२०११ भदौ २० गते दासिम, दशथुम, स्याङ्जामा जन्मेकी गङ्गा कर्माचार्य नै गङ्गा पौडेलका रूपमा साहित्यिक क्षेत्रमा सक्रिय रूपले देखा परेकी नाम हुन् । अध्यापन पनि गर्दै आएकी यिनी साहित्य सेवा र सिर्जनामा रम्न पाउँदा खुसी व्यक्त गर्ने गर्छिन् । आँधी खोलाको सम्झना (कविता–२०६३), ओज र डाँफे (कविता–२०६५), द्यौली आमा (कविता–२०६५) आख्यानमा चार आँठे चुल्ठो (कथा–२०६७) आदि उनका प्रकाशित पुस्तकहरू हुन् । बाल काव्य, बाल उपन्यास, बाल नियात्रा आदि गरी दुई दर्जन भन्दा बढी पुस्तकहरू प्रकाशित छन् । उनले स्याङ्जाको नेपाली बाल साहित्यको इतिहास समीक्षा कृति पनि प्रकाशित गराएका छन् । नेपाली बाल साहित्य, किशोर साहित्यमा समेत सफल स्रष्टा यिनी भानु साहित्यिक मासिकको सल्लाहकार सहयोगीका रूपमा क्रियाशील छन् । साहित्यका विविध विधामा कलम चलाउँदै आएकी गङ्गा पौडेल नयाँ पुराना स्रस्टाका कृतिहरू पढ्न रुचाउँछिन् । स्रस्टाले अरुका कृतिहरू पनि पढ्नु पर्छ भन्ने गङ्गा पौडेलसँग पुस्तककै सेरोफेरोमा रहेर गरेको कुराकानी :
यतिखेर कुन पुस्तक पढ्दै हुनुहुन्छ ?
यतीखेर प्रभा बरालले लेख्नुभएको फिलिङ्गो उपन्यास पढेर सकेँ।
नेपाली, अङ्ग्रेजी र हिन्दी भाषाका मनपर्ने एक एक वटा पुस्तकको नम लिनुपर्दा ?
धेरै छन् नामै लीनुपर्दा नेपालीमा मुना मदन,अङ्ग्रेजीमा र हिन्दीमा लेखिएका किताब खासै पढेकी छैन।
तपाईँको लागि लेखपढको उपयुक्त समय कुन हो ?
मेरो लेख्ने पढ्ने उपयुक्त समय बिहान ८–१०बजेसम्म । साँझ ९बजे देखि निद्रा नलाएसम्म।
साहित्यका विविध विधा मध्ये अलि शक्तिशाली विधा तपाईं लाई के लाग्छ ?
साहित्यका सबै विधाहरू आआफ्नो ठाउँमा शक्तिशाली छन् । एउटा रोज्नु पर्दा कथा विधा रोज्न चाहन्छु।
सानोमा कस्ता पुस्तकहरू पढ्न पाउनु भयो ?
हाम्रो पालामा पाठ्यपुस्तक बाहेक अतिरिक्त पाठ्यसामग्री पढ्न पाईदैन थियो । ६ कक्षामा पढ्दा मामाघर पोखरावाट कृष्णप्रसाद पराजुलीले लेख्नुभएको “रमाइला नानी “पुस्तक किनेर मलाई दिनुभएको थियो । त्यो किताब पढेर खुब रमाएकी थिएँ। स्कुलमा लगेको त साथीहरूले पढ्छु भनेर खोसाखोस गर्न थाले बडो मुस्किलले जोगाएर घर ल्याएँ। त्यसपछि कहिल्यै स्कूलमा लगिन। बरु कापीमा सारेर उनीहरूलाई सुनाउने गर्थेँ ।
कस्ता पुस्तकहरू पढ्न बढी मन पथ्र्यो?
किताब छानेर पढ्न पाउने अवस्था थिएन त्यती बेला । किनभने गाउँघरको बसाई,त्यस्तै ठाउँको स्कुलको पढाइ भएकाले पाठ्यपुस्तक बाहेकका किताब पाइँदैन । मुना मदन नै बढी पढ्न मन पर्थ्यो ।किनभने झ्याउरे छन्दमा लेखिएकाले भाका हालेर गाउन मिल्ने ,भाषा सरल,गाउँघरमा लाहुर जानेको परिवारमा परेको पिडासँग मिल्ने भएकोले मुना मदन पढेर म कहिल्यै अघाइन ।
धेरै पटक दोहोर्याइ पढेका पुस्तकहरू कुन कुन हुन्?
मुना मदन पढेर नअघाउनुमा युवा परिवेश भएर पनि हुन सक्छ।
तपाईँ कुन उमेर समूहमा बढी पढ्नुभयो ?
त्यो भनेको युवा उमेर समुह नै भन्नुपर्छ ।
पुस्तक पढिरहँदा त्यसका पात्र, लेखक र परिवेशले कतिको पछ्याँउछ ?
