प्रस्तुत लेखमा दुई वटा विश्वयुद्धका भयानक परिणामले उत्तर आधुनिकतावादलाई निम्त्याएको र परिवर्तनको तीव्र आकाङ्क्षा उत्तर आधुनिक काव्यमा व्यक्त भएको चर्चा गरिएको छ । सात सालको परिवर्तनले नेपाली कवितामा नयाँ खालको प्रवृत्ति जागृत गराएको उल्लेख गर्दै लेखमा अति व्यापक दृष्टिकोण लिएर हेर्ने हो भने उत्तर आधुनिक काव्य प्रवृत्ति महाकवि लक्ष्मीप्रसाद देवकोटा जस्ता अनेकौं कविहरुका नवीन प्रयोगहरुमा देखापर्ने धारणा व्यक्त गरिएको छ । समसामयिक नेपाली कवितामा पनि उत्तरआधुनिकताको प्रभाव रहेको प्रसङ्ग उठाउँदै उत्तर आधुनिकताका सकारात्मक, नकारात्मक दुवै पक्षका प्रवृत्तिलाई तटस्थ ढङ्गले मूल्याङ्कन गर्नुपर्ने निष्कर्ष लेखले प्रस्तुत गरेको छ ।
नेपाली कविताको फाँटमा आज उत्तर आधुनिकतावाद गहन चर्चा र बहसको विषय बनेको छ । दुई विश्वयुद्धको भयानक परिणामले निम्त्याएको हो – उत्तर आधुनिकतावाद । परिवर्तनको तीव्र गति, केही नयाँ खोज्ने, नयाँ पाउने तीक्ष्ण अभिरुचि, व्यग्र मानिसको विह्वलता उत्तर आधुनिक काव्यमा प्रकट भएको देखिन्छ । दोस्रो विश्युद्धपछि देखापरेको भयावह दुष्परिणाम, सङ्कटग्रस्त मानवको भित्र उब्जिएका युगीन निराशा, कुण्ठा, सन्त्रास, भयले मानवलाई पागल बनाइदियो । उसको भित्रको विह्वलता र एकाङ्गीपनले मानवीय जीवनका सोचाइ, चिन्तन, परम्परा, संस्कृति, मूल्य मान्यताहरुलाई भत्काइदियो र परम्पराप्रतिको विद्रोह लिएर, नवप्रवृत्ति र नवमान्यता बोकेर उत्तर आधुनिकताको पदार्पण भयो । उत्तर आधुनिकतावादी काव्यको मुख्य उद्देश्य नै उन्मुक्ति तथा असीम स्वतन्त्रताको चाहना हो अर्थात् पुराना मान्यतालाई फ्याँक्ने प्रयत्न गरेर नवीनतालाई वरण गर्ने । नयाँ मूल्य र मान्यतालाई प्रश्रय दिने प्रयासमा नयाँ नयाँ शब्द र अर्थको खोजी र हरेक नयाँ नयाँ प्रयोग ।
ज्ञातव्य छ कि पश्चिमी साहित्यमा प्रयोग भएका अथवा देखापरेका विभिन्न वाद, काव्यिक मूल्य–मान्यताहरु लगभग सन् १९६० को दशकपछि वि.सं. २०१० को आसपासमा नेपाली काव्यमा पनि भित्रिँदै गए ।
आधुनिक नेपाली कविताले आजसम्म अनेक चरण पार गर्दै आएको छ । खास गरेर वि.सं. २००७ सालको परिवर्तनले नेपाली काव्यमा एकाएक एकदम नयाँ खालको प्रवृत्ति जागृत भयो । विभिन्न सामाजिक, यथार्थवादी कविताले प्रश्रय पायो । यथार्थवादी लेखनपछि विभिन्न प्रकारका प्रयोगहरु लिएर नेपाली कविता प्रगतिवाद, झर्राेवाद, तेस्रो आयाम, राल्फा, बुट पालिस, अमलेख, अस्वीकृत जमात, योङ्ग राइटर्स फ्रन्ट, तरलवाद, भोक कविता आन्दोलन, सडक कविता, ठोस कविता, अकविता, सन्त्रस्त कविता, पोस्टर कविता, नग्न कविता जस्ता आन्दोलनहरु नेपाली कविता यात्रामा देखापरे ।
