जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना सँस्मरण

अन्धकारभित्रको अन्धकार

शान्ता श्रेष्ठ शान्ता श्रेष्ठ
प्रकाशित १९ श्रावण २०७८, मंगलवार
सँस्मरण भित्र
0
अन्धकारभित्रको अन्धकार

(नेपालको राजनीतिक इतिहासमा बिर्सन नहुने नाम हो शान्ता श्रेष्ठ । वि.सं. २००४ सालमा स्थापित महिला संघका संस्थापक सदस्य भई यिनी राजनीतिक वृत्तमा देखापर्नुभएको हो । २००४ सालमा तत्कालीन राजा त्रिभुवन राणाहरुको चङ्गुलबाट उम्केर दिल्ली गएको बेला राणा शासनले साढे तीन वर्षका ज्ञानेन्द्रलाई गद्दीमा राखेको थियो । र नेपाली जनताले राणा शासन विरुद्ध प्रजातन्त्रका लागि आन्दोलन चलाइरहेका बखत थियो । दिल्लीबाट नेपाली जनताको चाहना र वस्तुस्थिति बुझ्न भनी बृटिस कमिशन आउँदा त्यस बेलाको गौचरण एयरपोर्टमा उहाँले राणा शासन विरुद्ध, राजा त्रिभुवनको पक्षमा र प्रजातन्त्रका लागि निरङ्कुश राणाहरुको गोली प्रहारबाट घाइते हुँदाहुँदै पनि अझ ‘सक्छौ भने गोली हान’ भन्दै चर्को नाराका साथ अघि सरेर आन्दोलनको अगुवाई गर्नुहुने सक्रिय महिला हुन् । स्वाभिमानी, दृढ र क्रान्तिकारी स्वभावका उहाँ २०५९ जेठ १७ गते र २०६० भदौ १४ गते माओवादी संगठनसँग आवद्ध रहेको आशङ्कामा पक्राउ परेर ३४ दिन निरङ्कुश राजाका सेनाहरुको नृशंस यातना मात्र भोग्नु भएन, निकृष्ट दानवीय यातनासहित बन्दी गृहमा थुनिनुभयो । त्यही कालरात्रीमा बिताउनु भएका दयनीय संस्मरणका कथाहरु अन्धकारभित्रको अन्धकार र ‘ अ न्धकारको गर्भभित्रमा समेटिएका छन् । शान्ता श्रेष्ठको अनुभूति हरेक मंगलबार क्रमशः प्रकाशित हुने छ । – प्र.सं.)

अन्धकारभित्रको अन्धकार – १
आमुख

“उदाएको छ, अहिले कालो सूर्य
भेटिन्न कतै उज्यालो ।
चाहिएको छ, स्वर्णिम सूर्य
बालौं मुटुको दियालो ।”

अन्धकारले व्याप्त छ समय । पोल्टाभरि जून समेटी चन्द्रमा भागिसकेकाले जुनेली रात, विषालु कालो सर्पमा परिणत भई विषवमन गर्न ठीक परेको परिवेशले बताइरहेको छ । अझ भयानक बिपत्ति थपिने सङ्केत पाएर होला घरी–घरी आकाश रोइरहेको निकै दिन भइसकेको छ । तर दुर्भाग्य ! कसलाई मतलब छ र ? यो भयावह स्थिति र परिस्थितिको । आकाशको आँसुले चोतले धरती चर्केको छ । छियाछिया भई टुक्रिन खोज्दैछ ।

अहिले नरसंहारको अभियानले तीव्र गति लिएको छ । मानव–रगतको छालले हिमाल रङ्गिएको छ । जताततै फालेका वीभत्स अनगिन्ति लासको दुर्गन्ध अन्तरार्ष्ट्रसम्म फैलिइसकेको छ । विडम्बना ! मार्नेले असंख्य अनगिन्ति मान्छे मार्दैछन् । भ्रष्टाचारीले मनग्गे भ्रष्टाचार गर्दैछन् । बुद्धिजीवीहरु विदेशीको पैसामा भोजभतेर, फार्टी, गोष्ठी, अन्तरक्रिया, समारोह आदि कार्यत्रममा मस्त छन् । राष्ट्रको जग नै हल्ली धरासायी हुन लाग्दा पनि शासनको बागडोर समातेकाहरुको चेतना भने फर्केको छैन ।

अहिले राष्ट्र र अन्तरार्ष्ट्रमा केवल दुईवटा मात्र वर्ग देखा परेका छन्– शोषक र शोषित । यी दुई वर्ग बीच भयानक युद्ध चर्किरहेको छ । शोषकले राज्य र शासन नै आफ्नो बपौति मानी, शोषित वर्गको शोषण गरेर मात्र नपुगी, धमाधम गोलीले भुटेर मार्दैछन् । सिङ्गो अधिराज्य निर्दोषको चीत्कार र हाहाकारले व्याप्त छ । यही चीत्कार र हाहाकारले अन्धकार महाअन्धकार, विनाश महाविनाश निम्त्याइरहेको छ । बाँचेका जनता पनि कुन बेला कहाँ मारिने हुन् ? केही ठेगान छैन । तिनीहरु अर्ध लासझैं बाँचिरहेका छन्, मृत्युको नजिक पुगी । विस्थापित भएका छन् र राष्ट्र नै शोकाकुल छ ।

