गाउँमा आज निकै कोकोहोलो मच्चिएको छ । सबै अचम्मित भएका छन् । रामविलासको घोडी हरायो भन्ने हल्लाले गाउँ नै त्रस्त छ । कोही पुलिसमा निवेदन देऊ भन्दै थिए त कोही हराएको घोडी भेटिदैन के निवेदन दिनु भन्दै थिए । घोडीका बारेमा धेरैले धेरै कुरा भने तर रामविलासको चम्पा नाम गरेको घोडी कसरी हरायो भन्ने कुरामा धेरैले आश्चर्य प्रकट गरे ।
छिमेकी किशारीले ‘साँझसम्म त तबेलामै देखेको थिएँ चम्पालाई’ भन्दै हराउनुको कारण सोध्यो रामविलाससँग ।
अँध्यारो मुखलाएर बसेको रामविलासले जवाफ फर्कायो ‘राती हामी सबै सुतेपछि हराएको हो ।’
तबेलामा सबैले हेरे । बाँधेको दाम्लो छँदैछ । खुट्टामा बाँध्ने खुट्टे डोरी पनि छ । तर दाम्लो र डोरी किलोमा खुकुलो थियो । गाईवस्तु बाँध्दा जसरी किलोमा डोरी नखुस्किने तरिकाले बाँधिन्छ त्यसरी बाँधिएको थिएन ।
पहिले रामविलासको बुबाले पनि घोडी पालेका थिए । सोही घोडीबाट जन्मिएको रामविलासको घोडी करीव २८ वर्षको थियो होला । रामविलासको उमेर नै अहिले ६० नाघेको होला भने ऊ ३२ वर्षको हुँदा जन्मिएकी चम्पाले अहिलेसम्म ३ वटा बछेडा र १ बछेडीलाई जन्म दिएर हुर्काइसकेकी थिई । आफ्ना सन्तान आफूसँग नहुँदाको पीडा भोगेकी चम्पाले जीवनमा धेरै भारी बोकेर रामविलासको व्यापारको यात्रामा सहयोग गरेकी थिई । रामविलास पनि चम्पाको सहयोगका कारण गाउँकै सबैभन्दा धनी व्यापारीमा परिणत भएको थियो । आफू सम्पन्नताको शिखरमा पुग्नुको कारण चम्पा नै प्रमुख हो भन्ने कुरा रामविलासले बुझेको थियो । त्यसैले पनि रामविलासले चम्पालाई आफ्ना छोराछोरी जतिकै माया गरेर पालेको थियो । चम्पा पनि रामविलास र उसका परिवार सबैलाई स्नेहताको दृष्टिले हेर्थी ।
चम्पाको स्वभाव सबैसँग मिल्ने र घुलमिल गर्नै खालको थियो । मानवसँग होस् वा अन्य कुनै पशुपन्क्षीसँग होस् चम्पाले कहिल्यै हिनहिनाउनु परेन । प्राय घोडाघोडी आफू विपरितका पाल्तु जनावर देखेमा हिनहिनाएर खपिनसक्नु गर्छन् । तर चम्पाले भने त्यसो गरिन । घोडासँग भेट हँुदा पनि घोडीले जुन प्रकारको चरित्र देखाउँथे त्यो चरित्र देखाइन । घोडासँग भेट हुँदा शान्त र भद्र भएर नजिकै गएर चुपचाप उभिएर बस्थी । घोडा आफू नजिक आएमा केही पर सर्थी र स्नेहता प्रकट गर्थी । भनौँ चम्पामा घोडाघोडीमा हुने चञ्चलपन र उच्छृङ्खलता देखिदैनथ्यो । यही कारणले पनि चम्पालाई रामविलासको परिवार बाहेकका गाउँका अन्यले पनि निकै मायालु दृष्टिले हेर्दथे । गाउँका सबैलाई चम्पाको आनीबानी थाहा थियो र चम्पाको शालिनता, भद्रता र सौम्यताकै कारण हिजोको गरिब रामविलास आजको साहु भएको थियो ।
