यात्रा गर्नेहरूले यात्राको वृत्तान्त लेख्छन् । यात्राको वृत्तान्तले पाठकहरूलाई नयाँ अनुभूति प्रदान गर्छ । ‘विदेशको यात्रा : स्वदेशको सम्झना’, यो पुस्तक यात्रावृत्तान्तहरूको एउटा महत्वपूर्ण उपलब्धिका रूपमा आएको कृति हो । यसका लेखक घनश्याम राजकर्णिकारले बेलायत, प्यारिस, सिओल, पश्चिम जर्मनी, ड्युसलडर्फ, हङकङ, जापान, ज्युरिच, थाइल्यान्ड र कलकत्ताको भ्रमणवृत्तान्त यसमा समावेश गरेका छन् । उनका दृष्टिमा बेलायत अँध्यारो, पुरानो र निन्याउरो सहर; प्यारिस कलात्मक सहरको अकलात्मक यौनाचारले व्याप्त ठाउँ; सर्पको मासुमा विशेष आकर्षित सिओल; चम्किलो देशको रन्किलो स्वभाव भएको पश्चिम जर्मनी; चकित पार्ने आधुनिकता र छक्क पार्ने प्राचीनता भएको ड्युसलडर्फ; पूर्वी देशको पश्चिमी पिरतीको परम्परा भएको ठाउँ हङकङ; विदेशीको अनुरोधलाई लत्याउन नसक्ने युवतीहरूको देशका रूपमा जापान; तीन महिना अनिवार्य भिक्षु बन्ने परम्परा भएको धार्मिक देशका रूपमा थाइल्यान्ड र कलकत्तालाई एकपल्ट हेरेपछि फेरि हेर्नुनपर्ने सहरका रूपमा मुख्य गरी देखिन्छ ।
यात्रालेखनको एउटा नमुना हो यो । सोझो हिसाबकिताबबाट ज्यादै स्पष्ट गरी विदेशको यात्रा लेख्ने लेखक नेपाली साहित्यमा सायद यिनै मात्र एक हुन् । विदेशको यात्रावर्णन गर्दै यदाकदा स्वदेशको गौरव गाउन यिनी पुग्दछन् । भला यस हिसाबले आफ्नो देशप्रतिको विशेष आग्रह नभएको भन्न मिल्दैन, तर पनि आफ्ना केही महत्वहरू छन्, जसलाई नगाई हुँदैन । उनको यात्रावृत्तान्तको लेखाइ ज्यादै स्पष्ट छ । विदेशको यात्रामा गएर फर्केका धेरै स्वदेशीहरू यति स्पष्टसँग कुरा गर्न (लेख्न) चाहँदैनन् । यात्रावृत्तान्तलेखकहरू नेपालीमा ज्यादै कम मात्र छन् । हुन त ‘जङ्गबहादुरको बेलायतयात्रा’ नेपाली भाषाको पहिलो यात्रावृत्तान्त हो, तर त्यस कृतिको लेखक निश्चित छैन । हिजोआज नेपालीमा यात्रावृत्तान्त लेख्ने मान्छे तारानाथ शर्मा, देवेन्द्रराज उपाध्याय, यादव खरेल र घनश्याम राजकर्णिकार यिनै प्रमुख हुन् । उत्तम कुँवर आदि केही लेखक यदाकदा छन्, तर ज्यादा थोरै मात्र ।
देवेन्द्रराज र यादव खरेलको प्रस्तुतीकरणको प्रक्रिया अलग छ भने ताना सर्माको शैली अर्कै छ । यी सबैमा मौलिकताको प्रस्तुति अर्कै प्रकारको छ । तर घनश्याम राजकर्णिकारको प्रस्तुति अर्कै । सबै यात्रालेखकहरूमध्येका प्रस्टवक्ता घनश्याम राजकर्णिकार हुन् । ताना सर्मा पनि एक प्रस्टवक्ता हुन्, तर उनको हिसाबकिताब त्यति सोझो छैन, जति घनश्याम राजकर्णिकारको छ । यात्रावृत्तान्त लेख्ता कुनै देशको राम्रो पक्षलाई मात्र देखाउने लेखक कमजोर नै मान्नुपर्दछ । कुनै देशमा राम्रा कुरा छन् भने त्यहीँ कति नराम्रा पनि छन् । ती