मीन बहादुर भाम निर्देशित ‘शाम्बाला’ले विश्व प्रतिष्ठित फिल्म फेस्टिभल बर्लिनको प्रमुख प्रतिस्पर्धातर्फ छनोट हुने पहिलो नेपाली फिल्मको इतिहास रचेको छ । बर्लिनको ७४ औँ संस्करणतर्फ अन्तर्राष्ट्रिय फिल्मको विधामा भामको यो फिल्म छानिएको हो ।
फिल्ममा हिमाली भेगकी गर्भवती पेमाले व्यापारका लागि ल्हास्सातिर हराएका पति खोज्दाको यात्रा समेटिएको छ । अर्का पति कर्मा(देवर)सँग पतिको खोजीमा हिडेकी पेमाले त्यही यात्रामा अनुभव गर्दै जाने कथा नै ‘शाम्बाला’मा प्रस्तुत छ ।
मीन र निर्देशक अविनाश विक्रम शाह लिखित फिल्म शाम्बाला डोल्पाको ४२ सयदेखि ६ हजारको उचाइमा खिचिएको हो । फिल्म टिबेटियन र नेपाली भाषामा बनेको छ ।
नेपालसँगै फ्रान्स, नर्वे, हङकङ, टर्की, ताइवान, अमेरिका र कतारसँगको सहकार्यमा बनेको फिल्मको बजेट ९ लाख ८० हजार युरो हो । भाम यो फिल्ममा विश्वका विभिन्न चर्चित ल्याबबाट करोडौंको अनुदान(फन्ड) ल्याउन सफल भएका छन् ।
भाम निर्देशित लघु फिल्म ‘बाँसुल्ली’ले पहिलोपटक नेपालबाट भेनिस प्रवेश पाएको थियो । फिचर फिल्म ‘कालोपोथी’ले त भेनिस क्रिटिक्स वीकतर्फ ‘फेडेरा उत्कृष्ट फिल्म अवार्ड’ जितेको थियो ।
‘शाम्बाला’मा थिन्ले ल्हामो, सोनम तोपदेन, कर्मा शाक्यलगायतको अभिनय छ । फिल्ममा बहुपति प्रथासँग जोडिएकी महिलाको जीवनको गहिराईमा छिर्ने प्रयास भएको छ ।
यो फिल्म बन्न ८ वर्ष लागेको निर्माण टिम सुनाउँछन् । ‘८ वर्षदेखि मेरा निर्माताले यो फिल्ममा लगानी गरेर पर्खिदिनुभयो सबैलाई धन्यवाद,’भामले निर्मातालाई धन्यवाद दिँदै भने,’यो फिल्ममा टिबेटियन भाषाको प्रयोग छ । मौलिकपना नहराओस् भनेर हामीले त्यो भाषा प्रयोग गरेका हौं ।’
यो फिल्मको सुरुवातमा नाम ‘चिसो बर्ष’ राखिएको थियो । तर, ४४ वटा ड्राफ्ट तयार पारेपछि मीनले फिल्मको नाम ‘शाम्बाला’ राखेका हुन् । यो फिल्मका लागि मीनले ८ बर्षको समय लगाएका थिए । तर, फिल्म खिच्नका लागि भने उनले लामो समय लगाएनन् ।