आफ्नी आमालाई उपचार गर्नका लागि काठमाडौं सँगै नआएकी भए डा. चन्दा कार्कीको भावी अर्थात् गन्तव्य शायद अर्कै हुन्थ्यो होला । खेती किसानी पृष्ठभूमिका बुबा शिवमानसिंह भण्डारी र आमा चन्द्रादेवी भण्डारीको कोखबाट डा. कार्कीको जन्म सन् १९५८ मा महोत्तरीको औरहीस्थित नैनीगौरी गाउँमा भएको हो । उहाँका आठ भाइबहिनीमध्ये सुुरुका चार दिदीबहिनीमध्ये उहाँ कान्छी हुनुहुन्छ भने उहाँका चारजना भाइहरु छन् । करिब ४ दशकदेखि स्वास्थ्यसेवामा निरन्तर सेवारत प्रा. डा. चन्दा कार्की एक कुशल स्त्री तथा प्रसुती रोग विशेषज्ञ हुनुहुन्छ । पछिल्लो समय नेपाली राजनैतिक क्षेत्रमा सक्रिय डा. कार्कीको परिचय यत्तिमा सीमित हुँदैन । उहाँ कुशल प्रशासक र मेडिकल अध्यापकका रुपमा पनि परिचित हुनुहुन्छ ।
तत्कालीन समयमा देहातमा धेरैजसोको दैनिकी कष्टप्रद भएपनि उहाँको बाल्यकाल भने सामान्य तवरले बितेको थियो । घरमा दुई छाक खानलाई खासै समस्या थिएन । अहिलेको जस्तो समय थिएन, खान लाउन समस्या नभएपनि गाउँमा शैक्षिक अवस्था भने त्यस्तै त्यस्तै थियो । तर पनि उहाँका हजुरबुबाले स्थापना गर्नुभएको प्रसादसिंह माध्यमिक विद्यालयमा एकै पटक चार कक्षामा भर्ना भएर डा. कार्कीले आफ्नो शैक्षिक यात्रा थाल्नु भएको थियो । सात कक्षा पुग्दा आमा बिरामी भएपछि थप उपचारका लागि काठमाडौं ल्याउने क्रममा डा. कार्की पनि सँगै काठमाडौं आउनुभयो । काठमाडौंमै बसोबासरत मामा मोहनविक्रम थापाले डा. कार्कीको पढाईलाई निरन्तरता दिलाउनका लागि डिल्लीबजार स्थित पद्यमकन्या स्कुलमा भर्ना गरिदिन खोजे । शुरुमा आनाकानी गरेको भएपनि मामा आपैंm जमानी बसेपछि सम्भव भयो । डा. कार्कीले पनि मेहनतका साथ अध्ययन गरेर सधैंभरि अब्बल साबित हुनुभयो । सोही स्कुलबाट वि.सं. २०२९ सालमा उत्कृष्टताका साथ उत्तीर्ण हुनुभएकाले तत्कालीन प्रधानमन्त्री कीर्तिनिधी विष्टले कमला पुरस्कारसहित स्वर्णपदकले सम्मान गर्नुभएको थियो ।
त्यसपछि उच्च शिक्षाका लागि अस्कलमा साइन्स विषयमा भर्ना हुनुभयो र त्यहीँबाट सन् १९७३ मा आइएस्सी उत्तीर्ण गर्नुभयो । त्यतिबेला नेपाली विद्यार्थीका लागि एमबीबीएस पढ्न विभिन्न देशले छात्रवृत्ति कोटा पठाउँथे । उहाँ रुस, जापान र भारतबाट प्राप्त एमबीबीएस (छात्रवृत्ति) का लागि छानिनु भयो । शुरुमा डा. कार्की भारतको सम्बलपुरको लागि छानिनुभएको थियो । तर सिक्किम काण्डका कारण एक वर्ष अवरोध भएपछि उहाँ त्यता पढ्न जान पाउनु भएन । पछि सन् १९७८ मा भारतको कलकत्ताको आरजीकर मेडिकल कलेजमा एमबीबीएस पढ्न जान अवसर प्राप्त भयो । त्यहाँबाट डा. कार्कीले सन् १९८३ मा एमबीबीएसको अध्ययन पूरा गर्नुभयो । एमबीबीएस पढाईपछि एक वर्ष इन्टर्नसीप र त्यसपछिको एक वर्ष उहाँले त्यहीँ गाइने विभागमा हाउस जब गर्नुभयो ।