पहिले गाउँघरमा पसल सञ्चालन गर्नेहरुले कि घोडाबाट कि बयलगाडाबाट सामान ओसार्ने चलन थियो । पछि गाउँ गाउँमा बाटो पुगेपछि भने गाडीका माध्यमबाट पसलका सामान आउन थाल्यो । तर रामविलासले प्राय घोडीबाट नै सामान ढुवानी गर्दथ्यो । चम्पा गर्भिणी भएका समयमा भने रामविलासले बयलगाडाबाट सामान ढुवानी गर्यो । चम्पा बिरामी भएका समयमा, खाने कुरा मन लाएर खाइन भने, गर्भिणी अवस्था र सुत्केरी पछिको तीन चार महिनासम्म रामविलासले बयलगाडाबाट नै सामान ढुवानी गर्दथ्यो ।
‘मानव शरीर जस्तै हो पशुको शरीर पनि यसको हेरचाह गर्यौँ भने भोलि हामीलाई नै काम लाग्छ’ भन्दै चम्पाको माया र दयाका साथ स्याहार सुसार, औषधी उपचार, खानेकुरामा ध्यान दिन्थ्यो रामविलास । साँच्चै भन्ने हो भने रामविलास र चम्पा बीचको प्रेम समाजका लागि अनुकरणीय थियो । रामविलास बाहिर जाँदा चम्पा निन्याउरो अनुहार लाएर बस्थी भने चम्पालाई नदेख्दा वा बिरामी भएका बेला रामविलास नुन खाएको कुखुरा जस्तो भएर बस्थ्यो । रामविलासले दिएको तालिम र शिक्षाले चम्पामा मानवीय गुण देखा पर्दथ्यो भने चम्पालाई गाउँलेहरु लक्ष्मीको संज्ञा दिन्थे । रामविलास पनि ज्यादै नम्र भद्र र शालिन थियो । कसैसँग नमिठो बोली नगर्ने । सुमधुर सम्बन्धमा रमाउन चाहने, सबैसँग हाँसेर बोल्ने, सबैलाई माया दया देखाउने स्वभावको थियो । भनौँ चम्पा र रामविलासको स्वभाव आनी बानी एउटै थियो । गाउँलेहरु चम्पाको स्वभाव देखेर चकित थिए भने रामविलासको व्यवहारबाट निकै प्रभावित थिए ।
एकदिन रामविलास बिरामी भयो र ऊ उपचारका लागि बाहिर जानुपर्ने भयो । चम्पालाई दिनमा तीन चारपटकसम्म मुसार्न पुग्ने रामविलास बिरामी भएका कारण तबेलामा पुग्न सकेन । तर चम्पा हिनहिनाउन थाली । विचरा चम्पालाई के थाहा रामविलास बिरामी भएको कुरा र चुपचाप बस्नु । पछि चम्पा हिनहिनाएको सुनेर रामविलास तबेलामा पुग्दा चम्पा आँखाभरी आँशु पारेर रोइरहेकी थिई । रामविलासले म बिरामी भएँ भन्दै सुमसुम्याएपछि चम्पा हिनहिनाउन छाडी । सुम्सुम्याएर रामविलासले चम्पालाई दानापानी हरियो घाँस दिएपछि चम्पा आनन्दले बसी ।
चम्पाले आफ्नो २८ वर्षे उमेर भरिमा चार सन्तान पाई । पछिल्लो पटकसमेत ४ बछेडा र १ बछेडी पाएर सुत्केरी अवस्थामा ज्यान फाली । रामविलासले आफ्नै दाजुभाइलाई दिएको थियो चम्पाका पहिलेका छोराछोरी । घर नजिकै भएकोले चम्पासँग दिनहुँ भेट हुन्थ्यो उसका छोराछोरीको । फेरी चम्पाका छोराछोरीको स्वभाव पनि आमाकै जस्तो थियो शान्त भद्र । उच्छृङ्खलता वा चञ्चलता थिएन छोराछोरीमा पनि । चरणमा गएका बेला आमा छोराछोरीसँगै हुन्थे र एकापसमा माया साटासाट गर्दथे । सधैँ झैँझगडा र बाझाबाझ गर्ने गाउँलेहरुका लागि चम्पा र उसको छोराछोरी उदाहरणीय बनेका थिए । पशुबाट पनि शिक्षा लिन सकिन्छ भन्ने कुराको उदाहरणका रुपमा चम्पा र उसका छोराछोरी बनेका थिए ।
