पाँचथरको समथिङ फाउण्डेशनले मलाई माघ २९ गते रु.५५,५५५।– (पचपन्न हजार पाँचसय पचपन्न) नगद सहितको सम्मान हुने सूचना अध्यक्ष मंगल मेघा र जनमतका विशेष सहयोगी तथा फाउण्डेशनका कोषाध्यक्ष भवानी तावाले करिव २ हप्ता अगाडि नै खबर गर्नुभएको थियो । मैले माघ १७ गते नै त्यहाँ पुग्ने वचन दिएको थिएँ । कोसँग जाने कुरा मिलाइसकेको थिइनँ । पछि भारतीसँगै जान कुरा मिलाइयो । भारतीको अलिक खुट्टा दुखाउने भएकोले हवाइजहाजबाट भद्रपुरसम्म जाने भयौं । काठमाडौंबाट भद्रपुरमामाघ २७ गते पुग्ने र भद्रपुरबाट काठमाडौं फागुन १ गते फर्किने टिकट मिलाई दिए मित्र उत्तम मानन्धरले । घरायसी झञ्झटबाट केही दिन उन्मुक्ति हुनु नै कल्याण सम्झेर नै होलान् भारतीले पनि पाँचथर जाने स्वीकृति दिइन् ।
२७ गते त्रिभुवन विमानस्थलमा ठीक समयमा पुग्यौं तर नेपालको हवाइसेवा ठीक समयमा नउड्नु यहाँको नियति भएको जस्तो आज पनि एकघण्टा भन्दा बढी समय भद्रपुरबाट आउने बुद्ध एअर कुर्नु पर्यो । बुद्ध एअरको तोकिएको कोठामा करिव ५०० जनाभन्दा बढी यात्रुहरु उकुसमुकुस मनमा राखेर हवाइजहाज पर्खिराखेका छन् । कोठा टन्न भरिएको छ; सबैको कानले हवाई सूचना पर्खिराखेको देखिन्छ । बल्ल एकघण्टा पन्ध्र मिनेटमा चौरभित्र मोटर चढ्ने आदेश भयो । बाहिर चौरमा रहेको बसमा हामी दुवैजना चढ्यौं । बस पनि केहीक्षण ढिलामात्र गुड्यो । ११:३० बजेको हवाइजहाज १:१५ बजे मात्र उड्यो ।
झापामा २:०० बजेमात्र पुग्ने भयौं । चन्द्रगढीका मित्र देवीचरण भण्डारी पर्खिंदा पर्खिंदै थाक्नुभएर होला झापाका वरिष्ठ साहित्यकार चूडामणि रेग्मीकहाँ पुगेको खबर भयो । हामी पनि चूडामणिसरलाई एकपल्ट भेटेर मात्र इलाममा बास बस्न जाने कुरा मिलाइएको थिएँ । इलामको एउटा होटेलमा कोठा मिलाई राख्न विमल वैद्यलाई भनिसकेकोले हामी इलामका लागि सुरक्षित नै थियौं । चूडामणिसर र देवीचरण भण्डारी हाम्रो प्रतीक्षा गरिरहनु भएको रहेछ हामी टेम्पुबाट ओर्लिंदा नै परबाट देख्यौं । झापामा पुगेर मैले मनमा थपक्क आदरसाथ राखेको मेरा अग्रज साहित्यकार चूडामणिसर भेट्न पाइने भयो । टाढैबाट नमस्कार साटासाट भयो । लेखनाथचोकैमा रहनुभएका नेपालीभाषा साहित्यका अभियन्ता तथा विशिष्ट झर्रो साहित्यकार चूडामणि रेग्मीसँग आज भेटघाट भयो । घरमा चूडामणिसरलाई सहयोग गर्ने एकजना महिलाबाहेक कोही थिएन । देवीचरणजीकै सहयोगमा खाजाको व्यवस्था भयो । हामीले मीठो खाजा खायौं, झापाको गुलियो सुन्तला चाख्यौं र दूधको चिया पनि पियौं । फोटाहरु खिँच्यौं । आत्मियता एक–अर्कामा साट्यौं । उहाँ हाम्रो घरका लागि पनि चिरपरिचित आदरयोग्य साहित्यकार हुनुहुन्थ्यो । साहित्यिक क्षेत्रका मेरा मनले खाएका आदरवान व्यक्तित्व हुनुभएकोले भारती र मेरो मन उहाँलाई भेट्न पाएर खुसी रह्यो ।