नेपाली साहित्यमा अहिले निकै विद्वान्हरुको तर्क र विमर्शले ‘लीला लेखन’ लाई उत्तरआधुनिकताको चेतनशील प्रयोगको प्रथम सिँढी मानेको छ । इन्द्रबहादुर राईले नेपाली काव्यलाई उत्तरआधुनिक भनिएको शिल्प र शैली दिएका छन् । उनले नयाँ बोध, नयाँ ज्ञान, नयाँ मूल्य मान्यता, नवअनुभूति र अभिव्यक्तिका क्षेत्रमा नयाँ शिल्प विधान दिएका छन् । तसर्थ उनको लीला लेखनलाई उत्तर आधुनिक लेखन भनिन्छ । परम्परागत मूल्य र मान्यताहरुलाई विस्थापित गरेर, स्वत्वको संस्थापन गरेर लीला लेखनको रुपमा उत्तरआधुनिक समाजको चित्रण गरियो । उत्तरआधुनिक साहित्यिक रचनाको प्रतिनिधित्व गर्न लीला लेखनले नै अग्रसरता देखाएको छ । इन्द्रबहादुर राईको तेस्रो आयामेली लेखनदेखि लीला लेखनसम्मको यात्रालाई उनको आधुनिकतावाददेखि उत्तर आधुनिकतासम्मको सांस्कृतिक साहित्यिक यात्राको रुपमा लिन सकिन्छ । ईश्वर वल्लभ, वैरागी काइँला र इन्द्रबहादुर राईको संयुक्त प्रयासका रुपमा प्रारम्भ भएको तेस्रो आयामेली लेखन बिसौँ शताब्दीको प्रारम्भमा गरिएका आधुनिकतावादका प्रयोगहरुबाट प्रभावित थियो । घोषित रुपमा आयामेली आन्दोलन दार्जिलिङबाट सुरु भएको हो । आयामेली कविताका प्रमुख स्रष्टा ईश्वर वल्लभ र वैरागी काइँला भए । यता नेपालभित्र कवि मोहन कोइरालाको नेतृत्वमा प्रयोगवादी काव्य सिर्जना भइरहेको थियो । यस आन्दोलनको प्रवृत्तिमा काव्य सिर्जना भइरहेको थियो । यस आन्दोलनको प्रवृत्तिमा परम्पराबाट मुक्त भएर नयाँपनको प्रयोग गर्नु नै मुख्य थियो । हुन त यी प्रयोगवादी कविहरुको नवीनता प्राप्तिको मोह अन्धता र कविताका निम्ति नित्य नयाँ नयाँ प्रयोग पाठकलाई चमत्कृत पार्ने प्रवृत्ति सजीव र सुसंवेद्य भएन । प्रस्तुत–अप्रस्तुत विधानलाई अतिशय असाधारण, अनौठो प्रयोग गर्ने प्रयासमा साधारणीकरणको सर्वथा उपेक्षा भयो ।
नेपाली कविता क्षेत्रमा प्रयोगवादी युग वि.सं. २०१८ देखि मानिएको छ । काठमाडौँबाट सुरु गरिएको क्रमशः ‘नयाँ कविता’, ‘नवीनतम कविता’ र ‘अत्याधुनिक कविता’ नामले परिचित र सम्बन्धित मोहन कोइराला मण्डलीको कविताको प्रवृत्ति र आयामिक लेखन वा तेस्रो आयामका नामले दार्जिलिङबाट सुरु गरिएको आयामेली आन्दोलनका नामले चर्चित कविता प्रवृत्ति, दुवै नै प्रयोगवादी काव्य प्रवृत्ति हुन् । यद्यपि मोहन कोइरालाको घाइते युग कविता २०१७ सालमा छापियो र दार्जिलिङ्गबाट कवि ईश्वर वल्लभले सम्पादन गरेको फूल पात पतकर कवितासङ्ग्रह वि.सं. २०१८ सालमा छापिएको थियो । यस सङ्ग्रह भित्रका वैरागी काइँला र ईश्वरवल्लभहरुका कवितालाई आयामेली मान्यता प्राप्त भयो र यसै सङ्ग्रहबाट तेस्रो आयामको सूत्रपात भएको देखिन्छ । आयामेली घोषणापत्रका साथ तेस्रो आयाम पत्रिका वि.सं. २०१९ सालको अन्ततिर प्रकाशनमा आयो । यस प्रकार प्रयोगवादी युग २०१८ सालबाट सुरु भएको देखिन्छ ।