कतै चम्पा पोइला गएकी त होइन ? भन्ने कुरा पनि आयो । मान्छेको २० वर्षे उमेर र चम्पाको उमेरको तुलना गर्ने हो भने फरक हुन्छ । मान्छेको बैंशालु उमेरसँग चम्पाको उमेर तुलना गर्न सकिंदैन र चम्पाको पोइला जाने समय नभएको कुरा घोडा पालन गर्ने अन्यले विश्लेषण गर्दथे । रामविलासले भने चम्पाको बैंश मर्दै गएको कुरा गर्यो । चम्पाको चिल्लो शरीर, चम्किला आँखा, छुँदा पनि मैलो होला जस्तो निख्खुर सेता रौँ, मिलेका दाँतका पङ्ती, हँसिलो लाम्चो अनुहार, लामो छोटो मिलेको गर्धनको यालले चम्पालाई निकै सुन्दरी झैँ लाग्दथ्यो । यति सुन्दरी चम्पालाई पाउँदा अन्य घोडाहरु उसलाई पाउन मरिहत्ते गर्दथे । तर चम्पा रामविलासको कब्जामा बसेकी थिई, हिड्नु भन्दा पहिले ।
रामविलास लगायतका सबै गाउँलेहरुले चम्पाको धेरै खोजी गरे । प्रहरीमा निवेदन दिए । कतै चोरले लगेको त होइन भन्ने शंका पनि भयो । तबेलामा धेरैले निकै गहिरिएर अध्ययन गरे । यतिसम्म कि रामविलासले घोडाको मनोविज्ञान बुझ्ने विज्ञ समेतको सहारा लियो । हुन् त रामविलास आपूm पनि घोडाका विषयमा अरुभन्दा कम जानकार थिएन । तै पनि केही कुरा पत्ता लाग्छ कि भन्ने उद्देश्यले विज्ञलाई बोलाएको थियो । तर पत्ता लाग्न सकेन । रामविलास चम्पाको पीरले चिन्तित भयो । खाना पनि रुच्न छाड्यो उसलाई । खोजी कार्य जारी राखेको छ । आफूले चिने जानेका सबैतिर चम्पा हराएको जानकारी गरायो । प्रहरीले पनि आफ्नो सबै निकायमा खबर गर्यो । पन्ध्रदिन भयो तर चम्पाको कुनै खबर पाउन सकेन रामविलासले ।
भारतीय सीमावर्ती क्षेत्रमा समेत निगरानी बढाइएको थियो चम्पाको खोजीका लागि । रामविलास बिरामी हुँदा रोएर बस्ने चम्पा आज यसरी हराउनुको कारण पत्ता लाग्न नसक्नु प्रहरी र गाउँलेका लागि चुनौतीको विषय बन्दै गयो । रामविलासले आफूले चिनेजानेका सबैलाई चम्पा हराएको खबर दिएको थियो । उसका साथीभाइ इष्टमित्र नाता कुटुम्ब सबैले निकै चासो दिएर खोजी गरिरहेका थिए ।
यता रामविलास चम्पाको चिन्ता र मायाले चिन्तित बन्दै जाँदा उसको चिन्ता रोगमा परिणत हुँदै गएको थियो । मानसिक चिन्ताले बढी सताउन थाल्यो रामविलासलाई । रामविलास कहिले चम्पालाई बाँध्ने तबेलामा पुगेर रुन्थ्यो त कहिले टाउकोमा हात राखेर आँखाबाट आँशु झार्दै बस्थ्यो । यसैबीचमा रामविलासको दिमागमा ज्योतिषीलाई सोध्नुपर्यो भन्ने सोंच पलायो र गाउँभन्दा केही परको ज्योतिषी बस्ने गाउँमा गयो । सो गाउँका सबैले रामविलास साहु आयो भनेर मान सम्मान गरे चिया खाजा खुवाउने कुरा गर्न थाले तर रामविलासले चियाखाजा खाने कुनै कुरै गरेन । उसले चम्पा हराएकोले आफू चिन्तामा परेको र ज्योतिषी बाजेकोमा हेराउन आएको भनेर चियाखाजा इन्कार गरेर ज्योतिषी बाजेका तिर लाग्यो ।
जोखाना र आर्जे हेराउनेको भिडभाड थियो ज्योतिषी बाजेकोमा । रामविलास साहु आएको देखेर सबैले नमस्कार गरे । ज्योतिषी बाजेले कुर्सी देखाउँदै रामविलासलाई बस्न आग्रह गरे । रामविलास कुर्सीमा बस्न नपाउँदै एउटाले सोध्यो ‘साहुजी तपाईको चम्पा नामको घोडी हराएको थियो फेला पर्यो त ?’