बिर्तामोड बसपार्क पुगेर इलामको मोटर चढ्नु थियो । देवीचरणजीले मिलाइदिएको टेम्पु आइपुगेकोले उक्त टेम्पुमा चढेर विदाइका हातहरु मिलायौं र झापाको माया साँचेर इलामतर्फ लाग्ने मोटर चढ्ने धुनमा पुग्यौं । टेम्पु ड्राइभरले पनि लगेज मोटरमा राखिदिने, राम्रो सिट मोटरमा मिलाइदिने कार्य गरेर हात हल्लाएर जानुभयो । इलाम, पाँचथरतर्फ जिपहरु कुद्दा रहेछन् । इलामसम्म पुग्न प्रत्येक व्यक्तिको भाडा रु.५००।– (पाँचसय) कायम गरिएको रहेछ । पेसेन्जर पाए कोचाकोच नै गर्दा रहेछन् । त्यति व्यवस्थित सिटहरु थिएनन्, कोचाकोचमा कोचिएर नै जानुपर्ने रहेछ । घुम्टी बाटाहरुको उकाली–ओराली चढ्दै गुड्नु पर्दो रहेछ । हामी पनि एकनासले मोटरसँगसँगै गुडिरह्यौं । बाँस र अम्रिसोका झ्याङहरु बाटो सँगसँगै कुदिरहेकोजस्तो देखिन्छ । इलाम नजिक मोटर चढ्दै गर्दा गमलामा सजाइएका राता, नीला, पहेँला, सेता फूलहरु स्वागत गर्न लहरै प्रतीक्षामा रहेकाजस्ता देखिन्छन् । इलाम पुग्न–पुग्न लाग्दा पहिले–पहिले पुग्दाका पनि माया मनमा राखेर इलामबारेको एउटा मुक्तक मैले बनाएँ —
इलाम
फूलहरु गमलामा झुलाउँदै माया पो देखाइरहेछ इलाम
अम्रिसो र बाँसका झ्याङहरुसँग मायामा उक्लिरहेछ इलाम
प्रेम गरेर हामीलाई चियाका बुट्यानहरुले हेरिरहेजस्तो –
घुम्टी–घुम्टीमा स्पर्श बोकेर हामीलाई स्वागत गरिहेछ इलाम ।
००
इलाम बसपार्कनेर ड्राइवरसाहेबले मोटर रोके। साँझ खसिसकेकोले अँध्यारोले इलामलाई पनि छोप्न खोजिसकेको बखत भयो । करिव ३ घण्टा खुट्टालाई अप्ठ्यारोमा कोचेर राख्नुपर्दाको दु:ख इलाममा मोटरबाट झर्दा भारतीको अनुहारमा पोखियो । बसपार्क बन्दै रहेछ । पहिले पनि बसिसकेको होटेलमा त होला भनि बसपार्कमा नै रहेको पुरानो होटेलमा छिर्यौं । विमलजीले भनेको यहीं त होला भनि हाम्रो ब्यागेज तान्दै साहूजी आफैंले कोठामा पुर्याइदिए । होटेलहरु सुनसान रहेछन्, अझ हामी बसेको होटेलमा हामी दुईजनामात्र अतिथि । होटेल अर्कै बुक गर्नुभएको रहेछ तर हामी पर्यौं होटेल व्यापारीको फन्दामा । तर केही छैन; मनलाई थुमथुम्यायौं । खाना खान लाग्दा हामीलाई भेट्न विमल वैद्य आउनुभयो । इलामका व्यस्त मान्छे । उहाँ कवि, वडाध्यक्ष, व्यापारी, क्यामेराम्यान, पत्रकार, इलामका समाजसेवी सबै क्षेत्रमा त्यति नै सक्रिय रहनुभई आफूलाई समर्पित तुल्याउन खप्पिस अभियन्ता रहनुभएको थाहा पाइयो । हामी खाना खाँदै र उहाँ चिया पिउँदै कुराकानी सुरु गर्यौं ।
जनमत इलाममा १० कपि नियमित पठाउने र उहाँले नियमित सहयोगी जुटाइदिने भयो र जनमतको विशेषमा कवि–स्रष्टाको रुपमा उहाँलाई ल्याउन सकिने कुराकानी भयो । भोलि बिहान ७:०० बजे उहाँको घर अगाडि नै मोटर आइपुग्ने भएकोले बिहान ६:०० बजे नै चिया पिउन उहाँले अनुरोध गर्नुभएर विदा भन्दै जानुभयो । आज इलामको होटेलमा भारती र मैले अलिअलि जाडो भोग्दै रात बितायौं ।
