । कवि नवराजका र मेरा कविताकाव्यमाथि तुलनात्मक अध्ययन गर्ने अध्येता जन्मेछ भने यसबारे उसैले निर्णय देला । म यति मात्र भन्न सक्छु— हामी दुवै एउटै युगका कवि हौँ । हाम्रो उमेर एकदुई वर्षको फरकमा छ । हाम्रा धेरै भोगाइ र अनुभूति उस्तै उस्तै छन् । हामीले देखेको समाज, हामीले देखेका पात्र र तिनका प्रवृत्ति उस्तै उस्तै छन् । देशका समस्या र जीवनका सङ्कट पनि उस्तै छन् । धरती, प्रकृति अनि हामीले पढेको विश्व अधिकांश मात्रामा उनै र उस्तै छन् । हामी दुवै गद्य र पद्यमा कविता लेख्छौँ, यद्यपि म मुक्तलयमा कम लेख्छु । हाम्रा भोगाइ र अनुभूतिमा समानता हुन पुग्यो सायद । देशलाई माया गर्ने कुरामा तथा राष्ट्रिय अखण्डता र स्वाभिमानका सन्दर्भमा पनि हाम्रो सोच सायद उस्तै उस्तै हुन पुग्यो । निश्चय नै जीवन, समाज र विश्वलाई हेर्ने दार्शनिक दृष्टिकोणका सन्दर्भमा हामीमा वैचारिक असमानता छन् तापनि देश र जनताको हितका सन्दर्भमा तथा नेपालको राजनीतिक अकर्मण्यता र कुरूपतालाई बुझ्ने सन्दर्भमा हाम्रा अनुभूति धेरै हदसम्म समान हुन पुगे सायद । त्यसैले पनि हाम्रा कवितात्मक अभिव्यक्तिमा अनुभूतिगत तथा अभिव्यक्तिगत समानता देखा परेका हुन सक्छन् । विश्वदृष्टिकोणगत भिन्नताका कुरा मैले किन उठाएको हुँ भने महाकाव्यकार नवराजको ‘धरा’ महाकाव्यमा कतै कतै रहस्यवादले पनि ठाउँ पाएको छ । यस महाकाव्यभित्र जीवन, जगत् र विश्वब्रह्माण्डका बारेमा टिप्पणी गर्दा कवि रहस्यवादको प्रभावमा परेको अनुभूति हुन्छ । यस्ता भिन्नता हाम्रो स्कुलिङ, हाम्रो दर्शनगत अध्ययन र हाम्रो निजी भोगाइ–बुझाइमा आधारित छन् भन्ने कुरामा म स्पष्ट छु । तल उद्धरण गरिएअनुरूपका अनेक अभिव्यक्ति धरा महाकाव्यमा पाइन्छन् जसले कवि नवराजमा रहेकोे यस किसिमको रहस्यवादी चिन्तनको प्रभावलाई सङ्केत गर्छन् ः
आफै बनूँ आज म आत्मतुल्य । (पृ. २)
म जान्न पाऊँ भवको रहस्य
खम्ब्रह्मको मर्म तथा प्रतिष्ठा । (पृ. ३)
रहस्य यही हो — को हो त्यो चालक ?
किन चलाइरहेछ संसार ?