रामविलासले सटिक जवाफ दियो ‘छैन ।’
ज्योतिषी बाजेलाई रामविलासले आफ्नो कुरा राख्न नपाउँदै बाजेले भने ‘तपाईको चम्पा हराएकी छैनन्, तपाईको घरमा चम्पा जोडी बाँधिएर आउँछिन् । तपाई ढुक्क भएर बस्नुस्’ भने । ज्योतिषी बाजेको कुरा सुनेर रामविलास झल्यास्स भयो र भन्यो ‘हो र गुरु कहिले सम्ममा आउँछिन चम्पा मेरो घरमा ?’
ज्योतिषी बाजेले कापीमा केही लेख्दै भने ‘केही दिन समय लाग्छ । तबेलाबाट चम्पालाई घोडाले नै लिएर गएको हो र त्यो घोडा चम्पाकै स्वभावको छ । आफ्नो साथी बनाउन लिएर गएको हो । तर चम्पाले त्यो घोडालाई जङ्गलतिर लिएर गएकी छे । चम्पाले आफ्नो साथीलाई समेत तपाईको घरमा लिएर आउँछे र सधैंका लागि बस्छे ।’
ज्योतिषी बाजेको कुरा सुनेर रामविलास खुसी भयो । तर उसको मनमा एउटा कुराले भने अड्डा जमायो । त्यो केहो भने ‘त्यति भलाद्मी चम्पा अब बिग्रेर आउने भै’ भनेर ।
रामविलासले ज्योतिषीबाजेलाई प्रश्न तेस्र्यायो ‘बाजे चम्पालाई म कहाँ भेट्न सक्छु ? र म आजै जान सक्छु कि सक्दिन चम्पालाई भेट्न ?’
‘भेट्न त सक्नु हुन्छ तर जङ्गलतिर जानुपर्छ । चम्पाले मानिन् भने ल्याउन सक्नुहुन्छ ।’ बाजेले सटिक जवाफ दिए ।
ज्योतिषी बाजेले भने अनुसारको ठाउँमा पुग्यो रामविलास चम्पालाई भेट्न । चारकोसे जङ्गलको मध्यभागमा आनन्दले जोडी भएर चरिरहेको अवस्थामा देख्यो रामविलासले चम्पालाई र ‘चम्पा’ भनेर बोलायो । रामविलासको आवाज सुनेर चम्पा चनाखो भै र यताउता हेर्न थाली । रामविलासले फेरि बोलायो चम्पालाई । चम्पाले रामविलासलाई आफूतिरै आउँदै गरेको देखी र हिनहिनाउँदै रामविलास भएतिर गई । रामविलासले चम्पालाई अँगाल्यो र रुँदै सुमसुम्याउन थाल्यो । चम्पाले पनि गहभरी आँशु पारी । रामविलासले ‘चम्पा हिँड घर जाउँ’ भन्यो तर चम्पाले साथीतिर हेरी र हिनहिनाई । चम्पाको हिनहिनाइले साथी घोडा चम्पा भएतिर आयो र चम्पालाई चाट्न थाल्यो । चम्पाले पनि घोडालाई चाटी । यो देखेर रामविलासको मनमा चिसो पस्यो र चम्पालाई सुम्सुम्याउँदै भन्यो ‘चम्पा तिमीलाई यही साथीको खाँचो रहेछ मैले बुझ्न सकेको थिइन । बुझेको भए तिमीले यसरी मलाई छाडेर हिँड्नुपर्ने थिएन’ भन्यो । प्रत्युत्तरमा चम्पा पुन: हिनहिनाई र रामविलासको काँधमा आफ्नो घाटी राखिदिई ।
रामविलासले चम्पालाई साथै लिएर जान अनेक उपाय निकाल्यो तर चम्पाले मानिन् । हार खाएर रामविलास असिन पसिन हुँदै फर्कियो । ज्योतिष बाजेले चम्पा साथी लिएर घर फर्कन्छे भनेकोले बाजेले भनेको कुरा मिल्छ भनेर विश्वासका साथ रामविलास घर फर्किएको थियो ।
रामविलास घर पुग्यो । चम्पा भेटिएको र चारकोसे जङ्गलमा घोडा साथी लिएर बसेको खबर सुनायो सबैलाई । उसले ज्योतिषी बाजेले भनेको कुरा पनि गाउँलेहरुलाई सुनायो । चम्पा भेटिएपछि रामविलासको चिन्ता केही घट्यो । ऊ आफ्नो ब्यापार व्यवसायमा बिस्तारै फर्कियो । चम्पा हिँडेपछि रामविलासको व्यापार व्यवसायमा धक्का लागेको थियो । पहिलेको त्यो रुपले भने चल्न सकेको थिएन व्यापार । बिस्तारै उसको पसलमा चहल पहल हुँदै गएको थियो ।
