शिक्षा, स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाद्वारा वरिष्ठ साहित्यकार, साहित्यिक पत्रकार तथा जनमत राष्ट्रिय मासिकका प्रधान सम्पादक मोहन दुवाललाई ‘कमल राष्ट्रिय सुकर्म पुरस्कार–२०८१’ प्रदान गरिएको छ । ललितपुरको बखुण्डोलस्थित एलिस कन्फरेन्स हलमा आयोजित विशेष समारोहमा दुवाललाई नगद रु ५१,००० सहित उक्त सम्मान प्रदान गरिएको हो ।
समारोहका प्रमुख अतिथि पूर्व प्रधानन्यायाधीश एवं पूर्व मन्त्रीपरिषद् अध्यक्ष खिलराज रेग्मी थिए भने विशिष्ट अतिथिका रूपमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी तथा संस्थापक÷संरक्षक डा. प्रकाशराज रेग्मी (वरिष्ठ मुटुरोग विशेषज्ञ) ले कमलराज रेग्मी र सम्मानित व्यक्तित्व मोहन दुवालका विविध आयाम माथि प्रकाश पारिएको थियो ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष पुष्कर अथक रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो। उपाध्यक्ष रोहितप्रसाद ज्ञवालीले स्वागत मन्तव्य दिएका थिए । कमलराज रेग्मीको योगदानमाथि शिक्षाविद् बुद्धिप्रसाद शर्माले प्रकाश पारे। कवयित्री सरस्वती अर्यालले रेग्मीको कविता वाचन गरिन् । त्यस्तै समीक्षक डा. रामप्रसाद ज्ञवालीले मोहन दुवालको व्यक्तित्व र कृतित्वबारे चर्चा गरे । कार्यक्रममा दुवालमाथि निर्माण गरिएको वृत्तचित्र पनि प्रदर्शन गरेका थिए ।
साहित्य प्रतिष्ठानका संरक्षक तथा मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले आफ्ना पिता कमलराज रेग्मीले गरेको राजनीतिक, सामाजिक र साहित्यिक सेवालाई चिरस्थायी बनाउन पुरस्कार प्रदान गर्दै आएको र पुरस्कारको राशी नगद ५१ हजार, सम्मानपत्र र दोसल्ला रहेको बताए । सोही अवसरमा उनले कमलराज रेग्मी जनमत दर्शन साहित्य पुरस्कारका लागि अक्षय कोष स्थापनाका लागि ३ लाखको चेक मोहन दुवाललाई हस्तान्तरण गरे ।
त्यसैगरी, साहित्यकार दुर्गा अधिकारी भमरकोटेद्वारा स्थापित ‘सुसेली सम्मान’का लागि प्रतिष्ठानलाई रु ५० हजारको अक्षयकोष प्रदान गरिएको थियो।
कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई आजीवन तथा विशिष्ट सदस्यता प्रदान गरियो। आजीवन सदस्यहरूमा दुर्गा अधिकारी (भमरकोटे), भारती श्रेष्ठ, शान्ता शाक्य, निलम गोंगल, रेणुका श्रेष्ठ, ऋषिकेशव धौवडेल, कृष्णबहादुर के.सी., राजभाइ प्रधानलगायत थिए भने मोहन दुवाललाई विशिष्ट सदस्य प्रदान गरियो ।
साहित्यकार तथा समालोचक प्रा.डा. राम प्रसाद ज्ञवालीले सम्मानित व्यक्तिको चर्चा गर्दै वरिष्ठ साहित्यकार मोहन दुवाल सम्मानित हुँदा हामी आफै सम्मानित भएको जस्तो लाग्छ । पुरस्कार मागेर हैन योगदानको करदर स्वरुप प्राप्त हुने सम्मान हो भन्ने उहाँलाई गरेको सम्मानले प्रष्ट पार्छ । यो सम्मान साहित्यिक क्षेत्रको सम्मान हो । मोहन दुवाल शहर, गाउँदेखि विदेशमा रहेका साहित्यिक अनुरागीहरुको गुरु हुनुहुन्छ । उहाँले साहित्यिक पत्रिकालाई निरन्तरता दिँदै देशका कुना कुना र विदेशमा समेत पत्रिका पुर्याएर साहित्यलाई जीवित राख्ने काम गर्नु भएको छ । उहाँले सयौँ पुस्तक निकाल्नुका साथै दर्जनौँ व्यक्तिहरुलाई खोजी खोजी मूल्याङ्कन गर्ने र पुरस्कृत गर्ने गर्नुभएको छ । उहाँले यसरी अरुको सम्मान गरेकै कारण आज आफै सम्मानित हुँनुभएकोछ । उहाँ उद्धार बिचार तथा प्रगतिशील विचारधाराका व्यक्ति हुनुहुन्छ । यो पुरस्कार योग्य व्यक्तिलाई दिँदै हुनुहुन्छ भने ।