भनिन्छ एउटा सिङ्गै मरुभूमिलाई लिएर उभिएको अस्ट्रेलिया । अस्ट्रेलिया पत्ता लगाएका बेलायतीहरुले आफ्नो देशका कैदी बन्दीहरुलाई सजाय दिनका लागि अस्ट्रेलियामा ल्याएको त्यो दारुण कालखण्ड । फर्केर बेलायत आउन नसकून् भन्ने अंग्रेजी सोच र शासकको धारणा अनुसार कतै समुद्रमा त कतै जंगलै जंगलको विकट ठाउँमा कारागार निर्माण गरेर राखेका रहेछन् । जस्को गुनासो अस्ट्रेलियालाई माया गर्ने आदिवासी अबोरजिनलहरुको सधैं रहने गर्छ । उनीहरुको कहालीलाग्दो इतिहास र आफ्ना पूर्खाले पाएको दु:खको बयान गर्दा आँखाबाट आँसु नझारी रहन सक्तैनन्, विचराहरु । तथापि अस्ट्रेलिया सरकारले प्रत्येक काम अर्थात् नयाँ सुरुवातमा र कुनै पनि सभा समारोहमा पहिलो प्राथमिकतामा राखेर आदिवासीहरुलाई सम्झिने र सम्मानका शब्द उच्चारण गर्छन् भन्दा नै आनन्द लाग्छ । किनभने इतिहास सम्झनु भनेको गर्व र गौरव गर्नु पनि हो ।
अवलोकनकै क्रम
इस्वी सम्वत् १८३० मा स्थापना गरिएको कारागार । कारागार निर्माणको लागि कैदीबन्दीहरुलाई नै जंगलबाट काठलगायत अन्य आवश्यक पर्ने निर्माण सामग्रीहरु बोकाएर ल्याएको । सोही सर्जामहरुबाट कारागारलगायत त्यहाँ आवश्यक अन्य भवनहरु निर्माण गरिएको देख्न पाइयो । यो ऐतिहासिक कारागार किन पनि भयो भने यस कारागारमा बेलायतबाट ल्याइएका बन्दीहरुलाई थुनामा राखिएको थियो । कैदीहरुले नै त्यतिखेरको समयमा इँटा पारेर निर्माण गरेका थिए भवनहरु । एउटा बाक्लो र हरियालीपूर्ण जंगल । जंगलबाट काठ ल्याएर निर्माण गरेका थिए आफ्नै सजाय कटाउने कारागार अर्थात् झ्यालखाना । जंगलसँग नारिएर रहेको समुद्र । हामीलगायत त्यहाँ पर्यटकको भूमिका निभाएका अन्यलाई ऋचगष्कभ मा राखेर घुमाइयो । र, देखाइयो मृत्यु भएका र मारिएका कैदीहरुलाई गाड्ने ठाउँ अर्थात् चिहान । बुद्धिबाट प्राप्त जानकारी हो यो । यो समुद्रबाट भाग्ने वा जाने हो भने सोझै एन्टार्टिका अर्थात् कुमेरु प्रदेशमा पुगिन्छ । यो भूमि नभएको सामुद्रिक भाग हो ।
बन्यो समूह
एउटा समूहमा पच्चीस जनासम्म रहने गरी केही समूह बनाइयो । प्रत्येक समूहमा एक जना गाइड (मार्गदर्शक) अर्थात् सम्बन्धित क्षेत्रको जानकारको व्यवस्था । हो तिनैले हामीलाई पोर्ट आर्थरमा रहेका सरकारी भवन, कारागार, हुलाक घर, चर्च, सुरक्षार्थ खटिने सुरक्षाकर्मीको लागि एउटा अग्लो टावर (जस्ले पोर्ट आर्थरभित्रको भूभागभित्र भएका यावत भवनको निगरानी र कैदीहरुको बारेमा जानकारी राख्ने गरी स्थापना गरिएको), कमाण्डर आवासगृह, स्कुल सैन्य जत्था र अन्यका छोराछोरीहरुलाई निशुल्क अध्यापन गराइने विद्यालय । यी सबै सञ्चालनमा रहेकै अवस्थामा भयंकर आगो लागेका कारण वर्तमानमा सबै भवनहरु केवल खण्डहर मात्र रहेको देख्न पाइयो । सरकारी संरक्षणका कारण पर्यटकको ध्यान तान्न भग्नावशेषलाई जोगाएर राखेकै कारण देख्न पाइएको हो ।