र के हो कारण ? (पृ.८२),
हामी किन भन्दैनौँ हामीभन्दा पनि पर केही छ
केही छ र त रहस्य छ
रहस्य छ र त खोजीको शृङ्खला जारी छ । (२८६) आदि ।
अर्थात् ‘धरा’ वैचारिक महाकाव्य पनि हो । यसमा अनेक अभिव्यक्ति यस्ता छन् जहाँ भावको प्रगाढताका साथै विचारको रन्को पाइन्छ । जीवन के हो ? जगत् के हो ? मान्छे के हो ? प्रकृति के हो ? कर्म के हो ? धर्म के हो ? देश के हो ? जनता के हुन् ? कलासौन्दर्य के हो ? आदि अनेक विषयमा कवि अत्यन्त जिज्ञासु र चिन्तनशील देखिन्छन् । कविभित्र संसारलाई सही रूपमा बुझ्ने प्रबल इच्छा छ । त्यो इच्छा प्रकट गर्ने क्रममा उनी कतै कतै रहस्यवादी बनेर प्रकट भएका छन् भने धेरै ठाउँमा वस्तुवादी बनेर देखा परेका छन् । विचारका यी दुवै पक्षलाई एकै ठाउँमा राखेर हेरियो भने उनको वैचारिकतामा विरोधाभास पनि देख्न सकिन्छ तर मूलतः उनी ज्ञानका भोका देखिन्छन् । देश, जनता, मानवता र स्वतन्त्रताप्रति जिम्मेवार कविले ज्ञानको भोको हुनु जरुरी पनि छ किनभने कविलाई ऋषितुल्य मानिएको छ जो ज्ञानको खोजीमा आफ्ना सम्पूर्ण जीवन समर्पण गर्छन् ।
९. ‘धरा’भित्र परिष्कार गर्न सकिने केही पक्ष
प्रस्तुत समालोचनाको मुख्य उद्देश्य करिब करिब पूरा भएको छ किनभने यसमा अभिव्यञ्जित अनुभूतिका सम्बन्धमा मोटामोटी अध्ययन सकिएको छ । सहायक उद्देश्य भने बाँकी छ । यस सन्दर्भमा यस महाकाव्यको अर्को संस्करण प्रकाशन गर्ने अवस्था वा अवसर आएमा यसलाई उचित परिष्कार गरी अझ राम्रो महाकाव्य बनाउन सकिने केही सुझावहरू प्रस्तुत गर्नु उचित नै होला भन्ने मलाई लागेको छ ।
‘धरा’ शास्त्रीय छन्द र मुक्त छन्द दुवैको प्रयोग गरिएको चम्पूशैलीको महाकाव्य हो । मुक्तलयका बारेमा म खासै केही भन्न चाहन्नँ तर शास्त्रीय छन्दको प्रयोगमा भएका त्रुटि र भाषा–सम्पादनका क्रममा भएको असावधानीका बारेमा थोरै सुझाव दिन चाहन्छु । शास्त्रीय छन्दमा कविता लेख्ने कविलाई पर्ने समस्या के हो भने छन्द मिलायो भाषा बिग्रिन्छ, भाषा मिलायो छन्द बिग्रिन्छ, भाषा र छन्द दुवै मिलायो कवित्व आउँदैन, कवित्व ल्याउनका लागि बिम्बप्रतीकहरूको संयोजन गर्न खोज्यो, बिम्बप्रतीकलाई संवहन गर्ने शब्द छन्दको गणभित्र अटाउँदैन, जसरीतसरी भाषा, छन्द र बिम्बप्रतीक आदि मिलायो भने पनि चाहेजस्तो सौन्दर्य उत्पन्न हुँदैन आदि आदि । त्यसैले पहिलेका छन्दवादीहरूले सहजीकरणका लागि भने— अपि मासं मसं कुर्यात् छन्दोभङ्गं नकारयेत् । अर्थात् बरु ‘मास’ शब्दलाई ‘मस’ शब्द बनाउन मिल्छ तर छन्दभङ्ग गर्न पाइँदैन । यसको तात्पर्य के हो भने भाषा बिग्रे बरु स्वीकार्य छ तर छन्द बिग्रनु हुँदैन । तर आजभोलि यो नियम लागु गर्नु भनेको कविले आफूलाई कमजोर देखाउनु हो भन्ने मान्यता बलियो बन्दै गएको छ र छन्दभङ्ग गर्नु पनि हुन्न र मानक भाषालाई अशुद्ध रूपमा प्रयोग गर्नु पनि हुँदैन भन्ने मान्यतामा जोड दिन थालिएको छ । त्यसैले आजको छन्दकविलाई पहिलेका छन्दकविलाई