गत आठ महिनादेखि लागु छ ‘सङ्कटकाल’, परिचालित छन् सशस्त्र सेना र प्रहरी । लागु छ ‘कर्फ्यु’ आदेश । यी आठ महिनाका दौरानमा दसौं हजार जनता मारिएका र बेपत्ता पारिएका छन् भने लाखौं विस्थापित र निर्वासित भएका छन् । हजारौं घाइते अपाङ्ग भएर बाँच्नुसित सङ्घर्ष गरिरहेका छन् । त्यसमाथि झुठ्ठा मुद्दाले दिएको शारीरिक, मानसिक र आर्थिक यातना आदि सङ्कटले थिलोथिलो परेकाहरुको संख्याले आकाश छुन खोज्दै छ । ‘मुठभेड’को नामले दिनहुँ मारिएकाहरुको दुर्गन्धित लासले महा–कालरात्री निम्त्याइरहेको छ ।

संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्र–नामक शासन व्यवस्थाका शासक वर्गले संविधान सभाको माग गर्नेहरुलाई आतङ्ककारी घोषित गरी, सफाया गर्ने अभियानलाई अरु तीव्र पारेका छन् । राष्ट्रभिक्रका सशस्त्र शत्तिले नसकी, परराष्ट्रको शक्ति सञ्चालन गर्न जीउ–ज्यान दिएर लागिरहेका छन् । यस्तो अति अन्यौल, अति दुर्भाग्यपूर्ण समयले खासगरी काठमाडौं उपत्यकाबासीहरुको मन र मस्तिष्कलाई छुन सकेको छैन । दिनहुँ दर्जनौं निर्दोष मानिसहरु विना सोधपुछ, विना सूचना मारिरहँदा पनि तिनीहरुको ध्यान आकृष्ट भएन यहाँ चलिरहेका प्रत्येक दिनको बिहे–व्रतबन्ध, सभा–समारोह, भोज–पार्टी आदिको रमझमले त मानौं राष्ट्रमा केही भएकै छैन, जीउ–धनको राम्रो सुरक्षा हुनाका साथ अमन चैन नै कायम छ ।

अति आतङ्कित, अन्यौल, अन्धकार परिस्थितिभित्र चलिरहेका पार्टीहरुमा एउटा पार्टी मेरै परिवारको पनि थियो । पास्नीको पार्टी भए पनि पाहुनाहरु चार सयभन्दा कम थिएनन् होला । भूतपूर्व सैनिक सङ्गठनको ठूलो कम्पाउन्डमा मल्टिकलरको ठूलो शामियानभित्र सेट मिलेको ट्युबलाइटले कम्पाउन्डकै शोभा बढाएको थियो । त्यसमाथि विदेशी सङ्गीतको चर्को स्वरले त्यहाँको वातावरण नै तताइदिएको थियो ।

शामियानाभित्र ड्रिङ्क्स र स्न्याक्स चलिरहेको थियो भने ठूलो हलभित्र डिनर । पाहुनाहरु धमाधम आइरहेका थिए, गइरहेका थिए । तर आकाश भने अविरल रोइरहेको थियो । अधिकांश पाहुनाहरु त मोटरमा नै आएका थिए ।

खुला आकाशमुनिको कम्पाउन्डको छेउमा अँध्यारो आकृतिले लाइन कसैका मोटर र मोटर–साइकल भने आकाशबाट बगेको आँसुले नुहाइरहेका थिए । म भने एउटा कुर्सीमा बसी आइमाई पाहुनाहरुका शरीरमा प्रदर्शित लुगा, गहना, केशका स्टाइल र तिनीहरुका हँसी–खुसी, चमक–दमक, फर्‍याक–फुरुक लाटीझैँ भई हेरिरहेकी थिएँ । मेरा आँखा तिनीहरुमाथि भए पनि मन कता हो कता पुगिरहेको थियो । दुर्गमक्षेत्र – जहाँ प्रत्येक दिन मुठभेडमा मारिएका हजारौं किशोर किशोरीहरुको आत्माको चित्कारले पाकेका मातृकोखको घाउबाट बगिरहेको रगत र पीपको खोलामा पुगेकी थिएँ । अहिले त्यहाँका खेत–बारी, आँगन–पिँढी, पाखा–पखेरा, खोला–नाला, पानी–पँधेरो, पहाड–पर्वत, जङ्गल–मैदान, मठ–मन्दिर, गुम्बा–मस्जिद आदि नृशंस मानव हत्याको मौन चीत्कारले लाटा भएका छन् । जता हेर्‍यो खाली, सिर्फ खाली मानवशून्य ह्वाङ्गह्वाङ्गति बस्ती । रोग, भोक र शोक समेतलाई जितेको दानवीय अत्याचारले थिल्थिलो परी बाँचेका बालक र बृद्धहरुका बिजोगले उठेको आँधी–तुफानले सहरसमेत समेटिसकेको छ । सत्रौं शताब्दीले अर्ध लास भई बाँचिरहेका दीनदुःखी आतङ्कित मानिसहरुले कालो आगो ओकलिरहेको देख्ने को ? त्यसैले होला, आकाश रोइरहेको छ ।

