नेपाल प्रज्ञा–प्रतिष्ठानले काठमाडौँमा मङ्गलबार वरिष्ठ साहित्यिक पत्रकार मोहन दुवाल र वीरबहादुर चन्दलाई प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानका कुलपति भूपाल राईले पुरस्कार प्रदान गर्दै प्रविधिको छरितो विकासले छापा माध्यम छायामा परिरहेको समयमा पनि निरन्तर मेहनत र लगनका साथ साहित्यिक पत्रकारिता गर्ने पत्रकारको कदर गर्न प्रतिष्ठानले गत वर्षदेखि साहित्यिक पत्रकारलाई पुरस्कृत गर्न सुरु गरेको बताउनुभयो ।
नेपाली भाषा र डोटेली भाषाको साहित्यिक पत्रिकाका सम्पादकद्वय दुवाल र चन्दलाई पुरस्कृत गर्न पाउँदा प्रतिष्ठान परिवारलाई खुसी लागेको बताउँदै कुलपति राईले यसबाट साहित्यिक पत्रकारको हौसला बढ्ने विश्वास व्यक्त गर्नुभयो ।