समय बित्दै गयो । रामविलासको दिनचर्या पहिलेको जस्तो थिएन । चम्पा हिँडेपछिको अवस्था र पहिलेको अवस्थामा धेरै फरक थियो । भनौँ चम्पा रामविलासका लागि लक्ष्मीको अवतार भएकी थिई । रामविलासले पनि चम्पालाई लक्ष्मी नै मानेर राखेको थियो । चम्पा हिँडेपछि रामविलासको घर व्यवहार र पसल समेत लथालिङ भएको थियो । चम्पा भेटिएपछि भने केही सुधार हुँदै गएको थियो ।
रामविलासले चम्पालाई भेटेको दुई महिनापछिको कुरो हो । रामविलासका परिवार रातीको खाना खाएर सुतिसकेका थिए । बाहिर एक्कासी घोडा हिनहिनाएको आवाज आयो । चम्पाले साथी लिएर आएकी थिई । रामविलासलाई उठाउन चम्पा र उसको साथीले तीन चार पटक नै हिनहिनाए । चम्पाको स्वर सुनेर रामविलासका सबै परिवार उठेर बाहिर आए । चम्पा र अर्को घोडा देखेर सबै छक्क परे । रामविलासका अगाडि आएर चम्पा रोई । निकै बेरसम्म चम्पा निहुरमुन्टी लाएर रोई । सायद चम्पाले रामविलाससँग माफी मागेको हुनु पर्दछ । रामविलासका परिवारका सबै सदस्यका अघिल्तिर चम्पाले आँखाबाट आँशु झारी । रामविलासले भोक लागेको होला भनेर चम्पा र अर्को घोडालाई दानापानी घाँस दिएर सुत्न गयो । रामविलाससँगै उसका परिवारका सबै सदस्य सुत्न गए ।
रामविलासलाई रातभरी निन्द्रा लागेन । चम्पा र अर्को घोडाका बारेमा हरेक कुरा सोच्न थाल्यो । सोच्दा सोच्दै रामविलासको मनमा चम्पा त लक्ष्मीको अवतारको रुपमा छिन भने नयाँ घोडालाई विष्णुको अवतार मानेर दुबैको विवाह गर्नु उचित हुने तर्कना आयो । जव चम्पाले आफैले खोजेर मन पराएर साथी लिएर आएकी छ भने त्यसलाई मैले फर्काउनु हुँदैन र ससम्मान घरमा पाल्नु पर्छ भन्ने निष्कर्षमा पुुग्यो रामविलास ।
चम्पाले साथी लिएर आएपछि रामविलासको व्यापार व्यवसाय पहिले झैँ चल्न थाल्यो । केही वर्षपछि रामविलासले अन्य ठाउँमा पनि आफ्नो व्यवसाय विस्तार गर्न थाल्यो । व्यवसायको कामका लागि गाडी किन्यो । गाडी किनेपछि चम्पा र उसको साथीको काम कहिलेकाहीँ मात्र हुन्थ्यो । गाडी नचल्ने ठाउँमा वा नजिकमा कसैले सामान माग गरेका बेला घोडाका माध्यमबाट पठाउँदथ्यो रामविलास ।
ज्योतिषी बाजेले भनेको कुरा पुरा भएको र आफूले सोचे अनुसारको व्यापार व्यवसाय फस्टाउँदै जानमा चम्पाको साथ रहेकोमा विश्वस्त थियो रामविलास । अझ चम्पाले साथी लिएर आएपछि व्यापार व्यवसाय विस्तार हुँदै गएकोमा खुसी भएको रामविलासले सोचे अनुसार चम्पा र साथी घोडाका बीच विवाह गरिदिने निधो गर्यो । ज्योतिषी बाजेकामा विवाहका लागि लगन हेर्न गयो । ज्योतिषी बाजेले पनि शास्त्रका पुस्तक तथा पात्रो हेरेर उत्तम साइतमा बिहेको लगन जुराइ दिएका थिए । चम्पाकै कारण