मान्छेको मन न हो, यसलाई समयले पनि मुट्ठीमा राख्न सक्दैन । त्यही मनलाई समेटेर ल्याई पार्टीभित्रमात्र सीमित राख्ने प्रयत्नमा थिएँ म । बच्चीले पाएको प्रिजेन्टको थुप्रो सामानबाट चिप्लेर मेरो मन केही वर्ष पहिले सुसम्पन्न बिहेको भव्य पार्टीमा पुग्यो । राजा रानी सवारी हुने पार्टीको व्यवस्थाको के बयान गर्नु ? बिहे थियो प्रहरी प्रमुखकी छोरीको । उनले पाएका प्रिजेन्टमा सुनका बाला र चुरा माक्र सयौं थिए । नेकलेस औंठी, सित्री त गनेर साध्य नै थिएन ।

सरकारहरु सवारी हुने समय हुन लागेपछि दुलहीलाई एकसरो गहनामात्र लगाउन दिई अरु सबै लुकाएका थिए– सरकारहरुको सवारी भयो । दुलहीको शरीरमा एकसरो मात्र गहनादेखि चित्त दुखाई हुकुम भएको थियो –“गहना यति मात्र हो र ? अलि पुगेन । भरे म पठाइदिन्छु गहना र लुगा ।”

त्यतिका गहना देखेका आँखाहरु चकित परेका थिए । साँचो कुरा सरकारहरुबाट कसरी लुकाउन सकेका होलान् ? त्यति बेला नै मेरो मनमा सारै नै धारिलो प्रश्न तेर्सिएको थियो– छकाउनेले त सजिलै छकाए । छकिएर बस्ने कस्ता ? दुवैथरी सुहाएका थिए– छकाउने र छकिएर बस्ने । यही नीतिले हो आज नेपाल यस भयावह अवस्थामा पुगेको ।

त्यस बिहेको पार्टीको अगाडि पास्नीको पार्टी त केही पनि होइन । त्यति सानो र कम रमझम भएर पनि पार्टीले मलाई भने पोल्न थालेको थियो । झमझम परेको पानीले पनि मेरो आन्तरिक जलन शान्त हुन सकेन । मैले माथि आकाशमा हेरेँ । अन्धकारबाहेक केही पनि देखिनँ । म जुरुक्क उठेँ र शामियानाभित्र पुगेँ । आफ्ना पुराना साथीहरुको खोजी गरेँ । प्रेमबहादुर शाक्य र सैयद मकबुल शाह बसिरहेको देखेँ र म त्यतै गएँ । म उहाँहरुसँगैको कुर्सीमा बसेँ । राष्ट्रको भयावह स्थिति र नरसंहारबारे हाम्रो विचार विमर्श भयो । हामी तीनै जना यस विषयमा निकै चिन्तित थियौं । प्रेमदाइले भन्नुभयो –“होइन । हामीले कहाँसम्म सहेर बस्ने ?”

“यो त सारै नै भएन, जसरी हुन्छ यस काटमारलाई रोक्नुपर्‍यो । देशमा शान्ति ल्याउनु पर्‍यो । अब के गरे यो राष्ट्रमा शान्ति स्थापना गर्न सकिन्छ ? त्यसमा हामी लाग्नुपर्‍यो । यसरी बसेर भएन ।”
दुब्लो पातलो प्रेमदाइको अनुहारमा राष्ट्रप्रतिको चिन्ताका रेखाहरु देखिन थाले । हातले समाति राखेको ‘ड्रिङ्क’ पनि पिउन बिर्से उनले । उनको अगाडि बसिरहेका शाहजी भने अनुहार रातो र असजिलो पारी चुप लागिरहेका थिए । उनको हातमा भने ड्रिङ्क्स (पेयपदार्थ रक्सी) थिएन । आलोपालो गरी दुवैको अनुहार हेरेर मैले भनेँ–“प्रजातन्त्र जोगाउने–नामले हजारौं निर्दोष जनताको हत्या गर्छन् ? गर्दै जाने ?? हेर्नुस् यो अत्याचार अब धेरै दिन रहँदैन । प्रजातान्त्रिक शासनमा संविधानसभाको माग गरिनु के अपराध हो र ? जबसम्म जनप्रतिनिधिले संविधान निर्माण गर्ने अधिकार पाउँदैनन्, तबसम्म यो राष्ट्रमा प्रजातन्त्र छ भन्न सकिँदैन । प्रजातन्त्र र संविधान सभा एक दोस्रोको परिपूरक हो । हामीमाथि लादिएको प्रजातन्त्र, अङ्ग पुगेको प्रजातन्त्र होइन । ज्यानको बाजी ठोकी १०४ वर्षको हुकुमी राणा शासन ढाली, राजा त्रिभुवनलाई भारत प्रवासबाट फर्काई शाहवंशको राज्य गर्ने अधिकार फर्काएका थियौं । राजा अत्यन्त हर्षविभोर भई, “म जनताले राज्य गरेको हेर्न चाहन्छु…..” भनेर गणतन्त्र दिएका थिए । २००७ साल फागुन ७गतेको शाही घोषणामा स्पष्ट उल्लिखित छ –“हाम्रा प्रजाको शासन अब उप्रान्त निजहरुले निर्वाचन गरेको एक वैधानिक सभाले तर्जुमा गरेको गणतन्त्रात्मक विधानअनुसार होओस् भन्ने अहिले हाम्रो इच्छा र निर्णय भएकोले…।” यस शाही घोषणालाई लत्याई अनेकौं जालझेल गरी आठ वर्षसम्म विभिन्न अन्तरिम मन्त्रीमण्डल कायम राखेको दौरानको सुरुमा नै अर्थात् २००८ तिरै संविधानसभाको माग त पचासौँ वर्षपछि मात्र माओवादीले गरेका हुन् । यो माग गरिनु अपराध होइन । यो त जनताको मौलिक अधिकार हो । यसरी हजारौंको सामूहिक हत्या गर्न र गरिरहन पाइँदैन…।”

