निरन्तर संघर्ष, गति, ध्वंस र निर्माणको नाम रहेछ जीवन । अथवा आफैभित्र पनि छ सृष्टि, स्थिति र प्रलय । घण्टा, सेकेन्ड, वा समयलाई टुत्र्mयाएर जति सानो एकाइको कल्पना गरौँ, त्यतिमा पनि कुनै कुरा एउटै स्थितिमा रहन नसक्नेरहेछ । कल्पनातीत रूपमा अटूट र तीव्रतर छ निर्माण र विनाशको शृङ्खला । बन्नु–भत्किनु–बन्नु–भत्किनु–बन्नु–भत्किनु …….अगाडि बढ्नु, यही अनन्तता रहेछ जीवन । त्यसैले स्थिति भन्नु पनि काल्पनिक सत्य मात्र हो, वास्तविकतामा त्यस्तो केही रहेनछ । हरपल हरक्षण जीवकोशहरूको जन्म र मृत्यको अनवरत प्रक्रिया हो हाम्रै शरीर । हरपल हरक्षण विचार–प्रतिविचार, तर्क–प्रतितर्क, प्रश्न–प्रतिप्रश्न, हो÷होइन, हुन्छ÷हुन्न, आदि मानसिक क्रियाको अविरल धारा हो जीवन । अहिलेको हुन्छ अहल्यिै हुन्नमा बदलिँदो रहेछ । हर नयाँले आफैभित्र लिएर आएको हुँदोरहेछ पुरानिने प्रक्रिया पनि । आजको स्वीकृति भोलिको अस्वीकृति बन्न पुग्छ । छिनको उत्थान, छिनमा पतन । प्रकृतिको विनाश बस्तीको विकास, गाउँको विलोप सहरको निर्माण । बाल्यपन भत्काउँदै आउँछ किशोरावस्था, किशोरावस्थालाई टाउकामा टेकेर आउँछ यौवन र यौवनलाई बिदाइ गरेर आउँछ प्रौढता । बुढौती आउँछ जीवनकै अन्त्यको तयारी गर्दै । केको शाश्वत, केको नित्यता, केको अमरता । निर्माण आफै ध्वंसको आमन्त्रण हो भने ध्वंस निर्माणको । जन्म आफै मृत्युको यात्रा हो । जम्ल्याहा त हुन् जीवन र मृत्य भन्नु । वा एकै सिक्काका दुई पाटा त हुन् यी । एकविना अर्काको अस्तित्व कल्पनै गर्न नसकिने । मानौँ नमानौँ, सत्य त यही हो ।
उमेर त्यही पाँच वर्षको वरिपरि हुँदो हो । आमाहरू बारीमा कोदो रोप्दै थिए । बारीको पाटाको छेउमा थियो अजङ्गको आँपको रुख । त्यसको ठूलो फेद तल ओढार जस्तो परेको, जहाँ पानी परेको बेला पाँचसात जना मान्छे सजिलै ओतिन मिल्थ्यो । वरिपरिबाट ढुङ्गा, झारपात आदि बटुलेर खेल्दै थिएँ म त्यसैमा । मेरो खेल देखेर खेताला आएकी एउटी घर्तीनी आमैले सोधिन् ः ‘के गर्दै छौ बाबु ?’ मैले भने ः ‘यी हेर न, यहाँ कति राम्रो घर बनाएको छु ।’ ‘के गर्छौ त घरमा कान्छु ?’ ‘भोलिपर्सि ठूलो हुन्छु, बिहे गर्छु, अनि राम्री दुलही ल्याउँछु, अनि दुलहीले भात पकाउँछे, अनि म दुदुभात खान्छु । अनि यहाँ घिउ हाल्दे भन्छु, अनि घिउ छैन भन्छे, अनि तैँ खा तेरो भात भनेर फाल्दिन्छु उसैको मुखमा । अनि भात खाएर यहाँ पिँढीमा बस्छु । अनि ए लेले छिटो एक चिलिम तमाखु भरेर अह्राउँछु ! अनि तमाखु ल्याइदिन्छे । अनि यहाँ पिँढीमा बसेर गुटुटुटुटु पार्दै हुक्का तान्छु र नाकबाट फुरुरु पारेर धूवाँ उडाउँछु ।’ मेरो कुरा सुनेर मेरी आमा र कोदो रोप्दै गरेका पाँचछजना महिला बारीका मकै नै माडिने गरी मरीमरी हाँस्न थाले । त्यति सुन्दर सपनालाई त्यही किचिमिची पारेर अघि बढ्यो समय । शारीरिक तौल, अनुहार, बोली व्यवहार फेरिए, सपनाहरू फेरिए । पाइलाहरू फेरिए र फेरिए यात्राहरू । अविरल अविश्रान्त गतिमा फेरिँदै गयो सबै । अविरल अविश्रान्त छ जीवनको गति । रत अविरल अविश्रान्त रहेछ निर्माण र विनिर्माण ।
नाकभरि सिँगान हुन्थ्यो । रुमाल कहाँ पाउनु, सुनेको मात्र हो । झुम्रो पनि दुर्लभ । ओठसम्म आएको सिङ्गानको लर्कोमा झिँगाको कालै गुँड हुन्थ्यो नाकमुख छोपिने गरी । लरर पर्दैे मुखैमा पुग्थ्यो कहिले । ख्याल आयो भने दौराको फेरले वा बाहुलाले यसो पुछिदियो । नत्र आफ्नै सिँगानको अमिलो स्वाद । अहिले त त्यो सम्झिँदा पनि छिः भन्न मन लाग्छ । तर त्यति बेलाको आफ्नो संसार त्यही थियो । कसका बाउहजूरबाउलाई छिः भन्ने र । किनकि सबै त यही हालतबाट गुज्रेथे । यस्तै थियो त्यो समय, नपत्याए सोधौँ बूढाहरूलाई । थाहा थिएन त्यति बेला यो सबै सभ्यताता वा असभ्यता के हो भनेर । दुनियाँको सुन्दरताको परिभाषमा कहिल्यै पर्दैन यस्तो कुरा । तर आफ्नो लागि त्यही थियो सुन्दर, त्यसैमा थियो आनन्द । त्यो सिँगानले भरिएको नाक र धूलोमैलो अनुहारभित्र न कसैप्रति रिस राग थियो, न पदप्रतिष्ठा र पैसाको दाउपेच, नत सत्ताको लागि षड्यन्त्र । न जातको घमण्ड, न कुलीनताको अहम्, न धनीगरीबको विभेद । अचेल शरीरभरि अत्तर दलेर हिँडे पनि कहाँ पाउनु त्यस्तो निश्छलता ! टोलभरिका सिंगाने केटाकेटी भेट भयो, धूलोमा खेल्यो, केही पाए बाँडेर खायो । एउटा बेलाउँती पाए पनि सबैले टोक्दै खायो । आहा ः
कस्तो बेला हो त्यो । एक जनालाई तिर्खा लागे सबैलाई लाग्ने । एक जनालाई आची आए सबैलाई आउने । सडककिनारको बान्नोमा लहरै बसेर कुरा गर्दै आची ग¥यो अनि मिल्दो ढुङ्गामा या दूवे चौरमा पुठो दल्यो । भित्र वा बाहिर लुकाउनु पर्ने कुरा केही भए पो लाज लाग्नु । अहो ! ‘ते हि नो दिवसाः गताः ! !’ समयको निठुरी पदचापले ध्वस्त पा¥यो मेरा ती दिन, त्यो प्रिय बालापन ।