रामविलास आफू यो ठाउँमा आएको र उसको साथी थपिएपछि आफ्नो अवस्था झन माथि उठेको कुरा रामविलासले बुझेको थियो । आफूले सोचेको आटेको काममा पनि रामविलासले सफलता पाउँदै गएको थियो । यी सबै कुरा सोचेर बुझेर नै रामविलासले घर छाडेर हिँडेकी चम्पा साथी लिएर पुन: फर्किएकी हुनाले उसको भावना बुझेर विवाह गरिदिने तयारीमा जुटेको थियो । भनौँ चम्पा रामविलासको जीवनमा परिवर्तनकारी भूमिकामा देखापरी भने साथी घोडा पनि परिवर्तनको सारथीको रुपमा देखा पर्यो रामविलासको जीवनमा ।
ज्योतिषी बाजेले जुराएको तिथि मिति र लगनमा चम्पा र साथी घोडाको शुभ विवाह सम्पन्न गर्यो रामविलासले । सयाँै मानिसको उपस्थितिमा भएको सो विवाह हेर्न रामविलासले धेरैलाई निम्ता गरेको थियो । भनौँ विवाह ऐतिहासिक रुपमा सम्पन्न भयो । नाम विनाको चम्पाको साथी घोडाको नामाकरण वा भनौँ न्वारान पनि विवाहकै दिन भयो । ज्योतिषी बाजेको सल्लाह अनुसार घोडाको नाम हृदय राखेको थियो ।
यस्तो तरिकाको विवाह अहिलेसम्म सो क्षेत्रमा भएकै थिएन भन्नेहरुको जमात पनि निकै थियो । भोज भाज पनि राम्रै थियो । निम्तालुहरुले चम्पा र घोडासाथीलाई टीका लगाएर, लेखाएर दक्षिणा र जिन्सी सामान उपहारसमेत दिएका थिए । जुन उपहार र नगद रकमले रामविलासको कोठा नै भरिएको थियो । भनौँ यो विवाह कुनै राज घराना वा अर्बपति धनाढ्य परिवारको हो जस्तो भान हुने खालको थियो । आफ्ना छिमेकी नाता कुटुम्ब अन्य आफन्त साथीभाइ मात्र नभएर विदेशी पाहुनासमेत विवाहमा सरिक भएका थिए । भनौँ एउटा व्यापारीले आफ्नो व्यावसायिक सोच अनुसार गरेको कर्म सफल भएको थियो ।
रामविलासले चम्पाको र उसले लिएर आएको साथीको विवाह धुमधामसँग सम्पन्न गर्यो । विवाहपछि रामविलासले चम्पाको श्रीमान घोडालाई हृदय भनेर बोलाउन थाल्यो । तबेलामा चम्पा र हृदय रमाएर बस्थे । एकापसमा मुखामुख गरेर चाटेर, मुन्टो जोडेर बस्थे । एकापसमा जँुध्ने, झगडा गर्ने, कराउने, अरु पशु देखे लम्की झम्की गर्ने स्वभाव थिएन चम्पा र हृदयमा । अत्यन्त भद्र थिए दुबै । भनौँ चम्पाले आफ्नो स्वभाव बानी व्यहोरा अनुसारकै श्रीमान् खोजेर ल्याएकी थिई रामविलासको घरमा । पशु भए पनि घाँस खान मान्दैनथे । दानापानीमा रमाउँथे दुवै । यो दृश्य रामविलासलाई औधी रमाइलो लाग्थ्यो । दानापानी घाँस दिने बेलामा रामविलास नै अघि सर्दथ्यो । रामविलासका परिवार व्यापार व्यवसायमै व्यस्त हुन्थे । रामविलास व्यापार सम्बन्धी बाहिरको काम र तबेलातिर ध्यान दिन्थ्यो । त्यही तबेलाकी चम्पाका कारण उसको हैसियत माथि उठेको थियो भने पछिल्लो समयमा चम्पाले हृदयलाई लिएर आएपछि रामविलासको हृदय पनि पुरै तबेलातिर केन्द्रित भएको थियो । उसकोे व्यापार व्यवसायले फस्टाउने अवसर पाएको थियो । ज्योतिषी बाजेले रामविलासलाई प्रत्येक दिन बिहान तिमीले चम्पा र हृदयलाई विष्णु र लक्ष्मीका रुपमा पूजा गर्नु भनेका थिए । बाजेकै भनाई अनुसार रामविलासले पूजा पनि गर्दै आएको थियो ।