शाहजीको अनुहार आक्रोशले उकुसमुकुसिएको देखियो । उनी पनि प्रजातन्त्र सेनानी । १०४ वर्षको राणा शासन । तीस वर्षको निर्दलीय पञ्चायती शासनको अन्त्य गरिएको सङ्घर्षमा सक्रिय योगदान दिएकाले हालको अत्याचार सहेर बस्ने कुरा पनि त भएन । तर, उनलाई स्वास्थ्यले साथ दिएन । वाइपास सर्जरी भइसकेको शरीर छ उनको । अप एन्ड डाउन भइरहने प्रेसर छ उनको । तैपनि उनी मौन भई हात बाँधेर बसेका छैनन् । आफूले सकेको योगदान दिएरै बढी मजबूत र शक्तिशाली भइसकेका छन् । त्यसैले तिनीहरुलाई राजनीतिक मूलधारमा नल्याई राष्ट्रमा शान्ति कायम राख्न सम्भव छैन ।”

“त्यो त मैले मात्र होइन, सबैले बुझेका छन् । तर शान्ति कायम राख्ने कसरी हो ? त्यो पो चाहियो । मूल कुरा यही हो शाहजी ।”
प्रेमदाइले जे कुरा भन्नुभयो, त्यो साधारण कुरा भन्नुभयो । तर यसरी कुरा मात्र फलाकेर के हुन सक्छ ? व्यवहारमा आउने कुरा किन कसैले गर्दैनन् ? खास गरी प्रेमदाइ त बुद्ध समाजकै अध्यक्ष, त्यसमाथि उनी बुद्धिष्ट, वर्षको २/३ वटा त आफ्नै बैठकमा भए पनि समारोहहरु गर्दै आइरहेका पूर्व सहायक–मन्त्री हुन् । विश्वलाई नै ज्ञानको ज्योति दिने बुद्धजस्ताले जन्म लिएको नेपालमा हजारौँ हजार निर्दोष नागरिक मारिंदा पनि एउटा बुद्धका अनुयायी, एउटा भिक्षु या उपासिका पनि मौन जुलुसमा निस्किन नसक्नु ? मैले हैरान भई प्रेमदाइलाई भनेँ–“हेर्नुस् प्रेमदाइ, तपाईं बुद्ध समाजका संस्थापक अध्यक्ष । तपाईंले चाहनुभयो भने धेरै काम गर्न सक्नुहुन्छ । कम से कम मौन जुलुस त निकाल्नुस् बुद्धिष्टहरुको हिंसा तत्काल बन्द गर भनेर ।”

शाहजीले तुरुन्तै भने–“यहाँ जुलुस, भाषण, वक्तव्य आदिबाट केही नहुने कुरा बितेका दिनहरुले देखाइसकेका छन् । बन्दुकको गोलीले बोलेको त रेस्पोन्स भएन । प्रेम दाइ, अरु के कुरा गर्नु ?”
“त्यसो भए शाहजी अब के गर्ने त ? कुनै न कुनै त बाटो होला । तपाईंको विचारमा के गर्नुपर्ला जस्तो छ ?” प्रेमदाइले प्रश्न गरे । जवाफमा शाहजीले भने–“हेर्नुस् प्रेमदाइ, माओवादीका मागहरुमा ‘गणतन्त्र’ बाहेक अरु सबै माग साधारण, अति आवश्यक तपाईं हामी नेपालीहरुकै माग हो । यी मागहरु त ढिलो चाँडो पूरा गर्नै पर्ने मागहरु हुन् । ती मागहरुमा केही प्रमुख अति आवश्यक मागहरु श्री ५ को सरकारले पूरा गरी, तिनीहरुलाई वार्तामा ल्याउन सकेनन् भने निर्दिष्ट समयमा निर्वाचन हुन सक्दैन । त्यसैले वार्ता गर्नु नै एक मात्र शान्ति स्थापनाको बाटो हो । अन्तरिम सरकार मात्र गठन गर्नसक्यो भने पनि तिनीहरुलाई वार्तामा ल्याउन सजिलो होलाजस्तो लाग्छ मलाई ।”

“त्यसो भए पर्खनुस् । म यसबारेमा कुरा चलाउँछु । छिट्टै चलाउँछु । हामीहरु यसैमा लाग्नुपर्छ ।”
प्रेमदाइको अनुहारमा रौनकको मुस्कान फैलिएको मैले देखेँ । मानौं अन्तरिम सरकार गठन गराउनमा उनको पहल रहने जस्तो खुब दृढ निश्चयले आश्वासन दिए हामीलाई । उड्न ठीक परेको चरा जत्तिकै उनको शरीरमा सन्तुष्टिको पखेटा उचालिएको थियो । शाहजी र मलाई आलोपालो गरी हेर्दै हातले समाति राखेको गिलासको चुस्की लिएर मलाई सम्झाउँदै जनाउ दिएर उनले भने –“हेर्नुस् शान्ताजी ! अब तपाईं नकराउनुस् है । समय ठीक छैन । कुन बेला कसलाई लाने हो ? ठेगान छैन । अहिले बडो सतर्क हुनुपरेको छ । केही दिन तपाई चुप लाग्नु है । अहिले कराउने समय होइन । तपाईं चुप लागेर बस्नुस् है ।”

