यस वर्षको चक्रपाणि स्मरण पुरस्कार प्रा.डा. गोविन्दराज भट्टराईलाई अर्पण गरिएको छ । चक्रपाणि स्मारक प्रतिष्ठानद्वारा आयोजित चक्रपाणि चालिसेको १४२ औँ जन्मजयन्तीको अवसरमा वरिष्ठ साहित्यकार एवम् प्रशिद्ध समालोचक प्रा.डा. गोविन्दराज भट्टराईलाई चक्रपाणि स्मारक पुरस्कार २०८१ अर्पण गरिएको हो ।
समारोहका प्रमुख अतिथि डा. द्वारिकानाथ ढुंगेलले सम्मानित भट्टराईलाई २० हजार रुपैयाँ राशि सहितको पुरस्कार अर्पण गरे ।
सोही समारोहमा ३० उत्कृष्ट कथा संग्रहित साहित्य वार्षिक ‘चक्रपाणि’को विमोचन समेत गरिएको थियो । राष्ट्रव्यापि कथा प्रतियोगिता आयोजना गरी संकलित ६६ कथामध्ये उत्कृष्टताका आधारमा ३० कथालाई प्रकाशन गरिएको कार्यकारी सम्पादक एवम् प्रतिष्ठानका सदस्यसचिव रामगोपाल आशुतोषले बताए । तिनै ३० मध्ये प्रतियोगिताका निर्णायकहरूको अंकका आधारमा सर्वोकृष्ट ५ कथाका कथाकारलाई उत्कृष्टता क्रमका प्रथम, द्वितीय, तृतीय र गुणवत्ता गरी ५ जना कथाकारहरूलाई ३० हजार, २० हजार, १० हजार र ५/५ हजार राशि सहितको आरुषी महर्जन गुणवत्ता पुरस्कार वितरण गरिएको हो ।
राष्ट्रव्यापी कथा प्रतियोगिताद्वारा छानिएका ३० कथालाई, भाषा, व्याकरण आदिलाई विशेष सम्पादन, साहित्य वार्षिक, `चक्रपाणि´ को कथा विशेषांकका रूपमा प्रकाशन गरेको र यसको सम्पूर्ण श्रेय कार्यकारी सम्पादकलाई जाने प्रतिष्ठानका अध्यक्ष एवम् प्रधानसम्पादक राममणि ढुंगेलले बताए ।
प्रतियोगितामा जाजरकोटका शिवराज शाहीको सन्तानको फोटो´- प्रथम, भक्तपुरका मनीषकुमार शर्मा समितको
मैले नभित्र्याएकी बुहारी´- द्वित्तिय, धादिङका रूपक अलङ्कारको `बङ्गाली बाबा´ र पर्वतका प्रकाश नेपालीको – ‘मेलम्ची कहिले सुक्छ सरकार’ र काठमाडौँका अनिता पन्थीको ‘जुगुप्सा’ ले आरुषी महर्जन गुणवत्ता पुरस्कार प्राप्त गरे ।
कार्यक्रममा प्रमुख अतिथि डा. द्वारिकानाथ ढुंगेलले नेपाली साहित्य विश्वस्तरको भएको बताउँदै नेपाली साहित्यले नोवेल पुरस्कार जित्ने अपेक्षा राखे । उनले नयाँ लेखकले अध्ययन, साधना र निरन्तर तपस्याले उत्कृष्ट साहित्यको रचना गर्न सक्ने बताउँदै तन, मन र लगनले विश्वजान्य विषयमा लेख्न सुझाव दिए ।
वरिष्ठ साहित्यकार एवम् समालोचक प्रा.डा. कुमार कोइरालाले सम्मानित व्यक्तित्व प्रा.डा. भट्टराईको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्दै प्रा. डा. भट्टराईले नेपाली साहित्यलाई विश्वसामु चिनाउन उत्कृष्ट भूमिका निर्वाह गरेको चर्चा गरे ।
सम्मानित व्यक्तित्व भट्टराईले गद्य शिरोमणि चक्रपाणि चालिसे स्मरण पुरस्कारले आफूले नेपाली साहित्यमा केही योगदान गरेको, हौसला महसुस भएको र थप उत्प्रेरणा प्राप्त गरेको प्रतिक्रिया दिए ।
सोही कार्यक्रममा सूर्यविनायक नगरपालिकाभित्रका विद्यालयमा अध्ययन गरी एसईई परीक्षा -२०८० मा नेपाली विषयमा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीहरूमध्ये दुई विद्यार्थीलाई वैजनाथ शुभद्रा प्रोत्साहन पुरस्कार २०८० प्रदान गरिएको थियो ।
कार्यक्रममा १० कविले आफ्नो मौलिक कविता वाचन गरेका थिए ।