मोहन कोइराला नेपाली कविताको प्रयोगवादी धारा (वि.सं. २०२९) का प्रवर्तक कवि हुन् । नेपाली प्रयोगवादी कवितामाथि अङ्ग्रेजी कवि टी.एस. इलियट र हिन्दी प्रयोगवादी कवि अज्ञेयको प्रभाव अप्रत्यक्ष रुपले परे पनि नेपाली प्रयोगवादी कविता नेपाली पृष्ठभूमिमा लेखिएका आफ्नै विशेषता र मौलिकताले परिपूर्ण छन् ।
प्रथम र द्वितीय विश्वयुद्धबाट घायल मानव, विश्वजनीन पीडाले त्रसित, भयभीत मानवलाई मोहन कोइरालाले नवीन दिशा र मूल्यबोध दिएका हुन् । भाव, भाषा र शैली सबै क्षेत्रमा मोहन कोइरालाले एक किसिमको क्रान्ति नै लिएर उपस्थित भए । नेपाली प्रयोगवादी कवितालाई कुण्ठा, निराशा, अवसाद, असन्तोष, विद्रोह, एकाकीपन र नितान्त वैयक्तिकताले परिपूर्ण मानिन्छ । अतिशय बौद्धिकताका कारण रस निष्पत्तिमा सर्वथा अभाव र सम्प्रेषणीयताको खाँचो देखिन्छ । अर्थ बोधमा दुरुहता र दुर्बाेधता पाइन्छ ।
वास्तवमा प्रयोगवादी भाव–भाषा–शैलीमा क्लिष्टता आजको जटिल परिस्थितिको उपज हो । प्रयोगवादी कविहरु नयाँ नयाँ बिम्ब, प्रतीकको माध्यमले आफ्नो अन्तरमनका गहन कुराहरु व्यक्त गर्दछन् ।
यो प्रयोगवादी प्रवृत्तिले परिपूर्ण मोहन कोइरालाका कविताहरु नेपाली कविता क्षेत्रमा एउटा नौलो आयाम थप्न समर्थ भए । विषयवस्तु र वर्णन शैलीका क्षेत्रमा पनि अत्यन्त चमत्कारिक र काव्यात्मक प्रयोगमा पनि सफल भए उनी । कवि कोइरालाले मुक्तकदेखि खण्डकाव्यका समकक्ष र महाकाव्योन्मुख लामालामा कविताहरुको रचना गरेका छन् । उनका लामा कविताहरु सूर्यदान र लेकले नेपाली काव्य क्षेत्रमा नयाँ आयाम थप्न सफल भएको देखिन्छ । उनको सूर्यदान कवितालाई जटिल, दुर्बोध्य र क्लिष्ट मानिएको छ । सम्भवतः यो दुर्बोधताका कारणहरु आफ्नै देशका भयावह परिस्थितिहरु हुन् । यसमा प्रतिकूल परिस्थितिमा थिचिएका मरणासन्न व्यक्तिको एकालाप अत्यन्त मार्मिकताका साथ अभिव्यक्त भएको छ । कविताको नायक आफूलाई क्षुद्र नठाकीकन सूर्यको रुपमा प्रस्तुत गर्दछ र निम्नवर्गीय कुण्ठित अहम्लाई बृहत् विनाशकारी बमको रुपमा विस्फोट गर्दछ । यहाँ दुई सूर्य पात्र छन् । एउटा माथि आकासमा र अर्काे तल धरतीमा । कविताका नायक वर्तमान युगका दुःखी विद्रोही मानव हुन् । यस कवितामा बिम्बबाट, प्रतीकबाट, रुपकबाट कविले आफ्नो मनको अभिप्राय अत्यन्त सबल र सजीवरुपमा अभिव्यक्त गरेको पाइन्छ । भर्खर उदाएको सूर्यको रुपमा कविले आफ्नो अथवा मानव जीवनको आरम्भलाई हेरेर कति काव्यमय अभिव्यक्ति दिएका छन् ः
अबोध भकारीबाट भावना नै भर्खर छिरेर
फुटेको एक दानु म कमलो सूर्य ।