समय बित्दै गयो चम्पा र हृदयको जीवनयापन सुखद् नै थियो । रामविलासको पनि व्यापार व्यवसायले शिखर चुम्दै थियो । चम्पा गर्भिणी भएकी थिई । चम्पा गर्भिणी भएको रामविलासले विचारै गरेको थिएन । एकदिन चम्पाले दानापानी खान मन गरिन । चम्पा र हृदयसँगै दानापानी खान्थे तर चम्पाले नखाएको देखेर हृदयले आँखाबाट आँशु झार्दै हिनहिनायो । हृदय हिनहिनाएको सुनेर रामविलास तबेलामा पुग्यो । चम्पा निन्याउरो अनुहार लाएर बसिरहेकी थिई । रामविलासले चम्पालाई सुम्सुम्यायो र विचार गर्यो । चम्पा दुई जिउकी भएको थाहा पायो । यसपछि रामविलासले चम्पालाई दिने दानापानीको मात्रा बढाउँदै लग्यो र पोषिलो दानापानी खुवाउनतिर ध्यान दियो । हृदयलाई पनि चम्पाकै दानापानी खुवाउन थाल्यो । पोषिलो खाने कुराले दुबै मस्त भए ।
आजभोलि भन्दा भन्दै चम्पाको सुत्केरी हुने दिन नजिकिंदै गयो । रामविलासले पनि चम्पा सुत्केरी हुन्छे भन्ने जानेर नै सुत्केरी अवस्थामा खुवाउने पोषिला दानापानी, भिटामिन ल्याएर राखेको थियो । महिना पुरा भएपछि चम्पा सुत्केरी भई । बछेडा (छोरा) पाई, ठ्याक्कै हृदयको अनुहार जिउडालसँग मिल्ने । चम्पाले बछेडा पाएपछि हृदय खुसीले हिनहिनायो गाउँ नै थर्किने गरी । यसरी घोडा हिनहिनाएको सुनेर सारा गाउँलेहरु रमिता हेर्न रामविलासको घरमा जम्मा भए । चम्पा सुत्केरी भएको थाहा पाए । त्यहाँ आउने धेरैले बछेडालाई पैसा चढाए । यसपछि चम्पा सुत्केरी भएको हल्ला धेरै ठाउँमा फैलियो र मानिसहरु हेर्न आए । हेर्न आउनेहरुले पनि पैसा चढाउँदै हिँड्दै गर्न थाले ।
केही दिनपछि सुत्केरी चम्पा बिरामी भई । रामविलासले धेरै उपचार गर्यो । पशुसेवा सम्बन्धी विज्ञ बोलाएर देखायो । तर पनि चम्पाको बिरामी सुधार भएन । हृदयले चम्पा बिरामी भएदेखि नै खान छाडेको थियो । यता रामविलास पनि चिन्ताले ओइलाउन थाल्यो । बछेडाको विजोग भयो । सुत्केरी चम्पाले बछेडालाई दूध खुवाउन सकिन । रामविलासले बछेडालाई सिसीमा दूध हालेर खुवाएको थियो ।
रामविलास चिन्तामाथि चिन्ता लिएर चम्पाको उपचारमा जुटिरहेकै थियो । केही गर्दा पनि चम्पालाई ठीक भएन । उसले देह त्याग गरी । चम्पाले देह त्याग गरेपछि हृदयले पनि लामो हिनहिनाहटसँगै बुरुक्क उफ्रेर पछारियो र चम्पासँगै आफ्नो जीवनलाई त्यही समाप्त गर्यो । रामविलासलाई ठूलो चोट पर्यो । दूधे बछेडाको स्याहारमा रातदिन खटिरह्यो । चम्पा र हृदयको नासोका रुपमा बछेडालाई नै हृदय भनेर बोलाउँदै शोकलाई शक्तिमा परिणत गरेर आफ्नो व्यवसाय गर्दा गर्दैको अवस्थामा रामविलासले पनि हृदयघातका कारण यस संसारबाट सदाका लागि विदा लियो । रामविलासको व्यवसाय र घोडाबीचको सम्बन्धलाई बछेडा हृदयले रामविलासको छोराहरुलाई साथ दिइरहेको थियो ।