जातको डर थिएन, भातको डर थिएन । छिमेकी घर्तीपरिवारको घरमा गएर पनि खाइदियो । दैनिक चिसो पानीमा नुहान पर्दैनथ्यो, लङ्गौटी फेरेर खान पनि पर्दैनथ्यो । जनैका डोराले बाँधिएर हिँड्नु पनि पर्दैनथ्यो । क्या हाइसन्चो थियो जिन्दगी । तर एक दिन पुरेतहरू आए, आँगनमा के के पूजा गरे, धानचामल पोले, पोस्तक पल्टाएर केके भुन्भुनाए । तिनका भुनभुन मैले मात्र होइन, ती आफैले पनि फुट्टी बुझ्ने होइनन् । मेरो लाजको भाँडोलाई कपडाको लुर्कोमा गुटमुट्याइदिँदै भने तिनले ः ‘केटा आइन्दा यो तेरो तु..कसैलाई नदेखाउनू ।’ अनि अर्का एकजनले काँधमा डोरो हालिदिँदै भने ः ‘केटा यो जातको डोरो हो, बडो जतन गरेर राख्नू । यो यताउति भयो कि तेरो जात खतम ।’ अनि मुखियाबाले एउटा खास्टोमा आपूmसहित मलाई पनि घुमुङ्ग ओढाएर जातको गोप्य गायत्री मन्त्र कानमा फुके । त्यसै दिनदेखि सुरु भयो लाज भन्ने कुरा । त्यसै दिनबाट चढ्यो ममा जातीय पवित्रताको नशा । आपूm पनि बा दाइसरहको जातमा उक्लिन र चौकामा बसेर खान पाउने कुराले मखलेल बनेको थिएँ म । त्यसै दिनदेखि हरियो मेरो मर्जीको संगत र खानपान । कहाँ पाउनु आइन्दा प्रेमबहादुर घर्तीले आस्कोटको खल्तीबाट निकालेर दिएको मकै खान वा आधा टोकेर दिएको बिस्कुट खान । ध्वस्त भयो मेरो समताभाव, मेरो बालसुलभ निश्छलता, चञ्चलता र स्वतन्त्रा । सुरु भयो मान्छेभेद, वर्णभेद, जातभेद, भातभेद आदि । सुरूप वा कुरूप, केही भत्केपछि मात्र बन्नेरहेछ अर्को केही ।
चल्यो एउटा कालखण्ड चोखो बाहुन बनेर । हुटीट्याउँले आकाश धामेझैँ थामेको थिएँ मैले पुर्खाको धर्म । लाग्थ्यो, मेरै सत्कर्मले ठडिएको छ स्वर्गको धूरी खामो । मेरो जात, मेरो जनै, मेरो लङ्गौटी, मेरो टुप्पी, मेरो गायत्री मन्त्र, मेरो सन्ध्या, मेरो पञ्चाङ्गपूजा, मेरो स्तुति र प्रार्थना, ब्रह्मसत्य थियो यो सबै मेरो निम्ति । त्रिकालातीत थियो मेरो जातीय पवित्रता । लाग्थ्यो सूर्य बरु निभेर जाला, तर मेरो जातीय उच्चता कहीँ नजाला । मुट्ठीभरको फलामको साङ्लोभन्दा बलियो थियो मेरो जनैको डोरो । तर समयले भूmट सावित गरिदियो मेरो त्यो शाश्वत सत्यलाई । तोडिदियो जन्जीरभन्दा बलियो जनैलाई । भस्मीभूत पा¥यो मेरो स्वर्गनर्कलाई । किनकि यसैको खरानीमा जन्मनु थियो माक्र्सवादी चेतसहितको एक नास्तिक युवक । एक अनीश्वरवादी विद्रोही युवक । कति निष्ठुर छ निर्माण र ध्वंसको अनिवार्यता हगि !