यो सूर्यदान कविता प्रयोगशीलताको अनुपम उदाहरण हो । मोहन कोइरालाका प्रमुख प्रयोगवादी रचनाहरु हुन् – घाइते युग (२०१७), सूर्यदान (२०२२), लेक (२०२३), पलङ्ग नम्बर २१ (२०२८), नून शिखरहरु (२०३१), नदी किनारका माझी (२०३८), गङ्गा प्रवास (२०३८), ऋतु निमन्त्रण (२०४०) गरलपान (२०४०) । महाकाव्योन्मुख उनको लामो काव्य नीलो मह (२०४१) ले उनको काव्यिक व्यक्तित्वलाई गरिमामय बनाएको छ ।
तेस्रो आयामेली आन्दोलनका प्रतिष्ठापकमध्ये ईश्वर वल्लभको नाम महत्वपूर्ण रहेको छ । तेस्रो आयाम पत्रिकामा प्रकाशित उनका कविताहरुले उनको काव्य साधनालाई उच्चता प्रदान गरेका छन् । उनका कविताहरुमा नवीन आस्था, नवीन आदर्श र नवीन मूल्य– मान्यताको स्थापना भएको छ । उनी आजको जटिल जीवनलाई नयाँ नयाँ उपमा, नयाँ नयाँ प्रतीक, नयाँ नयाँ काव्य बिम्बको प्रयोग गरेर आफ्नो अन्तस्करणमा आएको भावप्रवाहलाई अभिव्यक्त गर्दछन् । उनको प्रथम प्रकाशित काव्य कृति हो आगोका फूलहरु हुन् आगोका फूलहरु होइनन् । मदन पुरस्कारबाट पुरस्कृत यस काव्य कृतिमा छब्बिस कविताहरु सङ्कलित छन् । यसमा सङ्कलित कविताहरुमध्ये मेरो आमाले आत्महत्या गरेको देश सर्वथा महत्वपूर्ण कविताको रुपमा उपस्थित भएको छ । आफ्नी आमाले गरेको आत्महत्याको दारुण घटना नै उनका निम्ति उत्प्रेरणाको स्रोत बनेको देखिन्छ । यही व्यक्तिगत घटनालाई साधारणीकरण गरी काव्यात्मक रुपमा उत्कृष्ट ढङ्गले प्रस्तुत गरेर कविले यसमा देशीयता र सार्वजनिकता प्रदान गरेका छन् । यो कविता विशेष रुपमा चर्चित भएको छ । यस कवितामा कविका मनका अथाह वेदना, आक्रोश र समाजका बेथितिप्रतिको व्यङ्ग्य छ । यस कवितामा प्रयुक्त बिम्बहरु राता छन् । आमा सेरिएर मरेका बेलामा देखिएका रगतका थोपाहरु छरिएको भावलाई सजीवता र सघनता प्रदान गर्नका लागि यसो गरिएको हो । यी बिम्बहरु जटिल भए पनि भावको मार्मिकतालाई राम्ररी प्रस्तुत गरिएको छ । कविले आफ्नी आमालाई देशका आत्महत्या गर्न बाध्य बनाइएका समस्त नारी जातिको प्रतीकको रुपमा लिएका छन् । ईश्वर वल्लभलाई जटिल भाषाको प्रयोग गर्ने कवि पनि भनिन्छ । उनको अर्काे कवितासङ्ग्रह एउटा सहरको किनारामा (२०३४) पनि धेरै प्रशंसित छ । यसका अतिरिक्त उनले सिर्जना गरेका समानान्तर (२०३८), कस्मै देवाय (२०४२), धुवाँको जङ्गल (२०६०) जस्ता काव्यकृतिहरु रहेका छन् ।
वैरागी काइँला तेस्रो आयामिक आन्दोलनका एक वरिष्ठ कवि हुन् । उनको वैरागी काइँलाका कविताहरु नामको कवितासङ्ग्रह वि.