भन्दा ठुलो चुनौती छ । यस दृष्टिकोणले हेर्दा धरा महाकाव्यमा कतै छन्द मिलाउनका लागि भाषा बिगारेको र कतै भाषाका लागि छन्द बिगारेको अनि कतै सम्पादनको असावधानीले गर्दा मिल्ने छन्द र मिल्ने भाषा पनि त्रुटिपूर्ण पारी प्रस्तुत गरिएको अवस्था भेटिन्छ । यो अवस्था एकाध स्थानमा मात्र नभई धेरै स्थानमा भएकाले ती सबैको बेग्लै सूची र बेग्लै समालोचना तयार पार्न सकिन्छ । यस लेखमा त्यस्तो गर्नु सम्भव नभएकाले प्रतिनिधिमूलक हुने गरी केही उद्धरण मात्र यहाँ प्रस्तुत गरेको छु जसबाट आगामी संस्करणलाई परिमार्जन गर्न दिशानिर्देश हुने छ ।
(क) छन्दभङ्ग
त्यस्तै त्यस्तै मधुर लयमा बोल्न जान्छु म आज । (पृ.३८) — (जान्छु को ‘छु’ ह्रस्व भएकाले छन्दभङ्ग)
तिम्रो ऋण तिरेर मुक्ति कसरी पाइन्छ आमा भन ? (पृ.१६५) — (ऋण को ‘ऋ’ ह्रस्व भएकाले छन्दभङ्ग)
माया र ममता, मता र समता गन्तव्य पुग्ने गति । (पृ.२१०) — माया र ममता को ‘र’ ह्रस्व भएकाले छन्दभङ्ग)
आमा विभाजित हुने एकता नगाँसूँ । (पृ.२३१) — (एकता शब्दको ‘ए’ दीर्घ भएकाले छन्दभङ्ग)
सृष्टि सयौँ छन् अझ सृष्टि गर्ला (पृ.३६०) — (पहिलो सृष्टि शब्दको ‘टि’ ह्रस्व भएकाले छन्दभङ्ग)
(ख) सम्पादनमा असावधानी
आदर्शभित्र सब सृष्टि फेर्दै (पृ. १०) (हुनुपर्ने ः आदर्शभित्रै सब सृष्टि फेर्दै)
सारा दृष्य हराभरा (पृ.११३) (हुनुपर्ने ः दृश्य)
र तिम्रो परिचय देखाउने तिमै मुहार (पृ.१७३) (हुनुपर्ने ः तिम्रै)
कुनै अज्ञात आमाको तस्बीर ! तस्बिरमा देखिरहेछन् मान्छेहरू (पृ.१९३)
(त्रुटि ः एकै लहरमा तस्बीर र तस्बिर)
शैव, बैष्णव र हिन्दूहरू (पृ.२२५) (हुनुपर्ने ः वैष्णव)
चौतर्फी देख्छु विधिको पनि अंशवण्डा (पृ.२३०) (हुनुपर्ने ः अंशबन्डा)
जीवन सफा रङ्गमन्चको सार्थक अभिनय (पृ.२५३) (हुनुपर्ने ः रङ्गमञ्च)
माटो पुज्य सुपुज्य सार शिरमा बाटो म हुँ मङ्गल (पृ.३६५)
(हुनुपर्ने ः पूज्य सुपूज्य), हुँ ह्रस्व भएकाले यसमा छन्दभङ्ग पनि छ)
छाती शान्त छ, शान्त चेतन–सुधा ज्योतिर्मय चेतना (पृ.३६७)
(हुनुपर्ने ः ज्योतिर्मयी, ज्योतिर्मयको ‘य’ ह्रस्व भएकाले छन्दभङ्ग पनि छ ।)
सङ्कप शुद्ध विनयी शुभ कार्यभार (पृ.३६९)
(हुनुपर्ने ः सङ्कल्प, ‘क’ अक्षर छुटेकाले छन्द पनि भङ्ग भएको छ ।)
यो अवस्था धेरै सर्गमा धेरै पृष्ठहरूमा रहेको छ । महाकाव्यकार नवराज लम्साल नेपाली भाषा र शास्त्रीय छन्दसँग सजिलै खेल्न सक्ने र खेलिरहेका कवि भएकाले यस महाकाव्यमा भएका यस्ता त्रुटिहरू उनलाई भाषा र छन्दको ज्ञान नभएकाले भएका अवश्य होइनन् भन्ने कुरा मलाई थाहा छ । सम्पादन र परिष्कारका लागि विशेष सतर्कता नअँगाल्दा यस्ता त्रुटि भएका देखिन्छन् । यस्ता त्रुटिहरू अन्य विषयमा पनि देखिन्छन्, जुन सम्पादन र परिष्कारका लागि गर्नुपर्ने अतिरिक्त प्रयत्नको अभावमा देखा परेका छन् । आगामी संस्करणमा यस्ता त्रुटि सच्चिएर आउने छन् भन्ने आशा गरौँ ।
धरा महाकाव्यलाई अनेक कोणबाट अध्ययन गर्न सकिन्छ । यसमा प्रयोगधर्मिता छ जसको बेग्लै विवेचना हुन सक्छ । शैलीमा निजत्वको प्रयत्न पाइन्छ, शैलीको निजत्वलाई लिएर पनि अध्ययन गर्न सकिन्छ । परम्पराबोध र युगयथार्थको व्यापकता भएकाले यस कोणबाट पनि यसको बेग्लै अध्ययन हुन सक्छ भने महाकाव्यतत्त्वका आधारमा त यसको अध्ययन गर्न सकिने नै भयो; गरिनु पनि पर्छ । भावधारा र वैचारिकतालाई लिएर पनि छुट्टै लामो समालोचना तयार हुन सक्छ । आशा गरौँ, यी सबै पक्षमा समयक्रममा अध्ययन हुने नै छ । प्रस्तुत समालोचनाको सीमाभित्र यी सब पक्ष समेट्न नसकिने भएकाले यी कुरा यस महाकाव्यमाथि अध्ययन गर्न चाहने अन्य व्यक्तिका लागि मैले सङ्केतसम्म गरेको हुँ ।
१०. मूल्याङ्कन
‘धरा’ प्रयोगशैलीका दृष्टिले चम्पू महाकाव्य हो किनभने यो मुक्त तथा बद्ध दुवै लयको प्रयोग गरी तयार पारिएको छ । लयविधान र शैली आदिमा निजी प्रयोगको प्रयत्न गरिएकाले यो प्रयोगधर्मी महाकाव्य पनि हो । विषयका दृष्टिले यो बहुल विषयलाई सम्बोधन गर्ने महाकाव्य हो र भावका दृष्टिले यो देशभक्तिपूर्ण महाकाव्य हो भने विचारका दृष्टिले स्वच्छन्दतावाद, यथार्थवाद, मानवतावाद र केही मात्रामा प्रगतिवादको संश्लेषण भएको महाकाव्य हो । नेपाली महाकाव्य–परम्परामा यो पछिल्लो समयमा आएको राम्रो र प्रतिनिधिमूलक महाकाव्यका रूपमा विवेच्य छ । यति सबै हुँदाहुँदै पनि यस महाकाव्यको मुख्य प्राप्ति देशभक्तिभावको परिपाक नै हो भन्ने मेरो ठम्याइ छ । यसको देशभक्तिभित्र राष्ट्रिय एकता र राष्ट्रिय अखण्डताको चर्को स्वर छ । यसभित्र नेपाली समाज र नेपालको परिवर्तनमुखी चेतनालाई बढीभन्दा बढी समावेशी बनाउनका लागि काव्यिक भूमिका खेल्ने कविको भित्री उद्देश्य अन्तर्निहित देखिन्छ । नेपालको नयाँ पुस्ता क्रमशः विदेशमुखी हुँदै गएको र पछिल्लो समयमा विश्वव्यापी रूपमा फैलिएको नवपुँजीवाद, नवउदारवाद र उत्तरआधुनिकतावादको चपेटामा परेर नयाँ पुस्ता दिनप्रतिदिन आत्मकेन्द्रित बन्दै गएको अवस्थाले गर्दा नेपालको पुरानो पुस्ता र नयाँ पुस्ताको सोच, व्यवहार र जीवनचर्यामा डरलाग्दो दूरी बढ्दै गएको कुरालाई पनि यसमा देशभक्तिकै कोणबाट प्रस्तुत गरिएको छ । इतिहासलाई पढ्दै, वर्तमानलाई बुझ्दै र भविष्यप्रति चिन्तितसमेत हुँदै लेखिएको यो महाकाव्य आजको संसारमा नेपाललाई कसरी पुनर्जीवन दिन सकिन्छ र नेपालको गौरव कसरी बढाउन सकिन्छ भन्ने कुरामा घोत्लिएको छ । जागृत चेतना, सकारात्मक चिन्तन, समर्पणमुखी सङ्घर्ष र निर्माणमुखी क्रियाकलापको सामूहिक प्रयत्नले नै देशलाई त्यस्तो अवस्थामा पु¥याउन सकिन्छ भन्ने सारभूत निष्कर्ष निकालेर कविले यस महाकाव्यमा देशभक्तिको भावलाई परिपाक अवस्थामा पु¥याएको देखिन्छ । यो नै यस महाकाव्यको सर्वोच्च प्राप्ति हो । यो पठनीय र उत्तिकै विश्लेषणीय महाकाव्य पनि हो । समग्रमा २०४६ सालपछि लेखिएका राम्रा र प्रतिनिधिमूलक नेपाली महाकाव्यअन्तर्गत यस महाकाव्यको पनि गणना गर्न सकिन्छ ।