साहित्कार धीरेन्द्र प्रेमर्षिको अनुवाद र सम्पादनमा पन्ध्रौँ शताब्दीका साहित्यकार महाकवि विद्यापतिको कथासङ्ग्रह ‘पुरुष परीक्षा’ को नेपाली अनुवाद सार्वजनिक भएको छ । नेपाली कलासाहित्य डटकम प्रतिष्ठानद्वारा काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, प्रतिष्ठानकी अध्यक्ष मोमिला, अनुवादक प्रेमर्षि स्वयं तथा अन्य अतिथिहरूले उक्त कृतिको विमोचन गरे । चौँवालीस कथको यस सङ्ग्रहलाई अम्बर प्रकाशनले बजारमा ल्याएको हो ।
अतिथिको रूपमा बोल्दै प्रतिष्ठनका प्रमुख संरक्षक डा. विमल कोइरालाले विद्यापतिका कथा नेपालीमा अनुवाद भएर आउनु अति हर्षको विषय भएको बताए । आफू मिथिलामा कार्यरत् रहँदैदेखि विद्यापतिको कृतित्वबाट परिचित भएको भन्दै उनले विद्यापति जातभात र लिङ्गभेदभन्दा माथिका चिन्तन भएको टिप्पणी गरे । अनुवादक प्रेमर्षिले आफूले मूल संस्कृतबाट नभई, मैथिली र अङ्ग्रेजी स्रोतबाट यस कृतिको अनुवाद गरेको बताए ।
समापतिको आसनबाट बोल्दै प्रतिष्ठानकी अध्यक्ष मोमिलाले प्रेमर्षिको स्तुत्य कार्यलाई आफ्नो संस्थाले सार्वजनिक गर्न पाउँदा आफू हर्षित भएको बताइन् । आगामि दिनमा पनि अनुवादका कार्यलाई प्रश्रय दिँदै लाने उनले नेतृत्व गरेको प्रतिष्ठानको अभिष्ट रहेको पनि जानकारी दिइन् ।
प्रा.डा गोविन्दराज भट्टराई तथा प्रा. डा. उषा ठाकुरजस्ता अनुवादका विशेषज्ञ उपस्थित उक्त कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष, कवि राजेश्वर कार्कीले प्रतिष्ठानको लक्ष्य, उद्देश्य, प्रयास र प्राप्तिको परचित दिएका थिए । पाठशाला नेपाल तथा सिन्नुपानी नेपालले संयोजन गरेको उक्त कार्यक्रमको सञ्चालन लोकप्रिय सञ्चारकर्मी टीकाराम यात्रीले गरेका थिए ।