‘मम्मी…!’ स्कुलको बसबाट ओर्लिने बितिक्कै कल्याण चिच्याए । घरको गेट बन्द पो थियो । सधैँ झैँ न त्यहाँ उनलाई ममीले कुरिरहनु भएको थियो । न घरमा काम गर्ने केटाले नै । कोही थिएनन् गेटमा अनि गेटको प्वालबाट देखिन सक्ने आँगनमा पनि । घर त सुनसान जस्तो थियो ।
कल्याण दौडदै गेटमा पुगे । गेट त आफैँ पो खुल्यो ।
‘हँ ! कसले खोलेको गेट ?’ उनले यताउता हेरे । कसैलाई देखेनन् । यसप्रति उनले धेरै ध्यान पनि दिएनन् । दौडदै घरभित्र छिरे । ममी भान्सामा के के गरिरहनु भएको रहेछ । ‘मम्मी…’ फेरि उनले ममीलाई बोलाए ।
‘ए बाबु आइसक्यौ ? मैले त तिमी आउने समय नि भुसुक्कै भुलेछु ।’ ममीको अनुहार अध्याँरो, नरमाइलो खालको थियो । कल्याणलाई अचम्म लाग्यो ‘के भयो ममी ?’ उनले सोधिहाले ।
‘केही पनि होइन । ल बिस्तार कोठामा जाऊ अनि ड्रेस चेन्ज गर ।’ ममीले त्यति बोल्न पनि मन गर्नु भएन ।
‘के भएको रहेछ ?’ कल्याणलाई अचम्म लाग्यो । कल्याण कोठामा जानै लाग्दा ममीले भन्नुभयो ‘कल्याण, कोही आएर तिमीलाई तिम्रो ड्याडीममी खोई ? घरमा को को, के के छ ? भनेर सोधे भने केही थाहा छैन भन्नू है ?’
‘किन ममी ?’ कल्याणले भन्दाभन्दै ममी अलि झर्किनुभयो ‘ममीले भनेको खुरुखुरु मान न । भइहाल्यो नि ।’ कल्याणले कुरै बुझेनन् । उनी खुरुखुरु कोठातिर गए । लौ ! कोठाको ढोका पनि पो आफैँ खुल्यो । भित्र पस्ने बितिक्कै दराज पनि हल्लिरहको देखे । उनको आँखा भ्mयालका पल्लातिर पर्न गए । भ्mयालका पल्ला पनि खुस्किएर झरौँला झैँ गरी हल्लिरहेका थिए । उनलाई साह्रै अचम्म र डर लाग्यो । उनको जिउबाट ब्याग पनि आफैँ पो जमिनमा झ¥यो ।
‘मम्मी…’ कल्याण डरले चिच्याए र भान्छातिरै दगुर्न लागे ।
‘नडराऊ कल्याण । तिमीलाई केही पनि हुँदैन ।’ टेबलमा भएका पुस्तकहरु बोल्न लागे ।
‘कल्याण, हामी यो घर छाडेर जाँदै छौँ, बाई बाई है ? हामी तिमीलाई धेरै सम्झने छौँ । तर तिम्रो बुबालाई चाहिँ सधैँ घृणा गर्छौ ।’ कोठामा भएका कल्याणका बुबाका कोट, पाइन्ट, टाई, जुत्ताहरु भ्mयालैबाट निस्केर गए । दराजमाथि भएको खुत्रुके पनि भुइँमा खस्यो । त्यसमा भएका पैसाहरु छरिबरी भए । कल्याणका ममीका गहनाहरु कल्याणका गोडातिर आएर बोल्न लागे ।
‘कल्याण, तिमी डराउन चाहिँ नडराऊ है ? एकछिन हाम्रो कुरा सुन ।’ बाकसमा भएका पैसाहरु पनि पो कल्याणको अगाडि आए । बिस्कुट, चकलेट जस्तै आकारका सुनका डल्लाहरु पनि कल्याणको अगाडि आए । जुन कुरा कल्याणले कहिले पनि देखेका थिएनन् ।