सबैलाई राम्ररी उल्लेख गर्न नसके के लेखक ? अथवा एक देशमा चलेका कतिपय चलनहरू अर्को देशमा नराम्रो अथवा अमान्य हुन सक्तछन् । उदाहरणका लागि यौनस्वतन्त्रता भएका देशलाई नै लिऊँ । यौनस्वतन्त्रता उसका लागि संस्कृतिजस्तै सहजमान्य छ भने हामीहरूका लागि पाशविक प्रवृत्ति ठहर्छ । पाश्चात्य देशमा हुर्केको सन्तान बाबुआमाबाट अलग रहन्छ, कुनै बेला कुनै पर्वमा मित्रजन आएझैँ भेट्न आउँछ । सेवाबाट अवकाशप्राप्त व्यक्ति (बूढाबूढी) एक्लै शून्य भएर बस्तछन् । तर हाम्रो समाजमा कुनै न कुनै सन्तानले बूढाबूढीलाई छाड्दैन र ऊसँगै बसिरहन्छ । कुनै कतै गाई पुजिन्छन्, कतै खाइन्छन् । कतै छेपारो, भ्यागुतो, सर्प, बाँदरजस्ता जीवको मासु खाने चलन छ । तर यहाँ त्यस्तो छैन । यस्ता केही कुराहरू आ–आफ्ना सभ्यता र चालचलनका आधारमा विकसित छन्, जसलाई कतै मानिन्छ भने कतै मानिन्न । तर चोरी, डकैती, लुटपाट, हत्या, बलात्कार आदि केही यस्ता कुरा छन्, जसलाई सबैले इन्कार गर्दछन् ।
हाम्रो देशबाट अन्यत्र जाने पर्यटकहरू राम्रा कुरा मात्र लिन गएका होइनन् । ती देशका कतिपय कमजोरी र कालो पक्षलाई पनि देखाउनैपर्छ । हाम्रा लेखकको गरम पकेट लन्डनजस्तो महानगरी र कुनै बेला कहिल्यै घाम नअस्ताउने देशको राजधानीमा ठन्डा भयो बातैबातमा । कसैले गोरालाई, कसैले क्रिस्चियनलाई अथवा अन्य कतिपय सभ्य देशका नागरिकलाई जन्मजात असल देखेका हुन्छन् । के त्यो धारणा सही हो त ? निश्चय नै होइन । अथवा चोर, डाका, ठगाहा, लुटाहा नेपाल र भारतजस्ता देशमा मात्र छन् त ? त्यो पनि होइन । अर्काको भाषा बोलेको सुन्नसम्म नचाहने फ्रेन्चहरूलाई साँघुरा भन्ने कि फराकिला ? फ्रेन्चहरू यदि सभ्य हुन् भने उनीहरूको देशमा आउने पर्यटकलाई अर्को अन्तर्राष्ट्रिय भाषाको सुविधा पनि दिनै त पर्छ नि ! यस्तो वास्तविक कमजोरी र नराम्रो कुराप्रति लेखकको प्रतिक्रिया निकै महत्वपूर्ण मानिन्छ । छोपेको वास्तविकता झूटो राजनीतिक नाराभन्दा खतरनाक सावित हुन्छ । बोलीमा कमी हुनु अर्कै कुरा हो, तर घनश्याम राजकर्णिकार यस दृष्टिले स्पष्ट छन् । यही नै उनको यात्रावृत्तान्तको मुख्य कुरा पनि हो ।
केही बगेको, केही गरुङ्गो तर प्रस्ट शैलीमा उनका स्मृतिपटबाट टिपिएका कुराले रमाइलो यात्रावृत्तान्तको आनन्द दिलाउँछ । लेखक राजकर्णिकारको शैली देवेन्द्रराजको जस्तो, यादव खरेलको जस्तो गम्भीर, ताना सर्माको जस्तो टड्कारो र प्रत्यक्ष प्रभावकारी नहोस्, तर छोटोमा मीठो गरी वर्णन गर्दै सम्बन्धित ठाउँमा पाठकहरूलाई पुर्याउन गरेको प्रयास उनको राम्रो छ । कुनै पनि रमाइला वा नरमाइला ठाउँ र घटनाको वर्णन गर्दा कुनै कुराको प्रत्यक्ष वर्णनको प्रभाव उनले दिएका छन् । त्यसो त लेखकको दृष्टिकोण पनि ‘यात्रावृत्तान्त भनेको सर्वसाधारणलाई त्यसको राम्रो जानकारी दिनु हो र आफ्ना अध्ययनको भारले पाठकलाई विशेष बोझ दिनु हुन्न, भएका कुरा यथावत नलेखे ढाँटेको ठहर्छ, झूटा कुरा र विशेष बौद्धिकतामा जोड दिनु ठीक पर्दैन’ भन्ने देखिन्छ ।