६:०० बजे बिहान नै कवि विमल वैद्यकहाँहामी पुग्यौं । घर अगाडि नै उहाँ पर्खिरहनुभएको रहेछ । नमस्ते साटासाट भयो । उहाँले डोर्याएर माथिको तल्ला अर्थात् बैठक कोठामा लानुभयो । बहिनी चियाको तयारीमा रहनुभएको रहिछन् ।परिचय भयो । चिया–नास्ता ल्याउनुभयो । चियासँग मीठो नास्ता पनि खायौं । विमलजीले आफ्नो फोटो कलाकारिता देखाउनुहुँदै फोटाहरु खिँच्नुभयो । भारती बसिरहेकी पोजमा पछाडिबाट क्यामेरा चलाउनुहुँदै सुन्दर फोटो खिँचेर देखाउनुभयो । निकै शालीन ढङ्गले हाम्रो मित्रतामा आत्मियता थपिने कार्य भयो । ७:०० बजे मोटर आइपुगेको खबर भयो । विमलजी र बहिनीसँग विदा माग्यौं । हामी मोटरमा चढ्यौं ।
विस्तारै मोटरले इलाम छोड्दै पाँचथरमा पुग्नका लागि उकाली–ओरालीहुँदै घुम्टी बाटोहरु पार गर्दै अगाडि बढ्न थाल्यो । पाँचथर पुग्न करिव ३ घण्टा लाग्दो रहेछ । मोटर कुदिरह्यो र हामी मोटरसँगसँगै गुडिरह्यौं । तकलिफ केही भएन । मनमा पाँचथर पुग्ने रहर थियो । पहिले पनि जनमतको यात्रामा पाँचथरमा हामी दुबैजना पुगिसकेका हौं । करिव ४ वर्ष अगाडि हामी त्यहाँ पुग्दा त्यहाँको ७ वटा संस्थाहरुले मेरो सम्मान गरिसकेको सम्झना छ । त्यसैले पाँचथरसँग पुरानो मित्रता र आत्मियता पनि थियो हाम्रो । यी सबै खालका मित्रता मनमा साँचेर मेरी जीवनसाथी भारतीसँग पुन: पाँचथर पुग्ने र त्यहाँबाट दिने साहित्यिक पुरस्कार लिने इच्छा बोकेर गएका हौं । १०:०० बजे गाडीले फिदिम बजारस्थितअजिमा होटेल देखाउँदै नजिक ओराली दिए । फिदिमले स्वागत गरे । फिदिमका मित्रहरु मंगल मेघा, राजेन्द्रप्रसाद काफ्ले र भावानी तावाले हामीलाई डोर्याएर बस्ने होटेलको कोठामा पुर्याई दिनुभयो ।
मुख्य बजारकै बीचमा नै रहेछअजिमा होटेल । बार्दलीबाट फिदिम बजार नियाल्यौं । निकै फरक पो देखियो ४ वर्ष पछि फिदिम बजार । जाँगर बोकेर सफा भएर, फूल पातसँग मन साँटेर हौसला बोकेर हाँसिरहेको जस्तो पो देखियो फिदिम बजार । खानापछि फिदिम बजारमा एकक्षण घुम्यौं र सुन्दर फिदिमको स्पर्श र माया मनमा राखेर घुम्यौं र फोटाहरु खिँच्यौं । पहिलोचोटी फिदिममा पुग्दा नै आसपासका हेर्नुपर्ने ठाउँहरु हेरिसकेकोले धेरै ठाउँमा घुम्ने रहर गरेनौं । नपुगेको ठाउँमा मात्र पुग्ने भयौं ।
तमोर नदी छेउ नपुगेको कारणले आयोजक संस्थाले जुटाइदिएको टेम्पुमा फिदिमका सहयोगी मित्र धनपति ढुंगेलसँग भएर हामी तमोर नदीमा पुगेर डुङ्गा चढ्ने भयौं । फिदिमबजारबाट १३ किलोमिटर पर रहेछ तमोर । हामी तमोरको छेउमा पुग्यौं । जाडोले कठ्याङ्ग्रीएर तमोर स्युँ स्युँ गरेर बगिरहेजस्तो, चिसो भएकै कारणले तमोर दुब्लाउँदै गरेजस्तो भएपनि उनी आफ्नै ढङ्गमा बगिरहेको देखियो । डुङ्गा चल्दोरहेछ तमोरमा । डुङ्गा चलाउनेहरु भेटियो । ज्याकेट लगाउन अनुरोध भयो । सातजना