मोडियो आजको यात्रा । ऐतिहासिक भग्नावशेषको दृश्यपानपछि अन्यत्र लाग्यौं हामी ।
Sheffield Town
मेलवर्नमा हुँदैमा एक साँझ मिक्लेह्यामका अमृत मरहट्ठाको घरमा हामीलाई खानको लागि निम्ता थियो । प्रसंगबश क्रेड माउन्टेन जाने हाम्रो योजना रहेको जानकारी गराउँदा अमृतले भनेका थिए पक्कै पनि क्रेड माउन्टेनको उकालो लाग्नुअगावै एउटा सानो सहर आउँछ । जहाँ प्रत्येक घरका भित्तामा मात्र नभएर रेष्टूराँका भित्ताहरुमा पनि :गचब ि(आर्ट) कोरिएको पाइन्छ । सोही अनुसार आजको ब्रेकफाष्ट यतै लिने र भित्तामा कोरिएका कलाकारहरुको सुन्दर कलाकृतिहरुको अवलोकन गर्ने तत्काल क्षणिक योजना बन्यो । सोही अनुसार अवलोकन गर्यौं हामीले । कलाकार एकताको साथमा हुनुको फाइदा भनौं कि यात्रामा पाइएको नाफा हो । घर घरका भित्ताहरुमा मान्छे उभिए झैं, गफ चुटिरहे झैं जीवन्त चित्रहरु । पहाडका दृश्यहरुमा हिउँको शासन । विविध जनावरको दृश्य । हामीलाई पनि लोभ्यायो ऐतिहासिक चित्रकलाहरुले । फर्किने समयमा सम्झिए छ भने एकदुईटा चित्र लिएर जानुपर्छ । एकताको माग थियो यो ।
क्रेडल माउन्टेन
समुद्रको सतहबाट १५४५ मिटरको उचाईमा रहेको क्रेडल माउन्टेन । जो ५०६९ फिटको छ । यहाँको भ्रमणको लागि माथिल्लो भागमा पुगेपछि धेरै गाडीहरु अट्ने पार्किङको अभाव भएकोले हुनुपर्छ हामी सबैलाई टूर्स एण्ड ट्राभल्सको बसमा राखेर यात्रा गराइयो । चरिकोट, जिरीको सम्झना गराउने खालको बाटो । हिउँले खाएर भोक लाग्यो भन्न नसकेर बिरामी झैं देखिने रुख र बोटबिरुवाहरु । प्रत्येक बर्ष बाक्लो हिउँ पर्ने भएकोले पर्यटकको घुइँचो लाग्ने स्थल क्रेडल माउन्टेन ।
प्रत्येक वर्ष अप्रिल महिनाको तेश्रो हप्ता शुक्रबार, शनिबार र आइतबार क्रिश्चियनहरुको देशकै ठूलो चाड । आफ्नो धर्म मान्नेले मनाउने चाड भएको कारण यसलाई दोस्रो अस्ट्रेलियाको नजरमा ठूलो चाडको रुपमा लिइँदो रहेछ । बेलायतमा समेत यी दिनहरुमा बिदा हुने पुरानै प्रचलन । बिदाको फाइदा उठाउन मानिसहरु आउँदा रहेछन् । जसरी हामी पनि छोरी र ज्वाइँको बिदाको फाइदा उठाउन पुगेका थियौं ।
२०७९ बैशाख २ गते अर्थात् १५ अप्रिल २०२२
शुक्रबार ।
२ घण्टा ८ मिनेटको समयमा १४८ किलोमिटर छिचोल्नु पर्ने यात्रा ।