घनश्याम राजकर्णिकारको यात्रावर्णनमा आकर्षणको मात्रा बढी छ । आकर्षणकै लोभले कुनै वृत्तान्तलाई डुबेर पढ्न थाल्यो, तर त्यो अचानक समाप्त भइदिन्छ । इतिहास र संस्कृतिसँग सम्बन्धित विषय ज्यादा टिप्पणीमूलक भए भने कुनै मिठास नआउने सम्भावना हुन्छ । त्यो कुरा घनश्याम राजकर्णिकारमा पाइयो । भनाइको मतलब के भने आकर्षक ढङ्गले वर्णन गर्नुपर्ने विषयलाई कतै छोटकरीमा सिध्याइदिँदा मिठासको मौजी मसला चाख्न पाइँदो रहेनछ । यात्रावृत्तान्तका सिलसिलामा प्रकृतिका रमाइला कुराहरूले उनलाई त्यतिको आकर्षित गरेनछन् । यसमा लेखकलाई स्वयं रुचि नभएको हो वा वर्णन गर्ने सामथ्र्य नभएको हो, केही जान्न–बुझ्न त्यति पाइएन ।
कतै इतिहासका पाना पल्टाएर, कतै संस्कृतिको जीवन कोट्याएर, कतै हाँसेर, कतै हँसाएर, कतै रमाइलो जीवनलाई देखाएर, कतै दु:खी जीवनको पर्दा उघारेर यस यात्रावृत्तान्तलाई समाप्त गरेका छन् उनले । हाम्रा स्वदेशी अनुभव विदेशीहरूका अगाडि र उहाँका हाम्रा अगाडि के–कति मिल्छन् र के–कति छुट्टिन्छन् भन्ने कुरा यस यात्रावृत्तान्तले प्रस्ट पारी देखाएको छ । यात्रा गर्ने यात्रुले देखेर जानेसम्म सबै कुराको अनुभव ल्याउँछ वा लैजान्छ । घनश्याम राजकर्णिकारले बटुलेको अनुभवमा दृष्टि आलोचनात्मक छ । यात्राको अनुभव लेख्ने मानिस यस्तै इमानदार रहनु उत्तम हुन्छ । विदेशी भूमिको रमाइलो हेर्न जानेहरूलाई विदेश र स्वदेशमा के अन्तर छ ?त्यसलाई छुट्याउने आधार के–के हुन् ? यस्ता कुराको जानकारी हुनुपर्दछ ।
स्वदेशलाई हेर्ने र विदेशलाई हेर्ने आँखामा कति अन्तर रहन्छ भन्ने कुरा डा. तारानाथ शर्मा र घनश्याम राजकर्णिकारको अनुभवलाई हेरी छुट्याउनुपर्दछ । यी दुवै लेखकले सर्वप्रथम त आफ्नो राष्ट्र र राष्ट्रियतालाई शिरोधार्य गरेका छन् । आफ्नो राष्ट्रप्रतिको ममता यिनमा चर्किएको छ । त्यति भएर पनि संयमित बोली र लोलीमा अर्काको अनुभव लेख्तै आफ्नो सम्झना गर्ने घनश्याम राजकर्णिकार विशेष इमानदार छन् । डा. तारानाथ शर्मा आफ्नो राष्ट्रको विभिन्न अवस्थामा विशेष अतालिन्छन् भने घनश्याम राजकर्णिकार त्यस पक्षबाट त्यति बोल्दैनन्, बरू ऐतिहासिक र सांस्कृतिक पक्षबाट यिनी बोल्दछन् । यस्तै प्रकारको भिन्नता यी दुईमा छ । छिमेकी भारतको सबभन्दा पुरानो सहर कलकत्तालाई एकपल्ट हेरेपछि हेर्नुनपर्ने सहर भन्नुको अर्थ त्यसको नराम्रो पक्षलाई लक्ष्य गरेर हुन