सं. २०३१ सालमा प्रकाशित भएको हो । यस सङ्ग्रहको मेरो हजुरका कविता आयामिक प्रवृत्तिले परिपूर्ण भएको हुनाले धेरै चर्चित भयो । उनको यसै सङ्ग्रहमा रहेको मातेको मान्छेको भाषण मध्यरातपछिको सटकसित कवितालाई उत्कृष्ट आयामिक कविता मानिन्छ । उनको यस सङ्ग्रहका अन्य कविताहरु पनि राम्रा छन् । उनका कविताहरुमा सङ्गीतमय नवगद्य, कवित्व भाव सबल रहेको देखिन्छ । उनका २०२३ सम्मका कविताहरुमा अभिव्यञ्जना पक्ष अधिक कलात्मकताले परिपूर्ण छ । उनले आफ्ना आयामिक कविताहरुबाट नेपाली प्रयोगवादी धारामा एक अग्रगण्य स्थान ओगटेका छन् । मातेको मान्छेको भाषण मध्यरातपछिको सटकसितमा कविले मातले मातेको ‘म’ पात्रले सहरका मध्यरातपछिका सडकसित गरेको एकालाप (आत्मालाप) लाई प्रतीकात्मक व्यञ्जनाद्वारा मानवीय सम्पूर्णता र विशालताको अनुभूति र अभिव्यक्ति प्रशंसनीय छ । विचारहरु प्रवाहमय छन् । विचारलाई नाटकीय रुपमा प्रस्तुत गरिएको छ । आजका मानव यान्त्रिक भएर बाँच्न बाध्य छ । आजको आत्म पराजित मानव विसङ्गति र विद्रुपतापूर्ण जीवन लिएर बाँच्न विवश छ । अतः यहाँ कवि यस जटिल परिस्थितिप्रति विद्रोही बनेर बौद्धिक संवेदनाहरु अभिव्यक्त गर्दछन् । कविको आत्मालापी भाषण कला प्रखर ओजले परिपूर्ण छ । कवितामा प्रयुक्त भाषाशैली, बिम्ब योजना र प्रतीकात्मक अभिव्यञ्जनाले कवितालाई उच्चता प्रदान गरेको छ । उनी आयामिक धाराका सशक्त हस्ताक्षरका रुपमा, एक अग्रगण्य कविका रुपमा प्रतिष्ठित छन् । आन्तरिक भावलाई जुन कलात्मक अभिव्यक्ति उनले दिएका छन् त्यही विशेषताले उनलाई विशिष्ट स्थानमा पु¥याएको छ ।
यस प्रकार यी प्रयोगवादी कविहरुले परम्परागत भाषाशैली र अर्थ–विधानलाई बेवास्ता गर्दै बिल्कुल नयाँ ढङ्गले आफ्ना अनुभूतिहरुलाई अभिव्यक्त गरेका छन् । यी कविहरु अर्थबोधबाट मुक्त प्रयोगवादी छन् । जीवनको निस्सारता, व्यर्थता र शून्यतालाई प्रतिबिम्बित गर्ने प्रयासमा सर्वथा नौलो किसिमको अभिव्यक्ति पद्धति स्थापित गर्दा कविताहरु क्लिष्ट हुन पुगेका छन् । तापनि यस धाराको ऐतिहासिक महत्व छ । भावभन्दा बौद्धिकतालाई प्रयोगवादी कविताहरुमा विशेष ध्यान दिइएको छ । साथै अवचेतन अनुभूतिका तत्क्षणतामा जीवनका सम्पूर्णतालाई समात्ने चेष्टा गर्दै यी कविहरु गहिराइ र बौद्धिकतालाई प्रश्रय दिने प्रयास गर्दछन् । प्रयोगवादी कविताका अन्य सहयात्री कविहरुमा जगदीश शमशेर, मदन रेग्मी, द्वारिका श्रेष्ठ, कृष्णभक्त श्रेष्ठ, उपेन्द्र श्रेष्ठ, शिव अधिकारी, तुलसी दिवस, गोपाल पराजुली आदि उल्लेखनीय नाम हुन् ।
समयका अन्तरालमा प्रयोगवादी कविहरु पनि सहज, सरल, सम्प्रेषणीयताका भाव लिएर जीवनलाई सकारात्मक दृष्टिसँग हेर्दै उज्ज्वल भविष्यतर्फ लम्कने प्रयासमा देखा परिरहेका छन् । प्रयोगवादी कवितापछि नेपाली कविता यात्राका तीन प्रमुख चरण देखिन्छन् । पहिलो चरण वि.सं. २०३१ देखि २०३६ सम्म, जसमा नेपाली कविताहरु युगबोधबाट उत्प्रेरित भएर राजनैतिक, आर्थिक र सामाजिक विसङ्गति एवं विकृतिप्रति अभिव्यक्ति दिन थाले । यी कविताहरुमा व्यङ्ग्य र विद्रोहका भावना मुखरित हुन थाले र नयाँ जोश र उत्साहका साथ कविताका माध्यमबाट जनचेतना फैलाउनमा सक्रिय भए । वि.सं. २०३६ देखि २०४६ सम्मको दोस्रो चरणमा स्वतन्त्रताको अभिलाषा र प्रजातन्त्रको पुनः स्थापनाप्रतिको प्रेममा कविहरु गतिशील भए ।