‘मलाई ममी भएकोमा जान पनि दिँदैनौ । कुरा सुन भन्छौँ । तिमीहरु बोलेको मलाई कहिले नि थाहा छैन । यस्तो अचम्म कहिले नि देखेको थिइनँ । के हुँदैछ यो ? मैले केही बुझिनँ ।’ कल्याण रुन लागे ।
‘नरोऊ कल्याण । तिमी सानै छौ । तिमीले यी मात्र होइनन्, धेरै कुरा देखेका छैनौ । जानेका, थाहा पाएका छैनौ ।’ सुनका डल्लाहरु पनि रुन लागे ।
उनीहरु केही भन्दै थिए । घर भित्रै घरप् घरप् धेरै जना हिँडेको आवाज आयो ।
‘घरमा खै कोही छैन त ।’ सरकारी पोसाक लगाएका मान्छेहरु आएर सोधखोज गर्न लागे । कल्याणले उनीहरुलाई पुलुक्क हेरे । अघि ममीले भनेको कुरा झलक्क सम्झे अनि चुप बसे ।
‘बाबु, तिम्रो ममी, बुबा खै त ?’ ती मान्छेले कल्याणलाई सोधे । कल्याणको वरिपरिका अनेक सामानहरू देखेर ती मान्छेहरु झनै छक्क परे । कल्याण चुपचाप ती मान्छेलाई हेरेको हेरेकै भए ।
‘यी बाबु सानै छन् । केही बुझेका छैनन् । तपाईँले खोजेको मान्छे भाग्न पाएको छैन । आऊनुस् म देखाइदिन्छु ।’ सुनको डल्लो गुड्दै गएर दराजमा ठोक्कियो र भन्यो ‘यी यहाँ भित्र छ ।’ ती मान्छेहरुले दराज खोलेर हेरे । कल्याणले पनि दराजतिर हेरे । कस्तो अचम्म ! कल्याणका बुबा त दराजभित्र पो रहेछन् । ती मान्छेहरुले कल्याणका बुबालाई पक्रेर लैजान लागे ।
‘के गरेको यस्तो ? मेरो ड्याडीलाई किन यस्तो गरेको ? छोडिदिनुस् छोडिदिनुस् !’ कल्याण चिच्याई चिच्याई रुन लागे । हत्तपत्त कल्याणको ममी आएर कल्याणलाई समात्नु भयो । कल्याणको ममी पनि रोइरहनु भएको थियो ।
कल्याणको ड्याडीलाई बिचमा राखेर ती मान्छेहरु घरबाट निस्किए ।
‘अब तिमीसँग हाम्रो ठुलो आशा छ । आजबाट हामी पनि यस घरबाट बिदा लिदैछौँ है बाबु, राम्ररी बस्नू ।’ ती सुनका डल्ला, सामानहरु पनि ती मान्छेहरुकै पछि लागे ।
‘ममी, के भएको यस्तो ? ती मान्छेले ड्याडीलाई किन लगेको ? कहाँ लगेको ?’ कल्याण डाँको छोडेर रुन लागे । उनी ड्याडीकै पछि पछि दौडिए ।
‘बाबु, तिमी नरोऊ । कालो खानेकुरा खाँदा कालो दिसा आएको त तिमीलाई थाहा होला नि हैन ? हो, तिम्रा बुबाले नि कालोकाम, कालोधन्दा गर्नु भएको थियो । भ्रष्टाचार गर्नु भएको थियो । भ्रष्टाचार गरेरै हामीलाई थुपार्नु भएको थियो । यसकै सजाय पाउँदै हुनुहुन्छ उहाँले । हामीलाई पनि यस्ता कालोधन्दा गर्ने भ्रष्टाचारीको घरमा बस्नु छैन । त्यसैले जान लागेका हौं ।’ ती सामानहरु रुँदै कल्याणसँग अनुरोध गर्न लागे ‘बाबु, तिमीचाहिँ कहिले नि कालोधन्दा, भ्रष्टाचार नगर है ? बिन्ति छ, कहिले नगर ।’