चढ्ने भयौं । बहिरहेको तमोर हेर्दै हामीहरु डुङ्गामा बसेर आधाघण्टा तमोर नदीको तलमाथि घुमिरह्यौं । मनमा उत्कण्ठा थियो; त्यसैले डर पटक्कै लागेन । पानी सँगसँगै घुम्न पाउनु नै हाम्रो लागि अहोभाग्य भयो । हामीलाई तमोर नदीमा डुङ्गा चलाउनेहरुले मज्जाले घुमाई दिए । हामीले पनि मज्जाले तमोरसँग स्पर्श गर्न पायौं । फिदिममा पुगेर तमोरसँग मन साट्न पाइयो । भ्रमण सार्थक रह्यो । डुङ्गाबाट झरिसकेपछि तमोरलाई आँखामा राख्दै घामसँगसँगै न्यानो माया साटेर बगरमा राखेका मेचहरुमा रम्दै हामीहरु तीनजनाले गुलिया सुन्तलाहरु चाख्यौं । निकै रमाइलो भयो । धनपतिजीले बोक्नुभएको तीनकिलो गुलियो सुन्तलाले हाम्रो सबै खालको भोक र तृष्णा मेटिदिए । टेम्पुमा चढ्यौं र फिदिम नजिक–नजिक गुड्न थाल्यौं । डाँडामाथि रहेको महादेव मन्दिरमा पुग्ने भयौं । निकै माथि रहेको महादेव मन्दिरमा हामी पुग्न सफल भयौं । अलिक अग्लो अग्लो खुट्किलाहरु चढ्दै माथि पुग्नुपर्ने भए तापनि डर पटक्कै मनमा राख्नु परेन । माथि पुगिछाड्यौं, रमाइलो नै भयो ।
साँझ खसिसकेको छ; त्यसैले हामीहरु फिदिमतर्फ फक्र्यौैं । भर्खरैमात्र गोविन्दराज भट्टराई र अन्य छ जना दमकका साहित्यकारहरु आइपुग्नुभएको खबर प्राप्त भयो । खाना खाने समय भएकाले दमौलीका साहित्यकार मित्रहरुसँग बसेर सँगै खाना खायौं । मित्रगोविन्द भट्टराईका माइलादाई कमलराजजी र भाउजूसँग पनि परिचय भयो । डा. अञ्जना बहिनीसँग त पहिले नै परिचय थियो । पद्मप्रसाद ओली, नारायणप्रसाद शर्मा फुयाँल सँग पनि परिचय भयो । खेमलाल पोखरेल पुराना जनमतकै मित्र भई हाल्नुभयो । उहाँहरुसँग साहित्यिक अभियानका थुप्रै खालका यात्राका कुराहरु भए । ‘आकाशगंगा मुन्तिर’ (हाम्रा जुनीभरको शैक्षिक यात्रा) प्रकाशनका सन्दर्भमा भए गरेका कार्यहरुको चर्चा–परिचर्चा उहाँले सुनाउनुभयो । जेष्ठ नागरिक बनिसकेका शिक्षकहरुको आत्मसंस्मरण र यात्राको यो ग्रन्थ प्रकाशनका लागि प्रत्येक लेखकसँग एउटा शब्दको १ रुपैयाँ ६० पैसा उठाइएको रहेछ । सिर्जनाका मनोरमढङ्गका कथा सुनाउनुभयो । लगभग ६ सय पृष्ठको उक्त पुस्तकमा ३५ जना लेखकहरु जन्माउने काममा सघाउनुभएर विद्वानमित्र प्रा.डा. गोविन्दराज भट्टराईले एउटा राम्रो कार्यमा साथ दिनुभएको ऐतिहासिक सिर्जनाका कथा सुन्न पायौं । त्यतिमात्र नभई दाई कमललाई पनि साहित्यिक यात्रामा सक्रिय तुल्याउन दिनुभएको आड र भरोसाका कुराहरु सुनिरहूँजस्तो लाग्यो । फिदिममा सँगै रहँदा र पाँचथरमा केही घण्टा सँगसँगै बस्दा गोविन्दजीसँग निकै रमाइलो र ऐतिहासिक कुराकानी भयो । फिदिममा रहेको अजिमा होटेलमा अप्ठ्यारो केही नभोगिकन रात बितायौं ।