पुस्तक पढ्दा पात्र ,परिवेश,घटनाले पाठकलाई पछ्याएन, मन छोएन भने त्यो पुस्तक सफल हुँदैन। मलाई पनि कुनै कुनै पुस्तकले मात्रै मन छुने गर्दछ।
तपाईँको विचार पढ्नु के का लागि हो ?
मेरो विचारमा किताब पढ्नु भनेको ज्ञानको भण्डार भर्नु हो । जसले जति धेरै किताब पढ्छ उसले उति नै धेरै ज्ञान सञ्चय गर्न सक्दछ।
कस्ता पुस्तकले जीवनमा बढी सघाए ?
धेरै छन् । खास गरि सामाजिक मूल्य र मान्यतामा आधारित यथार्थवादी लेख रचना भएका किताबले मेरो जीवनमा बढी सघाएको मैले अनुभूत गरेको छु।
पाठकलाई १० वटा पुस्तक पढ्नको लागि सिफारिस गर्नुपर्दा ?
पाठकलाई १० वटा किताब पढ्न सिफारिस गर्नुपर्दा डा.रामप्रसाद ज्ञवालीको “स्वप्नदृष्टी महाकाव्य“,बाजुराम पौडेलको “उनी उर्मिला महाकाव्य“,माया ठकुरीका कथाहरू,भागीरथी श्रेष्ठको “रङ्गिन पोखरी “लघुकथा सङ्ग्रह र“ विभ्रम कथासङ्ग्रह,पद्मावति सिंहको “मौन आकाश“ उपन्यास,जनमतबाट प्रकाशित “अक्षर बिम्बमा लेखिकाहरू“ नेपाल प्रज्ञा प्रतिष्ठान बाट प्रकाशित “समय सन्दर्भमा नारी कथा“,गङ्गा कर्माचार्य पौडेलको “गण्डकी प्रदेशका नेवारको इतिहास ,नइ प्रकाशन बाट प्रकाशित “शताब्दी पुरुष गाथा“
तपाइसँग कति जति पुस्तकहरूको कलेक्सन होला?
छोराछोरीलाई साहित्य प्रति त्यति रुचि देखिन । त्यस कारण मैले जम्मा गरेका किताबहरू मेरो शेषपछि बेवारिसे हुनबाट बचाउन विभिन्न पुस्तकालयहरूमा उपहार स्वरूप दिने गरेकी छु । आफूलाई अध्ययन गर्न थोरै मात्र राखेकी छु ।
पढ्न चाहेर पनि पढ्न नपाएका कुनै पुस्तक?
पढ्न चाहेर पनि नपाएको किताब चाहिँ छैन।पाएकै छु ।
मन परेका ५ जना लेखकहरूको नाम लिनुपर्दा?
मन परेका पाँच जना स्वदेशी लेखकहरू दिवङ्गत भइसक्नुभएका पारिजात,वानिरा गिरी,लक्ष्मीप्रसाद देवकोटा,राष्ट्र कवि माधव घिमिरे,रमेश विकल।
नयाँ पुस्तालाई नपढी नहुने पुस्तकको रूपमा कुन–कुन पुस्तकहरू सिफारिस गर्नुहुन्छ ?
नयाँ पुस्तालाई यो किताब पढ्नु भनेर सीमित घेराभित्र राख्नु भन्दा भेटे जति, पाए जति,सके जति किताब पढ्नुहोस् भन्न चाहन्छु।
तपाईँको पछिल्लो साहित्यिक योजनाहरू के–के छन् ?
मैले खासै योजना बनाएर कलम चलाउने गरेकी छैन। विशेषतः म नेपाली भाषा साहित्यका विविध विधा र विभिन्न उमेर समूह जस्तै बाल,किशोर,प्रौढ सबै खाले पाठकको लागि साहित्य रचना गर्ने हुँदा । तत्सम्बन्धी रचना गर्ने मुड जति बेला चल्छ अनि लेख्ने गर्छु ।
तपाईँको जीवनमा सानैदेखि कोही रोल मोडेल छ, जसले जीवन यात्रामा निरन्तर सकारात्मक प्रेरणा दिएको होस् ?
मेरालागि मेरी आमा कृष्णादेवी कर्माचार्य रोल मोडल हुनुहुन्थ्यो । उहाँले पढ्नु भएको थिएन तापनि अहिले पिएचडी गरेका डाक्टर सँगभन्दा बढी ज्ञान भएको म पाउँथे । उ जमानामा पनि मेरी आमा प्रगतिशील विचारको हुनुहुन्थ्यो । छोरी पढाउने चलन थिएन । रजस्वला हुनु अगावै अर्थात् ८.१० वर्षको उमेरमा कन्यादान गरिन्थ्यो । तर मेरी आमाले दितिहरूको विवाह १८ वर्ष कटेपछि मात्रै गरिदिनु भएको थियो । मैले पनि उहाँकै जोड बलले पढ्न पाएकी थिएँ।
स्रष्टा र सिर्जनाको सम्बन्धलाई तपाईँ कसरी हेर्नुहुन्छ?
स्रष्टा र सिर्जना एक अर्काका परिपूरक हुन् । स्रष्टा विना सिर्जना र सिर्जना विना स्रष्टा अधुरो हुन जान्छ।