सक्तछ, तर त्यही कलकत्ता महानगरीको वर्णन गर्दा सुन्दर पक्षका केही कुरालाई अद्वितीय र अनुपम भनी वर्णन गरेका छन् । बेलायतलाई थोत्रो र जीर्णशीर्ण भएको सहरका रूपमा हेरेका छन् । बेलायतमा लेखकको पकेट सफाचट भएको कुराले अझ त्यहाँको स्थितिलाई बढी झल्काउँदछ । संसारमा फ्रेन्च भाषा बोल्ने मान्छे मात्र हुन्छन् र ? तर उनीहरू सबैले फ्रेन्च बोल्नुपर्छ भन्ने पूर्वाग्रह फ्रान्समा छ । ‘शिष्टाचारका क्षेत्रमा साँच्चै भन्ने हो भने हामी नेपालीले पश्चिमी मुलुकका निवासीहरूलाई केही पाठ सिकाउन समर्थ हुनेछौँ’ भन्ने लेखकको दावी छ । नेपालको यस पक्षलाई लेखकले ठाउँमा साह«ै राम्रोसँग देखाएका छन् ।
निर्दोष मान्छेको बयानजस्तो घनश्याम राजकर्णिकारको लेखाइ स्पष्ट छ र निर्दोष छ । आफूले विदेशमा केही मान पाएको होस् वा अपमानित भएको होस्, उनले इमानदारीपूर्वक खुरुखुरु आफ्नो भाषामा लेखिदिए । विदेशमा बसेर अर्काको भाँडा माझेर आए पनि मालिक भएको फूर्ति लाउनुपर्ने यस समाजमा अथवा यहाँका कतिपय मानिसका अगाडि यस्तो प्रकारको साँचो कुरा बोल्ने मान्छेको र लेख्ने मान्छेको ज्यादै कमी छ । बृटेनको शाही नेपाली दूतावासको खरदारले जस्तै फेद न टुप्पाको ठूलो भई देखिनुपर्ने समाजमा साँचो कुरा त ज्यादै कम मात्र देख्न पाइन्छ । कुन ठाउँमा कसरी मान पाइयो, कसले अपमान गर्यो, को जाति को नजाति जस्ता कुरा पनि उनले प्रस्टसँग लेखेका छन् । यस्तो प्रस्टता ज्यादै कममा मात्र पाइन्छ । कसैलाई हेर्दा एकाङ्गी दृष्टिकोणले हेर्नु मनासिब हुँदैन । आलोचनात्मक हेराइ नै जीवनका लागि महत्वपूर्ण कुरा हो । अर्काको देश, आफ्नो देश र आफूलाई समेत पनि आलोचनाको कसीमा उतार्ने यिनी ज्यादै इमानदार लेखक हुन् ।
भ्रमण गर्दा त्यस देशको इतिहास, संस्कृति, कला र सभ्यता आदिका साथसाथै त्यहाँका पर्दाभित्रका कुरालाई पनि खोतल्न सक्नुपर्दछ । त्यसो भए मात्र वास्तविक कुराको जानकारी हुन्छ र यात्रा लेख्नुको महत्व पनि रहन्छ । यो त यात्रालेखन मात्र नभएर पर्यटकहरू सबैसँग सम्बन्धित कुरा हो । कुनै पर्यटक आफ्नो देशलाई हियाउँछन्, होच्याउँछन् र अर्काको सिरिखुरीमा नै स्वर्ग देख्छन् । हाम्रा यात्रालेखकहरू कट्टर राष्ट्रवादी छन् । अझ घनश्याम राजकर्णिकार त पदेपदे आफ्नो देशको महत्वलाई बढी ठान्दछन् । हाम्रो सभ्यताभन्दा पश्चिमी सभ्यतालाई बढी महत्वपूर्ण ठान्नेहरूलाई घनश्याम राजकर्णिकारको जवाफ साह«ै ठीक मान्नुपर्दछ ।
सङ्क्षेपमा हेर्दा घनश्याम राजकर्णिकारको लेखाइ सरल, सहज, मार्मिक र परिपक्वसमेत छ । आफ्नो र अर्काको सभ्यताको तुलनात्मक हेराइ भएको उनको दृष्टि निर्दोष छ । जस्ताको तस्तै रूपमा प्रस्तुत गरिएको उनको लेखन इमानदार लेखन हो ।