मलाई अचम्म लाग्यो । केही पुराना परिचितहरुले मलाई किन यसरी सतर्क पार्न खोजेका होलान् ? के मैले बढ्ता कराउने गरेकी छु र ? कता कता मेरो चित्त पनि दुखेको थियो । सत्य कुरा उजागर गर्नु बढी कराएको साबित हुने रहेछ । चाकडी र चिप्लो कुरा नै सबैले मनपराउने र मान्ने रहेछन् । तर मैले त्यस्तो भाषा र बोली जानेकै छैन । मलाई प्रेमदाइले त्यसरी सम्झाएको चित्त बुझेन र भनेँ –“तपाईंले मलाई नकराउनु भनेर सम्झाउनु भो, ठीकै छ । तर मलाई चित्त नबुझेको कुरा– म बहुलाही त होइन, त्यसै कराएर हिँड्न । तपाईंकहाँ सभा समारोह हुँदा, मलाई नै बोल्न दिनुहुन्छ । त्यस्तै अरुले गरेका समारोहमा पनि मलाई बोल्न अनुरोध गर्छन् । मैले बोल्नै पर्‍यो । बोल्छु पनि । तर फरक यति मात्र हो कि म सत्य बोल्छु । चोरलाई चोरै भन्छु, सज्जन भन्दिनँ । मैले या म जस्ताले पनि भोलि हुने व्यक्तिगत फाइदाको आशाले चाकडीको भाषा बोल्ने हो भने, ती राष्ट्र लुटेका, आदि इत्यादि गरेकाहरु र ममा फरकै के रहन्छ र ?”

“होइन, मैले तपाईंलाई बेठीक भनिनँ । अहिलेको समय नै गजबको छ भनेँ । तपाईंले भन्दा बढी शाहजीले बुझ्नुभएको छ अहिलेको समय र परिस्थिति । अहिलेलाई तपाईं चुपै लाग्नुस् । समय एकदमै ठीक छैन ।”
मैले केही नबोली चुप लागेँ । शाहजीले हातको घडी हेरे । अबेर भएको सङ्केतले मलाई हेरे । मैले प्रेम दाइलाई हेरेँ । अनि भनेँ– “अबेर भयो ?”
“अँ, अबेर भयो । आठ बज्न लाग्यो ।”
“आजभोलि अबेर गरी बस्नु नै हुँदैन ।” गिलास रित्याएर प्रेमदाइले भने । हामी तीनैजना उठेर डिनर चलिरहेको हलभित्र गयौँ । त्यहाँ मेरा भाइ अमृत साथीहरुसित बसिरहेको देखेँ । हामीले अलिअलि खाना प्लेटमा लिई, भाइसँगै बस्न गयौं । प्रेमदाइले पार्टी र खानाको तारिफ गरे । बिचरा शाहजीले केही चिल्लो खान नहुने भएकोले तारेको एक टुक्रा माछा र अलिकति ‘सलाद’ मात्र लिए । मेरो भाइ अल्सरको रोगी पूरा पथपरेजमा भएकाले पानीलो जावलो मात्र खाएको थियो । ऊ धेरै दुब्लाएको देखी मेरो मन हलुङ्गो भयो । बाँकी रहेको एउटा भाइ पनि अल्सरले पीडित छ । स्वर्गे भएको कान्छो भाइ रामेश्वरलाल श्रेष्ठलाई सम्झेँ । सारै नराम्रो लाग्यो ।

खाना खाई सकेपछि मलाई पार्टीमा बसिरहन मन लागेन । कहिले त्यहाँबाट आफ्नो घरमा पुगेर आरामले पल्टुँजस्तो लागिरहेको थियो । पाहुनाहरु त्यसै राखी म होस्ट भएको नाताले पहिले नै फर्किन मलाई अप्ठ्यारो लागिरहेको थियो । तैपनि म त्यहाँबाट फर्किन तयार भएको देखी दुवै बुहारीहरु जेठी र (स्व. कान्छा भाइकी श्रीमती शान्ति) ले आज नफर्कनुस् भनी धेरै कर गरेका थिए । तर मैले मानिनँ । भोलि बिहानै आउने बचन दिई म मोटरभित्र बसिहालेँ । अगाडिको सिटमा शाहजी र ड्राइभर । पछाडिको सिटमा म, मेरो ज्वाइँ पर्ने र दिदीकहाँ काम गर्ने आइमाई थियौँ । प्रेमदाइ त आफ्नो कारबाट गइसकेका थिए ।