केवल गाडीहरु मात्र गुड्न सक्ने सडक । यहाँ पैदल यात्रीको लागि कुनै किसिमको पाइला नाप्ने गुन्जाइस छैन । कतै सर्प बेरिन खोजेझैंको बाटो । दुबैतर्फ हरियालीले छाएको जात जातका बोटबिरुवा र रुखहरुले आधिपत्य जमाएको घनाजंगल । यस्तोमा पनि कतै कतै अलिपर देखिन्छन् फाट्टफुट्ट घरहरु । जुनसुकै घरमा पनि केही गाडीहरु देखिन्छन् । सुन्दर बगैंचाले घरको शोभा बढाउनुलाई अचम्म मान्नु पर्दैन अस्ट्रेलियाको प्राय:जसो भागमा । यहाँ पनि त्यस्तै देखियो । लोभियो मन । लोभिएर के गर्नु, बस्नको लागि सानो हिस्सा पाउने भए पो लोभिनु । मनले मनलाई यस्तै निरुत्साहित गराउन खोज्छ । तर हतोत्साही नहुन र दिल खोलेर यात्रा नाप्न सल्लाह दिन्छ ।
ऊ त्यहाँ खरीढुङ्गा पाइँदो रहेछ । बुद्धि जस्ले गाडी कुदाइरहेछन् उनको नजर खरीढुङ्गामा पुग्छ । हामी जो गाडीभित्र छौं, त्यहाँसम्म हाम्रा आँखालाई पुग्न दिएका रहेनछौं । जस्का कारण हामीले देखेनौं । घुम्तीपछि पुन: आयो अर्को घुम्ती ।
‘यस्तो घुम्तीमा पनि ध्यान भने कता खरी (सेतो पत्थर) ढुंगातिर पुर्याएको हो ।’ एकताको प्रतिप्रश्न । केही समय सबै मौन व्रत बस्दै गर्दा बसबाट ओर्लने ठाउँले स्वागत गर्दै रहेछ ।
गाडीबाट ओर्लिएर बसमा
क्रेडल माउन्टेनको ठाडै उकालो भेट्नु अगावै निजी गाडीहरु रोक्न ठाउँको अभावका कारण सबैजना अट्ने बसको ब्यवस्था गरिएको रहेछ । अत: धेरैवटा गाडीलाई विश्राम प्रतीक्षामा रहेको दुईवटा बसमा मिसिन्छौं हामी । केही भारतीय र चाइनिज मूलकासँग मिसिएका छौं । तब: सबैलाई बोकेर बस हुइँकियो ।
बसले अवलोकन गराउँदै प्राकृतिक सुन्दरताको बारेमा चालकले जानकारी गराउन लागेपछि क्रेडल माउन्टेनमा जानको लागि हिँड्नु पर्ने । यत्रो ठूलो पहाडको माथिल्लो भूभागमा लमतन्न फैलिएको ताल । आज बिहानदेखिनै पानी परेका कारण बाँकी हिँड्नुपर्ने बाटो उकालो र ढुंगाको खातमाथि खात लगाएर बनाइएको यात्रुमार्ग । हामीसँग मात्र एउटा छाता । वर्षियो असिन्धरे पानी । ६ जनालाई ओत लाग्नै मुस्किल । हामी भिज्न थाल्यौं । जुलाई महिनामा भएको भए हिउँले यतिमाथिसम्म पनि आउन सकिने थिएन पथप्रदर्शक चालकले जानकारी गराउँदै थिए ।
एकदिन नेविसले सुनाउँदै थियो –‘एक दिन पुरै लाग्छ क्रेडल माउन्टनको यात्रा गर्न । बाटो सजिलो छैन । काई परेका चिप्ला ढुंगामा टेकेर उकालो उक्लिनुपर्छ । बाटो त्यती सहज छैन ।’ मेरो उमेरले खै किन पो हो उकालोमैत्री हुन बिर्सिसकेको छ । छाता, रेनकोट हुनेहरु कोही कोही मास्तिरको उकालो चढ्न हिम्मत गरिरहेछन् । म भने निरीह भएर अरु हिँडेको टुलुटुलु हेर्न विवश छु । यद्यपि हिँड्न कम्मर कस्नेहरुलाई मनमनै शुभकामना दिन्छु ।
दृश्यावलोकन आफैंमा अप्ठेरो र गाह्रो काम हो । त्यसमा पनि हामीजस्तो विदेशी पर्यटकको लागि धेरै ठाउँ पुगेर धेरै दृश्य मस्तिष्कमा कैद गर्नु थियो र हेर्नुपर्ने थियो । सकेसम्म बढी ठाउँमा पुग्नुपर्ने । एक हप्ताको समय भनेको समय नै होइन जस्तो । अद्भूत किसिमका प्राकृतिक छटा । रमणीय वातावरण । विश्व सम्पदा, रैथाने संस्कृति र पर्व । विश्व मानचित्रमा हामी पुगेको नयाँ र पृथक भूगोल । विकास र समृद्धिको उज्यालो । सकेसम्म टेक्ने, देख्ने र लेख्ने व्यक्तिगत मनमा हुटहुटी चल्नु बानी परेकाको हिसाबले अन्यथा भन्न मिल्दैन । खुसीका संयोगहरु मुस्किलले नै जुर्छन र प्राप्त हुन्छन् । मात्र उपयोग र उपभोग गर्न सक्नुपर्छ ।