सन् १९८५ मा नेपाल फर्किंदा उहाँको विवाह बाल रोग विशेषज्ञ डा. टेकेन्द्र कार्कीसँग तय भइसकेको थियो । उहाँको विवाह लगतै मेडिकल अफिसरका रुपमा नेपाल सरकारी सेवामा जागिर शुरु गर्नुभयो । यसैबीच डा. कार्कीले बंगलादेशको ढाकाबाट सन् १९८७ मा डिप्लोमा इन गाइने एण्ड अब्स्टेट्रिक्स (डिजिओ) गर्नुभयो । उक्त कार्यक्रममा उहाँले ढाका युनिभर्सिटीमा सर्वोत्कृष्ट हुनुभयो । पछि नेपाल फर्केर गाइने/अब्स विषयमै त्रि.वि. चिकित्सा विज्ञान अध्ययन संस्थान (आईओएम) बाट एमडी(स्नातकोत्तर) गर्नुभयो । यस विषयमा नेपालबाटै एमडी गर्ने पहिलो ब्याचकी विद्यार्थी हुनुहुन्छ । त्यतिबेला नेपालका अधिकतर चिकित्सकहरुले एमडी (गाइने/अब्स) गरिसकेका थिएनन्, धेरैजसो डिजिओ मात्रै गरेर काम गरिरहेका थिए, त्यति नै काफी थियो ।
त्यसपछि नेपाल स्त्रीरोग तथा प्रसुती रोग विशेषज्ञ समाज (नेसोग) पहलमा थाइल्याण्डको रोयल कलेजमा डिजिओ गरेर १० वर्ष काम गरिसकेका चिकित्सकलाई प्रवेश परीक्षा दिएर फेलोशिप गराउने सहमति भयो । त्यही सहमति बमोजिम अन्य पन्ध्र जना सहपाठीहरुसँगै डा. कार्कीले थाइल्याण्डको रोयल कलेजबाट फेलोशिप गर्नुभयो । एमडी पूरा गरिसकेकाले उक्त फेलोशिप गर्न अनिवार्य नभएपनि उहाँले उक्त फेलोसीप पनि गर्नुभयो । त्यसबाहेक डा. कार्कीले अमेरिकाबाट एफआईसिएस डिग्री र सन् २०१९ मा बेलायतको रोयल कलेज अफ लन्डनबाट एफआरसिओजी डिग्री पनि हासिल गर्नुभयो ।
प्रसुति गृहबाट नेपाल सरकारको जागिर सुरु गर्नुभएकी डा. चन्दाले पाटन अस्पताल, शिक्षण अस्पतालदेखि उपत्यकाका सबैजसो अस्पतालहरुमा काम गर्नुभयो भने ८ वर्ष भन्दा बढी नेपालका विभिन्न जिल्लामा सेवा पुर्याउनुभयो । धरानमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना भएपछि पहिलो गाइनोकोलोजिष्टका रुपमा काम गर्नुका साथै स्त्री तथा प्रसुति रोग विभाग सेटअप गर्न महत्वपूर्ण भूमिका निभाउनु भयो । विशेषज्ञ डाक्टर भइकन पनि सरकारी जागिरका १५ वर्ष मेडिकल अफिसरकै तहमा काम गर्नुभयो । यस क्रममा प्रसुती गृह, भोजपुर, पोखरा, वीपी कोइराला चिकित्सा अध्ययन संस्थान धरान, पाटन अस्पताल, क्षेत्रपाटी क्लिनिक, भक्तपुर अस्पतालमा काम गर्दा अनगिन्ती महिलाको ज्यान बचाउनु भयो भने हजारौंलाई सेवा पुर्याउनु भयो । पछि घरव्यवहारका कारण सरकारी जागिरलाई निरन्तरता दिन सक्ने अवस्था भएन । किनकि उहाँका श्रीमान डा. टेकेन्द्र पनि सरकारी सेवामै सेवारत हुनुहुन्थ्यो ।
सन् २००० मा सरकारी जागिर छोडेपछि डा. कार्की काठमाडौं मेडिकल कलेजमा लेक्चररका सेवा शुरु गरि उप—प्राध्यापक, सह—प्राध्यापक हुँदै प्राध्यापकमा बढुवा हुनुका साथै केएमसीमा बिताउँदा विभागीय प्रमुख, प्रमुख कार्यकारी अधिकृत, सञ्चालक समिति सदस्य हुँदै दुई कार्यकाल प्रिन्सिपल हुनुभयो । काठमाडौं मेडिकल कलेजको छवि उच्च पार्नमा उहाँको विशेष भूमिका छ । दुई दशक भन्दा लामो समय उक्त कलेजको शैक्षिक र प्रशासनिक नेतृत्व सम्हालेकी डा. कार्कीले प्रकारान्त विशेष परिस्थितिमा उक्त संस्था पनि छोड्नुभयो । यस अवधिमा केएमसीले डा. कार्कीलाई पनि प्रख्यात बनाउन मद्दत गर्यो । उहाँका दुईटी छोरी पनि विशेषज्ञ चिकित्सकका रुपमा छन् ।