‘तिमीहरु नचाहिने कुरा नगर ।’ कल्याणको बुबा एक्कासी रिसाउनु भयो । उहाँले छोरालाई सुम्सुम्याउँदै भन्नुभयो ‘बेटा, मलाई केही भएको छैन । म छिटै आउने छु । चिन्ता नमानी बस है ?’ कल्याणको बुबाको कुरा सिधिन नपाउँदै एउटा सुनको बिस्कुटले अगाडि आएर भन्यो ‘बाबु, तिम्रा बाबुले झुट बोल्दैछन् । यिनले धेरै नराम्रो काम गरे । पुरा सजाय नभोगेसम्म यिनी फर्कदैनन् ।’
‘ड्याडी, हजुरले किन त्यस्तो काम गर्नु भएको त ? मलाई बदमासी नगर्नु, पुलिसले लान्छ भन्नुहुन्थ्यो । तपाईँले चाहिँ किन बदमासी गर्नु भो त ? ड्याडी, सरी भन्नुस् न उहाँहरुलाई ।’ कल्याणले ड्याडीलाई भने ।
‘बाबु, अहिले तिमी ममीसँग बस । मैले केही गरेको छुइनँ । म आइहाल्ने छु है ?’ कल्याणको बाबु बोल्ने बितिक्कै सुनको बिस्कुट कराइहाल्यो ‘होइन ब्यारे, तिम्रा बुबाले सामाजिक काममा लगाउनु पर्ने सम्पत्ति पनि आफैंले मात्र प्रयोग गरे । उहाँ सार्वजनिक संस्थाका हाकिम हुनुहुन्छ तर काम चाहिँ व्यक्तिगत स्वार्थका लागि गर्नुहुन्छ । उहाँले देशको कानुन र नियम विपरित सम्पत्ति कमाउनु भएको छ । उहाँ भ्रष्टाचारी हो । उहाँ पापी हो । तिमीले नि कहिले माफ नगुर्नू उहाँलाई ।’
सुनको बिस्कुट देखेर कल्याणको बुबालाई धेरै रिस उठ्यो । उहाँले एक लात हानेर त्यसलाई उछिट्याइ दिनु भयो ।
‘पहिला चाहिँ मलाई नै थुपार्न यत्रो बद्मासी गर्नु भो । पहिले नै मलाई लात हान्न सकेको, मेरो लोभ नगरेको भए यस्तो अवस्था आउथ्यो ? खुच्चिङ् प¥यो ।’ सुनको बिस्कुट पर पुगेर बजारियो । तैपनि ऊ भन्दै थियो ‘बाबु, कल्याण तिमी चाहिँ यस्तो बद्मासी कहिले नगर है ?’
एउटा सुनको विस्कुट कल्याणको नजिक आएर सुटुक्क भन्दै थियो ‘बाबु, चिन्ता नगरी बस । सजाय काटिसके पछि तिम्रो बुबा फेरि घर फर्कनु हुने छ । अनि चाहिँ तिमीले बुबालाई यस्तो गल्ती नगर्नू भनेर सम्झाऊ है ?’
ती मान्छेहरुले ती सामान अनि कल्याणका बुबालाई गाडीमा हालेर लगे । कल्याणकी ममीले गाडीतिरै हेरिरहनु भयो । केही बोल्नु वा भन्नु भएन ।
‘ममी, ड्याडीले बदमासी गरेकाले ती मान्छेहरुले लगे हगि ? सजाय सिधिए पछि त ड्याडी घरमा आउनु हुन्छ नि हगि ? ममी, म त कहिले नि त्यस्तो बदमासी गर्दिनँ । मलाई ती मान्छेहरुले कहिले नि लैजान पाउँदैनन् । म सधैं तपाईँसँगै बस्छु नि ममी ।’ कल्याण रुँदै थिए । ममीले कल्याणलाई बेस्सरी अङ्गालोमा बाँध्नुभयो । यसरी त कहिले नि उहाँले कल्याणलाई अङगाल्नु भएको थिएन ।