फर्कियौं
रात हुनबाट केही समय पर्खिरहेको साँझ । गाडीभित्र भएर पनि थाकेर लगखतरान शरीर । ताज्मानियामा आएदेखि हामीले पाएसम्म नेपालीहरुलाई प्रोत्साहन दिन नेपाली रेष्टुराँहरुमा गएर खाने । नेपालीहरुको रेष्टुराँ नपाएको खण्डमा सकभर इन्डियन रेष्टुराँहरुमा रमाउने । हिन्दू हुनु, हिन्दु धर्ममा विश्वास पालनामा दत्तचित्त रहेका हामी सनातनी । हामीमध्ये पनि दुईजना शाकाहारी र दुईजना मांसाहारी भएका कारण जहाँ पायो त्यहाँ खाने कुरा पनि भएन । अझ नातिनी दृष्टीको खानाको परिकार हामीले खाएकोभन्दा भिन्दै र पृथक हुनु उमेरका कारण पनि स्वाभाविकै हो ।
थाकेर होटल पुगियो । बाटैमा खाना खाइसकेका कारण आजलाई खानाको चिन्ता भएन । तर बिहान नहुँदै लन्सेस्टन सहर छोड्नुपर्ने बाध्यताका कारण आफ्ना सरसामानहरु मिलाउने तर्खरमा थियौं हामी । एक्कासी मेरो मोबाइलको घण्टी बज्यो । उठाएँ भतिजीको रहेछ । अगाध खुसीले उर्लियो मन । मान्छे भेट्नु भन्दा पनि विदेशको नयाँ ठाउँमा आएर स्वदेशमा आफन्तको आवाज सुन्न पाउनुको आनन्द बेग्लै । त्यसमा आफ्नै नातागोतासँग संवाद गर्न पाउनुको खुसी असाध्य उर्लिंदोरहेछ ।
ताज्मानिया आउनुभन्दा केही दिन अगाडिदेखि नै भतिजी बिनु थापासँग सम्पर्क गर्न खोज्दा सम्भव भएन । भोलि बिहानै हामीलाई ताज्मानियाबाट मेलबर्नतर्फ प्रस्थान गर्नु छ । हामीसँग ताज्मानियालाई दिने समय यो सिङ्गो रात मात्र हो । त्यस्मा पनि लन्सेस्टन सिटीतिर भए भेट्न अझै सकिने सम्भावना थियो । तर होइन निकै टाढा रहेछ । जो हिजो हामी होबार्टबाट फर्कंदा टेकेको भूमि रहेछ ।
‘ठूलो बुबाको फोन दिउँसो पाएको थिएँ । म होवार्टमा बस्छु । काममा भएको समयमा मोबाइल बजे पनि उठाउन मिल्दैन । त्यसैले अहिले रातको दश बज्यो । म घर जान पाएकै छैन । हतार हतार काम गर्ने थलोबाटै निस्किएर फोन गरेको । हजुरहरु कता, होवार्टमा हो ?’
मैले भनें – होइन नानू हामी होवार्टबाट हिजै फर्किएर लन्सेस्टनमा बसेका छौं । यस्तै भयो भेट्ने इच्छा र चाहना हुँदाहुँदै पनि प्रविधि, समय र ठाउँका कारण समयमै संवाद हुन सकेन । हामी त भोलि बिहानै मेलवर्न फर्कन्छौं ।’
भतिजीको मधुरो मायालु स्वर सुनियो –‘ठूलो बुबा तपाईंहरु यति टाढा आएर पनि नभेटिकनै फर्किने ?’
भतिजीले यसो भन्दै गर्दा अवरुद्ध भो गला । मौन बस्यो आवाज ।
तपाईंहरु जो कसैलाईं पनि यस्तो अवस्था नआओस् । शुभकामना ।