म तिम्रो शीरमाथि
जब हात फैलाउँछु
तिमीलाई घामपानी
गर्मी र शीतबाट
जोगाइरहेको हुन्छु
माया नै मायाले
सिंचिरहेको हुन्छु
जब म
हुरी आँधिबेहरी र
उष्णताबाट प्रताडित हुन्छु
झरी र तुषारोबाट कक्रिन्छु
अनि म
झर्किन्छु, रिसाउँछु, चिच्याउँछु
मेरो झर्काइबाट
मेरो रिसबाट भाग्न
जब तिमीले
मलाई बन्द गर्छाै
मलाई मिल्काई दिन्र्छाै
तब तिमी मेरो ममता
अनि
सद्भावबाट पनि बन्चित हुन्छौ
समय सधैँ हाम्रो अनुकूल हुँदैन पुताः
यति बुझि राख !
रेशमी कपडाको सप्कोले
घामपानी छेकेर छेकिन्न
हुरीको कुरै छोडौं
अलिकति बेगिलो हावामात्र चले पनि
रेशमी कपडाको सप्को उडि हाल्छ
अनुकूल वातावरण हुँदा मात्र हो
मुलायम रेशमी सप्कोले
रोमाञ्चित बनाउने
मन्द मन्द हावासँग
पार ताप्दै रमाउन साथ दिने ।
जब समय तिम्रो प्रतिकूल हुन्छ
शायद त्यतिबेला
तिमीलाई मेरो सम्झना आउला ।
वरपरको प्रहारहरु थाम्न
दर्केझरीबाट जोगिन
चर्काे घाम छेक्न
रेशमी मुलायम सप्कोले सक्दैन भन्ने कुरा
जब थाहा पाउँछौं तिमीले
तब महसुस गर्लाउ मलाई
त्यसबेला शायद
म त बिलाइसकेको पनि हुन्छु
मेरो प्रिय कवि गोविन्द वर्तमानले
भनेजस्तै —
“जब म सकिन्छु
मेरो रिस पनि मसँगै सकिन्छ
मेरो आक्रोश पनि सकिन्छ
मेरो अनुराग पनि सकिन्छ ।”
त्यस्तै
जब तिमीले मलाई
अवहेलना गर्छाै
म मिल्किएको बुझ्छु
जब तिमीले मलाई
अनावश्यक थान्छौ
अपमान गर्छौ
म सिद्धिएको बुझ्छु ।
जब म सिद्धिन्छु नि
मेरो रिस मात्र सिद्धिदंैन
मेरो सम्मानको चाहनामात्र सिद्धिदैंन
पुताः
मसँगै तिम्रो बलियो सहारा अनि
तिम्रो ढाल पनि सिद्धिन्छ ।
— त्यसैले होसमा आउ
म त छाता हुँ नि
मलाई ससम्मान फैलाउ
तिम्रो शीरमाथि राख
मलाई ओढ
म हरदम तिमीलाई
छहारी दिइरहेको हुन्छु ।
तिमीलाई शीतलता दिइरहेको हुन्छु
म हुँदाहुँदै
तिम्रो शीरमाथि
कुनै दुष्ट चराले पनि
विष्ट्याउने आँट गर्न सक्दैन
बुझ म त
छाता हुँ है छाता ।