झमझम पानी परिरहेको थियो । परिवेश पनि अन्धकारै थियो । तैपनि हेडलाइटको भरमा मोटरले आफ्नो गति लिएको थियो । बाग्मतीको पुलनिर चेकिङ्ग भइरहेकाले हाम्रो मोटर पनि लाइनमा थियो । त्यहाँबाट उम्किन कति समय लाग्ने हो ? चुपचाप प्रतीक्षामा थियौं हामी । मेरा आँखामा भने पार्टीमा आएका महिलाहरुको शरीरमा प्रदर्शित लुगा र गहनामै चम्किरहेका थिए । ती आइमाईहरुले पनि उच्च–शिक्षा हासिल गरेका थिए । आखिर के रहेछ शिक्षा ? के रहेछ ज्ञान ? के रहेछ चेतना ? अनि के हुन्– धर्म, कर्म र संस्कार ? अनि के हो सङ्घर्ष ? प्रश्नै प्रश्नको वर्षा हुन थाल्यो मेरो मनमा । अचानक नेता तथा शासक–वर्ग, भ्रष्ट भ्रष्टाचारी नवधनाढ्य र विदेशी मुद्राका पृष्ठपोषकहरु लाइन कसेर उभिन आए । तिनीहरुको अनैतिक चरिक्र, व्यत्ति स्वार्थका वाक्यहरु मेरा कानमा गुन्जिन थाले–“अहिले भइरहेको नरसंहारको हामीलाई मतलब छैन । लाखौं नेपाली मारिए पनि हामीमा कुनै असर पर्नेछैन । हाम्रो सुखी जीवनदेखि जलेर विरोध गर्नेहरुको सफाया गर्नैपर्छ । तिनीहरु हाम्रा परम शत्रु हुन् । राष्ट्रका गरिब जनता र तिनीहरुको रोग–भोक र शोकसित हाम्रो कुनै सरोकार छैन । अब हाम्रो स्तर धेरैमाथि उठिसकेको छ । हाम्रो सम्बन्ध शोषक र शोषणसित मात्र सीमित रहनेछ ।”

यसरी म सोच्दै गएँ । सोच्दै गएँ । राष्ट्र जतिजति कङ्गाल हुँदै गयो, उति उति नव–धनाढ्य नव–नेता तथा नव–शासकवर्गको ढुकुटी सुन र डलरले भरिँदै गयो । राजनीतिक पीडित सहायताको नामले वर्षको करोडौँ राजश्व जथाभावी वितरण गरिरहन सर्वोच्चले दिएको स्वीकृति पनि सम्झेँ । आफ्नै खर्चले सर्वोच्चमा गत ५ वर्षदेखि तारिखमा धाइरहेको पनि सम्झेँ । कति सजिलैसित न्याय र इन्साफ बिक्ने रहेछ ।

यस्तो बेइन्साफ र अन्याय–अत्याचारको आड पाएरै केही वर्ष पहिले मात्र डेराको भाडासम्म तिर्न नसक्ने नन्क्वालिफाइड लुच्चाहरु नै नेता तथा शासक भई स्वर्गीय सुख लुटिरहेका छन्, यही सुख खोसिने डरले हजारौं निर्दोष जनता मारिसक्दा पनि चुँक्क बोल्ने साहस या हैसियत राख्न सकेका छैनन् । हरेक आपत, हरेक समस्यामा बार्गेनिङ्ग गरी अकूत धन आर्जन गर्नमा नै व्यस्त रहेका छन् पार्टीका नेताहरु । प्रत्येक दिन मुठभेडको नाममा मारिएका हजारौंको संख्यामा रक्षा मन्त्रालयको एकतर्फी विज्ञप्ति र समाचार सुन्दासुन्दा कान नै पाकिसकेका छन् जनताका । घाइते भएका, समातेर बेपत्ता पारेका, जेलमा कोचेका, भूमिगत रहेका, प्रवासमा जीवन बिताइरहेकाहरुको सङ्ख्या लाखौँको छ । यो गहन, अत्यन्त ठूलो महत्व राखेको जनयुद्धको सत्य र तथ्य समाचार दिनसक्ने मिडिया आजसम्म न स्वदेशमा देखा परेको छ, न विदेशमा । विश्वमा नै निष्पक्ष मिडिया अहिले बाँचेका छैनन् । सबै मरिसकेका छन् ।

नेपालका महिला दोहोरो तेहोरो मारमा परेका छन् । बलात्कार, सामूहिक बलात्कार, अवैध गर्भधारणको मार्मिक पीडा खपेर मात्र नपुगी पुत्र र पतिको निर्मम हत्या पनि सहनु परेको छ । यस्ता विभत्स दृश्यबाट उठेका चीत्कार सुन्ने को ? अहिले आकाश रोइरहेको छ । बाग्मती पुलमा मोटर रोकिएको छ । चेकिङ सकेको छैन । बिस्तारै मोटर अगाडि बढाउँदै गरेका ड्राइभरले भने –“अहो ! कति समय लगाएको चेकिङमा ? यिनीहरुको बुद्धि हेर्नुस् । यस्तो चेकिङ भइरहने बाटोबाट त्यस्ता सामानहरु मोटरमा या मोटरसाइकिलमा राखेर ल्याउँछन् र ! खोइ त ? अहिलेसम्म यस्ता बाटोहरुमा त्यस्तो केही भेट्टाउन सकेका छन् र ? बेकारमा हामीलाई दिएको दुःख । देश डुबाएका माथिका भ्रष्ट–भ्रष्टाचारीहरुलाई संरक्षण दिइरहेका छन् । अनि साधारण जनतालाई सजाय ?!”