भोलिपल्ट बिहान ११:०० बजे उद्योग वाणिज्य संघको सभाकक्षमा ‘समथिङ फाउण्डेशन’ को सम्मान कार्यक्रममा हामी पुग्नु थियो । दमकबाट आउनुभएका ७ जना मित्रहरु र हामी २ जनालाई डोर्याउँनुहुँदै मित्र मंगल मेघाले गन्तव्यस्थलमा पुर्याउनुभयो । २०७८ सालको समथिङ सम्मान मलाई र २०८० को सम्मान गोविन्दराज भट्टराईलाई दिने घोषणा भएको थियो । उक्त कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि लेखक तथा पूर्वमन्त्री दीपकप्रसाद बास्कोटाबाट हामीहरु पुरस्कृत भयौं । दूबोको माला, दोसल्लासहित रु.५५,५५५।– नगदसहित सम्मान–पत्र प्रदान गर्नुभएर हामीलाई सम्मान गर्नुभयो । कार्यक्रमस्थलमा अगाडि नै झापा जाने मोटर आइपुग्ने सूचना पहिले दिइएको थियो । कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि बोल्दै गर्दा २:०० बजे मोटर आइपुगेको खबर प्राप्त भएकोले हामी वाध्य भएर सबैसँग विदाईको हात हल्लाएर भारती र म मोटर भएतर्फ लाग्यौं । भोलि १२:०० बजेको प्लेनको टिकट भएकै कारणले हामी झापा बस्न जानुपरेको हो । पाँचथरको फिदिमलाईमैले मुक्तकमा यसरी राखे –
पाँचथर
टक्क परेर लावती फिदिमको विकास हेरिरहेजस्तो शालिकमा उभिरहेछ
फाल्गुनन्द पनि गम्भिर भएर नैतिकता हराएको परिवेश र वस्ती हेरिरहेछ
डाँडामा रमेर फिदिमले मायालाग्दो ढङ्गलेयत्रतत्र पाँचथरलाई हेरिरहेजस्तो–
समथिङले अक्षर पनि शक्ति हो भनेर आफ्नो सिर्जना सबैलाई देखाइरहेछ ।
००
पाँचथरबाट झापा पुग्ने रहरले हामी जीपमा रमेर कुदिरह्यौं । पाँचथरले प्रदान गरेको मायाको चिनो, सम्मान–पत्र र पुरस्कारको रकम बोकेर हामीहरु घुम्टीबाटोहुँदै तल–तल झर्दै गयौं । बाटो निकै लामो रहेछ; कुददा–कुद्दै नै कहिले पुग्लाजस्तो ‘हाई’ लाग्दा बाटो रहेछ । झापाको चारआली झरेर चन्द्रगढी पुग्ने योजना बनाइएकोले हामीहरु चारआली पुग्ने धुनमा थियौं । रातको ८:०० बजिसकेको छ; चारआली देखापरेको छैन । चारआलीबाट मोटर पाइएला कि नपाइएला भन्ने धुनमा मन राखेर एकनासले हामी मोटरबाट कुदिरह्यौं । बल्ल झिलिमिलि देखिंदो ‘चारआली’ पुगेको संकेत मिल्यो । हामी झर्नासाथ टेम्पु ड्राइबरहरुले घेर्न थालिहाले । एकजना टेम्पु ड्राइबरले रु.५००।– मा चन्द्रगढी पुर्याउने भयो । तै टेम्पु मिल्यो । टेम्पुबाट हामी चन्द्रगढी पुग्ने भयौं । करिव १३ किलोमिटर टाढा रहेको चन्द्रगढी बजारमा पुगेर शिभान्स होटेलखोज्नु थियो । जनमतका सहयोगी मित्र देवीचरण भण्डारी नोकरीको सिलसिलामा इलाम रहनुभएकोले उहाँका छोरा प्रभात भण्डारीले बुक गरेको उक्त होटेल पुगेर भारती र मैले विश्राम लिनु थियो । परैबाट झिलिमिलि बत्तिहरुले प्रकाशमय बनाइएको होटेल नै ‘शिभान्स’ रहेको पत्ता लाग्यो – हामी होटेलभित्र छिर्दै गर्दा प्रभात पनि आइपुगे । खाने बस्नेको टुङ्गो मिल्यो । प्रभातभाई हामीलाई भरोसा पोखेर जानुभयो । चन्द्रगढी झापामा पनि एकरात बिताइने भयौं । होटेल सुनसान थियो । हामीले खाना खायौं । प्रभातभाई हामीसँग छुट्टिनुभयो । भारतीसँगसँगै भएर कोठमा छिर्यौं । मोटरको घुमाई र तल–माथि, तल–माथि कुद्दाको सास्तीले हामीलाई भुसुक्कै निद्रादेवीले छोपीहाल्यो । जय झापा मनमा राखेर निदायौं ।झापालाई मैले मुक्तकमा यसरी राख्ने प्रयत्न गरें –