वि.सं. २०४६ देखि नेपाली कविताको तेस्रो चरण सुरु भयो, जसमा प्रजातन्त्रको पुनस्थापनार्थ क्रान्तिको आह्वान गर्दै राजनैतिक, सामाजिक, आर्थिक विकृति र विसङ्गतिप्रति आक्रोश र व्यङ्ग्यको भाव अभिव्यक्त भयो । साथै, विश्वजनीन पीडालाई अभिव्यक्ति दिँदै मानवतावादी भावनाले पनि कवितामा प्रश्रय पायो । नारीका गरिमामय रुपप्रति पनि कविहरुको ध्यान पुग्यो । युगीन सन्दर्भ, युगीन समस्याहरुप्रति कविहरु विशेष संवेद्य हुन पुगे । आधुनिक नेपाली कविताको उत्तरवर्ती चरणमा गद्य कविताहरुका साथै छन्दोबद्ध कविता, गीति कविता, मुक्तक शैलीका कविता र गजलहरु पनि विकसित भए । व्यक्ति, समाज, राष्ट्र र विश्वका समस्याहरुप्रति मानिस आज व्याकुल छ । तसर्थ युगीन समस्याहरुका कारण कविहरु विह्वल छन् र यही विह्वलताको अभिव्यक्तमै उत्तरआधुनिक नेपाली कविताको संरचनामा विस्तारित भइरहेका छन् । आजको नेपाली कविताले व्यक्ति, परिवार, समाज, देश, विश्वका विकृति, विसङ्गति आदि विभिन्न जटिलतालाई प्रकाश पारिरहेको छ । साथै मानवमूल्यको ह्रास, त्रास, विकृति, विश्वासघातलाई आफ्नो लेखनी मार्फत जनसमक्ष उभ्याउन नेपाली कविहरु समर्थ भइरहेका छन् । २०४६ को जनआन्दोलन र २०५२ पछिको माओवादी जनयुद्धले नेपाली कवितालाई दिशा र गति प्रदान गरेको थियो ।
यान्त्रिकताले च्यापिएका त्रसित मानव मानसिकता, आजको जटिल मानव जीवनको संवेदना र अनुभूतिको सफल अभिव्यक्ति आजका उत्तरआधुनिक कविताहरुमा भइरहेको छ । आजको नेपाली कविता छिमेकी देशहरु, विश्व काव्यजगत्का धाराहरु र प्रवृत्तिहरुलाई पनि मौलिकतापूर्ण ढङ्गले आत्मसात गर्दै अगाडि बढिरहेको छ र जति विकृति, विसङ्गति र विद्रुपताको भयावह परिस्थिति भए पनि आजका कवि समयको प्रस्थानको आगमनका लागि प्रतीक्षारत छन् ः
समयको प्रस्थान
एउटा आगमन हेरिरहेछ ।
— गोपाल पराजुली
हुन त उत्तरआधुनिकतावाद पश्चिमेली विचार र प्रयोग हो तर आजका नेपाली कविताहरुलाई पनि त्यसले प्रभाव पारेको छ । यस सन्दर्भमा निम्न पङ्त्तिहरु उल्लेखनीय छन् ः ‘हाम्रो मुलुकको परिप्रेक्ष्यमा समकालीन नेपाली साहित्यले उत्तर आधुनिकतावादी प्रवृत्तिलाई पूरै तथा आंशिक रुपमा ग्रहण गर्दै लगेको देखिन्छ । विभिन्न प्रयोग र परीक्षणका निम्ति यसै प्रवृत्तिअन्तर्गत लेखिएका केही कृतिहरु चर्चित र प्रशंसित पनि भइसकेका छन्’ (गरिमा, मङ्सिर २०५९, ५०–९०) ।