ड्राइभरको असन्तोषले मेरो ध्यान आकृष्ट गरिहाल्यो । मैले उनको जीवन र परिवारमा अनायास चियाउन थालेँ । ज्यालादारीमा महिनाको तीन हजार पाउँछन् । चार जनाको परिवार, डेरा भाडा तिर्नुपर्ने, बच्चाहरुलाई पढाउन पर्ने, कसरी सम्भव भयो । उनको गल्दै गएको शरीर, कहिल्यै मुस्कान नखुलेको अनुहारले नै बताइरहेको कसले बुझ्ने ? कसको संवेदनशीलता जाग्ने ? के गर्ने ? ड्राइभर मेरो होइन ।

मलाई राम्ररी थाहा छ ज्यालादारीको नोकरीले मेरो जवानी मात्र खाएन । मेरी आमा, मेरा बा र मेरो कान्छोभाइ समेत खाइदिएको थियो । तिनीहरुलाई भारतसम्म पुर्‍याएर चेकअप गराउने मेरो हैसियत थिएन । आमा, बा र भाइ एकपछि अर्को गर्दै बितेका टुलुटुलु हेरिरहन म बाध्य भएकी थिएँ । इमानदार कर्मचारीका निम्ति सञ्चयकोष र पेन्सनको कत्रो महत्व हुने रहेछ ? यसैको अभावमा मैले आफ्नो क्यारियर, आफ्नो जवानीको स्वर्णीम समय गुमाउनका साथै मेरा जन्मदाता मेरो परिवारले नै उचित उपचार नपाई यो संसार त्यागेको दृश्य, बारम्बार मेरो दृष्टिमा बल्ने गरेको छ । त्यही अवस्था र कालो समयले दिएको एक्लो महा–एक्लो जीवनले बाँच्न सङ्घर्ष गरिरहेकी छु । मैले आफ्नो पीडायुक्त रुप ड्राइभरको अवस्थामा देख्न थालेँ । मैले प्रजातन्त्र स्थापनार्थ गरेको सङ्घर्षको शिरपाउ यही आजको नरसंहार र अत्याचारको घाउले बारम्बार रुनु–कराउनु हो ?

भोक त आखिर भोकै हो । यसको न कान हुन्छ, न आँखा । यसले न गरिब भन्छ, न रोगी । न आपत देख्छ, न बिपत् । न बिरह सुन्छ, न व्यथा । जुनसुकै अवस्थामा पनि भोक लाग्छ । भोकको ज्वाला शान्त हुन्छ केवल खानाले मात्र । तर खाने के ? चारैतिर कुहेको लासको दुर्गन्ध व्याप्त छ । माटो उर्बर हुन छोड्दै छ । समयमा आकाशले अमृत वर्षाउन सकेन । पाखुरा बजाई माटोसित लडी अन्न उब्जाउने तन्नेरीहरु धमाधम मुठभेड भन्दै मारिँदै छन् । आकाशबाट बम बर्साई, गाउँका गाउँ नै सखाप पारेका छन् । बाँकीरहेका भोका–नाङ्गा सन्तप्त परिवारहरुको ज्यान पनि अरिंगालको गोलो भई लिँदै छन् । ज्यान दिँदै पनि छन् । तिनीहरुले आफm्नो शोक शक्तिमा बदली, शत्ति भण्डारको स्थापना गरेको छ र त्यसमा कति शक्ति सञ्चय भएको स्वयं तिनीहरुले आँक्न सकेका छैनन् ।

२४ घन्टामा १२ घन्टाभन्दा बढी रगत–पसिना बगाई शारीरिक श्रम जसले गरेका छन् त्यसको पेटमा खस्रो मोटो र सस्तो खानाबाहेक अरु पार्न नपाउनु नै यस राष्ट्रको विडम्बना हो । ती नेपालीहरुले आफ्ना जन्म र मरण अति नजिकबाट देखेको र दिनको बारम्बार मर्न बाध्य भएकोले डर, त्रास र भयको छाती चिरी, चेतनाको पुञ्जले निडर भई, कात्रो ओढी छाप्राहरुबाट बाहिर निस्केका छन् । मृत्युसित सामना गर्न सक्षम भएका छन् । शोषक र शोषितलाई छुट्याउन तेस्रो आँखा तिनीहरुले पाएका छन् । अति साधारण मौलिक अधिकार मागेकाहरुको सामूहिक हत्या गरेका तिनीहरुले अति नजिकबाट देखेका छन् । आफ्नो मनोवलको आडमा अन्धकारबाट बाहिर आई, जिउँदा मान्छेको परिचय दिइरहेका छन् तिनीहरुले । तर दुर्भाग्य ! अत्यन्त ठूलो दुर्भाग्य ! विदेशी अत्याधुनिक हतियारको आडमा त्यक्रो जनताको शत्तिलाई अवमूल्यन गरी मानव विनाशको शिखर चढी महा–विनाशलाई निम्त्याइरहेका छन् ।

अहिले राष्ट्रमा इमान्दार नेताको खडेरी परेको छ । बेइमानी, भ्रष्ट, धोकेबाज तथा सत्ता पिपाशुहरुकै बोलवाला र बिगविगी छ । हैकम तिनीहरुकै चलेको छ । धर्म, मागीखाने भाँडो बनाएका छन् । न्याय र इन्साफ बिकेका छन् ।