सहरको नाम चलेको बालकुमारी स्कूलकोे मास्टरी । लाग्थ्यो यही हो मेरो जीवनको सत्य । लौरो टेकेर पनि यहीँ आइरहनेछु स्कूलमा । कुप्रिएको ढाड र थरथर कामेका हातले पनि घोटिरहनेछु खरी । सधैँ यसरी नै मेरो वरिपरि झुम्मिरहनेछन् यी पूmलका थुँगा जस्ता केटाकेटी । यिनले हरदिन सोधिरहनेछन् मलाई ः ‘अनि गुरु यो केन्द्रीय शब्द दीर्घ र राष्ट्रिय चाहिँ ह्रस्व किन ?’ मेरो पूरै जीवन यही लयमा बित्नेछ । मलाई दुनियाले संबोधन गर्ने प्रिय शब्द ‘घनश्याम गुरु’, यही एक मात्र पहिचान हुनेछ मेरो जिन्दगीभरको । तर कहाँ रहन्थ्यो जीवन किलो गडेझै एक ठाउँमा ? यसलाई कुल्चेर आयो माननीय नामको एउटा पगरी वा गलगाँड । अगाडि भन्छन् ‘माननीयज्यू नमस्कार !’ र पछाडीबाट भन्छन् ‘खानको काल फटाहा मोरो !’ तर यसको पनि त आयु थियो । झन् अल्पायु केवल दुई वर्ष । घर बेचेर रासन खान थालेको । त्यति बेलै त हो छोराछोरी पाल्न ट्याक्सी ड्राइभर बन्ने रन्को चढेको मनमा । तर हाँसेरै उडाइदिए साथीहरूले ।
कति शीतल र शान्त थियो कुनै दिन चितवन जगतपुरको छाप्रो । खरको छानो, खराईको भित्तो, जसमा पोतिएको थियो मेरी आमा भाउजू र आफ्नै नयाँ मान्छेका हातले । त्यहीँ त अटाएका थियौँ बा आमा, चार दाजुभाइ, चारओटी बुहारीहरू, एउटी दिदी, एक जना हली माइला । बिहान उठेपछि एउटा सिमलीको छेस्को भाँचेर दाँत घोट्दै केरङ्गा खोलाको काँसघारीतिर गयो, पेटखाली ग¥यो आयो । बिहानैदेखि नाङ्गै लंगौटीको फुर्को हल्लाउँदै बारी जोत्थ्यो मंगले दरै । बाले ओछ्यानमै चुरोटको एक कस लगाएपछि ‘प्रातःस्मरामि भवभीति महार्ति शान्त्यै’ इत्यादि देवस्तुति भाखा मिलाएर गाउनुहुन्यो । बढो खुलेको र सङ्गीतमय थियो मेरा बाको गलो । बारीमा मूला फल्थे धुरीखामा जत्रा । रायोको गाँज हुन्थयो केतुकी जत्रो । तोरी बारीमा उभिँदा टाउको देखिन्नथ्यो, तोरी जब फुल्थ्यो, सुनको तन्नाले ढाकिन्यो बारी । करिब एकपाथी चामल पकाउनुहुन्थ्यो आमा ठूलो भड्डूमा । त्यो भात तरकारीको बास्ना आज पनि नाकमा छँदै छ । त्यतिका मान्छे, कस्तो एकता, कस्तो आत्मीयता, कस्तो उन्मुक्ति । त्यो चारैतिरको खुलापन, त्यो हरियाली, त्यो प्रकृतिको राज । कसरी लुटियो यो सबै । कसरी पुरियो जिन्दगी काठमाण्डौका धूवाधूलोको बादलभित्र ? कसर
कालकवलित भए ती सबै र आज आफैलाई बन्दी बनाएर बस्नुपरेको छ यो घरनामको सिमेन्टको एक्लो पर्खालभित्र । उल्टियो वा ध्वस्त भयो त त्यो सबै ।
कस्तो भन्ने यो जिन्दगीलाई ? आची गर्न जानुपर्ने सबभन्दा भित्री कोठामा । छहारी बस्ने एउटा बरपीपलको छाया छैन । टोलका बूढापाकाहरू बसेर इतिहासका जीउँदा पाना फुकाउने ठाउँ छैन । हतारो छ सबै मान्छेलाई । बिरामी छ मान्छे आफैभित्रका रागहरूले र मोटरले उकेल्ने कालो धूवाँले । पल्लो कोठामा नानी जन्मन्छ, यस कोठामा बस्नेलाई थाहा छैन । तल्लो घरबाट मुर्दा निकाल्छन्, यस घरमा बस्नेलाई थाहा छैन । सञ्चार विकासले संसारभरिका मान्छेका आँखा र कान जोड्यो, तर दिलको दूरी जोड्नु त कहाँ, झन् बढाएको छ । हत्तेरी, यो सबै विकास हो कि विनाश ! थिचिने भयो बुढौती यिनै सिमेन्टका पहराहरूको चेपमा । हराउने भयो, जिन्दगी यी मान्छ्यैमान्छेको भीडमा एक्लो बनेर ।
कुनै दिन एक्लो जीवनमा प्रवेश गरी एक अपरिचित युवती । उसैले ल्याएर गुथाइदिई हिजोसम्म नपाएको पगरी ‘पतिदेव’ । समय बग्यो र बनायो बच्चाको बाउ । समय अझ अगाडि गयो र बनायो ससुरोबा । समय झन् कुद्यो र बनायो हजुरबा । कसरी केटोलाई नेटो कटाएर आयो एक तन्नेरी, तन्नेरीको टाउकामा टेकेर आयो प्रौढ मान्छे, त्यसलाई पनि ङ्याकेर आयो बूढौती । कसरी ध्वंस गर्छ नयाँले पुरानालाई !
आज घरमा जम्मा दुईजना मान्छे, एक छिन छुटिँदा पनि निसासिन्छ जिन्दगी । यसैले त ऊ भन्छे ए बुढा कहाँ गइस्, यो भन्छ ए बूढी कता गइस् । हैन कहाँ गए ती पटिहानी बजारमा पहिलो भेटमा लाजले मुख रातो पार्दै एकले अर्काको मुखमा एक झुल्को हेरेका दुईजना भर्भराउँदा युवायुवती ? कसरी पलपल ध्वंस हुँदै गयो त्यो बैँस, त्यो रूप, त्यो सौन्दर्य, ती सपना, ती रहर । अनि कुनदिनदेखि कसले दिए यिनलाई बूढो र बूढीको उपाधि ? कहिले लुटिए यिनका मोतीहार जस्ता बत्तीस दन्त र बन्यो थुतुनो ओढार जस्तो ? कहिले केले फुलायो टाउकाभरि काँसघारी । फेरि कहिले कसले गोड्यो त्यो काँसघारी र बनायो बेलटाउके यसलाई । कसले कतिबेला निचो¥यो यिनको अनुहारलाई झुम्रो निचोरेझै । कुनदिनदेखि बन्यो यिनको ढाड धनुष । कठै ! कहिल्यै झिक्न नमिल्ने गरी कानका ढुम्रामा ठेड्का कोचरिदिएको पनि पत्तै भएनछ यिनलाई ?
हरबखत बाउ चाहिने । कहिले कपाल लुछिदिनु पर्ने । कहिले काँधमा चढेर दुई हातले कान निमोठिदिने । खाने बेला बाउ चाहिने, सुत्ने बेला बाउको छातीको बिस्तारा । आची गरेर आमाले धोइदिन नमान्ने । स्कूलबाट आएर बाउले नै धोइदिनुपर्ने । लिसो जस्तै बाउसँगै टाँसिइरहन्थी सँधै । कक्षा एक दुई पढ्दा आफ्नो स्कूलबाट भागेर आउँथी अनि बाउले पढाउँदै गरेको कक्षामा पसेर टेबुलमाथि पलेँटी मारेर बस्थी र चकचक गर्दै हैरान पार्थी । मान्छे भन्थे यो तेरी छोरी हो कि जनै या पुच्छर यो यो ? त्यही काली त हो जो आज बाउभन्दा धेरै टाढा सात समुद्रपारि कुइरेको देशमा उही बाउले जस्तै गरी खरी घोटेर खाँदै छे । ती दुई भने जम्ल्या जस्ता थिए । बाउलाई छुन को चाँढो पुग्ने अनि बाउको काखमा को पहिला बस्ने भनेर लराभाँती गर्थे । झडा गर्नुप¥यो भने बाउका आँखा छलेर गर्ने, तर आमाका आँखा त परिहाल्थे । एक दिन त तिनले अल्लि चर्कै लुछालुछ गरेछन् । उजुरी आमाबाट भयो । बाउले उपाय निकाल्यो ः ‘बाबु हो, आज तिमीहरूले साह्रै राम्रो काम गरेछौ । आजलाई पाँचपाँच रूपैयाँ मात्र पुरस्कार दिन्छु । झगडा भोलि पनि गर्नू, तर भोलि यत्तिले पुग्दैन, अलि रगतपच्छे हुन्जेल कुटामारी गर्नू ल । अनि दशदश रूपैयाँ पुरस्कार दिउँला ।’ कान्छो काले साह्रै सोझो थियो, ल भनेर खुसी हुँदै लियो पाँच रूपैयाँ । जेठो अलि बाठो । उसले बुझेछ, खिल्ली उडायो भाइको । फाल्यो बिचराले पैसा लाजले भुतुक्क हुँदै । त्यस दिनदेखि तिनको झगडा सदाका लागि बन्द ।
बाउसँग फिस तिरेर राम्रो ठाउँमा उच्च शिक्षा पढाउने हैसियत थिएन । ट्यूसन नपढाउने कसमै खाएको थियो उसले । आफ्नै मेहनतले बने तीनै जना ‘डाक साहब’ हरू । आफै जिन्दगीको गोरेटो खोज्दै गए पराईको देश । हामी जस्ता मूर्ख बाउआमा धेरै छौँ यस देशमा, जसले सन्तान जन्माई, हुर्काई, बडाई, पढाई सारा ज्ञानगुनले सम्पन्न बनाएपछि सुम्पिन्छौँ पराइको देशलाई । अनि उत्सव मनाउँछौँ, उत्सव मनाउँदो रहेछ देशले योग्य सन्तानलाई त्यसरी निर्वासित गर्दा । उर्वर तथा ऊर्जाशील प्रतिभाहरू सबै पराईको देशमा, अनि विदेशको लागि ‘फिट’ नहुनेहरूले देश कुर्दै देखिरहेछन् विकासका बाझा सपनाहरू, अलापिरहेछन् समृद्धिको नारा । के गरून् तिनले, जो रुँदै देश छोडेर गए ? रोपिरहेका छन् आफ्नो सिप र सिर्जना पराइको देशमा । रोपिरहेका छन् कतिले आस, सास र लास समेत उतै । के हो ध्वंस, के हो निर्माण ? के हो क्रान्ति, के हो प्रतिक्रान्ति ? गरिदिऊन् फैसला जान्नेहरूले । आफूले फैसला गर्न सकेको भए यत्रो लामो गलफत्ती किन गर्थेँ र म ।
करिब अठचालीस वर्षअघि । कानमा साउतीको रूपमा प्राप्त भएथ्यो ‘कम्युनिस्ट र कामरेड’ । गायत्री सुनाउने गुरुले कानमा फुकेझै फुकेका थिए साथीहरूले यी शब्द । जब यिनको अर्थ थाहा भयो, हीराको हारभन्दा पनि प्रिय र मूल्यवान् बने यी मेरा निम्ति । कति गाह्रो थियो होला बीस वर्षसम्म गुप्तीधनको रूपमा आफैभित्र गुम्स्याएर राख्न यिनलाई । सत्ताले सुन्यो कि लाठा वर्षाउँथ्यो यिनका टाउकामा । तातो गोलीले भुट्न वा छाला तर्न बेर लाउँदैनथ्यो । तर समय यस्तरी बदलियो यही कम्युनिष्ट र कामरेडले हान्यो तिनका टाउकामा लाठो कहिल्ये नबिउँतिने गरी । आज राजा, रानी, मौसूफ, सबारी होस्, हुकुम यी सबैको खरानी तापेर एकछत्र छाएको छ कम्युनिष्ट र कामरेड । आएको छ गणतन्त्र भन्ने कुरा । एक थरीको सत्ताको ध्वंस र अर्को थरीको सत्ताको निर्माण ! हेर्दा देश पूरै रातै छ । तर समाजको रंग कति रातो भयो, त्यो त सबेले भागिरहेकै छौँ ।
कुनै दिन यै मान्छे उभिन्थ्यो टुँडीखेलमा र कुर्लन्थ्यो पचासौँ हजारको बीचमा क्रान्तिको उद्घोष गर्दै । आगाका झिल्का उड्थे बोल्दा । हजारौँ मान्छेहरू राँको बनेर सामन्ती अखाडाहरूमा आगो झोस्न तयार हुन्थे । झोसे, आगो । हैन आगो बने अझ आफै र बाँच्नेहरूलाई उज्यालो बाँड्दै गए । वा बल्दै सकिए मैनबत्ती जस्तै ती आफै अरुलाई उज्यालो दिन । थोत्रो झोला बोकेर हिँड्थ्यो एक्लै पनि पहाड मधेस, पूर्वपश्चिम । जब पस्थ्यो अँध्यारा झुपडीरूमा, भोकले भाउन्निएर लडेका मान्छेहरू पनि उठ्थे र तयार हुन्थे थोत्रो झोलाभित्र बोकी ल्याएका सन्देश सुन्न । बाः, कति प्रिय तथा पवित्र थिए ती ठेला उठेका र चर्चरी चिरिएका हातका स्पर्शहरू । कति आत्मीय थिए ती पसिनाको गन्ध तथा बिँडीखैनीका खारहरूमा साउती गर्दै बित्ने रातहरू । कति मीठा हुन्थे भागपुग्दो गरी सागको झोलमा डोबेर निलेका ढिँडोका गाँसहरू । कहिले बिर्सिन्थ्यो ती बिदा हुने बेलाका कसिला हातका मिलान । किनकि यी सबैमा थिए क्रान्तिका अडिग विश्वास र स्वर्णिम सपनारू । शान्त, सुन्दर र समृद्ध जीवनका सपना वा रोमान्टिक ‘स्वर्ग’ हरू । रत पाउँथ्यो अमिट आत्मीयताको संबोधन ‘घनश्याम दाइ’ । कति प¥यो होला आजसम्म तिनको भागमा क्रान्ति, सोध्ने हिम्मत भए पो ?
अस्ति बाग्मतीको पुलमुनि दुई भुस्याहा कुकुरको साथमा गुमुटु परेर रात काट्दै गरेकी भुजेल्नी आमैलाई देखेँ । ती तिनै त रहछिन् जसले एमानको मुंग्राँे लिएर पुलिससँग भिड्दै मलाई तिनको गिरफ्तारीबाट खोसेकी थिइन् । मैले त बिर्सिसकेको रहेछु चिनिन तिनलाई । चिनिछन् उनैले र सोधिन् ः ‘ओ क्रान्तिबहादुर, कता हिँडिस् लखरलखर ? सिंहदरवार कि पेरिसडाँडा वा लाजिमपाट दरबार कि धुमबाराही दरबार ? ‘गलत सोच्यो आमै म त दरबारिया पनि हैन र दरबार धाउने काम पनि गर्दिन ।’ ‘ल भन्न त तेरो क्रान्तिको घोडा कताबाट कता कुद्दै छ आजभोलि ?’ मैले भने ः ‘घोडा त उहिलेको कुरा हो आमै । अब त मर्सिडीज, बीएम्डब्ल्यू, प्राडो र पाजेरो भन न । ती त कुदाइरहेका छन् नि दिनहुँ तिम्रै टाउकामाथिबाट साइरन बजाउँदै, थाहा छैन तिमीलाई ?’ जवाफ आयो बढो नमिठो ः ‘थाहा भए, देख्या भए सोध्थेँ तँ फटाहालाई ?’
ध्वंस ग¥यो समयको हुरीले ती दिन, ती क्षण, जहाँ दुखिया मानुषहरूसँग अनुपम मायाप्रीति थियो र थिए सुन्दर संसार सिर्जना गर्ने सपनाहरू ।
क्रान्ति नायकहरू जित्छन् र जितिरहेछन् एकपछि अर्को गेम । तर ती सधैँ हारिरहेछन् जो जान्दछन् केवल श्रम, पसिना, इमान र समर्पण रोप्न । र फ्याँकिँदारहेछन् फाटेको जुत्ताझैँ ती आखिरमा । यसरी नै चिहानमा पुरिँदा हुन् सत्ताको सिंहासनको मुनि लाखौँलाख मान्छेका बलिदानहरू । अनि पर्छु बिलखबन्दमा र प्रश्न गर्छु आफैसँग ः केकोे ध्वंस अनि केको निर्माण हो यो सबै ? ! !