झापा
अनन्त यात्रा बोकेर आफ्नो मनलाई बलियो बनाएर उक्लिरहेछ माथि–माथि झापा
अन्नको भण्डार बनाउन यिनले केमात्र गरेनन् चढिरहेछ विजय–गान गाउँदै झापा
राजनीति लगायत धेरैथोकमा बलिदान चढाएकैले झापा आफूलाई चिनाइरहेछ–
अग्लो टावरले मात्र होइन अक्षरकै खेतीमा पनि आफूलाई चिनाउन सफल छ झापा ।
००
भोलिपल्ट बिहान फागुन १ गते चन्द्रगढीस्थित लेखनाथ पुस्तकालयमा मेरो सम्मानमा स्वागत कार्यक्रम बिहान ८:०० बजे राखेको खबर कवि खगिन्द्रा खुसीले खबर गराएको थियो । जाने भनेर ठीक पार्दै गर्दा देवीचरणजीकी जीवनसँगिनी गीताकुमारी भण्डारी छोरा प्रभातसँग आइपुगिन् । झापामा स्वागत छ भन्दै खादा लगाई दिनुभयो हामी दुवैजनालाई । पुस्तकालय पुग्न टेम्पु झिकाई दिनुभयो । ठीक ८:०० बजे लेखनाथ पुस्तकालयमा पुग्यौं । खगिन्द्रा बहिनीसहित साहित्यिक मित्रहरु होम सुवेदी, विरही अधिकारी, किशोर आचार्य, डम्बर उपाध्याय, लीलाधर बाँस्कोटालगायत अन्य झापाली मित्रहरुसँग हात मिलाइयो । २०६७ मा स्थापित भएको लेखनाथ पुस्तकालयको आजीवन संरक्षकका लागि रु.२१००।– दिएर रसिद प्राप्त गरियो । झापाका केही साथीहरुका अगाडि उक्त पुस्तकालयमा भएको स्वागत कार्यक्रममा प्रमुख आतिथ्यता गर्दै मैले भने– ‘पुस्तकालय खोल्न खोज्नु, पुस्तकालय समाजमा स्थापना गर्नु र पुस्तक प्रकाशन गर्ने जाँगर चलाउनु यस देशका लागि अपराधजन्य कार्यजस्तो हुन गएको स्थिति भए पनि यी सुन्दर कार्यहरुको विजय अवश्य हुनेछ । पुस्तकालय खोल्नु, पुस्तक प्रकाशन गर्नु र अक्षरको माया गर्नु असल काम हो । भोलि अवश्य उपलब्धि प्राप्ति हुनेछ । तपाईंहरुको पुस्तकमोहप्रति मनदेखिको सलाम छ ।’ सङ्क्षेपमा यस्तै विचार राखेर कार्यक्रमस्थलबाट बाहिर निस्कियौं ।
कार्यक्रमपछि होटेलमा गई खाना खायौं । हवाइमैदानमा पुग्न टेम्पु आइपुगे । ११:५० मा उड्नुपर्ने हवाइजहाज १:०० बजेतिर मात्र उड्यो । ढिला हुनु, ढिला गर्नु नेपालीहरुको नियति नै बन्यो । लमतन्न परेर सुतेजस्ता पहाडहरु हेर्दै मनमा नेपालको तस्विर राख्दै झापाबाट काठमाडौं उडिआयौं । झापाहुँदै इलाममा एकरात बसेर भोलिपल्ट पाँचथरवासीहरुले श्रद्धावत् प्रदान गरेको न्यानो र गर्हुंगो मायाको कोसेलीबाट पुरस्कृत भएर, झापामा भारती र म रात बिताउन आयौं । तीनदिनको यो बसाइमाइलामले विमलमय प्रेम दियो, पाँचथरले भावुक भएर गर्हुंगो उपहार दियो र झापाले चूडामणि भएर स्नेह दियो, देवीचरणले प्रभातकै माध्यमबाट माया र प्रेम दियो । इलाम, पाँचथर, झापासँगै भएर यसपल्ट पनि साहित्यको स्पर्श लियौं र दियौं ।
००