“बल्ल हाम्रो पालो आयो ।” अचानक ड्राइभरको स्वरले मेरो तन्द्रा फेरि टुट्यो । कम्ब्याट लुगा लगाएका दुईजना सेनाले गन सोझ्याई हामी बसेको मोटरभित्र हेरे । अनि जाने इसारा गरे । तैपनि मोटरअगाडि बढाउन पाइएन । त्यतिकै मोटरको जाम । मैले मोटरको ऐना खोलेँ र बाहिर हेरेँ । कालो परिवेशमा कालै पानी बोकी कालै भई बाग्मती बगिरहेकी देखेँ । आकाशको आँसुले न त्यहाँको कालो दुर्गन्धित पानी पखाल्न सक्यो न त त्यहाँको कालो मन्दिर नै चोख्याउन । अझै थामिएको छैन आकाशको आँसु । निरन्तर बगिरहेकै छ ।

हामी बसेको मोटर त्रिपुरेश्वरको श्री ५ त्रिभुवनको सालिक नाघेपछि मात्र त्यसले आफ्नो गति लिन सक्यो । सुन्धारा पुगेपछि दिदीकहाँ कामगर्ने आइमाई ओर्लेर गई । मैतीदेवी पुगेपछि शाहजी ओर्लेर गए । अनि म पुरानो बानेश्वर चोकमा ओर्लें । ज्वाइँलाई पुर्‍याउन मोटर नयाँ बानेश्वरतिर लाग्यो ।

रातको नौ पनि बजेको थिएन । पुरानो बानेश्वरको चोक सुनसान भइसकेको थियो अक्सर चेकिङ्ग भइरहने स्थानमा आज अचम्मको खालीपनले व्याप्त । म पाइला ठूलो ठूलो पार्दै कम्पाउन्डभित्र पुगेँ । गेट खुला भए पनि बत्ती निभाइसकेको थियो । आकाशले रुन छोडिसकेको थियो । कम्पाउन्डभित्र अँध्यारो भए पनि मलाई पाइला बढाउन गाह्रो परेको थिएन । भर्‍याङ्ग चढ्दै माथि गएँ । चोटामा पुगेपछि एउटा कोठाको ढोका ह्वाङ्गै खुलेको थियो । निकै महिनादेखि खाली रहेकोले कसैले भाडामा बस्न हेर्न आएको होला भन्ठानेँ मैले । त्यो सँगैको अर्को सडकपट्टिको खाली कोठामा मात्र ताल्चा मारिराखेकी थिएँ । चार तलामा मेरो कोठा । ताल्चा खोलेर म कोठाभित्र पुगेँ । सडकपट्टि पूर्व फर्केको ठूलो झ्याल खोलेँ । चिसो पूर्वी हावाले कोठामा प्रवेश पायो । लुगा फेरेर हात–खुट्टा र मुख धोई आनन्दले पलङ्गमा पल्टेँ म । बडो शान्त लाग्यो । बिहान आठ बजेदेखिको थकाइ बल्ल मेट्न पाएँ मैले ।

टेलिभिजन खोलेँ । ओछ्यानमा पल्टेरै दुईवटा सिरिएल हेरिसकेपछि टेलिभिजन बन्द गरी निदाउने प्रयत्न गरेँ मैले । आँखामा भने पार्टीकै रमझम नाचिरहेको थियो । निद्रा लाग्ने छाँटै नदेखिएकोले एक चक्की कम्पोज खाई यशपालको ‘भूखके तीन दिन’ पढ्न थालेँ । कुन बेला निदाएँ मैले चालै पाइनँ ।


अघिल्लो पोष्ट

भातेहरु अझैं लिगलिग कोटको दौडमा छन्

पछिल्लो पोस्ट

जनमत सम्मानको घोषणा

शान्ता श्रेष्ठ

शान्ता श्रेष्ठ

सम्बन्धित पोष्टहरू

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 
सँस्मरण

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 

२० मंसिर २०८१, बिहीबार
नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ
सँस्मरण

नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ

११ आश्विन २०८१, शुक्रबार
‘वेदना’ सँगको साहित्यिक यात्रा
सँस्मरण

‘वेदना’ सँगको साहित्यिक यात्रा

२४ भाद्र २०८१, सोमबार
साँखु र कवि गिरिजा
सँस्मरण

साँखु र कवि गिरिजा

१० श्रावण २०८१, बिहीबार
पछिल्लो पोष्ट
जनमत सम्मानको घोषणा

जनमत सम्मानको घोषणा

कुर्ची खेलको रमिता

कुर्ची खेलको रमिता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

अन्य भाषाभाषीहरूलाई नेपाली भाषा–शिक्षण गर्दा देखापर्ने समस्याहरू

अन्य भाषाभाषीहरूलाई नेपाली भाषा–शिक्षण गर्दा देखापर्ने समस्याहरू

२२ फाल्गुन २०७८, आईतवार
छोरीलाई मानचित्र पढाउँदा

छोरीलाई मानचित्र पढाउँदा

२२ फाल्गुन २०७८, आईतवार
सुक्ष्म प्रेम

सुक्ष्म प्रेम

२३ फाल्गुन २०८०, बुधबार
हास्यव्यङ्ग्यलाई जाँच्ने कसी के ?

हास्यव्यङ्ग्यलाई जाँच्ने कसी के ?

२२ फाल्गुन २०७९, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक