सानैदेखि घुमफिरमा रमाउने बानी परेकोले फुर्सद मिल्ने बित्तिकै फुत्त निस्कने गर्छु । जीवन अनुभवको फेहरिस्त हो भन्न मिल्छजस्तो लाग्छ । नयाँ ठाउँ घुम्दा, त्यहाँ रहेका प्राकृतिक र साँस्कृतिक सम्पदालाई आफ्नै आँखाले देखेर र बुझेर आर्जन गरेको ज्ञान पहिलो र भरपर्दो हुन्छ । त्यसैले नयाँ ठाउँ हेर्न र विभिन्न अनुभव लिन म प्रत्येक वर्ष कुनै ठाउँ घुम्न जाने गर्छु ।
वसन्त ऋतुको न्यानो वसन्ती हावाले एकदिन मनमा उछाल ल्यायो । अनि तुरुन्तै निर्णय गरेँ अबको यात्रा क्यान्जिङगोम्पाको । मलाई औधि मनपर्ने सुन्दर हिमाली उपत्यका । मेरा एक हितैषी प्रकाशबाबु पौडेलसँग पहिले नै यस यात्राको बारेमा सल्लाह भएको थियो । सुबोधचन्द्र श्रेष्ठ, बुद्धलाल श्रेष्ठ, रोशन के.सी, किरण शर्मालगायत हामी आठभाइ पदयात्रा गर्न निस्कने टुङ्गोमा पुग्यौँ । भ्रमण दलमा बीसदेखि बासठ्ठी वर्षसम्मका थियौँ ।
वैशाखको चौथो हप्ता टाटासुमो चढेर काठमाडौँबाट टोखा, छहरे, त्रिशुली, बेत्रावती, कालिकास्थान हँुदै धुञ्चे पुग्यौँ । धुञ्चेबजार रसुवा जिल्लाको सदरमुकाम, एक हजार नौ सय पचास मिटरको उचाइमा अवस्थित सुन्दर स्थान । मेरो जिन्दगीको कुनै कालखण्डमा छ वर्ष बिताएको ठाउँ । राजधानीबाट एक सय अठार किमी दुरीमा अवस्थित । त्यहाँ पुगिरहँदा लाङटाङ हिमाल ठिङ्ग उभिएर हामै्र स्वागत गरिरहेको छ जस्तो लाग्यो ।
धुञ्चेबाट ओह्रालो ओल्र्यौ र पुग्यौँ स्याफ्रुबेसी बजार । यो बजार तामाङ, शेर्पा, योल्मो र तिब्बती जाति र संस्कृतिको त्रिवेणी अनि रसुवाकोसी (पुरानो नाम भोटेकोसी) र लाङटाङ खोलाको दोभानले परिचित छ । कुनै बेला रसुवाको सदरमुकाम रहेको यो ठाउँ केही दशकदेखि उत्तरी रसुवाको व्यापारिक र पर्यटकीय केन्द्रको रुपमा प्रसिद्ध छ, जहाँ मैले जिन्दगीको महत्वपूर्ण झन्डै अठार वर्ष शिक्षण पेसामा रहेर बिताएको थिएँ । मलाई असाध्यै मनपर्ने मन, जन र हावापानी रहेको रमणीय धरती ।
स्याफ्रुबेसी बजार (१४६० मि) मा हामीलाई रिन्जेन शेर्पा दाइले न्यानो स्वागत गर्नुभयो । उहाँको रेस्टुरेन्टमा बसेर दु:ख र सुखका अलिकति गफ गर्यौँ । तीनवर्ष अघि कोभिडले उहाँको श्रीमतीलाई पनि लगेको रहेछ । अरु बिर्सनै नसकिने अनुहारहरुलाई पनि त्यही महामारीले लगेछ । धेरै दुख लाग्यो ।
त्यही हो हाम्रो पदयात्रा सुरु हुने ठाउँ । स्याफ्रुबेसी बजारबाट पाइला चाल्दै पारिपट्टिको पुरानो स्याफ्रुबेसी पुग्यौँँ । गगनचुम्वी तारे भीरको फेद र दुई नदीको दोभानमा रहेको यो सानो र सुन्दर बस्ती । ऐतिहासिक बौद्ध तीर्थस्थल डुकसाङ छेलिङ गुम्बाको आँगन भएर अघि बढ्यौँ ।
दोमेन हुँदै करिब चार घण्टामा हामी बाम्बु पुग्यौँ । साँझ परिसकेको थियो । बस्तीको तीनतिर निगालो घारी र एकातिर कञ्चन लाङटाङ खोला । मन्द हावा, अलिअलि चिसो तर थकाइ बिर्साउने वातावरण ।
समुद्री सतहबाट एक हजार नौसय चौरासी मिटर उचाइमा रहेको यस ठाउँमा हाल चारवटा सुविधायुक्त होटेलहरु रहेछन् । हामी एउटामा बस्यौँ । त्यहाँ न्यानो आतिथ्य पायौँ । टेलिफोन र इन्टरनेटको सुविधा पनि उपलब्ध रहेछ । केही समय घरपरिवार र साथीहरुसँग आवाज र सन्देश लिनेदिने गर्यौँ ।
सूर्यको किरण ओर्लिन नपाउँदै चराचुरुङ्गीहरुको संगीतमय आवाज र खोलाको छङ्छङ्ले हामीलाई ब्युँझायो । त्यहाँबाट सातबजेतिर निगालो र उत्तिस घारी पार गर्दै उकालो चढ्न थाल्यौँ ।
यात्राको दोस्रो दिन सबै यात्रुमा प्रशस्त उमङ्ग र उत्साह थियो । लाङटाङ खोलालाई कहिले बायाँ र कहिले दायाँ पार्दै लम्किरह्यौ । यात्रामा सबैजना फोटोग्राफर । बाटोमा नेपाली र विदेशी पर्यटकहरुको लर्को बाक्लै भेट्यांै । खच्चडहरुको ताँती, उनीहरुका गर्धनमा शोभित घण्टहरुका आवाज खोलाका सुसाहटसित रिमिक्स धुन निक्लिरहेको थियो ।
बाम्बुबाट ब्रिज, रिम्चे हँुदै करिब चारघण्टामा हामी लामाहोटेल पुग्यौँ । यो ठाउँको नाम हो । त्यहाँ आठ वटा सुविधायुक्त होटलहरु रहेछन् । यो ठाउँ लाङटाङ खोलाको किनारमा र अग्ला पहाडको फेदमा २५१५ मिटर उचाइमा अवस्थित रहेछ । यस ठाउँमन्दा माथि कुनै पनि पशुपन्छी काट्न र मार्न साँस्कृतिक हिसाबले सर्वदा निषेधित रहेछ ।
लामा होटेलमा केही समय विश्राम गरेपछि हाम्रो गति फेरि अघि बढ्यो । त्यहाँबाट करिब दुई घण्टामा रिभरसाइड पुग्यौँ । त्यहाँ लाङटाङ खोलाको किनारमा रहेको होटलमा दिनको खाना खायौँ ।
रिभरसाइडबाट अघि बढ्दा बाटोका दायाँबायाँ फुलिरहेका रङ्गीचङ्गी गुराँसका पूmलहरुले हाम्रो यात्रालाई थप रोमाञ्चक बनायो । उही खोलाको उस्तै किनार र उस्तै भौगोलिक स्वरुपसँग खेल्दै, रमाउँदै करिब दुई घण्टामा घोडातबेला (३००० मि.) भन्ने ठाउँमा पुग्यौँ । त्यहाँ लाङ्गटाङ्ग राष्ट्रिय निकुञ्जको पोष्ट रहेछ । तोकिएको प्रवेश शुल्क तिर्यौँ र यात्रालाई पुन: निरन्तरता दियौँ । डेढ घण्टामा थाङस्याप पुग्यौँ । यो तीन हजार दुई सय मिटरको उचाइमा रहेछ । त्यहाँ फिञ्जो तामाङको समिट होटलमा चौँरीको दूधमा पाकेको चिया पियौँ ।
त्यस दिन हाम्रो गन्तव्य थियो लाङ्गटाङ्ग गाउँ । दिन निकै घट्किसकेको थियो । दिनभरिको हिँडाइले थाकेका गोडाहरु अविराम चलिरहे । बाटोमा पर्ने गुम्बाडाँडा गाउँको अवलोकन गर्दै हिँड्दै थियौँ, अचानक हाम्रा आँखालाई अघिल्तिरको विशाल पहिरोले तान्यो । जिउ सिरिङ्ग भयो । मन चिसो भयो । भित्र कताकता डर उत्पन्न भयो । गलेका गोडाहरु धरमराउन थाले । नतमस्तक भएर हामी केहीबेर त्यहीँ उभिरह्यौँ ।
त्यही बेला ग्याल्बो तामाङ टुप्लुक्क आइपुगे । उनी त्यही गाउँका समाजसेवी, मेरो पुराना मित्र । त्यो अप्रत्यासित भेट थियो । हामी दुवैजना छक्क पर्यौं र औधी खुसी पनि भयौँ । त्यस विनासकारी पहिरोमा परी ठीक आठ वर्ष अगाडि उनका परिवारका मात्रै बाह्र जनाको जीवन समाप्त भएको रहेछ । गाउँका एकसय पचहत्तर जनाको जीवन पहरोले बोकेर गएको पनि थाहा भयो ।
ग्याल्बोजीको कुरा सुन्दै हामी सुस्तरी हिँडिरह्यौँ । झण्डै आधा घण्टा लाग्यो पहिरो पार गर्न मात्रै । दसवर्ष पहिले पुग्दा त्यहाँ नेपाली सेनाको ब्यारेक, पुलिस चौकी, स्कुल र ठूल्ठूला होटेलहरु थिए । ती सबै त्यही पहिरोमा बिलीन भएछन् । कुरो हो २०७२ साल बैशाख १२ गतेको महाभूकम्प । त्यस दिन लाङ्गटाङ्ग हिमालबाट हिउँ पहिरो खसेको थियो रे । त्यहाँ पहाडको भित्तामा टाँसेर बनाएको एउटा घर थियो ठिले लामाको । त्यही घर मात्र बचेको रहेछ । हामीले त्यो घर पनि देख्यौँ ।
भोलिपल्ट बिहानै लाङ्गटाङ्गबाट प्रस्थान गर्यौँ । हामी मुन्डु, सिन्धुम हुँदै करिब चार घण्टामा क्यान्जिङ उपत्यका पुग्यौ । त्यहाँ पुगिरहँदा हल्का हिउँपात भयो । यात्रालाई थप अविस्मरणीय बनाइदियो । हामीले मौसमलाई धन्यवाद दियौ ।
समुद्री सतहबाट तीन हजार आठसय मिटर उचाइमा रहेको सुन्दर, समथर हिम उपत्यका हो क्यान्जिङ । त्यहाँ आधुनिक सुविधा भएका चालीसवटा पक्की होटलहरु, बेकरीहरु, रेस्टुरेन्टहरु रहेछन् । विसं २००९ सालमा स्विस सरकारको सहयोगमा स्थापना भएको याक चिज उत्पादन केन्द्र रहेछ । २०२६ सालमा दुग्ध विकास संस्थान स्थापना भएपछि त्यसको अङ्ग बनेको रहेछ । लाङ्गटाङ्ग घर भएका तिनै ग्याल्बो त्यस चीज उत्पादन केन्द्रका प्रमुख रहेछन् । उनको आतिथ्य स्मरणीय रह्यो ।
क्यान्जिङ उपत्यका क्यान्जिङगोम्पा नामले विश्वभर परिचित छ । देशको प्रमुख तेस्रो पर्यटकीय गन्तव्य मानिने त्यस स्थान विभिन्न हिमाल र हिमनदीहरुले घेरिएको छ । वरपरका दृश्य अवलोकन गर्न करिब पाँच हजार मिटरसम्म क्यान्जिङरी जस्ता केही मुख्य अग्ला चुचुराहरुसम्म पदमार्ग निर्माण गरिएको रहेछ । नाम मात्रको भए पनि विमानस्थल रहेछ त्यहाँ । त्यहाँ निर्मित जलविद्युत केन्द्रले क्यान्जिङ उपत्यकालाई रातमा झिलिमिलि पार्नेदेखि विभिन्न यन्त्र, उपकरण चाउन र उद्योग सञ्चालनमा चौबिसैघण्टा सेवा दिइरहेको रहेछ ।
दुई दिन त्यहाँको प्राकृतिक र साँस्कृतिक सम्पदाको विविध पक्षको अध्ययन, अवलोकन गरेर पाँचौँ दिन उही बाटो फक्र्यौं । क्यान्जिङबाट एकै दिनमा स्याफ्रुबेसी झर्यौँ । यसरी हामी सबैले आपूm यति लामो पैदल यात्रा गर्न अब्बल रहेछु भन्ने पुष्टि गर्यौँ । छैटौँ दिन सकुशल राजधानी फक्र्यौैं ।