अति व्यापक दृष्टिकोण लिएर हेर्ने हो भने उत्तर आधुनिक काव्य प्रवृत्ति महाकवि लक्ष्मीप्रसाद देवकोटा जस्ता अनेकौं कविहरुका नवीन प्रयोगहरुमा पनि देखापर्दछ । उत्तरआधुनिकताले समसामयिक नेपाली कविताहरुलाई पनि प्रभाव पारेको छ । नयाँ नयाँ विचार, नयाँ नयाँ प्रयोग नेपाली कविता यात्रामा आइरहन्छन् किनकि यो काव्यको सर्वकालिक र सर्वमान्य मान्यता हो । महाकवि कालिदासका काव्य–रचनाहरु आज पनि त्यत्तिकै ताजा छन् । नवीन उपमाका प्रयोगले गर्दा उनले सबैलाई मुग्ध र आश्चर्यचकित तुल्याएको देखिन्छ । उनी आफ्नो समयमा शीर्ष स्थानमा पुग्नुभएको थियो र आज पनि उनका काव्य–कलाहरु हामीलाई चमत्कृत पार्न सफल छन् ।
नेपाली कविताको उत्तर चरणमा गणतान्त्रिक चेतना जागृत भएपछि युगीन चेतनालाई आफ्नो अभिव्यक्ति प्रदान गर्ने क्रममा नयाँ शिल्पहरु, मुक्त अभियान, उत्तरआधुनिकता आदि प्रवृत्तिबाट पुनः हुर्किने अवसर पाएका छन् । वि.सं. २००७ सालको परिवर्तनबाट नै नेपाली कवितामा सामाजिक यथार्थवादमा विभिन्न खाले प्रयोगहरु भएका छन् । वि.सं. २०१२ देखि नै नयाँ खोजको छटपटाइमा प्रारम्भ भएको झर्राेवादी आन्दोलनदेखि आजसम्म आइपुग्दा हरेक मोड र चरणमा केही नयाँ पन देखिँदै आएको छ । अतः नेपाली काव्यमा उत्तर आधुनिकताको कुरा गर्दा यसलाई आधुनिकताकै एउटा नयाँ चरणको रुपमा लिन सकिन्छ । आजका नयाँ कविहरु पनि नयाँ धरातल खोजिरहेका छन् । वर्तमानको जटिलतालाई नयाँ गति, नयाँ सोचाइमा हिँडाउनका लागि समयले वर्तमानलाई परिवर्तन गर्दै लानुपरिरहेको छ । उत्तर आधुनिकतावादी प्रवृत्तिले आजका स्रष्टा कवितहरुलाई पनि नयाँ बाटो लिनका लागि अभिप्रेरित गरिरहेछ । यो युगको माग पनि हो । समयको आवश्यकता पनि हो ।
नेपाली काव्यमा उत्तर आधुनिकताका सकारात्मक–नकारात्मक दुवै पक्षका प्रवृत्तिहरुलाई सही र तटस्थ ढङ्गले मूल्याङ्कन गरेर परिष्कृट रुपमा कवितालाई व्यक्ति, समाज, देश र सम्पूर्ण मानवताका कल्याणका लागि समयसापेक्ष ढङ्गबाट सिर्जना र मूल्याङ्कन गरिनु अनिवार्य देखिन्छ । शोषित, पीडित, आक्रान्त मानवताका लागि नवदिशा दिनका लागि लेखिएका नयाँ विचार, नयाँ सोच बोकेका रचना नै उत्तर आधुनिक नेपाली कविताको सही र उपयोगी पक्ष हुनेछ ।
सन्दर्भ–सामग्री
– आजका नेपाली कविता ः नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान, काठमाडौंँ, २०५० ।
– गरिमा मासिक ः समालोचना विशेषाङ्क, २०५१, साझा प्रकाशन, ललितपुर ।
– पोखरेल, भानुभक्त ः साहित्यिक समीक्षा सङ्ग्रह, २०५५ ।
– बल्लभ, ईश्वर ः आयाम र आकृति, नरेन्द्रराज प्रसाई–इन्दिरा प्रसाई, २०५९ ।
– भृकुटी त्रैमासिक ः वर्ष १, अङ्क २, २०६५ भृकुटी एकेडेमिक पब्लिकेसन्स, काठमाडौंँ ।
– मधुपर्क मासिक ः गोरखापत्र संस्थान, २०६३ चैत्र ।
– समकालीन नेपाली कविता ः नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान, २०५५ ।