केएमसी छोडेपछि उनलाई केही मेडिकल कलेजहरुले प्रशासनिक नेतृत्वका लागि अफर गरेको भएपनि सिनामंगलस्थित नोबेल कलेज र अस्पतालमा काम गर्न सहज मान्नुभयो । उक्त कलेज एवं अस्पताललाई पनि केही समय सहजीकरण गरिदिईसकेपछि पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सिटबाट प्रतिनिधि सभाका सांसदका रुपमा रहेका डा. कार्कीले राजनैतिक सेवाको क्रममा मौका पाउनासाथ देशको कुनाकाप्चामा स्वास्थ्यसेवा पुर्याउन दगुरिहाल्ने तथा संसद्मा पनि समसामयिक विषयमा सचेत पार्दै आउनुभएको छ ।
सदैव कर्ममा विश्वास गर्ने डा. कार्कीको सफलताको कडी नै उहाँको मेहनत एवं दृढईच्छा शक्ति हो । त्यसैले पनि बिहान उठेदेखि नै समय व्यवस्थापनमा पनि उत्तिकै ख्याल राख्नुहुन्छ । खानपान एवं फुर्सदको समय परिवारसँग बिताउन चाहने डा. कार्की संगीतमा उत्तिकै रुची राख्नुहुन्छ । अवकाशको जीवन गाउँमै गएर बिताउने योजना राखेकी डा. कार्की गाउँका मानिसहरुलाई पनि स्वास्थ्य सेवा पुर्याउने एवं तिनीहरुको रोजगारीमा योगदान गर्ने सोच राख्नहुन्छ ।
यसरी प्रा.डा. चन्दा कार्कीले स्वास्थ्यसेवा, स्वास्थ्य शिक्षण एवं प्रशासनिक क्षेत्र तथा राजनैतिक क्षेत्रमा मात्र नभई साहित्यमा पनि कलम चलाउनु भएको छ । अधिकतर फुटकर कविता रच्न रुचाउने डा. कार्कीले हालसम्म फेलोशिप ट्रेनिङ एट आरटीसिओजी (रोयल थाई कलेज अफ अब्स एण्ड गाइने) बैंकक : माई एक्सपेरियन्स (मार्च २००४) र छरिएका पानाहरु (कथा, कविता तथा स्वास्थ्य सामाग्रीहरुको संगालो) (मार्च २००९) नामका दुईटा पुस्तक प्रकाशित गरिसकेका छन् । र, आफ्नै विशेषज्ञता विषयसँग सम्बन्धित पुस्तक प्रकाशोन्मुख छ । फेलोशिप ट्रेनिङ एट आरटीसिओजी (रोयल थाई कलेज अफ अब्स एण्ड गाइने) बैंकक : माई एक्सपेरियन्सको पहिलो खण्डमा ट्रेनिङको परिचय, पृष्ठभूमिबाट शुरु गरि सिरिराज लगायत चुलालोङकर्न, रमाथीबोडी अस्पतालमा पोष्टिङ रहँदाको, दोश्रो खण्डमा निबन्ध, तेश्रो खण्डमा लेक्चर विषय र अन्तिम खण्डमा ट्रेनिङ सम्बन्धी पाँचजना सहकर्मी साथीहरुका विचारहरु समेटिएका छन् भने छरिएका पानाहरु पुस्तकमा एक दर्जन कविता, तीनवटा कथा, एउटा लेख, विभिन्न विषयमा स्वास्थ्य सामग्रीहरु, स्वास्थ्य जिज्ञासाहरु र उहाँका आफ्नै दुईटा अन्तर्वार्ताहरु समेटिएका छन् ।
उहाँले कमला पुरस्कार (१९७३) को अलावा दैवी प्रकोप पीडितोद्दार (१९८९), योङ गाइनेकोलोजिस्ट अवार्ड (१९९३), ईन्टरनेशनल फेलोशिप अवार्ड (२०००) तथा वीरेन्द्र ऐश्वर्य पदक (२००१) पनि पाउनु भएको छ । नेपालका स्त्री तथा प्रसुती रोग विशेषज्ञहरुको छाता संगठन नेसोगमा महासचिव, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्ष (२००५ देखि २००७) एवं निवर्तमान अध्यक्ष पनि हुनुभयो भने फ्रेन्ड्स अफ बुढानिलकण्ठको कार्यकारिणी सदस्य हुँदै उपाध्यक्ष, बुढानिलकण्ठ स्कुलको बोर्ड अफ ट्रष्टी, दक्षिण एशियाली स्त्री तथा प्रसुती रोग विशेषज्ञ महासंघ (साफोग) को शिक्षा सचिव हुँदै उपाध्यक्ष (२००९ देखि २०११) एवं काठमाडौं विश्वविद्यालयको सिनेट सदस्य पनि हुनुभयो ।